तनहुँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आर्थिक समृद्धि हासिल गर्न सुशासन महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । आर्थिक समृद्धिको लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनको भनाइ थियो । उहाँले सरकारले यसका लागि गर्ने हरेक कार्यमा आफ्नो पार्टीको साथ रहने बताउनुभयो । “सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो । सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्छ । यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ । माओवादी पार्टी अहिले सरकार फेरबदलमा लाग्दैन”, उपमहासचिव पुनले भन्नुभयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएका तर वर्तमान शासन व्यवस्थाका बारेमा कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेकामा उहाँको जोड थियो । उपमहासचिव पुनले भन्नुभयो, “व्यवस्था त बदलियो तर अवस्था बदलिएन, हामी २०८४ को चुनावमा यही ‘एजेन्डा’ लिएर जनतामाझ जानेछौ । जनताले खोजेको पनि यही हो । अहिले हामी सङ्गठन सुधारको अभियानमा लागिरहेका छौँ।”
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । २ दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्ला आउनुभएका प्रधानमन्त्री ओलीले आज यहाँ खानेपानी आयोजनाको उद्घाटन गर्दै सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै सम्पूर्ण देशवासीलाई गुणस्तरीय पानीको व्यवस्था गर्न आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकका प्रमुख दुई ठूला दल मिलेर सरकार बनेपछि राजनीतिक स्थिरता र विकास निर्माण सुनिश्चित भएको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माणका क्रममा लामो समयदेखि झेल्नुपरेका अवरोध र बाधाव्यवधान अन्त्य गरी अधुरा योजना तथा कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको स्पष्ट गर्नुभयो । उहाँले देशव्यापी रूपमा बिजुली, कृषि, सञ्चार, उद्योग, सरसफाइलगायतका अभियान सञ्चालन गरी मुलुक र जनताका पक्षमा सकारात्मक परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर नबनाउने र अरूको घर भत्काउने गरेमा देश बन्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विभिन्न पार्टीसँग आबद्ध हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । यस क्षेत्रका जनताको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु, यसमा ढुक्क भइदिन सबैसँग अनुरोध गर्दछु ।” कुल रु ५० करोड ७ लाख ९२ हजार लागतमा निर्मित सो खानेपानी आयोजनाबाट नगरपालिका–२, ३ र ४ का ६ हजार ५ सय २१ घरघुरीका २६ हजार ७ सय ४३ जनसङ्ख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयवासीलाई सम्मान गरिएको थियो । सो अवसरमा प्रथम महिला राधिका शाक्य, नेकपा ९एमाले० का उपाध्यक्ष युवराज ज्ञवाली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सङ्घीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित स्थानीय जनताको उल्लेख्य उपस्थित थियो ।
काठमाडौं: भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारितभएको २१ वर्ष पूरा भएको अवसरमा आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायमका लागि भएका प्रयास तथा उपलब्धिबारे गम्भीर समीक्षाको खाँचो आँैल्याइएको छ । सोही उपलक्ष्यामा ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाको अगुवाइमा काठमाडौँको माइतिघरस्थित सडकमा भ्रष्टाचार विरुद्धको अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै आज बिहान १० देखि ११ बजेसम्म एक घण्टा प्रदर्शन गरियो । नागरिक समाजका अगुवा, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै ट्राफिक प्रहरीबाट समेत ऐक्यबद्धता प्रकट गरिएको उक्त प्रदर्शनीमा न्याय निसाफमा हुने आर्थिक मोलमोलाइले देशलाई खोक्रो बनाउने विषय प्लेकार्डमा उल्लेख गरिएको थियो । त्यस्तै, भ्रष्टाचार नियन्त्रण गर्ने अभियानमा पीडित जनता अब आफै सक्रिय हुनुपर्ने तथा भ्रष्टाचार घातक रोग भएकाले यसको अन्त्य