काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहतलगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ ।   राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकको अवस्थाबारे चासो व्यक्त गर्नुभएको हो । उहाँले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।   यसैगरी, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गर्नुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

पाेखरा:  शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेको भेटिए ।   चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिए ।   'यो पाली अचम्मै भएको छ, पर्यटक किन आएनन् खै ', पाण्डेले भने, 'मुख्य पर्यटकीय याममा पनि बेगनासको यो अवस्था छ ।'   शनिबार २ बजेसम्म जेनतेन पचास आन्तरिक पर्यटकले मात्र डुङ्गामा ताल सयर गरेका उनले बताए ।   बेगनास ताल डुङ्गा व्यवसायी समितिमा तीन सय ३१ डुङ्गा व्यवसायी छन् । 'भोकभोकै आएर पनि डुङ्गा व्यवसायी पालोमा बस्छन्, तर पर्यटक कुर्दाकुर्दै दिन बित्छ, पालो आउँदैन', पाण्डेले सुनाए, 'अघिपछि यो याममा दैनिक ५० भन्दा बढी डुङ्गा व्यस्त हुन्थे । अहिले त चार–पाँचवटा चल्न पनि धौधौ छ ।'   स्थानीय पर्यटन व्यवसायीले बेगनासमा पर्यटक घट्नुमा सडकको दूरावस्थालाई मुख्य कारक मान्छन् ।   मुग्लिन–पोखरा राजमार्गको तालचोक हुँदै बेगनास जोडिने सडक अहिले निर्माणाधीन अवस्थामा छ ।   'सडक बनिरहेकाले बेगनासको यात्रामा पर्यटकलाई सास्ती छ', डुङ्गाको टिकट कक्षका कर्मचारी राजु कँडेलले भने, 'हिलो, धुलो र खाल्डाखुल्डीले हिँडिसाध्य छैन ।' आर्थिक मन्दीका कारणले पनि मानिस घुमघाममा कम निस्केको हुनसक्ने उनको भनाइ थियो ।   कँडेलका अनुसार पहिले मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक बेगनास ताल घुमेर स्वदेश फर्कन्थे । अहिले अति न्यून सङ्ख्यामा विदेशी पर्यटक त्यहाँ पुग्छन् ।   'पहिले दुई जनालाई टिकट बेच्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले काउन्टर रुँघेर बस्नुपरिरहेको छ', उनले भने, 'डुङ्गा व्यवसाय मात्र नभएर बेगनासको सिङ्गो पर्यटन क्षेत्र सुस्ताएको छ ।'   तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’समेत सञ्चालनमा ल्याइएको कँडेलले बताए । उनका अनुसार पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल क्षेत्रको पर्यटनले डुङ्गा, मत्स्य, होटल तथा रेष्टुराँलगायत स्थानीय व्यवसायीको जीविका भरथेग हुँदै आएको छ ।    अहिलेकै स्थिति रहिरहे पर्यटनको आयआर्जन गुम्ने स्थानीयवासीमा चिन्ता छ । सुन्दरीडाँडास्थित बेगनास–रुपा सूचना केन्द्र तथा ‘भ्यूवाटर’का कर्मचारी सरु भुजेलले कोभिड–१९ महामारीपछि बेगनासमा पर्यटकको सङ्ख्या नसोचेको ढङ्गले घटेको बताइन् ।    'दैनिक सयौँ जनाले टिकट लिएर भ्यूटावर चढ्नुहुन्थ्यो । अहिले कुनै दिन त एक जना पनि पर्यटक आउनुहुन्न', उनले भनिन्, 'आम्दानी नभएपछि भ्यूटावरको मर्मतसम्भार र रेखदेखमा समस्या भइरहेको छ ।'    शनिबार पनि ‘भ्यूटावर’को अवस्था सुनसान रहेको भुजेलले सुनाइन् । एकैसाथ बेगनास र रुपातालसहित मनोरम दृश्यावलोकन गर्न सकिने भए पनि पर्यटक नआउँदा भ्यूटावर क्षेत्र भएको सुनसान उनको भनाइ थियो ।   भ्यूटावर चढ्दा विद्यार्थीलाई रु २०, अन्यलाई रु ३० र विदशीलाई रु ५० को टिकट लाग्ने भुजेलले जानकारी दिइन् ।   टिकटको आम्दानीमध्ये ४० प्रतिशत ताल संरक्षणमा, २० प्रतिशत स्थानीय अरुण ज्योति आधारभूत विद्यालयमा, २० प्रतिशत जैविक स्रोत संरक्षण संस्थामा र बाँकी तलब आदिमा खर्च हुने गरेको उनले बताइन् । 

लागुऔषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बागलुङ इजलासले जिल्ला अदालत बागलुङको फैसलालाई नै सदर गरेको छ।   आइतबार न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बागलुङको तीन वर्ष ६ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार जरिवानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिए।   जिल्ला अदालत बागलुङले २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो। उक्त फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ मा उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए।   हाल गाउँपालिका अध्यक्ष रहेका घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । घर्तीलाई जिल्ला अदालत बागलुङले कैद फैसला गर्दा घर्ती गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका थिए। इलाका प्रहरी कार्यालय बुर्तिवाङका तत्कालीन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई निवासबाटै पक्राउ गरेको थियो। बुर्तिवाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा आपूर्तिकर्ताको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो।  

पोखरा:   ‘बाटोले गर्दा छोरी दिने भएनन्’ यो तस्वीर अहिले सामाजिक सञ्जालमा छरपस्ट छ ।   व्याङ्ग्यात्मक प्रहार झल्किने यो विरोध पोखरा महानगरपालिका १ सिमपानी सडकखण्डको हो ।  राष्ट्रिय गौरवको आयोजना अन्तरगत मध्यपहाडी पुष्पलाल लोकमार्गमध्ये पर्ने २२ सय मिटर दुरीको सडक निर्माणको काम रोकिदा व्याङ्गात्मक प्लेकार्ड बोकेर चक्का जाम गर्न स्थानीय बाध्य छन् ।   पोखरा महानगरपालिका १ र २५ नम्बर वडा जोड्ने (हरिचोकदेखि याम्दीपुलसम्म) सडकको अवस्था कस्तो छ भन्ने यही एउटै प्लेकार्डले प्रष्ट्याएको छ ।    घाम लाग्दा धुलाम्मे वर्षातमा हिलाम्मे हुने यो बाटोले स्थानीय आजित छन् ।   स्थानीय मात्रै होइन यात्रुहरुलाई पनि उत्तिकै सास्ती छ । त्यसैले स्थानीयहरु युवाहरु सडक निर्माणको काम रोकिएपछि विरोधमा उत्रिएका हुन् । सिमपानीको स्थानीय त्रिशक्ति युवा क्लबको अगुवाईमा सडक अवरुद्ध गरेपछि निर्माण कम्पनीसँग वार्ताको माहौल बन्यो ।      अहिले केही प्रतिबद्धतासहित ठेकेदार कम्पनीले स्थानीयको माग पुरा गर्ने सम्झौता गरेपछि विरोधको आन्दोलन स्थगित गरिएको स्थानीय त्रिशक्ति युवा क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए ।    ‘दुई दिन हामीले सांकेतिक रुपमा एक/एक घण्टा सडक जाम गरेका थियौं, त्यसपछि वार्ताको माहौल बन्यो, सुनगाभा न्यूजसँग उनले भने, ‘अहिले निर्माण कम्पनीको इन्चार्जसँग ५ बुँदें सम्झौता गरेका छौं त्यसैले विरोधको कार्यक्रमलाई केही समय स्थगित गरेका छौं ।’   उनका अनुसार निर्माण व्यवसायीहरुले तीन महिना यता निर्माण कार्यमा ढिलासुस्ती गरेको थियो । त्यसपछि कामलाई तिब्रता दिन र सम्झौता समयावधिमै काम सक्नका लागि दवाव स्वरुप विरोधमा उत्रेको बताए ।   ‘हरिचोक, सिम्पानी हुँदै याम्दी हेमजा जोड्ने सडक आफैमा राष्ट्रिय गौरवको आयोजना हो, त्यसैमाथि गण्डकी प्रदेशको राजधानी प्रवेशद्वारमा नै सडक निर्माण ढिलासुस्ती भएको छ’, सुवेदीले भने, ‘निर्माण कार्यलाई तिव्रता दिलाउनका निम्ति स्थानीय सरकारदेखि प्रशासनलाई झकझकाउन दबाब स्वरुप विरोध गरेका हौ ।’   उनले सडक निर्माणको जिम्मा लिएको काठमाडौंको मोतीदान कन्सट्रक्सनले विभिन्न कारण देखाएर तीन महिनादेखि काम रोक्दा स्थानीयले सास्ती खेप्नुपरेको गुनासो सुनाए ।   ‘यो सडक बनाउने म्याद ०८१ साउनसम्म रहेछ, अहिलेको गतिमा काम भए सडक निर्माण सकिदैन, उनले भने, ‘विभिन्न कारण देखाएर सडक अलपत्र जस्तै छोड्दा स्थानीयहरुलाई त समस्यामा छन् नै, सडकमा गुड्नेदेखि पैदल हिड्नेलाईसमेत सास्ती भएको छ ।’   निर्माण कम्पनीले सडकको दुईछेउमा गहिरो नाली बनाएको छ भने कतै स्लाब नै राखिएको छैन ।   त्यसैले वर्षातको समय भएकाले जोखिम बढेको छ । यस्तै कारणले गत वर्ष पोखरा १६ स्थित सुन्दरफिडमा एक बालक नालीमा खसेर बेपत्ता भएका थिए । सिमपानीमा पनि त्यस्तै घटना दोहोरिने हो कि भन्ने चिन्ताले सताएको स्थानीय हरिकला बास्तोलाले बताइन् ।    ‘घर अगाडी नाली छ, वर्षाको समयमा नालीमा पानी भरिएर आउँछ, नालीमा स्लाब नहुँदा कहिले के हुन्छ भन्न सकिदैन, पोहोर दीपमा तिवारी फर्निचरको बाबु यस्तै नालिमा परेर ज्यान गुमाउनुपर्याे अहिले यहाँ पनि त्यस्तै खतरा देखिएको छ,’ उनले भनिन् ।   भुक्तानी भएको छ, अब कामले गति लिन्छ: आयोजना प्रमुख अधिकारी     मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत आयोजनाका प्रमुख कल्पना अधिकारीले पोखराको हरिचोक–याम्दीचोकसम्म २ हजार २ सय मिटर सडक कालोपत्रे गर्न अहिले सामान्य रुपमा काम भइरहेको बताईन् ।   ‘पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेँदीसम्म दुईवर्ष अगाडी नै सडक कालोपत्रे भएको छ’, अधिकारीले भनिन्, ‘बिचमा रहेको हरिचोकदेखि याम्दीसम्म २ हजार २ सय मिटर सडक कालोपत्रे गर्न अहिले मोतीदान कन्ट्रक्सनले काम गरिरहेको छ । तर हुनुपर्ने गतिमा भएको छैन ।’   उनका अनुसार कुल ४८ करोड ५ लाखको लागतमा  सम्झौता भएको थियो । भने काम २०८० साल साउन १४ भित्र सक्काउनुपर्ने सम्झौतामा उल्लेख छ ।    उनले उक्त सडकखण्ड निर्माण गर्न मोतीदान कन्ट्रक्सनले गत आर्थिक वर्षमा आयोजनासँग सम्झौता गरेकाले आगामी वर्षको साउन दोस्रो हप्तासम्म निर्माण कार्य सक्नुपर्ने बताईन् ।   ‘कम्पनीले वर्षा र भुक्तानी नपाएको भन्दै काममा तिव्रता दिएको थिएन, बिस्तारै वर्षायाम पनि सकिदैछ । सरकारले भुक्तानी पनि दिएको छ, उनले भनिन्, ‘अब दशै तिहार र छठपछि कामले तिव्रता लिन्छ भन्ने छ । अहिलेसम्म करिब २२ देखि २५ प्रतिशत मात्रै काम भएको छ ।’   घाम लाग्दा पानी हाल्ने, पानी पर्दा खाल्डा पुर्ने सम्झौता   प्रमुख जिल्ला अधिकारीको रोहबरमा स्थानीय बासिन्दा र निर्माण कम्पनीसँग पर्व नसकिदा सम्मका लागि विभिन्न सम्झौता भएको छ ।    स्थानीय प्रविन सुवेदीका अनुसार तत्कालै खाल्डाहरु पुर्ने, नालीमा स्लाब हाल्ने, संभावित डेंगु न्यूनीकरणका लागि स्प्रे छर्ने सम्झौता भएको छन् ।   