दाङ: काठमाण्डौबाट सुर्खेतका लागि छुटेको रात्रिबस दाङमा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको बस आज बिहान पूर्व(पश्चिम राजमार्गको लमही नगरपालिका(९ शिवखोलामा दुर्घटनामा परेको हो । घाइते भएकाहरुको उद्धार गरेर उपचारका लागि अस्पतालमा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकाहरुलाई भने लमही अस्पताल पठाइएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ।
चीन: १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ । यस्तै दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ । जापान पाँच स्वर्ण, १४ रजत र १२ कास्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कास्यसहित १४ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना तीन स्वर्ण, चार रजत र सात कास्य सहित कुल १४ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ । नेपालले टेनिसमा, फेन्सिङमा, रग्बीमा, साइक्लिङमा, बास्केटबलमा, तेक्वान्दोमा, जुडोमा, पौडीमा, बक्सिङमा भने रविन विजयी भएका छन् ।
काठमाडौं: जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–८ गौरीगंज घर भएका ५८ वर्षीय अमरेश कंडेल हुन् । जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र सामूहिक करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गेरको हो । मादक पदार्थ सेवन गरी ललितपुर साविक ठैब गाविस–८ लिन्टिकल सेन्टर प्रालिको क्यान्टिनमा नास्ता बनाउने नाबालिगलाई २०६४ पुस ५ गते साँझ जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनले कैद भुक्तानका लागि कारागार कार्यालय चितवन पठाइएको छ ।
पोखरा: पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान विक्री गर्ने गरेको पाइएपछि रत्नचोकमा अवस्थित मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिवाना ताेकेकाे छ । जिल्लास्तरीय बजार अनुगमन समिति कास्कीले सोमबार गरेको अनुगमनमा म्याद गुज्रेको सामान विक्री गरी उपभोक्तालाई ठगी गरेको पाइएपछि १ लाख जरिवाना गराएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले बताए । उनका अनुसार सो स्टोर्सबाट पाँच लिटर १२ ग्यालिन तोरीको तेल लेबलिङ नभएको, मिट मसला दुई प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजवल १५ प्याकेटलगायतका करिब रु २८ हजार नौ सय ६० बराबरको म्याद गुज्रेको सामान नष्ट गरिएको छ । यसैगरी दालको लेवल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै चेतावनीसमेत दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको छ । त्यसैगरी पोखरा–३ पालिखेचोकमा रहेको गौरव ट्रेडर्समा पनि म्याद गुर्जेको १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापड लगायतका सामग्री भेटिएपछि नष्ट गरिएको छ । सो स्टोर्सका सञ्चालकलाई रु १० हजार जरिवाना गरिएको छ । यस्तै सोही स्थानमा रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेको ११ किलो सुजीसहित नष्ट गरी सो पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ । सो पसललाई रु ५ हजार जरिवानासमेत तोकेको छ । यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित तीन दिनभित्र जिल्ला प्रसाशन कार्यालय कास्कीमा उपस्थित हुन समितिले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय कास्की र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको संयुक्त अगुवाइमा गरिएको अनुगमनमा उपभोक्ता मञ्च कास्की, खाद्य तथा गुण नियन्त्रण कार्यालय पोखरा, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रहरी कार्यालय र सञ्चारकर्मीको उपस्थिति रहेको थियो । समितिले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको भागिरथ स्टोर्समा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि सो पसललाई रु ५० हजार जरिवाना गरेको थियो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यका अनुसार घटस्थापना आसपासदेखि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म नयाँ नोट वितरण गर्ने तयारी छ । अघिल्ला दुई वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।
पोखरा: मणिपाल शिक्षण अस्पतालमा उपचारत सुकमाया दुराको मृत्युपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । अस्पतालमा हिजो (आइतबार) उपचारका लागि पुगेका ५७ वर्षीय सुकमाया दुरा गुरुङको उपचारको क्रममा आज बिहान मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । आफन्तहरुले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । बिरामीका आफन्तका अनुसार हिजो ढाड दुख्ने समस्या र पेसर लो भएर मणिपाल अस्पताल पुगेका बिरामीको आज बिहान मृत्यु भएको हो । उनले सामान्य अवस्थामा अस्पतालमा भर्ना गरिएका बिरामीको कसरी मृत्यु भएको हो भनेर डाक्टरहरुसँग सोधपुछ गर्ने क्रममा डाक्टरले हात हालेपछि तनाव उत्पन्न भएको बिरामीका आफन्तले बताएका छन् ।
