काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

लमजुङ:   लमजुङमा आफ्नै बुवाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथर गाउँपालिका–९ टक्सारका २८ वर्षीय सुजन बिक रहेका छन् ।   उनले आफ्नो ६० वर्षीय बुवा दिल बहादुर बिकलाई खुकुरी प्रहार गरेका थिए ।    गत असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि दिलबहादुरलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान  लगिएको थियो । त्यसपछि सोही दिन दिउँसो चिकित्सकले मृत घोषणा गरेको थियो ।    प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार सुजन र आफ्नो बुवाबीच दाह्री काट्ने जिलेटबारे विवाद भएको थियो । सोही विषयलाई लिएर सुजनले आफ्नो बुवालाई खुकुरी प्रहार गरेका थिए ।    प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले सुजनलाई असोज १६ गते पक्राउ गरेको थियो । हाल सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

दैलेख: दैलेखमा आज बिहान दाउरा काट्न गएका महाबु गाउँपालिका–१ खरिगैराका तीन जना महिलालाई अरिङ्गालले चिलेको छ ।   लोसे सामुदायिक वनमा दाउरा काट्न गएका २५ वर्षीया मञ्जु सुनार, २४ वर्षीया सुनिता सुनार र २९ वर्षीया गङ्गा सुनारलाई अरिङ्गालले चिलेको हो । बिरामी उनीहरुको दैलेख अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

गोरखा:  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा आज बिहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा सफाइ गरिएको छ । त्यस कार्यका लागि उहाँ  मङ्गलबार साँझ यहाँ आइपुग्नु भएको थियो ।    मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहर सङ्कलन गरी व्यवस्थापन कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा ९माओवादी० केन्द्रका जिल्ला संयोजक दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।   मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले यहाँ भक्तजनको वर्षभरी नै भीड लाग्ने गर्दछ । बर्सेनी मन्दिरमा हजारौँ भक्तजन भाकल पूरा गर्न पूजासहित बलि चढाउन र परेवा उडाउन आउने गर्दछन् ।गोरखाको शहीद लखन गाउँपालिका–२ र ३ मा पर्ने मनकामना मन्दिर नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा प्रख्यात छ । यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकै कारण परापूर्वकालदेखि मन्दिरको नाम नै मनकामना रहन गएको हो भन्ने भनाइ छ ।   पर्यटकसमेत केबलकार चढेर दर्शन गर्नाका साथै यहाँबाट दृष्यावलोकनका लागि मन्दिरमा पुग्ने गर्दछन् । समुद्री सतहदेखि एक हजार ३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिर परिसरबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनास्लु हिमालका चुचुरा देख्न सकिन्छ । रासस

पोखरा:   पोखरामा सम्पन्न प्रथम खुल्ला सेभेन साइड फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा च्याम्पियन बनेको छ ।   एट टु नाइन गाइजद्वारा आयोजित पहिलो संस्करणको सेभेन एसाइड फुटबल प्रतियोगिताको फाइनलमा रामघाट एफसीलाई हराउँदै लामागाउँले उपाधि जितेको हो ।   १/१ गोलको बराबारीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा रामघाटलाई लामागाँउले ३/२ गोल अन्तरले पराजित गर्याे ।   लामागाउँका गोलरक्षक अन्जन क्षेत्रीले बललाई रोक्दै टिमलाई च्याम्पियन बनाए । साथै सो खेलबाट क्षेत्री नै म्यान अफ द म्याच घोषित भए ।   प्रतियोगिता च्याम्पियन बनेको लामागाउँले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख हात पार्याे । यस्तै उपविजेता बनेको रामघाटले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार रुपैयाँ प्राप्त गर्याे ।    प्रतियोगिताबाट विशन गुरुङ सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।   यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा लामागाउँका अन्जन क्षेत्री, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमका अनजुज भण्डारी पुरस्कृत बने भने अनुशासित टिमको रुपमा माछापुच्छ्रे  त्रिशक्ति युनाइटेड घोषित भयो ।    कुल ३९ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता समूहका खेलाडीलाई सेभेन ए साइड महासंघ अध्यक्ष नवीन पुन, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य विनय थापा, टेकबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।  

