पोखरा: कास्कीको काहुँखोलामा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ आउँदै गरेको ६०६७ नम्बरको ट्याक्टर अनियन्त्रण भई दुर्घटना हुँदा ट्याक्टरका सह-चालक सुजन नेपालीको उपचारको क्रममा मृत्यु भएको हो । सडकबाट अन्दाजी ५० मिटर तल ट्याक्टर खस्दा गम्भिर घाइते भएका तनहुँ घर भई पोखरा १३ कसेरीदाना बस्ने २० वर्षीय सुजनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । ट्याक्टर दुर्घटनापछि चालक सोमबहादर कामीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। बटेश्वर गाउँपालिका-१ स्थित धुमासन टोलमा बिगही खोलामा खनिएको खाल्डोमा डुबेर ११ वर्षीय धिरजकुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालक शनिबार दिउँसो साथीहरूसँगै बिगही खोलामा खेल्न गएका थिए। परिवारका अनुसार नुहाउने जानेक्रममा चिप्लेर बालक गहिरो खाल्डोमा खसेका थिए। धिरजकुमारसँगै अन्य दुई जना बालक पनि खोलामा गएका थिए। धिरजकुमार डुबेपछि अन्य दुई साथीले स्थानीयलाई बोलाएका थिए। खाल्डोबाट उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको हो। उक्त खोला खन्न तीन वर्षअघि बटेश्वर गाउँपालिकाले ठेक्का लगाएको थियो। घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पोखरा: तिव्र गतिका कारण कार पोखरा महानगरपालिका १८ स्थित राटामाटाबाट फेवातालमा खसेको छ । आज बिहान ३ बजे सेदीबाट खपौदी जाँदै गरेको ग ३ च २३९२ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ नायव निरीक्षक शिव पाठकका अनुसार चालक संगम थापाले मादक पदार्थ सेवन गरि सवारी चलाएकै कारण कार तालमा खसेको हो । उक्त कार क्रेनको प्रयोगमा निकालिएको उनले बताए । कार निकालिएपनि चालक थापालाई भने अनुसन्धानकै क्रममा प्रहरीले सम्पर्कमा राखिएको जनाएको छ ।
काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज सुनुवाइको पेसी तारिख तोकिएपछि न्यायाधीश अभावका कारण मुद्दा पेसीमा चढेन । न्यायपरिषद्ले हालै केही न्यायाधीश सरुवा गरेको छ भने केही उच्च अदालतमा बढुवा भएका छन् । सरुवा भएर जानेले मुद्दा नहेर्ने र आउनुपर्ने आइनसकेका कारण सीमित न्यायाधीशले मुद्दा हेर्न नभ्याएका हुन् ।
काठमाडौँ: नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा असोज ४ गते बिहीबारदेखि निरन्तर जारी बैठकमा आफ्नो धारणा राख्नुहुँदै केन्द्रीय सदस्य श्याम कुमार घिमिरेले काँग्रेसले देशमा रोजगारी सिर्जना, राजस्व वृद्धि, सेवा क्षेत्रको विस्तार गर्नुपर्नेमा महत्त्व दिनुपर्ने बताउनुभयो । घिमिरेले भन्नुभयो, “सकारात्मक वातावरणमा कसरी लैजाने, कतिपय मुद्दाहरूमा स्पष्टताको आवश्यकता छ । स्वदेशमा रोजगारीको सिर्जना, राजस्व वृद्धि, सेवा क्षेत्रमा विस्तार गर्नेमा महत्त्व दिनुपर्छ । काँग्रेसले स्पष्ट दिशा दिन सक्नुपर्छ ।” उहाँले काँग्रेसको अब बस्ने महासमितिको बैठकमा यी विषय सम्बोधनका लागि नीतिगत रूपमा सुधारको आवश्यकता रहेको भनाइ राख्नुभयो । यसै गरी केन्द्रीय सदस्य प्रदीप पौडेलले सबै विषयमा अनुशासन समितिले सिद्धान्त बनाउनुपर्ने बताउनुभयो । महासमितिको बैठकको मिति तोकिएको भन्दै उहाँले नीति अधिवेशन हुन नसकेको र महासमिति बैठकलाई नै नीति अधिवेशन गर्ने भनिएको बताउनुभयो । पौडेलले भन्नुभयो, “नीति अधिवेशनले आशाको सञ्चार गर्न सक्नुपर्छ । १५ औँ पञ्चवर्षीय योजनाको अवधि समाप्त भएको छ । १६ औँ पञ्चवर्षीय योजना कस्तो हुनुपर्छ भनेर योजना आउनुपर्छ ।” उहाँले विश्वव्यापी जलवायु परिवर्तनको बारेमा अवधारणा प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
काठमाण्डौ: चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हाङझाउबाट राजधानी बेइजिङ जाँदै हुनुहुन्छ । उहाँ बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्ने तयारी छ । प्रधानमन्त्री प्रचण्डलाई ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गर्ने र विमानस्थलबाट उहाँ बेइजिङको स्टेट गेष्ट हाउसमा प्रस्थान गर्ने कार्यक्रम छ । आज दिउँसो ४ बजे नेपाल–चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुनेछ । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीसहित नेपालबाट गएका उद्योगी व्यवसायीको टोली पनि सहभागी हुनेछ । यो समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुनेछ । त्यसपछि प्रचण्ड बेइजिङमा रहेको नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ । भोलि प्रधानमन्त्री प्रचण्डको समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता हुनेछ । हिजो प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जीनपिङबीच हाङझाउमा भेटवार्ता भएको थियो । प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो छलफल भएको थियो । नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रचण्डले चिनियाँ पक्षलाई आश्वस्त पार्नुभएको थियो । यो भेटवार्तापछि प्रचण्ड एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेर न्युयोर्कबाट हिजो बिहान चीन पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डसहितको टोली सेप्टेम्बर ३० तारिख अर्थात् आउँदो शनिवार नेपाल फर्कने कार्यक्रम छ ।
चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भरतपुर महानगरपालिकामा रहेको नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिवार हिजो दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुब्नुभएको थियो । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उहाँको शव हिजो बेलुका भेटिएको पण्डितले जानकारी दिनुभयो ।
गण्डकी: पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभएको छ । समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत नेटवर्क टेक्नोलोजीको डेलिभरी, एसियाली इन्टरनेट इन्टरकनेक्सन पहल, वाइड प्रोजेक्ट जापानमार्फत विश्वविद्यालयलाई उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क जडान प्रदान गर्नेछ । यसबाट विश्वविद्यालयलाई विश्वव्यापीरूपमा विद्यार्थी, अनुसन्धानकर्ता र शैक्षिक संस्थाबीच कम्प्युटेसनल नेटवर्क स्थापित गर्न बाटो खुलेको छ । यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्तालाई उन्नत अनुसन्धान र शिक्षाको विकासलाई गति दिन आवश्यक पर्ने तथ्याङ्क हासिल गर्न सहज हुने विश्वास लिइएको छ । साथै एनआरइएनमा आबद्धतापछि विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई उनीहरूको आफ्नैबाहेक राष्ट्रिय–अन्तर्राष्ट्रिय भ्रमण गर्दा इडुरोम वाइफाई इन्टरनेट पहुँच रोमिङ सेवा प्राप्त हुनेछ । विश्वविद्यालयमा अनुसन्धान तथा शिक्षा नेटवर्क सञ्चालनका लागि निकट भविष्यमा एक सूचना तथा सञ्चार प्रविधि ९आइसिटी० केन्द्र स्थापना गर्ने पोखरा विश्वविद्यालयको लक्ष्य रहेको उपकुलपति प्रा डा अर्यालले बताउनुुभयो । कार्यक्रममा एनआरइएनका अध्यक्ष अमात्य, पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह प्रा डा अमर नागिला, विज्ञान तथा प्रविधि सङ्कायका निमित्त डीन प्रा डा माधवप्रसाद कोइराला, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा नमराज धामी, एनआरइएनका कार्यकारी निर्देशक डा राजन पराजुलीलगायतले समझदारीसँगै उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्कमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताउनुुभयो ।
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा पूर्वकप्तान पारस खड्का सचिव पदमा निर्वाचित भएका छन् । पारसले अर्का सचिव पदका प्रत्याशि प्रशान्त मल्ललाई १० मतले हराउँदै सचिव पदमा जित हात पारेका हुन् । पारसले ४८ मत ल्याउँदा प्रशान्त मल्लले ३७ मत प्राप्त गरे । सचिव बाहेक अन्य प्रमुख तीन पदमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै महिला सदस्यतर्फ जयन्ती देवी भट्ट सर्वसम्मत रुपमा निर्वाचित भएकी थिइन् । सात प्रदेश कोटा सदस्यमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केरी सर्वसम्मत रुपमा निर्वाचित भएका थिए । प्रदेश कोटामा कोशीबाट अर्जुन पौडेल ४७ मतका साथ विजयी भए । अर्का प्रतिस्पर्धी सुनिल कुमार पौडेल २० मत ल्याउँदै कोशीको सदस्यमा पराजित भए । मधेश प्रदेशमा दाउद अन्सारी र माधव कर्माचार्यले समान ४२ मत लिएका थिए । चिट्ठाबाट माधव विजयी भएका थिए । त्यस्तै बागमती प्रदेशको कोटाबाट दिवाकर घले ४६ मतका साथ विजयी भए । उनका अर्का प्रत्याशि सुदीप पियाले ३६ मत लिए । गण्डकी प्रदेशको कोटाबाट सुदीप शर्मा ५२ मतका साथ विजयी भए । देब्रेन्द्र प्रजु २८ मतका साथ पराजित भए । सुदूरपश्मिच प्रदेशको कोटाबाट विक्रम विष्ट ४९ मतका साथ विजयी हुँदा हिरा रेग्मी ३१ मतका साथ पराजित भए । खुल्लातर्फ सदस्यमा धिरेन्द्र साउद ६९, विरेन्द्र ३४, दुर्गाराज पाठक ५४ मत र आयुष श्रेष्ठ ५१ मतका साथ विजयी भए । खुल्लातर्फ करण महत्रा क्षेत्री र ऋषिराम गौतमले समान २६ मत ल्याएका थिए । चिट्ठाबाट करण विजयी भएका छन् ।

