पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

बाँके:    खेलकुदमा महिलाको अभिरुचि बढाउन नेपालगञ्जमा किशोरीलाई खेल प्रशिक्षण सुरु गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र बाँके जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु गरिएको खेल प्रशिक्षणमा सहभागीलाई कराते, तेक्वान्दो, भलिबल, एथलेटिक्स, फुटबललगायत खेलको प्राविधिक र सैद्धान्तिक ज्ञानको बारेमा जानकारी गराउने बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दिपजङ्ग शाहले बताउनुभयो ।   उहाँका अनुसार, तालिमका सहभागीलाई प्रशिक्षक कृष्णबहादुर चौधरीले कराते, चन्द्रप्रकाश श्रेष्ठले तेक्वान्दो, लालबहादुर मल्लले भलिबल, छबिलाल थापा मगरले एथलेटिक्स र रवीन्द्रकुमार श्रेष्ठले फुटबलको बारेमा प्रशिक्षण दिनुहुनेछ । तीन दिनसम्म चल्ने प्रशिक्षणमा बाँके जिल्लाका विभिन्न विद्यालयका १५० जना किशोरीको सहभागिता रहेको छ । खेलकुदमा महिलाको अभिरुचि बढाउँदै आत्मरक्षाका सीप सिकाउने उद्देश्यले तालिमको आयोजना गरिएको व्यवस्थापक बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शाहले जानकारी दिनुभयो ।   प्रशिक्षणको उद्घाटन समारोहमा सहभागी हुनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले महिलाले आत्मरक्षाको लागि पनि यस्ता तालिम लिन जरुरी रहेको बताउनुभयो । महिला खेलाडीलाई अगाडि बढ्नको लागि केहि नयाँ सीप र ज्ञान प्रदान गर्ने भएकाले तालिम महत्वपूर्ण रहेको बताउँदै उहाँले आगामी दिनमा बाँके जिल्ला खेलकुद विकास समितिसँग मिलेर नेपालगञ्ज उपमहानगरपालिकाले महिलालाई लक्षित गरेर खेलकुदका अन्य कार्यक्रम गर्ने समेत गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पोखरा:  पोखरेली स्क्वास खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ३ दिने तालिम सम्पन्न भएको छ ।   स्क्वास र्याकेट्स एशोसियसन (एसआरए) कास्कीको आयोजनामा २२ देखि २५ गतेसम्म बेलायती लेवल थर्ड कोच ह्यारी हेथककले पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा तालिम दिएका हुन् ।   सिनियर खेलाडी तथा प्रशिक्षक रक्षा लामाका अनुसार उक्त तालिममा महिला र पुरुष गरी २० जना बढिको सहभागिता रहेको थियो ।    प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गर्दै समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङले खेलकुद आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने धारणा राखे । ‘खेलकुदको कुनै सीमाक्षेत्र हुदैंन । जसले हामीलाई सजिलै जोड्न मद्दत गर्दछ, उनले भने, ‘त्यसैले खेलकुद एउटा त्यस्तो पावर हो ।’   उनले उक्त विदेशी प्रशिक्षकको उपस्थितिले खेलाडीहरु प्रेरित भएको बताउदै उक्त तालिम खेलाडीका लागि समापन नभई सुरुवात भएको बताए । ‘तालिम सकिएपनि यो तपाइहरुको समापन होइन । यो त बल्ल सुरुवात हो ।’ उनले भने ।      उनले खेलकुदसँगै स्क्वास विकासका लागि प्रदेश खेलकुद परिषद सदैब लाग्ने बताउदै स्क्वासको अत्याधिक सम्भावना रहेको उल्लेख गरेका थिए ।    यसैगरी स्क्वास खेलाडी प्रयाग जोशीले धेरै पहिलेदेखि स्क्वास खेल्दै आएको बताउदै प्रशिक्षणपश्चात थप हौसला बढेको बताए । ‘खेल्न त धेरै पहिलेदेखि खेल्दै आएको हो, उनले भने, ‘यो ट्रेनिङपछि मात्रै बेसिक कुराहरु जान्न पाइयो । त्यसले गर्दापनि आफ्नो खेल बढेको जस्तो लागेको छ र  थप साहस बढेको छ ।’     