काठमाडौँ : नेपालकी सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतको गोलमा छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल थप्यो । नेपालकी चर्चित फरवार्ड खेलाडी सावित्राले खेलको पहिलो हाफको १२ औँ मिनेटमा एक गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । भुटानकी गोलरक्षक सङ्गीता मोनगेर गोलपोष्टबाट अघि बढ्दै बल क्यिर गर्न खोज्ने क्रममा नेपालकी अमिशा कार्कीले दिएको पासलाई सदुपयोग गर्दै सावित्राले गोल गरिन् । यसै खेलबाट राष्ट्रिय सिनियर टिममा अमिशाले डेब्यु गरेकी हुन् । यसैगरी खेलको ६८ औँ मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरिन् । खेलको दोस्रो हाफको सुरुआती समयमा नै मैदान प्रवेश गरेकी रेखाकुमारी पौडेलको पासलाई सदुपयोग गर्दै सावित्राले वान भर्सेस वान टचमा गोल गरेकी हुन् । खेलको ७३ औँ मिनेटमा नेपालकी मिडफिल्डर अनिताले भुटानका दुई मिडफिल्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरिन् । खेलको ८५औँ मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को सहज जित दिलाइन् । नेपालकी अनिता केसीको क्रस बललाई भुटानी गोलरक्षकले पञ्च गरेर बाहिर फालेको बललाई सदुपयोग गर्दै अनिताले गोल गरेकी हुन् । खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले खेलको पहिलो हाफमा वर्षाका कारण खेलाडीले सोचेअनुरुपको खेल प्रदर्शन गर्न नसकेकेको बताउनुभयो । उहाँले खेलको दोस्रो हाफमा भने खेलाडीले राम्रो खेलको बताउँदै भुटान राम्रो टोली भएको टिप्पणीसमेत गर्नुभयो । त्यसैगरी भुटानकी सहायक प्रशिक्षक टङ्कमाया घलेले नेपाल फिजिकली रुपमा स्ट्रोङ भएको कारणले पनि आफ्नो टोली पराजित हुन पुगेको बताउनुभयो । उहाँले अर्को खेलमा भने राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । नेपालले अब यही भदौ २७ गते समूह चरणको दोस्रो खेल श्रीलङ्कासँग खेल्नेछ । साफ च्याम्पियनसिपअन्तर्गत भोलि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे डिफेन्डिङ च्याम्पियन भारत र पाकिस्तानबीच हुनेछ । दोस्रो खेल बङ्गलादेश र माल्दिभ्सबीच हुनेछ । उक्त खेल ५ः३० बजे हुनेछ ।
पोखरा : ३९ वर्ष पछि पोखरामा आयोजना हुने लागे नवौँ राष्ट्रिय खेलकुदका लागि साइक्लिङ खेल विधातर्फ महिला तथा पुरुष खेलाडी छनोट भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुदमार्फत खेलाडी छनोट गरेको हो । पोखराका विभिन्न स्थानमा साइक्लिङ प्रतियोगितामार्फत नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोट गरिएको कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष एवं प्रतियोगिता संयोजक शङ्कर भण्डारीले जानकारी दिनुभयो । राष्ट्रिय खेलकुदका लागि महिलातर्फ प्रदेशबाट ‘क्रसकन्ट्री’ विधामा कास्कीका हिमान्सु राई, सोफिया विक, सदीक्षा भण्डारी छनोट हुन सफल हुनुभयो । यसैगरी ‘रोड रेसमा’ निकिता परियार, बविता परियार, स्पर्श उदास र पवित्रा परियार छनोट हुँदा ‘डाउन हिल’तर्फ जमुना थापा छनोटमा पर्नुभएको छ । छनोट प्रतियोगितामा कास्कीबाहेक अन्य जिल्लाले साइक्लिङमा सहभागिता जनाएका थिएनन् । यसैगरी पुरुषतर्फ गण्डकी प्रदेशबाट प्रतियोगिताको ‘क्रस कन्ट्री’ विधामा कास्कीका हिक्मत विक, स्याङ्जाका सन्दीप सुधौली, तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट