पोखरा: नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा छलफल भएको छ । छलफलका क्रममा प्रमुख आचार्यले महामहिम राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको चिरस्थायी मित्रताको लागि महत्वपूर्ण पक्षका रूपमा लिएको बताउनुभयो । “हाम्रा राष्ट्रहरू वर्षौँ देखि मित्रता र सहयोगको बन्धनमा एकाकार हुँदै आएका छन्, जुन पारस्परिक सम्मान र भलाइका लागि सँगै काम गर्ने प्रतिबद्धतामा आधारित छ, उहाँले भन्नुभयो, पोखरा लगायत समग्र नेपालको विकास यात्रामा जापान एक दृढ साझेदारका रूपमा रहँदै आएको छ ।” जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा आफूले जापानको भ्रमण गरेको स्मरण गराउँदै प्रमुख आचार्यले त्यस बखत पोखराको फोहरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने सहकार्य गरिएको बताउनुभयो । जापानले जाइका मार्फत सम्पन्न हुने क्रममा रहेको खानेपानी आयोजना लगायत पोखरामा सञ्चालित महत्वपूर्ण विकास परियोजनाहरूमा दृढ र समर्पित साझेदारको भूमिका निर्वाह गर्दै आएको प्रमुख आचार्यले बताउनुभयो । “जापानको कोमागाने सहरसँग सन् २००१ देखि नै पोखराको भगिनी सम्बन्ध छ, यस सम्बन्धले दुई सहरलाई मात्र नभई दुई देशहरू बिचमा स्थायी रूप मै सांस्कृतिक आदानप्रदान, सहकार्य र जनस्तरको सम्बन्धलाई सुदृढ बनाइरहेको छ, उहाँले भन्नुभयो, जापानले निरन्तर रूपमा पोखराको सामाजिक, आर्थिक र सांस्कृतिक प्रगतिमा आफ्नो प्रतिबद्धता व्यवहारिक रूप मै देखाएको छ, यस प्रति पोखरा महानगरपालिका सदैव कृतज्ञ छ ।” पोखरालाई निकट भविष्यमा पर्यटनको राजधानी सहरका रूपमा घोषणा गर्ने तयारी गरिएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा र जापानका विभिन्न सहरहरू बिच नियमित अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण तयार गर्न राजदूत किकुता मार्फत जापान सरकारलाई आग्रह गर्नुभयो । जाइका मार्फत जापान सरकारको सहयोगमा सञ्चालित परियोजनाहरू समयमा सम्पन्न गर्न र पोखराको आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार निर्माणका क्षेत्रहरूमा लगानी बढाउन समेत उहाँले आग्रह गर्नुभयो । पोखरा खानेपानी सुधार आयोजना अन्तरगत पोखरा–१५ कोलपाटनमा निर्माणाधीन ओभर हेड वाटर ट्याङ्क (खानेपानी ट्याङ्की) को समस्या समाधानका लागि समेत उहाँले आवश्यक पहल गरिदिन राजदूत किकुतालाई अनुरोध गर्नुभयो । हालसम्म निर्माणमा १४ करोड रुपैयाँ खर्च भएको ट्याङ्कीलाई काटेर पुनः प्रयोगमा ल्याउन करोडौँ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जवाफमा राजदूत किकुताले पानी ट्याङ्कीको समस्या पोखरा महानगरपालिकाको मात्र नभई राजदूतावास, जाइका र नेपाल सरकारको समस्या भएको बताउनुभयो । यो साझा समस्याको समाधानका लागि सबै सरोकारवालाहरू बिच छलफल तथा समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो । जापान सरकारको कार्यान्वयन इकाइका रूपमा जाइका मार्फत सञ्चालित परियोजनाहरूको गुणस्तर र प्रतिफल पोखरेली जनताको जीवनसँग जोडिने विषय भएकाले यसमा कुनै प्रकारको कमजोरी हुन नदिने राजदूत किकुताले विश्वास दिलाउनुभयो । पोखरालाई जापानका सहरहरूसँग हवाई सेवाले जोड्ने विषयमा जापान सरकारसँग आवश्यक समन्वय गर्ने उहाँले बताउनुभयो । पोखराको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा साझेदारी गर्न जापान सरकार सदैव सकारात्मक रहेको सन्देश राजदूत किकुताले सुनाउनुभयो । राजदूत किकुता जापान सरकारको तर्फबाट मातृशिशु मितेरी अस्पतालका लागि स्वास्थ्य उपकरणहरू लिएर पोखरा आउनुभएको हो । बुधवार जापान सरकारको तर्फबाट बाटुलेचौर स्थित मातृशिशु मितेरी अस्पताललाई राजदूत किकुताले स्वास्थ्य उपकरणहरू उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम छ । राजदूत किकुतासँगै दूतावासकी आर्थिक सहयोग सम्बन्धी प्रथम सचिव इशिदा मियुकी पनि पोखरा आउनु भएको छ ।
