एजेन्सी: इजरायलले गाजामा हालसम्म ६ हजार बम खसालेको जनाएको छ, जसको कुल वजन चार हजार टन रहेको छ । इजरायलले विगत छ दिनमा गाजामा रहेका हमासको इलाकामा यी बमहरू खसालिएको जनाएको छ । इजरायली वायुसेनाले गाजामा हालसम्म ३ हजार ६ सय ठेगानामा आक्रमण गरेको जनाएको छ । अर्कोतर्फ प्यालेस्टाइनी अधिकारीहरूले इजरायलको बमबारीमा हालसम्म १ हजार ५ सय ३७ जनाको ज्यान गएको जनाएका छन्, जसमा ५ सय बालबालिका र २ सय ७६ जना महिला रहेका छन् । योसँगै हमासको आक्रमणमा हालसम्म १ हजार ३ सय इजरायली मारिएका छन् । हमासले करिब १ सय ५० इजरायलीलाई बन्धक बनाएको बताइएको छ ।
बारा: बाराको जितपुरसिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत फेला परेका छन् । बिहीबार साँझ जितपुर सिमरा–२, सिमरास्थित आफ्नै निवासमा पूर्वमेयर पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । घरमै मृत भेटिएका पौडेललाई हृदयघात भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले मध्यरातमा उनको शव पोष्टमार्टमका लागि अस्पताल लगेको छ भने पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन । पौडेल अघिल्लो कार्यकालमा एमालेका तर्फबाट निर्वाचित मेयर हुन भने उनी एमाले मधेश प्रदेशका पूर्वसचिव पनि हुन् । हालै सम्पन्न प्रदेश अधिवेशनमा भने उनको सहभागिता थिएन।
काठमाडौं: काठमाडौंको बौद्धमा प्रहरीले गोली चलाएर लुटेरा समूहका दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चलाएको गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लुटेरा समूहले हाम्रो प्रहरी टोलीमाथि आक्रमण गर्दा आत्मरक्षाका लागि जवाफी फायर गर्दा घनाल घाइते भएका हुन् ।’ घाइते भएका घनालको एनएम्स अस्पताल जोरपाटीमा उपचार भइरहेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यसैगरी यस घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिनुका साथै उनीहरूको साथबाट सात राउन्ड गोली, एउटा पेस्तोलसहित दुई वटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
काठमाडौं: इजरायलबाट नेपाल फर्किन लागेका नेपालीहरू नेपाल एयरलाइन्सको जहाज चढ्न त्यहाँस्थित तेलअबिब एयरपोर्टमा भेला भएका छन्। द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली लिन नेपाल एयरलाइन्सको जहाज तेलअबिबमा अवतरण गरिसकेको छ। सो जहाजले आजै २५० जना नेपालीलाई स्वदेश ल्याउने छ। हमासको आक्रमणपछि हिंसाग्रस्त इजरायलमा रहेका नेपालीको उद्धार गर्न आज बिहान नेपाल एयरलाइन्सको जहाज लिएर परराष्ट्रमन्त्रीसहितको टोली त्यहाँ पुगेको हो। नेपाल फर्किन चाहनेको सूचीमा नाम लेखाएका नेपालीमध्ये अहिले पहिलो चरणमा २५० जनालाई जाहाजले स्वदेश लिएर आउनेछ। २५० नेपाली लिएर जहाज स्थानीय समयअनुसार दिउँसो १ बजेर १० मिनेट जाँदा दुबईका लागि उड्नेछ। त्यसपछि उक्त जहाज दुबईबाट काठमाडौँमा राति ९ बजे अवतरण गर्ने बताइएको छ। हमासको हमलामा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएपछि सरकारले त्यहाँ रहेका अन्य नेपालीको उद्धार गर्न लागेको हो। इजरायलबाट स्वदेश फर्किन ३ सय ५० नेपाली नागरिकले नाम टिपाएका छन्। पहिलो चरण २५० नेपालीलाई ल्याइने र बाँकीलाई पछि व्यवसायिक उडानमार्फत ल्याइने परराष्ट्र मन्त्रालयले जनाएकाे छ।
