काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

काठमाण्डौ:  सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सरकारले कैयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गर्नुभएको छ । जघन्य अपराधमा संलग्न मान्छेहरूलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराउनुभयो ।   शुक्रवार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उहाँले भन्नुभयो, ‘सरकारले अत्यन्त जघन्य अपराधमा संलग्न मान्छेलाई आममाफीको प्रक्रियाबाट छोड्दैछ । त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु । विद्यालय बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन । त्यसको कार्यान्वयन गर्न सरकार कति गम्भीर बन्छ, त्यसलाई कति गम्भीर रूपमा लिन्छ भन्ने कुराले अर्थ राख्छ । म अपिल र आग्रह गर्न चाहन्छु– सरकारले कैयौँ निर्णयहरूमा कमजोरी गरिरहेको छ । सरकारले गल्ती नगरोस् ।’   महामन्त्री शर्माले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी यो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिनुभयो । उहाँले सरकारले संसदमा पेस गरेको यो विधेयकलाई युग सुहाउँदो ढङ्गले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।   महामन्त्री शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

काठमाण्डौ:  बझाङका वसन्तराज जोशी दशैँको टिकटका लागि चिन्तित हुनुहुन्छ । अनलाइन र प्रत्यक्ष रूपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उहाँ निराश हुनुहुन्छ । नजिकिएको दशैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला र रु तर दशैँको मुखमा एअरलाइन्सको टिकट पाउन मुस्किल छ ।   केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । चाडपर्वमा यात्रुले महँगो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ । गएको वर्षको दशैँमा १७ हजार छ सय रुपैयाँ हवाई भाडा तिरेर काठमाण्डौदेखि धनगढी हुँदै बझाङ पुगेका जोशीलाई यो वर्ष महँगोमै भए पनि टिकट लिएर घर पुग्ने सकस छ ।   ‘अघिल्लो वर्ष महँगो टिकट खरिद गरेर दशैँमा घर गइएको थियो, यो पटक त टिकट नै पाउन मुस्किल भइरहेको छ, दशैँको सङ्घारमा अब झन् टिकट पाउन सास्ती हुन्छ’, जोशीले भन्नुभयो । महँगो टिकट भए पनि जहाज पाउनै कठिनाइ हुन्छ । दुर्गम रुटमा चल्ने थोरै सङ्ख्याका जहाजको कम उडान हुने हुनाले ‘हब’ विमानस्थलबाट दुर्गम भेगमा जानेलाई थप सास्ती बेहोर्नुपर्ने हुन्छ ।   धनगढीकी निशा पाण्डे यतिखेर दशैँको टिकट जोहोका लागि एअरलाइन्स धाइरहनुभएको छ । अनलाइन बुकिङ सकिएको र सम्बन्धित एअरलाइन्सको टिकट काउन्टरमा पनि सिट नपाएर हैरानी खेप्नु परेको पाण्डेले सुनाउनुभयो । खोटाङकी दीपा राई दशैँमा घर जानका लागि हवाई टिकटको खोजीमा हुनुहुन्छ । ‘जहाजको टिकट खोजिरहेको छु, अहिलेसम्म पाएको छैन, दशैँमा कसरी घर पुग्ने हो चिन्तित छु’, उहाँले भन्नुभयो ।   दशैँमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रूपमा हवाई सेवालाई लिइन्छ । दशैँ आउन दुई हप्ता बाँकी रहँदा अहिले धेरैजसो गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दशैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिनुभयो । अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको उहाँले बताउनुभयो ।   सामान्यतया दशैँ आउन एक महिना अघिदेखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रूपमा टिकट पाइने भएकाले धेरैजसो हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एअरलाइन्सले जनाएका छन् । उनीहरूका अनुसार दशैँलाई लक्षित गरेर अहिले ८० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ ।   बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दशैँका लागि अहिले ८० प्रतिशतसम्म बुकिङ भइसकेको जानकारी दिनुभयो । ‘दशैँलाई लक्षित गरेर केही ‘सेक्टर’ मा ८० प्रतिशत र कतिपय सेक्टरमा ७० प्रतिशत बुकिङ भइसकेको छ’, उहाँले भन्नुभयो, ‘अब सहुलियत भाडादरको टिकट पाउन मुस्किल छ, त्यसैले यात्रुले भटाभट टिकट लिनुपर्ने हुन्छ ।’   