पोखरा: नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकले पार्टी संगठनको सुदृढीकरण लगायतका सम्बन्धमा विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बैठकले पार्टीको गण्डकी प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले यही मंसिर १३ र १४ गते हुने महासमिति बैठकका लागि प्रदेशका तर्फबाट प्रस्तुत हुने प्रस्ताव तथा सुझाव तयार गर्न महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । बैठकले प्रदेशबाट जिल्लाका प्रदेश क्षेत्रहरूमा खटाइएका प्रतिनिधिबाट प्राप्त प्रतिवेदनको अध्ययन एवम् कार्यान्वयन गर्नका लागि महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ध्रुव शर्मा पगेनी र शोभा अधिकारी सदस्य रहनुभएको उपसमिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले यही असोज २५ गते शुवर्ण शमशेर स्मृति विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले विरेन्द्रप्रसाद मण्डलको संयोजकत्वमा लेखा समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिका सदस्यमा तेजबहादुर कुँवर र पदमबन्धु पोख्रेल रहनुभएको छ । उक्त वैठकमा वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेश समितिले भाद्र २४ गते ११० औ वीपी जयन्तीको अवसरमा आयोजित सम्मान कार्यक्रम एतिहासिक रहेको र अनुकरणीय कार्य गरेकोमा कृतज्ञता सहित बधाई ज्ञापन गरिएको थियो । बैठकले प्रदेश समिति सदस्य एवम् स्वास्थ्य विभाग संयोजक नारायण बरालको असामयिक स्वर्गारोहण भएकोमा शोक प्रस्ताव पारित गरेको छ । त्यस्तै इजरायलमा भएको सांघातिक हमालामा परी निधन भएका १० जना नेपाली विद्यार्थीको निधनमा शोक व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फसेका नेपालीको शीघ्र उद्धार गर्न आग्रह गरिएको छ । गण्डकीमा फैलिएको डेगुको प्रकोप नियन्त्रणका लागि बैठकले सरकारको ध्यानकर्षण गराएको छ । बैठकमा नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले पार्टी संगठनलाई बलियो बनाउँदै लैजानु वर्तमानको आवश्यकता भएको बताउनुभयो । पार्टीको कार्यसमिति र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिबीच समन्वय हुनु जरुरी रहेको बताउँदै उहाँले उहाँले पार्टीका नीति तथा सिद्धान्त अनुसार जनप्रतिनिधिहरू कृयाशिल हुनुपर्ने धारणा राख्नुभयो । त्यसैगरी उक्त वैठकमा सभापति शर्माले पार्टीलाई कमजोर हुने गरि कसैलेपनि जथाभावीरुपमा अभिव्यक्ति नदिनकोलागि अनुरोध गर्नुभएको थियो । नेपाली काँग्रेस संसदीय दल गण्डकी प्रदेशका नेता एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आँफू पार्टी संगठनसँग निरन्तर समन्वय गर्दै अघि बढीरहेको बताउनुभयो । एकतावद्ध रुपमा अघि बढ्न सकेमा पार्टी बलियो बन्ने उल्लेख गर्दै उहाँले सबै मिलेर विद्यमान समस्याको समाधान गर्न सकिने बताउनुभयो । नेपाली कांग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले कृषि क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो । पार्टीको नीति तथा आदर्शमा रही जनताले अपेक्षा गरे अनुसारका कामलाई अघि बढाउने कुरा आफ्नो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेस तनहुँका सभापति एवम् गण्डकी प्रदेशका अर्थ मन्त्री जीतप्रकाश आलेले पार्टीको अधिवेशनमा तल्लो तहबाटै आउनुपर्ने व्यवस्थालाई सुनिश्चित गर्नुपर्ने बताउनुभयो । बैठकमा पार्टीका उपाध्यक्षद्वय कल्पना तिवारी र मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने लगायतले आआफ्ना धारणा राख्नुभयो । प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न बैठकको सञ्चालन महामन्त्री किरणबाबु श्रेष्ठले गर्नुभएको थियो । बैठकमा जिल्ला जिल्लामा खटिनुभएका प्रदेश कार्यसमितिका सदस्यले तत्तत् जिल्लाको पार्टी संगठन, गतिविधि एवम् समस्या सहित समाधानका उपाय बारे जानकारी गराउनुका साथै प्रतिवेदन पेश गरेको प्रवक्ता माधवप्रसाद बास्तोला(मधु)ले जानकारी गराउनुभयो ।
पोखरा: इजरायलमा ज्यान गुमाएका नेपालीहरुको सम्झनामा पोखरा १ सिमपानीमा श्रदाञ्जली सभासँगै दीप प्रज्वलन गरिएको छ । पोखरामा त्रियाशिल स्थानीय त्रिशक्ति समाज सेवा क्लबले मृतक आत्माको चीर शान्तिको कामनासहित उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो । ‘लर्न एण्ड अर्न’ कार्यक्रममा गएका नेपाली १० विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा कैलाली घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया– ३ का आशीष चौधरी, दार्चुला लेकमा– ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन– ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, धनुषा सपाही– ६ का आनन्द साह, सुनसरी मधुवन– १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली– ३ का राजन फुलारा, डोटीकै लमिखाल ८ का पदम