पोखराको लामाचौरमा आयोजित लामाचौर तीज महोत्सव २०७९ लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा विभागीय नेपाल एपिएफ क्लबले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । लगातार दोस्रो हारसँगै मणिमुकुन्द समूह चरणबाटै बाहिरिएको छ । अब यो समूहबाट पुलिस र एपिएफबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ । पुलिसले शनिबार मणि मुकुन्दमाथि ३–१ को सेटमै जित निकालेको थियो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी माविको भलिबल कोर्टमा एपिएफले शुरुवाती सेट २०–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट २५–१९, २५–२२ र २५–१९ ले जित्न सफल भएको थियो । गण्डकी र आर्मीको खेल पुनः स्थगित लामाचौर तीज महोत्सव–२०७९ अन्तर्गत लामाचौर कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल पुनः स्थगित भएको छ । लाइट प्रोटेस्टका कारण शनिबार पनि स्थगित भएको खेल आइतबार पनि स्थगित हुन पुगेको आयोजक नव आदर्श सामुदायिक विकास समाजले जनाएको छ । पोखरामा लगातार वर्षाका कारण खेल निर्धारित समयमा शुरु हुन सकेको थियो । आइतबार भएको पहिलो सेटमा गण्डकीले आर्मीमाथि २५–१९ को सेटमा जित निकालेको थियो । लाइट प्रोटेस्ट लाग्ने पक्का भएपछि नै दुवै टोलीले नयाँ खेलाडीलाई मौका प्रदान गर्दा गण्डकीले बाजी मारेको हो । अब यो खेल सोमबार शुरुबाटै हुनेछ । यसअघि शनिबार आर्मीले पहिलो सेट ३१–२९ ले जितेपछि खेल स्थगित भएको थियो । वर्षाका कारण महिलातर्फको एक खेल पनि हुन सकेको छैन । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ एपिएफ अन्तिम समयमा सहभागी भएनन् । महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ । दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टले पनि पुरस्कार प्राप्त गर्नेछ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कास्की जिल्लाबाट प्याराग्लाइडिङ खेलाडी छनोट भएका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ गण्डकीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यही भदौ ११ देखि १८ गतेसम्म पोखरामा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरेको सङ्घका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का सदस्य वसन्तराज दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशस्तरीयका लागि दुई छुट्टाछुट्टै खेलका लागि खेलाडी छनोट गरिएको हो । छनोट हुनेमा पुरुष क्रसकन्ट्रितर्फ विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र शेरबहादुर गुरुङ हुनुहुन्छ । त्यसमा आशिष थापा वैकल्पिकका खेलाडीका रुपमा हुनुहुन्छ । पुरुष एकुररेसीतर्फ रिकी पोडे, सुमन थापा, अमित थापा, सागर नेपाली र हरि थापा रहनुभएको छ । त्यसमा विष्णु गौतम वैकल्पिकका रुपमा हुनुहुन्छ । महिलातर्फको क्रसकन्ट्रिमा त्रिशा श्रेष्ठ र सुष्मिता सुनुवार तथा महिला एक्युरेसीमा कृषु पौडेल र रितु श्रेष्ठ रहनुभएको छ । छनोट भएका खेलाडीले भदौ १६ देखि १८ गतेसम्म पोखरामा हुने प्रदेशस्तरीय छनोटमा सहभागिता जनाउने कास्की जिल्ला खेलकुद कार्यालयका प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।
पोखरामा ३९ वर्षपछि हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उसुको महिला तथा पुरुष छनोट सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार ति दुईसहित शनिबार अन्य दुई खेलको छनोट सम्पन्न भएका हुन् । नवौका लागि अमृत गुरुङको कप्तानीमा दुई वैकल्पिक सहित १४ खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा अनिल गुरुङ, मुस्कान थापा, अभिषेक थापा, सुभाष भण्डारी, आयुष सैञ्जु, कृष्ण पौडेल, किरण पौडेल, विपिन खत्री, सुदिप पौडेल, विधान श्रेष्ठ, विश्वास पराजुली, सचेत कार्की र अर्जुन कुमाल छन । त्यसै गरी बैकल्पिकमा नितेश गिरी र सिवरिन श्रेष्ठ रहेका छन् । त्यसै गरी महिला क्रिकेटतर्फ सृष्टी जैशीको