पोखरा: दुबईमा क्रियासिल युथ स्पोर्टिङ एफसीले बडादशैंको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी अक्टोबरमा ‘पिआर तेस्रो दशैं कप’ आयोजना गर्न लागिएको श्री रोबिनले जानकारी दिए । उनका अनुसार तीन हप्तासम्म चल्ने प्रतियोगिता ग्रीनफिल्ड इन्टरनेशनल डिपमा आयोजना हुनेछ । आयोजक संस्थाकाा रोबिनले पहिलो हप्ता ए पोल, दोस्रो हप्ता बि पोल र तेस्रो साता सेमिफाइनलसँगै फाइनल खेल सम्पन्न गर्ने बताए । सो प्रतियोगिताको विजेताले ४ हजार ५ सय दिराम र उपविजेताले ३ हजार दिरामसहित शिल्ड प्राप्त गर्नेछ । पिआर इन्टरप्राइजेजको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमलाई सहभागिता गराइने छ । सो प्रतियोगिता सम्पन्न गर्नका लागि बिकी इन्टरनेशनल, हातेमालो प्रदेश सहकारी लगायत अन्य विभिन्न व्यक्ति तथा संघ संस्थाले साथ दिएका छन् ।
चितवनमा नारायणी नदीमा नुहाने क्रममा आज बिहान दुई जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारत आसाम घर भइ धनगढीमा रहेको लक्ष्मीनारायण मन्दिरमा संस्कृत विषय अध्ययनरत १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने १७ वर्षीय पंकज दाहाल रहेका छन् । धनगढी उपमहानगरपालिका र लक्ष्मी नारायण मन्दिरको संयुक्त आयोजनामा उनीहरु देवघाट आएका थिए । बेपत्ता भएका दुवै युवकको खोजी भइरहेको चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभएको छ ।
दोलखामा प्रहरीले चार किलो सुन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले बुधबार अन्दाजी चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले जानकारी दिए। बुधबार सुन बरामद भएपछि अनुसन्धान गरी केही व्यक्तिहरूलाई समेत पक्राउ गरिएको छ। उनीहरूको परिचय खुलाएको छैन। सुन परीक्षण गर्न प्रहरीले सुन चाँदी व्यवसायी महासंघमा पठाएको छ।
काठमाडौँ: नेकपा (एमाले) को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उहाँको ठम्याइ छ । दैलेखको नारायण नगरपालिका–२ मा २०३९ मङ्सिर २८ मा जन्मनुभएकी शर्माले कक्षा ७ मा पढ्दादेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियू० को प्रारम्भिक कमिटीबाट राजनीतिक सुरु गर्नुभएको हो । उहाँले दैलेखमा अनेरास्ववियूको कोषाध्यक्ष हुँदै नेपालगञ्जको बाँकेमा २०६० सालमा क्याम्पस पढ्ने क्रममा अनेरास्ववियूको जिल्ला उपाध्यक्ष र अध्यक्ष भएर काम गर्नुभयो । उहाँले २०६२र०६३ सालको आन्दोलनमा अनेरास्ववियूको नेतृत्व गर्नुभएको थियो । यसपछि, अनेरास्ववियूको तीन पटक केन्द्रीय सदस्य, महिला विभाग प्रमुख भएर जिम्मेवारी उहाँले पूरा गर्नुभएको थियो । उहाँले अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ० केन्द्रीय युवा कमिटीको प्रमुख भएर काम गर्नुभयो । बाँकेको पार्टी जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य हुँदै एमालेको दशौँबाट पार्टी केन्द्रीय कमिटी सदस्य र हाल बाँके निर्वाचन क्षेत्र २ को प्रतिनिधित्व गर्नुहुन्छ । उहाँ मुस्लिम, मधेसी समुदायको बाहुल्यता रहेको बाँके उपमहानगरपालिका वडा १ मा बस्नुुहुन्छ । “प्रतिनिधिसभा सदस्यको मूल जिम्मेवारी कानुन बनाउने र जनतालाई त्यसका माध्यमबाट सेवा प्रवाह गर्नुपर्ने