स्क्वास र्याकेट्स एशोसियसन कास्कीका अध्यक्ष पुष्पराज श्रेष्ठले सो तालिमपश्चात खेलाडीहरुको क्षमता अभिवृद्धि भएको बताए । उनले विविध पक्षलाई तालिममा समेटेको बताउदै प्रतियोगितामा खेलाडीहरुले प्रतिस्पर्धा गर्दा सिकेको कुरालाई प्रयोग गर्नसक्ने गरी तालिम प्रदान गरेको बताएका थिए ।    यसैगरी विदेशी प्रशिक्षक ह्यारी हेथककले नेपालमा स्क्वास कोर्ट कम भएका कारण खेलाडीहरुको स्क्वासमा अत्याधिक सम्भावना रहेको बताए । उनले नेपालमा काठमाडौं र पोखरामा मात्रै कोर्ट रहेको बताउदै अन्यत्र शहरमा पनि कोर्ट निर्माण गर्नुपर्ने बताएका थिए । उक्त समापन कार्यक्रममा प्रशिक्षक ह्यारी हेथककलाई ढाका टोपी ओढाएर सम्मान समेत गरिएको थियो ।  

  काठमाण्डौं:   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि बसेको पहिलो मुल आयोजक समितिको बैठकले प्रतियोगिताका लागि विजेताले पाउने नयाँ मुख्य ट्रफि निर्माण गर्ने निर्णय गरेको छ ।   काठमाण्डौंमा आज बसेको मुल आयोजक समितिको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट लागु हुने गरी मुख्य ट्रफि निर्माण गर्ने लगायत ६ वटा निर्णयहरु गरेको हो । समितिको निर्णय अनुसार उक्त मुख्य ट्रफि लगातार तीन संस्करणको उपाधि विजेता टोलीले प्राप्त गर्नेछ । तर रनिङ्ग ट्रफिको रुपमा रहेको उक्त मुख्य ट्रफि कति लागत र कस्तो निर्माण गर्ने भन्ने विषयमा समितिले आधिकारिक रुपमा कुनै पनि जानकारी गराएको छैन ।   यसबाहेक समितिको पहिलो बैठकले प्रतियोगिता संचालनकालागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिती गठन गर्ने, प्रतियोगिताकालागि १४ वटा उपसमिती गठन गर्ने, प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिमलाई सहभागी गराउने निर्णय गरेको छ । त्यस्तै प्रतियोगितामा विभिन्न ३६ खेल विधामा प्रतिष्पर्धा गराउने,नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखी लागु हुने गरी निर्माण गरिने भनिएको मुख्य ट्रफिलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा डुलाउने निर्णय गरेको छ ।   यस्तै बैठकले आर्थिक वर्ष २०७८–७९ मा सरकारले छुट्याएको ६० करोडको बजेट स्विकृत भएको जानकारी गराएको छ ।   प्रतियोगिता गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म संचालन हुनेछ ।

मुस्ताङ:  उपल्लो मुस्ताङको लोवाथाङमा गल्फको सफल परिक्षण भएको छ ।  गण्डकी प्रदेश सभा सदस्य तथा गल्फर इन्द्रधारा विष्टले पहिलो ड्राइभ प्रहार गरेपछि औपचारिक रुपमा सुरुवात भएको हो ।   कोर्समा गल्फर भुबहादुुर गुरुङ, बलराम थापा, भक्तराज गुरुङ र राजु थकालीले गल्फको परिक्षणसँगै शुरुवात गरेको सांसद विष्टले बताए ।    सफल परिक्षणसँगै लोमान्थाङ गाउँपालिकाको लोवाथाङमा अवस्थित गल्फकोर्स नेपालकै सबैभन्दा उच्च स्थानको कोर्स रहेको सुनाए ‘यो समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको छ । यो गल्फ कोर्स त नेपालकै बेष्ट कोर्स हो, उनले भने, ‘हामी औपचारिक गेम नै खेल्यौं । गल्फरहरुले यसको प्रचुर सम्भावना छ भन्नुभाछ । नेपालको भएको हाई अल्टिच्युडको कोर्स भनेकै यति एउटै हो । यसको सफल परिक्षण भएको छ । त्यसैले मेरो एउटा सपना पुरा हुदैँछ ।’   सांसद विष्टका अनुसार पोखरामा १ चितवनमा १ धरानमा १, काठमाडौंमा ३ र अहिले थपिएको उपल्लो मुस्ताङको गरि कुन नेपालमा ७ वटा गल्फ कोर्स रहेका छन् ।    