काठमाडौं: नेपालको पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो । गत १६ गते ६.३ म्याग्निच्युडकोभ भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा छलफल भएको बताइएको छ ।
झापा: एसियाली खेलकुदमा मुलुकका लागि पहिलो पदक दिलाउने नेपाली राष्ट्रिय कबड्डी टोलीकी खेलाडी अनुजा कुलुङ राईको घर पुग्दा बुबा धनमान राई भैँसी चराउन जङ्गलमा हुनुहुन्थ्यो । आमा तिलसरी पुरानो दराज इनामेलले रङ्ग्याउँदै हुनुहुन्थ्यो । हल्दिबारी गाउँपालिका–३ देवीबस्तीमा टिनको छानो भएको सानो भुइँतले घरमा अनुजाको बुबा र आमा बस्नुहुन्छ । नजिकै जलथल जङ्गल छ । जहाँ अनुजाका बुबासहित गाउँलेहरु गाईभैँसी र बाख्रा चराउन जान्छन् । अधुरो हुलाकी राजमार्गबाट पाँच सय मिटर दक्षिण जङ्गलकै छेउमा खेतीपातीबाटै अनुजाको परिवारले जीवन धान्दै आएको छ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक काँस्य पदक जितेको छ । मेनुका राजवंशीको नेतृत्वमा रहेको नेपाली कबड्डी टोलीमा अग्लो कदकी २५ वर्षीया अनुजा सशक्त खेलाडी हुन् । गत सोमबार बङ्गलादेशलाई पराजित गरेपछि नेपाली टोलीले मुलुकलाई एसियाली खेलकुदकै पहिलो पदक पक्का गरेको थियो । एसियाली खेलकुदको कबड्डी प्रतिस्पर्धामा नेपाली टोली पहिलोपटक सहभागी भएको हो । प्रतियोगितामा पदक दिलाउन अनुजाले प्रदर्शन गरेको खेल कौशलको चौतर्फी प्रशंसा भइरहेको छ । सानो घर, थोरै खेतीपाती र भैँसीपालनको परिवेशले अनुजा सङ्घर्ष गरेरै खेल जगत्मा गाउँबाट उदाएकी प्रतिभा हुन् भन्ने स्पष्ट झल्किन्छ । किसान परिवारमा जन्मिएकी अनुजा चार पाँच वर्षको हुँदा नै बुबा धनमान वैदेशिक रोजगारीमा जानुभयो । आमा र हजुरआमा ९बोजु०को ममतामा हुर्किएकी अनुजा सानैदेखि कबड्डी खेलप्रति आकर्षित थिइन् । अनुजाकी दिदी रोशनी वैदेशिक रोजगारीकै सिलसिलामा साइप्रसमा गएकी छन् भने भाइ पनि विदेश जाने तयारीमा छन् । शुक्रबार दिउँसो हामी घर आएको खबर पाएपछि अनुजाका बुबा धनमान जङ्गलको चरनमै भैँसी छाडेर घर फर्किनुभयो । काठे बेराको भुइँतले घरका साँघुरा कोठामा खचाखच माल सामानसँगै अनुजाले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाएका प्रमाणपत्र र जितेका पदक असरल्ल थिए । कोही पोखरा र काठमाडौँमा पाएका प्रमाणपत्र थिए भने कोही राजस्थान र मलेसियामा जितेका पदक थिए । अनुजाले पाएका पदक कोठाका भित्तामा टाँगिएका र कोही बाँसका कञ्चीमा बेरेर राखिएका थिए । “कबड्डी भनेपछि हुरुक्कै हुन्थी, भातै खान बिर्सिन्थी”, आमा तिलसरीले अनुजाको बाल्यकाल सम्झिँदै भन्नुभयो, “स्कुल गयो कबड्डी खेल्यो, घर आयो कबड्डी खेल्यो अनि बेलुका भयो छिमेकीका घरमा गएर पनि टिभीमा कबड्डी गेम नै हेरेको छ । अति भएपछि पढाइ बिग्रन्छ कि भन्ने चिन्ता थपियो । पढ्नमा मन लगा छोरी, यसरी खेलामा लागेर भविष्य बिग्रिन्छ भनेर कति सम्झायौँ । तर, उसले मानिन । कबड्डी खेल्न छाडिन ।” कबड्डी खेलेर देशको नाम संसारभर चिनाउने सङ्कल्प लिएर खेल क्षेत्रमा सानैदेखि समर्पित अनुजालाई कबड्डीमा डोहो¥याउने प्रशिक्षक झापाकै रतिया राजवंशी हुनुहुन्छ । हाल भद्रपुर वडा नं ६ का वडाध्यक्ष रहनुभएका राजवंशी अखिल नेपाल कबड्डी सङ्घका कोशी