पाेखरा ।    गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले बालेन्द्र शाहको नेतृत्वमा रहेको झण्डै दुई तिहाइ बहुमतको नयाँ सरकारलाई धेरै अवसर रहेको बताएका छन् ।   बुधबा...

पोखरा:    काठमाडौंबाट बागलुङका लागि छुटेको हाइसले पोखरा २५ हेमजामा पैदल यात्रीलाई ठक्कर दिँदा नौली बिकको मृत्यु भएको छ ।  पोखरा २५ हेमजा सापकोटाचोकमा बाटो काट्दै गरेकी नौली बिकलाई काठमाडौंबाट बागलुङका लागि छुटेको बा ३ ख ९७२६ नम्बरको हाइसले ठक्कर दिँदा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  कास्कीको अन्नपूर्ण गाउँपालिका ४ घर भएकी नौली छोरीको घर आउने क्रममा हाइसको ठक्करबाट हिजो (शनिबार) मृत्यु भएको बताइएकाे छ । सापकोटाचोकमा हाइसको ठम्करबाट गम्भिर घाइते भएकी नौलीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिएको छ ।   

पोखरा: पोखरा महानगरपालिका वडा नं. ७ मा रहेको क्रियाशील महिला विकास कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।   कार्यक्रममा बोल्दै पोखरा ७ का महिला वडा सदस्य बसुन्धरा लामिछानेले सहकारीलाई आयआर्जन र उत्पादनमा जोड्नु पर्ने बताउनुभयो । उहाँले सहकारीले ऋण लगाने गर्दा सचेत भएर सुजबुझ ढङ्गले गर्नु पर्ने बताउदै यसमा संचालक समिति थप संवेदनशीलहुनु पर्ने बताउनु भयो । सहकारीलाई उत्पादन सगं जोड्न वडा कार्यलय र सिङ्गो पोखरा महानगर नै लागेको बताउदै सहकारीमा आवद्घ सबै सदस्य सक्रिय हुन आग्रह गर्नुभयो ।   वडा सदस्य अर्जुन थापाले पोखरा वडा नं।७ मा भएका सहकारी संग सहकार्य गर्न सधै तयार रहेको बताउनु भयो । सहकारीलाई उत्पादन सगं जोड्ने कोसिस भइ रहेको बताउदै कतिपय नितिगत समस्याका कारण समस्या परेको बताउनुभयो । सहकारीका संस्थापक अध्यक्ष शारदा गिरीले महिला दिदी बहिनीको क्षमता विकास र आर्थिक सवलिकरणका लागि संस्था जन्मिएको बताउदै सबै शेयर सदस्यलाई सक्रिय हुन आग्रह गर्नुभयो । तिजको शुभकामना दिदै उहाँले दिदि वहिनीहरुलाई आर्य आर्जनमा जोडिन आग्रह गर्नुभयो ।   सहकारीका सल्लाहकार शशिकला बरालले महिलाहरुले आत्मानिर्भर हुदै उद्यमी बन्नुपर्ने बताउदै एकले सिकेका कुरा अरुलाई सिकाउने भावना जागृत गराउनु पर्ने विचार राख्नुभयो । महिला विकासका लागि आमा समुहका अध्यक्ष तुलसी बरालले सहकारी भनेकै सहकार्य भएकाले महिला दिदि बहिनीहरुको सहकारी उदारणीय हुनुपर्ने बताउनु भयो । उहाँले सबैलाई आफ्नो गक्ष अनुसार समाज नभड्कने किसिमले तिज मनाउन आग्रह गर्दै शुभकामना दिनुभयो । कार्यक्रममा वडा सदस्य सुनिता सुनार , महिला क्लब पोखराका अध्यक्ष मिना बराल आचार्य , रेडियो सफलताका स्टेसन प्रमुख मधु अधिकारी लगाएतले शुभकामना दिनुभयो ।   संस्थाको अर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी बराल र लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन लेखा समिति संयोजक सृजना सापकोटा बरालले प्रस्तुत गर्नुभयो । संस्थाका अध्यक्ष मनमाया पौडेल बरालको अध्यक्षतामा संम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष पिंगला भट्ट र संचालन सचिव सावित्री तिम्सिना बरालले गर्नभयो । 

