काठमाण्डौ: घटस्थापना शुरु भएसँगै गोङ्गबुमा रहेको नयाँ बसपार्कमा घर जाने यात्रुको भिड लागेको छ । आजदेखि धेरैजसो विद्यालय, कलेज र सङ्घसंस्था बन्द भएपछि घर जानेको घुइँचो लागेको हो । नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक २५ हजारभन्दा धेरै यात्रु काठमाण्डौबाट बाहिरिन थालेको बताउनुभयो । यस्तै, दशैँका लागि अहिलेसम्म ६० हजार यात्रुले बसको अग्रिम टिकट लिएका लोत्से बहुद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बताउनुभयो । यात्रुले यसपालि पनि अग्रिम टिकट लिन सास्ती परेको गुनासो गरिरहेका छन् । सरकारले दशैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि गएको २६ गते देशैभरका सार्वजनिक गाडीमा रुट परमिटसमेत खुला गरिसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताउनुभयो । यात्रुलाई सहजरुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उहाँको दाबी छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्षसमेत सञ्चालन गरेको छ । यो सहायता कक्षमा यात्रुले यात्राका क्रममा आफू ठगीमा वा अफ्ठ्यारो अवस्थामा परे गुनासो टिपाउन सक्ने छन् । यस्तै, बस चालक तथा सहचालकले पनि आफ्ना कुरा राख्न सक्ने छन् ।
काठमाडौं: आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । नौ दिन नौ दुर्गाको पूजा नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । वडादसैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । आगामी कात्तिक ४ गते बिहान ९ बजेर ३५ मिनेटमा फुलपातीको साइत रहेको समितिले जनाएको छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा नवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।
पोखरा: पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा सबिन मेमोरियल एफसीले सत्य युवा क्लब बाझापाटनलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । सबिन मेमोरियलको जीतमा अभिनाश तामाङ र अंकित गुरुङले समान १/१ गोलको योगदान दिए भने बि–१३ को तर्फबाट रामकृष्ण श्रेष्ठले १ गोल फर्काए । यस्तै दोस्रो खेलमा शिशुवा भद्रकाली एफसीले ड्रिमर्स एससीलाई ६–३ गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । शिशुवा भद्रकालीको जितमा युनिक तामाङले ह्याट्रिक पुरा गरे भने प्रनिश गुरुङ, प्रविन गुरुङ र मनिल गुरुङले समान १/१ गोल गरे । यता ड्रिमर्सको तर्फबाट प्रज्वल शाही (लक्ष्मण), सुरज गुरुङ र धिरज मगरले १/१ गोल फर्काए । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटसलको विकासमा यस प्रतियोगिताले टेवा पुर्याउने धारणा व्यक्त गरे । उनले आगामी प्रतियोगितालाई व्यवसायिक बनाउनका लागि ठुला कम्पनीहरुलाई जोड्नुपर्नै बताउदै आफुले पनि सहकार्य गर्न तयार रहेको बताए । सो प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न टेवा पुर्याउने बताउदै निरन्तरता दिनुपर्ने बताए । उनले आफ्नो कार्यकालमा नेपालमा पहिलोपटक राष्ट्रिय फुटसल लिग आयोजना गरेको स्मरण गर्दै वर्तमान नेतृत्वको सरकारले पनि निरन्तरता दिनुपर्ने उल्लेख गरे । ‘मेरो नेतृत्वमा पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय लिग सम्पन्न गरेका थियौं, उनले भने, ‘अहिलेको सरकारले पनि यस्तो खालको प्रतियोगितालाई सहजीकरण र व्यवस्थापन गर्न जरुरी छ । र राष्ट्रिय लिगलाई पनि निरन्तरदा दिन आवश्यक छ ।’ प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ । आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।