कप्तानीमा १४ सहित ४ जना बैकल्पिक खेलाडी छनोट हुन सफल भएको जिल्ला खेलकुदकी कोषाध्यक्ष कञ्चन थापाले जनाएकी छन् । छनोट हुन सफल खेलाडीहरुमा सिता रेग्मी क्षेत्री (उपकप्तान), सृजना पौडेल, सुजाता थापा, गंगा बस्नेत, पेम्वा लेम्वु शेर्पा, यशोदा भुजेल, विनिता नेपाली, श्रद्धा गुरुङ, एलिना विक, सजना खत्री, रचना चौधरी, विन्दु थापा र सम्झना विक रहेका छन् । त्यसै गरी वैकल्पिकमा विनिता सिग्देल, आश्ना पौडेल, रिया गुरुङ र शुसिला तामाङ रहेका छन् । उसुमा छनोट हुन सफल खेलाडीहरु कास्की जिल्लामा सम्पन्न उशुतर्फ महिला र पुरुष गरी १९ जना खेलाडी छनोट हुन सफल भएका छन । उसुको पुरुष सान्सौतर्फ विभिन्न तौलमा ९ जना र महिलातर्फ ७ गरी १६ जना र छानछवान पुरुषतर्फ मिग्मा छिरिङ लामा, महिलातर्फ सोफिया गुरुङ, नानछवान पुरुषतर्फ निश्चल रोक्का, महिलातर्फ विनिता राई, थाइची छवान पुरुषतर्फ प्रयास मगर छनोट हुन सफल भएका छन् ।
पोखराको लामाचौरमा आयोजित तीज महोत्सवमा शनिबारदेखि सुरु भएको लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा शनिबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी मावि प्राङ्गणमा भएको खेलमा पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भएको हो । पहिलो सेट २८–३० ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५–१२, २५–१२ र २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो । यस्तै पुरुषतर्फकै विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेटमा आर्मी ३१–२९ ले विजयी भएको थियो । त्यसपछि लाइट प्रोटेस्टका कारण खेल स्थगित भएको र आइतबार शुरुदेखि नै खेल हुने आयोजकले जनाएको छ । नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा चार दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमको सहभागिता रहेको छ । महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ टिम अन्तिम समयमा सहभागी नभएको आयोजकले जनाएको छ । महिलातर्फ नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र गण्डकी प्रदेशको टिमले भाग लिएका छन् । पुरुषतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमको सहभागिता रहेको छ । दुवै विधातर्फको विजेताले समान १ लाख ५० हजार १ सय ११, उपविजेताले १ लाख १ सय ११ र तेस्रो हुनेले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीसहित विधागतरुपमा उत्कृष्टलाई आकर्षक पुरस्कार दिइनेछ ।
सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि रु ६० करोड बजेट छुट्याएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रु ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । उहाँले उक्त रकम तीन पटक गरेर लिनेसमेत जानकारी दिनुभयो । पहिलो चरणमा रु १० करोड, दोस्रो चरणमा रु २३ करोड र तेस्रो चरणमा रु २७ करोड लिने बताउनुभयो । सरकारले पहिलो चरणको लागि रु १० करोड रकम भने विनियोजन गरिसकेको छ । उक्त रकम विभिन्न प्रदेशमा प्रतियोगिताको तयारीको लागि पठाइसकेको सदस्य सचिव घिसिङले जानकारी दिनुभयो । राखेपले उक्त प्रतियोगिताको काउन्टडाउनसमेत सुरु गरिसकेको छ । अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ । प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा तीन सय ९३ स्वर्ण तीन सय ९३ रजत र छ सय कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलस्थल भने यही भदौ १५ गतेसम्म टुङ्गो लाग्ने राखेप सदस्य सचिव घिसिङले बताउनुभयो ।
पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि-२ र्याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप-२०२२’ तर्फ गरी १ हजार भन्दा बढी खेलाडीले आफ्नो नामा दर्ता गराएको आयोजकले जनाएको छ । काठमाण्डौमा मंगलबार एक पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे आयोजकले जानकारी दिएको हो । आगामी असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सय भन्दा वढी आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताएका हुन् । दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी र्याकिङ र पुम्से प्रतियोगिताका लागि विभिन्न एक दर्जन बढी राष्ट्रका खेलाडीहरुले आफ्नो नाम दर्ता गराइसकेको जानकारी दिए । पोखरामा र काठमाण्डौमा प्रतियोगिताको तयारी बारे भइरहेको प्रगती बारे पत्रकारहरुलाई जानकारी दिंदै मुल आयोजक समितिका सचिव समेत रहेका गुरुङले भने–“हामीले १ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका छौं जसबाट कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने छ ।’ पहिलो चरणको दर्ता प्रक्रिया यहि भदौ ९ गते सम्म जारी रहने तथा दोश्रो चरणको दर्ता भदौ १० बाट सुरु हुने उनले बताए । उक्त प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरूसहित २ हजार भन्दा बढीको सहभागीता हुने जनाइएको छ भने विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजार भन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा गरिएकोे छ । यस अघि दुई पटक सफलता पूर्वक काठमाण्डौमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो । पोखरा रंगशालास्थित बहुुउद्धेश्यीय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियरतर्फको (१४ वर्ष देखि ६० वर्ष भन्दा माथि ) क्योरोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ वटा तौल समुहमा गरी कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथि एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समितिका सदस्य एवम ओलम्पियन दिपक विष्टले जानकारी दिए । विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता स्विकृती प्रदान गरेको र उक्त मेगा तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न करिव रु २ करोड ५५ लाख खर्च हुने आयोजक समितिका सदस्य तथा गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी गराएका थिए । पत्रकार सम्मेलन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको साइक्लिङ खेल पोखरामै हुने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङ खेलकुदका लागि सोमबार खेलस्थल व्यवस्थापन समिति सहितको टोलीले साइक्लिङ खेलका लागि पोखरा र आसपासका संभाव्य खेलस्थलको अवलोकन गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राखेप सदस्य राजेशकुमार गु?ङ, सचिव एवं प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, नेपाल साइक्लिङ संघका केन्द्रीय अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, संघका सचिव देवेन्द्र बस्नेत, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, उपाध्यक्ष अशोक चालिसे लगायतको टोलीले खेलस्थलको अवलोकन गरेको हो । टोलीले पोखरा-बागलुङ हाइवेस्थित हेमजाको भाइरल रोड, आर्वाको महाप्रभुधाम, मेथलाङ र शान्ति स्तुपा लगायतको क्षेत्रलाई साइक्लिङका लागि संभाव्य खेलस्थलका रुपमा अवलोकन गरेको हो । साइक्लिङ महिला÷पुरुष दुबै इभेन्टका लागि रोड साइक्लिङ र माउन्टन रेस गरी २ क्याटागोरीका लागि टोलीले संभाव्य खेलस्थलको अवलोकन गरेको हो । रोड रेस साइक्लिङ अन्तर्गत पनि टाइम ट्रायल र मास रेस गरी २ क्याटागोरीमा साइक्लिङ प्रतियोगिता हुनेछ । जसका लागि हेमजाको भाइरल रोड अन्तर्गत याम्दीदेखि फेंदीसम्मको स्पोर्ट सर्कललाई टोलीले छनोट गरेको छ। सोही क्याटागोरीका लागि पोखरा आसपासको लामाचौर, बाटुलेचौर र महेन्द्रगुफा लगायतको स्पोटर््स सर्कललाई पनि संभाव्य साइक्लिङ स्पटको रुपमा अवलोकन गरेको छ। साइक्लिङकै माउन्टेन रेस अन्तर्गत क्रस कन्ट्री र डाउन हिल क्याटागोरीका लागि पोखरा आसपासका उच्चपहाडी क्षेत्र मेथलाङ र आर्वाको महाप्रभुधामको अवलोकन गरेको छ। टोलीले मंगलबार माउन्टेन रेस अन्तर्गतकै क्याटागोरीका लागि शान्तिस्तुपाको समेत अवलोकन गर्नेछ। माउन्टेन रेस अन्तर्गत २ छुट्टाछुट्टै पूर्वाधारहरु जुटाउनुपर्ने हुन्छ । जस्तो क्रस कन्ट्रीका लागि ३ देखि ५ कि.