हो तर नेपालमा आफूले निर्वाचन क्षेत्रबाट जितेको ठाउँमा विकास निर्माणका काममा बढी ध्यान दिने नेपालको अभ्यास छ, यो गलत अभ्यास हो ।” उहाँले आफ्नो निर्वाचन क्षेत्रमा जाने महत्वपूर्ण कानुन बनाउने विधेयकको छलफलमा उपस्थित नहुनेजस्तो समस्या देखिएको उहाँको ठम्याइ छ । जुन मुख्य जिम्मेवारीबाट ओझेलमा परिने गलत अभ्यास उहाँको बुझाइ छ । सांसद शर्मा तीन वटा विषयगत समिति शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा क्रियाशील हुनुहुन्छ । संसदमा शिक्षासम्बन्धी विधेयक संसद्मा दर्ता प्रसङ्गमा कुरा गर्दै थप्नुभयो, “स्वास्थ्यका कानुन बनाउनुपर्ने, चिकित्सा आयोगसम्बन्धी कानुन बनाउनुपर्ने छ, दैनिक डाक्टर कुटिएको अवस्था छ, त्यसले गर्दा विधायक कानुन बनाउने कुरालाई नै पहिलो प्राथमिकता दिनुपर्छ ।” सांसदले गत पुस ७ गते विधायकको रुपमा शपथ लिएर काममा लागेको भए पनि योबीचमा आकस्मिक रुपमा एउटा मिटरब्याजीसम्बन्धी मात्रै कानुन निर्माण भएको छ । तर अरु महत्वपूर्ण कानुन पनि संसदबाट निर्माण हुन सकेको छैन । यस विषयमा विधायक मात्र दोषी नभएको सांसद शर्माको धारणा छ । “सरकारले संसदमा कानुन बनाउनका लागि विजनेस नै दिएको छैन, कानुन नबन्नमा सांसद र संसद् दोषी छैन”, उहाँले भन्नुभयो, “यतिका लामो समयसम्म समितिका सभापति नै आएनन्, बल्ल विषयगत समितिले सभापति पाएको छ, अब कानुन बनाउने कुरामा ध्यान दिनु जरुरी छ ।” संसदले राष्ट्रपति र उपराष्ट्रपति, सभामुखको चुनाव गराउन मात्र सफल भएको तर महत्वपूर्ण कानुन बनाउनुपर्ने कुरामा सरकारले नै ध्यान नदिएको उहाँको आरोप छ । संंसद् जनताको आवाजको थलो पनि भएको हुँदा संसद्ले सरकारलाई जवाफदेही बनाउने महत्वपूर्ण काम हो भन्ने सांसद शर्माको ठहर छ । “सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ, जनताको आवाज बोलेको शून्य सयम, विशेष समयमा उठाएको समस्याको विषयमा सरकारले ध्यान दिन जरुरी हुन्छ”, सांसद शर्माले जोड्नुभयो, “सांसदले प्रश्न उठाइरहने तर सरकारले ध्यान नदिनेजस्तो देखिएको छ, त्यस्तो हुनुहुँदैन, संसद् ताली पडकाउने स्थान मात्र होइन, जनताको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने स्थान हो ।” उहाँलाई शून्य र विशेष समयमा सरकारले उठाएको प्रश्नमा सरकार गम्भीर नभएको भन्ने लाग्छ । मूल कामभन्दा पनि बेलाबेलामा संसद् अवरुद्ध भइरहने गर्दा पनि कानुन बनाउनेजस्तो काममा ढिलाइ भइरहेको विषयमा सांसद शर्माले थप्नुभयो, “राष्ट्र, राष्ट्रियता र सीमाको संरक्षण गर्नु, त्यो देश र नागरिककै हितका लागि कहिलेकाहीँ सुनुवाइ भएन भने संसद् अवरुद्ध पनि गर्नुपर्ने हुन्छ, प्रतिपक्षको धर्म नै हो ।” सांसद भएपछि आफ्नो मर्यादाको ख्याल राख्नुपर्ने कुरामा उहाँको जोड छ । “सांसद भनेको जनताको विशेष प्रतिनिधि हो, बोल्ने शब्द मर्यादित र शालिन हुनुपर्छ, पोशाक पनि मर्यादित लगाउनुपर्छ”, उहाँले थप्नुभयो, “अनुशासनको पालना गर्नुपर्छ, पद र संसद्को गरिमा जोगाउनुपर्छ, यदि कमीकमजोरी भएको छ भने सच्याउनुपर्छ ।” संसद् विकास कोषबाट रकम लिने विषय उचित नभएको सांसद शर्माको धारणा छ । “नेपालको अभ्यासमा सांसद विकास कोषबाट पैसा लिएर धारा, कुलो, बाटो, भवन