बाँके: नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा र कर्फ्यू पूर्ण रुपमा हटाएको छ । आज बिहान ४ बजेदेखि निषेधाज्ञा पूर्ण रुपमा हटाएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । एक हप्ता अघि नेपालगञ्जमा दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो ।
इटहरीमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। इटहरी उपमहानगरपालिका-१७ की ३२ वर्षीया कमला तामाङको हत्या गरेको आरोपमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका-९ बस्ने ४९ वर्षीय निमा तामाङ पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले सोमबार दिउँसो पक्राउ हो। सामान्य विवादमा निमाले कमाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। उपचारको क्रममा सोमबार न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
म्याग्दी: मुस्ताङमा रहेको नेपाल(चीनबिचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको तयारी भएसँगै सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्र वितरण गर्ने प्रक्रिया अघि बढाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । “अनुमतिपत्र बुकलेट छपाइसम्बन्धी सबै काम पूरा भएको छ,” उहाँले भन्नुभयो, “गृह मन्त्रालयले पठाएको नमुनाअनुसार चीन प्रवेश पास छपाइ गरेर वितरणका लागि तयारी गरेका छौँ ।” चीनको सिमाना नजिकको उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाबाट प्रवेश पासको आवेदन सङ्कलन गरिएको छ । बोर्डर पास वितरणका लागि चार कर्मचारीलाई सोमबार लोमान्थाङस्थित इलाका प्रशासन कार्यालय पठाइएको प्रजिअ पन्तले बताउनुभयो । “नाका खोल्ने निर्णय भए पनि मिति तय भइसकेको छैन,” उहाँले भन्नुभयो, “चिनियाँ सुरक्षा अधिकारीसँग बैठक र गृह मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो नाका सञ्चालन गर्ने तयारीमा छौँ ।” कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुई पटक सञ्चालन हुँदै आएको अन्तर्देशीय व्यापार मेला वि।सं।२०७६ देखि भएको थिएन । दसैँअघि नै व्यापार मेला आयोजना गर्ने मुस्ताङका सुरक्षा अधिकारी र जनप्रतिनिधिहरूले पहल गरेका छन् । प्रवेश पास भएका नागरिकहरू जुनसुकै समयमा पनि चीन जाने आउने सुविधा पाउने छन् । असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । प्रजिअ पन्तले १५ अक्टोबरमा नेपाल र चीनका अधिकारीबिच बैठक बस्ने तयारी भएको बताउनुभयो । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण वि।सं।२०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो । वि।सं।२०५८ सालसम्म रोकतोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ । नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दाले दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसै गरी, पस्मिना, जडीबुटी निकासी गर्न पनि सकिने लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले बताउनुभयो ।
पोखरा: नेपाल खानेपानी संस्थान पोखराले अमरसिंह चोकदेखि औद्योगिक क्षेत्रतर्फ पुरानो पाइप निकाल्ने क्रममा विद्युतको फिडरमा असर पु¥याउँदा पोखराको करिव दुईहजार घरधुरीमा विद्युत अवरुद्ध भएको छ । पोखरा महानगरपालिका १० अमरसिंह चोक गेट नजिक नेपाल खानेपानी संस्थानले पुरानो खानेपानीको पाइप निकाल्ने क्रममा हिजो (सोमबार) रामबजार फिडरको भुमिगत केवल (फिडर)मा क्षति पु¥याउँदा २४ घण्टादेखि सो फिडरबाट सञ्चालन हुने विद्युत अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण पोखरा मालेपाटन वितरण केन्द्रका प्रमुख राजिव सिंङले खानेपानी संस्थानले पुरानो पाइप निकाल्ने क्रममा असावधानीपूर्वक सडक खन्दा फिडरमा क्षति हुँदा विद्युत अवरुद्ध भएको बताए । ‘पोखराको विभिन्न स्थानमा पाइप बिछ्याउने काम भइरहेको छ, तर खानेपानी संस्थानले फिडर नजिक आएर विद्युतसँग समन्वय नगरी काम गर्दा फिडरमा क्षति हुन गयो’, सिङले भने, ‘विद्युत सञ्चालनका लागि काम भइरहेको छ केही समयमा विजुली आउँछ ।’ सोही स्थानमा खानेपानीमा काम गरिरहेका एक कर्मचारीले सावधानी अपनाउदा पनि फिडरमा जेसिबीले छुँदा असर परेको स्वीकार गरे । ‘यो फिडर वरिपरि पहिले पनि काम गरेको हो, नयाँ पाइप बिछ्याउने क्रममा मार्किङ गरेर नै काम गरेको हो, त्यति बेला कुनै असर भएन’, उनले भने, ‘पूरानो पाइप निकाल्ने क्रममा पनि सावधानी अपनाएको हो, तर मार्किङ गरे भन्दा यता मात्र फिडर रहेछ जेसिबीले छोइहाल्यो ।’ रामबजार फिडर पड्किएपछि गलेश्वर फिडरबाट विद्युत सञ्चालन गर्ने पोखरा वितरण केन्द्रको प्रयास भएपनि सफल नभएको एक स्थानीयले बताए । ‘रामबजार फिडर पड्किएपछि गलेश्वर फिडरबाट विद्युत सञ्चालन गर्ने तयारी वितरण केन्द्र गरेको थियो’, उनले भने, ‘गलेश्वर फिडरबाट रामबजार फिडरबाट बिजुली सञ्चालन गर्ने प्रयास सफल भएन, तारमा आगो लागेपछि त्यो प्रयास असफल भएको हो ।’ नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाले अहिले रामबजार फिडर र गलेश्वर फिडर मर्मत कार्य भइरहेकाले केही समयमा बिजुली आउने बताएको छ । रामबजार फिडर अवरुद्ध हुँदा रामबजार, अमरसिंङचोक, बुद्धचोक, औद्योगिक क्षेत्र लगायतका क्षेत्रमा हिजोदेखि विद्युत अवरुद्ध हुँदा व्यवसायीहरुले लाखौंको नोक्सान भएको गुनासो गरेका छन् ।
