काठमाडौं:   चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुनेको संख्या १८ पुगेको छ ।  जिल्लाको टिमुरेमा बाढीमा १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी हेम बहादुर शाहीले जानकारी...

पोखरा:  अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका पछि उद्धार टोली घटनास्थल पुगेको छ ।  अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका दुई भारतीय नागरिकले चैत ११ गते देउरालीमा गएको हिम पहिरोमा एक पर्यटक पुरिएको सूचना प्रहरीलाई दिएका थिए ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबावु ओलियाले अन्नपूर्ण बेस क्यामबाट फर्किदै गरेका एक पर्यटक हिम पहिरोमा पुरिएको सूचनापछि उद्धार टोली घटनास्थलमा पुगेको जानकारी दिए ।  ‘अन्नपूर्ण बेस क्यामबाट फर्किदै गरेका दुई भारतीय नागरिकले आफु भन्दा अगाडि रहेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका गर्दै प्रहरीलाई खवर गरेका थिए’, प्रहरी प्रमुख ओलियाले भने, ‘उनीहरुले दिएको सूचनाका आधारमा घान्द्रुक प्रहरी चौकी, जनप्रतिनिधि र पर्यटक प्रहरीको टोली घटनास्थलमा पुगेको छ, हिम पहिरोमा पर्यटक पुरिएको हो या होइन उद्धार टोलीले सूचना दिएपछि पुष्टि हुन्छ ।’ उद्धार टोलीमा खटिएका एक सुरक्षाकर्मीका अनुसार हिमपहिरोमा पर्यटक पुरिएको आशंका पछि प्रहरी, जनप्रतिनिधि र स्थानीय गरी २५ जनाको टोली घटनास्थलमा पुगेको छ ।  घटनास्थलमा बिहान र बेलुका मात्र खोजी कार्य गर्न सकिने उद्धार टोलीका एक सदस्यले जानकारी दिए । घटनास्थल पुग्न घान्द्रुकबाट तीन दिन लाग्ने उद्धारकर्मीहरुले बताएका छन् । 

काठमाडौं: आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।  संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रधानमन्त्री ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।  ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।  बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।  त्यसैगरी, अपराह्न १ः१५ बजे हुने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नुहुने छ ।  भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनुहुने छ ।  यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नुहुने कार्यसूची छ । 

झापा:  चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ ।  गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ ।  गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताउनुभयो । चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रु छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । यो गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव छ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा रु पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।

काठमाडौं:  श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको कोलोम्बोस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।   त्यस अवसरमा राजदूत नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट श्रीलङ्काली राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका जनताको निरन्तर शान्ति एवं प्रगतिको कामना गर्नुभएको थियो । राजदूत नेपालीलाई स्वागत गर्दै राष्ट्रपति दिसानायकेले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको शान्ति एवं समृद्धिको कामना गर्नुभएको थियो ।  त्यस अवसरमा श्रीलङ्काका विदेशमन्त्री, राष्ट्रपति कार्यालयका सचिव, राजदूतकी धर्मपत्नी, राष्ट्रपतिको कार्यालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।

भक्तपुर:  मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाकोे हत्या गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।      जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङ कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको हत्या अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका–६ घरभई हाल बोडे बस्ने ५७ वर्षीय हिमाल बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।       साँझ सुत्न जाने बेलामा बुढामगरको साथमा रहेको रु १०० राईले खोसर लिएको र फिर्ता माग्दा नदिएपछि आवेशमा आएर राईलाई भुईमा लडाएर ढुङ्गाले पटकपटक हानेर हत्या गरेको बयानको क्रममा खुलेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।  घटनामा संलग्न रहेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।       त्यसैगरी गत फागुन २७ गते साँझ मध्यपुरथिमि नगरपालिका–२ सानोथिमि मगरगाँउ जाने राधाकृष्ण सडकखण्डमा ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।      सडकमा घाइते अवस्थामा भेटिएका खड्काको कुटपिटबाट मृत्यु भएको जानकारी चिकित्सकले बताएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।  उनको हत्यामा संलग्न रहेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका–९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएको २४ वर्षीय अनिश तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।       पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुमतिमा म्याद थप गरी घटनाका थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

काठमाडौं: हाल देशमा पश्चिमी तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा  बाँकी भागको  मौसम  सफा रहेको बताएको छ ।  महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।  आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

