प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका प्रहरी प्रमुखलाई हेडक्वार्टर तानेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौर र जिल्ला प्रहरी प्रहरी कार्यालय सर्लाहीका प्रमुख नरेशराज सुवेदीलाई काज सरूवा गरी हेडक्वार्टर तानेको हो। दुई एसपीको स्थानमा प्रहरी प्रधान कार्यालयले सुवास बोहोरा र प्रवीण धिताललाई जिल्लाको नेतृत्व दिएको छ। बोहरालाई बाँके र धिताललाई सर्लाही प्रहरी प्रमुखको जिम्मा दिएर काज सरूवा गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता डीआइजी कुबेर कडायतले जानकारी दिए। बाँकेमा फेसबुक स्टाटसको निहुँमा केही दिनअघि सामाजिक सद्भावमाथि खलल पुग्ने गतिविधि भएको थियो। सुरक्षा चुनौती भएपछि त्यहाँ कर्फ्युसमेत लगाइएको थियो। सर्लाहीमा पनि मूर्ति बिसर्जनको क्रममा दुई पक्षबीच झडप हुँदा कर्फ्यु लगाइएको थियो।
डेंगी संक्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ। उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आज मृत्यु भएको हो। दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ। ६ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेंगीबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। डेंगु संक्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
काठमाण्डौ: सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुर्नेलगायतका मर्मतको काम शुरु गरेको छ । वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएका कारण मर्मत गर्न शुरु गरिएको विभागले जनाएको छ । मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर ९सीडीई० नातिबाबु खड्काले बताउनुभयो । साउनदेखि नियमित मर्मतका लागि असार महिनामा नै ठेक्का गरेर तयारी अवस्थामा बस्न निर्देशन दिइएको उहाँले बताउनुभयो । विभागले बर्सेनि वर्षा सकिनासाथ मर्मत गर्ने गरेको छ । वर्षा सकिनासाथ र अर्को वर्षा शुरु हुनु पहिले मर्मतको काम बढी हुन्छ । उहाँले भन्नुभयो, वर्षा सकिनासाथ दशैँ पनि पर्छ । तर मौसमका हिसाबले पनि वर्षा सकिएपछि मर्मत गर्नु उपयुक्त हुन्छ । यो वर्ष दशैँ केही ढिला गरी रहेको छ । मर्मतको काम बर्सेनि गर्ने समयमा गर्दा पनि दशैँमा सडक राम्रो अवस्थामा पुग्ने उहाँले बताउनुभयो । मर्मतको काम शुरु भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सबैतिर भइरहेको रिपोर्ट आइरहेको छ दशैँ अघि सबैतिर भइसक्छ होला । राष्ट्रिय राजमार्गमा सडक बोर्डले बजेट व्यवस्थापन गर्ने र सडक विभागअन्तर्गत रहेका ३५ डिभिजनले नियमित मर्मत गर्छन् । त्यहीअनुसार यो वर्ष पनि असार महिनामै ठेक्का भएको थियो । यो वर्ष बोर्डका लागि सरकारले रकम विनियोजन नगरेका कारणले अहिले बजेटको समस्या रहेको सिनियर डिभिजनल इञ्जिनियर खड्काले बताउनुभयो । कतिपय काममा खर्च तुरुन्त हुने र भुक्तानी तुरुन्त दिनुपर्ने हुन्छ । उहाँले भन्नुभयो, ुपुरानो दायित्व नै सबै भुक्तानी भइसकेको छैन । सडक विभागले मातहतका डिभिजन सडक कार्यालयलाई तुरुन्त गर्न निर्देशन दिइएको र कार्ययोजना पनि बनेको थियो । काम शुरु भए पनि भने जस्तो प्रगति भइनसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, तुरुन्त भुक्तानी दिनसक्ने अवस्था नभएसम्म समस्या रहेको छ । वर्षाको समयमा देशभरका धेरै सडकमा क्षति भए पनि अहिले ती सबै चालु भइसकेको विभागले जनाइएको छ । कतिपय सडकमा ठूलो क्षति रहेकामा तीनमा सडक खुलाइसकिएको र सडक मर्मतको काम गर्दै जाने विभागको योजना रहेको पाइन्छ ।
नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सुरू भएको नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए। संविधानलाई विभिन्न बहानामा हल्लाउने कोसिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ, उनले भने, संविधानलाई भड्काउने कोसिस भएको संकेत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ। कांग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमण्ड र अहंकारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको बताए। त्यसैले प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक उनको भनाइ थियो। हरेक दिन हाम्रा गतिविधि आमजनताको मोबाइलमा कैद भएका छन्। मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्, उनले भने, पार्टी र भातृ संस्था सुधार गर्न आवश्यक छ। हामी सच्चिन आवश्यक छ। त्यस्तै, उपप्रधानमन्त्री खड्काले राष्ट्रिय मगर संघको दोस्रो कर्णाली अधिवेशनले आम जनमानसमा एकताको सन्देश दिने विश्वास व्यक्त गरेका थिए। कांग्रेसको आगामी महासमिति बैठकका लागि समेत मगर संघको अधिवेशनबाट महत्वपूर्ण सुझाव आउने उपप्रधानमन्त्री खड्काले विश्वास व्यक्त गरे।
नवलपरासी: नवपलुरमा नक्कली नोट बनाउने सामानससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुलिङटार गाउँपालिका–६ ठिमुरेका ३० वर्षीय कृष्णबहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका–३ दानश्रीका २५ वर्षीय सुरज बिक रहेका छन् । उनीहरुलाई बर्दघाट नगरपालिका–४ फलफुलचोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैची लगायतका विभिन्न सामान बरामद गरेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जीतपुरसिमराका पूर्वप्रमुख कृष्ण पौडेल आफ्नै घरमा मृत फेला परेका छन्। नेकपा (एमाले)का मधेस प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल बिहीबार साँझ ७ बजे घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए। डिएसपी न्यौपानेका अनुसार कृष्ण पौडेल घरभित्रै मृत छन् भनेर दिउँसै इलाका प्रहरी कार्यालय सिमराको टोलीले खबर गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयको टोली पुग्दा पौडेल घरभित्र उनी सुत्ने कोठाको भुइँमा लडिरहेको अवस्थामा फेला परेका हुन्। ‘हामी हिजो साँझ ७ बजे घरमा पुगेका थियौं। उनको शव कोठाको भुइँमा ढलेको अवस्थामा फेला परेको हो,’ न्यौपानेले सेतोपाटीसँग भने। पौडेलेको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको न्यौपानेले बताए। घरमै शव फेला परेपछि प्रहरीले उनको परिवारसँग पनि सोधपुछ गरेको बताएको छ। तर, त्यस्तो शंकास्पद केही पनि नदेखिएको प्रहरीले बताएको छ। पौडेल २०७४ को निर्वाचनमा जीतपुरसिमरा नगरपालिका प्रमुखमा निर्वाचित भएका पौडेलले कांग्रेसका कृष्णव्रत सिंहलाई पराजित गरेका थिए। उनी सहकारी अभियन्तासमेत हुन्। उनी हातेमालो बचत तथा ऋण सहकारी संस्था सीमराका अध्यक्षसमेत थिए। एमाले मधेस प्रदेश कमिटीको सचिव भए पनि जारी पहिलो अधिवेशनमा उनी सहभागी भएका थिएनन्। ‘उहाँ १२–१५ वटा बैठकमा उपस्थित हुनुभएको थिएन। पछिल्लो समय डिप्रेसनले गाँजेर औषधि खाँदै आउनुभएको भनेर परिवारले बताएपछि उहाँलाई हटाइएको थिएन। निको भएर पार्टी काममा क्रियाशील हुने विश्वास थियो,’ मधेस कमिटीकी निवर्तमान उपसचिव आरती भण्डारीले भनिन्, ‘तर, हिजै अप्रिय खबर सुन्नुपर्यो।’ उनले पौडेल मंगलबारदेखि नै परिवारको सम्पर्कमा नरहेको बताइन्। ‘बाहिरबाट चेन गेट लगाएको र भित्र कोठामा उहाँको शव भुइँमा लडिरहेको अवस्थामा फेला प¥यो। कसरी मृत्यु भयो पोष्टमार्टमपछि खुल्ला, हामीले एउटा सहकर्मी, सहकारी आन्दोलनका हर्ताकर्ता गुमायौं,’ उनले भनिन्।पौडेलका श्रीमती, एक छोरा र छोरी छन्। उनी केही दिनदेखि घरमा एक्लै रहेको पनि खुलेको छ।
