पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा  :  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल (महिला/पुरुष)तर्फका समूह चरणका खेल जारी छन् । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका छन् ।     खेलमा घरेलु टोली गण्डकी प्रदेशले तेस्रो जित निकालेको छ । गण्डकीले बागमती प्रदेशलाई ३२-१४ अङ्कले जित्दै निकाल्दै महत्वपूर्ण तीन अङ्क बटुलेको छ । लगातार तीन खेल जितेको गण्डकीले योसँगै नौ अङ्क पाएको छ । अर्को खेलमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित जितेको छ । आर्मीले प्रदेश-१ लाई ५४-१० अङ्कको जित निकालेको हो । आर्मीले पनि नौ अङ्क जोडेको छ ।    यस्तै सशस्त्र प्रहरी बलको एपीएफले पनि लगातार तेस्रो खेल जित्दै नौ अङ्क बनाएको छ । एपीएपले प्रदेश-१ लाई ३५-५ अङ्कले जितेको हो । ह्याण्डबलको पुरुषतर्फ नै लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । लुम्बिनीले सुदूरपश्चिममाथि ३०-२५ अङ्कको जित निकालेको हो । जितसँगै लुम्बिनीले महत्वपूर्ण तीन अङ्क जोडेको छ ।    अर्को खेलमा कर्णाली प्रदेशले सङ्घर्षपूर्ण जित निकालेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले बागमतीलाई १८-१७ अङ्कले पराजित गरेको हो । प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबल खेलमा बागमती प्रदेशले जित निकालेको छ । बागमतीले मधेश प्रदेशलाई ६-४ अङ्कले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क बटुलेको हो । महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ । आर्मीले प्रदेश-१ माथि ३४-९ अङ्कको फराकिलो जित निकालेको हो । आर्मीले नौ अङ्क जोडेको छ ।    महिलातर्फ नै लुम्बिनी प्रदेशले सदूरपश्चिम प्रदेशलाई माथि १४-१० अङ्कले पराजित गरेको छ । दुई समूहमा विभाजन गरेर खेलाइएको छ । पुरुषतर्फ समूह ‘क’ मा गण्डकी, मधेश, बागमती, आर्मी र कर्णाली प्रदेश छन् । समूह ‘ख’ मा एपिएफ, लुम्बिनी, प्रदेश एक र सुदूरपश्चिम प्रदेश छन् । यस्तै महिलातर्फ समूह ‘क’ मा एपिएफ, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् । समूह ‘ख’ मा आर्मी, प्रदेश एक, बागमती, मधेश र कर्णाली प्रदेश छन् । 

पोखरा  :  नवौँँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ ।   पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि बुधबार हेम्जाको गौरीशङ्कर खेल मैदान व्यवस्थापन गर्नेलगायत काम सम्पन्न भएको नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिनुभयो ।      गए राति अबेरसम्म मैदानको घाँस काटिएको थियो । उहाँले हतार हतारमा व्यवस्थापन गरिएका यस्ता पूर्वाधारका कारण खेलाडीलाई चोटपटकको चुनौती रहेकोे गुनासो गर्नुभयो । समयमा खेल मैदान व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान नदिँदा समस्या भएको उल्लेख गर्दै खड्काले स्थानीय निकाय, खेल व्यवस्थापकलगायत सम्बन्धित निकायबीच समन्वय नभएको बताउनुभयो ।      भौतिक पूर्वाधार पर्याप्त नहुँदा हक्की प्रतियोगिता प्रदेश बाहिर लैजाँदा राम्रो सन्देश नजाने भएकाले चुनौतीका बाबजुद पनि कास्कीमै गराउन लागेको खड्काको भनाइ छ ।    राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक पूर्वाधार निर्माण गर्दा कुनैकुनै प्रतियोगिता अभाव र चुनौतीका बाबजुद सञ्चालन गर्न लागिएको स्वीकार गर्नुभयो । हक्कीमा पुरुषतर्फ नौ तथा महिलातर्फ सात टोलीले प्रतिस्पर्धा गर्दै छन् । नवौँ राष्ट्रिय प्रतियोगिताको यही असोज २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिकरुपमा उद्घाटन गर्ने कार्यक्रम भए पनि प्रतियोगिताअन्तर्गतका केही खेल भने सुरु भइसकेका छन् । 

पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलतर्फ खेल तालिका सार्वजनिक भएको छ । महिलातर्फ ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहनेछ भने पुरुष तर्फ गैर आवासीय नेपाली संघ (एनआरएनए) पनि थपिनेछ ।   महिलातर्फको खेल म्याग्दीस्थित बेनी बजारमा हुँदैछ । महिलाको समूह ए मा नेपाल एपिएफ क्लब, कर्णाली र त्रिभुवन आर्मी क्लब छन् । समूह बीमा बागमती, प्रदेश १ र मधेश रहेका छन् । बागमतीमा होंगांजी न्यु डायमन्डका अधिकांश खेलाडी खेल्नेछन् ।   समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।   यस्तै पुरुष भलिबल भने पोखरा रंगशालामा नै हुने तालिका रहेको छ । पुरुषतर्फ ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् । फाइनल खेल कार्तिक ३ गते हुनेछ ।   समूह ए मा नेपाल पुलिस क्लब, कर्णाली र लुम्बिनी छन् । समूह बी मा त्रिभुवन आर्मी क्लब, प्रदेश १ र मधेश छन् । समूह सी मा नेपाल एपीएफ क्लब, एनआरएनए र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । समूह डी मा गण्डकी प्रदेश र बागमती भिड्नेछन् ।  

पोखरा :  मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ ।   बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक्षणसहितको तयारीस्तरलाई हेर्दा ‘च्याम्पियन’को इतिहास आफनो टोलीले सहजरुपमै दोहो¥याउने नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले दाबी गर्नुभयो । यसअघि सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताका सातौँ र आठौँ संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ बन्न सफल भएको थियो ।    उहाँले भन्नुभयो, “तालिमको स्तर हेर्दा अघिल्लोभन्दा यसपाली प्रदर्शन राम्रो हुन्छ, नतिजा पनि राम्रो हुने अपेक्षा छ । राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र खेलको सबैभन्दा ठूलो समारोह हो । अन्य टोलीका तुलनामा पूर्वाधार र व्यवस्थापन चुस्त छ, खेलाडी अब्बल छन्, च्याम्पियनको इतिहासको वर्चश्व कायम राख्न कोसिस गर्छौं ।”   सङ्घीय संरचनाका आधारमा हुँदैआएको राष्ट्रिय खेलकुद प्रतियोगिता यस पटक भने प्रादेशिक संरचनामा हुन लागेकाले विभागीय टोलीलाई प्रादेशिक टोलीको कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ । सेनाले प्रतिस्पर्धामा पदक आफ्नो पक्षमा पार्न सामूहिकभन्दा  व्यक्तिगत खेल विधातर्फ बढी ध्यान केन्द्रित गरेको छ । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै खेलकुदप्रतिको  सर्वत्र चासो र रुचि बढेको हुँदा प्रतिस्पर्धा र गुणस्तरी खेलाडी उत्पादनमा निकै प्रभावकारी नतिजा हासिल हुने विश्वास गरिएको छ ।   पछिल्लो समय खेलकुदको विकासका लागि प्रादेशिक र स्थानीय तहमा समेत विभिन्न संरचना र कार्यक्रम विकास तथा विस्तार हँुदैगएको छ ।  सेनाले टोलीलाई जिताउन मात्र केन्द्रित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान र उत्पादनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।   सेनाले गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा जारी उक्त प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षक, अफिसियल र प्रतिनिधि गरी सात सय २८ जनशक्ति पठाएको छ । प्रतियोगिताअन्तर्गत सेनाले फुटबल, एथलेक्टिस, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, भलिबल, टेवल टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केट बल, बुद्धिचाल, आइटिएफ  तेक्वान्दो, ह्याण्ड बल र स्क्वासमा प्रतिस्पर्धा गर्ने छ ।   