बनाउने अनि, मैले विकास गरे नि भन्ने चलन छ, यस्ले समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा हुन सक्दैन, विधिको शासन कायम गर्न कानुन बनाउने कुरालाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ ।” उहाँलाई कानुन बनाएरै राज्यको संरचनालाई बलियो बनाउनुपर्ने र बनाएका कानुनको पनि कार्यान्वयन भए वा नभएको विषयमा ध्यान दिन जरुरी हुन्छ भन्ने लाग्छ । राष्ट्रको हितका लागि गरिएका राष्ट्रिय गौरवका आयोजना निर्माण, नेपालमा उद्योगधन्दा खोल्ने, स्वदेशमा रोजगारीको वातावरण बनाउने विषयमा भने सांसदमा छलफल गर्न उचित हुने र मुख्यरुपमा कानुन बनाउनुपर्ने कुरामा नै विधायकको भूमिका खेल्नुपर्ने उहाँको बुझाइ छ । रासस
मापदण्डविपरीत व्यवसाय गर्ने रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ। कारबाही पर्नेमा कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित आरएस एभ्रोभेट तथा तरकारी पसलका सञ्चालक रामशरण न्यौपाने र उत्तरगया गाउँपालिका–५ बेत्रावतीस्थित रिभर भ्यु गेष्ट हाउसका सञ्चालक केदारप्रसाद अधिकारी छन्। घुम्ती बजारका न्यौपानेले खाद्य तथा अखाद्य दुवै प्रकारका वस्तु अव्यवस्थित तवरले एकै स्थानमा राखी मापदण्ड विपरीत बिक्री गरेबापत १० हजार र सञ्चालक अधिकारीले गेष्ट हाउसमा मानव स्वास्थ्यलाई असर पर्ने खाद्यवस्तु प्रयोग गरेबापत पाँच हजार जरिवाना गरेको घरेलु उद्योग कार्यालयका प्रमुख बृहस्पति तामाङले बताए। पछिल्लो समय बजार अुगमन समितिले अनुगमनलाइ तीब्र बनाउँदै सचेतना र जरिवाना दुवै एकै साथ अगाडि बढाएको छ। बडादसैँ नजिकिँदै गएको र उपभोक्ता माझ गुणस्तरीय खाद्य सामग्री पुगोस् भन्ने पवित्र उद्देश्यले सरकारी मापदण्डको अधिनमा रही जिल्लका व्यापारिक क्षेत्रको अनुगमन तीव्ररूपमा अगाडि बढाइएको बजार अनुगमन समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए। खाद्य गुण नियन्त्रको मापदण्डका अधिनमा रही व्यवसाय दर्ता गरेर मात्र व्यापार व्यवसाय अगाडि बढाउन सबै व्यापारीलाई अनुगमन समितिले अनुरोधसमेत गरेको छ। पहिलो चरणअन्तर्गत बुधबार बेत्रावती बजारका १७ पसलको अनुगमन सम्पन्न गरिएको र अनुगमनको क्रममा खाद्यान्नको प्रकार र त्यसको उपभोग गर्ने समयावधि, बिलविजक जारी, सरसफाइ, राजस्वको स्थायी लेखा नम्बर, उद्योग वाणिज्य दर्ता प्रमाणपत्रसमेतका कागजात हेरिएको संयोजक ज्ञवालीले जानकारी दिए। उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुप्साङ तामाङ, कोष तथा लेखा नियन्त्रण कार्यालयका नियन्त्रक रवीन्द्र भुजेल, प्रहरी निरीक्षक राजीव बस्नेत एवं प्रहरी सहायक निरीक्षक काशीराम बुढा एवं सञ्चारकर्मीसमेतको रोहवरमा जरिवाना गरिएको बताइएको छ। जिल्लाका व्यापारिक केन्द्रमा अखाद्य वस्तु बिक्री गरेको जानकारी पाएमा अनुगमन समितिलाई सूचना दिई सहयोग गर्न बजार अनुगमन समितिले आग्रह समेत गरेको छ।