प्रदेश अध्यक्ष र कबड्डीका पूर्वराष्ट्रिय प्रशिक्षक हुनुहुन्छ । “दश वर्षअघि गाउँका स्कुलतिर खेलाडी हुन लायक विद्यार्थीको खोजीमा निस्किएको थिएँ”, आफूले प्रशिक्षित गराएकी अनुजाले एसियाली खेलमा पदक जित्दा खुसी लागेको बताउँदै कबड्डी सङ्घका तत्कालीन प्रशिक्षक राजवंशी भन्नुहुन्छ, “जब म हल्दिबारीको पञ्चायत माविमा पुगेँ । अग्लो र बलिष्ठ कदकी छात्रालाई बोलाएर तिमीले अब कबड्डीको तालिम लिनुपर्छ भनेँ । तिनै छात्रा नै अहिलेकी अनुजा हुन् । मैले उनी भविष्यमा राष्ट्रकी होनहार प्रतिभा बन्ने छिन् भन्ने त्यतिबेलै कल्पना गरेको थिएँ । मेरो त्यो अनुमान अहिले साँचो ठहरियो ।” अनुजाले घरदेखि टाढा रहेको पञ्चायत मावि र लक्ष्मी माविबाट माध्यमिक तहको शिक्षा हासिल गरेकी थिइन् । उसबेला गाउँका अरु केटीहरु टाइसुटमा ठाँटिएर बोर्डिङ स्कुल पढ्थे । घरको आर्थिक अवस्था बलियो नहुँदा उनले पैदल धाएरै सरकारी विद्यालयमा पढ्छिन् । पढ्न र खेल्नबाहेक उनले गाईवस्तु पनि चराउनुपथ्र्यो, घाँस पनि काट्नु पथ्र्यो । “स्कुल धाउँथिन्, तर उनको मन र मस्तिष्क कबड्डी खेलतिरै एकोहोरिएको थियो”, अनुजाको पठनपाठनबारे पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद बन भन्नुहुन्छ, “उनको पढाइको स्तर सामान्य भए पनि कबड्डीमा रुचि भने अचम्मकै थियो । चारपाँच जना बलिया मान्छेलाई फाँड्न सक्ने उनको तागत थियो । कबड्डीका प्रशिक्षक राजवंशीले विद्यालयमै आएर उनलाई खेलाडी छनोट गर्नुभएको थियो । विद्यालयमै अरुसँगै नियमित तालिम पनि दिनुभएको थियो ।” आफ्नो विद्यालयमा पढेकी छात्राले अन्तर्राष्ट्रिय खेलकुदमा मुलुकको स्वभिमान उँचो बनाउँदै पदक जितेकोमा विद्यालयमा खुसीको माहोल छाएको उहाँले बताउनुभयो । “मैले पनि बङ्गलादेशसँगको खेल हेरेको थिएँ, साह्रै खुसी लाग्यो”, उहाँले भन्नुभयो । प्रअ बनका अनुसार अनुजाले स्कुलबाटै कबड्डी सिकेकी हुन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डीमै उनले पटक–पटक गोल्डमेडल जितेकी थिइन् । जिल्ला, प्रदेश हुँदै उनी राष्ट्रिय टोलीमा सामेल हुन पुगिन् । अहिले उनी नेपाली सेनाको विभागीय टिम आर्मी क्लबमा आबद्ध छन् । एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि अनुजाले घरकी बोजु ७२ वर्षीया मनमाया राईलाई फोनबाट आर्शिवाद मागेकी रहिछन् । जितेर आउनु भनेर आफूले आर्शिवाद दिएको मनमायाले बताउनुभयो । कबड्डीमा पदक जितेको खबर सुन्दा साह्रै खुसी लागेको बताउने मनमायाले अनुजा डेढ वर्षदेखि घर आउन नभ्याएकोमा भने बेखुसी व्यक्त गर्नुभयो । खेलमा बढी रुचि भएकी अनुजा सानो छँदा कबड्डीको प्रतिस्पर्धा हेर्न छिमेकीका घर गएर टिभी हेर्ने गर्थिन् । धेरै गाउँ हिँड्न थाली भनेर उनकै लागि भनेर आमा तिलसरीले आफ्नै घरमा टिभी किनेर ल्याउनुपरेको सुनाउनुभयो । “सबै गाउँलेले पनि खेलमा लागेर छोरी बिग्रिने भई भनेर डर देखाउँथे, हामी पनि कबड्डी खेलेर हातखुट्टा भाँचियो भने कसले पाल्छ नानी भनेर सम्झाउँथ्यौँ”, आमा तिलसरीले अनुजाको खेल अभिरुचिबारे सुनाउँदै भन्नुभयो, “खेल खेलेरै नाम कमाउँछु भन्थी । उनको सपना आज पूरा भएको छ । हामीले खेलबाट पनि संसारभरि चिनिन सकिने रहेछ भनेर