पोखरा: पोखराको शाहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौंदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुङ्गा पुगेकामा पछिल्लो समय पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावपानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ । अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुङ्गा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ । सुरुआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो । मान्द्रेढुङ्गाबाट उडान सञ्चालन गर्दा पर्यटक आकर्षित हुन सकेका थिएनन् भने प्याराग्लाइडिङ गर्नेको सङ्ख्यासमेत घटेको छ । नेपाल हवाई खेलकुद संस्था(ना)ले मान्द्रेढुङ्गाबाट हुँदै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा क्षेत्र विस्तार गरी बाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको जनाएको छ । नाको बुधबार पोखरामा आयोजना गरिएको २० औँ वार्षिक साधारणसभामा नागरिक उड्डयन प्राधिकरण(क्यान)का विज्ञको सहयोग लिई प्याराग्लाइडिङ उडान क्षेत्र र अवतरण क्षेत्र विस्तार गर्न लागिएको नाका अध्यक्ष सुनिल भट्टराईले बताए । क्यानले लामो प्राविधक अध्ययनपछि तोरीपानीसम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमति दिएको उनले बताए । अध्यक्ष भट्टराईले भने, “मान्द्रेढुङ्गा क्षेत्र विस्तार गरी बाहाकोटबाट उडानको निर्णय भइसकेको छ । उक्त क्षेत्रको एआइपी प्रकाशित भएसँगै पूर्ववत् स्थानबाट प्याराग्लाइडिङ सञ्चालन गर्छौं ।” पोखरामा दुई दशकअघिदेिख प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन् । नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङमा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । पोखराको पहिचानलाई देश विदेशमा स्थापित गर्न प्याराग्लाइडिङले ठूलो योगदान गरेको उनको भनाइ छ । “आगामी दिनमा यहाँ प्याराग्लाइडिङका गतिविधि अझ वृद्धि हुँदै जाहोस् । यसलाई सुरक्षित बनाउनेतर्फ ध्यान पुग्नुपर्दछ, विकासका लागि क्यानको तर्फबाट सहयोग गर्नेछौँ”, प्रमुख श्रेष्ठले भन्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङले पोखराको समृद्धिमा योगदान गरेकाले यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताउनुभयो । “प्याराग्लाइडिङको राम्रोसँग नियमन, अनुगमन र व्यवस्थापन गरी पोखराको ब्राण्डका रुपमा सधँै स्थापित गर्नु आवश्यक छ” उनले भने । हवाई खेलकुदको माध्यउमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने गरी विसं २०५९ मा नेपाल हवाई खेलकुद संस्थाको स्थापना गरिएको थियो । सुरुआतमा सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ व्यावसायिक कम्पनी रहेका छन् । त्यसैगरी कम्पनीअन्तर्गत तीन सय ९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील रहेको नाका निर्वतमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
काठमाडौं: भक्तपुरमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ नगरकोटमोड नजिक बा ६९ प ९१० नम्बरको स्कुटरले आज बिहान ठक्कर दिंदा सल्लाघारीकी ६८ वर्षीय भुलिमाया धगुछुको मृत्यु भएको हो । दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स्कुटरले बाटो क्रस गर्ने क्रममा भुलिमायालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको डा.