काठमाडौं: विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गर्नुभएको थियो । यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्र्दभमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउनुहुन्छ । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट विरामी भएका थिए । यस्तै आव २०७५÷७६ मा ३२ हजार आठ सय ८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७/७८ मा ५४ हजार नौ सय ९६ जना पुगेको थियो । गत आवमा दुई लाख ५० हजार, ‘एआरभी’ भायल खोप खपत भएको थियो । महाशाखाका अनुसार आव ०७०र७१ मा नेपालमा रेबिजका कारण १० जनाको मृत्यु भएको थियो । आव ०७१/७२ मा १३ जना, आव ०७२/७३ मा छ जना, आव ०७३/७४ मा आठ, आव ०७४/७५ मा ३२ जना र आव ०७५/७६ मा १८ जनाको रेबिजका कारण मृत्यु भएको थियो । तर पछिल्ला वर्षहरुको तथ्याङ्कमा रिपोर्ट भएका जनावरको टोकाइका घटनाको सङ्ख्यामा उतारचढाव आए पनि रेबिजको मृत्युको सङ्ख्या गत वर्षको तुलनात्मक रुपमा बढ्दै गएको महाशाखाका अधिकारी बताउँनुहुन्छ । रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ । रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ । महाशाखाका पशु चिकित्सा अधिकारी रोशिका श्रेष्ठले भन्नुभयो, “टोक्नासाथ रेबिजविरुद्धको खोप लगाएमा यो रोगबाट बच्न सकिन्छ । अन्यथा एक पटक लक्षण देखा पर्न थालेपछि, यो घातक हुन्छ, र धेरैजसो अवस्थामा मृत्यु हुन्छ ।” रेबिजबारे भ्रमलाई चिर्न यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको उहाँले बताउनुभयो । “कुनै पनि उमेर समूहका कुनै पनि प्रकारका कुकुरले टोक्दा यो रोग सर्न सक्छ । घरमा खोप लगाएको छ भनेर हुँदैन । घरमा पालेको कुकुरमा समेत सङ्क्रमण हुन सक्छ”, उहाँले भन्नुभयो, “तुरुन्त रेबिजविरुद्धको भ्याक्सीन लगाउनुपर्छ । पाँच वर्षमुनिका बालबालिकालाई रेबिज लाग्दैन भन्ने भ्रम छ । सबै उमेर समूहका लागि यसविरुद्धको खोप अत्यावश्यक हुन्छ ।” जनावरले टोक्ने बित्तिकै बगिरहेको, धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नेपर्ने उहाँको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा यसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । चिकित्सकका अनुसार घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुन्छ ।
पोखरा: पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको फोेटो प्रदर्शन हुने भएको छ । सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले विभिन्न देशका हिमाली क्षेत्रका किसानको जनजीवन कैद गरिएका फोटो प्रदर्शन सुरु भएको हो । पर्यटन दिवसको अवसरमा संग्रालयमा इसिमोड नामक संस्थासँगको सहकार्यमा विभिन्न देशका हिमाली जनजीवन एकआपसमा तुलना गरिएको तस्वीर प्रदर्शनमा राखिएको हो । ‘यहाँ राखिएका तस्वीर आमाछोरीले फरकफरक समयमा खिचेका हुन् । सबै फोटोमा के पाइन्छ भने, जुनसुकै हिमाली क्षेत्र भए पनि एकैप्रकारको जीवनशैली हुने रहेछ,’ इसिमोडकी अस्मिता शाक्यले भनिन्, ‘अब पर्वतीय संग्रहालय आउने सबैले फरकफरक भूगोलका हिमाली भेगको रहनसहन तुलना गरिएको तस्वीर पनि हेर्न पाउनेछन् ।’ साथै पर्यटन दिवसकै अवसरमा संग्रहालयमा विभिन्न चराचुरुंगी, सिमसार क्षेत्रबारे जानकारी दिने उद्देश्यले बनाइएको थ्रिडी तस्वीरसमेत सुरुआत गरिएको छ । उक्त तस्वीरबाट चराचुरुंगीबारे रुचि राख्नेहरु जानकारी लिन सक्ने संग्रहालयले जनाएको छ । कार्यक्रमका अतिथिलाई बिरुवा उपहार दिइएको थियो । पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले पर्यावरण संरक्षण सचतेनाका लागि विरुवा उपहार दिइएको बताइन् । ‘हेर्दा एउटा विरुवा त हो भन्ने लाग्न सक्छ । तर, यसको सन्देश ठूलो हुन्छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘हरियाली हराउँदै जाँदा पर्यटनमा पनि असर पुग्दै गएको छ । त्यसकै सचेतनाका लागि विरुवा बाँडेका हौं ।’ ४४ औं विश्व पर्यटन दिवसको मुख्य नारा नै ‘हरियो पर्यटन’सँग सम्बन्धित भएकाले आफूहरुले पाहुनाहरुलाई विरुवा नै उपहार दिएको बताइन् । कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा आफू विश्वका अन्य ठाउँका पर्वतीय संग्रहालय पनि पुगेको तर, नेपालको जस्तो परिपक्व अन्त नदेखेको दाबी गर्छन् । ‘संसारका अन्य देशले पनि म्युजियम बनाएका छन् । तर, कुनै एउटा स्पेसिफिक चिजमात्रै देखाउन राखेका छन्,’ उनले भने, ‘हाम्रोजस्तो सबैथोक एकै ठाउँमा हेर्न पाइँदैन रहेछ ।’ संग्रहालयकी कार्यकारी निर्देशक न्यौपानेले अघिल्लो आर्थिक वर्षमा २ लाख ७५ हजार जनाले संग्रहालय अवलोकन गरेको जानकारी दिइन् । कार्यक्रममा गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धिताल गण्डकीकोे पर्यटन विकासका लागि प्रदेश सधैं सकारात्मक रहेको बताए । उनले गण्डकीको मुख्य आर्थिक स्रोत नै पर्यटन भएकाले यसलाई अझै सुधार्दै लैजानुपर्ने बताए ।
पोखरा: लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको पोखरा मणिपाल शिक्षण अस्पतालमा मृत्युभएपछि उनकी छोरी तिलालाई चैन छैन । उनले आमाको रहस्यमय मृत्यु भएको भन्दै मृत्यु हुनुको कारण खोजिरहेकी छिन् । आफन्तको सहारामा दुरा परिवारले पोखराको मुख्य चोक नै बन्द गरेर न्याय खोजीरहेकाे छ। इमेर्जेन्जीमा भर्ना गरिएको सुकमायाको अर्काेदिन मृत्यु भएपछि डाक्टरको चरम लापरबाहीकै कारण मृत्यु भएको दुरा परिवारको दाबी छ । (सुकमायाकी छोरी तिला दुरा) सुकमायाको मृत्युको कारण खोजेपछि मणिपाल अस्पतालमा तनावग्रस्त भएको थियो । सो घटनामा डाक्टरलाई हातपात गरेको आरोपमा तिलाकी दाई विनय गुरुङलाई कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । दुरा परिवारले पटक पटक वार्ता बस्दापनि निष्कर्ष नआएपछि आज महेन्द्रपुल र लखनचोकमा केही समय चक्का जाम गरेको थियो । दुरा परिवारको मुख्यत: ४ माग छन् । ‘मेरो आमालाई इमर्जेन्जीमा लगेदेखि सिपिआर (कार्डियो पल्मोनरी रिसस्सीटेसन) दिदाँसम्मको प्रकृयागत प्रमाण दिनुपर्छ । हिरासतमा रहेको विनय दाईलाई रिहा गर्नुपर्छ । उचारमा भएको डाक्टर, नर्स सबैले स्पष्टिकरण दिनुपर्छ र अस्पताल प्रशासनको गल्ती छ भने माफी माग्नुपर्छ,’ मृतक सुकमायाकी छोरी तिला दुराले सुनगाभा न्यूजसँग भनिन् । उनले आफ्नो आमालाई इन्टर्न गर्ने डाक्टरले सिपिआर दिएको गुनासो गर्दै आपत्ति जनाइन् । ‘इन्टर्न गरेको डाक्टरले सिपिआर दिन मिल्छ, ‘त्यस्तो क्रिटिकल सिचुयसन भएको भए इन्टर्न गरेको डाक्टरले सिपिआर दिन कस्ले लगायो हामीलाई जवाफ चाहिन्छ,’ उनले भनिन् । उनले आफ्नो आमाको मृत्युपछाडीको सम्पूर्ण प्रमाण पेश गरेको खण्डमा मात्र आन्दोलनलाई रोक्ने बताइन् । यो पनि पढ्नुहोस बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पतालमा तनाव