मि.सम्मको ट्रयाक बनाउनुपर्ने हुन्छ । डाउन हिलका लागि डेढदेखि ३ कि.मि.सम्मको ट्र्याक बनाउनुपर्ने हुन्छ । राखेपका सदस्यसहित खेलस्थल व्यवस्थापन समितिका संयोजक एवं साइक्लिङ संघका पदाधिकारी र प्राविधिकसहितको टोलीले साइक्लिङ प्रतियोगिताका लागि पोखरा उपयुक्त स्थान भएको दाबी गरेका छन्। राखेप सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेलका लागि पोखरामा सबै पूर्वाधार निर्माणसहित व्यवस्थापन गर्ने दाबी गरेका छन् । कुनैपनि खेलका लागि पूर्वाधार निर्माण र व्यवस्थापनमा कहीँ, कतैबाट पनि कमी हुन नदिने गुरुङको प्रतिबद्धता छ। गुरुङ भने, ‘हालसम्म खेलस्थलबारे निर्णय भएको छैन। अबको ९÷१० दिनभित्र टुंगो लाग्नेछ। तर, राष्ट्रिय खेलकुदकै लागि जतिपनि प्रक्रियाह? थालिएका छन् । ति सबै परिणाममुखी छन् । अब, मनाङ, मुस्ताङ र लमजुङको अवलोकनपछि सबै टुंगो लाग्नेछन्।’ नेपाल साइक्लिङ संघका अध्यक्ष गोपाल सुुन्दरलाल कक्षपतिले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङका खेलहरु पोखरामै हुने प्रष्ट पारेका छन् । साइक्mिलङका लागि यहाँका स्पटह? उपयुक्त रहेको उनको जिकिर छ । कक्षपतिले भने, ‘साइक्लिङका लागि खेलस्थलबारे कुनै दुविधा छैन । अवलोकन गरिएका संभाव्य स्थानहरुमा साइक्लिङ प्रतियोगिता गर्न सकिन्छ। बाँकी पूर्वाधारको कुरा हो, पूर्वाधार जुटाउनेबारे हाम्रो प्रयास रहनेछ।’ त्यस्तै, संघका सचिव देवेन्द्र बस्नेतले आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङका लागि हेमजाको रोड उपयुक्त रहेको बताए । संघको प्राविधिक प्रमुख समेत रहेका बस्नेतले भने ‘यो रोड, साइक्लिङको रोड रेस र टाइम ट्रायलका लागि पर्फेक्ट छ । चुनौती टेक्निकल पाटोको हो, त्यसलाई हामी पूरा गर्नेछौं। इभेन्टको बेलामा साइक्लिङ स्पोर्ट्स भेन्युलाई विस्तारित र व्यवस्थित गर्नुपर्छ।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा साइक्लिङ प्रतियोगिता राखेपको श्रोत, नेपाल साइक्लिङ संघको प्राविधिक सहयोग र कास्की जिल्ला साइक्लिङ संघको नेतृत्वमा हुने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए। नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघका पदाधिकारी तथा सदस्यहरुको बैठक बसेको छ । यसैबीच, कास्की जिल्ला साइक्लिङ संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रशिक्षण छनोटका लागि साइक्लिङको ५१ जनाको नाम सिफारिस गरेको छ । त्यसमध्ये ४० जना पु?ष र ११ जना महिला रहेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एनआरएनको १ गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुदका ३६ र २ प्रदर्शनीका खेल गरी ३८ खेलमा प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा ४ सय सात स्वर्णपदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । एउटा टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा १ टोलीमा ७ सय ८ जनासम्म खेलाडी सहभागी हुनेछन् । जसमध्ये प्रतियोगितामा कुल ७ हजार ७ सय ८८ जनासम्मका खेलाडीहरु सहभागी हुनेछन् । यही भदौको २५ गतेभित्रमा खेलाडी र प्रशिक्षकको नाम दर्ता र असोजको १० सम्ममा खेलगत इभेन्ट, खेल समयतालिका, खेलस्थलको जानकारी गराउने आयोजक राखेपको कार्यक्रम तालिका छ ।
पोखरामा सम्पन्न भएको फुटसलको उपाधि एक्यान सेन्ट्रलले हात पारेको छ । फाइनल म्याचमा पिकेएफटिआरलाई पछि पार्दै एक्यान सेन्ट्रलले उपाधि हात पारेको हो । एक्यान सेन्ट्रलले पिकेएफटिआरलाई दुई गोल गर्दै जित हात पारेको हो । ९ टिम सहभागी खेलमा दुई समुहमा विभाजन गरी खेल खेलाइएको थियो । सहभागी टिममध्ये एक्यान कास्की, एक्यान चितवन, एक्यान सेन्ट्रल र पिकेएफटिआर सेमिफाइनलमा भिडेका थिए । एक्यान कास्की र चितवनलाई पछि पार्दै फाइनलमा पुगेको पिकेएफटिआर फाइनलमा भने एक्यान सेन्ट्रलसँग हार ब्यहोर्नु पर्यो । सेन्ट्रल र