तुम्लिङटारको महिनादिनअघि नै बुकिङ पूरा सङ्खुवासभाका सविन कार्कीले तुम्लिङटारको टिकट पाउन सक्नुभएको छैन । उहाँ दशैँ नजिकिएकाले अब वैकल्पिक साधनको प्रयोगबाट गन्तव्यमा जाने निष्कर्षमा पुग्नुभएको छ ।   आन्तरिक उडानको महत्त्वपूर्ण ‘स्टल रुट’ मानिने तुम्लिङटार र सुर्खेत गन्तव्यको अग्रिम बुकिङ सकिएको एअरलाइन्सले जनाएका छन् । बुद्ध एअरका सूचना अधिकारी कर्णका अनुसार बुद्ध एअरको तुम्लिङटार गन्तव्यको टिकट सबै बुकिङ भइसकेको छ । सुर्खेतका लागि पनि अब टिकट पाउन मुस्किल छ ।   बुद्ध एअरले अहिले १६ थान एटीआर जहाजमार्फत दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको छ । ‘तुम्लिङटार ‘प्याक’ भइसक्यो, अब कसैले ‘सिट क्यान्सिल’ गरेमा मात्रै पाइएला, सहुलियत भाडाको दर पनि बढ्नेछ, यात्रुले तत्कालै टिकट काटे सहुलियत भाडा दरमा पाउनसक्ने र ढिला गरेमा त्यो पाउने सम्भावना कम हुन्छ’, सूचना अधिकारी कर्णले भन्नुभयो ।   धनगढीका लागि १७ हजार रुपैयाँभन्दा धेरै भाडा बुद्ध एअरका अनुसार दशैँको घटस्थापनासम्मका लागि काठमाण्डौदेखि धनगढीसम्म दशैँका लागि अधिकतम भाडादर १७ हजार एक सय ८६ रुपैयाँ रहेको छ । यो गन्तव्यमा अहिले सहुलियत भाडादर ११ हजार एक रुपैयाँ छ ।   त्यस्तै सुर्खेतको महँगो भाडा दर १४ हजार एक सय ६८, नेपालगञ्जको महँगो भाडा दर १३ हजार तीन सय ९४ रुपैयाँ रहेको छ । काठमाण्डौदेखि भ्रद्रपुरको भाडा दर अधिकतम १२ हजार तीन सय ८३ रुपैयाँ तोकिएको छ । यो गन्तव्यको सहुलियत भाडा दर आठ हजार एक रुपैयाँ छ ।   दशैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्त्वपूर्ण उत्सव हुन् । दशैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परा छ । वर्ष दिनको महत्त्वपूर्ण चाड भएकाले देश तथा विदेशबाट सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरू आफन्त र मान्यजनबाट टीका तथा आशीर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्यमा पुग्छन् ।       ‘दशैँका लागि धेरैजसो बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ, ‘ट्रङ्क रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज सीमित भएकाले अत्यधिक चाप हुन्छ’, उहाँले भन्नुभयो । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता शर्माले दशैँ लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज पर्याप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिनुभयो ।     आन्तरिक उडानमा बुद्ध एअर, यती एअरलाइन्स, श्री एअरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एअरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् ।   विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक तीन सय हाराहारी दुईतर्फी उडानमार्फत झन्डै १५ हजार यात्रु आवतजावत गरिरहेका छन् । महाप्रबन्धक तिवारीले दशैँमा यो सङ्ख्या थप बढ्नसक्ने भएकाले उडान सङ्ख्या पनि बढ्ने बताउनुभयो ।   यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ५० प्रतिशतभन्दा माथि बढी टिकट बिक्री भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिला जस्तो दशैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ धमाधम भइरहेको छ, घटस्थापनापछि बढी चाप हुन्छ ।’   प्रवक्ता बर्तौलाका अनुसार अहिले अनलाइन बुकिङ हुने र एअरलाइन्सले ठूला जहाज सञ्चालन गरेकाले विगतमा जस्तो टिकट अभाव नहुने विश्वास व्यक्त गर्नुभयो । यती एअरलाइन्सले पाँच थान एटीआर जहाजमार्फत सेवा दिइरहेको छ ।   तुलनात्मक रूपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले यसप्रति यात्रुको आकर्षण बढ्दो छ । कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि धेरैजसो यात्रु लालायित हुन्छन् ।   दशैँमा सङ्घीय राजधानी काठमाण्डौ छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ । टीकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ । वायु सेवा कम्पनीका अनुसार अहिले दशैँको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ ।   विशेषगरी फूलपातीदेखि विजयादशमी टीकासम्म चाप बढी हुन्छ । अग्रिम बुकिङ त्यहीअनुसार हुने गरेको एअरलाइन्स कम्पनीले जनाएका छन् । नेपाली पात्रोअनुसार यस वर्ष असोज २८ गते घटस्थापना र कात्तिक ७ गते  विजयादशमी टीका रहेको छ ।