पोखरा:     हरितालिका तीजको अवसरमा पोखरा लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।  नव आदर्श सामुदायिक विकास समाजले भदौ २९ देखि असोज १ गतेसम्म हरितालिका तीजको अवसरमा १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।  संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए ।  उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ ।  १० औं संस्करणको लामाचौर कपमा आयोजित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दुवै विधामा सहभागिता नजनाउने आयोजकले जनाएको छ । यस्तै एसियन च्याम्पिनसिपको बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय महिला तथा पुरुष खेलाडीले यस प्रतियोगितामा सहभागिता हुने छैन ।  महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफक्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता जनाउने छन् । यस्तै दोस्रो संस्करणको पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता जनाउने छन् ।  ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् ।  यस्तै तीज गीत प्रतियोगिताको विजेताले ५० हजार १ सय ११, दोस्रो हुने समूहले ३० हजार  १ सय ११ र तेस्रो हुने समूहले २० हजार १ सय ११ र सान्त्वना हुने समूहले १० हजार १ सय ११ पुरस्कार प्राप्त गर्नेछन्, भने सहभागि समूहलाई प्रोत्साहन स्वरुप २ हजार भत्ता उपलब्ध गराउने आयोजकले जनाएको छ ।  तीज महोत्सवमा आयोजित अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको विजेताले ४० हजार १ सय ११, दोस्रो हुने समूहले २५ हजार १ सय ११, तेस्रो हुने समूहले १५ हजार १ सय ११ र सान्त्वना हुने तीन समूहले ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई ५ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।  भदौं २९ गतेदेखि असोज १ गतेसम्म सञ्चालन हुने तीज महोत्सवमा २९ गतेदेखि पुरुष भलिबल प्रतियोगिता सुरु हुने संस्थाका प्रथम उपाध्यक्ष एवम् संयोजक भण्डारीले बताए ।  ‘लामाचौर कप’ दर्शकलाई पहिलो दिन १ सय, दोस्रो र तेस्रो दिन २ सय र फाईनल खेल सञ्चालनको दिन ३ सय रुपैयाँ टिकट शुल्क कायम गरेको छ भने, ४ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरेको छ ।  आयोजकले भलिबल कोर्टमा खेल सञ्चालन भइरहेको समयमा रेफ्री र खेलाडीलाई बोतल प्रहार भएको घटनापछि दर्शकलाई यसपटक हेल्मेट र पानीको बोटल लैजान निषेध गरेको छ ।    भलिबल कोर्टसँगै प्याराफिटमा नै दर्शकलाई पानीको व्यवस्था गर्ने आयोजकले जनाएको छ । तीज महोत्सव एवम् लामाचौर कपमा करिव ५२ लाख ७७ हजार ५ सय रुपैयाँ आम्दानी हुने आयोजकले अनुमान गरेको छ । 