यस्तै घाम लाग्दा धुलाम्मे हुने भएकाले आवश्यकता अनुसार दैनिक पानी हाल्ने र वर्षा भएपछि खाल्डा पुरीहाल्ने सम्झौता गरिएको छ ।  ‘दबाब दिन आन्दोलन गरेपछि एक खालको सम्झौता भएको छ ।   'हामीले मानवीयतालाई ख्याल गरेर पर्वको अवधिका लागि भनेर तत्काल आवश्यक कुराहरु मात्र गर्न भनेका छौं, उनले भने, ‘पर्व सकिएपछि कुनै एस्क्युज हुदैन । किनभने पर्वको समय कामदारहरु पनि पाइदैन । घर गैसकेको अवस्था रहेछ । त्यसैले पर्वसम्मका लागि सम्झौता अनुसार काम गर्छु भन्ने प्रतिबद्धता छ । त्यसपछि पनि निर्माणकार्य भएन भने हामी फरक बाटो रोज्छौ ।’  

रोटरी इन्टरनेशनल नेपाल ३२९२, नेपाल–भुटानअन्तर्गत रिजन–४ को इन्टरसिटी मिटिङ सम्पन्न भएको छ । पोखरामा शनिबार भएको मिटिङ खासगरी रोटरीको दिगो योजना निर्माण र स्रोत पहिचान विषयमा केन्द्रित थियो ।   वर्ष २०२३÷२४ का लागि रोटरीका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताले रोटरीका योजना छनोट कसरी गर्ने र स्रोत पहिचान कसरी गर्ने भन्नेबारेमा आ–आफ्नो राय प्रस्तुत गरेका थिए । डिष्ट्रिक्ट गभर्नर ध्वजुले रोटरी सामाजिक काम गर्ने ठुलो संस्था भएको बताउँदै समाजले लाभ लिने विभिन्न प्रोजेक्ट गर्दै जानुपर्ने सुझाव दिए ।   कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले कार्यक्रमको सहजीकरण गर्दै रोटरीमा सेवाको अवसर र स्रोत कसरी परिचालन गर्ने भन्ने विषयमा बोलेका थिए । एनएमबि बैंकका पूर्व सिइसो समेत रहेका रोटरियन उपेन्द्र पौड्यालले सामाजिक उत्तरदायित्वको सम्भावना र चुनौतीबारे आफ्नो प्रस्तुति राखेका थिए । यस्तै, ब्रिटिस नागरिक वरिष्ठ समाजसेवी डगलस म्याक्लगनले सामाजिक कार्यका लागि वित्तीय स्रोत कसरी पहिचान गर्नेबारेमा बोलेका थिए । कार्यक्रममा निवर्तमान डिष्ट्रिक्ट गभर्नर जितेन्द्रबाबु राजभण्डारी, पूर्व गभर्नर सन्तोष रिजाल, पूर्व गभर्नर सञ्जय गिरी लगायतले पनि बोलेका थिए ।   इन्टरसिटी मिटिङका सभापति इविन्द्र तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत डिष्ट्रिक्टका सहसचिव सन्तोष पोखरेल, धन्यवाद ज्ञापन डिष्ट्रिक्ट मेम्बरसिप चेयर सुवाश सिग्देलले गरेका थिए । कार्यक्रम सञ्चालन रिजनल ट्रेनिङ चेयर लक्ष्मी थापा गिरीले गरेकी थिइन् । रोटरी इन्टरनेशनल नेपाल ३२९२, नेपाल–भुटानअन्तर्गत रिजन–४ मा कुल १७ रोटरी क्लब छन् । तीमध्ये १५ रोटरी क्लबले भाग लिएको रोटरी लेकसाइडका अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।

बाँके:    नेपालगञ्जको अवस्था पहिलेजस्तै सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले दिउँसो लगाउँदैआएको निषेधाज्ञाको समय पनि घटाइएको छ ।  नगरको अवस्था सामान्य भएपछि नेपालगञ्ज उपमहानगरपालिकामा दिउँसोको समयमा जारी गरिएको निषेधाज्ञा र राति लगाइएको कर्फ्यु दिन प्रतिदिन खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालयद्वारा सोमवार जारी गरिएको सूचनामा विहानबाटै लगाउँदैआएको निषेधाज्ञा ८ घण्टा घटाएर सोमवारदेखि दिउँसो १२ बजेदेखि राति १० बजेसम्म मात्र जारी रहने जनाइएको छ । राति १० बजेदेखि विहान ४ बजेसम्म कफ्र्यु यथावत रहने सो सूचनामा जनाइएको छ ।  बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नगरको अवस्था सामान्य बन्दै गएपछि दिनको कर्फ्यु हटाएर निषेधाज्ञा जारी राखिएको बताउनुभयो । तर सोमवारबाट दिउँसोको निषेधाज्ञा पनि ८ घण्टा घटाइएको उहाँको भनाइ छ ।   