पोखरा:  पोखराको नदिपुरमा आज देखि सुरु भएको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा लिगचरणको तीन खेल सम्पन्न भएको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सुरु भएको प्रतियोग...

काठमाडौं:    प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित निकालेको छ । आज शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । गण्डकीले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि गौरी बोहोराले सर्वाधिक २६ रन बनाइन् । बलिङतर्फ गण्डकीकी रचना चौधरीले २ विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओ‌भरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो । गण्डकीका लागि अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीले अर्धशतक बनाए । अञ्जली ४८ बलमा ५१ र ज्योत्स्निका ४० बलमा ५० रन बनाएर आउट भइन् । बलिङतर्फ कर्णालीकी यमुना थारु र अञ्जु गुरुङले समान २ विकेट लिए । यो जितसँगै गण्डकी २ खेलमा २ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । गण्डकी पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । कर्णाली लगातार दोस्रो हारसहित तालिकाको पुछारमा छ ।

पोखरा:    पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तीव्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तीव्र पारिएको हो ।  पोखरा ६ लेकसाइड बाराहीचोक स्थित मैदानमा हुने प्रतियोगिताका लागि पुर्वाधार तयारीको काम चलिरहेको प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए । ‘अहिले तयारी चलिरहेको छ । करिब ६० प्रतिशतभन्दा बढी काम सकिएका छन्’ उनले भने ।  मार्सलआर्ट अन्तरगतको मुवाँथाई व्यवसायीक फाइट हो । उक्त प्रतियोगितामा सहभागि हुने सबै खेलाडी व्यवसायिक खेलाडी हुन । एक प्रतिस्पर्धा अवधारणामा रहेको प्रतियोगितामा सबै खेलाडीले नगद प्राप्त गर्नेछन् ।  ‘क्रिसमस डे’ को अवसर पारेर हुन लागेको प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरहरुको सहभागिता रहने छ । प्रतियोगितामा कुल १६ फाइट हुनेछ । वान फाइट सिस्टममा खेल हुनेछ र प्रत्येक फाइटरले खेल खेले वापत नगद समेत प्राप्त गर्नेछन्’ क्षेत्रीले भने, ‘यहाँ सबै फाइटर छनोट भएर आएका छन् । थुप्रै क्लबहरुले दर्ता गराएपनि हामीले नेपालका प्रोफेसनल खेलाडीलाई मात्र राखेका छौं । मुवाँथाईको प्रचार गर्नु हाम्रो मुख्य उदेश्य हो । यसलाई लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो ।’ विदेशीहरुले फाइट गेम निकै मन पराउने र लेकसाइडमा गर्दा खेलसँगै पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास छ ।  उनका अनुसार खेलाडीहरुका लागि खाना, बस्न र आवश्यक खेल पोशाकको समेत आयोजकले नै व्यवस्था गर्नेछ । प्रतियोगितामा एमेचर, सेमी प्रो (प्रोफेसनल) र प्रो फाइट (प्रोफेसनल फाइट) गरि तीन विधामा खेल हुनेछन् । वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले जानकारी दिए । पछिल्लो समय मुवाँथाईको लोकप्रिय विश्वमा बढ्दै गइरहेको छ । नेपालमा मुवाँथाईको व्यवसायिक खेलाडी उत्पादन गर्ने समेत लक्ष्य रहेको छ । प्रतियोगितामा खेलाडीहरुको विमा समेत आयोजकले गरेको छ । नेपाल राष्ट्रिय मुवाँथाई संघको  प्राविधिक सहयोग रहेको छ । कार्यक्रममा विभिन्न व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरुको सहयोग रहेको छ । दर्शकले निशुल्क रुपमा प्रतियोगिताको अवलोकन गर्न पाउनेछन् ।

