कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन्। ' टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो भने सुस्मिताको आइतबार बेलुकी नै मृत्यु भएको थियो। बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले टोकेर घाइते भएको प्रमुख बस्नेतले । उनीहरूलाई गाईगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालले टोकेको थियो। अरिङ्गालले टोकेपछि तत्काल स्वास्थ्यकर्मीलाई खबर नगर्दा बालिकाको मृत्यु भएको प्रमुख बस्नेतले बताए।
-कैलाली भजनीका वीरेन्द्र चौधरी दक्षिण इजरायलको किबुज अलुमिमस्थित हामी रहेको कृषि फार्ममा शनिबार बिहान साढे पाँच बजे नै गोली चलेको आवाज आयो । हामी एकै ठाउँमा १७ नेपाली थियौँ । सबैजना तत्काल बंकरमा छिर्यौँ, किनभने हामीलाई गोलाबारीको आवाज आउना साथ ‘बंकरमा बस्नू सुरक्षित हुन्छ’ भनिएको थियो । हामी बंकरमा गयौँ, फोटो–भिडियो बनायौँ । एक घन्टापछि (अन्दाजी ६:३० तिर) बन्दुकधारी आतंककारीहरू बंकरभित्र प्रवेश गरेर गोली चलाए । सुरुमै हाम्रा दुई साथी ढले । बाँकी सबै एकै ठाउँ घोप्टो पर्यौँ, आँखा बन्द गर्यौँ । त्यहाँ दुईवटा ग्रिनेड छाडेर आतंककारीहरू फर्किए । हाम्रा एक साथीले एउटा ग्रिनेट उठाएर फालिदिए, अर्को पड्कियो । अरू तीन साथी पनि घाइते भए । त्यसपछि तीनजना इजरायली प्रहरी हामी भएको बंकरमा आइपुगे । घाइते पाँच साथीलाई त्यहीँ छाडेर प्रहरीले हामी १२ जनालाई अर्को बंकरमा लग्यो । त्यो भान्सा भएको बंकर थियो । तर, साढे ९ बजेतिर उक्त बंकरमा पनि आतंककारीहरू आइपुगे । तीन इजरायली प्रहरीलाई समातेर लगे अनि हामीतिर गोली वर्षाउन थाले । साथीहरू पानी, पानी भन्दै ढले । सुरुमा दुईजना साथीहरूको प्राण गयो । यस्तो आतंकित अवस्था भयो कि म अहिले बताउन सक्दिनँ । साथीहरू चिच्याउन थालेपछि आतंककारीले झन् गोली वर्षाए । म साथीहरू ढलेको थुप्रोभित्र पुरिएँ । पछि थाहा भयो, १० साथीको प्राण गइसकेछ । आफू बाँचेको पनि धेरैपछि मात्र थाहा भयो, किनभने मेरो होस गुमेको रहेछ । अर्को साथी सल्यान त्रिवेणीका प्रमोद केसी पनि बाँचेका रहेछन् । मलाई म मात्रै बाँचेजस्तो लागेको थियो । प्रमोदलाई पनि ऊ मात्रै बाँचेजस्तो लागेको रहेछ । आफ्नै आँखाअगाडि साथीहरूको मृत्यु देखेपछि दिनभर त्रासमा रह्यौँ । साँझ साढे ६ बजे इजरायली आर्मी आए । हामीलाई अर्को ठूलो बंकरमा लगे । साथीहरूको शव त्यहीँ छाडेर हामी अर्को बंगरमा जानुपर्ने बाध्यता भयो । त्यहाँ थाई र इजरायली नागरिक पनि थिए । इजरायलको आर्मीले हामीलाई बीचबाटोसम्म उद्धार गर्यो, आधा बाटो बसमा यात्रा गर्यौँ । त्यसपछि नेपाली दाइहरू लिन आउनुभएको रहेछ । उहाँहरूसँगै तेलअभिभमा आएर बसेका छौँ । आँखैअगाडि साथीहरू भकाभक ढलेको त्यो घटना म सम्झिन पनि सक्दिनँ । जीवनमा यस्तो घटना न देखेको थिएँ, न कल्पना गरेको थिएँ । बंकर सेफ (सुरक्षित) हुन्छ भन्ने थियो, त्यो पनि सुरक्षित नभएपछि कहाँ जाने ? कसरी सुरक्षित हुने ? चार साथीहरूको उपचार भइरहेको सुनेका छौँ, एक साथीको अहिलेसम्म अत्तोपत्तो छैन । हामी नेपाल फर्किन चाहन्छौँ । अरू साथीहरूको पनि उद्धार गरेर एकैचोटि नेपाल फर्काउने भनिएको छ । यो खबर नयाँ पत्रिकामा छापिएको छ ।
काठमाडौं: रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । सोमबार नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आयसर मिनी ट्रक साँझ करिब पौने ६ बजे दुर्घटना भएको थियो । दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए । तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरुमध्ये एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अन्य भने सामान्य घाइते भएको र उपचारका लागि अस्पताल पनि पुर्याउन नपरेको प्रहरीले जनाएको छ ।