गरिनुपर्ने विषय त्यस अवसरमा प्लेकार्ड प्रस्तुत गरियो । ट्रान्सपरेन्सी इन्टरनेशनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्य–तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको देखाएको छ । तथापी, तीनै तहका सरकार तथा सरोकारवाला निकायसमेत भ्रष्टाचार घटाउन र सुशासन कायम विभिन्न पाटाबाट भगिरथ प्रयास गरिरहेका छन् । मुलुकको हालको अवस्थाले भ्रष्टाचार कम भएको सङ्केत तथा तत्कालै सुधार हुने सम्भावना कम देखिएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्मा बताउनुहुन्छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचारविरुद्धको अभियानमा लामो समयदेखि सहकार्य गर्दैआएको छ । नेपाल सरकार, पूर्वसचिव तथा पूर्वकर्मचारी सेवा परिषद्का अध्यक्ष बालकृष्णप्रसाद प्रसाइँले भ्रष्टाचारविरुद्धको अभियान राजनीतिक नेतृत्व र कर्मचारी प्रशासकमै पनि बोली तथा व्यवहारमा एकरुपता नदेखिएको प्रतिक्रिया दिनुभयो । उहाँ भन्नुहुन्छ, “राजनीतिक नेतृत्वको बोलीमा प्रतिबद्धता र सरकारी कार्यालको मूलद्वारमा भ्रष्टचारविरुद्धमा शून्यसहनशीलता लेखिपनि व्यवहारमा भनाइ र गराईबीच ठूलो खाडल छ ।” ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका सदस्य किरण थापाले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस भएकाले त्यसप्रति ऐक्यबद्धता प्रकट गर्दै प्लेकार्डसहित प्रदर्शन गरिएको प्रतिक्रिया दिनुभयो ।
सुर्खेत: गृहमन्त्री रमेश लेखकले देशमा स्थायित्व र विकासको गति अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली कांग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले सरकारले जनतालाई अनुभूति हुनेगरी काम गरिरहेको बताउनुभयो । देशमा स्थायी सरकार आवश्यक परेका कारण २ ठूला दलको गठबन्धनको सरकार बनेको उल्लेख गर्दै वर्तमान सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको साशन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशानसन कायम गर्नु रहेको बताउनुभयो । “देशमा विशेष किसिमका समस्या देखा पर्छन् त्यस्तो बेलामा ठूला दल मिलेर राष्ट्रिय एजेण्डालाई सम्बोधन गर्ने गरेका छौँ”, गृहमन्त्री लेखकले भन्नुभयो, “मुलकमा अस्थिरता, अराजकता हुन थाल्यो । गएको डेढ वर्षमा सम्मानीय प्रधानमन्त्रीले दुई÷दुई महिनामा संसद्मा गएर विश्वासको मत लिनुपर्ने अवस्था आयो,” उहाँले भन्नुभयो, “सरकार अत्यन्त अस्थिर हँुदा देशको आर्थिक गतिविधि चलायमान हुन सकेन । विकासका काम सही ढङ्गले अगाडि बढ्न सकेनन् । शान्ति सुरक्षा तथा विधिको साशनमा प्रतिकुल असर पर्न थाल्यो ।” समग्रमा देशमा स्थायी सरकार चाहियो भन्ने मुख्य मुद्दाका कारण दुई ठूला दलको गठबन्धनको सरकार बनेको गृहमन्त्री लेखकको भनाइ थियो । सरकारको मुख्य उद्देश्य देशमा स्थायित्व, विधिको शासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशानसन कायम गर्नु रहेको उहाँले उल्लेख गर्नुभयो । आर्थिक विकासका गतिविधि अगाडि बढाउने र यो संविधानलाई रक्षा गरेर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गरेर देशमा दिगो शान्ति स्थापना गर्नु सरकारको जिम्मेवारी रहेको उहाको भनाइ छ । गृहमन्त्री लेखकले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँ जडीबुटी र पर्यटकीय सम्भावनालाई अवसरमा बदल्नुपर्ने बेला आएको बताउनुभयो । कर्णाली प्राकृतिक सौन्दर्यताको प्रदेश भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “सबैभन्दा धेरै विद्युत् उत्पादनको सम्भावना पनि कर्णालीमा छ । यति धेरै सम्भावना छन् भने हामीले कमजोर ठान्नुपर्ने, मन सानो बनाउनुपर्ने भन्दा पनि हाम्रा सम्भावनालाई कसरी अवसरमा बदल्ने भन्नेमा लाग्नुपर्छ ।” कर्णाली प्रदेशका प्रहरी कार्यालय अहिले पनि नेपालगञ्जबाट चलिरहेको अवस्था रहेको भन्दै उहाँले ती कार्यालय चाँडै सुर्खेत ल्याइने प्रतिबद्धता जनाउनुभयो ।