हुनुभयो । ‘डाउन हिल’तर्फ कास्कीका अजय क्षेत्री र सुजन अधिकारी छनोट हुँदा ‘रोड रेस’तर्फ कास्कीका सुमित गुरुङ र सुवास लामा छनोट भएको संयोजक भण्डारीले जानकारी दिनुभयो । कास्कीबाट पुरुषतर्फको ‘क्रस कन्ट्री’मा हिक्मत विक, अनिल विक, आलोकश्री खड्का र अजित बराल, ‘डाउन हिल’तर्फ अजय क्षेत्री, सुजन अधिकारी र ‘रोड रेस’मा सुमित गुरुङ र सुवास लामा छनोट हुनुभएको छ । प्रतियोगिता क्रस कन्ट्री र रोड रेस पोखरा–१८ मेथलाङडाँडा र डाउन हिल पोखरा–२२ स्थित रानीवन–तितेपानी क्षेत्रमा सञ्चालन भएको थियो । नवौँ राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताका लागि प्रदेशको छनोट खेल सम्पन्न भएका छन् भने खेलस्थलको अन्तिम टुङ्गो लगाउने काम भइरहेको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताउनुभयो । प्रतियोगिताको एक महिनाभन्दा अगावै खेलाडी छनोट सम्पन्न गरेको गण्डकीले नवौँमा राम्रो नतिजाका लागि असोज १ देखि बन्द प्रशिक्षण सञ्चालन गर्न लागेको छ । छनोट हुन सफल खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइने प्रदेशले जनाएको छ । यसैगरी परिषद्ले पदकको बढी आशा भएका विभिन्न छ खेलका एक सय खेलाडीलाई मनाङमा दुई साताको उच्च पर्वतीय (हाइ अल्टिच्युड) प्रशिक्षण दिइने जनाएको छ । भलिबल, बास्केटबल, कराते, आइटीएफ तेक्वान्दो, फूलकन्ट्याक्ट कराते र तेक्वान्दोका खेलाडीलाई असोज १ देखि १५ गतेसम्म हाइअल्टिच्युड प्रशिक्षण सञ्चालन गर्न लागिएको हो ।
काठमाडौँ : छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसलाई दुई समूह ए र बी मा विभाजन गरिएको छ । नेपाल समूह बी समूहमा परेको छ । नेपालको समूहमा श्रीलङ्का र भुटान छन् । समूह ए मा भने भारत, बङ्गलादेश र माल्दिभ्स छन् । समूह चरणको दोस्रो खेलमा नेपालले श्रीलङ्कासँग खेल्नेछ । यस खेल भने भदौ २७ गते हुनेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । आजको उद्घाटन खेल नेपाल र भुटानबीच साँझ ५ः३० बजे हुनेछ । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गर्ने दाउमा छ भने भुटान पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरवात गर्न चाहन्छ । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुमार थापाले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने र पहिला लिग चरणमा नै आफ्नो टोलीको ध्यान केन्द्रित रहने बताउनुभयो । नेपालले हालसम्म साफ च्यापियनसीपको उपाधि जित्न सकेको छैन । भुटानकी प्रशिक्षक क्युङ सुक होङले भने प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको जानकारी दिनुभयो । नेपाली टोलीमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, हीराकुमारी भुजेल, अमृता जैसी (उपकप्तान), गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक र विमला चौधरी छन् । यसैगरी टोलीमा मञ्जलीकुमारी योञ्जन, प्रिती राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिशा कार्की, रेखाकुमारी पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ छन् ।