काठमाडौं:    नेपाल सुपर लिग एनएसएल फुटबलमा वीरगञ्ज युनाइटेडलाई हराउँदै पोखरा थन्डर्स दोस्रो स्थानमा उक्लिएको छ । प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा पोखराले दशरथ रंगशालामा वीरगञ्ज युनाइटेलाई २(१ ले हरायो । पोखरालाई जिताउन जोए आइडु र स्टेफेन कोजो एनोरले गोल गरे । जोए आइडुले खेलको छैटौं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका हुन् । सुरुमा आयुष घलालने बक्सको दायाँ साइडबाट स्टेफेन एनोरलाई पास दिएका थिए । एनोरले मोसेस ग्याबाहलाई पास दिए । त्यसपछि मोसेसलले हान्ने खोजेको बल वीरगंजका खेलाडीले थोरै क्लियर गरे पनि बक्स बाहिर आइडुले भेटे र उनले कन्ट्रोल गर्दै सिधा प्रहार गरेको बलले जाली चुम्यो । वीरगञ्जका किपर दीप कार्कीले रोक्ने अवसर पाएनन् । त्यसको ५ मिनेट पछि नै वीरगञ्जले बराबरी गोल फर्कायो । सुशील लामाको प्रहार गरेको फ्रिकिकमा अकिन्स के बाफोउरले हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । तर पहिलो हाफको अन्त्यतिर स्टेफेन कोजो एनोरको क्रसमा मोसेस ग्याबाहले हेड गोल गर्दै पोखरालाई २(१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा दुवै टिमले गोल गर्न केही मौका पाए पनि सदुपयोग गर्न सकेनन् र खेल पोखराले जित्यो । यो जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको धनगढी समान अंक भए पनि पोखरा गोल अन्तरमा पछि छ । वीरगञ्ज भने ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै यथावत छ ।

पोखरा:  नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । मञ्चले गर्दै आइरहेको गतिविधि, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।  शुक्रबार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा सम्पन्न भएको अन्तरक्रियामा सहभागिहरुले पोखरा म्याराथनलाई थप स्तरीय बनाउनका लागि जोड दिए । सहभागिहरुले मञ्चका लागि सद्यैँ सहयोग गर्न तयार रहेको र आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।   कार्यक्रममा स्वागत गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले आफ्नो प्रत्यक्ष खेल जिवनपश्चात रिटायर्डको समयमा अनुभव मर्न नदिनका लागि मञ्चको स्थापना भएको बताए । उनले खेलकुदको विकाससँगै हाल रहेको पोखरा रंगशालालाई अतिक्रमणको चपेटाबाट बचाउने काम समेत मञ्चले नै गरेको सुनाए । आफुहरुले लामो समयदेखी के गरिरहेको छ भन्ने सबै कुराको जानकारी आजिवन सदस्यलाई गराएको हो । मञ्चले आयोजना गर्ने अन्तर्राष्ट्रिय म्याराथन प्रविधीमैत्री हुँदै जादा थप चुनौतीहरु बढेको सुनाउँदै मञ्चका लागि योगदान दिने दिवंगत भएका सदस्यहरुलाई समेत सम्झिए ।  मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्चको उदेश्य, लक्ष्य, सफल पोखरा म्याराथन र दिवंगत भएका मञ्चका सदस्यहरुको बारेमा प्रस्तुति दिएका थिए । उनले पोखरा म्याराथन नेपालकै जेठो रहेको र पछिल्लो समय एम्स र वल्र्ड म्याराथनसँग जोडिएपछि थप चर्चा पाएको बताए । उनका अनुसार मञ्चमा रहेका ३२ जना सदस्यहरुको मृत्यु भइसकेको छ । मृत्यु भएकाहरुले गरेको योगदान अविस्मरणीय रहेको उनको भनाई थियो । