काठमाण्डौ: चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरिया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले गैँडा जुधेर मरेको हुनसक्ने बताउनु भएको छ । चितवन राष्ट्रिय नकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै पाँच वटा गैँडा मरेका छन् । तीमध्ये एउटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ ।
काठमाडौं: नेपाल, यूएई र हङकङबीच हुने त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधवार शृङ्खलाको तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार समूह चरणका खेल मूलापानी क्रिकेट मैदानमा र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाको फाइनल खेल कात्तिक १० गते हुनेछ । नेपालले आफ्नो पहिलो खेल कात्तिक १ गते यूएईसँग, दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ । शृङ्खलाको पहिलो खेल दिउँसो १ बजे र अन्य खेल बिहान ११ बजे शुरु हुने तालिका छ ।
पोखरा: कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तीको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरिने धार्मीक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए । घटस्थापनाको दिन असोज २८ गते विधिवत रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवज हुने धार्मीक क्षेत्रविकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालीका मन्दिरमा परापुर्व काल देखि पर्व विशेषमा विभिन्न गतिविधि संचालन हुदै आएका छन् । यस वर्षको बडा दशैंको १० दिन सम्म कोतघरमा पाणा पुजारी सहित विश्व शान्तीको कामना गर्दै विशेष पुजा गरिने भएको हो । बडा दशैंको फुलपातीमा पोखराको रामघाट वाट लगेको फुलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रीक पुजा गरीने त्रिपाठीले बताए । उनले भने फुलपातीकै दिन कुवर जातीको लोप उन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रर्दशन गरिने कार्यक्रम रहेको छ । अष्ठमीको दिन मध्यरातमा कालरात्रीको पुजा र नवमीमा पञ्चवली दिने गरिन्छ । दशमीमा मन्दिरमा टिका ग्रहण गरी वास्पानीकालीकामा फुलपत्र सहित पुजा विर्सजन हुने छ । यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । कास्कीकोटमा दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिने मन्दिरका अमाली खिम वहादुर कार्कीले बताए । यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामाकरण भएको मानिन्छ ।
काठमाण्डौ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियुक्तिमा संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । आज बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले आयोगको नियुक्तिमा दलगत हस्तक्षेप र भागबन्डा बढी भएको बताउनुभएको हो । उहाँले अदालतसमेत नियुक्तिका विषयमा मुछिएको बताउनुभयो । आयोगको नियुक्तिको मापदण्ड नबदलिकन अपेक्षा गरेको परिणाम नआउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग संविधानबाट नै सिर्जना गर्यौँ । आयोगलाई अधिकार र जिम्मेवारी पनि दियौँ । तर आयोगबाट अपेक्षाकृत परिणाम आएन । किनकि यसको जरामै समस्या छ । यसको नियुक्तिमै समस्या छ । यसको नियुक्तिमा धेरै दलगत हस्तक्षेप र भागबन्डा भएको छ, पछिल्लो समय अदालत पनि तानिएको छ, मुछिएको छ । अख्तियारको प्रमुख स्वयंलाई आयोगको दुरुपयोग गरेको, भ्रष्टाचारको मुद्दा लागेको छ, सदस्य सचिवलाई मुद्दा लागेको अवस्था छ । कानुन नै संशोधन गर्नुपर्छ ।’ महामन्त्री थापाले संवैधानिक परिषद्सम्बन्धी कानुनमा संशोधन गरेर यसको संसदीय सुनुवाइ नभई सार्वजनिक सुनुवाइ गर्ने व्यवस्था नथपिकन अपेक्षित परिणाम प्राप्त गर्न नसकिने बताउनुभयो । नीतिगत निर्णय के हो भन्नेबारेमा छुट्टै कानुन बनाइनुपर्ने उहाँको भनाइ छ ।
जोमसोम: मुस्ताङमा लेक लागेर दुई विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक युक्रेनी नागरिक र अर्का एक भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। पोखराबाट १० जनाको समूहसहित असोज १९ गते मुस्ताङ भ्रमणका लागि आएकी युक्रेनी महिला ३५ वर्षीया अन्ना पानिनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए कागबेनी बास बसेर असोज १९ गते पैदल हिँडेर झोङ हुँदै मुक्तिनाथ जाने क्रममा बीच बाटोमै उनलाई लेकको समस्या देखिएको सूचना अधिकारी प्रहरी निरीक्षक गौतमले बताए। युक्रेनी महिला पानिनालाई श्वासप्रश्वास र टाउको दुख्ने समस्या देखिएको थियो। लेक लागेका कारण बिरामी परेकी उनलाई जोमसोम अस्पतालमा उपचार लगिएको थियो। उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। लेक लागेर मृत्यु भएकी महिलाको शव हेलिकोप्टरमार्फत् काठमान्डौं उद्धार गरिएको प्रहरीले बताएको छ। त्यसैगरी भारतको तामेलनाडुबाट मुक्तिनाथ दर्शनका लागि आउँदै गरेकी भारतीय पर्यटक वर्ष ६४ वर्षीया रेवतीको लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। उनको उपचारको क्रममा मृत्यु भएको थियो। भारतदेखि १०३ जना भारतीय दर्शनार्थी टोली पोखराबाटबेनी(जोमसोम सडक हुँदै थासाङ गाउँपालिकाको लेते आइपुगेको थियो। मुक्तिनाथ दर्शन गर्न उद्देश्यले मुस्ताङ आएकी उनलाई लेते आउँदा लेक लागेको थियो। थासाङको लेते प्राथमिक स्वास्थ्य उपचारकेन्द्रमा उपचार लैजाँदै गर्दा उनको मृत्यु भएको थियो। उनी यसअघि पनि विभिन्न रोगबाट ग्रस्त थिइन्।