पोखरा : कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा आयोजित प्रदेश स्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न भएको छ । पोखरा रंगशालामा आयोजना भएको पावरलिफ्टिङ खेलमा विभिन्न तौल समूह बीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा भाग लिन २८ जना पुरुष र १६ जना महिला गरि ४४ जना सहभागी भएका थिए । प्रतियोगितामा पुरुष तर्फको ओभरअलमा रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले पदक जितेका छन् । ८३.१ देखि ९३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा गुरुङले ५५० केजी तौल उठाएर स्वर्ण समेत हात पारे । त्यसै गरि बुल्स जिमका चेतबहादुर थापाले ४४० केजी उठाएर रजत पदक जिते भने अरबिन्द थापाले ४३५ उठाएर कास्य पदक जिते। त्यसै गरि ६६।१ देखि ७४ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टर कै करण ताज्याले स्वर्ण जिते । ताज्याले समग्रमा ४९० केजी तौल उठाएका थिए । त्यस्तै बिकास गुरुङले ३८० केजी उठाएर रजत पदक जिते भने पावर जिमका रमजन अलिले ३७० उठाएर कास्य पदक जिते। त्यस्तै ७४.१ देखि ८३ केजी तौल समूह बीच भएको प्रतिस्पर्धामा ड्रिम जिमका सुरज पौडेलले ४६७.५ तौल उठाएर स्वर्ण जिते भने बार स्क्वाडका जस्पेर गुरुङले ४४५ केजी उठाएर रजत पदक जिते। त्यस्तै बबिन पुनले ४३० केजी उठाएर कास्य जिते। त्यस्तै ५९.१ देखि ६६ केजी तौल समूहमा क्रमश बिबेक गुरुङ (४४० केजी), बिबेक खडका (४०२.५ केजी) र मौलादीन मिया (३२० केजी) पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५९ केजी भन्दा कम तौल समूह बीच भएको प्रतिस्पर्धामा क्रमश किसन गुरुङ (३४२.५ केजी), संदेश गुरुङ (३४० केजी) र युनिक गुरुङ (३१२.५ केजी) पहिलो, दोस्रो र तेस्रो भए । ९३ केजी भन्दा बढी तौल समूह बीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टरका सनिस श्रेष्ठले समग्रमा ५४० केजी तौल उठाएर स्वर्ण पदक हात पारे । त्यस्तै क्रमश सुमिन परियार (४५७.५ केजी) र प्रथम श्रेष्ठ (४५२.५ केजी) दोस्रो र तेस्रो भए । महिला तर्फ भएको ६३ केजी भन्दा बढी तौल समुहमा व्यायामशालाका शर्मिला शाह (३९० केजी) ले स्वर्ण पदक जितिन्। त्यस्तै सरस्वती गुरुङ ( ३३२.५ केजीं र गुडु थापा (३२३ केजी) क्रमश दोस्रो र तेस्रो भए । ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर (२७५ केजी), एनिमाया दर्जी (२४४ केजी) र सोनी गुरुङ (२४१ केजी) क्रमश पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमश लक्ष्मी राना मगर (२७५ केजी) , एनिमाया दर्जी (२४४ केजीं) र सोनी गुरुङ (२४१ केजी) क्रमश पहिलो, दोस्रो र तेस्रो भए । त्यस्तै ५५ केजी भन्दा कम तौल समूहमा क्रमश सपना गुरुङ (२७७.५ केजी) , पदमा थापा (२७० केजी) र सुस्मिता पौडेल (२२३ केजी) क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।
पाल्पा: माउण्ट एभरेष्ट युवा क्लबले बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाले ‘स्वस्थ्यका लागि खेलकुद, खेलकुदका लागि माउण्ट एभरेष्ट युवा क्लब’ भन्ने नारासहित आयोजना गरेको बगनासकाली साविक वडास्तरीय भलिबल प्रतियोगितामा जनज्योती युवा क्लब दान्सिंघा (वडा नम्बर ६) च्याम्पियन भएको छ । शहिद केवल गाहा ‘कुँवेर’ स्मृति खेलमैदानमा आज (आइतबार) सम्पन्न फाइनल खेलमा नवप्रभात युवा क्लब गोपाल्दी (वडा नम्बर ९) लाई २५–१९, २५–२१ र २५–१६ को सेटमा पराजिल गर्दै दान्सिंघा च्याम्पियन बनेको हो । च्याम्पियन बनेको दान्सिंघाले नगद रु १५ हजारसहित स्वर्ण पदक तथा प्रमाणपत्र प्राप्त गर्याे र यसैगरि उपविजेता