वीर अस्पताल नयाँ भवनको छैटौं तलाबाट हामफालेर एक जना पुरूषको मृत्यु भएको छ। आइतबार बिहान एक पुरूषले हाम्फाल्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए। मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ। उनी अन्दाजी ४० वर्षीय पुरूष हुन्। अस्पतालका प्रवक्ता सागर मिश्रका अनुसार मृतकले अस्पतालमा कुरूवा भनेर प्रवेश गरेका थिए।
पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोसी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ। इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको सवारी चालकले बताएका छन्। मुख्य राजमार्ग भए पनि सवारी चापको आधारमा साँघुरो सडक रहेको र त्यही सडकमा पशु चौपाया चराउने र छाडा छाड्ने गरेका कारणले दुर्घटनाको जोखिम बढेको सवारी चालक चन्दन मेहताले बताए। उनले भने, ‘सडकका पशु चौपायाले दुर्घटनाको जोखिम बढाउँछ। यसलाई नियन्त्रण गर्न स्थानीय तह तथा ट्राफिक कार्यालयले ध्यान दिनुपर्छ।’ राजमार्गमा देखिने पशु चौपायका कारण सवारी जाम र दुर्घटनाको जोखिम बढेको स्थानीय यात्रु रविन मेहताले बताए। उनले भने, ‘मुख्य राजमार्गमा सवारी चाप हुन्छ। त्यसमाथि छाडा पशु चौपाया हुँदा सवारी चालकलाई समस्या हुने गर्दछ। यसको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धीत निकायले ध्यान दिनुपर्दछ।’ सवारी साधनको चापका कारण चिरौली, लौकही, हरीपुर, भाण्टाबारीमा पैदलयात्रीलाई आवतजावतमा समस्या भइरहेको अवस्थामा भोक्राहा र कोशी गाउँपालिकाको सडकमा तरकारी तथा फलफूल व्यवसायीलाई समेत असर गरेको स्थानीयवासीको भनाइ रहेको छ। यस क्षेत्रमा वार्षिकरुपमा हुने सवारी दुर्घटना मध्ये केही छाडा पशुचौपाया भएको ट्राफिक प्रहरीको भनाइ रहेको छ। सडकमा छोडिएका छाडा चौपाया नियन्त्रणका लागि सम्बन्धित निकायले समेत समयमा ध्यान दिन आवश्यक रहेको मानव अधिकारकर्मी रमेश भट्टराईले बताए।
काठमाण्डौ: कोशीका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट निवेदन आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको हिजोको संयुक्त इजलासले रिट निवेदनमा आजदेखि निरन्तर सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाउने आदेश दिएको हो । मुख्यमन्त्री थापाले पछिल्लोपटक भदौ ४ गते लिएको विश्वासको मत असंवैधानिक भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्ष गरिरहनुभएका इस्माइल मन्सुरीले पनि मत दिनुभएको थियो । सभाध्यक्षले संविधान विपरीत मत दिएको भन्दै एमाले संसदीय दलका नेता कार्कीले भदौ ५ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । भदौ ७ गते रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारलाई दीर्घकालीन महत्त्वका निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । यसअघि पनि प्रदेश सभाका तत्कालीन सभामुख बाबुराम गौतमलाई सरकार गठनको दाबी पत्रमा हस्ताक्षर गर्न लगाएर दाबी पेस गरेका कारण सर्वोच्चले सरकार गठनसम्बन्धी प्रक्रिया असंवैधानिक भएको ठहर गर्दै मुख्यमन्त्री थापालाई पदमुक्त गरिदिएको थियो ।
रुकुम पश्चिम: रुकुम पश्चिमको चौरजहारीमा विद्यालयबाट घर फर्किने क्रममा खोलाले बगाउँदा दाजुबहिनीको ज्यान गएको छ । हिजो दिउँसो नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका- ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको जानकारी दिनुभयो ।
काठमाडौं: एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । नेपालले सन् २०१७ मा भने भारतको १९ वर्षमुनिको टोलीसँग खेलेको थियो । समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै, भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एसिया कप अन्तर्गत आज नेपालसँगको खेल गुमाउने भएका छन् । बुमराह व्यक्तिगत कारणले श्रीलङ्काबाट भारत प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पोखरा: एक दशकभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ बालकल्याण संघ पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । बाल कल्याण संघ कास्कीले बालबालिकाको क्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारलाई उक्त पुरस्कार दिँदै आएको छ । संघको २३ औं साधारणसभा तथा ७ औं अधिवेशनको अवसरमा फोटो पत्रकार गुरुङलाई सम्मान गरिएको हो । उनलाई गण्डकी प्रदेश सांसद प्रकाश बरालले दोसल्ला, सम्मानपत्रसहित ७ हजार ५ सय रुपैयाँले सम्मान गरेका हुन् । सन् २०१२ देखि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा फोटो पत्रकारिता गर्दै आएका पत्रकार गुरुङ हाल समाधान राष्ट्रिय दैनिकमा आवद्ध छन् । उनी यसअघि जक्सन डटकम, नेपालखबर, अनलाइनखबरमा पनि लामो समय फोटो पत्रकारिता गरिसकेका छन् । हाल उनी एसोसिएट प्रेस (एपी)लगायत अन्तर्राष्ट्रिय मिडियामा पनि आवद्ध छन् । यसअघि उक्त पुरस्कारबाट नारायण शाही घनश्याम पाण्डे, प्रकाश ढकाल कृष्ण दवाडीलगायत सम्मानित भइसकेका छन् ।