काठमाण्डौ: कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख परशुराम खापुङ कानुनी परामर्शमा जुट्नुभएको छ । संविधान र कानुनी परामर्श तथा सांसदहरुको हस्ताक्षर सनाखत गराएर मात्रै प्रदेश प्रमुख खापुङले बेलुकीपख दुईमध्ये एक जनालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखले बहुमत पुर्याउन सक्ने सांसदलाई आजसम्ममा मुख्यमन्त्रीमा दाबी गर्न सक्नेगरी समयसीमा दिएकोमा हिजो सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका इन्द्र आङ्बो र कांग्रेसको शेखर कोइराला पक्षधर सांसद केदार कार्कीले दाबी पेस गर्नुभएको छ । कोशी प्रदेश सभामा कुल ९३ जना सांसद रहेकोमा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । मुख्यमन्त्रीमा दाबी गरेका दुवैले ४७ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका कारण हस्ताक्षरको आधिकारिकताका विषयमा पनि प्रश्न खडा गरेको छ । आङ्बोले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेसका सांसद कार्कीले पनि कांग्रेसका ८ जना र एमालेका ३९ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गर्नुभएको छ । एमालेले आफ्नो नेतृत्वमा सरकार गठनको अवस्था नरहेको अवस्थामा कांग्रेसलाई समर्थन गर्ने बताएको छ । त्यसैले कांग्रेस नेता शेखर कोइराला पक्षका केदार कार्कीले दाबी पेस गर्नुभएको हो । कोशीमा सरकार गठनको लागि यो नै अन्तिम विकल्प भएकाले दलहरुले आफ्ना सांसदलाई ह्वीप लगाउन पाउने छैनन् । बहुमत पुर्याउन सक्ने सांसदले सरकार गठन गर्न सक्नेछन् । बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ । कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक जना सांसद छन् । एमालेका ४० जना सांसद रहेकोमा सिर्जना दनुवार उपसभामुख हुनुहुन्छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का ६ जना सांसद छन् । संविधानको धारा १६८ को उपधारा ५ मा ‘प्रदेश सभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सक्नेछ’ भन्ने उल्लेख छ । संविधानको धारा १६८ ९३० अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । कोशी प्रदेशमा ७ महिनाको अवधिमा पाँचौँ सरकार गठनको तयारी भइरहेको छ । उपधारा ५ अनुसार सरकार गठन हुन नसकेमा वा गठन भएको सरकारले विश्वासको मत नपाएमा मध्यावधि चुनावमा जानुपर्ने संवैधानिक व्यवस्था छ ।
बाँके: बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वीपीचोकमा आज बिहान आगलागी हुँदा सात वटा पसल जलेर नष्ट भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पसलका प्रायजसो सामान जलेको जानकारी दिनु भयो । अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको दमकल शाखा प्रमुख झइनबहादुर खड्काले आगो निभाउन झन्डै दुई घण्टा लागेको बताउनुभयो । आगो निभाउन उपमहानगरपालिकाको तीन वटा र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको खड्काले बताउनु भयो ।
काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टिमबाट आगामी दिनका प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् । गए राति सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै आफूलाई पुनर्जागृत गर्न आवश्यक रहेको र त्यसका लागि केही समय परिवारसँगै बस्न चाहेको उल्लेख गरेका छन् । सन्दीप यतिबेला नाबालिग बलात्कारको अभियोग खेपिरहेका छन् । उनीविरुद्ध दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । सन्दीपले लेखेका छन्, -'भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु । आफूलाई पुनर्जागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद । अर्को भेट नभएसम्म।।।’,