त्रिभुवन आर्मी क्लबका खेलाडी हक्की, सुटिङ, जिम्न्याष्टिक, लन–टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी,  सेपाताक्रो, खोखो, फेन्सिङ, ट्रायथलन, पौडी, शारीरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ, सफट टेनिस र रग्बीमा अन्य टोलीका खेलाडीसँग सशक्तरुपमा भिड्ने छन् ।   प्रतियोगीताका लागि तय भएका स्वर्ण तीन सय ९३, रजत तीन सय ९३  र कास्य छ सय पदकमध्ये कम्तीमा पनि एक सय ४० स्वर्ण, ८२ रजत र ७५ कास्य जित्ने सेनाले दाबी गरेको छ । सेनाले यस पटक जिम्न्यास्टिक, पौडी, कराते, तेक्वान्दो, दौड, टेनिसलगायतका खेल विधामा बढी पदकको अपेक्षा गरेको छ ।   यसअघि आठौँ प्रतियोगितामा सेनाका खेलाडीले एक सय ४८ स्वर्ण, ८७ रजत र ७२ काँस्य पदक हात पारेको थियो । यस प्रतियोगिताका लागि क्लबले दुई सय ७५ महिला खेलाडीसमेत पठाएको छ । तेह्रौँ साफ खेलकुदमा नेपालले प्राप्त गरेका दुई सय सात पदकमध्ये सेनाका खेलाडीले मात्रै एक सय तीन पदक जितेका थिए ।   साफमा नेपालको प्रतिनिधित्व गरी पदक प्राप्त गर्ने  अधिकांश खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी रहेकाले पनि सेनाले विगतको रेकर्ड सुरक्षित राख्ने दाबी गरेको हो । अन्य टोलीका तुलनामा नियमित अभ्यास र प्रशिक्षण गर्दै आएका सेनाका खेलाडीका लागि प्रत्येक युनिटका साथै लगनखेल र सैनिक मुख्यालय परिसरमा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र र खेलमैदान समेत छ ।  

पोखरा :  पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पुरुष ‘टिम फोयल’मा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्णपदक जितेको हो । बागमतीको यो फेन्सिङमा तेस्रो स्वर्णपदक हो ।   पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश नं १ ले कास्यपदक प्राप्त गरेको छ । यसैगरी महिला ‘इपी टिम इभेन्ट’को स्वर्ण नेपाली सेनाले जितेको छ । सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जिते । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूरपश्चिमले कास्य पदक जिते ।   महिला ‘सेबर टिम इभेन्ट’ प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश नं १ ले कास्यपदक जिते । फेन्सिङको अङ्क तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहन सफल भयो । बागमतीले हालसम्म चार स्वर्ण र एक रजतपदकसहित पाँच पदक जितेको छ ।    यसैगरी आर्मीले तीन स्वर्ण, पाँच रजत र छ कास्यसहित १४ पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, तीन रजत र छ कास्यसहित १० पदकका साथ तृतीय स्थानमा छ ।  सुदूरपश्चिम प्रदेश एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेको छ ।   यसैगरी प्रदेश नं १ ले हालसम्म तीन कास्यसहित पाँचौँ स्थानमा रहँदा आयोजक गण्डकी प्रदेश एक कास्यसहित फेन्सिङको पदक तालिकामा पुछारमा छ । पोखरामा यही असोज २४ गतेदेखि फेन्सिङ खेल जारी छ । 