काठमाडौं:   पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक एकता र सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ । शुक्रबार एक सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपील गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले सन्देशमार्फत् भन्नुभएको छ, ‘‘नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवम् अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुनेगरी देशका कतिपय स्थानहरूमा भइरहेका क्रियाकलापहरूका सन्दर्भमा म सबैमा जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयम अपनाउन हार्दिक अनुरोध गर्दछु । समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्नेगरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झूटा समाचारको समेत उपयोग भैरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।’’ सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएको उल्लेख गर्नुहुँर्दै पूर्वराष्ट्रपति भण्डारीले एक–अर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिक कालदेखिको हाम्रो असल परम्परालाई थप सुदृढ तुल्याउन आवश्यक भएको बताउनुभएको छ । कुनैपनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारशीलाका रूपमा रहेको जातीय, धार्मिक एवम् सामाजिक सद्भावलाई जोगाउन फेरि एकपटक एकताबद्ध बन्न आवश्यक रहेको उहाँको भनाइ ।

पोखरा:  नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट पत्रकार सुष्मा पौडेल सदस्य पदमा निर्वाचित भएकी छिन् ।    पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनमा पत्रकार पौडेलले ६ सय ३० मत प्राप्त गर्दै खुला युवा महिला सदस्य सदस्य निर्वाचित भएकी हुन् ।  निर्वाचित पौडेल प्रेस चौतारी गण्डकी प्रदेशको इन्चार्ज हुन् ।    युवा महिला पदमा ५ जनाको कोटाभएपनि ८ जनाको उम्मेदवारी परेपछि पौडेलसहित ५ जना निर्वाचित भए ।   सो पदमा सुरक्षा लामिछाने, सिर्जना केसी, अञ्जु केसी, छविकला पाण्डे निर्वाचित भएकी थिइन् ।   नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा, उपाध्यक्षमा स्याङ्जाको मीनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दानबहादुर विक र पर्वतकी मञ्जु अधिकारी ‘प्यासी’ महिला उपसचिवमा निर्वाचित भएका छन् ।   

काठमाडौं:    प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई सरोकारवालाका माग र सरकारले विभिन्न पक्षसँग गरेका सहमतिलाई सम्बोधन गर्ने गरी पारित गर्न आग्रह गरिएको छ । सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदले उक्त  आग्रह गर्नुभभएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयकमाथिको सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पारित गर्नुभएको थियो । विधेयकलाई जनताको सुझावका लागि प्रचार गरियोस् भनी सांसद गणेश पराजुलीले राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । छलफलका क्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विधेयकमा सरोकारवालाका धेरै चासो रहेको बताउनुभयो । विद्यार्थीको निःशुल्क र अनिवार्य शिक्षाका सवाल, शिक्षक, कर्मचारी, व्यवस्थापन समिति, राहत शिक्षक, बाल विकास शिक्षक, स्थानीय सरकारसँगको समन्वय आदिलाई गम्भीरतापूर्वक लिनुपर्ने उहाँको भनाइ छ । उहाँले संविधानको मूल्य, मान्यता र भावनाअनुसार सरोकारवालाका आवाजलाई सम्बोधन गरी सहमतिका आधारमा विधेयक पारित गर्नुपर्नेमा जोड दिनुभयो ।  नेकपा ९एमाले०का सांसद रघुजी पन्तले भन्नुभयो, “सांसदले आफ्नो दृष्टिकोणका आधारमा विधेयक बनाउने हो । प्रस्तुत संविधानका भावनाभन्दा बाहिर जान सकिँदैन । संसद्को कार्यक्षेत्रलाई सरकारले हस्तक्षेप गर्न मिल्दैन ।” नेकपा (माओवादी केन्द्र) सांसद जनार्दन शर्माले विधेयकसँग सम्बन्धित विषयमा सरकारले गरेको सहमतिलाई सरकारले प्रस्तुत गरेपछि त्यसलाई सहमतिका आधारमा ल्याउन आफूहरु तयार हुने बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर वृद्धि र आम सरोकारवालाको चासोलाई सम्बोधन गर्न विधेयकसक्षम हुनुपर्ने बताउनुभयो । जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादवले स्वार्थ समूहलाई हाबी हुन नदिई नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति अक्षरशः पालना हुनुपर्ने बताउनुभयो ।