गण्डकी प्रदेश सांसद तथा गल्फर इन्द्रधारा विष्टले वर्षौ देखि त्यहाँ गल्फ कोर्स बनाउने योजना बनाउदै आएका थिए  । उक्त कोर्स बनाउनका लागि विष्टले ८ लाख बढि लगानी गरिसेकेका छन् । भने लोमान्थाङ गाउँपालिकाले प्रतियोगिता सञ्चालन गर्न १० लाख बजेट विनियोजन गरेको छ ।    सांसद विष्टले मौसमको अनुकुलता अनुसार प्रतियोगिताको तयारी गर्ने बताए ।  ‘अब सम्भव भएसम्म छिटै गल्फ प्रतियोगिता आयोजना गर्ने सोच बनाएको छु, उनले भने, ‘बाह्रखरीले आयोजना गर्दै आएको राष्ट्रिय गल्फ च्याम्पियनसिपलाई यही कोर्समा गर्ने गरि कसरत गरिरहेको छु । यो कोर्स नेपालकै बेस्ट कोर्स बनाउने गरि लाग्नेछु ।’  

  पोखरा |:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ उत्कृष्ट वर्ष खेलाडी महिला तर्फ नेपाल महिला भलिबल टिमका क्याप्टेन अरुणा शाही र उत्कृष्ट वर्ष खेलाडी ( पुरुष ) अवार्ड  टेनिस खेलाडी प्रदिप खड्काले प्राप्त गरेका छन् ।    शनिबार पोखरा सभागृहमा मञ्चले आयोजना गरेको ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ मा उत्कृष्ट वर्ष खेलाडी महिला तर्फ महिला भलिबलका टिम क्याप्टेन अरुणा शाही र पुरुष तर्फ टेनिसका खेलाडी प्रदिप खड्काले अवार्ड सँगैै ट्रफी र इलेक्ट्रिक स्कुटर प्राप्त गरे ।     यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, उदियमान खेलाडीमा टेनिसका दर्शिल श्रेष्ठ  र  उत्कृष्ट खेल संघ (गण्डकी तेक्वान्दो संघ) ले अवार्ड सँगै नगद ३५ हजार र ट्रफी प्राप्त गरे ।    ‘छैटौँ स्पोर्टस् अवार्ड २०७८’ अन्र्तगत लाईफटाईम अचिभमेन्ट अवार्ड गणेश बहादुुर भट्टराईलाई प्रदान गरिएको छ । यस्तै वर्ष उत्कृष्ट खेलकुद पत्रकार अवार्ड पत्रकार दिपक परियारले पाए ।    यस्तै उदियमान खेलाडी अवार्डको मनोनयनमा परेका श्रृष्टि जैसी ( क्रिकेट), शाहिल लिम्बु ( बक्सिङ), वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड मनोनयनमा  परेका रेकमाया गुरुङ ( तेक्वान्दो ), रिजन प्रजु (क्रिकेट), उत्कृष्ट वर्ष खेलाडी ( पुरुष तर्फ) बुद्ध लामा ( कराते), विधान अधिकारी ( व्याडमिन्टन) र उत्कृष्ट वर्ष खेलाडी ( महिला तर्फ ) मनिषा उपाध्याय ( क्रिकेट ), सरगम कुमाल ( कराते ) का खेलाडीले ट्रफी प्राप्त गरे ।                   

पोखरा :     छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका निरज थापा, क्रिकेटका रिजन प्रजु र तेक्वान्दो तथा फेन्सिङकी रेकमाया गुरुङ परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ ।    यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् । अवार्ड कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले गर्ने गरेको हो । पोखरा सभागृह हलमा  यहीं असार १८ गते शनिबार आयोजना हुने अवार्ड वितरण कार्यक्रममा कुल ७ विधामा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।   निरज थापा (टेनिस)   निरज थापा २३ वर्ष अघि काठमाण्डौबाट पोखरा आउँदा यहाँ टेनिस खेल्नेको संख्या औलामा गन्न मिल्ने थियो । २०५९ सालमा रत्नश्री जिमहलमा उनले टेनिस सिकाउँदा पोखरामा मात्र १०÷१५ जनाले टेनिस खेल्थे । त्यो पनि भेट्रान्स मात्रै । एक दशक अघि नेपालको शिर्ष वरियतामा रहेका कुमार अधिकारीले निरजसंगबाट टेनिस र्याकेट समात्न सिकेका हुन् । त्यसपछि पोखरा च्याम्पियन खेलाडीहरु महेश्वर तिवारी, अनिल शाही, शक्ति सर्मा लगायतले पनि निरजसंगै टेनिस सिके । महेश्वर अहिले दुवईमा व्यवसायिक रुपमा टेनिस खेल्ने खेलाउने गर्दछन् । अनिल, शक्ति लगायत अहिले पोखरामा प्रशिक्षकका रुपमा टेनिस खेलाउने गर्दछन् ।   