आन्दोलनरत स्थानीय तहका कर्मचारीहरूसँग सरकारले वार्ता गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार अपराह्न वार्ता हुनेछ। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको छ। वार्ता समितिमा आन्दोलनरत स्थानीय तहका ६ जना कर्मचारी र आधिकारिक ट्रेड युनियनका ५ जना रहनेछन्। ‘उहाँहरूलाई वार्तामा बोलाइएको छ,’ भट्टराईले भने। स्थानीय तहको अत्यावश्यकबाहेक काम बन्द गरेर कर्मचारीहरू केही समयदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। यस्ता माग राखेर स्थानीय तहका कर्मचारी आन्दोलनमा छन् : १. संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने। २. स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने। ३. निजामतीको परिभाषाभित्र स्थानीय तहका कर्मचारीलाई समेत समेटिनुपर्ने। ४. बिना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पूर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरूवा गरिनुपर्ने। ५. समायोजनका कर्मचारीहरूको ९सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गर्ने गरी० उचित व्यवस्थापन गर्नुपर्ने। ६. तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने। ७. स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कर्मचारी कल्याणकारी कोषको अनिवार्य व्यवस्था गरिनुपर्ने। ८. स्थानीय तहका कर्मचारीलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनुपर्ने। ९. जुनसुकै तहमा बहाल रहेको कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर तह नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने। १०. स्थानीय तहका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने। ११. अस्थायी तथा करार कर्मचारीहरूको उचित व्यवस्था गरिनुपर्ने।
काठमाडौं: नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनु नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा विचलन आइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । उहाँले एकपछि अर्को गरी अन्र्तजातिय सद्भावना र धार्मिक सहिष्णुता तोड्ने काम भइरहेको भन्दै यसलाई तोड्न दिनु नहुने बताउनुभयो । सांसद केसीले अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता नेपालको राष्ट्रिय गौरवको विषय भएको बताउनु भयो । उहाँले नेपाली संस्कृतिमा विचलन आउन दिनु नहुने जिकिर गर्नुभयो । सांसद केसीले अराजकताको विरुद्धमा अराजकताले नै प्रतिरोध गर्नु नहुने बताउनुभयो । ‘‘सामाजिक सद्भावना र सहअस्तित्व एकपछि अर्को विचलनमा जाँदैछ । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता हाम्रो राष्ट्रिय संस्कार संस्कृति हो । त्यसलाई तोडिने काम एकपछि अर्को हुँदै गइरहेको छ । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता नेपालको सबभन्दा राष्ट्रिय गौरवको विषय थियो । त्यसमा विचलन आएको छ । नेपाली जनताको संस्कार र संस्कृति विविधता बिचको एकता हाम्रो संस्कृति हो ।,’’ सांसद केसीले भन्नुभयो, ‘‘त्यो संस्कृतिमाथि जब विचलन आउँछ, त्यसपछि संस्कार, सरकार सबै पतनको दिशातर्फ जान्छ भन्ने कुरा सरकारले बुझ्नै पर्छ । सम्पूर्ण राजनीतिक दलहरूले गम्भीर भएर बुझ्नुपर्ने आवश्यकता छ । अराजकताको विरुद्धमा अराजकता नै त्यसको प्रतिरोध होइन । कसैले कालोमोसो दल्छु भन्यो र उसैलाई कालोमोसो दल्नु पनि त्यो हाम्रो संस्कार र संस्कृतिको कुरा होइन । त्यसकारणले उत्तेजना होइन चेतना फैलाउने र आवेग होइन विवेकले काम गर्ने परम्परा टुट्दै गएको छ त्यतातिर सम्पूर्णले एकीकृत भएर लाग्नुपर्ने अहिलेको आवश्यकता हो । सरकारको ध्यानाकर्षण गराउँदछु ।’’ उहाँले महँगीले जनताको चुल्हो नै नबल्ने स्थिति आएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्। काभ्रे पनौती घर भई ललितपुर महानगरपालिका-२७ बस्ने २८ वर्षीय दीपक लामा पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत चापागाउँबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो। लामाविरूद्ध बालिकामाथि असोज २० देखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं: नेपालले यू-१९ प्रिमियर कपमा इरानलाई २ सय ७४ रनले पराजित गरेको हो । जितका लागि ३ सय ५४ रनको विशाल विजयी लक्ष्य पछ्याएको इरान ३०.५ ओभरमा ७९ रनमा अल आउट भयो । इरानका ओपनर आमेर खोर्सन्दले २२ बलमा १ चौका र ५ छक्कासहित ३७ रन बनाए । साबेर इब्राहिमपुरले ४३ बलमा १ चौकासहित ११ रनमा नट आउट रहे । अन्य कुनैपनि इरानी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इरानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका दीपेश कँडेलले ७ ओभरमा ३ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । सुवास भण्डारीले ८.५ ओभरमा ४ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए । हेमन्त धामी र आकाश चन्दले दुई दुई विकेट लिए । त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभल बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा ३ सय ५३ रनमा अल आउट भएको थियो । नेपालको जितमा कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए । देव नेपालबाट यू१९ मा दुई शतक हान्ने पहिलो खेलाडी हुन् । उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए । ओपनर दीपक बोहरा ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । नेपालको सुरुवात भने राम्रो थिएन । सुरुवाती १० रनमै दुई ब्याटर गुमाएको थियो । तर तेस्रो विकेटका लागि देव र दीपकले १ सय ६६ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । ओपनर अर्जुन कुमाल गोल्डेन डक र आकाश त्रिपाठी ३ रनमै आउट भएका थिए । विकेटकिपर दीपक प्रसाद डुम्रे ४४ बलमा ८ चौका र २ छक्कासहित ६९ रनमा आउट भए । दीपेश कंडेल २२ बलमा ३ चौका र१ छक्कासहित २९, दीपक बोहरा १ र मिलन बोहरा डक आउट भए । तीव्र गतिका बलर आकाश चन्द ११ बलमा ३ चौकासहित १९ रनमा आउट भए । हेमन्त धामी १९ बलमा २ चौका र १ छक्कासहित २३ र सुवास भण्डारी १८ रन बनाए । इरानका दद्रहमान राइसीले ९ ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । सलमान निज्मान्दले ८ ओभरमा ६२ रन खर्चेर ३ विकेट लिए । समान शेखी र जियाद राइसीले समान दुई विकेट लिएका थिए । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन्
पोखरा: पोखराका क्रियाशील पत्रकार फडिन्द्र अधिकारी ‘अकिञ्चन’लाई बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा भएको अभद्र व्यवहारप्रति विभिन्न संस्थाले आपत्ति जनाएको छ । उक्त घटनाको विषमा पत्रकार महासंघ गण्डकी प्रदेश, प्रेस चौतारी र प्रेस सेन्टरले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको हो । गोरखापत्र दैनिक र समाधान दैनिकका संवाददातासमेत रहेका अकिञ्चनलाई बुधबार सभागृहमा रिपोर्टिङको क्रममा क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले दुर्व्यवहार गरेका थिए । पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा सहभागी विद्यालयमा अध्ययनरत बालबालिकाको विषयमा जिज्ञासा राख्दा अधिकारीमाथि सञ्चालक प्रतीकले अभद्र व्यवहार गरेको बताइएको छ । सञ्चालक प्रतिकले ‘चिनेको छस् ? पूर्व राष्ट्रपति पूर्व मुख्यमन्त्री, मेयर मेरो कार्यक्रममा आउनुभएको छ । यो कार्यक्रमको गरिमा कति हो थाहा छ ?’ भन्दै गालीगलौज साथै धाकधम्की दिएका थिए । उक्त घटनापछि पत्रकार सम्बद्ध संघसंस्थाले प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षप भएको ठहर गर्दै मिलनलाई कानुनी कारवाहीको दायरामा ल्याइनुपर्ने माग छ ।