बुझेका रहेनछौँ ।” नेपाली कबड्डी टोलीले चीनमा पदक जितेपछि अनुजाको खेलको फुटेज र अन्तर्वार्ता सञ्चारमाध्यममा छाएका थिए । पदक जितेको खबर पहिलोपल्ट अनुजाको भाइले बुबा धनमानलाई सुनाएका थिए भने गाउँलेले मोबाइलमा युट्युबमार्फत अनुजाको अन्तर्वार्ता देखाएका थिए । पछि टेलिभिजन र रेडियोमा पनि अनुजाको नाम सुन्दा गौरव लागेको धनमानले बताउनुभयो । “म रोजगारीका लागि विदेश गइहाले, उसलाई सानो छँदा आमा र बोजुले नै रेखदेख गरेँ”, अनुजाको खेल सफलताबारे बुबा धनमान भन्नुहुन्छ, “एसियाली खेलकुदमा पदक दिलाएर हाम्री छोरी अब सम्पूर्ण नेपालीकै प्यारी छोरी भएकी छिन् । यसमा हामी ज्यादै खुसी छौँ ।”
तनहुँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले तनहुँको पवित्र धार्मिकस्थल देवघाटधामको विकासमा सरकारले सहयोग गर्ने बताउनुभएको छ । तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रममा आज आयोजित कार्यक्रममा अर्थमन्त्री महतले देवघाट धार्मिक तीर्थस्थल भएकाले यहाँ पूर्वाधार निर्माणमा सरकारको सहयोग बताउनुभयो । सो अवसरमा अर्थमन्त्री महतले गलेश्वर आश्रम नजिक गएको पहिरोको अवलोकन गर्नुभएको थियो । पहिरो नियन्त्रणका लागि सरकारले बजेट सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटको विकास निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिदिन मन्त्री महतसमक्ष आग्रह गर्नुभयो । देवघाट विश्वभरका हिन्दु धर्मावलम्बीको गन्तव्यस्थल बन्दै गइरहेकाले यसलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा घोषणा गर्न थापाले महतको ध्यानाकर्षण गराउनुभयो ।
मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले जानकारी दिनुभयो । संविधानको धारा १६८(३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले कोशीमा ३० दिन नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । यसरी गठन भएको सरकारले संविधानको १६८(४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकोले आज मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गर्नुभएको हो । अहिले कोशी प्रदेश सभामा एमालेसँग ३९ मात्रै सांसद (उपसभामुखबाहेक) छन् । कांग्रेसको २९, माओवादी केन्द्र को १३, राप्रपाको ६ एकीकृत समाजवादी ४ र जसपाका एक सांसद छन् ।
बाँके: नेपालगञ्जमा मङ्गलवारदेखि जारी कर्फ्यु र निषेधाज्ञाको समय घटाइएको छ । बिहीबार र शुक्रवार राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लाग्दै आएकोमा शनिवार राती ८ बजेदेखि बिहान ४ बजेसम्म मात्रै कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो । नेपालगञ्जमा दिउसो निषेधाज्ञा र रातीको समयमा कर्फ्यु लाग्दै आएको छ । शनिवार बिहान ९ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ । यसअघि बिहान ८ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञा जारी हुँदै आएकोमा शनिवार एक घण्टा घटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन नपाउने गरी निषेधज्ञाको आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी अधिकारी आचार्यले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेले समग्र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न र मानव अधिकारको सम्मान गर्न सबैमा अनुरोध गर्दै सार्वजनिक स्थलमा होहल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू, सामाजिक सञ्जालमा कुनै व्यक्ति सङ्घ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पुर्याउने वा धार्मिक विद्वेष फैलाउने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न हार्दिक आव्हान गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।
काठमाडौं: दसैँका लागि यही असोज २२ बाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिनुभयो । व्यवसायीले गाडी भाडा नबढाए बुकिङ नखोल्ने अडान राख्दै आएपनि मन्त्रालयमा भएको छलफलमा व्यवसायीले पुरानै भाडामा अग्रिम टिकट खुल्ला गर्न सहमत भएका हुन् । पुरानै भाडा कायम गरेर दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो ।
पोखरा: एट टु नाइन गाइजको आयोजनामा जारी खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको दोस्रो दिन चार वाकओभरसहित १० खेल सम्पन्न भएका छन । पोखरा १३ माछापोखरी खेल मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा नेभरमिट एफसीले मसिना एफसीलाई २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा रामघाट गुम्बा ‘ए’ ले मन्थन एफसीलाई १–० गोले हरायो । तेस्रो खेलमा नमस्ते एफसीले वाकओभर पायो । प्रतिद्वन्द्वी एसएनएस बि–१३ ले खेलमा सहभागिता नजनाएपछि वाकओभर पाएको हो । चौथो खेलमा लामागाउँले संगम एफसीलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको हो । पाचौं खेलमा नदिपुरले वाकओभर पायो । प्रतिद्वन्द्वी ढुङ्गेसाघु नाअएपछी वाकओभर पाएको हो । प्रतिस्पर्धात्मक बनेको छैटौं खेलमा गेमशालाले कमलपोखरीलाई टाइब्रेकरमा २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । सातौं खेलमा बि–१३ ले वाक ओभर पायो भण्डारढिकले सहभागिता नजनाएपछि वाकओभर पाएको हो । आठौं खेलमा म्याग्दी चोकले सनसेटलाई ४–१ गोल अन्तरले हरायो । नवौं खेलमा रामघाट गुम्बा ए ले वाकओभर पायो । बिएनएस रुद्र एफसीले सहभागीता नजनाएपछी रामघाटले वाकओभर पाएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको अन्तिम खेलमा रन्जन मेमोरियलले केआईइसी बुनलाई सडनडेथमा ४–३ गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछी खेल सडनडेथमा पुगेको थियो । प्रतियोगिता खेलाडीलाई आर्थिक सहयोग गर्नका लागि गरिएको हो । रग्बी खेलाडी यशोदा बोहोरालाई अर्थिक सहयोग गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । प्रतियोगिताबाट बचत भएको रकम यशोदालाई प्रदान गरिने गुरुङले बताए ।
अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापा दमक नगरपालिका-१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो। कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिन्छ। वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता वेबसाइटहरूमार्फत साहले बेटिङ गर्न लगाएको प्रहरीले जनाएको छ। उनले अरूलाई बेटिङ गर्न लगाएको, जुवा, सट्टाबाजीजस्ता अनलाइन खेल खेलाएको आरोप छ। नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।