बनेको गोपाल्दीले १० हजारसहित रजत पदक तथा प्रमाणपत्र हात पार्यो । सो प्रतियोगिताबाट सान्त्वना स्थान हाँसिल गरेको बगनासकाली ७ टाकीचौरले ५ हजारसहित कास्य पदक तथा प्रमाणपत्र प्रदान गरेको क्लबका सल्लाहकार विष्णु राना (सजल) ले जानकारी दिए । उनका अनुसार गत १६ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो । सो प्रतियोगिता सम्पन्न गर्न प्रथम पुरस्कार जीत बहादुर थापाले सौजन्य गरेका थिए । भने तृतीय पुरस्कार सौजन्य वीर बहादुर आलेले गरेका थिए । यसैगरि बगनासकाली ५ का वडासदस्य प्रकास न्यौपाने, निवर्तमान वडाध्यक्ष इश्वर राना लगायतले आर्थिक सहयोग गरेका थिए । प्रतियोगिताबाट विजेता तथा उपविजेता टोलीलाई पुरस्कार सौजन्यदाता लिला थापामगर, क्लबका अध्यक्ष दान बहादुर राना, समाजसेवी गुन बहादुर आले तथा वडा ५ स्थित तल्लोकोलडाँडाका अग्रजहरुले पुरस्कार वितरण गरेका थिए ।
पोखरा : पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गर्ने क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आगामी २२ देखि २५ गतेसम्म पोखरा नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । कार्यक्रम संयोजक मनोज खड्काले सो प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको छ । सो प्रतियोगितामा टिम दर्ताका लागि पुरुषतर्फ ६ हजार र महिला तर्फ ४ हजार रुपैयाँ निर्धारण गरिएको पोखरा भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल)ले बताए । उनले सो प्रतियोगितामा भलिबल संघले मान्यता दिएको राष्ट्रिय खेल तथा एनभिए लिग खेलेका दुई जना खेलाडीमात्र टिममा समावेश गर्न पाइने जानकारी दिए । पोखरा नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा पुुरुष तर्फ ३० र महिला तर्फ १५ समुहको सहभागिता रहने आयोजकको अपेक्षा छ । २०७३ सालमा स्थापना भएपनि पोखरा भलिबल प्रशिक्षण केन्द्रको यो तेस्रो संकरणको भलिबल प्रतियोगिता हो । सो क्लबले प्रतियोगिता सञ्चालन गरि गतवर्ष मृगौला पीडित सुरज गुरुङलाई १ लाख आर्थिक सहयोग प्रदान गरेको थियो ।
पोखरा । प्रदेश खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत बागलुङ जिल्ला टिम च्याम्पियन भएको छ । पोखरामा सम्पन्न प्रतियोगिताम बागलुङले १७ स्वर्ण, २ रजत र २ कास्य पदक प्राप्त गरी टिम च्याम्पियन भएको हो । यसै गरी तनहुँ ४ स्वर्ण, १ रजत र ३ कास्य सहित दोश्रो र स्याङजा ३ स्वर्ण, ४ रजत र ५ कास्य पदक प्राप्त गरी तेश्रो भएको छ । प्रतियोगिता अन्तर्गत महिला स्पाइरिङ ४० देखि ५९ केजी मुनीको तौलमा बागलुङका चार जना खेलाडीहरुले स्वर्ण पदक जितेका छन् । सुनिता भण्डारी, शुष्मिता थापा मगर, हिहिला अदै, पल्पसा घर्ती मगरले स्वर्ण पदक जितेका हुन् । त्यस्तै ६० देखि ६५ केजी तौल माथी कास्कीकी निकिता तामाङ र तनहुँकी सोनिका थापाले स्वर्ण पदक जिते । त्यस्तै महिला प्याट्रनतर्फ तनहुँकी मोनिका कुंवर, बागलुङकी लली कुमारी वुढा मगर, सुनिता भण्डारी, शुष्मिता थापा मगर र बसन्ती वुढा मगरले स्वर्ण पदक जितेका छन् । पुरुष स्पाइरिङतर्फ ४५ देखि ७९ केजीको विभिनन तौलमा बागलुुङका खगेन्द्र धर्ती मगर, श्रीप्रसाद वुढा मगर, प्रविन वुढा मगर, एक्सन पुन मगर, प्रकाश वुढा मगर, पञ्चविर वुढा मगर र मिथुन घर्ती मगरले स्वर्ण पदक जितेका छन् भने ८० देखि ८५ केजी तौल माथीको