निरज थापाले अहिले सम्म सयौ चेलाहरु बनाइसकेका छन् । ति मध्ये अहिले नेपालका शिर्ष वरियता खेलाडी प्रदिप खड्का उनकै चेला हुन् । पोखरालाई टेनिस शरहका रुपमा चिनाउन निरजको ठूलो योगदान छ । अहिले उनी ‘सबैका गुरु निरज गुरु’ भनेर चिनिन्छन् । टेनिसलाईनै व्यवसाय बनाएका निरजले अहिले श्रीमति र दुई छोरा सहित पोखरामै घरजम जमाएका छन् ।   रिजन प्रजु ( क्रिकेट)   क्रिकेट खेलाडी हुँदै प्रशिक्षक बनेका रिजन प्रजुले वर्ष २०७८ मा गण्डकी प्रदेशको महिला क्रिकेट टिम हेरिरहेका छन् । उनकै प्रशिक्षणमा गण्डकीको महिला टोलिले धनगढीमा वाई वाई महिला क्रिकेट प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्दै ऐतिहाँसिक सफलता हाँसिल ग¥यो । गण्डकी प्रदेश सरकारले पनि विजयी टोलीका खेलाडीहरुलाई जनही पचास पचास हजार रुपैयाँले सम्मानित गर्याे ।   वर्ष २०७८ मा मलेशियामा भएको एसिया वल्र्ड कप क्वालिफिकेसनमा महिला टोलीले तेश्रो, गैंडाकोटमा भएको मेयरकपमा प्रथम स्थान हाँसिल गरेको थियो । त्यस्तै, पिएम कपमा पनि सहभागिता जनायो । सन् २००६ मा पोखरा आएका रिजन शुरुमा पोखरा टिमबाट क्रिकेट खेल्थे । सन् २००८ देखि उनले गण्डकीको टिमको क्याप्टेनसी गरे । सन् २०१३ बाट उनले महिला टिम सम्हालेका हुन् ।   उनी दृष्टीविहिन महिला क्रिकेट टिमको पनि प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले सन् २०१९ मा पाकिस्तान र सन् २०१७ मा भारतमा भएको वल्र्डकप क्रिकेटमा सहभागिता जनाएको थियो । नेपालले पाकिस्तानमा साउथ अफ्रिका र न्यूजिल्याण्डलाई तथा पाकिस्तानमा अष्टे«लियालाई पराजित गरेको थियो ।   रेकमाया गुरुङ्ग (तेक्वान्दो, फेन्सिङ)   रेकमाया गुरुङ अहिले भारतको पटियालामा फेन्सिङको प्रशिक्षणमा छिन् । फेन्सिङ संघ नेपालकी केन्द्रिय सदस्य समेत रहेकी रेकमायाले नेताजी सुभाष नेशनल इन्स्टीच्युट अफ स्पोटर््समा ६ हप्ता लामो सर्टिफिकेट कोर्स अफ स्पोर्टस कोचिङमा फेन्सीङ खेलको प्रशिक्षण लिएकी हुन् ।   पोखरा नयाँगाउँकी रेकमायाले तेक्वान्दोका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विभिन्न प्रतियोगितामा पदक जितिसकेकी छन् । त्यस्तै उनी राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका रजत पदक धारी खेलाडी पनि हुन् । पाँच डान प्राप्त उनले पोखरामा आफ्नै ‘एप्सुलुट डोजाङ्ग’ सञ्चालन गरिरहेकी छन् ।   पछिल्लो समय उनले फेन्सिङ प्रशिक्षणलाई समेत अघि बढाएकी हुन् । फेन्सिङमा प्रथम बीर गणेशमान सिंह फेन्सिङ च्याम्पियन्सिपमा गण्डकी प्रदेशले टिम ईभेन्ट तर्फ ३ कास्य पदक जितेको थियो । उनकै प्रशिक्षणमा रहेका पोखराका सुबान गुरुङ र मनमायाँ गुरुङले २०७८ सालमा कोरियन एम्वासडर वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप २०२१ मा पदक जितेका छन् । प्रतियोगितामा सुबानले स्वर्ण तथा मनमायाँले कास्य जितेकी हुन् ।   विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले आयोजनागर्ने अवार्ड कार्यक्रममा उत्कृष्ट प्रशिक्षक सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलले प्रष्टाए ।    अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका,  एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर, जिल्ला खेलकुद विकास समिति कास्की लगायतले सहयोग गरेका छन्  ।   अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वानिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, मन क्षेत्रीको गजल वाचन तथा दीपक गोदारको संयोजकत्वमा डेमोस्ट्रेशन रहनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ ।   अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।  गर्यो  