लमजुङ: चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा यतिबेला पर्यटकीय याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको हो । यतिबेला दैनिक दुई सयभन्दा बढी विदेशी पर्यटकको आगमन भइरहेको मनाङ धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए। उनका अनुसार तिहारको बीचमा अझै पर्यटक बढ्दै जानेछन् । यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘पर्यटकको आगमन ठप्प भएसँगै फुर्सदिला बनेका हामी यतिबेला पर्यटक आगमन बढ्न थालेसँगै उनीहरूका लागि व्यस्त भइरहेका छौँ ।’ पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै आफू मात्र नभई यस क्षेत्रमा रहेका पर्यटन व्यवसायी हर्षित भएको उनको भनाइ छ । पर्यटक नआउँदा आम्दानी शून्य जस्तै भए पनि यतिबेला दैनिक रु ३० देखि ४० हजारसम्म कमाइ हुने गरेको उनले सुनाए । त्यस्तै अर्का पर्यटन व्यवसायी मेखबहादुर गुरुङका अनुसार पर्यटक बढेसँगै आम्दानीसमेत वृद्धि हुँदै गइरहेको छ । यतिबेला पर्यटक आगमन बढ्दा दैनिक रु ३०÷३५ हजारसम्म आम्दानी हुने गरेको उनको भनाइ छ । बर्खा लागेसँगै पदमार्गमा आउने पर्यटकलाई समस्या हुनाले पर्यटक यसअघिसम्म आएका थिएनन् । यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । मनाङका विभिन्न हिमाल एवं चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । सन् २०२३ सुरु भएयता हालसम्म १४ हजार दुई सय १४ पर्यटक यस पदमार्गमा आएका छन् । सो पदमार्गमा सबैभन्दा बढी इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक आएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यतिबेला दैनिक विदेशीभन्दा आन्तरिक पर्यटक बढी आउने गरे पनि यकिन तथ्यांक भने छैन । यस पदमार्गमा विदेशी र आन्तरिकको भरिभराउले व्यवसायी उत्साहित बन्न थालेका छन् ।
विराटनगर: नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् । थापाले राजीतिक उत्तरचढावको एउटा कारक आफू पनि भएको महशुस गरी पदबाट राजीनामा गरेको बताएका छन् । सरकार गठन प्रक्रियामा उत्पन्न असहज अवस्थाका कारण पनि नैतिकताका आधारमा राजीनामा गरेको उनले बताए । आफ्नो राजीनाका कुनै आग्रहमा नआएको र केही समय अगाडि नै राजीनामा गर्न खोजेपनि विभिन्न परिस्थितिले नमिलेको उनले बताए । उनले गठबन्धन प्रदेशमा कायम रहने र २०८४ को निर्वाचनसम्म निरन्तर रहने बताए ।
चितवन: चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका सात सय ९४ घर परिवारको नि:शुल्क स्वास्थ्य बीमा गरेको छ । ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ती परिवारमा रहेका तीन हजार एक सय ७७ जनाको स्वास्थ्य बीमा गरिएको हो । पालिकाभित्र रहेका विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमका लागि पालिकाले ३० लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये अहिलेसम्म २८ लाख ४३ हजार तीन सय बराबरको बीमा भइसकेको छ । नगरप्रमुख विनोद रेग्मीका अनुसार विपन्न परिवारलाई पालिकाले बीमा गरिदिएको हो । उहाँले भन्नुभयो, “चेपाङ समुदायको प्रदेश सरकारले बीमा गरिरहेकाले सो समुदायबाहेक अन्य समुदायका विपन्न परिवारको बीमा नगरपालिकाले आफ्नै बजेटमार्फत गरेको हो ।” अहिले बीमा भएका परिवारको आगामी मंसिर १ गतेदेखि लागू हुनेछ । विपन्न परिवारले उपचारका लागि आर्थिक सहयोग माग्नु नपरोस् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रम गरिएको जनाउँदै उहाँले भन्नुभयो, “विपन्न परिवारका लागि पनि स्थानीय सरकार भएको अनुभूति हुने गरी काम गर्दै आएका छौँ ।” नगरपालिकाभित्र स्वास्थ्य उपचारका लागि कोही पनि बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो । स्वस्थ्य नगरपालिका निर्माणका लागि यो कार्यक्रम प्रभावकारी बन्ने उहाँको भनाइ छ । पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि यसअघि नै घरघर पुगेर नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ । पालिकाभित्र रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएकाको प्रत्येक दुई महिनामा घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिनुभयो ।