ईवामुरा अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । ठक्कर दिने स्कुटर चालक दोलखाकको तामाकोशी गाँउपालिका- ४ घर भई भक्तपुर दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो । काठमाडौं म्हानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्यस्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ । शिविरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल आँखा अस्पतालका कर्मचारी राम केसीले सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको बताउनु भयो । उहाँले अप्रेशन गर्नुपर्ने भएकाहरुलाई पनि नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्ने लक्ष्य रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको हो । आज र भोलि यो शिविर सञ्चालन गर्नेछौँ । शिविरमा दुई हजारसम्म कर्मचारीलाई यो सेवा दिनसक्छौँ । यो निःशुल्क शिविर हो, निःशुल्क जाँच हुन्छ, निःशुल्क उपचार हुन्छ । अप्रेशन गर्नुपर्ने भए उहाँहरुलाई नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्नेछौँ ।’’
पोखरा: पोखरा महानगरपालिका २० भलाममा चितुवा मृत फेला परेको छ । पोखरा २० डाँडागाउँ भलाममा पोथी चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय कास्कीका निमित्त वन अधिकृत राजेन्द्रप्रसाद शर्माले जानकारी दिए । भाले र पोथी चितुवा एक आपसमा जुड्दा पोथी चितुवाको मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालय कास्कीले जनाएको छ ।
सुनचाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँ रहेको छ । यस्तै, चाँदी आज तोलाको एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
खोटाङ: राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रभावकारी नभएको जनाएको छ । कार्यालयले अनुगमनका क्रममा शिक्षा र स्वास्थ्य सेवा प्रभावकारी नभएको पाइएको जनाएको हो । मानव जीवनको पहिलो प्राथमिकतामा पर्ने शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रवाह खोटाङ जिल्लामा प्रभावकारी नभएको पाइएको आयोगका सदस्य मिहिर ठाकुरले जानकारी दिनुभयो । अनुगमनका क्रममा मङ्गलवार जिल्ला अस्पताल खोटाङ पुगेका थियौँ । त्यहाँ पुग्दा जीवनजलसमेत भेटिएनु, उहाँले भन्नुभयो, म आफैँलाई पनि पेटसम्बन्धी समस्या थियो । आकस्मिक कक्ष पुगेर जँचाउँदा जीवनजलसमेत नरहेको अस्पतालले प्रतिक्रिया दियो । म आफैँले जीवनजल नपाउने अस्पतालमा सामान्य नागरिकले कसरी सेवा लिइरहेका होलान् भन्ने प्रश्न उब्जिएको छ ! सदस्य ठाकुरले जिल्लामा शिक्षाको अवस्था पनि कमजोर देखिएको बताउनु भयो । अनुगमनका लागि खोटाङ आउनेक्रममा बाटोमा भेटिएका तीनजना विद्यार्थीसँग हामीले कुरा गर्यौँ । उनीहरु कक्षा–५, कक्षा–९ र कक्षा–११ मा अध्ययनरत विद्यार्थी थिए । उनीहरुलाई पालैपालो हाम्रो गाडीमा लेखिएका नारा पढ्न लगाएका थियौँ, उहाँले भन्नुभयो, अङ्ग्रेजीमा लेखिएका त्यो नारा कक्षा–९ र ११ का विद्यार्थीले पढ्नै जानेनन् । कक्षा–५ का विद्यार्थीले भने प्रस्ट उच्चाहरण गरे । ती तीन विद्यार्थीको उदाहरण हेर्दा खोटाङमा शिक्षाको गुणस्तर कस्तो छ भन्ने प्रस्ट हुन्छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । आयोगको कार्यालयले जिल्लामा देखिएको समस्याहरुको १८ बुँदा सार्वजनिक गरेको छ । कर्मचारीबाट काममा असहयोग, कार्यालय प्रमुख सरुवा छिटोछिटो हुने, रोजगारीको अभावले नागरिक र राज्यबीचको दूरीमा वृद्धि, निर्माण कम्पनीले कामदारको पारिश्रमिक नदिने गरेको, पुरुषको तुलनामा महिला बढी पीडामा रहेको, आत्महत्याका घटनामा वृद्धि, जाँडरक्सी खाने, बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदर रहेकोलगायतका समस्या देखिएको आयोगले जनाएको छ । आयोगले खोटाङको भौगोलिक अवस्था तथा नागरिकको मागलाई सम्बोधन गर्न अधिकारमुखी पद्धति अवलम्बन गर्न, कृषिमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आयातित वस्तुलाई निरुत्साहित गर्न, व्यवसायीले उपभोक्ताको हितलाई मध्यनजर गर्नुपर्ने, सार्वजनिक सेवा प्रदायक र सेवाग्राहीबीच सुमधुर सम्बन्ध हुनुपर्ने, सरकारी निकायबाट नियमित अनुगमन हुनुपर्ने, कर्मचारीको नियत सफा हुनुपर्ने, आर्थिक अनुशासन कायम गर्न सबै कार्यालयले त्रैमासिक कार्ययोजना बनाएर सन्तुलित खर्च र सन्तुलित विकासमा जोड दिनुपर्नेलगायतका सुझाव दिएको छ ।