काठमाडौं: इजरायलमा हमासको आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएकाको परिवारलाई राहतस्वरूप रकम उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरप प्रतिपरिवार दस लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने ।’ यस्तै सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा हमासको मिसाइल आक्रमणमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाको परिवारलाई जनही दुई लाख रकम दिने निर्णय गरेको छ । इजरायल आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले आज (मंगलबार) राष्ट्रिय शोकको घोषणा गरेको छ । भने आज सरकारले देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने छ। परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी थाालेकाे छ । इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँग समन्वय र सहयोगमा बेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । दूतावासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउन भनेको छ । यसरी नेपाल फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि भएको छ ।
पोखरा: पोखरामा १० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित रविन्द्र थिङ तामाङ प्रकाउ परेका छन् । पोखरा महानगरपालिका ३२ मजुवा स्थित सवारी साधन चोकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार रविन्द्रको साथबाट १० केजी ८ सय ८९ ग्राम लागूऔषध गाँजासहित रविन्द्र थिङ तामाङलाई प्रहरीले प्रकाउ गरेको हो । कास्कीको वडा प्रहरी कार्यालय गगनगौडा र गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखाबाट कुकुर सहित चेकिङमा खटिएको प्रहरीको टोलीले धादिङको गजुरी गाउँपालिका ३ क्वालसिङ घर भएका २२ थिङलाई लागूऔषधसहित पोखरामा प्रकाउ गरेको हो । प्रहरीले प्रकाउ परेका थिङको साथबाट १० केजी लागूऔषध गाँजासहित, १ थान मोवाईल र ७ हजार ९० रुपैयाँ बरामद गरेको छ । प्रकाउ परेका थिङलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: पोखरा १६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा बडादशैंको अवसर पारी यही असोज २६ गते देखि २८ गतेसम्म स्थानिय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिताको साथै विविध कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष मिन वहादुर गुरुङले जानकारी दिनुभयो । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका १६, १९,२० र १ नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी टिमले सहभागिता जनाउन सक्ने र २४ गतेभित्र टिम दर्ताका लागि खुल्ला गरिएको संस्थाका प्रकास वस्नेतले वताउनु भयो ।“स्वास्थ्यका लागि खेलकुद” भन्ने अभियानका साथ प्रतियोगितालाई निरन्तरता दिईएको संस्थाले जनाएको छ । कार्यक्रममा भलिवल सहित रस्साकस्सी प्रतियोगिता, घैंटो फुटाउने, ठेलो हान्ने लगायतका सांस्कृतिक कार्यक्रम आयोजना गर्ने संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक गुरुङले वताउनु भयो । प्रतियोगितामा विजेतालाई च्यांङ्ग्रा, मेडल र ट्रफी तथा उपविजेतालाई भेडा, मेडल र ट्रफी प्रदान गरिने छ भने विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने वताईएको छ । प्रतियोगितामा एउटा वडावाट २ वटासम्म टिमले सहभागिता जनाउन सक्ने र चार वटा वडाका करिव दश वटा टिमले सहभागिता जनाउने भलिवल प्रतियोगिता उपसमितिका संयोजक विशाल खड्काले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने र सो रकम विभिन्न संघ, संस्था तथा सहयोगीवाट संकलन गरिने आर्थिक उपसमितिका संयोजक केशव थापाले वताउनु भयो । कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका अध्यक्ष मिन वहादुर गुरुङको संयोजकत्वमा ९३ सदस्यीय मुल समिति र विभिन्न १२ वटा उपसमितिका साथै सल्लाहकार समिति समेत गठन गरिएको छ । कार्यक्रममा आर्कषणको रुपमा लिङ्गेपिङ्ग समेत राखिने संस्थाले जनाएको छ । उक्त संस्थाले अघिल्लो वर्ष पनि बडा दशैंको अवसरमा भेट्रान्स कप भलिवल तथा विविध कार्यक्रम आयोजना गरेको थियो ।