काठमाण्डौ: काठमाण्डौ महानगरपालिका–३१ बानेश्वरमा रहेको तरकारी बजार अगाडिको बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ ।   महानगरपालिकाको वडानम्बर १० शङ्खमूलका २० वर्षीय विकास महरा मृत अवस्थामा भेटिएका काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।    उहाँका अनुसार उहाँको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 

म्याग्दी:     दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिनुभयो । “जोमसोमको नाकाबाट मङ्गलबार मात्रै चार सयवटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो तीन दिनको अवधिमा एक हजार दुई सय च्याङ्ग्रा निकासी भएको छ ।” प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई रु १५ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । यस वर्ष दसैँका लागि मुस्ताङका कृषकले पालेका चार हजार र डोल्पाबाट आउने चार हजार गरी आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरेको पोखरेलले बताउनुभयो । कृषकले प्रतिगोटा रु ३५ देखि ४० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेका उहाँले बताउनुभयो । गत वर्ष छ हजार छ सय, २०७८ सालमा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । पछिल्लो चार वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको कृषक करन गुरुङले बताउनुभयो । तीनदेखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ । दसैँ–तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ । मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । पैसठ्ठीवटा ठूला च्याङ्ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घर–घरमा च्याङ्ग्रा पालेका छन् । हिमचितुवा, ब्वाँसो र जङ्गली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ । तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको रु २५ हजार थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङ्ग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको व्यापारी यामबहादुुर कार्कीले बताउनुुभयो । वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो । मुस्ताङी च्याङ्ग्राको हुल भित्रिएसँगै दशैँ आगमनको महसुस गराउँछ ।

काठमाण्डौ: सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।   सभामुख घिमिरे आज शोक वक्तव्यमार्फत् १० जना नेपालीको निधनमा दुःख व्यक्त गरी शव ल्याउन ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले आक्रमणमा परि घाइते भइ स्थानीय अस्पतालमा उपचाररत नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै सम्पर्कविहीन रहेकाको खोजबिनका लागि पनि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यसअघि इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्धार भइसकेको जनाएको छ ।   गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो । यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ ।   हराइरहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ । यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् ।   उनीहरुमध्ये धेरैले स्वदेश फर्काउन र केहीले सुरक्षित ठाउँमा स्थानान्तरण गराउन आग्रह गरेका छन् । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको बताए । गोरखा केन्द्रविन्दु भएर २०७२ सालमा गएको भुकम्पपछिको पुन निर्माण, विद्यालय निर्माण लगायतका काममा जापान सरकारले गरेको सहयोग स्मरण गर्दै मुख्यमन्त्री पाण्डेले भने ‘स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा सहकार्यको अपेक्षा छ ।’ जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको ‘हर्ट हस्पिटल’ बनाउने योजनामा सहकार्य आवश्यक रहेको बताए । गण्डकी प्रदेशका केही जिल्लाहरु निकै दुर्गम रहेकाले त्यहाँ पूर्वाधार निर्माणमा सहयोगको जरुरी रहेको उनले बताए । प्रदेशसँगको स्रोत साधनले मात्रै सबै काम गर्न संभव नभएको र भौगौलिक विकटतालेपनि पूर्वाधार निर्माण खर्चिलो भएको उनले बताए । ‘बिभिन्न देश र दातृ निकायहरुको सहकार्यमा प्रदेशभित्र सबै ठाउँमा विकासको गती सँगसँगै लैजानुपर्नेछ’ मुख्यमन्त्री पाण्डेले भने ‘हामी सबै देश र दातृ निकाय सँगको सुमधुर सम्बन्धमा गण्डकी प्रदेशको विकास चाहान्छौँ ।’ विपद्को सामना गर्दै अघि बढेको जापानबाट नेपालले विपद् पूर्व तयारी र त्यसपछिको पुननिर्माण सिक्न आवश्यक रहेको बताउँदै उनले भुकम्प, बाढी, पहिरो जस्ता बिपद्को क्षेत्रमा सहकार्यको अपेक्षा रहेको बताए । नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल एक सुन्दर देश र गण्डकी प्रदेश अझै सुन्दर रहेको बताए । जापान सरकार र अन्र्तगतका दातृनिकायले निरन्तर नेपालमा गर्दै आएको सहयोग निरन्तरता पाउने बताउँदै उनले गण्डकी प्रदेश सरकारसँगपनि सहकार्य हुने विश्वास ब्यक्त गरे । जापान सरकारलेपनि नेपालसँग दिगो संम्बन्ध राख्न चाहेको उनले बताए । भेटमा स्थानीय जिविकोर्पाजन, खाद्य सुरक्षा, कृषि, ग्रामिण अर्थतन्त्रको विकास र रोजगारी सिर्जना लगायतका विषयमापनि छलफल भएको थियो । भेटघाटमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटा, प्रदेश सचिव बद्रीनाथ अधिकारी, निजी सचिव राजेन्द्र क्षेत्री लगायतको उपस्थिती थियो ।

