काठमाडौं: दुबई पठाइदिने नामा भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट विश्रामपुर नगरपालिका–२ घर भई काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ३४ वर्षीय मोहमद शेख इरफान सिध्दिकी रहेका छन् । सिध्दिकीले १ जनालाई वैदेशिक रोजगारका लागि दुबई पठाइ सेक्युरिटी गार्डमा मासिक ५० हजार रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएपछि विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलाई पत्र पठाएको थियो । त्यसपछि त्यहाँबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं नार्गाजुन नगरपालिका–६ पानीट्याङकीबाट पक्राउ गरेको हो । पक्राउ परेका मोहमदमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
दमौली: तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन निर्माण सुरु गरिएको छ । सामाजिक उत्तरदायित्व विकास कार्यक्रममार्फत उक्त आयोजनाले विद्यालयको सुविधासम्पन्न भवन निर्माणमा सहयोग पुर्य ाएको हो । निर्माणाधीन भवन शिलान्यास गर्दै नगरप्रमुख दधिराज सुवेदीले यस आयोजनाले शैक्षिक क्षेत्रमा पुर्य ाएको योगदानको प्रशंसा गर्नुभयो । आयोजनाबाट असर पर्ने क्षेत्रमा आयोजनाले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार क्षेत्रमा गरेको काम सकारात्मक रहेको उहाँको भनाइ थियो । रु ९४ लाख ५७ हजारको लागतमा निर्माण सुरु गरिएको भवन विसं २०८१ माघ २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त आयोजनाले त्यस क्षेत्रमा आवश्यकताअनुसारको विकास निर्माणमा सहयोग गरेको उहाँले बताउनुभयो । विद्यालयको भवन जीर्ण रहेकाले नयाँ भवनको आवश्यकता खड्किएको बेला आयोजनाको सहयोगले पठनपाठनमा सहयोग पुग्ने विश्वास गरिएको छ । उक्त आयोजनामार्फत् व्यास नगरपालिका–५ बेनीपाटनमा पराशर माध्यमिक विद्यालयको भवन पनि निर्माण भइरहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयको दुईतले आठ कोठा भवनको काम भइरहेको हो । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच रु। एक करोड ३८ लाख २४ हजारको लागतमा ठेक्का सम्झौता भएको थियो । विद्यालय भवन १८ महिनाभित्रमा निर्माण गर्ने लक्ष्य छ । आयोजनाबाट पीडित विभिन्न पालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत नाला, तटबन्ध र आमा समूहको भवन निर्माणका साथै सडक बत्ती जडान, नदी नियन्त्रणलगायत काम हुँदै आएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको उहाँको भनाइ थियो । प्रबन्ध सञ्चालक श्रेष्ठले भन्नुभयो, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।” रासस
काठमाडौं: हनुमानढोका दरबार क्षेत्रमा योंसी ठड्याएसँगै काठमाडौंको सबैभन्दा ठूलो जात्रा मानिने जात्रा येँया (इन्द्रजात्रा) विधिवत् सुरु भएको छ । आज (मङ्गलबार) द्वादशीका दिन १०ः३७ बजेको शुभसाइतमा इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु भएको हो । अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि ल्याइएको लिङ्गो आजको शुभ साइतमा ठड्याइएको हो । इन्द्रजात्राको अवधिमा यही असोज ११ गतेदेखि काठमाडौंका विभिन्न सडकमा गाडी आवागमन प्रभावित हुने भएको छ । काठमाडौं महानगरले आज इन्द्रजात्राको अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकाशित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म गाडी सञ्चालनमा रोक लगाएको हो । असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङ्गल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा गाडी सञ्चालन गर्न निषेध गरिएको छ । असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा गाडी निषेध गरिएको जनाएको छ । महानगरले वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्त्वको पर्व भइसकेका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालापहरु हिँडेर सञ्चालन गरिने जनाएको छ । साथै तोकिएका ठाउँमा गाडी प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्य जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायत व्यवस्थापनमा सहयोग पुर्याउन समेत महानगरपालिकाले आग्रह गरेको छ ।
पोखरा: मणिपाल अस्पतालमा उपचारत बिरामीको मृत्युपछि भएको विवादमा प्रहरीले नियन्त्रणमा लिएको एक चिकित्सक रिहा भएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.मिन बहादुर गुरुङको रोहबरमा डा. गिरीधारी शर्माको जिम्मामा डाक्टर दिनेश कुमार विकलाई रिहा गरिएको हो । यद्यपी चिकित्सकलाई कुटपिटमा संलग्न भएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकापीडित परिवार पक्षका विनय गुरुङमाथि भने अनुसन्धान जारी रहेको कास्की प्रहरीले बताएको छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कसुरमा अनुसन्धान भइरहेको छ । यो पनि पढ्नुहोस बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पतालमा तनाव रिहा भएका डाक्टरलाई नाराबाजीमा संलग्न भएको भन्दै कास्की प्रहरीले गएराती पक्राउ गरेको थियो । लमुजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि पीडित परिवार र आफन्त अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आन्दोलित भएका थिए । त्यसपछि तनावग्रष्त बनेको मणिपाल शिक्षण अस्पतालमा भिड नियन्त्रणका लागि व्यापक प्रहरी परिचालन गरिएको थियो । मृतक दुराको शव बुझ्न परिवार तयार नभएको एक आफन्तले बताए । उनका अनुसार ढाड दुखेपछि उपचारका लागि अस्पताल पुगेका थिए । सामान्य उपचारका लागि अस्पताल लगिएको बिरामीको रहस्यमय मृत्यु भएको भन्दै कारण स्पष्ट रुपमा खुलाउनुपर्ने माग राख्दै आएका छन् ।
लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ स्यो गाउँका वृद्ध छेन्वा दोर्जे लामाको उद्धार गरिएको छ। सामाजिक सुरक्षा भत्ता लिन गएका लामा लडेर गम्भीर घाइते भएका थिए। लामालाई नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले जानकारी दिए। गम्भीर घाइते लामालाई सोमबार नै उद्धार गर्न सांसद बजगाईले पहल गरेका थिए। तर चुमनुब्री निषेधित क्षेत्रभित्र पर्ने भएकोले हेलिकप्टर उडान अनुमति लिन ढिलाइ भएको थियो। घाइते लामालाई काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनी सोमबार बिहान करिब ११ बजेतिर लडेका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको छ। सांसद बजगाईले निजी खर्चमा सेनाको हेलिकप्टरबाट लामाको उद्धार गरिएको बताए। बजगाई गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। उनले आफ्नो तलबभत्ता निर्वाचन क्षेत्रका जनताको सेवामा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए।
काठमाण्डौ: डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइरहेका छन् भने केहीले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट भएको थियो । यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो । दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर,हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ। बुधबार अपराह्न ४ बजे पार्टी कार्यालयमा बैठक बस्ने महामन्त्री डा। मुकुल ढकालले बताए। ‘भोलि दुई विषयमा छलफल गर्न संयुक्त बैठक बोलाइएको छ। राष्ट्रपतिले गम्भीर प्रकृतिको फौजदारी अपराधमा सजाय काटिरहेका व्यक्तिलाई दिएको माफी र जनआवाज सुन्ने कार्यक्रमको समीक्षाका लागि बैठक बोलाइएको हो,’ उनले भने। राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय काटिरहेका नेपालगञ्जका रिगलु भनिने योगराज ढकाललाई माफी दिएका थिए। त्यसबारे छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गरिने उनले बताए। रास्वपाले असोज ३ गतेदेखि जनआजाव सुन्न र दस्तावेजमा समेट्न केन्द्रीय सदस्य र सांसदलाई १९ जिल्ला खटाएको थियो। बुधबार त्यसको समीक्षा गरिने उनले बताए।
काठमाण्डौ: नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र शुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा अहिले बिहान शुरु हुने बन्दसत्रमा राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पेस हुनेछ। छलफलबाट यी प्रतिवेदन पारित भएपछि नेतृत्व चयनका लागि प्रक्रिया शुरु हुनेछ । बाग्मती प्रदेश अधिवेशनमा एक हजार १ सय ३८ जना प्रतिनिधि सहभागी छन् । नेतृत्व चयनमा सर्वसम्मति नभए विद्युतीय भोटिङ मेसिनमार्फत् मतदान गर्ने गरी तयारी भइरहेको एमालेले जनाएको छ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि आकाङ्क्षी धेरै छन् । अध्यक्षमा बाग्मती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यहरु कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाललगायतले दाबी गर्दै आउनुभएको छ । एमालेको बाग्मती प्रदेश अधिवेशनबाट पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला तथा १० प्रतिशत युवाका लागि सिट आरक्षण गरिएको छ । एमालेले प्रदेश अधिवेशनमा अधिकतम सहमतिको प्रयास गर्ने, तर सहमति नभएको अवस्थामा मात्र चुनावको विकल्प खुला राख्ने नीति तय भएको छ । अधिवेशनको काठमाण्डौको भृकुटीमण्डपमा हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।
दमौल: डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताउनुभयो । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी नगरपालिकाको रहेको जनाइएको छ । दमौली अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ । अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले एक डाक्टर, दुई जना ल्याबका कर्मचारी र दुई जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । शाखा प्रमुख सोतीले भन्नुभयो, “अस्पतालमा दैनिक बिरामीको सङ्ख्या बढेको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएको जानकारी भएपछि नगरपालिकाबाट तत्कालका लागि पाँच जना कर्मचारी खटाउन लागेका छौँ ।” नगरपालिकाले टोल–टोलमा डेङ्गुसम्बन्धी सचेतनासमेत सुरु गरेको छ । सोतीले डेङ्गु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । गत भदौ महिनाको अन्तिम सातायता डेङ्गुको सङ्क्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रत्येक वडा–वडामा स्वास्थ्य सचेतना सञ्चालन भइरहेको छ ।” स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा डेङ्गुको सङ्क्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गर्नुभयो । डेङ्गु सङ्क्रमित बढेसँगै स्वास्थ्य संस्थामा शय्याको अभाव भएको छ । दमौली अस्पतालमा अधिकांश बिरामी डेङ्गुका छन् । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् । दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधँै राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । रासस