काठमाडौं: भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ । सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्याइएको थियो ।
काठमाडौँ: विद्युतीय चुरोट (भेप) मार्फत अवैध रूपमा सुन तस्करी र बिक्री प्रकरणमा सहभागी भएको अभियोगमा थप चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोगपत्र दर्ता गरेको हो । राज्यलाई लाभ हुने राजस्वमा हानि नोक्सानी पु(याई आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दायर गरिएको हो । सङ्गठित अपराध निवारण ऐन तथा भन्सार ऐनविपरीतको कसुरमा मुद्दा दायर गरिएको हो । आपराधिक विश्वासघात तथा भन्सार चोरी पैठारीमा मुद्दा दायर भएको छ । मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल भनिने रेशम महरा, चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङ, छिरिङका सवारीचालक लोकेन्द्रकुमार पौडेल तथा निमा गुरुङलाई विपक्षी बनाइएको छ । ७३० थान भेपमा ल्याइएको नौ किलो सुन प्रकरणमा यसअघि पनि मुद्दा दायर भइसकेको थियो । मुख्य अभियुक्तलाई छाडेर अन्यलाई मुद्दा चलाइएको भन्दै संसद्मा समेत पटक पटक विरोध भएपछि प्रहरीले पुनः मुद्दा लगेको हो । मुद्दा अनुसन्धानका सिलसिलामा पूर्वसभामुख महरासँग पनि प्रहरीले सोधपुछ गरेकोमा प्रतिवादी भने कायम गरिएको छैन । मुद्दामा प्रतिवादी बनाइएका छिरिङ ६१ किलो सुन प्रकरणमा पनि जोडिएका छन् । अदालतको आदेशले छिरिङ पुर्पक्षका लागि थुनामा छन् । चारै जनालाई मुलुकी अपराध संहिताको दफा २५१ ९१० तथा २५२ ९२० तथा भन्सार ऐन र सङ्गठित अपराध निवारण ऐनविपरीतको कसुर आकर्षित गरिएको छ । अभियोगपत्रमा छिरिङविरुद्ध मुलुकी अपराध संहिताको व्यवस्था अनुसार आपराधिक विश्वासघातमा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँ जरिबानाको माग गरिएको छ । यस्तै भन्सार ऐनको दफा ५७ को व्यवस्था अनुसार तीन वर्षदेखि पाँच वर्षसम्म कैदको पनि माग गरिएको छ । यस्तै सङ्गठित अपराध निवारण ऐन २०७४ को दफा ९ को खण्ड (क) बमोजिम कसुर गर्नेलाई प्रचलित कानुनबमोजिम हुने सजायमा थप ५० प्रतिशत सजायको दाबी पनि अभियोगपत्रमा गरिएको छ । यस्तै रेशम महरा, लोकेन्द्रकुमार पौडेल र निमा गुरुङको हकमा कसुर तथा दुरुत्साहनमा हुने सजाय दाबी गरिएको छ ।
काठमाण्डौ: नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्डको नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्नेसम्मको ६४ दशमलव ४२ किलोमिटरको भौतिक प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएपछि २०७५ चैत ८ शिलान्यास गरिएको सडकको पटक पटक म्याद थप्दा पनि भौतिक प्रगति अपेक्षित रुपमा हुन सकेको छैन । २०७९ साउनमा आयोजनाको म्याद सकिएपछि थप एक वर्षको समय पाएको थियो । काम नसकिएपछि २०८० भदौ ११ गतेदेखि लागू हुने गरी आयोजनाले काम सम्पन्न गर्न थप तीन सय ३० दिनको समय पाएको छ । अहिलेसम्म आयोजनाको पूर्वी खण्डको समग्र प्रगति ४१ दशमलव १७ प्रतिशत पुगेको आयोजनाको पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले बताउनुभयो । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर भत्किएको बाटो मर्मत गर्ने कामलाई पनि अगाडि बढाइएको उहाँले बताउनुभएको छ । गैँडाकोटबाट भत्किएको बाटो मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई निरन्तरता दिइएको छ । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड ‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ । सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्गको विस्तार शुरु गरिएको हो । लागतको ८५ प्रतिशत रकम एडीबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानीमा काम हुने आयोजनाले जनाएको छ । एडीबीले एक दशमलव पाँच प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