काठमाडौं: विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२ स् ४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए । त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।
म्याग्दी: कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन्। जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो। ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ,’’उनले भने, ‘यहाँ ल्याइपुर्याउँदा एउटा च्याङ्ग्राको मूल्य ५० देखि ५५ हजार परेको छ।’ उनीहरु जुम्लादेखि डोल्पा, रुकुमपश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्याङ्ग्रा बेच्न बेनी आएका हुन्। मुस्ताङी भेडाच्याङ्ग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा ल्याइएका थिएनन्। स्थानीयका अनुसार करिब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी आएका हुन्। भेडाच्याङ्ग्रा बिक्री गर्न आउने व्यापारी र कृषकलाई म्याग्दीमा तराल भन्ने चलन छ। तीर्थराजसहित चार जना मिलेर भेडाच्याङ्ग्रा बिक्री गर्न आएका हुन्। हालसम्म करिब १५ मात्र भेडाच्याङ्ग्रा बिक्री भएको श्यामराज बोहराले बताए। ‘सबैले महँगो भयो भन्छन्,’ उनले भने, ‘पोखरासम्म पुर्याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ,’ उनले भने। दसैं पर्वलाई लक्षित गरेर यसपाली म्याग्दीमा मुस्ताङभन्दा पहिले जुम्लाबाट च्याङ्ग्रा आइपुगेका हुन्। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन्। मुस्ताङका कृषकका गोठबाट सङ्कलन गरेर जोमसोम ल्याइएका च्याङ्ग्रा व्यापारीले खरिद गरेर निकासी गर्दछन्। च्याङ्ग्राको हुल भित्रिएसँगै दसै आगमनको महसुस गराउँछ। उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाल जडीबुटी खाने भएकाले दसैँ तिहारजस्ता पर्वमा पोषिलो मासुका रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ। स्वादिलो र पोषिलो हुने भएकाले दशैमा हिमाली भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका देवेन्द्र घिमिरेले बताए। तीन वर्षअघि प्रतिवटा रु २५ हजारमा पाइने च्याङ्ग्राको मूल्य अहिले दोब्बरले बढेकाले सामान्य वर्गका उपभोक्ताले स्थानीय खसीबोका प्रयोग गर्न थालेका छन्।
लमजुङ: लमजुङको सुन्दरबजार नगरपालिका-५ गहतेका ३५ वर्षीय गमबहादुर गुरुङको दक्षिण कोरियाको फाजु क्षेत्रमा मृत्यु भएको छ । रोजगारीको शिलशिलामा ६ वर्षअघि दक्षिण कोरिया गएका गुरुङको असोज १७ गते कोरियामा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गहतेस्थित कालिका युवा क्लबका पूर्वअध्यक्ष समेत रहेका गुरुङ गत साता सम्पन्न लमजुङ परिवार दक्षिण कोरियाको १४ औं अधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए । लमजुङ परिवार दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले गमबहादुर गुरुङको रातिको काममा जानुअघि निधन भएको बुझिएको बताए । गमबहादुरले काम गर्ने ठाउँ फाजुस्थित कम्पनीमा गएर बुझ्दा उनको गत बुधबार राति ६ बजेतिर निधन भएको बुझिएको बताए । कम्पनीले वाइबालाई दिएको जानकारी अनुसार गमबहादुरसँग एक जना भियतनामी कामदार सँगै बस्दै आएका थिए । उनीहरु दुवै सँगसँगै काम गर्ने समय राति थियो । अध्यक्ष वाइबालाई ‘साहुनी’ ले दिएको जानकारी अनुसार बेलुकाको नियमित ड्युटी समय सुरु हुनु अगावै भियतनामी साथीले खाना खाएर गमबहादुरलाई जोडले बोलाएका थिए । तर उनमा कुनै हलचल नदेखिएको पाएपछि भियतनामी साथीले साहुसँग कुरा गरेर एम्बुलेन्स र प्रहरीलाई खबर गरेको कम्पनीकी साहुनीले जानकारी गराएको वाइबाले बताए । गमबहादुर गुरुङको निधनबारे नेपालमा घरपरिवारलाई जानकारी गराइसकेको र परिवारको निर्णय अनुसार शवलाई छिट्टै नेपाल पठाइने उनले बताए । मृतक गुरुङका श्रीमती, एक छोरी, एक भाइ र बुबाआमा गाउँमै छन् । एक जना दिदी र एक जना बहिनीको विवाह भइसकेको छ ।

