अर्घाखाँची: अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ । प्रहरी निरीक्षक पौडेलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाउँदै उद्धार कार्य पनि भइरहेको बताउनुभयो ।
काठमाडौं: हुम्ला जिल्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि आजै साँझ ६ बजेर २७ मिनेट जाँदा चीनको तिनग्री कन्ट्री आसपास केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताउनुभएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यसबारे प्रधानमन्त्री ओलीले चित्त बुझ्दो जवाफ नदिए प्रतिनिधिसभाको बैठक चल्न नदिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुलमानलाई बर्खास्त गरिएको विषयमा प्रधानमन्त्रीले संसद्को रोष्टममा आएर चित्त बुझ्दो जवाफ दिनुपर्छ, चित्त बुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन ।” उहाँले प्रधानमन्त्री ओलीसँग टिआरसीको विषयमा छलफल भएपनि कुलमानलाई बर्खास्त गर्नेबारे कुनै छलफल नभएको प्रस्ट पार्नुभयो । प्रमुख प्रतिपक्षी दलहरु नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले आजको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा कुलमान घिसिङलाई बर्खास्त गरेकामा विरोध जनाएका थिए । प्रतिपक्षी दलका सांसदरुको विरोधका कारण प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बिहीबारसम्मका लागि स्थगन भएको छ ।
गण्डकी: पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट यही चैत ५ गते चीनको सिचुवान प्रान्त छेन्दुमा गरिएको पहिलो व्यावसायिक चार्टर्ड उडानसँगै चीनका सहरमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको थिएन । पहिलो उडानको साक्षी बन्दै छेन्दु पुगेका १२६ सदस्यीय टोलीले विभिन्न प्रवर्द्धनात्मक कार्यकम गरी मङ्गलबार फर्किएको छ । पोखरा पर्यटन परिषद्को आयोजना एवं पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनीज एसोसिएसनसँगको सहकार्यमा गरिएको ऐतिहासिक उडानका साथै नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएका विटुबी, सेल्समिसनलगायतका प्रवर्द्धनात्मक कार्यक्रमले ठूलो आशा एवं विश्वास जगाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चार्टर्ड उडान सुरु गरेको छ । पहिलो उडानका क्रममा त्यहाँका सरकारी निकायका प्रतिनिधि, चिनियाँ पर्यटन व्यवसायीसँग गरिएका छलफल एवं बिटुबी, सेल्स मिसन आदिले आगामी दिनमा अन्तरराष्ट्रिय उडानले निरन्तरता पाउने विश्वाससँगै उत्साह जगाएको अध्यक्ष पहारीले उल्लेख गर्नुभयो । “उडानलाई निरन्तरता दिनुपर्छ भन्ने कुरामा चिनियाँ प्रतिनिधिमण्डल सक्रियताका साथ लागेको पायौँ”, उहाँले भन्नुभयो, “दुई देशबीचको पर्यटकीय साझेदारी बढाउने कुरामा दुवै पक्षबीच महत्त्वपूर्ण छलफल एवं अन्तरक्रिया भएका छन् ।” चीनको सिचुवान प्रान्तमा मात्रै नौ करोड जनसङ्ख्या रहेकामा छेन्दु र छोङछिङबाट अधिकतम पर्यटकहरू घुम्न निस्कने गरेको उहाँले जानकारी गराउनुुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दु र छोङछिङमा गरिएको बिटुबी र सेल्समिसन भव्यताका साथ सम्पन्न भएकोे बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो । “यो कार्यक्रमसँगै चीन केबल काठमाडौँबाट मात्र नभई पोखराबाट पनि जोडिएको छ”, उहाँले भन्नुुभयो, “काठमाडौँबाहेकका गन्तव्यबाट चीन जोडिएको छ भन्ने सन्देशसँगै पोखरा धेरै चीनका सहरसँग मैत्रीपूर्ण सम्बन्ध भएको सहर भएको र यहाँबाट सिधै उडान सुरु भएको सन्देश मितेरी सहरहरूमा पुगेको छ ।” काठमाडौँमा मात्र नभई पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल समेत रहेको जानकारी दिँदै उहाँले पोखरामा विमानस्थलबाट गरिएको छेन्दुको सीधा उडानले काठमाडौँबाहेकका विमानस्थलको अन्तरराष्ट्रिय बजारमा जानकारी गराएको बताउनुभयो । उहाँका अनुसार पहिलो व्यावसायिक उडानका क्रममा बोर्डको आयोजनामा गरिएका छेन्दु र छोङछिङका कार्यक्रम पोखराको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण बनेका छन् । बोर्डले यस अघि छेन्दुमा प्रवर्द्धनात्मक कार्यक्रम गरिएको भए पनि छोङछिङमा पहिलोपटक कार्यक्रम गरेको हो । यी दुवै कार्यक्रमको त्यहाँस्थित चिनियाँ सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका थिए । नेपालमा सन् २०१९ मा एक लाख ६९ हजार ५४३ जना चिनियाँ पर्यटक आएकामा त्यसपछि कोभिड–१९ का कारण सो सङ्ख्या घटेर सन् २०२० मा १९ हजार २५७ पुगेको थियो । त्यसपछि सन् २०२१ मा छ हजार १९८, सन् २०२२ मा नौ हजार ५९९ जना चिनियाँ पर्यटक नेपाल आएका थिए । कोभिड १९सँगै आफ्ना नागरिकलाई बाहिरी राष्ट्रमा घुमफिरका लागि रोक लगाएकोमा सन् २०२३ मार्चबाट नेपाल भ्रमण गर्न खुला गरेको थियो । त्यस वर्ष ६० हजार ८७८ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ मा नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या एक लाख एक हजार ८७९ जना पुगेको कार्यालय प्रमुख लामिछानेले जानकारी दिनुभयो । त्यहाँस्थित चिनियाँ पर्यटन व्यवसायीका अनुसार चीनमा अङ्ग्रेजी महिनाको जुन र जुलाईमा विद्यालय बन्द हुन्छन् । सो समयमा अभिभावक आफ्ना बालबच्चा लिएर भ्रमणमा निस्कन्छन् । उनीहरू छोटो दूरीका रुपमा विशेषत हङकङ वा थाइल्यान्ड जाने गर्दछन् । थाइल्याण्डको दूरीमा रहेको पोखरा उनीहरूका लागि अर्को महत्त्वपूर्ण गन्तव्य बन्न सक्ने उनीहरूको भनाइ छ । आगामी तीन महिनामा करिब एक हजार २५० जना चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाई मार्गहुँदै सीधा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र चाइना ट्राभल इन्टरनेशनल छेन्दुले जनाएको छ । कार्यक्रमकै क्रममा पोखरासँग मितेरी सम्बन्ध अघि बढेको लुझेउ सहरका नगर प्रमुख यु छिन्हीसँग पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको औपचारिक भेटवार्ता भएको थियो । महानगर प्रमुख आचार्य र उहाँसँग सहभागी प्रतिनिधिमण्डललाई लुझाउ नगर प्रमुख छिन्हीले स्वागत गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, पोखरा महानगरपालिकाका–२१ का वडाध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो । त्यस्तै लुझाउ नगरका तर्फबाट साउथ वेष्ट मेडिकल युनिभर्सिटीका अध्यक्ष हि ताओ, नगरका उपप्रमुख लुओ सुपिङलगायतको सहभागिता थियो । उक्त भेटमा पोखरा–छेन्दु नियमित उडानसँगै पोखरा र लुझाउसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरामा दुवै पक्ष सहमत भएका थिए । शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका क्षेत्रमा साझेदारी बढाउने, लुुझाउमा रहेको परम्परागत चिकित्सा प्रणालीका लागि सहकार्य गर्ने आदि विषयमा महत्वपूर्ण छलफल गरिएको थियो । पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको गन्तव्य भएका कारण चिनियाँ पर्यटकको रोजाइमा यो पर्ने गरेको पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई बताउनुहुन्छ । पछिल्लो समयमा पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारहरू बनिरहेको उहाँको भनाइ छ ।
काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० बजेट साधारणसाभामा पेस गर्ने निर्णय गरेको छ । एन्फाको दुई दिन बसेको कार्यसमितिको बैठकले आगामी वैशाख २६ गते साधारणसभा गर्ने निर्णय गर्दै उक्त सभामा वार्षिक कार्यक्रम तथा प्रतियोगिताका लागि उक्त रकम पेस गर्ने निर्णय गरेको एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । एन्फाले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पनि कार्यसमितिबाट पारित गरेर साधारणसभामा पेस गर्ने निर्णय गरेको छ । कार्यसमितिको बैठकले पियुष न्यौपानेलाई अन्तरराष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले म्याट रसलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै एन्फाले पूर्वअध्यक्ष गणेश थापाले फिफाको निर्देशन उल्लङ्घन गरेको लगायत अन्य गतिविधिमाथि आवश्यक अनुसन्धान तथा छानबिन गरी कारबाही गर्न फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा सङ्घको न्यायिक निकायमा आवश्यकताअनुसार पत्राचार गर्ने निर्णय गरेको छ । त्यस्तै, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्तिउपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानबिन गरी निर्णयका लागि पत्राचार गर्ने निर्णय गरेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज यहाँ आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मानिसहरुले आँकलन नै नगरेको भए देश र जनताका लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताउनुभयो । “हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छन । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्सजस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।” प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गर्दै यसबारे प्रधानमन्त्रीले जवाफ दिइरहनु नपर्ने स्पष्ट गर्नुभयो । “प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन् ।” प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षी दलहरुले सदन अवरोधको काम थालेकामा चिन्ता व्यक्त गर्नुभयो । विपक्षीहरुलाई आग्रह गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।” कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेल, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, सङ्घका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