उहाँले निषेधाज्ञाका कारण विभिन्न कार्यक्रमहरु प्रभावित भइरहेकाले क्रमशः निषेधाज्ञा घटाउँदै लगेर समाप्त गरिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आचार्यले हाललाई राति १० बजेदेखि विहान ४ बजेसम्म कर्फ्यु यथावत राखिएको जनाउँदै सो पनि केही दिनपछि हटाइने बताउनुभयो ।   सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बनेपछि गत मंगलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो । जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि भने छोट्याउँदै लगिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी गरिएको सूचना सोमवार दिउँसो १२ बजेदेखि राति १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइनेगरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी रहेको जनाइएको छ ।

सर्वोच्च अदालतमा पारिवारिक विवाद सम्बन्धी मुद्दामा सुनुवाइ गर्न छुट्टै इजलास गठन भएको छ।   सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्ने इजलासको शुभारम्भ गरेका हुन्। प्रधान न्यायाधीशले आफ्नो संसदीय सुनुवाईको क्रममा अदालतमा पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्न छुट्टै इजलासको व्यवस्था गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए।   सोही कार्ययोजना अनुसार सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिको निर्णयबाट आजदेखि  त्यस्ता मुद्दाहरूको मात्रै सुनुवाइ गर्न २ वटा छुट्टै इजलास सुरू गरिएको हो। परिवारिक इजलासबाट हाललाई महिला वादी भएका लगाउ नभएका अंश, नाता कायम, घरेलु हिंसा र बालवालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाह लगायत बालवालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरुको सुनुवाई हुने बताइएको छ।   इजलासको आरम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना अनुसार पारिवारिक इजलास स्थापना हँदा खुशी मिलेको बताए। उनले महिला वादी भएका मुद्दा, अंशमुद्दा, नाता कायम, घरेलु हिंसा र बालबालिकासम्बन्धी मुद्दालाई चाँडै टुंग्याउन इजलास स्थापना गरिएको बताए। ‘अब महिलाहरूका लागि छिटोछरितो र भरोसा गर्न सक्ने न्याय हुनेछ भन्नेमा विश्वस्त छु,’ उनले भने साथै सो इजलासमा काम गर्ने जोसुकै न्यायाधीशले यसको उद्धेश्य बुझेर काम गर्न आग्रह गरेका छन्। काठमाडौं  उपत्यकामा अरु जिल्लामा पनि पारिवारिक इजलास स्थापना गर्ने लक्ष भएको पनि उनले बताए।

पोखरा: पोखरा ९ न्यूरोडस्थित रिडर्स कर्नरमा किताब मेला शुरू भएको छ। नयाँ तथा पुराना किताब खरिदमा विशेष छुटसहित किताब मेला शुरू भएको हो।   रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले असोज २१ गतेदेखि कात्तिक ४ गतेमसम्म किताब मेला चल्ने जानकारी दिए। हरेक वर्ष जस्तै, रिडर्स कर्नरमा किताब विशेष चाड बनाउनका लागि किताब मेला शुरू गरिएको भण्डारीको भनाइ छ। “रिडर्स कर्नरमा यसअघिका वर्षमा पनि किताब मेला हुँदै आएको छ। यो छैटौँ किताब मेला हो,” उनले भने, “चाडबाडलाई किताब विशेष बनाऔँ भनेर किताबप्रेमीलाई केही सहुलियतसहित किताब मेला शुरू गरेका छौँ।” भण्डारीका