पोखरा:  विन्ध्यवासिनी मन्दिरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा विजयादशमी अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो ।   पर्व विशेषमा विभिन्न गतिविधि गर्दै आएको विन्ध्यवासिनीले २०६४ सालदेखि विन्ध्यवासिनी नवदुर्गा महोत्सवलाई निरन्तरता दिँदै आएको समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । उनका अनुसार नवदुर्गा अवधिभर बिहानभरि संगीतमय झाँकीसहितको श्रीमद्देवी भागवत् ज्ञानमहायज्ञ हुनेछ । त्यस्तै दिउँसादेखि साँझसम्म नवदुर्गाको महिमासम्बन्धी दार्शनिक व्यक्तिद्वारा प्रवचन हुनेछ । घटस्थापनाको दिन असोज २८ गते नवदुर्गा शोभायात्रा निकालिनेछ भने दिउँसोदेखि ज्ञानमहायज्ञ सुरु हुनेछ । विन्ध्यवासिनीदेखि सुरु हुने शोभायात्राले सहरका विभिन्न भाग परिक्रमा गर्नेछ । शोभायात्रामा नवदुर्गाका ९ रुपमा सिंगारिएका नवकन्यासहितको रथ, झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, राष्ट्रिय सेवा दल, बटुकहरु, जलकलशसहित मातृशक्ति, विभिन्न आमा समूहहरु, सामाजिक, धार्मिक, जातीय, सांस्कृतिक, बैंक वित्तीय तथा सहकारी, शैक्षिक संघसंस्था, भजन समूह, उद्योग वाणिज्य तथा वस्तुगत संघलगायत सर्वसाधारणको उपस्थिति हुनेछ ।   महोत्सवका लागि समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको सूचना समन्वय उपसमिति संयोजक दीपेन्द्र श्रेष्ठले बताए । विगतदेखि शक्तिस्थलका रुपमा पुँजिदै आएको हालको विन्ध्यवासिनी मन्दिर आजभन्दा झण्डै अढाइ शताब्दी पुरानो रहेको अनुमान छ । खासमा विन्ध्यवासिनी यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, प्राशासनिक, सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा चिनिने समितिका सचिव तीर्थ श्रेष्ठ बताउँछन् ।   यहाँ विन्ध्यवासिनी गुरुकुल विद्याश्रम पनि सञ्चालित छ । २०५१ सालमा स्थापित विद्याश्रममा कक्षा ६ देखि १० सम्म निशुल्क आवासीयरुपमा अध्यापन कार्य सञ्चालित छ । अशक्त र ज्येष्ठ नागरिकको लागि लिफ्ट सुविधा समेत छ । विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्रसमेत चलाएको समितिको एम्बुलेन्स सेवा पनि सञ्चालित छ ।