विराटनगर: कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन्। शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका थिए, जुन बहुमत हो । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७÷४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज (शनिबार) बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए । सनाखतमा बहुमत पुष्टि भएसँगै संविधानको धारा १६८ (५) बमोजिम प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सनाखतमा आङ्बो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन् ।
काठमाडौं: प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो ९पञ्चाङ्ग० मा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । मातामहको श्राद्ध कमैले गर्ने गरेका छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । कारणबश सोह्रश्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणबस अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ । यो समयमा पनि कारणबस सोह्रश्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परे पनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहनुभएका समिति सदस्य प्रा डा भट्टराईले जानकारी दिनुभयो । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत दैनिक एक सय आठ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको उहाँले सुनाउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् वडादसैँ सुरु हुन्छ । वडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र वडादसैँ पर्व पछि सरेको हो । पितृपक्ष आज सकिए पनि सोह्रश्राद्ध भने आइतबारमात्र समापन हुने जनाइएको छ । आइतबारदेखि वडादसैँ अर्थात् दुर्गा पक्ष सुरु हुन्छ ।
सोलुखुम्बु: सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको छ। शनिबार बिहान मनाङ एयरको हेलिकोप्टर लुक्लाबाट लोबुचे गएको थियो। लोबुचेमा अवतरणको क्रममा हेलिकोप्टर दुर्घटना भएको हो। हेलिकोप्टर पूर्ण रुपमा क्षति भएको छ। दुर्घटना भएलगत्तै उक्त हेलिकोप्टमा आगलागि भएको हो। हेलिकोप्टरमा पाइलट प्रकाश सेडाई मात्र सवार थिए। उनी घाइते भएका छन्। हेलिकोप्टर दुर्घटना भएपछि स्थानीयहरुसमेत उक्त स्थानमा पुगेका छन्। पाइलटलाई अर्को हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
पोखराः स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा घान्द्रुक तिख्यानस्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ । स्वर्गीय गुरुङको स्मृतिमा उनका छोरा मनिष गुरुङका परिवारले लामा अमृत फाउण्डेशन घान्द्रुकको समन्वयमा आज (शुक्रबार) एक कार्यक्रमकाबीच घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोशाक वितरण गरेको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग आधारभुत विद्यालयका ३९ जना विद्यार्थीहरुलाई स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा शैक्षिक पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले बताए । ‘विभिन्न समयमा लामा अमृत फाउण्डेशनले विभिन्न स्थान, समाजमा सहयोग गर्दै आएको छ’, गुरुङले भने, ‘स्वर्गीय टेकबहादुर गुरुङका छोराले बुबाको सम्झनामा विद्यालयमा सहयोग गर्ने बाचा अनुरुप फाउण्डेशनको समन्वयमा आज शैक्षिक पोशाकसँगै शैक्षिक सामाग्री वितरण गरिएको हो ।’ उनले अन्य सामाजिक कार्यमा सहभागी भएपनि पछिल्लो समय शैक्षिक क्षेत्रमा पनि फाउण्डेशन मार्फत सक्रियता बढाएको बताए । ‘कोभिड लगायत प्राकृतिक विपत्तिमा फाउण्डेशनको सहकार्यमा विभिन्न स्थानहरुमा राहत लगायत सामाजिक कार्यमा सहभागी भएको थिए’, उनले भने, ‘शिक्षा नै जिवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीयता बनाउन फाउण्डेशन मार्फत पछिल्लो समय सक्रियता बढाएको छु ।’ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ममिता थापा मगरले विद्यालयको आयस्रोत कम भएकाले भौतिक संरचना निर्माणमा सहयोगको आवश्यकता रहेको बताईन् । ‘विद्यालयको आयस्रोत कम छ, भौतिक संरचना निर्माण भएपनि विभिन्न किसिमका शैक्षिक सामग्री खरिद गर्न आर्थिक अभाव छ’, प्रधानाध्यापक मगरले भनिन्, ‘ग्रामिण क्षेत्रको शैक्षिक सुधारका लागि फाउण्डेशनको सहयोग हामी सम्झी रहने छौं ।’ कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा ३९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । उनीहरुलाई हङकङमा कार्यरत मनिष गुरुङले स्वर्गीय बुबा टेकबहादुर गुरुङ (काजीको काइला)को स्मृतिमा ३९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री, शैक्षिक पोशाक र शिक्षकहरुलाई शैक्षिक सिकाईका लागि विभिन्न सामग्री लामा अमृत फाउण्डेशन घान्द्रुकको समन्वयमा वितरण गरिएको हो ।
पोखरा: चर्काे धरौटी (१० लाख रुपैयाँ) र चर्काे भाडा शुल्क माग गर्दै पोखरा १० लखनचोकस्थित बिबि मार्केट (हाम्रो बजार) मा गुडलक कम्पनी प्रालिले रातारात तालाबन्दी गरेको छ । कृषि समाग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गाको ठेक्का पाएको कम्पनी गुडलक कम्पनी प्रालिले मागेजति धरौटी र भाडा रकम तिर्न व्यवसायी राजी नभएपछि रातारात ७९ वटा सटरमा तालाबन्दी गरेको हो । ठेकेदार कम्पनीले तालामात्रै नभएर बन्द सटरमा वेल्डिङ नै गरेको छ । तर गुडलकको उक्त निर्णयप्रति विगत धेरै वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरु असन्तुष्ट छन् । ठेक्का पाएको कम्पनीको उक्त हर्कतप्रति आफुहरु सन्तुष्ट नरहेको व्यवसायी तथा बिबी मार्केट व्यवसायी समितिका सदस्य नारायण चापागाईले बताए । उनले व्यवसायीहरु समयसापेक्ष भाडा र धरौटी रकम बुझाउने पक्षमा रहेको सुनाए । ‘हामी भाडा र धरौटी नतिर्ने पक्षमा हामी छैनौं । हामी फ्रिमा बस्छौ पनि भनेका छैनौ, उनले भने, ‘हामीले उहाँहरुलाई फाइदा हुनेगरी नै व्यवहारिक र समय सापेक्ष भाडादर तिर्न तयार छौं । तर उहाँहरुले मागेको धरौटी र भाडा अस्वाभाविक बढी छ ।’ केसीले सटरको आकार र भाडादरअनुसार धरौटी राख्न तयार रहेको बताए । तर गुडलकले धरौटी रकम फिर्ता नहुने भएकाले सम्झौता नगरेको उनले बताए । ‘धरौटी मात्रै १० लाख रे त्यो पनि फिर्ता नहुने । त्यस्तो पनि हुन्छ । धरौटी फिर्ता नहुने भन्ने हुदैन । हामीले उहाँहरुलाई फिर्ता हुनेगरी सटरको आकार हेरेर भाडा तिर्न र धरौटी राख्न तयार छौ,’ उनले भने । यस्तो छ, व्यवसायीहरु तिर्न तयार दर स्थानीय व्यवसायीहरुका अनुसार ८० वटा सटरमध्ये ‘क’ वर्षका २३ वटा सटर छन्, ‘ख’ वर्गका ५ वटा र ‘ग’ वर्गका ५१ वटा सटर छन् । जसमध्ये पहिलो वर्गको सटरको भाडा प्रति महिना ३२ हजार, दोस्रो वर्गको २२ हजार र ‘ग’ वर्गको सटरको भाडा ६ हजार ५ सय तिर्न तयार छन् । व्यवसायीले ‘क’ वर्ग (२३ वटा सटर) को प्रति महिना ७ लाख ३६ हजार रुपैयाँ तयार छन् । यस्तै ‘ख’ वर्ग (५ वटा सटर) १ लाख १० हजार र ‘ग’ वर्ग (५२ वटा सटर) ३ लाख ३१ हजार ५ सय रुपैयाँ भाडा तिर्न राजी छन् । यस्तै फिर्ता हुनेगरी ‘क’ वर्गको सटरधनिले ३ लाख ५० हजार ‘ख’ वर्गको सटरधनिले ३ लाख र ‘ग’ वर्गको सटरधनिले ६० हजारको दरले धरौटी बुझाउन राजी छन् तर गुडलकले पर्वको मौका पारेर प्रति सटर १० लाख धरौटी र प्रति महिना प्रति सटर ५० हजार निर्धारण गरेको उनीहरुको तर्क छ । जुन व्यवसायीका अनुसार समयसापेक्ष निकै चर्काे हो । ‘तिरिरहेको भाडाको २० प्रतिशत वृद्धि गरेर पनि भाडा तिर्न तयार छौ । हामी समय सापेक्ष डिपोजिट पनि दिन तयार छौं तर फिर्ता हुने सर्तमा । धरौटी भनेको कदमकदाचित समयमै भाडा तिर्न नसक्दा त्यहीबाट भाडा कतौटी गर्ने भन्ने हो नि, ‘व्यवसायी नारायण चापागाईले सुनगाभा न्यूजसँग भने, ‘हामीलाई दशैंको मुखमा ताला लगाउन भएन व्यवसाय गर्न पाउनुपर्याे हामी समयसापेक्ष भाडा तिर्न तयार छौ ।’ उनले पटक पटक वार्ता बस्दासमेत निष्कर्ष ननिस्केको बताउदै जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका र कृषि समाग्री कम्पनी लिमिटेडलाई निवेदन दिएको बताए । ‘वार्ता बसिसकेको अवस्था छ । निष्कर्षबिहीन भएपछि सिडिओ, महानगरलाई घटनासम्बन्धि निवेदन दिएका छौ,’ उनले भने । कृषि समाग्री कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उक्त जग्गाको ठेक्का पाएको गुडलक कम्पनी प्रालिले सम्झौता (६ वर्ष) को पहिलो २ वर्षका लागि प्रतिमहिना ८ लाख ३१ हजार ६ सय ५६ रुपैयाँमा तिर्नुपर्ने उल्लेख छ ।
काठमाण्डौ: काठमाण्डौ उपत्यकासहित देशभर बिहान बेलुका चिसो हुन थालेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनतम र अधिकतम तापक्रम बिस्तारै घट्न थालेको छ । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेकोमा आज १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ । अधिकतम तापक्रम पनि केही घट्न थालेको मौसमविद् नगरकोटीले बताउनुभयो । असोज महिनाको अन्तिमतिर आइसकेकाले अब चिसो बढ्दै जानेछ । बेलुकीपख चिसो हावा चल्न थालेको छ । दिउँसोको समयमा भने गर्मी नै छ । असोज अन्तिम हप्ता आइसक्दा पनि मनसुन भने नेपालबाट पूर्ण रुपमा बाहिरिसकेको छैन । सामान्यताय अक्टोबर २ तारिखमा मनसुन बाहिरनु पर्नेमा आज अक्टोबर १३ तारिख भइसकेको छ । नेपालको पश्चिमी क्षेत्रबाट भने मनसुन बाहिरिसकेको छ । यसपालि गएको जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो ।
