काठमाडौं: त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले उक्त अवधिमा नौ हजार एक सय ८९ बिरामीको आँखाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । अस्पतालले गत आर्थिक वर्ष २०७९र८० पूर्ण तथा आंशिकरुपमा आठ सय ४० जना गरिब बिरामीले उपचारमा छुट दिएको थियो । अस्पतालले उपत्यका बाहिर सञ्चालन गरेको १३ सर्जिकल आँखा शिविरमा पाँच हजार दुई सय १२ जनाको आँखा परीक्षण गरिनुका साथै नौ सय ५० जनाको शल्यक्रिया गरेको सो अवसरमा जानकारी दिइयो । अस्पतालले ३७ स्क्रिनिङ शिविरबाट नौ हजार चार सय ५२ को आँखा परीक्षण गरी ७५ जनाको शल्यक्रिया गरेको जनाएको छ । सरकारी तथा सामुदायिक विद्यालयका १४ हजार नौ सय ९४ जना विद्यार्थीको आँखा परीक्षण गरी एक हजार १० थान चश्मा वितरण गरेको तथा शिविरबाट अस्पतालमा उपचारका लागि सिफारिस भई आएका तीन सय ८४ जनाको शल्यक्रिया गरिएको जानकारी दिइयो । अस्पतालले स्वर्ण महोत्सवका अवसरमा ८० वर्ष नाघेका बिरामी तथा अपाङ्गता भएकालाई लाग्ने शल्यक्रिया शुल्कमा ५० प्रतिशत छुट दिने तथा गरिब बिरामीलाई निःशुल्क एवम् सहुलियतमा उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले सरकार, विभिन्न सङ्घसंस्थासँगको सहकार्य र समन्वयमा सेवा विस्तार गर्ने, आँखा स्वास्थ्य शिक्षाबारे सर्वसाधारणलाई अवगत गराउने, सेवाको गुणस्तर बढाउने तथा सेवालाई विशिष्टिकृत गर्ने, नवीन उपकरण सेवा वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । पछिल्लो २५ वर्षयता पहिलो पटक यसवर्ष अस्पतालले खर्च कटाएर करिब रु पाँच करोड बचत गर्न सफल भएको छ । सञ्चालक समितिका कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गर्नुभएको वार्षिक आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९र८० मा चार करोड ९७ लाख ५९ हजार पाँच सय ६६ बचत गर्न अस्पताल सफल भएको उल्लेख छ । अस्पतालका संस्थापक वरिष्ठ आँखा चिकित्सक डा। रामप्रसाद पोख्रेल र अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालबाट प्रवाह सेवा गुणस्तरीय र प्रगतिउन्मुख रहेको बताउनुभयो । अस्पतालका आजीवन सदस्य मोति शान्ति शाक्यले अस्पतालको मोतिया बिन्दुको उपचार सेवामा सहयोग पुर्याउने हेतुले रु एक लाख नगदको चेक अध्यक्ष पोख्रेललाई हस्तान्तरण गर्नुभयो । अस्पतालले आगामी विश्व दृष्टि दिवसका अवसर पारी आगामी दिनमा काम गर्ने ठाउँमा आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने सोच अघि सारेको छ । उपाध्यक्ष दमनबहादुर घले र कार्यकारी निर्देशक धर्मराज गोसाईले अस्पतालले आँखा उपचारका क्षेत्रमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै अस्पतालले विस्तार गर्ने सामुदायिक आँखा सेवा कार्यक्रमलाई सहयोग पुर्याउन आह्वान गर्नुभयो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता शुरु भएको छ । आज विहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता शुरु भएको हो । भेटघाट अहिले जारी नै रहेकाले के के विषयमा छलफल भयो भन्ने खुलेको छैन । यो भेटघाटपछि प्रचण्डले दुईा घण्टा होटलमा आराम गर्ने र आजै १९ औँ एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्र संघको ७८ औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री न्युयोर्कबाटै चीन जानुभएको हो । उहाँलाई बिहान चीनको हाङजाओ विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका खेलमन्त्री एवम् १९ औँ एसियन गेम्स २०२३ का अध्यक्षले स्वागत गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि बेइजिङ पुग्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सि सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । न्युयोर्कको ५ दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणमा जानुभएको हो ।
काठमाडौं: नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ । महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज (शनिबार) जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ । नेपाल सरकारसँग शुक्रबार भएको छ बुँदे सहमति महत्त्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासङ्घले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ताभएसँगै काठमाडौँ बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन् । विद्यालय शिक्षासम्बन्धी संसदमा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासङ्घले यही असोज ३, ४ र ५ गते काठमाडौँमा आन्दोलन गरेको थियो । असोज ३ गते सार्वजनिक बिदा परेकाले दुई दिनको पढाइ अवरुद्ध भएको थियो ।