गलकोट:     बागलुङमा पछिल्लो समय डेङ्गुु सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भइसकेको पाइएको छ । पछिल्लो एक महिनामा मात्रै ९० जनाभन्दा बढीको सङ्ख्यामा डेङ्गु पुष्टि भएको छ ।  साउनयताको तथ्याङ्कअनुसार एक सय ३० जनामा डेङ्गुु सङ्क्रमण  भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो । उहाँले जिल्लामा डेङ्गुु सङ्क्रमण तीव्ररुपमा फैलिएकाले सचेत हुन पनि आग्रह गर्नुभयो ।  “एक महिना अघिसम्म डेङ्गुु सङ्क्रमण निकै कम थियो, ४० जनालाई मात्रै सङ्क्रमण भएको थियो, पछिल्लो एक महिनामा मात्रै ९० जनालाई सङ्क्रमण भएर अहिले सङ्क्रमणको सङ्ख्या एक सय ३० पुगेको छ, सबैभन्दा बढी ढोरपाटन नगरपालिकामा सङ्क्रमण फैलिएको हो”, प्रमुख शर्माले भन्नुभयो, “डेङ्गुुको सङ्क्रमण तीव्र भइरहेकाले सबैजना लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ ।” बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै शङ्कास्पद बिरामीमा  परीक्षण गर्दा ९६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यस्तै धौलागिरि अस्पतलमा १५, गलकोट नगर अस्पतालमा १७ र बोङ्गादोभान स्वास्थ्य चौकीमा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दस पालिकामध्ये बरेङ गाउँपालिकाबाहेक अन्य नौ पालिकामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।  उक्त कार्यालयको तथ्याङ्क अनुसार ढोरपाटन नगरपालिकामा ६७, बागलुङ नगरपालिकामा आठ, जैमिनी नगरपालिकामा दुई, गलकोट नगरपालिकामा १४, काठेखोला गाउँपालिकामा तीन, बडिगाड गाउँपालिकामा दस  निसीखोला गाउँपालिकामा १८, तमानखोला गाउँपालिकामा चार र ताराखोला गाउँपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको हो ।  डेङ्गु सङ्क्रमण फैलिरहेको समयमा धौलागिरि अस्पतालमा ज्वरोको बिरामी ह्वात्तै बढेको उक्त अस्पतालले जनाएको छ । जिल्लामा डेङ्गुुको लक्षण भएका बिरामीको समेत धौलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ ।  उक्त अस्पतालमा उच्च ज्वरोका बिरामीको सङ्ख्या ह्वातै बढेको र  ज्वरो आएका बिरामीको निःशुल्क डेङ्गु परीक्षण भइरहेको  अस्पतालले जनाएको छ ।  धौलागिरि अस्पतालमा डेङ्गु सङ्क्रमण भई भर्ना भइरहेका केही बिरामीलाई थप उपचारका लागि पोखरासमेत पठाइएको छ भने सामान्य बिरामीलाई सोही अस्पतालमै उपचार गरिरहेको त्यहाँका मेडिकल सुपरीटेन्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिनुभयो । अहिले उक्त अस्पतालमा दैनिक ओपिडी र इमर्जेन्सीमा आउने अधिकांश बिरामी ज्वरोको आउने गरेको पाइएको छ ।   अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने तथा रिँगटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भए पनि सबैमा डेङ्गु सङ्क्रमण भने नदेखिएको अस्पतालको भनाइ छ । डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले खोज र नष्ट गर अभियानलाई जारी राखेको छ । लामखुट्टेको लार्भा नष्ट गर्न पानीको खाल्डा पुर्ने, पानी जम्ने र लामखुट्टे उत्पादन हुने क्षेत्रमा विशेष ध्यान अपनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । निरन्तरको वर्षाले खोज र नष्ट गर अभियान ओझेलमा परेकामा  रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम थालिएको छ ।  