अनुसार किताब खरिद गर्दा विभिन्न छुटको व्यवस्था छ। १९ सय ९९ रूपैयाँको किताब खरिद गर्दा १० प्रतिशतसम्म छुट, २ हजारदेखि ३४ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाइनेछ। ३५ सयदेखि ४९ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा २० प्रतिशत छुट र लक्की ड्र मार्फत एउटा किताब सित्तैमा पाइनेछ। यस्तै, ५ हजार रूपैयाँभन्दा धेरैको पुस्तक खरिद गर्दा २५ प्रतिशत छुट र २ वटा किताब सित्तैमा पाइनेछ।  पुस्तकालयले किताब खरिद गर्दा १० हजारदेखि २५ हजार ९९९ नेपाली साहित्यको किताब खरिदमा २० प्रतिशत र अँग्रेजी किताब खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाइनेछ। २६ हजारदेखि ४९ हजार ९९९ रूपैयाँसम्मको नेपाली साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत र अँग्रेजी साहित्यको किताब खरिद गर्दा २० प्रतिशत छुट पाइनेछ।   ५० हजारदेखि माथिको नेपाली साहित्यको किताब खरिदमा ३० प्रतिशत र अँग्रेजी साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत छुट पाइनेछ।  

काठमाडौं: अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गरेका छन् ।   ९ अक्टोबरदेखि १५ अक्टोबरसम्म हुने बैंकको बैठकको मूल नारा ‘ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने भएको छ । विश्व बैंकको मूल कार्यक्रमसँगै अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी० का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग अर्थमन्त्री महतले नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी यूएसएआईडीसँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएको छ । सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँच सम्बन्धी जोखिम तत्वको विषयमा छलफल, बिल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेशी एवम् चुनौतीसँग जुध्न सक्षम आर्थिक विकासका सम्बन्धमा छलफल, दक्षिण कोरियाका उपप्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने अर्थमन्त्री महतको कार्यसूची रहेको छ ।   त्यसैगरी अर्थमन्त्री महतले स्ट्यान्डर्ड एण्ड चार्टर्ड बैंक एवम् क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्ने अर्थमन्त्री महतको सचिवालयले जनाएको छ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रतिनिधिसँग संयुक्त रूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवम् प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्री महतले वार्ता गर्नेछन् ।   विश्व बैंकको कोष समूहसँग भावी वित्तीय द्वारहरूका विषयमा वार्ता हुने, अन्तर्राष्ट्रिय विकास संघ ९आईडीए० का उपाध्यक्षसँग द्विपक्षीय वार्ता हुने र बहुपक्षीय लगानी सुरक्षण एजेन्सी ९एमआईजीए०का उपाध्यक्षसँग द्विपक्षीय वार्ताको कार्यक्रम तय भएको छ ।   उक्त बैठकमा अर्थ मन्त्रालयबाट अर्थमन्त्री महत, अर्थसचिव डा। कृष्णहरी पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा। नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी छन् ।   बैठकमा विश्वभरका १८९ देशका अर्थ तथा विकास मन्त्रीहरू, केन्द्रीय बैंकरहरू, निजी क्षेत्रका अधिकारीहरू, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकहरूको सहभागिता रहनेछ ।