स्याङ्जा: बडा दशैंको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका ६ टक्सारमा ‘प्रथम खुल्ला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । ‘समाजका लागि युवा, युवाका लागि खेलकुद’ भन्ने मुल नारासहित माछापुच्छ्रे युवा क्लबले खुल्ला भलिबल र छेलो प्रतियोगिता आयोजना गर्न लागेको क्लबका अध्यक्ष विजय गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिता आगामी कार्तिक १ गतेदेखि ३ गतेसम्म संञ्चालन हुने छ । भलिबल प्रतियोगितातर्फ प्रथम हुने टोलीलाई रु ५० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरी, दोस्रो हुने टोलीले रु ३० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीलाई रु ३ हजारले पुरस्कृत गरिने उनले बताए । यस्तै छेलोतर्फ प्रथम हुनेलाई ५ हजार सहित मेडल तथा प्रमाणपत्र र द्वितियलाई ३ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । खेलकुदको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गर्न र खेलकुद विकासको लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
काठमाण्डाै: आज विश्व पशु दिवस, ‘ठूलो वा सानो, हामी सबैलाई माया गर्छौँ’ भन्ने मुख्य नाराका साथ विश्वभर मनाइँदैछ । नेपालमा पनि जनावर संरक्षणका लागि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । दिवस मनाउनुको मुख्य उद्देश्य संसारभर रहेका सबै जनावरको अवस्था सुधार र सुधारका लागि प्रयास गर्नु हो । विश्व पशु दिवसमार्फत् पशु कल्याणका लागि मानिसलाई सचेत गराउनु हो । सन् १९२५ मा बर्लिनमा हेनरिक जिम्मरम्यानले उत्सव नै आयोजना गरेका थिए । त्यसपछि वर्षमा एक दिन विश्वव्यापी कार्यक्रमको रूपमा पशुलाई सम्मान गर्ने गरिन्छ । नेपालमा विभिन्न जनावरलाई देवीदेवताको रुपमा पुज्ने चलन छ । तिहारका पाँच दिन काग, कुकुर, गाई/गोरुलाई पूजा गरिन्छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्त्वपूर्ण मानिन्छ ।
धादिङ: धादिङमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका २ बालकको मृत्यु भएको छ। काठमाडौंबाट चितवन जाँदै गरेको प्रदेश २-००१ ख ६४१३ नम्बरको ट्रकले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा दुई बालकलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जिव श्रेष्ठ छन्। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार उनीहरु बिहान ट्युसन पढ्न जाँदै थिए। बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो। ट्रकका चालक रौतहटका अशोक बम्जन प्रहरीको नियन्त्रणमा रहेको एसपी मिश्रले जानकारी दिए। घटनापछि मृतक बालकका आफन्तहरूले सडक अवरूद्ध गरेका छन्।
सिक्किम: पूर्वोत्तर भारतकाे टिस्टा नदीमा अचानक ठूलो बाढी २३ जना भारतीय सैनिक बेपत्ता भएका छन् । टाइम्स अफ इन्डियाका अनुसार लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक नदीको सतह ह्वात्तै बढेको हो । चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो। ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ। ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ। बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुर्याएको छ। टिस्टामा पानीको सतह बढेका भारतका तल्लो तटीय राज्यहरू र बंगलादेशमा पनि बाढी अलर्ट जारी गरिएको छ।
चीन: १९औं एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ । समूह ‘बी’ अन्तर्गत हाङझाउस्थित साओशन गुआली स्पोर्ट्स सेन्टरमा बुधबार इरानले बङ्गलादेशलाई ५४–१६ ले हराएपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा प्रवेश गर्ने टोलीले कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ । महिला कबड्डीको समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा बङ्गलादेशलाई ३७–२४ ले हराएको थियो । दोस्रो खेलमा भने मङ्गलबार नेपाल साविक विजेता इरानसँग ४३–१९ ले पराजित भएको थियो । लगातार दुई जितसँगै इरान समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बङ्गलादेश बाहिरिएको छ । नेपालले