प्रतिष्पर्धामा तनहुँका सोम बहादुर गुरुङ र स्याङजाका राजन रसाइलीले स्वर्ण पदक जितेका छन् । पुरुष प्याट्रनतर्फ प्रतिष्पर्धामा स्याङजाका विभस घर्ती मगर र भिम बहादुर गाहाले स्वर्ण पदक हात पारेका छन् । त्यस्तै बागलुङका प्रविन वुढा र श्रीप्रसाद वुढा मगरले तथा तनहुँका गोपाल चन्दले स्वर्ण पदक जितेका छन् ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरीय एथलेटिक्समा ९ वटा स्वर्ण पदक जित्दै कास्की प्रथम भएको छ । पोखरा रंगशालामा शनिबार सम्पन्न एथ्लेटिक्सको विभिन्न स्पर्धामा कुल ९ स्वर्ण पदक जित्दै कास्की प्रथम भएको हो । प्रतियोगितामा कास्कीले ४ रजत र ३ कास्यपदक जितेको छ । त्यस्तै गोरखाले ६ वटा स्वर्ण, ३ वटा रजत र एक कास्य पदक जित्दै दोस्रो बन्यो । नवलपुरले ४ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको छ । प्रतियोगितामा ५ हजार मिटर महिलातर्फ स्याङजाकी जानकी खरालले २१ मिनेट ५० सेकेण्डमा पुरा गर्दै प्रथम भइन् । यस्तै उक्त दुरी २१ मिनेट ५७ सेकेण्डमा पुरा गर्दै तनहुँकी नम्रता गुरुङ दोस्रो हुँदा पर्वतकी संगीता विक तृतिय भइन् । उनले निर्धारित दुरी २२ मिनेट ४८ सेकेण्डमा पुरा गरिन् । पुरुषतर्फ गोरखाका दिनेश बोगटी प्रथम, गोरखाकै नवराज गुरुङ द्वितिय र पर्वतका आशिष कुँवर तृतिय भएका छन् । प्रतियोगितामा निर्धारित दुरी बोगटीले १६ मिनेट २० सेकेण्ड, गुरुङले १६ मिनेट ४४ सेकेण्ड र कुवरले १६ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए । ८ सय मिटर पुरुष दौडतर्फ पर्वतका अनिल कुवर प्रथम, गोरखाका विकास पोखरेल द्वितिय, नवलपुरका नारायण चौधरी तृतिय भए । कुवरले सो दुरी २ मिनेट ४ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन् । पोखरेलले २ मिनेट ६ सेकेण्ड ३१ मिलिसेकेण्ड र चौधरीले २ मिनेट ६ सेकेण्ड ६६ मिलिसेकेण्डमा पुरा गरेका थिए । सोही विधाको महिलातर्फ २ मिनेट ४४ सेकेण्डमा पुरा गर्दै स्याङ्जाकी चन्द्रकला खराल प्रथम, २ मिनेट ५२ सेकेण्डमा दुरी पुरा गरेकी नवलपुरकी यमुना थापा द्वितिय र २ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै बाग्लुङकी पार्वती नेपाली तृतिय भईन् । त्यसैगरि ४ सय मिटर पुरुष दौडतर्फ नवलपुरका नारायण चौधरी, लमजुङका विमित भुजेल र नवलपुरकै प्रकाश महतो क्रमश प्रथम, द्वितिय र तृतिय भए । चौधरीले ५२ सेकेण्ड, भुजेलले ५४ सेकेण्ड ६२ मिलिसेकेण्ड र महतोले ५४ सेकेण्ड ६३ मिलिसेकेण्डमा सो दुरी पुरा गरे । महिलातर्फ स्याङ्जाकी चन्द्रकला खराल प्रथम, कास्कीकी सविना खातुन मिया र रितु भण्डारी क्रमशः द्वितिय र तृतिय भए । प्रतियोगितामा खरालले १ मिनेट १०सेकेण्डमा उक्त दुरी पुरा गरिन् । सबिनाले १ मिनेट १२ सेकेण्डमा पुरा गर्दा भण्डारीले १ मिनेट १४ सेकेण्ड लगाइन् । २ सय मिटर दौडमा महिलातर्फ २९ सेकेण्ड ५० मिलिसेकेण्डमा पुरा गर्दै कास्कीकी अनिसा भण्डारी प्रथम भईन् । तनहुँकी निशा घर्तिले ३० सेकेण्डमा पुरा गर्दै दोस्रो भइन् । भने नवलपुरकी अप्सरा विकले ३२ सेकेण्डमा सो दुरी पुरा गरिन् । यस्तै पुरुषतर्फ कास्कीका सुदिप जोशी प्रथम भए । उनले २४ सेकेण्ड १९ मि.सि.मा उक्त दुरी पुरा गरे । नवलपुरका समिर महतोले २४ सेकेण्ड ६६ मि.