काठमाण्डौ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमवार काठमाण्डौ आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।
काठमाडौं: इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उनले अस्पतालको बेडबाटै भनेका छन् । एक भिडियोमा उनले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भनेका छन् । मोबाइल नम्बरसमेत भन्दै डाँगीले भनेका छन्, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’ दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहेका २२ वर्षीय प्रविण डाँगीलाई खुट्टामा गोली लागेको थियो । गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्ययनका लागि उनी इजरायल गएका थिए । दंगीशरण गाउँपालिका–३ का वडाअध्यक्ष सुकलाल चौधरीले पनि प्रविणको अपरेसन सफल भएको जानकारी पाएको बताए । प्रविण र उनका बुवा निमबहादुर डाँगीबीच अपरेसनपछि पनि कुराकानी भएको आफूले थाहा पाएको वडाध्यक्ष चौधरीले बताए ।
काठमाडौं महानगरपालिका इन्द्रचोकस्थित आकाश भैरव मन्दिरमुनि भएका पसलहरू हटाइएको छ। गत बिहीबार झन्डै १२ वर्षअघिदेखि सञ्चालन भइरहेको ७ वटा पसलहरू बन्द गरिएको आकाश भैरव सञ्चालन समितिका सचिव श्याम महर्जनले जानकारी दिए। उनका अनुसार पसल सञ्चालकहरू र गुठी समितिको सहमतिमा ती पसल मन्दिरमुनिबाट हटाइएका हुन्। स्थानीय र सम्पदा अभियानकर्ताहरूले मन्दिरको मुनि जुठो गर्न नहुने र फोहोर भएको बताउँदै आएका थिए, उनले भने, हनुमानढोका सम्पदा संरक्षण विभागले तीन महिनाअघि ती पसल हटाउन पत्राचार समेत गरेको थियो। यस्तै, सम्पदा संरक्षण गर्नुपर्ने र महानगरपालिकाबाट समेत ट्राफिक व्यवस्थापनमा सहयोग हुने बताइएपछि असोज १५ गतेदेखि पसलहरू हटाउने सम्झौता भएको उनी बताउँछन्। असोज १५ गते हटाउने सम्झौता भए पनि पसलेहरूले १८ गतेदेखि पूर्ण खाली गराइदिनुभएको थियो, उनले भने। पसल सञ्चालकहरूले प्रतिपसल वार्षिक १८ हजार रुपैयाँ गुठीलाई बुझाउँदै आएका थिए। आकाश भैरवमुनि चार वटा लस्सी पसल, दुई वटा जुत्ता पसल र एउटा मोबाइल पसल थियो।
काठमाण्डौ: झापामा राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन् । हिजो दिउँसो जुम्लाको सिँजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका-४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका-८ का २३ वर्षीय कमल खनाललाई घुससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हल्दिबारी गाउँपालिकामा उनीहरु कार्यरत थिए । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार रुपैयाँ लिएपछि घटना सार्वजनिक भएको हो । पौडेलले उनीहरुविरूद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउनुभयो ।
पाेखरा: घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ। सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन्। ‘घरमा पालेका कुकुरलाई बाहिर खुला ठाउँमा लगेर दिसा–पिसाब गराउने गरेको व्यापक जनगुनासो आएपछि महानगरले निगरानी सुरू गरेको छ,’ उनले भनिन्, ‘यस्तो अभियान महानगरको एक्लो प्रयासले मात्र सफल हुँदैन, नागरिकको पनि साथ चाहिन्छ।’ कुनै कुकुरधनीले सार्वजनिकस्थलमा लगेर कुुकुरलाई शौच गराएको देखेमा गोप्य ढङ्गबाट महानगरका प्रतिनिधिलाई खबर गर्न या प्रमाण उपलब्ध गराउन उनले महानगरवासीसँग आग्रह गरिन्। ‘सार्वजनिक सूचनामार्फत पनि यो विषय जानकारी गराइएको छ, अब कसैले घरमा पालेको कुकुरलाई बाहिर लगेर शौच गराएमा कारबाही भोग्नुपर्छ,’ उनले भनिन्, ‘एकपटकका लागि एक हजार र पटक–पटक शौच गराएको पाइएमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने सकिने व्यवस्था नियमावलीमा छ।’ महानगरले घरपालुवा कुकुरलाई आफ्नै घरको परिसरभित्र शौचको व्यवस्था मिलाउन र त्यसको उचित व्यवस्थापन गर्न कुकुरधनीलाई सचेत गराएको छ। खुला ठाउँमा कुकुरलाई दिसा–पिसाब गराउँदा वातावरणीय सरसफाइमा प्रतिकूल असर पार्ने शाखा प्रमुख बरालले उल्लेख गरिन्। उनले घरमा पालिरहेको कुकुरलाई सडकमा लगेर बेवारिसे अवस्थामा छोडेमासमेत कारबाही हुने पनि बताइन्।