पोखरा:   पोखरामा आगामी कार्तिक १७ देखि १९ गते सम्म वडास्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटीले आयोजना गर्ने सो प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।   उद्योगी व्यवसायीबीचको आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक तुलबहादुर थापाले बताए ।    उनका अनुसार उक्त प्रतियोगिताको विजेता टोलीले १ लाख शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   सो प्रतियोगितामा एउटा टिममा ३ जना मात्रै राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संस्थाका महासचिव हेमराज भण्डारीले बताए । ‘हाम्रो सस्ंथाहरु धेरै वडामा सक्रिय छन्, जुन वडा समितिबाट पनि खेलाडीले सहभागिता जनाउन पाउँनेछन्, उनले भने, ‘एउटा टिममा ३ जना मात्र राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधान बनाएका छौ ।’   सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाल उद्योग व्यवसायी महासंघको कुनै एक वडाको सिफारिस गर्नैपर्ने बताए ।   उनले उक्त प्रतियोगिता फिफाको नियमानुसार सञ्चालन गरिने भण्डारीले बताउदै देशभरबाट करि ७० टिम बढीको सहभागिता रहने बताए ।    पोखरा रंगशालाको कभर्डहलमा ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन् गर्न करिब ७ लाख खर्च हुने आयोजकले जनाएको छ ।  

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी भएका छन् ।   जितसंगै पुलिस क्लव समुहको शिर्षस्थानमा पुगेको छ । समुहमा सम्पन्न दुई खेलमध्य पुलिसले दुवैमा जित हाँसिल गर्दै ४ अंक जोडेको छ । बुधबारको खेलमा पुलिसले प्रदेश १ माथि १ सय १८ रनको फराकिलो जित निकाल्यो ।    पहिला व्याटिङ गरेको पुलिसले २० ओभरमा १ सय ५८ रनको योगफल तयार पार्दा प्लेयर अफ द म्यान समेत चुनिएकी सम्झना खड्काले प्रतियोगिताकै पहिलो अर्धशतक हानिन् । ४३ बलको सामना गरेकी सम्झनाले १० चौका प्रहार गर्दै ६० रन जोडेकी हुन् । पुलिसको तर्फबाट कविता कुँवरले ३७, अप्सरी बेगमले २१ कप्तान रुविना क्षेत्रीले १६ रन बनाए ।   प्रदेश १ को वलिङमा निशा शाहले १ विकेट लिइन भने पुलिसका दुई खेलाडी रनआउट भएका थिए । जितका लागि १ सय ५९ रन पछ्याउने क्रममा पुरै २० ओभर खेलेको प्रदेश १ ले ८ विकेटको क्षतिमा ४० रन मात्रै बनाउन सक्यो । जसमा क्याप्टेन सनु राजबंशिले ११ रनको पारी खेलिन् । पुलिसको बलिङतर्फ हिरनामयी रोयले ३, सबनम राई, कविता कँुवर र कविता जोशिले समान एक एक विकेट लिए ।    बुधबारको अर्को खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिला व्याटिङ गरेको लुम्बिनीले पुरा २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय २७ रन बनायो । लुम्बिनीको व्याटिङमा लक्ष्मी चौधरीले ३ चौकाको मद्धतमा ३१, सरस्वती घर्ती मगरले ३० तथा सुस्मिता बजगाईले १२, मधु डिसीले १२ रन जोडिन् । कर्णालीको बलिङमा अन्जु गुरुङले २ र अन्जिला क्षेत्रीले १ विकेट लिइन् ।   जितका लागि १ सय  २८ रन पछ्याएको कर्णाली मात्रै २३ रनमा समेटियो । कर्णालीले ८.३ ओभरमै सबै विकेट गुमाउँदा किरण कुँवरको ५ रन सर्वाधिक बन्न पुग्यो । लम्बिनीको बलिङमा प्लेयर अफ द म्याच मधु डिसीले आफ्नों स्पेलमा ११ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै, कृतिका मरासिनीले २ र सुस्मिता भुषालले १ विकेट लिइन् । जितसंगै लुम्बिनी ३ अंकका साथ दोश्रो स्थानमा रहेको छ ।    प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लव र गण्डकी प्रदेशविच पहिलो तथा मधेश प्रदेश र सुदुर पश्चिम प्रदेशविच दोश्रो खेल हुनेछ ।   