स्याङ्जा:  कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकासका नाममा राजनीति गर्न नहुने बताउनुभएको छ ।   निर्वाचनका बेला भिन्न–भिन्न पार्टीबाट प्रतिस्पर्धा गरेता पनि विजयी भइसकेपछि सबैको साझा भएर काम गर्न सकेमात्रै विकासले गति लिने उहाँले बताउनुभएको हो । स्मार्ट सिटीका रूपमा घोषित भई कार्यान्वयनको चरणमा रहेको स्याङ्जाको वालिङ नगरपालिकाले वालिङमा आयोजना गरेको पालिकाको वर्तमान अवस्था र भावी गन्तव्य विषयक अन्तक्र्रिया कार्यक्रमलाई शनिबार वालिङमा सम्बोधन गर्नुहुँदै उहाँले विकासमा राजनीति घुसाउन नहुनेमा जोड दिनुभएको हो ।   “विकासका नाममा राजनीति गर्नहुन्न भन्ने मान्यताको पक्षधर हुँ”, उहाँले भन्नुभयो, “विकासमा सबैको अपनत्व भयो भने त्यो दिगो र प्रभावकारी हुन्छ ।” कहिलेकाहीँ विकासका नाममा राजनीति गर्ने र राजनीतिकै कारण विकास ठप्प हुने गरेका उदाहरण प्रशस्तै देखिने गरेको उहाँको भनाइ थियो ।   उहाँले केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुरुप काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । “तीन तहका सरकारबीच आपसी समन्वयको अभावले विकास निर्माणका कार्य हुन नसकेका कुरा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “केन्द्रको जनप्रतिनिधिको तर्फबाट म प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढ्न तयार छु ।”   निर्वाचनका बेला मतदातामाझ गरेका प्रतिबद्धतालाई पाँच वर्षको अवधिसम्ममा पूरा गरेरै छाड्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।    कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले समाज रुपान्तरण गर्ने दायित्वका साथ निरन्तर लागिरहेको बताउनुभएको छ । उहाँले केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै विकासका गतिविधि नागरिकले महसुस हुने गरी काम गर्ने दाबी गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले दलगत स्वार्थभन्दा माथि उठेर विकास निर्माणमा सहभागी हुनुपर्ने बताउनुभयो ।   वालिङको विकासका लागि नगरपालिकाले मात्रै नभई यहाँका नागरिकसँग भएका अमूल्य अनुभव, सल्लाह सुझावलाई ग्रहण गरी आगामी दिनमा योजना बनाउन सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । नगरको विकासमा सबैको भावनालाई समेटेर सामूहिक ढङ्गबाट छलफल गर्नका लागि अन्तक्र्रियाले महत्त्वपूर्ण टेवा पुग्ने उहाँले बताउनुभयो ।   वालिङमा जन्मेर देशका विभिन्न सङ्घसंस्था तथा कार्यालयमा लामो समय अनुभव सँगाल्नुभएका व्यक्तिहरूका बीच सामूहिक छलफल तथा अन्तक्र्रियाबाट निस्केको निचोडलाई नगरपालिकाले सम्पत्तिका रूपमा ग्रहण गरी कार्यान्वयनको चरणमा लैजाने उपप्रमुख कविता तिवारी गैरैले बताउनुभयो । विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्नुभएका विषयविज्ञले दिनुभएको सुझाव र राजनीतिक नेतृत्वको प्रतिबद्धतासहित अगाडि बढ्दा वालिङमा उपलब्धिहरू देखिने उहाँले दाबी गर्नुभयो । रासस

ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने ७ जना पक्राउ परेका छन्।   उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले आज दिउँसो १ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। उनीहरूबाट एउटा प्रहरीको पेस्तोल, एउटा उनीहरूले लुट्न प्रयोग गर्ने पेस्तोलसहित सुन, मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।   शुक्रबार राति सुनसरी बर्जु गाउँपालिका(१ शुक्रबारेमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर हतियार लुटिएको थियो। सादा पोशाकमा खटिएका प्रहरीबाट आक्रमणकारीले ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेका थिए।   सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई खटाएको थियो। उनीहरू इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए। सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ लुटेरा समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताएका थिए।   उनका अनुसार पछाडिबाट टाउकोमा चिर्पट प्रहार भएपछि केहीबेर दुई पक्षबीच घम्साघम्सीसमेत भएको थियो। तर, आक्रमणकारीको समूह ठूलो र प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था नभएको एसपी रेग्मीले बताए।   आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ। अर्का प्रहरी पनि घाइते छन्।

काठमाडौँ:  आसन्न चीन भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गर्नुभएको छ । बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उहाँले छलफल गर्नुभएको हो ।    प्रधानमन्त्री दाहालले आज साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्नुहुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

डोटी: पहिरोका कारण डडेलधुरा–दिपायल जोड्ने डा. केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । यो राजमार्गको डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा पहिरो खसेपछि गएरातिदेखि गाडी चल्न नसकेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ।   डडेलधुरा, अछाम, बाजुरा र डोटी जोड्ने केआईसिंह राजमार्ग बन्द हुँदा ती क्षेत्रमा हुने आवतजावत रोकिएको छ । लगातारको पहिरो र वर्षाका कारण सडक सञ्चालनमा ल्याउन समस्या भएको छ । सडक बन्द हुँदा गाडी र यात्रु बाटोमै रोकिएका छन् ।   शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेम रावलका अनुसार यो सडकमा अरु बेला पनि पहिरो जाँदा यात्रु र गाडी चालक मर्कामा पर्दै आएका छन् । सडक विभागका अनुसार बाढी–पहिरोबाट अरु तीन वटा राष्ट्रिय राजमार्ग लामो समयदेखि बन्द छन् । तानसेन–रिडी–कोरला सडक पहिरोका कारण विगतदेखि नै बन्द छ ।   त्यस्तै, तमोर करिडोरअन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझीटारमा रहेको हेवाखोलामा अवरुद्ध रहेको छ । गएको असार ४ गतेको भेलबाढीले सडक कटान गरेपछि सञ्चालनमा आउन सकेको छैन । 