गण्डकी: राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मालाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । स्वास्थ्यका क्षेत्रमा समाचार सम्प्रेषणका माध्यमबाट पुयाएको योगदानको कदर गर्दै उहाँलाई युआरएल फाउण्डेशनले सम्मान गरेको हो । राससकर्मी शर्मालाई रु ३३ हजार तीन सय ३३ नगद तथा प्रमाणपत्रसहित एक कार्यक्रमबीच शिक्षाविद् जर्ज जोन, युआरएल फाउण्डेशनका अध्यक्ष ठाकुरप्रसाद पन्तलगायतले सम्मान गर्नुुभएको हो । २ दशकदेखि पत्रकारितामा क्रियाशील शर्मा महिला अधिकार, महिला सुरक्षा, महिला स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा कलम चलाउँदै आउनुुभएको छ । उहाँ नेपाल पत्रकार महासङ्घ कास्कीको उपाध्यक्षसमेत हुनुहुन्छ । कार्यक्रमकै अवसरमा फाउण्डेशनले चिकित्सा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ललितपुर, कुपन्डोलका डा खगेन्द्रबहादुर श्रेष्ठलाई ‘लाइफ टाईम एचिभमेन्ट’ अवार्डबाट सम्मान गरेको छ । कार्यक्रममा शिक्षाविद् जोन, पुरस्कार छनोट समितिका संयोजक बद्री विनोद प्रतिक, प्रयोगशालाविज्ञ सुशील थापा, युआरएल फाउण्डेशनका अध्यक्ष पन्त, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका महानिर्देशक मनमोहन मिश्र, पत्रकार आरजु विष्ट सल्यानी तथा सम्मानित व्यक्तिद्वय शर्मा र श्रेष्ठले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
स्याङ्जा: पुतलीबजार प्रज्ञा प्रतिष्ठानको आयोजनामा शनिबार तनाब न्युनिकरण सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । पुतलीबजार नगरकार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू, निजी तथा सरकारी बिद्यालयका प्रधानाध्यापक, बिद्यार्थी लगायतको सहभागिता रहेको प्रशिक्षणमा तनाव न्युनीकरणमा भाषा, कला, साहित्य र संगीतको उपयोग गर्न सकिनेमा जोड दिइयो । पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले मुरली बादकलाई मुरी हस्तान्तरण गर्दै शुभारम्भ गरिएको प्रशिक्षणमा पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह ‘बाबा’ ले तनाब न्युनिकरणमा कला, भाषा, साहित्य र संगीतको महत्व विषयक कार्यपत्र प्रस्तुत गर्नुुभएको थियो । ध्यान योग लगायत धेरै विधाहरू तनाव न्युनीकरणका लागि बहुउपयोगी बनेको बताउँदै उहाँले भाषा कला, सािहत्य र संगीत तनाव न्युुनीकरणमा महत्वपूर्ण बन्ने बताउनुुभयो । बर्तमानमा हरेक व्यक्तिको व्यस्ततापूर्ण जीवनमा तनाव व्यवस्थापन अपरिहार्य भएको बताउँदै उहाँले यसका लागि भाषा, कला, साहित्य र संगीतको भरपुर उपयोग गर्नसकिने बताउनुुभयो । कार्यपत्र माथि प्रा.डा. ज्ञानबहादुर कार्कीले टिप्पणी गर्नुुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख तुलसीराम रेग्मीले कला, भाषा, साहित्य र संगीतको माध्यमबाट जीवनमा आइपर्ने जुनसुकै तनाबहरुलाई न्युनिकरण गर्न सकिने बताउनुभयो । उहाँले ब्यस्त जीवनले उत्पन्न हुन सक्ने मानसिक, सामाजिक तथा शारिरीक थकानलाई घटाउन भाषा, कला, साहित्य र संगीतको उपयोग गर्न सकिनेमा जोड दिनुभयो । भाषा, कला, साहित्य र संगीतको सम्बद्र्धन र संरक्षण नगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले त्यसैका लागि पुतलीबजार प्रज्ञा प्रतिष्ठान गठन गरि सहयोग गर्दै आएको जानकारी दिनुुभयो । पुतलीबजार प्रज्ञा प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीको अध्यक्षता एवम् सदस्य सचिव बाबुराम बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत प्राज्ञ सदस्य भवानी अधिकारीले गर्नुुभएको थियो । कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, नगर प्रवक्ता मनोज पौडेल, स्याङ्जा साहित्य प्रतिष्ठानका उपाध्यक्ष डा. टिकाराम वाग्ले, त्रिभुवन आदर्श बहुमुखी क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल, त्रिभुवन आदर्श मा.वि.का विद्यार्थी संगम ढकाल लगायतले नगरपालिकामा गठित प्रतिष्ठानको महत्व र यसले पु¥याउदै आएको सकारात्मक प्रभावका बारेमा जानकारी गराउनुभयो । डा. अच्युतशरण अर्याल, मुक्तिप्रसाद रेग्मी, मनोज मल्ल, विरबहादुर क्षेत्री, प्रमोद पंग्यानी लगायतले भाषा, कला, साहित्य र संगीत सबै प्रााणीजगतका लागि उत्तीकै महत्व रहेकोमा जोड दिनुभयो । सोही कार्यक्रममा योगगुरु बसन्त बराल, सम्झना थापा र लक्ष्मी काफ्ले लगायतले आ–आफ्नो साहित्यिक प्रस्तुती राख्नुभएको थियो ।
