(बाँके) : बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट श्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । कर अधिकृत सापकोटाका साथमा रहेका तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दिपक पौडल भने फरार भएको उहाँले बताउनुभयो । उक्त रकम लिएर सापकोटा श्री एयरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाडौँ जाँदै थिए । सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । रासस
बैतडी: अविरल वर्षाका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । हिजो आइतवार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो । ढुङ्गा फुटाउन बझाङबाट मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ुठूलो ढुङ्गा फुटाउन नसक्दा गाडी बीच बाटौमै रोकिएका छन् । आइतवारदेखि यो राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् । यस्तै, दशरथचन्द राजमार्गको सतबाँझ–गोठलापानी सडक खण्डको गुरुखोला नजिक रुख खस्दा सडक अवरुद्ध भएको छ । गए राति खसेका चारवटा रुखले राजमार्ग अवरुद्ध भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । राजमार्ग अवरुद्ध भएर गाडी रोकिँदा यात्रु अलपत्र परेका छन् । शनिवारदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको छ ।
ढोरपाटन: बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई वटा भान्छा हुने भोजभतेरमा सहभागी नहुने र नागरिकलाई पनि सामाजिक रुपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न गाउँपालिकाले आग्रह गरेको छ । जिल्लाका सहर बजारदेखि गाउँसम्मका अधिकांश स्थानमा जातीय छुवाछुत र विभेद हुँदै आएकाले यसको अन्त्य गर्न अब सबै भोजभतेरमा एउटै भान्छा प्रयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । उहाँले समाजमा कोही पनि नागरिकले छुवाछुत र विभेद भोग्न नपरोस् भन्ने उद्देश्यले कार्यापालिका बैठकबाट सामाजिक रुपमा हुने भोजभतेरको भान्छा एउटै बनाउनुपर्ने निर्णय गरिएको बताउनुभयो । “सामाजिक विभेद व्यवहार र भान्छाबाटै अन्त्य हुनुपर्छ, अब गाउँपालिकाभित्र हुने कुनै पनि भोजभतेरको एउटै भान्छा हुनुपर्छ, अहिलेसम्म दलितका लागि छुट्टै, जनतातिका लागि छुट्टै र ब्राह्मण क्षेत्रीका लागि छुट्टै भान्छा हुँदै आएको थियो । यो सामाजिक र जातीय विभेद हो,” अध्यक्ष बुढा मगरले भन्नुभयो, “यसको अन्त्यका लागि दुई वटा भतेर जहाँ हुन्छ, जसले गर्छ त्यसलाई कानुनी कारबाही गर्ने र त्यस्तो भतेरमा सहभागी हुने व्यक्तिलाई पनि कारबाही हुने नीति बनाएका छौँ । समाजमा बस्ने हरेक नागरिक सम्मानका साथ बाँच्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो ।” गाउँपालिकाले पहिलेदेखि नै सामाजिक विभेद र छुवाछुत अन्त्यका लागि जनचेतानामूलक कार्यक्रम गर्दै आएको भन्दै उहाँले भोजभतेरमा बढी विभेद हुने गरेको पाइएपछि छुट्टाछुट्टै भोज गर्ने र सहभागी हुने दुवैलाई कारबाही गर्ने नीति ल्याइएको जानकारी दिनुभयो । “सरकारले विसं २०६३ जेठ २१ मा छुवाछुतमुक्त राष्ट्र घोषणा गरे पनि त्यसको व्यवहारमा लागू हुनसकेको छैन”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “अहिले पनि समाजमा विवाह तथा विभिन्न सामाजिक रुपमा हुने भोजभतेर फरक–फरक हुँदै आएका छन् ।” उहाँका अनुसार आदिवासी जनजाति र दलित समुदायको बाहुल्यता रहेको तमानखोलामा गाउँपालिकाले बालविवाह न्यूनीकरण तथा सामाजिक विभेदको अन्त्यका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
