नगरप्रमुख आचार्य र जापानका राजदूत किकुता बिच भेटवार्ता
पाेखरा | असोज २४, २०८०
पोखरा: नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा छलफल भएको छ । छलफलका क्रममा प्रमुख आचार्यले महामहिम राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको चिरस्थायी मित्रताको लागि महत्वपूर्ण पक्षका रूपमा लिएको बताउनुभयो ।
“हाम्रा राष्ट्रहरू वर्षौँ देखि मित्रता र सहयोगको बन्धनमा एकाकार हुँदै आएका छन्, जुन पारस्परिक सम्मान र भलाइका लागि सँगै काम गर्ने प्रतिबद्धतामा आधारित छ, उहाँले भन्नुभयो, पोखरा लगायत समग्र नेपालको विकास यात्रामा जापान एक दृढ साझेदारका रूपमा रहँदै आएको छ ।” जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा आफूले जापानको भ्रमण गरेको स्मरण गराउँदै प्रमुख आचार्यले त्यस बखत पोखराको फोहरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने सहकार्य गरिएको बताउनुभयो । जापानले जाइका मार्फत सम्पन्न हुने क्रममा रहेको खानेपानी आयोजना लगायत पोखरामा सञ्चालित महत्वपूर्ण विकास परियोजनाहरूमा दृढ र समर्पित साझेदारको भूमिका निर्वाह गर्दै आएको प्रमुख आचार्यले बताउनुभयो ।
“जापानको कोमागाने सहरसँग सन् २००१ देखि नै पोखराको भगिनी सम्बन्ध छ, यस सम्बन्धले दुई सहरलाई मात्र नभई दुई देशहरू बिचमा स्थायी रूप मै सांस्कृतिक आदानप्रदान, सहकार्य र जनस्तरको सम्बन्धलाई सुदृढ बनाइरहेको छ, उहाँले भन्नुभयो, जापानले निरन्तर रूपमा पोखराको सामाजिक, आर्थिक र सांस्कृतिक प्रगतिमा आफ्नो प्रतिबद्धता व्यवहारिक रूप मै देखाएको छ, यस प्रति पोखरा महानगरपालिका सदैव कृतज्ञ छ ।” पोखरालाई निकट भविष्यमा पर्यटनको राजधानी सहरका रूपमा घोषणा गर्ने तयारी गरिएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा र जापानका विभिन्न सहरहरू बिच नियमित अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण तयार गर्न राजदूत किकुता मार्फत जापान सरकारलाई आग्रह गर्नुभयो ।
जाइका मार्फत जापान सरकारको सहयोगमा सञ्चालित परियोजनाहरू समयमा सम्पन्न गर्न र पोखराको आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार निर्माणका क्षेत्रहरूमा लगानी बढाउन समेत उहाँले आग्रह गर्नुभयो । पोखरा खानेपानी सुधार आयोजना अन्तरगत पोखरा–१५ कोलपाटनमा निर्माणाधीन ओभर हेड वाटर ट्याङ्क (खानेपानी ट्याङ्की) को समस्या समाधानका लागि समेत उहाँले आवश्यक पहल गरिदिन राजदूत किकुतालाई अनुरोध गर्नुभयो । हालसम्म निर्माणमा १४ करोड रुपैयाँ खर्च भएको ट्याङ्कीलाई काटेर पुनः प्रयोगमा ल्याउन करोडौँ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
जवाफमा राजदूत किकुताले पानी ट्याङ्कीको समस्या पोखरा महानगरपालिकाको मात्र नभई राजदूतावास, जाइका र नेपाल सरकारको समस्या भएको बताउनुभयो । यो साझा समस्याको समाधानका लागि सबै सरोकारवालाहरू बिच छलफल तथा समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो । जापान सरकारको कार्यान्वयन इकाइका रूपमा जाइका मार्फत सञ्चालित परियोजनाहरूको गुणस्तर र प्रतिफल पोखरेली जनताको जीवनसँग जोडिने विषय भएकाले यसमा कुनै प्रकारको कमजोरी हुन नदिने राजदूत किकुताले विश्वास दिलाउनुभयो । पोखरालाई जापानका सहरहरूसँग हवाई सेवाले जोड्ने विषयमा जापान सरकारसँग आवश्यक समन्वय गर्ने उहाँले बताउनुभयो । पोखराको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा साझेदारी गर्न जापान सरकार सदैव सकारात्मक रहेको सन्देश राजदूत किकुताले सुनाउनुभयो ।
राजदूत किकुता जापान सरकारको तर्फबाट मातृशिशु मितेरी अस्पतालका लागि स्वास्थ्य उपकरणहरू लिएर पोखरा आउनुभएको हो । बुधवार जापान सरकारको तर्फबाट बाटुलेचौर स्थित मातृशिशु मितेरी अस्पताललाई राजदूत किकुताले स्वास्थ्य उपकरणहरू उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम छ । राजदूत किकुतासँगै दूतावासकी आर्थिक सहयोग सम्बन्धी प्रथम सचिव इशिदा मियुकी पनि पोखरा आउनु भएको छ ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