ललितपुर: उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक संस्था र राज्यको प्रणालीलाई कमजोर बनाउने भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य १ हुनुपर्ने बताउनुभएको छ । ‘भोलिको सदाचार निर्माणः युवाहरूसँग भ्रष्टाचार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले आवश्यक नीतिगत तथा कानुनी व्यवस्थासहित भ्रष्टाचार अन्त्यका पक्षमा वर्तमान सरकार क्रियाशील रहेका बताउनुभयो । “भ्रष्टाचार एउटा सङ्गठित अपराध हो, यसले घूसखोरी र आर्थिक अनुशासनलाई बढावा दिएर मुलुकको विकासलाई सुस्त बनाउँछ, निर्वाचन प्रणालीलाई प्रभावित गरी राजनीतिक अस्थिरता बढाउँछ, भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रणका पक्षमा राज्य निर्मम र कठोर हुनुपर्दछ भन्ने मान्यताका साथ सरकारले काम गरिरहेको छ ।” उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो, प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरुप पनि जटिल बन्दै गएको छ, राज्य अझ बढी सक्रिय हुन जरुरी छ, भ्रष्टाचारको अन्त्य गरी सुशासन सहितको सभ्य समाज निर्माणका लागि राज्य संयन्त्र अन्तर्गतका जिम्मेवार सबै अधिकारीहरु १ भई अघि बढ्नु पर्दछ ।” संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनका आधारमा भ्रष्टाचारको विषय गम्भीर देखिएकाले त्यसको नियन्त्रणका लागि सम्बद्ध सबै एक हुनुपर्नेमा जोड दिनुभयो । राज्य संयन्त्र अन्तर्गतका महत्वपूर्ण निकायमा विचौलिया हाबी हुने गरेकाले सुशासन कायम हुन नसकेको उल्ल्ेख गर्दैै आवश्यक नियम कानुन तर्जुमा गरी भ्रष्टाचार अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जुनसुकै संस्थाको पनि नेतृत्व गर्ने व्यक्ति इमानदार भयो भने सदाचार कायम हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्बन्धित २ विधेयकमाथि छलफल गरी यथासक्य छिटो समितिमा आएका छन् । “भ्रष्टाचार विश्वव्यापी समस्या हो, भ्रष्टाचार अन्त्यका लागि सक्दो प्रयास गरेका छौँ, अख्तियारसँग सम्बन्धित दुईवटा विधेयक समितिमा आएका छन्, ढिला नगरी छिट्टै पास गरी पठाउँछौँ”, सभापति खतिवडाले भन्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन अभिवृद्धिका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संसद्मा रहेका भ्रष्टाचार विरुद्धको ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनसम्बन्धी विधेयक यथासक्य छिटो पारित हुने विश्वास विश्वास व्यक्त गर्नुभयो । “अख्तियारले विकास र सुशासनका पक्षमा सुधारात्मक नीति लिएको छ, आयोगमा उजुरी पर्ने क्रम बढ्दो अवस्थामा छ, भ्रष्टाचार नियन्त्रण तथा रोकथाममा सार्वजनिक निकायहरु सबल र सक्षम हुनुप¥यो, भ्रष्टाचार न्यूनीकरणका लागि राज्यको तीनै तहले ध्यान दिनुपर्ने छ”, प्रमुख आयुक्त राईले भन्नुभयो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण श्रेष्ठले भ्रष्टाचारसँग सम्बन्धित समस्या दिनानुदिन बढ्दै गएको भनी चिन्ता व्यक्त गर्दै भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा समग्र राज्य एक हुनुपर्नेमा जोड दिनुभयो । मुख्यसचिव एकनारायण अर्यालले भ्रष्टाचारजस्तो जघन्य अपराध कुनै १ राष्ट्रको सीमाभित्र मात्रै सीमित नहुने धारणा व्यक्त गर्दैै भ्रष्टाचार नियन्त्रणका लागि सरकारी, सार्वजनिक, निजी क्षेत्रका साथै नागरिक समाजका बीच सहयोग र सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव फणीन्द्र गौतमले २००५ डिसेम्बर ५ देखि लागू भएको भ्रष्टाचार विरुद्धको कानुन हाल १ सय ९१ वटा राष्ट्रमा लागू भएको जानकारी दिँदै हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई बुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाइने गरिएको बताउनुभयो । सन् २००३ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मान्यता दिएको र नेपालले सन् २०११ मा सो महासन्धिलाई अनुमोदन गरेको सो अवसरमा बताइयो ।