ढोरपाटन: बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन । शुक्रबार राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
काठमाडौं: मनाङ एअरको ‘एन–एनजे’ कलसाइन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त रहेका अस्पतालले जनाएको छ । उहाँको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एअरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । घाइते पाइलटलाई फिस्टेल एअरको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको थियो । हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टरमा पाइलट सेडाईं मात्र हुनुहुन्थ्यो । दुर्घटना भएको हेलिकप्टरमा आगो लागेका कारण क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हेलिकप्टर दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान प्रक्रिया थालिएको छ । हिमाली क्षेत्रमा तीव्र हावा चल्ने भएकाले हेलिकप्टर अवतरणको क्रममा हावाको बेगका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।
पाल्पा: ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा । “जवानी उमेरमा दिनभर बारीमा साथीहरूसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी उब्जन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गए, गाउँमा कोदो खेती गर्न कसैले चाख मान्दैनन्”, उहाँले भन्नुभयो । उहाँले आफूले जान्ने बुझ्ने उमेर भएदेखि नै कोदो खेती गरे तापनि अहिले आएर सबैले खेती गर्न छाड्दै जाँदा गाउँका बारी बाँझिन थालेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । “हाम्रो पालामा जान्ने बुझ्ने उमेर भएदेखि नै गाउँघरमा कोदो रोप्ने कार्यमा सहभागी भइन्थ्यो, अहिलेका पुस्तालाई कोदो के हो रु भन्ने नै थाहा हुनै छाड्यो” उहाँले भन्नुभयो, “गाउँको आफ्नै हातले उब्जाएको पोषिलो कोदो सेवनले शरीरलाई तागत दिन्थ्यो ।” उहाँले उमेरले बुढ्यौलीपन टेके पनि दुःखसुखले अझै पनि थोरै भए पनि कोदो लगाउन भने छाड्नुभएको छैन । आफूले परम्परादेखि नै गर्दै आएको खेती आफ्ना सन्ततिले गर्न छाडे पनि उहाँले थोरै जग्गामा भए पनि निरन्तर गरिरहनुभएको छ । गाउँघरमा पाका पुस्ताको मात्र बसोबास, खेती गर्न झण्झटले कोदो लगाउन छाड्दै गएको पाइन्छ । पाल्पामा कोदो खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा जिल्लामै यसको खेती कम मात्रामा गरिन्छ । कोदो फल्ने ठाउँमा नै किसानले खेती गर्न छाडेपछि अहिले बीउ जोगाउनका लागि पाका पुस्ताले निरन्तरता दिएका छन् । युवापुस्ताको यसप्रति आकर्षण देखिँदैन । दश वर्षअघिसम्म जिल्लाका पहाडी भेगका सबैजसो ठाउँमा कोदो लगाइन्थ्यो । गाउँका बारीमा कोदो राम्रै उब्जनी हुन्थ्यो । तर अहिले गाउँमा यसको बीउसम्म पनि पाउन मुस्किल पर्न थालेको किसान बताउँछन् । पहिला–पहिला गाउँघरमा प्रशस्त कोदो उत्पादन गरेर चामलसँग साट्ने चलन थियो । वर्ष दिनभर कोदोबाट चामल साटेर गुजारा चलाउने गरे तापनि हिजोआज व्यवसायीकरण रुपमा खेती गर्न छाडिएको छ । अन्य कृषि बालीको तुलनामा कोदो खेतीलाई धेरै लगानी र मेहनत गर्नु नपरे तापनि किसान आफैँले खेती गर्न रुचि नदेखाउँदा अहिले व्यवसायीकरण हुन छाडेको रामपुर–१ कुमैडाँडाका