गुल्मी: पहिरोमा पुरिएर गुल्मीमा १ जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० नविनकिशोर प्रधानले जानकारी दिनुभयो । रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको घर निर्माण गर्ने क्रममा माथिबाट पहिरो खस्दा घर्तीको घटनास्थलमै ज्यान गएको एसपी प्रधानले बताउनुभयो । पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानको गौमुखी–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका छन् । गुल्मीमा गएको ३ दिनदेखि लगातार पानी परिरहेको छ । वर्षाका कारण गुल्मीको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताउनुभएको छ । आज (सोमबार) चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिनुभएको प्रतिक्रियामा उहाँले सो धारणा राख्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विश्वमा बढ्दो विज्ञान एवम् सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरुपमा गइरहेको छ, हामीले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ ।” उहाँले हाल नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेकाले नेपालमा सूचना प्रविधिका क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो । नेपालमा चीनका उद्योगी व्यवसायीहरुले गर्ने लगानीका क्षेत्रहरु धेरै भएको र तीमध्ये पनि नयाँ र लाभ लिन सकिने एक क्षेत्र भनेको सूचना प्रविधि रहेकाले यस क्षेत्रमा लगानीका लागि उहाँले चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभयो । नेपालमा लगानी गर्न आउने विश्वका सबै लगानीकर्ताको लगानीको सुरक्षा नेपाल सरकारले गर्ने र लगानीका लागि आवश्यक वातावरण पनि निर्माण गरिदिने प्रतिबद्धता पनि उहाँले सो अवसरमा व्यक्त गर्नुभएको थियो । हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसहित उहाँको प्रतिनिधिमण्डल आज सो कम्पनीको मुख्यालयमा पुगेको थियो । कम्पनीका उच्च अधिकारीहरुले प्रधानमन्त्रीलाई विशेष स्वागत गरेका थिए । उक्त बहुराष्ट्रिय कम्पनीले मोबाइल फोन, ल्यापटपलगायतका इलेक्ट्रोनिक वस्तुहरु उत्पादन गर्ने गर्दछ ।
काठमाडौं: साफ यू–१९ च्याम्पियनसिपमा घरेलु टोली नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए को अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपालको जितमा समिर तामाङले दुई, प्रशान्त लक्सम र निराजन धामीले एक एक गोल गरे । नेपालले १७ औं मिनेटमा पहिलो गोल गरेको थियो । यस प्रतियोगितामा पहिलो पटक सुरुवात–११ मा स्थान बनाएका प्रशान्त लक्समले पहिलो गोल गरेका थिए । दोस्रो गोल समीर तामाङले गर्दै अग्रता बढाएका थिए । नेपालले १७ औं मिनेटमा खेलमा अग्रता लिएको थियो। लक्समले बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। ३० औं मिनेटमा नेपालको अग्रता दोब्बर भयो। निराजन धामीको थ्रु–पासमा समीर तामाङले गोल गरेका थिए । ३४ औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड खाएपछि १०–१० जनामा सीमित हुन पुग्यो । माल्दिभ्सका कप्तान मोहम्मद हसन र नेपालका सुजन डंगोल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० जनामा खेल्नु परेको थियो । दोस्रो गोलपछि नेपालका सुजनले माल्दिभ्सका कप्तान हसनलाई अफ बलमा धकलेका थिए । त्यसपछि हसन उठेर जंगिएपछि दुबै खेलाडीले रातो कार्ड खाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमा नै नेपालले अग्रता बढाउने मौका प्राप्त गर्यो । लक्समको पासमा समिर तामाङले वान भर्सेस वान अवसर खेरा फालेका थिए । ५८औं मिनेटमा माल्दिभ्सले एक गोल फर्कायो । अहमद नजिरको क्रसमा आदम रशिदले गोल गर्दै माल्दिभ्सले नेपालको अग्रता एक गोलमा घटाएको थियो । ७९औं मिनेटमा माल्दिभ्सले खेल बराबरी गर्ने सुनौलो अवसर खेरा फाल्यो। शहान रशिदको पासमा मोहम्मद फाजिनले पनि वान भर्सेस वान अवसरमा गोल गर्न सकेनन् । नेपालको लागि तेस्रो गोल ८८ औं मिनेटमा निराजन धामीले गरेका थिए । प्रशान्तको कटिइनमा निराजनले ६ ट्यापिङ गर्दै जित पक्का गरे । अतिरिक्त समयको चौथो मिनेटमा समिरले गोल गर्दै नेपाललाई सानदार जित दिलाए । नेपालले सेमिफाइनलमा समूह बी को विजेतासँग खेल्नेछ । भारत र भुटान बीच समूह विजेता बन्न ५: ३० मा खेल हुँदैछ ।