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्षसमेत रहेका गुरुङले म्याराथनलाई थप सुरक्षित बनाउनका लागि यो वर्ष सबै इभेन्टमा चिपको जडान गर्ने तयारी भइरहेको र म्याराथनलाई प्रविधिमैत्री बनाउनका लागि फारम दर्तादेखी धावकले प्रमाणपत्र सम्म अनलाइनमै पाउने व्यवस्थाको तयारी गरेको सुनाए ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अन्तर्राष्ट्रिय म्याराथनका लागि आफुहरुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा म्याराथनलाई खेलकुदको ठूलो मेलाको रुपमा मनाउनुपर्नेमा उनले जोड दिए । म्याराथनले खेलकुदमात्र नभई समग्र पोखराको पर्यटन क्षेत्रलाई समेत टेवा पुगेको उनको भनाई थियो । पोखरा महानगर म्याराथन सँग जोडिएको र यसलाई व्यवस्थित र स्तरीय बनाउनका लागि छलफल गरि अघि बढ्ने समेत सुनाए । कृषि विकास बैंकका निर्देशक घनेन्द्र अधिकारीले अब सफल म्याराथनका लागि आयोजकले हरेक वर्ष सहयोग माग्नुभन्दा अलि जोड गरेर वार्षिक कार्यक्रममा पार्नका लागि पहल गर्नुपर्ने बताए । उनले कृषि विकास बैंकले सह–प्रायोजकको भूमिका निर्वाह गर्दा आगामी दिनमा मुख्य प्रायोजककै रुपमा रहन सक्ने समेत सुनाए । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितासँग जोडिन पाउनु खुसीको कुरा रहेको र बैंकको तर्फबाट वार्षिक कार्यक्रम अन्तरगत पार्नका लागि आफुले पनि केन्द्रमा कुरा राख्ने उनको भनाई छ ।  अन्तरक्रियामा सहभागि भएका सहारा क्लब पोखराका पुर्वअध्यक्ष विक्रम थकालीले आर्थिक रुपमा सबल हुँदै थप खर्च गरेर म्याराथनलाई स्तरीय बनाउन सुझाव दिए । उत्तम जोशीले म्याराथनलाई थप प्रभावकारी बनाउन विभिन्न सहयोगी संघ संस्था, क्लब, आमा समूहलाई समेत उचित तरिकाले समेट्नुपर्नेमा जोड दिए ।  जगन गुरुङले मञ्चमा आबद्ध सदस्यमध्ये श्रीमानको मृत्यु भए श्रीमती र श्रीमतीको मृत्यु भए श्रीमानलाई मानार्थ सदस्य दिनका लागि पहल गर्न अनुरोध गरे । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चलाई थप बलियो बनाउने काम आजिवन सदस्य र खेलाडीहरुको रहेको सुनाउँदै म्याराथनलाई सफल बनाउन सबै ठाउँबाट सहयोग गरिदिन आग्रह गरे ।  म्याराथनका मुख्य संयोजक दिलबहादुर गुरुङले अन्तरक्रिया कार्यक्रमले २२ वर्षअघिको मञ्चको झल्को दिएको सुनाए । उनले मञ्चको स्थापनाकालदेखिका सदस्यहरुलाई समेत देख्न पाउँदा खुसी लागेको र अब मञ्चमा अग्रज खेलाडीमात्र नभई युवा खेलाडीलाई समेत समेट्न आवश्यक रहेको सुनाए ।  सोही अवसरमा मञ्चमा नयाँ आजिवन सदस्य लिने व्यक्तिहरुलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरेको छ । मञ्चले आगामी फागुन ५ गते म्याराथन आयोजना गर्दैछ । म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिला हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर, छात्र÷छात्रा ५ किलोमिटर, ह्विलचियर, दृष्टिविहिन र रन फर फनको आयोजना गर्दै आइरहेको छ ।   

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता आगामी पुष २६ देखि २८ गते सम्म सञ्चालन हुन भएको छ ।  माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो संस्करणको गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता पुष २६देखि २८ गतेसम्म सञ्चालन हुन लागेको हो ।  गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् भने , सेमिफाइलनबाट बाहिरिने दुईटिमलाई नगद ५०÷५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पत्र प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उल्कृष्ट स्पाइकर,मिडल ब्लकर,डिफेन्डर, सेटर,सर्भर खेलाडीलाई नगद रु ७÷७ हजार र उत्कृष्ट प्रशिक्षकलाई ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।  