काठमाडौं: प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम उडान पुनः सुचारु हुने भएको छ । २५ भदौ सोमबारदेखि तारा एयरले नियमित उडान गर्ने भएको हो । बिस्तारै मौसम अनुकूल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ । जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्ने भएको छ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको कम्पनीले जनाएको छ । तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाट हुने गरेको छ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ । यो विमानस्थलको लम्बाई ७३९ मिटर रहेको छ
काठमाडौं: जिल्ला अदालत काठमाडौंले बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना सबैलाई तारेखमा छोड्न आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले अभियुक्त केशव दुलाललाई साधारण तारेखमा छाड्ने आदेश दिइएको छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । ललिता निवास प्रकरणमा १८ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले सङ्गठित अपराधमा म्याद थपेको थियो । प्रहरीले सङ्गठित अपराधमा अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाए पनि सरकारी वकिलको कार्यालयले किर्तेमा मात्र मुद्दा दर्ता गरेको छ । २०४९ सालदेखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याएको प्रहरीको दाबी छ । ललिता निवास प्रकरणको आरोपीमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री तथा पूर्वसचिवसमेत गरी तीन सय १० जना रहेका छन् । उनीहरूमध्ये २१ जना मृत्यु भइसकेको छ ।
पोखरा: मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोट २०२४ का लागि नेपाली राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ । एन्फाका अनुसार मुख्य प्रशिक्षक गौरव बस्नेतले आज (आइतबार) १४ सदस्यीय टोली घोषणा गरेका हुन् । सो टोलीको गोलकिपरमा आशिष दंगल, सागर गुरुङ फिक्सोमा विजय श्रेष्ठ, सरोज तामाङ, साँजे स्याङ्तान, अलामा आदिल हमिद, अमित तामाङ, अरुज सिंह, सुमित श्रेष्ठ, उज्वोल शाही, रजत तिवारी, दिपेश घले र पिभोटमा सुजित बुढाथोकी, मणिकुमार लामा छन् । उनीहरुले मंगोलियामा हुने खेलमा सहभागिता जनाउने छन् ।
पोखरा: पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय गाडी चार्जिङ स्टेशन उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा आज (आइतबार) दुई वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको उद्घाटन गरेका हुन् । सार्वजनिक विद्युतीय गाडी चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएका छन् । चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताका दुई वटा फास्ट चार्जरहरू रहेका छन्, यसबाट ठूला बससहित छ वटा गाडी एकसाथ चार्ज गर्न सकिने छ । सशस्त्र प्रहरी र प्राधिकरणबीच २०७९ भदौ ९ गते चार्जिङ स्टेशन स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्राधिकरणले आफ्नै खर्चमा चार्जिङ स्टेशनका सम्पूर्ण उपकरण खरिद तथा पूर्वाधार निर्माण गरेको हो । उपकरणहरूको मर्मत तथा नियमित सर्भिसिङ समेत प्राधिकरणले नै गर्ने छ । सशस्त्र प्रहरीले पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । सशस्त्र प्रहरीले चार्जिङ स्टेशनको सञ्चालन तथा सुरक्षा गर्ने छ । चार्जिङ स्टेशन तेस्रो व्यक्तिरसंस्थालाई सञ्चालन गर्न दिन नपाउने व्यवस्था गरिएको छ । विद्युत् वितरण विनियमावलीको व्यवस्था बमोजिम विद्युत् महसुल दरको शुल्कमा हुने कुल नाफाको ५० प्रतिशत रकम चार्जिङ स्टेशनको सञ्चालन तथा व्यवस्थापन खर्चको रूपमा सशस्त्र प्रहरीको कल्याणकारी केन्द्रले पाउने छ । प्राधिकरणले पहिलो चरणमा देशका विभिन्न ठाउँमा निर्माण गरेको ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशन स्थापना गरेको छ । दोस्रो चरणमा ११ वटा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अगाडि बढेको छ । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय गाडी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा ५१ वटा विद्युतीय गाडी छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेशन सञ्चालित छन् । झन्डै ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेशनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना/ठूला कारहरू चार्ज गर्न मिल्ने छन् ।