अर्का कृषक गोवर्द्धन वंशी बताउनुहुन्छ । उहाँले कम्तीमा बर्सेनि चारदेखि पाँच मुरीसम्म कोदो उत्पादन गर्ने गरेकोमा अहिले मुस्किलले आठरदश पाथी उब्जाउ हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गाउँमा बसोबास गर्ने भनेको ज्येष्ठ नागरिक मात्रै हो, युवापुस्ता सहर बजार, विदेशतिर पलायन भए, हिजो आफ्नै हातले मुरीका–मुरी फलाएका कोदो अहिले थोरै बीउ जगेर्नाका लागि मात्रै लगाउने गरिएको छ, बुढ्यौली लाग्दै गर्दा खेती गर्नै नसक्ने भएपछि कसको के नै लाग्छ र रु ।” यस वर्ष वंशीले करिब एक रोपनी जग्गामा कोदो लगाउनुभएको छ । मानिसको स्वास्थ्यका लागि कोदोको महत्त्व धेरै रहे पनि खेती गर्ने जनशक्ति गाउँमा नहुँदा उत्पादन कम हुँदै गएको कविता सुनारले बताउनुभयो । उहाँले यस वर्ष करिब दुई रोपनी बारीमा कोदो लगाउनुभएको छ । पहिला–पहिला उहाँले एक वर्षमा पाँच मुरी कोदो उत्पादन लिने गरेकोमा हिजोआज भने वर्षमा करिब दुई मुरीसम्म उत्पादन हुने गरेको बताउनुभयो । घरायसी प्रयोजनका लागि कोदो लगाउँदै आउनुभएकी सुनारले व्यावसायिक खेती गरेमा यसबाट राम्रै आम्दानी हुने बताउनुहुन्छ । बजारमा कोदोको माग भने पछिल्ला वर्षमा बढ्दो छ । गाउँका धेरै किसानलले पाखो बारीमा कोदो लगाएर राम्रै कमाइ गर्थे तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । गाउँघरमा बिस्तारै कोदो खेती गर्न छाड्दै गएपछि नयाँ पुस्ता कोदो खेतीबारे अवविज्ञ बनेका छन् । कोदो अन्य बालीभन्दा स्वास्थ्यकर भए पनि आकर्षण घट्दै गएको छ । बढ्दो सहरीकरणको प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाझिँदै गएका हुन् । कम मेहनतमा उत्पादन बढी हुने प्रयोग तथा उपयोगका क्रममा पोषणयुक्त खाद्यान्न बालीभित्र पर्ने भए पनि पोषिलो कोदोको पछिल्लो समयमा खाद्यान्नमा भन्दा अन्यत्र प्रयोग बढी हुन लागेकाले पनि कोदो खेती लोप हुने अवस्थामा पुगेको छ । परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँबस्तीमा हुन्थ्यो तर आजभोलि कमै देख्न सकिन्छ । खाद्यान्नको रूपमा प्रयोग गरिने कोदो आजभोलि मदिरा बनाउन प्रयोग गरेका कारण कम मात्रामा खेती हुने गरेको किसान बताउँछन् । गाउँघरमा हेपिएको कोदो अहिले सहर बजारतिर खोजीखोजी खाना थालिएको छ । सडक सञ्जाल विस्तारसँगै सहर बजारबाट गाउँघरमा चामल, गहुँलगायत अन्नबाली भित्रिन थालेपछि पोषिलो कोदो, फापर, जौँजस्ता स्थानीय अन्नबाली किसानले लगाउन छाड्दै गएका हुन् । स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन्, भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रमण बढ्न थालेको छ । धान, गहुँ र मकैजस्तै कोदोलाई किसानले महत्त्व नदिएका कारण यो लोप हुँदै गएको हो । गाउँघरमा परम्परागत रूपमा खेती गरिँदै आएको कोदो लोप हुने अवस्थामा छ भने सहर बजारमा यसको माग धेरै छ । बजारका ठुला–ठुला होटल रेष्टुराँ, होमस्टेमा कोदोको परिकार पाक्ने गर्दछ । कोदोबाट बनाइएको ढिँडो, सेलरोटीलगायतका परिकारमा ग्राहकको आकर्षण छ । घरबास ९होमस्टे० मा विशेष गरी कोदोबाट विभिन्न परिकार बनाएर खुवाउने चलन पनि छ । कुनै समय गाउँघरमा बिहान साँझको जीविकाका लागि पाक्ने कोदो हिजोआज सहर बजारका ठुला–ठुला होटल, रेष्टुराँमा विभिन्न परिकार बनाएर बिक्री हुन थालेपछि पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ । अहिले गाउँघरमा कोदोको परिकार खासै पाक्दैनन् तर सहर बजारका होटलमा यसको परिकार ग्राहकको रोजाइमा परेको छ । पहिला–पहिला कोदो गरिब, विपन्नको घरमा खाने अनाजको रूपमा समेत लिइन्थ्यो भने अहिले ठुला घर परिवारका सदस्यको रोजाइमा कोदो पर्दछ ।

