हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि आरम्भ गरेको निःशुल्क ‘स्क्रिनिङ’अभियान सफल बनाउन सम्बद्ध सबैमा आग्रह गर्नुभएको छ ।  आज एक सन्देश जारी गर्दै उहाँले देशमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको तथा त्यसमा जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गर्नुभएको छ । यो समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागिता सहित अभियानका रुपमा स्थानीय तहबाट स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक एवं उपचारात्मक सेवालाई व्यवस्थित गर्न आवश्यक भएको महसुस गरेपछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।  “हामीले हाम्रा स्वास्थ्य संस्थामा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयत्नहरु गरिरहेका छौँ”, उहाँले भन्नुभएको छ, “साथसाथै निरोधात्मक विधिअन्तर्गत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशि जोगाउने हाम्रो प्रयत्न जारी छ ।” अभियानअन्तर्गत ३० वर्षभन्दा माथिका नागरिकलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग एवं शरीरको उचाइ र तौलको अनुपात समयमै पहिचान गरी उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्यका  स्क्रिनिङ गरिनेछ ।  मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने भएको छ

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।    तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा ३० वर्षअघि  भएको सशस्त्र सङ्घर्षका सन्दर्भमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताउनुभएको छ ।  सशस्त्र सङ्घर्षका कारण आज मुलुकमा राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै अध्यक्ष दाहालले शासनसत्तामा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित हुने बाटो खुलेको उल्लेख गर्नुभएको छ ।   “हामी एउटा विशिष्ट परिस्थितिमा शान्ति सम्झौतामार्फत शान्ति प्रक्रियामा सहभागी भयौँ । यो हामीले गरेको नयाँ प्रयोग हो । इतिहासमै पहिलोपटक नेपाली जनताका अधिकार संविधानमार्फत संस्थागत गर्न सफल भयौँ । राज्यको पुनर्संरचना गरियो । समृद्धि, न्याय र समानताका लागि आधार तयार भयो ।  यो जनयुद्धकै कारण सम्भव भएको हो । यो प्रक्रियामा हामीबाट कतिपय कमीहरू पनि भए तर हाम्रो नियतमा कहिल्यै खोट थिएन । हामी यथास्थितिमा बस्न चाहेनौँ । हामी नेपाली जनता र नेपाली समाजको अग्रगमनका पक्षमा निरन्तर लागिरह्यौँ । त्यसैले, हामी खुला हृदयका साथ आफ्ना कमजोरीको पनि समीक्षा गर्दै अघि बढिरहेका छौँ ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।       अध्यक्ष दाहालले सशस्त्र सङ्घर्षका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदप्रति श्रद्धाञ्जली, बेपत्ता भएकाहरुप्रति सम्मान र घाइते भएकाको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।  क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदप्रति श्रद्धाञ्जली, बेपत्ता भएकाहरुप्रति सम्मान र घाइते भएकाको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।  

काठमाडौं:  स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु दुई हजार ३०० ले बढेको हो ।  बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ६५ निर्धारण गरिएको छ । 

काठमाडौं:  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ ।  महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । साथै,  कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।  शुक्रबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

काठमाडौं:   आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।  संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ ।  सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।   लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम हो  ।  रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन कुनै समयमा निर्वाह गरेको भूमिका अतुलनीय छ ।  विपत्तिका बेला तथा अगम्य ग्रामीण क्षेत्रका सर्वसाधारणको हरपलको साथी बनेको रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ । सकारात्मक संवादलाई बढावा दिन रेडियो उपयोगी मानिएको छ । 

नवलपरासी:   नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन ।       रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उहाँ बेचैन हुनुहुन्छ ।       श्रीमान्सँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालुम्म न शव आएको छ, न त राहत रकम नै ।   लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ । छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहनुभएको छ ।  शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको उहाँको गुनासो छ । “शव आउला भन्ने आश गर्दागर्दै १० महिना बितिसक्यो तर न शव देख्न पाइयो, न राहत रकम नै हात प¥यो”, उहाँले भन्नुभयो, “म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, मेसो पाउन सकेको छैन ।”      तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताउनुभयो ।  “समयमै शव वा कागजात नआउँदा राज्यबाट प्राप्त हुने राहत नै पाइँदैन कि भन्ने चिन्ता पनि थपिएको छ”, उहाँले भन्नुभयो, “जे हुने भई हाल्यो, केही राहत पाए त यो छोरीको लालनपालनमा सहयोग हुने थियो ।”      सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले मृत्युको खबर आउनेबित्तिकै नाता प्रमाणित गरी आवश्यक कागजपत्र मलेसिया पठाइए पनि अझै शव नेपाल ल्याउन नसकिएको बताउनुभयो ।  “मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुङ्गो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुन्छ भनेर नपठाएको जानकारी पाएका छौँ । मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिकाले पाउने राहत गुम्ला कि भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो ।       वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताउनुभयो ।  “शव परिचालनमा नै लामो समय लागेको दूतावासले जानकारी गराएको थियो”, उहाँले भन्नुभयो, “शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि शव अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित पनि नगरेको जानकारी पाएका छौँ ।”      सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ । यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आउन बाँकी छ ।  