पोखरा: पोखरा महानगरपालिका १८ अधेरीकुना हुँदै बगेर पोखरा १७ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलामा १ सय ६० वटा स्थायी, अस्थायी रुपमा संरचना निर्माण भएको सिमाङ्कन टोलीको प्रतिवेदनमा उल्लेख गरिएको छ । पोखरा महानगरपालिकाले झण्डै १ महिना लगाएर सिमाङ्कन गरेको फिर्केखोलाको प्रतिवेदन सिमाङ्कन टोलीका संयोजक वासुदेव घिमिरेले आज शनिबार पोखरा नगरप्रमुखलाई बुझाएका थिए । फिर्केखोलाको वास्तविक खोलाघर पत्ता लगाउन पोखरा महानगरपालिकाले घिमिरेको नेतृत्वमा समिति गठन गरेर फिर्केखोलाको सिमाङ्कन गरेको थियो । सिमाङ्कन टोलीको प्रतिवेदन अनुसार फिर्केखोलामा १ सय ६० संरचना खोलाघरमै निर्माण भएको उल्लेख गरिएको छ । जसमा अस्थायी संरचना ९७ वटा, स्थायी संरचना ३५ वटा , संघसस्थाका अस्थायी संरचना १० वटा र संघसस्थाका स्थायी संरचना १८ वटा निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,‘ कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो ।’ फिर्के खोलाको खोलाघरमा व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थागत रुपमा फिर्के अतिक्रमण गरेर अस्थायी संरचना खडा गर्नेमा सशस्त्र प्रहरी बल, बराल समाज, पुन समाज, सोंपाल तमू समाज, व्यर्थन महिला समूह, राधाकृष्ण मन्दिर, सामुदायिक भवन छन् । त्यस्तै, फिर्के अतिक्रमण गरेर स्थायी संरचना निर्माण गर्नेमा स्कुल, मन्दिरदेखि, समाजघरदेखि लायन्स क्लबसम्म छन । प्रतिवेदनअनुसार फिर्केमा स्थायी संरचना बनाएकाहरु लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, बराल समाज मन्दिर, सोंपाल समाज घर, किरियापुत्री भवन बगालेटोल, फोटोग्राफर संघ, अर्चलबोट किरियापुत्री भवन, पुनमगर समाज घर, बराल कल्याण मन्दिर, लायन्स क्लब, इलेक्ट्रिक एसोसियसन, फिर्के तमु समाज आदि छन । सर्वेक्षण टोलीले खोलामा फोहोर फ्याँक्ने डम्पिङ बन्दै गइरहेको र तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनमा औंल्याएको छ । खोलामा बग्ने विषाक्त पानीका कारण वरिपरिको कृषि उत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेकोसमेत प्रतिवेदनमा उल्लेख छ । सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ ३ सय ३ र पूर्वतर्फ २ सय ८५ वटा सीमा स्तम्भहरु गाडिएको छ । टोलीले साउन ३ देखि भदौ २ गतेसम्म नापजाँच गरेको थियो । मानवीय अतिक्रमण र प्रदूषणका कारण फिर्केखोलाको अवस्था पछिल्लो समय अस्तित्व रक्षाको संकटपूर्ण घडीमा पुगेको छ । साबिक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं.१८,२,४,५,७,८,६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको प्रतिवेदनमा उल्लेख छ । खोलाघरमै मापदण्ड विपरीत पक्की संरचनाहरु निरन्तर निर्माण भइरहेकाले खोलाघरको हरियालीमा ह्रास सिमाङ्कन टोली संयोजक पौडेलले बताए ।
पोखरा: फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाएको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन् । रोहवरमा सम्बन्धित वडाका वडा अध्यक्षहरू दिवसमान प्रधानाङ्ग–२, देवकृष्ण पराजुली–४, विष्णु प्रसाद बराल–५, विष्णु बहादुर भट्टराई–६, राममोहन आचार्य–७, रुद्रनाथ बराल–८, राधिका कुमारी शाही योगी–१७ र शिवप्रसाद तिमिल्सीना–१८ रहेका छन् । प्रतिवेदनको पूर्णपाठ
काठमाडौं: १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को कुम्भमेला आजबाट चीनको उत्तर दक्षिणी हाङ्चाउ सहरमा सुरु हुँदैछ। औपचारिक उद्घाटन आज हुने भए पनि केही खेलहरू यसअघि नै सुरु भइसकेका छन् । प्रतियोगिताको चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङ्चाउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच उद्घाटन गर्नेछन् । उद्घाटन कार्यक्रममा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत थुप्रै मुलुकका राष्ट्रपति र सरकार प्रमुख तथा नेताहरू हाङ्चाउ सहर पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै चीन गएका छन् । प्रतियोगितामा एसियाली मुलुकका कीर्तिमानधारी खेलाडीको ठूलो सङ्ख्यामा सहभागिता हुनेछ। भविष्यमा हृदयदेखि हृदयसम्म ९हर्ट टु हर्ट एट फ्युचर० मूल नारा रहेको उक्त प्रतियोगिताका लागि हाङ्चाउ सहर