सि. लगाएर पुरा गर्दै द्वितिय भने तृतिय भएका तनहुँका प्रभ बहादुर थापाले २४ मिनेट ३ सेकेण्डमा पुरा गरे । पुरुष हाईजम्पतर्फ कास्कीका सागर नेपाली प्रथम, नवलपुरका रिख बहादुर घर्ति द्वितिय र नवलपुरकै ओमबहादुर मस्राङ्गी तृतिय भए । यस्तै महिलातर्फ लम्जुङकी सिमा श्रेष्ठ प्रथम , तनहुँकी तिर्था ढकाल द्वितिय र कास्कीकी कुसुम रानामगरले तृतिय स्थान प्राप्त गरिन् । त्यस्तै ज्याभ्लिन थ्रोमा पुरुषतर्फ लम्जुङका तिर्थमान तामाङ, मनाङका विकासबाबु बराम र लम्जुङका यूनिक तामाङ क्रमशः प्रथम, द्वितिय र तृतिय भए । महिलातर्फ तनहुँकी विनिता कार्की प्रथम, सोनु नेपाली द्वितिय र विनिसा राना तृतिय भइन् । त्रिपलजम्पमा पुरुषतर्फ नवलपुरका नारायण चौधरी, नवलपुरकै समिर महतो र पर्वतका शंकर कुँवर क्रमशः प्रथम, द्वितिय र तृतिय भए । महिला डिक्स थ्रो स्पर्धामा कास्कीकी सोनु नेपाली प्रथम, गोरखाकी मञ्जु गुरुङ द्वितिय र नवलपुरकी लक्ष्मी थनेत तृतिय भएको जिल्ला एथ्लेटिक्स कास्कीका उपाध्यक्ष इन्द्र मल्लले जानकारी दिइन् ।
कास्की: कास्कीको माछापुच्छ्रे गाउँपालिका तत्वाधन र भलिबल संघले संविधान दिवसको अवसरमा ‘गण्डकी प्रदेश अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता (माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप) आयोजना गर्ने भएको छ । पोखरामा आज (आइतबार) पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी ३० गतेदेखि असोज १ गतेसम्म ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिने जानकारी दिइएको हो । माछापुच्छ्रे गाउँपालिका भलिबल संघका अध्यक्ष राम पुनले गण्डकी प्रदेशमै पहिलोपटक अन्तर गाउँपालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले सो प्रतियोगिताका लागि गण्डकी प्रदशको ८५ स्थानीय तहलाई पत्राचार गरिसेको बताए । ‘हामीले यस प्रदेशको सबै स्थानीय निकायलाई आधिकारिक रुपमा मेल गरिसकेका छौं, उनले भने, ‘तयारी तिब्र भइरहेको छ । हाम्रो मुख्य लक्ष्य भनेको युवाहरुलाई एक सुत्रमा बाँध्ने र आपसी सद्भाव कायम गराउने हो । त्यसैले हाम्रो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्नेछ ।’ उनका अनुसार सो प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २ लाख प्राप्त गर्नेछ । यसैगरि उपविजेताले विजेता टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख २० हजार हात पर्नेछ । सो प्रतियोगिताबाट अन्तिम दुई सेमीफाइनलमा प्रवेश गरेका दुई टिमलाई समेत सान्त्वना पुरस्कार स्वरुप शिल्ड, मेडल तथा प्रमाणपत्रसहति नगद रु ३०/३० प्रदान गरिने अध्यक्ष पुनले बताए । उनका अनुसार सो प्रतियोगिताबाट एक जनालाई सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत गरिनेछ भने अन्य ६ वटा विधामासमेत जनही ७ हजारको दरले उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको छ । सो प्रतियोगितामा सहभागिता जनाउनका लागि टिम दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरिएको सचिव मोहनसिंह तामाङले बताए । उनले प्रतियोगिता अवधिभर हाँस्यव्यङ्ग्य प्रहशन तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समावेश गरिएको बताए । माछापुच्छ्रे गाउँपालिकाले सहयोगमा सम्पन्न हुने सो प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका वडा २ भुर्जुङखोलामा सञ्चालन हुनेछ । भने सो मेलालाई २० हजार दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