काठमाडौं:  काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह (बालेन) ले नतिजालाई खर्चमा नभई भौतिक उपलब्धिमा दाँजेर हेर्नुपर्ने बताउनुभएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले खर्चमा मात्र नभई कामको प्रभावकारितालाई ध्यान दिनुपर्ने बताउनुभयो ।      “पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनुपर्छ”, उहाँले भन्नुभयो, “महत्त्वपूर्ण कुरा भनेको नागरिकलाई दिनुपर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो । लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन भएका छन् भने खर्च भएन भनेर गुनासो गर्नु पर्दैन ।”      आन्तरिक राजस्व सङ्कलनका विषयमा भएको छलफलका क्रममा प्रमुख शाहले सार्वजनिक निकायले सञ्चालन गरेका व्यावसायिक क्षेत्रको करका विषयमा स्पष्ट पार्दै भन्नुभयो, “व्यवसाय सञ्चालन गरेपछि सबैले कर तिर्नुपर्छ । चाहे त्यो व्यक्ति होस् । निजी क्षेत्र होस् या सार्वजनिक निकाय होस् । यसमा कोही पनि दोधार हुनुपर्दैन ढुक्कले काम गर्दा हुन्छ ।”      समीक्षा कार्यक्रमपछि उपप्रमुख सुनिता डङ्गोलले आफ्नो लक्ष्यप्रति दृढ भएर काम गर्न सबैलाई आग्रह गर्नुभयो । चालु आर्थिक वर्षको यस अवधिमा कामपाले ४० दशमलव ६६ किलोमिटर सडक कालोपत्रे, १० दशमलव ३२ किलोमिटर सडक ढलान र ४१ दशमलव ३२ किलोमिटर सडकमा ब्लक छापेको जानकारी गराइएको छ । सो अवधिमा १२ दशमलव १६ किलोमिटर ढल राखेको छ । सोह्र वटा भवन र नौ वटा पार्क निर्माण गरेको छ ।      त्यसैगरी चौबीस वटा सम्पदा निर्माण र २६ वटा अमूर्त सम्पदा संरक्षण कार्य सम्पन्न भएका छन् । सार्वजनिक खरिदमार्फत ३२ वटा र उपभोक्ताबाट ७७ वटा योजना कार्यान्वयनमा गएका छन् । पन्ध्र वटा योजना खरिद प्रक्रियामा छन् । एक सय १५ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० र नक्साङ्कन भइरहेका छन् ।      सहरी योजना आयोगबाट रु ८१ करोड ८१ लाख बराबरका ५३ वटा परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । थप ७४ वटा योजनाको डिपिआर तयार हुँदैछ । रु १० करोडभन्दा धेरै लागत भएका १५ वटा, रु १० करोड २१ वटा, मालसामानको ५१ वटा र वडा कार्यालयका १४ वटा खरिदसम्बन्धी सूचना प्रकाशन गरेर प्राप्त प्रस्तावको मूल्याङ्कन र सम्झौता भएको छ ।

तनहुँ:   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।       राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले दमौलीमा आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा अध्यक्ष लिङ्देनले दुई ठूला पार्टी मिलेर सरकार बनेपछि जनभावना अनुसारको काम गर्नेतर्फ ध्यान जानुपर्ने बताउनुभयो ।       अध्यक्ष लिङ्देनले वर्तमान सरकारले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना लगायतका क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । सरकारले जनभावनाअनुसार काम गर्दै जनताको मन जित्न सक्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “अहिले सिमेन्टमा मूल्यवृद्धि भएको छ । मूल्यवृद्धि तत्कालै फिर्ता लिनुपर्छ ।” अध्यक्ष लिङ्देनले राप्रपाप्रति जनताको आकर्षण बढेको दाबी गर्दै देशभर पार्टी प्रवेशको लहर चलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले पार्टीमा प्रवेश कार्यक्रम दिनदिनै भइरहेको छ । बिहानदेखि रातिसम्म प्रवेश कार्यक्रम भइरहेको छ । यो पार्टीप्रतिको विश्वास हो ।”       अध्यक्ष लिङ्देनले पार्टीमा प्रवेश गरेकाले कहिल्यै पनि पश्चाताप गर्न नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी प्रवेश गरेकाहरूले कहिल्यै गलत गरिएछ भन्ने आभाष हुन दिइनेछैन ।”      अध्यक्ष लिङ्देनले सरकार बन्नुअघि दुई ठूला पार्टीले संविधान संशोधनको कुरा गर्दा आफूहरूलाई ठिकै लागेको बताउँदै थप्नुभयो, “संविधानमा नमिलेका थुप्रै कुराहरू छन् । जसले गर्दा देशमा स्थिरता पनि हुँदैन, विकास पनि हुँदैन । संविधान संशोधन गर्नैपर्ने छ ।”