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूलाई बुधवार एक कार्यक्रमका बिच सम्मान सहित जितको शुभकामना व्यक्त गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल पदाधिकारी, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङ लगायतको उपस्थितिमा १५० बढी खेलाडीहरूलाई सम्मान सहित शुभकामना व्यक्त गरिएको हो ।   महानगर खेलकुद विकास समितिले आयोजनामा गरेको उक्त कार्यक्रममा खेलाडीहरूलाई शुभकामना दिँदै प्रमुख आचार्यले प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी १५ हजार नगद सहित सम्मान गरिने जानकारी दिनुभयो ।    “यस प्रतियोगितामा सहभागी हुने खेलाडी साथीहरूलाई जितको अग्रिम शुभकामना छ, ‘उच्च मनोबलका साथ आफ्नो खेल कौशल अनुशासन पूर्वक प्रस्तुत गर्नुहोला, उहाँले भन्नुभयो, तपाँईहरुले कुनै पनि खेल वा विद्यामा पदक प्राप्त गर्ने बित्तिकै महानगरपालिकाको तर्फबाट विशेष पुरस्कार प्रदान गर्ने व्यवस्था समेत हामीले गरेका छौँ ।” पोखरा महानगरपालिका खेलाडीहरूको साथमा रहेको उहाँले बताउनुभयो ।    पोखरा महानगरवासी खेलाडीहरूको नेतृत्वमा गण्डकी प्रदेशले प्रतियोगिताको ऐतिहासिक ट्रफी माथि आफ्नो नामको इतिहास कोर्ने विश्वास समेत प्रमुख आचार्यले व्यक्त गर्नुभयो । “नेपाली खेलकुदको इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले १० किलो चाँदी र २ टोला सुनको सुन्दर ट्रफी निर्माण गरेको छ, हाल त्यो नेपाल प्रहरीको सुरक्षामा प्रदेश प्रहरी कार्यालयमा राखिएको छ, उहाँले भन्नुभयो, ‘प्रतियोगिताको समापनमा प्रधानमन्त्रीको हातबाट यो ट्रफी विजेता प्रदेशलाई प्रदान गरिने छ, त्यो प्रदेश गण्डकी बनोस्, मेरो शुभकामना छ ।” गण्डकी प्रदेशको तर्फबाट प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूले सबैभन्दा धेरै पदकहरू हत पार्नेमा आफू विश्वस्त रहेको प्रमुख आचार्यले बताउनुभयो ।    ३९ वर्ष पछि पोखरामा हुन गइरहेको यस प्रतियोगितामा पोखरा महानगरपालिकाका २ सय बढी खेलाडीहरूको सहभागिता रहने महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती खेलाडीहरूले २६ बढी खेलहरूमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश (तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र) मा भएको थियो ।  

गलकोट : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङको प्रतिष्ठासँग जोडिएको बताउनुभयो ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा हुने आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीको आज  बाङ्गेचौरस्थित कभर्डहलको स्थलगत अवलोकन गर्दै उहाँले तेक्वान्दो प्रतियोगिताको तयारीलाई चुस्त पार्न निर्देशन दिनुभयो ।    उहाँले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङमा गर्नु र बागलुङका खेलाडीले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा धेरै पदक प्राप्त गर्नुले जिल्लाको प्रतिष्ठासँग उक्त खेल जोडिएको बताउनुभयो । “पहिलोपटक बागलुङमा राष्ट्रिय खेलकुदअन्तर्गतको आइटिएफ प्रतियोगिता हुन गइरहेको छ, यो बागलुङको प्रतिष्ठासँग जोडिएको विषय हो”, उहाँले भन्नुभयो, “ जिल्लामा आएका देशभरका खेलाडीले बागलुङ चिन्ने मौका दिनुपर्दछ ।”   मन्त्री पौडेलले खेलकुद प्रतियोगिताको तयारी, खेलाडी व्यवस्थापनलगायत विषयमा स्थलगत अवलोकन गर्नुभएको आइटिएफ नेपालका केन्द्रीय सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।  यही असोज २९ गतेदेखि यहाँ सञ्चालन हुने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय गरी १० टोलीका दुई सय ५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसिएल तथा म्यानेजर सहभागी हुनेछन् ।   प्रतियोगिताको तयारीका लागि बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लामा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीले ४५ स्वर्ण,  ४५ रजत र ३० कास्य गरी कूल एक सय २० पदकका लागि प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति बागलुङले जनाएको छ ।