र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् । १७ जनाको समूहमा रहेका उनीहरु मध्ये १ बेपत्ता, ४ घाइते छन् भन् २ जना सकुसल रहेका छन् । मृत आत्मा शान्तिको कामनासहित उनीहरुको सम्झनामा दीप बालेको क्लबका सहसचिव प्रविण सुवेदीले बताए । ‘लर्न एण्ड अर्न’ कार्यक्रममा इजरायल रहेका १० जना नेपालीको निधनले देश शोकमा डुबेको छ । उहाँहरुको सम्मान र सम्झनामा हामीले दीप प्रज्वलन गरेका हौं, उनले भने, ‘मृतक आत्माप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । सो कार्यक्रममा क्लबका कार्यसमिति र साधारण सदस्यहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
काठमाण्डौ: संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच शुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो। गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो । तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् ।
झापा: भद्रपुर नगरपालिका–२ स्थिल रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान वयस्क हात्ती मृतावस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेकोे बताउनुभयो । उहाँका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ । कोशीटप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उहाँले बताउनुभयो । सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ । रासस
जनकपुरधाम: नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिनुभयो । उहाँले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिनुभयो । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ । रासस
काठमाण्डौ: नेपालले सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजीका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरूको खोजीका लागि अपिल गरिएको जानकारी दिनुभयो । गएको १७ गते टिस्टा नदीमा बाढी आएपछि यो क्षेत्रमा काम गर्न गएका इलामको इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेतलगायत सम्पर्कविहीन छन् । बाढी गएको ठाउँमा टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएकाले सम्पर्क हुन नसकेको भारतीय निकायले जानकारी गराएको छ ।
सत्तारूढ नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई सरकारी खर्चमा स्वदेश ल्याउन सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलको मंगलबारको बैठकले इजरायलमा हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको भन्दै उक्त घटनाको निन्दा र भर्त्सना गरेको छ। ‘हमासको आक्रमणमा परी घाइते भई उपचाररत दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेहरुको नेपाल सरकारले सरकारको खर्चमा तत्काल उपचारको व्यवस्था गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आक्रमणमा परी जीवन गुमाउने नेपालीहरूको पार्थिव शरिर यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन, सम्पर्कमा नरहेका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धार गर्न र इजरायलमा भएका नेपालीहरुको विवरण संकलन गरी जोखिममा रहेका नेपालीहरुको सकुशल उद्धार गरी सुरक्षित स्थानमा राखी आवश्यक आवास र भोजनको उचित व्यवस्था गर्न कांग्रेसले आग्रह गरेको हो। रोजगारी तथा अध्ययनका लागी इजरायल गएका नेपालीहरु इजरायलमा सुरक्षित रहने उपयुक्त व्यवस्था मिलाउने र स्वदेश फर्कन चाहनेहरुलाई अविलम्ब फर्काउने व्यवस्था मिलाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ।
काठमाडौंको सुन्धारास्थित एक होटलमा युवती मृत फेला परेकी छन्। काठमाडौं महानगरपालिका वडा नम्बर ११ सुन्धारास्थित श्री गुरू गेष्ट हाउसमा युवती मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत सोमबार मृत फेला परेको प्रहरीको भनाइ छ। उनी उक्त होटलमा गत असोज ८ गतेदेखि बस्दै आएकी थिइन्। उनी उक्त होटलको कोठा नम्बर ६०४मा बस्दै आएकी थिइन्। सोमबार बिहान साढे ८ बजे कोठा नखुलेपछि संचालकले प्रहरीलाई खबर गरेको थियो। प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायब उपरीक्षक भेषराज रिजालको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी पुग्दा पनि ढोका बन्द नै थियो। पछाडि रहेको झ्यालबाट हेर्दा युवती सुतिरहेको अवस्थामा रहेको र बोलाउँदा पनि नबोलेपछि आफन्तलाई घटनास्थलमा बोलाइएको थियो।