काठमाडौं:    चीनमा जारी १९ औं एसियाली खेलकुद ९एसियाड०अन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित भएको छ।  हाङ्गचौं‌को जिआओसान गुआली स्पोर्ट्स सेन्टरकोमा भएको सेमिफाइनलमा भारतसँग ६१/१७ ले पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो। समूह ‘बी’ मा इरानसँग पराजित हुनुअघिको खेलमा‌ बंगालदेशलाई हराउँदै नेपालले अघिल्लो चरणको सम्भावना बनाएको थियो। समूह उपविजेता बनेसँगै नेपालको कास्य पदक पक्का भएको थियो। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने दुई टिमलाई कास्य पदक दिने प्रावधान छ। पहिलो सहभागितामा‌ नै महिला कबड्डी टोली पदक जित्न सफल भएको छ ।

काठमाण्डौ: काठमाण्डौको महाराजगञ्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मीला चौधरीको उपचारका क्रममा ज्यान गएको छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा बिहीवार हिजो ज्यान गएको हो ।    यही असोज १० गते काठमाण्डौ महानगरपालिका–४ पञ्चकन्यामा रहेको आफ्नै डेरामा गोली लागेको अवस्थामा भेटिएकी चौधरीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचारका क्रममा ज्यान भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।   मृतक चौधरी नौ दिन अघि उहाँका श्रीमान् नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीले बोक्ने पेस्तोलबाट गोली लागेर घाइते भएको अवस्थामा निवासमा भेटिनुभएको थियो । उहाँको कोखामा एक राउन्ड गोली लागेको अनुसन्धानबाट खुलेको छ ।   लक्ष्मण चौधरी पूर्वआईजीपी ध्रुवबहादुर प्रधानको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत रहनुभएको छ । 

काठमाडौँ: मङ्गलवार बझाङमा गएको भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत नेताहरूको सर्वदलीय प्रतिनिधि मण्डलले बुधवार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो।   भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जय पृथ्वी नगरपालिका, सुर्मा, छविसपाथिभेरा, दुर्गा थली, थलारा, केदारस्यु, वित्थड, बुङगललगात पालिका तथा सुदूरपश्चिमका जिल्लामा धनजनको ठुलो क्षति भएको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराएको हो।   एक जनाको ज्यान गएको, २१ वटा सामुदायिक भवन, अधिकांश सामुदायिक विद्यालय र हजारौँको सङ्ख्यामा निजी व्यक्तिका घर भत्किएकाले जनता सकसपूर्ण जीवन बिताउन बाध्य रहेको अवस्थामा सरकारले राहत प्रदान गर्नुपर्ने काँग्रेस नेता महरले बताउनुभयो । महरसँगै प्रतिनिधि सभा सदस्य एवम् बझाङ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी, अछामबाट प्रतिनिधि सभा सदस्य शेरबहादुर कुवर, अछामबाटै प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, संविधान सभा सदस्य धर्मराज विश्वकर्मा, दुर्गा थली गाउँपालिका बझाङका अध्यक्ष दिलबहादुर थापा, नेपाली काँग्रेस बझाङका नेता सत्यराज भण्डारी, बझाङकै काँग्रेस नेता नन्दकृष्ण जोशी उपस्थित रहेका थिए ।   त्यस्तै काँग्रेस बझाङकै नेता रमेशबहादुर भण्डारी, सुदूरपश्चिम काठमाडौँ माओवादी केन्द्र इन्चार्ज पदम जोशी, काँग्रेस नेता पुष्कल बहादुर बोहरा, नेकपा एसका नेता दीपक बहादुर बोहरा, काँग्रेस बझाङका नेता शेरबहादुर खड्का, बझाङका वीर बहादुर गर्धामी, धर्मबहादुर महर, नविक कुमार बम्म, वकिल कुमार गर्धामी, अनिल गुर्धामीको सहभागिता थियो।   नेपाल तरुण दलका केन्द्रीय सदस्य जनक चटौत, इन्जिनियर गोरखराज जोशी, ज्ञानबहादुर बोहरा, इन्जिनियर विजय खाती, नविन गिरी, प्रेमराज जोशी, कमल थापा, रोषन रावल, सन्देश थापा, धनप्रसाद जोशी, केसव पुरी, केदार कार्की, सुप्रभात भण्डारी, बन्द्रीप्रसाद सञ्जेल, रामचन्द्र सुवेदी र शुष्मा सिटौलाको सहभागिता रहेको थियो।