काठमाडौं: अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’ मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताउनुभएको छ ।  मङ्गलवार ललितपुरको लाविम मलमा रहेको एक चलचित्र भवनमा नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ हेरेपछि अध्यक्ष नेम्वाङ्गले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेलाई प्रेरणा दिने बताउनुभयो ।       उहाँले भन्नुभयो, “चलचित्रमा देखाइएको पात्रले हाम्रो सबै खेलाडीको प्रतिनिधित्व गर्छ, कप्तान सुब्बाको जस्तो सङ्घर्ष गरेर धेरै खेलाडीले गर्नुभएको छ । यहाँ हामीले आफ्नो बच्चा पनि लिएर आएका छौँ, किनकी चलचित्रले उनीहरूलाई लक्ष्य प्राप्तिका लागि मेहनत गर्न प्रेरणा दिन्छ । यो हरेक खेलाडी हेर्नु पर्ने चलचित्र बनेको छ ।”      उहाँले खेलाडीको विषयमा चलचित्र बन्नु प्रसंशनीय रहेको बताउदै निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सलाई धन्यवाद दिनुभयो । कप्तान सुब्बाका धर्मपिता समेत रहनुभएका निर्माता श्रेष्ठले यसचलचित्रको सफलताले आगामी दिनमा खेलाडीको विषयमा चलचित्र बनाउन अन्यलाई पनि प्रोत्साहित गरेको बताउनुभयो ।       “नेपालमा खेलाडीका विषयमा बनेका चलचित्रले व्यावसायिक सफलता आर्जन गर्न नसकेका कारण अन्य निर्माताले लगानी गर्न सक्नुभएको थिएन, यद्यपि अञ्जिलाको सफलताले उहाँहरूलाई हौसला दिएको छ । मैले कप्तान सुब्बालाई लिएर देखेको सपना पनि छिटै पूरा हुने भएको छ”, निर्माता श्रेष्ठले भन्नुभयो ।       चलचित्रका निर्देशक चाम्सले धेरै खेलाडीको कथा चलचित्रमा आउन योग्य रहेको बताउनुभयो । “अब आउँदो समयमा खेलाडी वा खेलको विषयमा चलचित्र बन्ने छ, मैले केही चलचित्रको छलफल भएको सुनेको छु । यो एउटा खेलप्रेमीका लागि पनि सुखद खबर हो”, निर्देशक चाम्सले भन्नुभयो ।      आयोजित विशेष प्रदर्शनीमा एन्फाका महासचिव किरण राई, पूर्व कप्तान हरि खड्का र विराज महर्जन, खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा, महिला फुटवल सङ्घका केन्द्रीय सदस्य पेमा लामा र विना श्रेष्ठ, राष्ट्रिय महिला फुटबल टिमको म्यानेजर विन्द्रा देवानलगायत उपस्थित हुनुहुन्थ्यो । नेपालमा यो चलचित्र गत फागुन २९ देखि प्रदर्शनमा आएको हो । 

काठमाडौं: भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित  २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।  सन् २०२४ मा सङ्घको सञ्जालमार्फत नौ लाख सात हजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार आठ सय ४५ जनाको शल्यक्रिया गरिएको सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताउनुभयो ।  सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई  लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ ।  सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।  सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छभने ५३ लाख ९२ हजार दुई सय २४ जनाको आँखाको शल्यक्रिया गरेको जानकारी कार्यकारी निर्देशक मिश्रले दिनुभयो ।

काठमाडौं: यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार अन्नपूर्ण–१ सहित विभिन्न चुली आरोहणका लागि आठ आरोही समूहका १८ महिला र ४० पुरुष गरी कूल ५८ जनाले अनुमति पाइसकेका छन् ।  हालसम्म नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । विभागका निर्देशक लिलाधर अवस्थीले वसन्त यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको बताउनुभयो ।  “यो यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ, सगरमाथा आरोहणका लागि छिट्टै अनुमति दिइनेछ”, उहाँले भन्नुभयो, “सगरमाथा क्षेत्रमा आरोहणको चहलपहल बढेको छ ।”      सगरमाथा आरोहणका तयारी व्यवस्थापनमा आरोहण गराउने कम्पनी जुटेका छन् । विभागका अनुसार सगरमाथा आधार शिविरमा अहिले स्नो होराइजन, पायोनियर, सेभेनसमिट ट्रेक, सेभेन समिट क्लब, एलिट एक्सिपीडिसन, हिमालयन गाइड्स, एसियन ट्रेकिङलगायत कम्पनीले शिविर व्यवस्थापनलगायतका काम गरिरहेका छन् ।       वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् ।  वसन्त ऋतुको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले ‘आइसफल डाक्टर’ खटाएको छ । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाउन एसपीसीसीले १० जनाको टोली खटाएको हो ।       यस्तै सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ ९डोरी टाँग्ने० कामका लागि हालै दक्ष सगरमाथा आरोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय दश शेर्पा आरोहीलाई सगरमाथाको चुचुरोसम्म डोरी टाँग्नका लागि खटाएको हो । सङ्घका महासचिव ऋषिराम भण्डारीका अनुसार वसन्त ऋतुको सगरमाथा र ल्होत्से हिमाल आरोहणका लागि आरोही केही दिनअघि सगरमाथा गएका छन् ।  सन् २०२५ को वसन्त ऋतुमा सगरमाथा, ल्होत्से र आमादब्लम हिमाल आरोहणका लागि रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको छ ।