इटहरी: इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः३० बजे सुरु भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झण्डै तीन सयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उहाँले बताउनुभयो । के कारणले आगो लागेको भन्नेबाचरे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो । प्रहरी नायव उपरीक्षक खतिवडाका अनुसार उद्धार गरिएकामा बङ्गलादेशका एमडी जय, अमेरिका राई, लक्ष्मी श्रेष्ठ, विजय धामी, विष्णु तामाङ, सञ्जय जैसवाल, दिया राय, विशाल सिंह, आशिष चौधरी र अन्य दुई जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
पोखरा: सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको टोली सराङ्कोट पुगेको छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण केबलकारको सहकार्यमा ‘सराङकोट एट फोटो पत्रकार’ कार्यक्रम लिएर सोमबार एनपिजेएको टिम सराङकोट पुगेको हो । संघका अध्यक्ष राम गुरुङको नेतृत्वमा गएको टोलीले धार्मिक क्षेत्रको फोटो तथा भिडियो कैद गरेका थिए । फोटो पत्रकारले खिचेका फोटोको माध्यमबाट पोखरा १८ सराङकोटमा विस्तार हुँदै गरेको धार्मिक क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए । यहाँ रहेको कैलाशेश्वर महादेव मन्दिरमा प्रत्येक सोमबार साँझ ५ देखि ७ बजेसम्म महाआरति हुन्छ । सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर (कैलाशेश्वर महादेव), नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएको समितिका अध्यक्ष जिसीले जानकारी दिए । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । सोही क्षेत्रको विकासका लागि फागुन १४ देखि २१ गतेसम्म श्रीमद्भागवत् ज्ञानमहायज्ञ आयोजना गरिएको थियो । निर्माण गरिएका संचरनाको दिगो व्यवस्थापनमा अलवा बालउद्यान, योग ध्यान केन्द्रसहित दृष्य अवलोकनका लागि सिसाको आकाशे पुलसहितको थप संरचना बनाउने लक्ष्य रहेको अध्यक्ष जिसीले बताए । पोखरा १८ वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले सराङकोट क्षेत्रको विकासका लागि पत्रकारहरुको अहम भूमिका भएकाले यसको प्रचारप्रसारमा फोटो पत्रकारको फोटोले अझ टेवा पुग्ने विश्वास व्यक्त गरे । धार्मिक क्षेत्रको विकासका लागि समितिले गरेको काममा आफ्नो वडाको तर्फबाट सधैं साथ र सहयोग रहने पनि उनको भनाइ थियो । यस क्षेत्रमा सडकमार्ग अलवा केवलकारमार्फत पनि पुग्न सकिन्छ । महाआरतिसँगै त्यस क्षेत्रको दृष्यअवलोकनका लागि सोमबार साँझ ४ देखि ७ बजेसम्म केबलकारमा छुटको व्यवस्था रहेको छ । नेपालीका लागि सो समयमा महाआरतिसँगै सराङकोट क्षेत्र जान आउनका लागि २ सय ५० रुपैयाँ मूल्य तोकिएको अन्नपूर्ण केबलकारका बजार व्यवस्थापक अरुण कोइरालाले जानकारी दिए । यसबाट पनि त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन टेवा पुग्ने उनले सुनाए । फोटो पत्रकारले कैद गरेका तस्विरले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकाले समय समयमा एनपिजेएले यस खालको कार्यक्रम गर्दै आएको अध्यक्ष राम गुरुङले बताए । पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा फोटोको माध्यमबाट यहाँको पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ कास्की सदैव तयार रहेको उनले प्रतिवद्धता जनाए ।
पोखरा: नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराद्वारा आयोजित ‘वाडा अटो सो २०२५’ को तयारी तीव्र पारिएको छ । कार्यक्रमको प्रचारप्रसारकै क्रममा आयोजकले मंगलबार पुनः मोटर र्यालीको आयोजना गरेको कार्यक्रमका प्रचार संयोजक एवम आयोजक संस्थाका महासचिव विनय थापाले जानकारी दिए । अमरसिंहचोकबाट शुरु भएको मोटर ¥याली छोरेपाटनको गुप्तेश्वर महादेव गुफा, लेकसाइड, बाटुलेचौर हुदै महेन्दगुफा पुगेको थियो । पोखरा भ्रमण बर्षको सन्दर्भ पनि रहेकोले पोखराका पर्यटकिय गन्तव्यहरुमा मोटर र्यालीको गरेको उनले बताए । र्यालीमा ४० वटा गाडी सहभागी थिए । मोटर र्याली अमरसिंहचोकमा आएर समापन भएको थियो । कार्यक्रमको पुर्व सन्ध्यामा तयारीका साथै विभिन्न रचनात्मक कार्यक्रम गरेको आयोजकले बुधबार सरसफाइ कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक निरन केसीले बताए । सरसफाइ कार्यक्रम पोखरा नयाबजारबाट शुरु भइ पृथ्वीचोकमा पुगेर सम्पन्न हुनेछ । चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा अटो सो हुदैछ । प्रदर्शनीमा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहने छन् । प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन । अटो सोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज स्पन्सर अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने छ । प्रदर्शनी अवलोकन गर्न आउने महानुभावहरूले टिकटमा गोलाप्रथाद्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । ४ दिनसम्म चल्ने अटो शोलाई ३५ हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकले लिएका छन ।