प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क नगद रु ५ हजार रुपैया रहेको छ ।                                                                                       युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् । खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको  र  गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिककृष्ण अर्यालले बताए । गाउँपालिका सामाजिक विकास समिति संयोजक हरि ब.क्षेत्रीले खेल अवधिका लागि आयोजकले सहभागी खेलाडीहरुको विमा गर्ने उल्लेख गरे ।   

पोखरा:    आगामी फागुन पहिलो साता हुने सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई शान्ति निकेतन बोर्डिङ स्कुलले साथ र सहयोग गर्ने भएको छ ।  नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतनले समेत साथ दिने भएको हो । प्रत्यक्ष रुपमा खेलाडी तथा विधार्थीको जिवनसँग समेत जोडिएको विषय खेल क्षेत्र भएकाले म्याराथनमा विधालयको समेत सहभागिता रहने भएको हो ।  शान्ति निकेतन बोर्डिङ स्कुलका प्रिन्सिपल महेश्वर पराजुलीले विधालय सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा जोडिन पाउनु खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन् । विधालय खेलकुदको माध्ययमबाट विधार्थीहरुमा शारिरीक एवं मानसिक विकास गर्ने कुरामा कटिबद्ध रहेको र सोही अनुरुप विभिन्न खेल गतिविधि समेत गर्दै आइरहेको सुनाए । पराजुलीले म्याराथनको सफलताको शुभकामना दिदैँ विधालयको तर्फबाट गर्न सक्ने सहयोग गर्नेसमेत बताए ।  म्याराथनको काउन्टडाउन सुरु भएसँगै मञ्चले तयारीलाई तिव्रता दिएको छ । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले तयारीलाई तिब्रता दिएको बताएका छन् । उनले पोखराको मात्र नभई देशकै ठूलो इभेन्टको रुपमा रहँदै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विधालयहरुलाई समेत जोड्ने योजनाअनुरुप आफुहरु विधालयस्तरमा पुगिरहेको जानकारी दिए । 

काठमाडौं:    युएईमा भइरहेको एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल दुबईस्थित आईसीसी क्रिकेट एकेडेमी मैदान–२ मा हुनेछ । समूह ए मा नेपाल यसअघि दुवै खेलमा पराजित भएको थियो भने भारतले एक जित र एक हारको नतिजा निकालेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसाग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । सेमिफाइनल पुग्न भारतलाई जितको आवश्यकता छ । तर नेपालले हकमा भने सेमिफाइनल पुग्न भारत विरुद्ध ‘मिराकल विन’ आवश्यक छ । अर्को खेलमा पाकिस्तानले अफगानिस्तानमाथि ठूलो जित निकाल्ने र नेपालले पनि भारत विरुद्ध सानदार जित निकाले मात्र सेमिफाइनल पुग्नेछ । यस समूहमा दुई खेल जितेको पाकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छ र सेमिफाइनल पुग्ने बलियो सम्भावना छ । भारत र अफगानिस्तानको समान २ अंक छ भने नेपाल अंकविहीन छ । यू–१९ क्रिकेटमा नेपाल र भारतबीच पछिल्लो पाँच खेलमा भारतले चार खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ । सन् २०१७ मा भएको यू–१९ एसिया कपमा नेपालले भारतमाथि १९ रनको ऐतिहासिक जित हात पारेको थियो । २०१८ मा भएको खेलमा भने नपाल भारतसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