पोखरा: लेखनाथ नेवा खलको आह्वान एवम् लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव गरिनेभएको छ । आगामी पुस ६ गते पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा यःमरी उत्सव गरिने भएको आज आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवम् कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुुका श्रेष्ठले जानकारी दिनुुभयो । नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गरिएको उहाँले बताउनुुभयो । संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उहाँले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्नाका लागि लेखनाथ क्षेत्रमा पहिलोपटक यो उत्सव गर्न लागिएको जानकारी दिनुुभयो । उत्सवका क्रममा विशेषतः यःमरीसँगै समयवजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकारहरू उपलब्ध गराइने उहाँले बताउनुुभयो । लेखनाथ नेवा खलःका संस्थापक अध्यक्ष प्रेम लिगलले हाम्रा प्राचीन संस्कार र संस्कृतिहरू हाम्रो सभ्यताका पहिचान भएको बताउँदै यिनीहरूको प्रवद्र्धन गर्दै युवा पुस्तामाझ हस्तान्तरण हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो । यःमरी पुन्हीका अवसरमा खाइने नेवारी परिकार यःमरीको नेवारी संस्कृतिमा विशिष्ट महत्व रहेको उहाँको भनाइ छ । गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले प्राचीन कालदेखि लेखनाथका विभिन्न स्थानमा नेवार समूदाय बस्दै आएको बताउँदै हाल लेखनाथका विभिन्न नौवटा इकाईमा नेवाःसमूदाय संगठित बनेको जानकारी दिनुुभयो । लेखनाथ क्षेत्रमा मात्रै करिब २४५ घरधुरी नेवार समूदायको रहेको उहाँले बताउनुुभयो । लेखनाथ नेवा मिसा पुचका अध्यक्ष मीना श्रेष्ठको अध्यक्षता एवम् सचिव संगीता श्रेष्ठले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष पवित्रा श्रेष्ठले गर्नुुभएको थियो । लेखनाथ क्षेत्रमा नै पहिलोपटक गरिएको यो उत्सव नेवाः संस्कृतिको जगेर्नाका साथै पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।
ढोरपाटन: आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए । बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो हातमा थमाए । कलिलो सागको मुठा पाएपछि अतिथिहरु मुस्काउन थाले । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको साग दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए । आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको रायो साग कासेलीका रुपमा दिएको वडा अध्यक्ष गौतमले बताउनुभयो । वडा नम्बर ११ स्थित रायडाँडा, तमाखुबारी र धारापानीका किसानले उत्पादन गरेको सागलाई खरिद गरी मायाको चिनोको रुपमा दिएको अध्यक्ष गौतमको भनाइ छ । वर्षौँदेखि यहाँका किसानले रायो साग बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि मायाको चिनो साग हालेर दिइएको अध्यक्ष गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “रायो साग त हाम्रो वडाको पहिचान हो, यहाँ उत्पादन भएको रायोको साग अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले रायडाँडालाई साग उत्पादनको ‘हब’ हो भनी चिनाउन जरुरी छ, त्यसले गर्दा हामीहरुले बाहिरबाट आउने पाहुनालाई कोसेली तथा उपहारका रुपमा साग दिने गछौँ ।” बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले वडा नम्बर ११ ले राम्रो कामको सुरुवात गरेको बताउनुभयो । मायाको चिनोमा फजुल खर्च गर्ने प्रचलन चलेको बेला यस वडाले आफ्नो पहिचान बोक्ने चिजलाई उपहार दिन सुरुवात गरेको भन्दै अन्य ग्रामीण क्षेत्रका नागरिकले स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिन आवश्यक रहेको बताउनुभयो । बागलुङ नगरकै सबैभन्दा दुर्गम वडाका रुपमा रहेको रायडाँडा कृषिमा निकै सम्भावना बोकेको भन्दै पालिकाले यहाँका किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइरहेको बताउनुभयो ।