मणिपाल काण्ड: प्रहरी नियन्त्रणमा रहेका डाक्टर छुटे, पीडित पक्षका विनयमाथि थप अनुसन्धान यता पोखरेली चिकित्सकहरु भने असुरक्षित भएको बताउदै अनिश्चितकालिन आन्दोलनमा छन् । (सुकमायाको उपचारका खटिएका डाक्टर) मणिपाल शिक्षण अस्पताल लगायतका विभिन्न स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले पोखरा महानगरपालिकाको कार्यालयबाट र्यालीसहित सभागृह, सृजनाचोक, राष्ट्रबैङ्क चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पुगेर कोण सभा गरे । कोण सभालाई सम्बोधन गर्दै स्वास्थ्यकर्मी अगुवाहरुले आफुहरु असुरक्षित भएको भन्दै काममा फर्किने वातावरण नभएकाले अनिश्चितकालिन आन्दोलनको घोषणा गर्नुपरेको तर्क राखे । उनीहरुले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा राजनीतिकरण हुनु अन्यायपूर्ण भएकाले विभिन्न ऐजेण्डासहित आन्दोलनमा उत्रिनुपरेको बताएका थिए । उनीहरुले र्यालीमा चिकित्सकहरुले ‘स्वास्थ्यकर्मी सबै विदेश जाउ देश धामी झाक्रीलाई छोडौं, स्वास्थ्य संकटकाल घोषणा गर, सेतो कोटमा रातो दाग, सुरक्षित चिकित्सा हाम्रो माग, काँपेको हातले उपचार गर्न सक्दैन, अत्याचार सहि, लाचार भै बस्दैनौ अब’ लगायतका प्ले कार्डसहित नाराबाजी गरेका थिए । लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुकमाया दुराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधनभएपछि चिकित्सकको लापरवाहीले मृत्युभएको भन्दै आफन्तले हातपात गरेपछि मणिपाल अस्पतालमा तनावग्रस्त बनेको थियो । अहिले चिकित्सकमाथि आक्रमण भएको भन्दै पोखराका अस्पतालहरुले आकष्मिक सेवा बाहेक अन्य सेवा बन्द गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सभाबाट काम नसकी भुक्तानी दिएको भन्नेबारे उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्थलगत नापजाँच गरेको छ। आयोगको कञ्चनपुर कार्यालयको टोलीले सोमबार स्थलगत नापजाँच गरेको हो। सभाको मूल गेट र संसदीय समितिको भवन निर्माणको विषयमा परेको उजुरीका आधारमा स्थलगत रूपमा नापजाँच गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी वसन्तबहादुर शाहीले जानकारी दिए। निर्माण कार्यको विषयमा परेका उजुरीमा स्थलगत रूपमा प्राविधिक नापजाँच गर्नुपर्ने व्यवस्था छ, सोही अनुसार यो विषयमा पनि सम्बन्धित क्षेत्रका जनप्रतिनिधि रहोवरमा उजुरी अनुसार नाप जाँच भएको हो, उनले भने। सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले अख्तियारमा हिनामिना भयो भन्ने उजुरी परे पनि काम गलत नभएको दाबी गरे। उनले इस्टमेटको आधारमा भएको काम अनुसार भुक्तानी भएको बताए। प्रदेश सभा समितिका भवन निर्माण भइसकेका छन्, कार्यालयको मूल गेटको काम १० लाखको इष्टिमेट अनुसार पूरा भएर मात्र भुक्तानी गरिएको हो, गेटको इष्टीमेट बाहेकको गजुर राख्ने, सशस्त्रको प्रहरी बस्ने पोष्टको काम अहिले भइरहेको हो, त्यो कामको भुक्तानी भएको छैन, बाहिर जस्तो हल्ला छ त्यस्तो काम भएको छैनु, उनले भने। तर, उजुरीमा भने प्रदेश सभामा निर्माण भइरेहको गेट र संसदीय दलको भवनहरूको काम नसकी भुक्तानी दिइएको उल्लेख छ। अख्तियारले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको हो।