हरेक तयारीका हिसाबले चुस्त, व्यवस्थित, सुन्दर, मनमोहक र झकिझकाउ तुल्याइएको छ। हाङ्चाउ ओलम्पिक खेलकुद केन्द्रमा चम्किलो लाइट समेतको व्यवस्थापन गरिएको छ। विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र १ सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। एसियाडमा नेपालबाट तेक्वान्दोमा ११, फुटबलमा २२, बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३, ब्रेकिनमा १, क्यानोइमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र स्पोर्टसमा २३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। कराँतेमा ८, गल्फमा ६, कुस्तीमा ४, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीका १२, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, फेन्सिङमा ६, टेबलटेनिसमा ६, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ। एसियाडमा ठूलो सङ्ख्यामा नेपाली खेलाडी सहभागिता हुन लागेको यो पहिलो पटक हो। नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ।
काठमाडौं: भारत आईसीसी एकदिवसीय विश्व वरीयताको पहिलो नम्बरमा पुगेको छ । गएराति अस्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा पहिलो नम्बरमा पुगेको हो । एसिया कप जित्दा पनि भारत आईसीसी एकदिवसीय वरीयतामा दोस्रो स्थानमा थियो भने पाकिस्तान फाइनलमा नपुगे पनि पहिलो स्थानमा थियो । भारत र अस्ट्रेलिया दुवैले एक नम्बर टोली बन्ने मौका पाएका थिए । अस्ट्रेलियालाई पराजित गरेसँगै भारत पहिलो नम्बरको टोली बनेको हो । योसँगै भारत क्रिकेटका तीन वटै फर्म्याटमा पहिलो बनेको छ । भारत टेस्ट र टी–२० फर्म्याटको विश्व वरीयतामा यसअघि नै पहिलो नम्बरमा छ । यो स्थान हासिल गर्ने भारतीय टोली विश्वको दोस्रो टोली हो । यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो । अब अस्ट्रेलियाले यस शृङ्खलाका अर्को दुई खेल जित्दा पनि विश्वकप अघि आईसीसी वरीयतामा नम्बर १ टोली बन्न सक्नेछैन । तर यदि अस्ट्रेलियाले अर्को दुई खेल जित्यो भने पाकिस्तान र भारतको बराबरी अङ्क हुनेछ र पाकिस्तानी टोलीले फेरि आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टोली बन्नेछ । वरीयतामा नेपाल भने १५औँ स्थानमा छ । नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन । नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेकोमा दुवै खेलमा हार ब्यहोरेको थियो ।
पोखरा: सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई दु:ख हैरानी दिने दुई जना सहचालकलाई प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका ९ स्थित पृथ्वीचोकमा सार्वजनिक साधनमा जवरजस्ती चढाउने, झोला खोसाखोस गरी सर्वसाधारण मानिसहरुलाई दु:ख हैरानी दिएर अभद्र व्यवहार गर्ने दुई सहचालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले प्रकाउ गरेको हो । यात्रुहरुलाई अभद्र व्यवहार गरेको आरोपमा तनहुँ ब्यास नगरपालिका १४ घर भएका २४ वर्षीय मन्जित महरा र रौतहट स्थायी घर भई पोखरा १३ मियाँपाटन बस्ने २४ वर्षीय अमर शाहलाई प्रहरीले प्रकाउ गरेको हो । प्रकाउ परेका दुवैजनालाई अभद्र मुद्धामा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले आन्दोलन गर्दै आएका थिए । सहमतिपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् । सरकारले संसदमा पेस गरेको सहमतिको मस्यौदामा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा भएका केही व्यवस्थाहरू परिवर्तन गर्न संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र सङ्घीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधि बमोजिम प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । शिक्षकको समायोजन, तहगत प्रणाली र आवधिक बढुवाका विषयमा नेपाल शिक्षक महासङ्घ र विज्ञसमेतको प्रतिनिधित्व हुने गरी अध्ययन समिति गठन गर्ने र समितिको प्रतिवेदन बमोजिम आवश्यक कानुनी प्रबन्ध गर्ने पनि सहमति भएको छ । विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरूले अस्ति बुधवारदेखि आन्दोलन गर्दै आएका थिए । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग राखेका थिए । आन्दोलका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको थियो । महासङ्घकी अध्यक्ष कमला तुलाधरले पनि वार्तामा सहमति भएको र आन्दोलनका कार्यक्रम फिर्ता भएको बताउनुभयो ।