बाजुरा: चट्याङ लागेर बाजुरामा दिदीको ज्यान गएको छ भने बहिनी घाइते भएकी छिन् । गए राति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो । चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता घाइते भएकी छिन् । कोर्ध गाउँको थला लेकमा दुवै जना राति सुतेको अवस्थामा चट्याङ लागेको थियो । प्रतिक्षाको घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको पूरानो शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसलाई पोखराको गौरवको विषय भएको बताएका छन् । पृथ्वीनारायण क्याम्पसको ६४ औं वार्षिकोत्सवको समारोहलाई सम्बोधन गर्दै मेयर आचार्यले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले पृथ्वीनारायण क्याम्पसमा पोखराका केही क्याम्पस गाभेर विश्वविद्यालय बनाउने लक्ष्य सफल नभए पनि क्याम्पस विश्वविद्यालय सरह नै रहेको बताए । ‘पोखराको पृथ्वीनारायण क्याम्पस विश्वविद्यालय सरहको रुपमा रहेको छ, क्याम्पसलाई पोखराको गौरवको विषयमा अगाडि बढाउनुपर्छ’, मेयर आचार्यले भने, ‘पोखरा भन्दा बित्तिकै पृथ्वीनारायण क्याम्पसको नाम आउँछ, कतिले यसलाई ध्यान दिदैनन्, सबैले ध्यान दिने गरी समाजको सबै क्षेत्रमा पुग्ने गरी क्याम्पसको विकासमा सधै साथ रहनेछ ।’ महानगरको कार्यक्षेत्रमा विद्यालय बाहेक कलेजहरुमा काम गर्न नमिल्ने बताउँदै मेयर आचार्यले अध्ययन अनुसन्धानमा सहकार्य गर्न नीति तथा कार्यक्रममा बजेट बिनियोजित गरेको बताए । उनले पृथ्वीनारायण क्याम्पसले कुन क्षेत्रलाई प्राथमिकता दिने हो त्यसमा स्पष्ट रहन आवश्यक रहेको बताए । ‘पोखरामा दुईवटा विश्वविद्यालय स्थापना भइसकेका छन्, अन्य क्याम्पसले भन्दा पिएन क्याम्पसले कुन क्षेत्रलाई प्राथमिकता दिने हो त्यसमा क्याम्पस स्पष्ट हुन आवश्यक ।’ उनले भने । क्याम्पसबाट पास भएकाले विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञान मात्र हुने भएकाले प्रयोगात्मक ज्ञान कम हुँदा दक्ष जनशक्ति उत्पादनमा असर परेकाले यसमा पनि क्याम्पसले दिन आवश्यक रहेको मेयर आचार्यले बताए । आफुले प्राप्त गरेको सफलताको पहिलो खुड्लिा क्याम्पस भएकाले क्याम्पस प्रति सधै ऋणी रहेको मेयर आचार्यको भनाई छ । यस्तै पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा.सरोज कोइरालाले नेपाल सरकारले त्रिविका शिक्षक ÷कर्मचारीको तलब बाहेक अन्य शिर्षकमा अनुदान रकम नदिँदा त्रिविलाई आर्थिक भार परिरहेको बताए । ‘नेपाल सरकारले त्रिविका शिक्षक÷कर्मचारीको तलव बाहेक निवृत्तिभरण,सञ्चयकोष र दक्षता अभिवृद्धि भत्ता शिर्षकमा कुनैपनि अनुदान दिँदैन’, कोइरालाले भने, ‘यही शिर्षकमा सरकारबाट प्राप्त हुने सुविधा नआउँदा त्रिविलाई वार्षिक करिव ४/५ अर्बको आर्थिक भार परिरहेको छ ।’ उनले त्रि।विबाट यस क्यामपसमा स्वीकृत केन्द्रीय दरबन्दीमा कार्यरत शिक्षक÷कर्मचारीको तलबभत्त मात्र अनुदान स्वरुप आउने र आन्तरिक स्रोतबाट नियुक्त भएका शिक्षक कर्मचारीहरुलाई आन्तरिक स्रोतबाट नै व्यवस्थाप मिलाउनुपर्ने समस्या रहेको सुनाए । क्यूएए प्राप्त शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसमा गत आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्मको तथ्याङ्क अनुसार स्नातक र स्नातकोत्तर तहमा ११ हजार ६ सय ८४ जना विद्यार्थीहरु रहेको क्याम्पसले जनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कविता लेखन प्रतियोगितामा सागर पनेरु प्रथम, गीता आचार्य द्धितीय र शारदा आचार्य तृतीय भएकी थिईन् । उनीहरुलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो । यस्तै वार्षिकोत्सवको अवसरमा नेपाल बैंक लिमिटेडको CSR अन्तर्गतको छात्रवृत्ति संजिव जि।टी, मुक्तिध्वज सूर्यकुमारी जोशी जेहेन्दार शिक्षा पुरस्कार विनिता बराल, बालगोपाल÷भागिरथी अमात्य छात्रवृत्ति कोष पुरस्कार, एमएडका संदिप बस्याल र क्षितिज थापा र एमतर्फ मंदिप श्रेष्ठ र समिरा बाटाजुलाई प्रदान गरिएको छ । यस्तै कृष्ण भारती छात्रवृत्ति कोष पुरस्कार स्नातक तहमा अध्ययनरत आयुष भट्टराई र टिकाकुमारी क्षेत्री, स्नातकोत्तर तहतर्फ बिमल पराजुली र अनिषा रिमाल र डिल्लु प्रसाद सापकोटा स्मृति पुरस्कारबाट मानविकी स्नातकोत्तर तर्फ विशाल रेग्मी र मिलनकुमारी नेपालीलाई प्रदान गरिएको थियो ।
तनहुँ: तनहुँको प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले ७ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । भिमाद नगरपालिका–२ धरमपानीका गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदीसहित ७ जनालाई गएराती पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक तास बरामद गरेको थियो अहिले सो विषायमा आवश्यक अनुसन्धा भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