काठमाडौं: बिपी साहित्य महोत्सव आजदेखि शुरु भएको छ । ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरे। कांग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उनका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ । बिपीको योगदानलाई युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोसत्वमा विभिन्न साहित्यिक स्रष्टा, कांग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ । साहित्य महोत्सव तीन दिनसम्म चल्नेछ । तीन दिनसम्म विभिन्न सत्रमा बिपीका साहित्यिक कृति र व्यक्तित्वका बारेमा बहस तथा छलफल हुँदैछ ।
पोखरा: नेपाल बीमा प्राधिकरणले पोखरेली पत्रकारसँग बीमासम्बन्धि अन्तरक्रिया तथा छलफल गरेको छ । छलफलमा अभिकर्ताहरुले बीमित (बीमा गर्ने व्यक्ति) लाई समयावधि पुगेपछि दोब्बर (डबल) उपलब्ध गराउने भन्दै प्रलोभनमा पार्न नहुने नेपाल बीमा प्राधिकरण गण्डकीका प्रमुख केशव प्रसाद दाहालले बताए । अभिकर्ताले बीमितलाई समय पुगेपछि दोब्बर (डबल) रकम पाउने भन्दै प्रलोभनमा पारेर आफ्नो कम्पनीमा बीमा गर्न बाध्य पार्ने अभिकर्तालाई कारवाही गर्ने बताए । ‘अभिकर्ताले बीमितको आम्दानीको बारेमा प्रष्ट हुनुपर्छ । समय पुगेपछि डबल पाउनुहुन्छ भन्नै पाउनुहुन्न, उनले भने, ‘त्यसो भनिएको पाइए अभिकर्तालाई कानून बमोजिम कारवाही हुन्छ ।’ उनले कुनै पनि बीमा कम्पनीले दोब्बर रकम उपलब्ध गर्न नसक्ने बताए । ‘हरेक बीमा कम्पनीको आ–आफ्नै नीति हुन्छ । त्यस अन्तरगत नै बीमितले भुक्तान पाउने हो । राज्यलाइ तिर्नुपर्ने कर र कम्पनीको पोलिसी अनुसार भुक्तान हुन्छ । त्यो सबै बीमितले बुझ्न आवश्यक छ,’ दाहालले भने । उनका अनुसार नेपाल बीमा प्राधिकरणमा ३४ वटा बीमा कम्पनी आवद्ध छन् । प्राधिकरणले नीजि तथा सरकारी बीमा कम्पनीलाई नियमन गर्ने काम गर्दै आएको बताउदै दाहालले चित्त नबुझेको खण्डमा बीमितले बीमा कम्पनीविरुद्ध निवेदन दिन सक्ने सुनाए । ‘हाम्रो काम भनेको बीमा कम्पनीहरुलाई नियमन गर्ने हो । बीमाबाट पाउनुपर्ने रकम नपाएको खण्डमा तपाइहरुले (बीमित) बीमा कम्पनीको विरुद्धमा निवेदन दिन पाउँनुहुन्छ, दाहालले भने, ‘त्यसको लागि कुनै दस्तुर लाग्दैन । मुद्धा नै लड्न परेको खण्डमा हाम्रै वकिल लड्ने व्यवस्था हुन्छ ।’ उनका अनुसार गण्डकी प्रदेशमा अहिलेसम्म करिब एक दर्जन निवदेन परेका छन् । त्यसमध्ये कृषि तथा वालीसम्बन्धि निवेदन परेको छन् । कार्यक्रममा बोल्दै पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले मानव जीवनमा बीमाको अपरिहार्यता रहेको बताइन् । ‘मानव जीवनमा बीमाको अतिआवश्यक देखिएको छ । पछिल्लो समय नागरिककमा बीमा गर्नुपर्छ भन्ने ह्वात्तै लहर बढेर आएको छ । किनभने घरकै बीमा गरेपनि, कृषि वा सवारी साधनकै गरेपनि आखिर जोडिने भनेकै मानव जीवनसँग हो त्यसैले बीमाको महत्व बढेको छ,’ उनले भनिन् । अध्यक्ष भण्डारीले कास्कीमा क्रियासिल पक्रकारका लागि महासंघले स्वास्थ्य बीमाको व्यवस्था गरेको बताउदै केही पक्रकारको सम्बन्धित कम्पनीकै कमजोरीका कारण छुट्न पुगेको सुनाइन् । उनले छुटेका पत्रकारको पनि स्वास्थ्य बीमा गर्ने तयारी रहेको बताएकी थिइन् ।

