बाटोले गर्दा छोरी दिने भएनन् !

घाम लाग्दा पानी हाल्ने, पानी पर्दा खाल्डा पुर्ने सम्झौता

पाेखरा | असोज २२, २०८०

बाटोले गर्दा छोरी दिने भएनन् !

पोखरा:   ‘बाटोले गर्दा छोरी दिने भएनन्’ यो तस्वीर अहिले सामाजिक सञ्जालमा छरपस्ट छ ।

 

व्याङ्ग्यात्मक प्रहार झल्किने यो विरोध पोखरा महानगरपालिका १ सिमपानी सडकखण्डको हो ।  राष्ट्रिय गौरवको आयोजना अन्तरगत मध्यपहाडी पुष्पलाल लोकमार्गमध्ये पर्ने २२ सय मिटर दुरीको सडक निर्माणको काम रोकिदा व्याङ्गात्मक प्लेकार्ड बोकेर चक्का जाम गर्न स्थानीय बाध्य छन् ।

 

पोखरा महानगरपालिका १ र २५ नम्बर वडा जोड्ने (हरिचोकदेखि याम्दीपुलसम्म) सडकको अवस्था कस्तो छ भन्ने यही एउटै प्लेकार्डले प्रष्ट्याएको छ । 

 

घाम लाग्दा धुलाम्मे वर्षातमा हिलाम्मे हुने यो बाटोले स्थानीय आजित छन् ।

 

स्थानीय मात्रै होइन यात्रुहरुलाई पनि उत्तिकै सास्ती छ । त्यसैले स्थानीयहरु युवाहरु सडक निर्माणको काम रोकिएपछि विरोधमा उत्रिएका हुन् । सिमपानीको स्थानीय त्रिशक्ति युवा क्लबको अगुवाईमा सडक अवरुद्ध गरेपछि निर्माण कम्पनीसँग वार्ताको माहौल बन्यो । 

 

 

अहिले केही प्रतिबद्धतासहित ठेकेदार कम्पनीले स्थानीयको माग पुरा गर्ने सम्झौता गरेपछि विरोधको आन्दोलन स्थगित गरिएको स्थानीय त्रिशक्ति युवा क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । 

 

‘दुई दिन हामीले सांकेतिक रुपमा एक/एक घण्टा सडक जाम गरेका थियौं, त्यसपछि वार्ताको माहौल बन्यो, सुनगाभा न्यूजसँग उनले भने, ‘अहिले निर्माण कम्पनीको इन्चार्जसँग ५ बुँदें सम्झौता गरेका छौं त्यसैले विरोधको कार्यक्रमलाई केही समय स्थगित गरेका छौं ।’

 

उनका अनुसार निर्माण व्यवसायीहरुले तीन महिना यता निर्माण कार्यमा ढिलासुस्ती गरेको थियो । त्यसपछि कामलाई तिब्रता दिन र सम्झौता समयावधिमै काम सक्नका लागि दवाव स्वरुप विरोधमा उत्रेको बताए ।

 

‘हरिचोक, सिम्पानी हुँदै याम्दी हेमजा जोड्ने सडक आफैमा राष्ट्रिय गौरवको आयोजना हो, त्यसैमाथि गण्डकी प्रदेशको राजधानी प्रवेशद्वारमा नै सडक निर्माण ढिलासुस्ती भएको छ’, सुवेदीले भने, ‘निर्माण कार्यलाई तिव्रता दिलाउनका निम्ति स्थानीय सरकारदेखि प्रशासनलाई झकझकाउन दबाब स्वरुप विरोध गरेका हौ ।’

 

उनले सडक निर्माणको जिम्मा लिएको काठमाडौंको मोतीदान कन्सट्रक्सनले विभिन्न कारण देखाएर तीन महिनादेखि काम रोक्दा स्थानीयले सास्ती खेप्नुपरेको गुनासो सुनाए ।

 

‘यो सडक बनाउने म्याद ०८१ साउनसम्म रहेछ, अहिलेको गतिमा काम भए सडक निर्माण सकिदैन, उनले भने, ‘विभिन्न कारण देखाएर सडक अलपत्र जस्तै छोड्दा स्थानीयहरुलाई त समस्यामा छन् नै, सडकमा गुड्नेदेखि पैदल हिड्नेलाईसमेत सास्ती भएको छ ।’

 

निर्माण कम्पनीले सडकको दुईछेउमा गहिरो नाली बनाएको छ भने कतै स्लाब नै राखिएको छैन ।