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीतसङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न हुँदैन भन्नुभएको छ । नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आयोजित ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार समारोह’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गीतसङ्गीत सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो, त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्ने बताउनुभयो ।  राष्ट्रपति पौडेलले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्‍याउनुभएको योगदान अनुकरणीय छ रहेको चर्चा गर्दै नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीत सङ्गीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको बताउनुभयो ।   उहाँले भन्नुभयो, “विशेषत नातिकाजीका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ ।” सङ्गीतको शक्ति अपरम्पार छ, यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि हो भन्दै राष्ट्रपति पौडेलले बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्द्रिय एकतालाई बलियो बनाउने आधार रहेको बताउनुभयो । उहाँले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन् भन्दै हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र सङ्गीत हो, यसले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउँछ भन्नुभयो ।  राष्ट्रपति पौडेलले नातिकाजी स्मृति समाजले नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील स्रष्टालाई सम्मान गर्ने परम्परा बसालेर प्रशंसनीय कार्य गरेको बताउँदै स्रष्टाहरूलाई थप प्रेरणा र ऊर्जा थपेर सम्पूर्ण नेपाली गीतसङ्गीत क्षेत्रको विकासमा योगदान दिने मैले विश्वास लिएको बताउनुभयो ।  त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सङ्गीत महर्षी एवं बहुप्रतिभाका धनी नातिकाजी शब्द, सङ्गीत र स्वरको त्रिवेणी भएको चर्चा गर्दै देशभित्र आशा जगाउने किसिमले उहाँले राष्ट्रभक्तिका कालजयी गीतहरू गाउनु भएको बताउनुभयो ।  समाजका अध्यक्ष एवं वरिष्ट सङ्गीतकार शम्भुजित बास्कोटाले सङ्गीत महर्षी नातिकाजी श्रेष्ठको १००औँ जन्मजयन्तिको अवसरमा देशका नयाँ पुराना गीत सङ्गीत साधकहरूलाई सम्मान एवं पुरस्कृत गरिएको जानकारी दिनुभयो । त्यस अवसरमा नातिकाजीले गाउनु भएका ‘नेपाली हामी रहूँला कहाँ, नेपालै नरहे’, ‘यो नेपाली शीर उचाली’ बोलका गीत सहित अन्य राष्ट्रभक्तिले ओतप्रोत गीतहरू प्रस्तुत गरिएको थियो । नवगायिका स्मीता दाहालले तारादेवीको गीत ‘साँगुरी वारि नि हौ, त्यो धारा पानी’ बोलको गीत प्रस्तुत गर्नु भएको थियो । नातिकाजी स्मृति समाजका अनुसार नातिकाजीले ३३७ वटा आधुनिक नेपाली गीत, ९१ वटा देशभक्ति गीत, १० वटा बाल गीत र १९० वटा भजनमा सङ्गीत दिनु भएको छ । साथै उहाँले २२ वटा जति गीतिनाटकमा सङ्गीत दिनु भएको छ ।  विसं २०६० कात्तिक १६ गते निधन हुनु भएका नातिकाजीको स्मृतिमा २०६२ सालमा नातिकाजी स्मृति समाज स्थापना भएको थियो । यस संस्थाले नातिकाजीको योगदानलाई चिरस्थायी बनाउन हरेक वर्ष गीत सङ्गीतका क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई सम्मान र पुरस्कार प्रदान गर्नुका साथै उहाँका योगदानमाथि चर्चा गर्ने गरेको छ ।   समाजले स्थापना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मानबाट वरिष्ट सञ्चारकर्मी धन लामा, गतिकार बुद्धवीर लामा, गायक दिवाकर खड्का, गीतकार किरण केसी क्रोधी, यशोदा पराजुली, विमल भौकाजी, प्रकाश सायमीलाई सम्मानित गरिएको छ । यस्तै, नातिकाजी राष्ट्रिय सङ्गति पुरस्कारबाट गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बि पाण्डे, सङ्गीतकार आशिष अविरल र सङ्गीत संयोजक सम्राट थापा सम्मानित हुनुभयो । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार गीत रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मीता दाहाल र सङ्गीतकार कल्याण सिंह सम्मानित हुनुभयो ।  नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरकारबाट डा रमेश पोखरेललाई सम्मान गरिएको थियो । त्यसैगरी नातिकाजी राष्ट्रिय कला पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाल सम्मानित हुनुभयो । नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार भने लोक गायकहरू रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विकले प्राप्त गर्नुभयो । सम्मानित सबै कलाकर्मीलाई राष्ट्रपति पौडेलले सम्मानपत्र सहितले सम्मानित गर्नुभएको थियो ।