पोखरा:   पोखरामा सोमबारबाट माविस्तरीय (कक्षा ९–१२) लक्षित प्याब्सन स्पोर्टस मिट २०८० सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीको आयोजनामा उक्त स्पोर्टस मिट तिन दिन सम्म सञ्चालन हुने छ । उक्त प्रतियोगिताको एक कार्यक्रमका विच शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्विका प्रसाद आचार्यले गरेका छन् । सो अवसरमा बोल्दै निर्देशक आचार्यले यस प्रकारका प्रतियोगिताले भाइचाराको सम्वन्धलाई बलियो बनाउने संगै समाजलाई समेत अनुशासनतर्फ डोर्याउन भूमिका खेल्ने बताए । विद्यार्थीहरुकमा रहेको अन्र्तनिहित क्षमता प्रस्फुटन गर्दै शिक्षकहरुका विच समेत यस प्रकारका कार्यक्रम ल्याइनुपर्ने कुरामा जोड दिए । पोखरालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न सिकाई संगै यसका सर्वपक्षिय विषयहरुलाई समेटेर लैजानु पर्ने उनको भनाई थियो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षाको विकासका लागि खेलकुद सिकाईको अभिन्न पाटो रहेको उल्लेख गर्दै खेलकुदले मानवजिवनका लागि आवश्यकताका रुपमा रहेको अनुशासनलाई समेत स्थापित गर्न भूमिका खेल्ने बताए ।   कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण केसीले बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद अपरिहार्य रहेको बताए । त्यसै गरि एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले खेलकुदले विद्यार्थीहरुको सिकाईमा सकारात्मक प्रभाव पार्ने औंल्याउँदै राष्ट्रको गौरव बढाउन खेलकुद अपरिहार्य रहेको उल्लेख गरे । प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उमा लामिछाने र सचिव पुष्पराज पराजुलीले समेत आफ्ना भनाई राखेका थिए । सो अवसरमा प्याब्सन कास्कीले विभिन्न समयमा आयोजना गरेका अतिरिक्त कृयाकलापमा विजेता विद्यार्थी तथा विद्यालयहरुलाई ट्रफी तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । यसै विच पहिलो दिन भएको छात्र भलिबलमा सोसियल पव्लिकले वेष्ट पोइन्टलाई २५–१८, २५–१४ ले, पश्चिमाञ्चलले विद्या निकेतनलाई २५–११, २५–१४ ले, केफले प्रतिभालाई २६–२४, २८–२६ ले, टप्सले पोखरा लनर्सलाई २५–४, २५–९ ले, स्पाइरल ग्यालेक्सीले हाभर्डलाई २५–१२, २५–१८ ले, रेन्वोले एक्स आर्मीलाई २५–११, २५–१४ ले, ताराकुञ्जले बालप्रभातलाई १५–२५, २५–२१ र २५–१९ ले, गुरुकुलले पोखरा युनाइटेडलाई २५–१२ र २५–१५ ले जित्दै दोश्रो चरणमा प्रवेश गरेको भलिबल संयोजक मोहनलाल पौडेलले जानकारी दिए । त्यस्तै छात्रा भलिबलतर्फ टप्सले विभुतीलाई २५–४, २५–६ ले, गुरुकुलले पश्चिमाञ्चललाई २५–२२, २५–१४ ले, नेशनल इन्भेन्टिभले नेपाल आदर्शलाई २५–२१, २५–१४ ले, केफले पोखरा युनाइटेडलाई २५–१६, २५–१२ ले र प्रतिभाले सवलाइमलाई २५–१५, २५–१३ को सोझो सेटमा पराजित गरे । त्यसै गरि सोमबार पहिलो चरणका छात्र–छात्रा टेबुल टेनिसका खेलहरु जारी रहेको संयोजक विष्णु तिमिल्सिनाले जानकारी दिए । बास्केटबल छात्रतर्फ सोमबार ८ खेल सम्पन्न भएको बास्केटबल प्रतियोगिताका संयोजक विधान गौतमले जनाएका छन् । गौतमका अनुसार बास्केटबल उद्घाटन खेलमा प्रतिभा माविले पोखरा लनर्सलाई ३१–१४ ले पराजित गरेका छ भने अन्य खेलमा स्पाइरल ग्यालेक्सी, मेरीगोल्ड, केफ, स्टेप वाई स्टेप, कुमुदिनी, मनकामना र बालोदयले पहिलो चरणका खेलहरु जितेका छन् । स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल र छात्र–छात्रा टेबुल टेनिस हुने स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिएका छन् । स्पोर्टस मिटमा छात्र भलिबलमा २२ टिम र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ टिम र छात्रातर्फ १२, यसै गरी टेबुल टेनिस छात्र सिंगल्समा २६ र छात्रा तर्फ २४, टेबुल टेनिस छात्र(छात्रा डबल्समा १४–१४ टिमको सहभागिता रहेको छ ।