पिकेएफ दुवै काठमाडौंबाट आएको टिम हो । शुक्रबार गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलको उद्घाटन गरेका थिए भने पुरस्कार वितरण तथा कार्यक्रमको समापन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्ने कार्यक्रम थियो । तर, कार्य व्यस्तताका कारण मेयर आचार्य उपस्थित हुन नसकेपछि एक्यान पदाधिकारीहरुले नै विजयी टिमलाई पुरस्कार वितरण गरेका थिए । खेलमा विजयी टिमलाई नगद १ लाख रुपैयाँ नगद मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने फस्र्ट रनर अपलाई ६० हजार रुपैयाँ नगद मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । खेलमा सबैभन्दा धेरै गोल एक्यान चितवनका सन्दीप कुमार फुँयाललाई हाइयेस्ट स्कोर उपाधि दिइएको थियो । फुँयालले ६ गोल गरेर खेलमा उत्कृष्ट प्रर्दशन गरेका थिए । यस्तै, बेस्ट गोलकिपर एक्यान सेन्ट्रलका शैलेस कट्टेलले हात पारेका छन् । पूरा खेलमा कट्टेलले १ गोल पनि गर्न दिएनन् । खेलको बेस्ट प्लेयर उपाधि एक्यान सेन्ट्रलका सुशान नगरकोटीले हात पारेका छन् । नगरकोटीले पूरा खेलमा ४ गोल गरेका थिए । खेल समुहका ९ मध्ये पिकेएफटिआरका म्यानेजर तिर्थराज अर्यालले बेस्ट म्यानेजरको उपाधि हात पारे । बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट गोलकिपर, टप स्कोरर र बेस्ट म्यानेजर पाँचै जनालाई नगद ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । फुट्सल टुर्नामेन्टको आयोजना चार्टर्ड एकाउन्टेन्स संघ९एक्यान०कास्कीले गरेको थियो । यसअघि चितवनमा पनि फुट्सल टुर्नामेन्ट आयोजना गरिएको थियो । कार्यक्रममा एक्यान पदाधिकारीहरुले सातै प्रदेशमा फुट्सल टुर्नामेन्ट गर्दै जानुपर्ने बताएका थिए ।
आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट आजदेखि सुरु गरेको छ । असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ खेलका लागि कास्कीसहित नवलपुर, स्याङ्जा, गोरखा र बागलुङमा प्रशिक्षण सुरु गरिएको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् । आगामी तीन साताका लागि तय गरिएको विशेष प्रशिक्षणमा सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्वीमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेल रहेका छन् । परिषद्ले प्रदेशका ११ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखको छलफल पछि पहिलो चरणको खेलाडी छनोट र प्रशिक्षण सुरु गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीमा दुई चरणमा खेलाडी छनोट गरिनेछ । पहिलो चरणमा १४ वटा खेललाई विशेष प्रशिक्षणपछि प्राविधिक टोलीले सोझै खेलाडी छनोट गर्नेछ भने दोस्रो चरणमा २२ वटा खेलको जिल्ला छनोट प्रतियोगिता हुने प्रमुखले जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ । सदस्य सचिव गुरुङले २२ खेलका लागि जिल्ला छनोट प्रतियोगिता भदौ ९ देखि १२ गतेसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको बताउनुभयो । विशेष प्रशिक्षण र जिल्ला छनोटपश्चात् पोखरामा भदौ १५ देखि १८ गतेसम्म अन्तिम छनोट तालिका तय गरिएको छ । परिषद्ले अन्तिम छनोट भएका खेलाडीलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म आवासीय सुविधासहित पोखरामा बन्द प्रशिक्षणमा राखिने जनाएको छ । पोखरा रङ्गशालामा आज प्रदेशमा खेलाडी छनोटको शुभारम्भ गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बजेट अभावमा खेलाडीको प्रशिक्षण र आधारभूत सुविधाबाट वञ्चित हुन नदिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सफल पार्न आयोजक प्रदेशका हिसाबले गण्डकी प्रदेश सरकारका प्रतिबद्ध छ । खेलाडीलाई बजेट अभावमा आधारभूत सुविधाबाट वञ्चित गरिने छैन, प्रतियोगितालाई बजेटको कमी हुन दिइनेछैन ।” प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको चिनारीका लागिसमेत आवश्यक रहेको बताउँदै राष्ट्रिय प्रतियोगिता सबै मिलेर सफल पार्नुपर्ने बताउनुभयो ।