महिला कबड्डीलाई पहिलो पटक एसियाडमा सहभागी गराएको हो । जारी एसियाडमा अन्य खेलमा पदकको सम्भावना क्षिण बन्दै जाँदा महिला कबड्डीले नेपालको पदक खडेरीलाई टारेको छ । सेमिफाइन र फाइनलमा समेत राम्रो गर्न सके नेपालले महिला कबड्डीबाट कांस्यभन्दा माथिको पदक समेत हात पार्नेछ । सात टोली सहभागी एसियाड महिला कबड्डीमा समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनेज ताइपेइ र थाइल्यान्डले प्रतिस्पर्धा गरेका थिए । एसियाडमा नेपालबाट सहभागी २९ खेलमध्ये पदकको आशा गरिएको मार्सल आर्ट्स खेलहरु तेक्वान्दो, कराते, उशु, जुडो लगायतका खेलाडी पदकविहीन बनेको छ । नेपालले पदक आशा गरेको पुरुष क्रिकेटको सम्भवना पनि भारतसँग क्वार्टरफाइनलमा पराजित भएसँगै सकिएको छ । नेपालले अब कराते, डान्सिङ र कुस्तीका खेल खेल्न बाँकी छ । यि हुन् नेपाली महिला कबड्डी टोली मेनुका राजवंशी (कप्तान), अनुजा राई, जयन्ती बडु, गङ्गा घिमिरे, रविना चौधरी, अर्पना चौधरी, सिर्जनाकुमारी थारु, कलावती पन्त, इशा राई, सुनीता थापा, नितु गुरुङ र मनमती विष्ट ।
काठमाण्डौ: हिजोदेखि कर्फ्यु लागेको नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । प्रदर्शन रोकिएपछि अवस्था सामान्य बन्दै गएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । अहिले सडक सुनसान छ भने बजार तथा विद्यालय खुलेका छैनन् । दुई समुदायबीच तनाव सिर्जना हुने अवस्था देखिएपछि हिजो दिउँसो १ बजेदेखि नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र कर्फ्यु लगाइएको हो । सरकार र विभिन्न सङ्घसंस्थाले जातीय र धार्मिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेका छन् । सरकारले सामाजिक सञ्जाल प्रयोग गर्दा आधारहीन सूचना नराख्न पनि सचेत गराएको छ । आज दिउँसो सुरक्षा निकायको बैठक बसेर सुरक्षा अवस्थाबारे थप विश्लेषण गरी आवश्यक निर्णय हुने पनि सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।
काठमाडौं: प्रहरीले गौशाला घटनाका अभियुक्तलाई सार्वजनिक गरेको छ। सोमबार बिहान गौशालामा धारिलो हतियार प्रहार गरी साविर हुसेनलाई घाइते बनाएर फरार भएका अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरेको हो। सोमबार बिहान ११ बजेर ४० मिनेटमा बारा कलैया नगरपालिका-२१ का ३८ वर्षीय साविर हुसेनलाई तिलगंगास्थित पिके डायगोनोस्टिक सेन्टर प्रालिमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको थियो। घटनापछि फरार रहेका रौतहटको वानियापुर गाउँपालिकाका ३७ वर्षीय सिकिलदेव सहनीलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा उनको संलग्नता पाइएपछि मंगलबार सार्वजनिक गरेको थियो। घटनास्थलमा कटुवा पेस्तोल, त्यसमा लाग्ने गोली र चक्कु फेला परेको थियो। सहनीले घटनापछि कोटेश्वरबाट गौर जानका लागि टिकटसमेत काटिसकेको पाइएको छ।
पोखरा: बेगनास तालमा प्युठानका अनिल श्रेष्ठ मृत भेटिएका छन् । पोखरा महानगरपालिका ३१ अलैची कुना स्थित बेगनास तालमा एक पुरुषको शव तैरिरहेको सूचनापछि पुगेको प्रहरीले प्युठान घर भएका अनिल श्रेष्ठको भएको पुष्टि गरेको हो । श्रेष्ठले बोकेको झोला भित्र नागरिकता अनुसार प्युठान मलरानी गाउँपालिका ४ ठेगाना रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । श्रेष्ठको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्री अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
विराटनगर: धर्मगुरु भनिएका आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो । उनले केही दिन अगाडि गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान गर्दै चर्को भाषण गरेका थिए । गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो । उनले हातमा खुकुरी बोकेर भनेका थिए, ‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’ आचार्यको उक्त अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले श्रीनिवासलाई नियन्त्रणमा लिएको बताए । श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए ।