मोरक्को:   मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार  घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भुइँचालोमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।  शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए । अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् ।  शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । भयानक भूकम्प भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चाहरू रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविमूढ अभिभावकहरूलाई देखेको बताएका छन् । दश मिनेटसम्म बिजुली टेलिफोन सेवा  बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए । सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ ।  ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतिको विस्तृत विवरण प्राप्त भएको छैन । 

कञ्चनपुर:      शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्‍याएको हो । स्थानीय राजबहादुर तमोली वर्षभरी खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित हुनुभएको छ । एक बिघामा लगाएको धानबाली पूरै जङ्गली हात्तीले सखाप पारेको उहाँले बताउनुभयो । ‘बीउ, मलखाद, सिँचाइ, जोताइ र रोपाहा गरी ३० हजार रुपैयाँभन्दा बढी खर्च गरेर धान रोपेको थिएँ,’ तमोलीले भन्नुभयो, ‘गएराति आएको हात्तीको बथानले एकैछिनमा पूरै धानबाली स्वाहा बनाएको छ । धानका बाला सबै खाएको छ, परालमात्रै बाँकी छ ।’ पछि खानका लागि धान खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रवार साँझ सात बजे तिर हात्तीको बथान धानखेतमा छिरेका स्थानीय जया धामीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो तीन दिनयता यसरी जङ्गली हात्ती गाउँ पस्न थालेका छन्। ‘धान पूरै खाएर अघाएपछि उज्यालो हुनुअघिमात्रै हात्तीको बथान फर्कने गरेका छन्,’ धामीले भन्नुभयो, ‘खाएर र खुट्टाले कुल्चेर धानबालीमा पूरै क्षति पुगेको छ ।’ हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउँछन् । ‘खेतमाा पसेको हात्तीको बथान भगाउन रातभरि खेतमै जाग्राम बस्दै आएका छौँ,’ जङ्गी साउदले भन्नुभयो, ‘हात्तीको बथान कुनै पनि हालतमा भाग्दैन, पेट भरिएपछि आफैँ निकुञ्जतर्फ लाग्ने गरेका छन्।’  वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जङ्गली हात्तीले धानबालीमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको बताउनुभयो । ‘हात्तीलगायतका जङ्गली जनावर नियन्त्रणका लागि धेरै पहिलादेखि नै विद्युतीय मेसवायर जडानको माग गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यसको सुनवाइ हुनसकेको छैन ।’नगरपालिकाबाट मेसवायर जडानका लागि बजेटको व्यवस्था हुन नसक्दा प्रदेश र सङ्घ सरकारसँग माग गरिएको वडाध्यक्ष खड्काको भनाइ थियो । यसैबीच आज बिहान सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेश सभा सदस्य ओमविक्रम भाटले छुट्टाछुट्टैरूपमा धानबालीमा जङ्गली हात्तीले क्षति पुर्‍याएको स्थानको अवलोकन गर्नुभएको छ । मन्त्री धामीसमक्ष स्थानीय बासिन्दाले हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था मिलाउन माग गरेका छन् । मन्त्री धामीले मन्त्रालयबाट बजेट विनियोजन गरी मेसवायर जडान हुन नसकेका क्षेत्रमा तत्काल काम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । निकुञ्ज नजिकैका गर्जमुनि र खजुवा क्षेत्रमा प्रत्येक वर्ष जङ्गली हात्तीले धान, गहुँ, तरकारी लगायतबालीमा क्षति पुर्‍याउँदै आएको छ ।