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृतक भारतीय महिलाको शव पोस्टमार्टमका लागि एम्बुलेन्समार्फत् पोखरा लगिएको छ। होचो स्थानबाट एक्कासी स्वास्थ्य परीक्षण नगरी मुस्ताङ आउने प्रचलन र कुनै होल्डिङ सेन्टरमा विश्राम नगरी अग्लो स्थानमा आइपुग्दा लेकको समस्या हुने गरेको प्रहरी निरीक्षक गौतमले बताए। मुस्ताङ समुन्द्री सतहको २७ देखि ४५ सय मिटरको अग्लो उचाईमा अवस्थित छ। गत वर्ष मुस्ताङ भ्रमणका लागि आएका १० जना आन्तरिक तथा बाह्य पर्यटको लेक लागेर मृत्यु भएको थियो।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा रहेका नेपाली नागरिकको उद्धार गर्न निर्देशन दिनुभएको छ ।नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुसँग त्यसबारे बुधबार जानकारी लिनुभएको छ । साथै प्रधानमन्त्री प्रचण्डले आजै जहाज पठाउन निर्देशन गर्नुभएको हो । आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएको छ । जहाज आज राति ११ बजे उड्ने र दुबई ट्रान्जिट हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभएको छ । गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन् । घर फिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ ।
पोखरा: बडा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सरकारले ४३ जिल्लामा साल्ट ट्रेडिङ कर्पाेरेशनमार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । तीन ठुला चाडपर्वलाई मध्यनजर गर्दै सरकारले असोज २१ गतेदेखि देशको ४३ जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । जहाँ सुपथ मूल्य पसलमा चिनी, चामल, नुन, गेडागुडी लगायत विभिन्न खाद्यान्न समाग्रीहरु सुपथ मूल्यमा विक्री वितरण हुदैं आएको छ । तर सरकारले भनेजस्तो समाग्री भने उपलब्ध गराउन सकेको छैन । सरकारले घोषणा गरेको मिति देखिनै गण्डकी प्रदेश अन्तरगत पोखरामा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियत दरमा कारोबार सुरु गर्याे । सरकारको घोषणा अनुसार सहुलियत पसल सञ्चालनमा भएको स्थानमा चिनी खरिद गर्न गए ग्राहक रित्तो हात फर्किन बाध्य छन् । कर्पाेरेशनमा चिनीको अभाव छ तर उपझोत्ताको माग भने झन झन बढ्दै गएको छ । पोखरा लगायत सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने स्थानमा सबैभन्दा बढी चिनी खरिद गर्ने ग्राहकको संख्या बढी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन गण्डकीका प्रमुख बासुदेव उपाध्यायले बताए । ‘सरकारले चाडपर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याएको छ, सहुलियत पसलमा सबैभन्दा बढी चिनी खरिद गर्ने ग्राहक बढी छन्’, प्रमुख उपाध्यायले भने, ‘पोखरामा अहिले नुन, चामल र तोरीको तेल बाहेक अरु खाद्यान्न हामीसँग मौजाद छैन्, अरु बिक्री गर्न सकिएको छैन् ।’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख उपाध्यायले पोखरामा सञ्चालनमा आएको सहुलियत पसलबाट दशै अगाडि चिनी विक्री गर्न नसक्ने बताए । ‘सरकारले चिनी प्रतिकेजी ९७ रुपैयाँ कायम गरेको छ, ग्राहकको माग पनि बढी चिनीमा छ, काठमाडौ लगायत केही स्थानमा मौजाद रहेको चिनी बिक्री भएको छ होला’, उनले भने, ‘काठमाडौं लगायत बाहिरी जिल्लाका सुपथ मूल्य पसलमा सरकारले चिनी खरिद गरेर नपठाउँदा दशै अगाडि चिनी विक्री गर्न गाह्रो छ ।’ उनले सहुलियत पसलबाट चिनी विक्री गर्न नसक्दा ग्राहकको संख्या न्यून रहेको बताए । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड गण्डकी प्रदेशले आयोनुन प्रतिकेजी ६ केजी र तोरीको तेल र चामल भने ग्राहकले माग बमोजिम खरिद गर्न सक्ने कार्यालयको दाबी छ । तर पसल सञ्चालन आएको चार दिन नबित्दै तोरीको तेलको मौजाद सकिएपछि तेल खरिदका लागि गएका ग्राहक रित्तो हात फर्किन बाध्य छन् । तर तोरीको तेल कम्पनीमा माग गरिएकाले भोलि बिहानसम्म पोखरा आइपुग्ने कार्यालयले जनाएको छ । कार्यालयले अहिले नुन १८ रुपैयाँ, तोरीको तेल, ३ सय ५० र प्रिमियम जिरा मसिनो चामल प्रतिबोरा २ हजार १ सय ६५ रुपैयाँमा विक्री गरिरहेको छ । चार दिनमै सकियो मौज्दात तेल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराले अहिले सहुलियत पसलबाट नुन, प्रिमियम जिरा मसिनो चामल र तोरीको तेल मात्र विक्री गरिरहेको छ । साल्ट ट्रेडिङले सहुलियत पसलबाट तीन दिनमा १ हजार ८ सय १६ केजी नुन, ४३ बोरा चामल र २ सय लिटर तोरीको तेल विक्री गरेको छ । पसल सञ्चालनमा आएको चारदिनमै मौजाद रहेको तेल सकिएपछि तेलको माग गरिसकेकाले बिहीबार बिहानसम्म पोखरा आइपुग्ने कार्यालयले दाबी गरेको छ । सहुलियत पसल मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच शुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो।गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो । तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् । केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं: सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