पाेखरा: गत बुधबार तिथी परेपछि पितृको श्राद्ध गर्न गाइघाटस्थित सेती किनारमा पुगेका कृष्ण सिग्देलको अवस्था अज्ञात छ । स्याङ्जा हरिनास गाउँपालिका ३ का २३ वर्षीय सिग्देलको अवस्था उक्त दिन दिउँसो साढे २ बजेदेखि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । श्राद्ध गर्नेक्रममा सिग्देललाई सेती नदीले बगाएको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय बगरले खोजी कार्य सुरु गरेको थियो । तत्कालै प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश प्रहरी गण पोखराको उद्धार टोलीले सिग्देलको खोजी गरेपनि उनी भेटिएका छैनन् । सिग्देलको खोजी कार्य जारी रहेको जिप्रका कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विक बताउँछन् । उक्त समयमा सोही स्थानमा रहेका प्रत्यक्षदर्शीका अनुसार श्राद्धकाक्रममा पितृलाई तर्पण दिन सिग्देल नदीतर्फ लागेका थिए । त्यसपछि झन् नदीभित्र अघि बढेपछि उनलाई अघि नबढ्न र फर्कन भनिएको थियो । किनारबाट बोलाएको आवाजलाई बेवास्ता गर्दै उनी बिस्तारै उत्तरतर्फ बढ्दै गए । त्यसपछि नदीको सतह गहिरो भएको ठाउँमा पुगेपछि सिग्देलले आकाशतर्फ हेर्दै हात जोडेर नमस्ते गरी अलप भएको बताइएको छ । त्यसपश्चात् उनको खोजतलाश जारी छ ।
काठमाडौँ: काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फछ्र्यौट गर्ने भएको छ । दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फछ्र्यौट गर्ने जनाएको हो । हाल उक्त अदालतमा दुई हजार नौ सय ८७ वटा दुई वर्ष पुराना मुद्दा छन् । अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौँ अदालतका जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले दुई वर्ष पुराना सबै मुद्दा असार मसान्तसम्ममा फछ्र्यौट गर्ने लक्ष्य रहेको र ती मुद्दामा पेसी स्थगित नहुने गरी सुनुवाइ गरिरहेको बताउनुभयो । उक्त अदालतमा दुईवर्ष पुरानासहित हाल ३१ हजार तीन सय ३६ मुद्दा विचाराधीन छन् । रासस
कास्की: पोखरा आसपासमा शाहसिक पदमार्ग निकै छन् । चर्चित एबिसी (अन्नपूर्ण आधार शिविर) पदमार्ग, यही कास्कीमै पर्छ । यसैगरी मर्दी पदमार्ग, कोरी पदमार्ग पनि कास्कीकै लोकप्रिय पदमार्गहरु मध्येकै नाम हुन् । यी पदमार्गपछि चर्चामा आएको अर्काे पदमार्ग खुमै–कोर्चाङ पदमार्ग हो । जुन अत्यन्तै छोटो र सुन्दर पदमार्गको रुपमा लोकप्रिय छ । कोरोना महामारीपछि ह्वात्तै चर्चामा आएको यस पदमार्गमा यस वर्षको सिजन सुरु भएसंगै पर्यटक पुग्न थालेका छन् । त्यसैले पर्यटकका सेवा सुविधाका लागि खुमैडाँडामा नयाँ होटलहरु थपिदै गएका छन् । अहिले खुमैमा नयाँसहित करिब आधा दर्जन व्यवस्थित होटल छन् । तर कोर्चाङमा भने होटलको व्यवस्था छैन । स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको खुमैडाँडा–कोर्चाङ पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखरादेखि मिर्सासम्म यातायातको व्यस्था छ । त्यसपछि पाँचदेखि सात घण्टाको पैदलयात्रापछि खुमै पुगिन्छ । जुन समुद्री सतहबाट ३ हजार २ सय ४५ मिटरको उचाइमा रहेको छ । त्यो रात खुमै बसेपछि बिहान सबेरै उठेर २ घण्टा हिडेपछि कोर्चाङ पुगिन्छ । जुन ३ हजार ६ सय ८२ मिटर उचाइमा छ । कोर्चाङबाट मन भरिनेगरि मनमोहक हिमश्रृङ्खलाको अवलोकन र प्राकृतिक सौन्दर्यतासँग पीरति साटेपछि पोखरा फर्कन सकिन्छ । तस्बिर: राकेश मगर /सुनगाभा न्यूज