पोखरा:   नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरामा हुने सबैभन्दा ठूलो इभेन्ट सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । पोखरामा आयोजना हुने लोकप्रिय अन्तर्राष्ट्रिय म्याराथनका लागि मञ्चले विभिन्न उपसमितिहरु गठन गरि तयारीमा जुटेको हो ।  हरेक वर्षको फागुन महिनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणको आयोजनाका लागि वैदेशिक समन्वयसहित विभिन्न उपसमितिसँगै आगामी शुक्रबार मञ्चले वृहत अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ ।  मञ्चले सोमबार बैठक बस्दै जिम्मेवारी बाडफाड गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । उनले म्याराथनको तयारी सँगै संस्थालाई अझ बढी प्रभावकारी बनाउनका लागि पोखरा उद्योग वाणिज्य संघमा शुक्रबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए ।  संस्थाका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले मञ्चको गरिमा उचाईमा पु¥याउने अग्रज तथा स्वर्गवास भएका व्यक्तिहरुका परिवारसँग थप सल्लाह र सुझाव ग्रहण गर्ने उदेश्यका साथ अन्तरक्रिया कार्यक्रम गर्न लागेको बताए ।  संस्थाका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङले सफल पोखरा म्याराथनलाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यका साथ तयारी तिब्र पारिएको सुनाए । बैठकमा सडक सुरक्षा, खेलाडी व्यवस्थापन, स्वास्थ्य लगायत विभिन्न विषयमा गम्भिर छलफल भएको थियो ।  म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकमा अध्यक्ष हरि प्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, प्राविधिक अन्तर्राष्ट्रिय संयोजकमा संस्थापक अध्यक्ष खड्क रानाभाट र निवर्तमान अधयक्ष तेज बहादुर गुरुङ, अनुगमन तथा निरीक्षणमा दिद्धितीय उपाध्यक्ष खेम गुरुङ, स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना, पर्यटनमा गणेश भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल, प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक, सुरक्षा समन्वयमा हरि बहादुर बरुवाल, बसोबासमा दिनेश कुमार श्रेष्ठ, ,्स्वयमसेवक परिचानलमा ओमबहादुर गुरुङ, प्रमाणपत्र तथा मेडलमा पुष्पा श्रेष्ठ, खेलकुद संघ संस्थामा याम बहादुर गुरुङ, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा रामबहादुर क्षेत्री, खाजा व्यवस्थापनमा भरत कुमार आले, वस्तुगत प्रायोजक समन्वयमा हरिश्वर पोखरेल, फिजियोथेरापीमा डा। खड्ग सिंह गुरुङ, रुटमा पानी व्यस्थापनमा जुमप्रसाद गुरुङ, संघ संस्था समन्वयमा सम्मर बहादुर श्रेष्ठ, सेलिब्रेटि समन्वय निरज थापा, ह्विचियर र दृष्टिविहिन खेल व्यवस्थापनमा अमृत बराल संयोजक रहेका छन् ।  यस्तै वैदेशिक तर्फ सुके समन्वय संयोजकमा सल्लाहकार महेश गुरुङ, अमेरिका समन्वयमा सोम गुरुङ, अष्टे«लिया समन्वयमा चन्द्र प्रकास गुरुङ, सर्विया समन्वयमा खोप बहादुर गुरुङ र हङहङ समन्वयमा रक्स गुरुङलाई संयोजक रहेका छन् ।