 

त्यसैले वर्षातको समय भएकाले जोखिम बढेको छ । यस्तै कारणले गत वर्ष पोखरा १६ स्थित सुन्दरफिडमा एक बालक नालीमा खसेर बेपत्ता भएका थिए । सिमपानीमा पनि त्यस्तै घटना दोहोरिने हो कि भन्ने चिन्ताले सताएको स्थानीय हरिकला बास्तोलाले बताइन् । 

 

‘घर अगाडी नाली छ, वर्षाको समयमा नालीमा पानी भरिएर आउँछ, नालीमा स्लाब नहुँदा कहिले के हुन्छ भन्न सकिदैन, पोहोर दीपमा तिवारी फर्निचरको बाबु यस्तै नालिमा परेर ज्यान गुमाउनुपर्याे अहिले यहाँ पनि त्यस्तै खतरा देखिएको छ,’ उनले भनिन् ।

 

भुक्तानी भएको छ, अब कामले गति लिन्छ: आयोजना प्रमुख अधिकारी
 

 

मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वत आयोजनाका प्रमुख कल्पना अधिकारीले पोखराको हरिचोक–याम्दीचोकसम्म २ हजार २ सय मिटर सडक कालोपत्रे गर्न अहिले सामान्य रुपमा काम भइरहेको बताईन् ।

 

‘पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेँदीसम्म दुईवर्ष अगाडी नै सडक कालोपत्रे भएको छ’, अधिकारीले भनिन्, ‘बिचमा रहेको हरिचोकदेखि याम्दीसम्म २ हजार २ सय मिटर सडक कालोपत्रे गर्न अहिले मोतीदान कन्ट्रक्सनले काम गरिरहेको छ । तर हुनुपर्ने गतिमा भएको छैन ।’

 

उनका अनुसार कुल ४८ करोड ५ लाखको लागतमा  सम्झौता भएको थियो । भने काम २०८० साल साउन १४ भित्र सक्काउनुपर्ने सम्झौतामा उल्लेख छ । 

 

उनले उक्त सडकखण्ड निर्माण गर्न मोतीदान कन्ट्रक्सनले गत आर्थिक वर्षमा आयोजनासँग सम्झौता गरेकाले आगामी वर्षको साउन दोस्रो हप्तासम्म निर्माण कार्य सक्नुपर्ने बताईन् ।

 

‘कम्पनीले वर्षा र भुक्तानी नपाएको भन्दै काममा तिव्रता दिएको थिएन, बिस्तारै वर्षायाम पनि सकिदैछ । सरकारले भुक्तानी पनि दिएको छ, उनले भनिन्, ‘अब दशै तिहार र छठपछि कामले तिव्रता लिन्छ भन्ने छ । अहिलेसम्म करिब २२ देखि २५ प्रतिशत मात्रै काम भएको छ ।’

 

घाम लाग्दा पानी हाल्ने, पानी पर्दा खाल्डा पुर्ने सम्झौता

 

प्रमुख जिल्ला अधिकारीको रोहबरमा स्थानीय बासिन्दा र निर्माण कम्पनीसँग पर्व नसकिदा सम्मका लागि विभिन्न सम्झौता भएको छ । 

 

स्थानीय प्रविन सुवेदीका अनुसार तत्कालै खाल्डाहरु पुर्ने, नालीमा स्लाब हाल्ने, संभावित डेंगु न्यूनीकरणका लागि स्प्रे छर्ने सम्झौता भएको छन् ।

 

यस्तै घाम लाग्दा धुलाम्मे हुने भएकाले आवश्यकता अनुसार दैनिक पानी हाल्ने र वर्षा भएपछि खाल्डा पुरीहाल्ने सम्झौता गरिएको छ ।  ‘दबाब दिन आन्दोलन गरेपछि एक खालको सम्झौता भएको छ ।

 

'हामीले मानवीयतालाई ख्याल गरेर पर्वको अवधिका लागि भनेर तत्काल आवश्यक कुराहरु मात्र गर्न भनेका छौं, उनले भने, ‘पर्व सकिएपछि कुनै एस्क्युज हुदैन । किनभने पर्वको समय कामदारहरु पनि पाइदैन । घर गैसकेको अवस्था रहेछ । त्यसैले पर्वसम्मका लागि सम्झौता अनुसार काम गर्छु भन्ने प्रतिबद्धता छ । त्यसपछि पनि निर्माणकार्य भएन भने हामी फरक बाटो रोज्छौ ।’


 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्