कास्की:  अन्नपूर्ण गाउँपालिका अन्तर्गत भलिबल संघको अध्यक्षमा अमृत लामा गुरुङ निर्विरोध चयन भएका छन् ।   आइतबार कास्की जिल्ला भलिबल संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचनको संयोजकत्वमा बसेको भेलाबाट लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङ नेतृत्वको ११ सदस्यीय समित गठन गरिएको हो ।   गुरुङको नेतृत्वमा बनेको कार्यसमितिको उपाध्यक्षमा भलिबल खेलाडी अनिल घमाल, सचिवमा अतित गुरुङ, सह–सचिवमा जिवन सापकोटा र कोषाध्यक्षमा श्याम गुरुङ चुनिए ।   यसैगरि सदस्यमा गम बहादुर गुरुङ, हरिचन्द्र सुनार, मनोज गुरुङ, ईश्वर गुरुङ, विष्णुबहादुर गुरुङ र शिव कुमार पौडेल चयन भए ।   उक्त कार्यसमितिको कार्य अवधि ४ वर्ष रहने नवनिर्वाचित अध्यक्ष लामा गुरुङले जानकारी दिए । उक्त टिमलाई अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु केसी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु गुरुङ तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचन लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।       प्रत्येक वर्ष गाउँपालिका कप गर्छाैं: अध्यक्ष गुरुङ   शपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचित अध्यक्ष अमृत लामा गुरुङले गाउँपालिकाको मात्रै नभई सिङ्गो भलिबलको विकासको लागि काम गर्ने प्रतिबद्धता जनाए ।   उनले विगतमा आफ्नो फाउण्डेशनमार्फत विभिन्न सामाजिक कामसँगै भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको बताउदै आगामी दिनमा समेत खेलकुदको गतिविधिलाई निरन्तरता दिने बताए ।    उनले प्रत्येक वर्ष गाउँपालिका कपको आयोजना गर्ने बताउदै खेलाडी उत्पादनमा टेवा पुग्ने धारणा राखे । ‘गाउँपालिका भित्रका वडाहरुबीच हामीले भलिबल प्रतियोगिता गर्छौं, उनले भने, ‘उक्त कपबाट खेलाडी छनोट भएर गाउँपालिकामा जान्छ यसैगरि जिल्ला, प्रदेश हुदैं राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने सकिन्छ भन्ने उद्देश्य छ । हामी त्यही अनुरुप अघि बढ्नेछौं ।’   उनले अन्नपूर्ण गाउँपालिका आफैमा पर्यटकीय ठाउँ रहेको उल्लेख गर्दै खेलकुदको माध्यमबाट गाउँपालिकाको परिचय फराकिलो बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।   

पोखरा:  ‘छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८’ यहीं असार १८ गते पोखरा सभागृह हलमा हुने निश्चित भएपछि अवार्डको रौनक बढ्न थालेको छ ।   खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई अवार्ड प्रदान गरेर खेल क्षेत्रमा थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना हुने कार्यक्रमप्रति खेलप्रेमीको साथ रहने गरेको छ ।   अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधाको उत्कृष्ट तीन मनोनयनमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् ।    शाहिल लिम्बु: लाहुरे बन्ने हुटहुटीले बक्सर पोखरा १२ सितलादेवी स्कुलमा कक्षा १० पढ्ने शाहिल लिम्बुको सानैदेखि लाहुरे बन्ने हुटहुटी थियो । तर उनको शरिरको बनावट देखेर आकर्षित भएका घर छेउका अंकलहरुले लोक गुरुङको भूपू बक्सिङ सेन्टरमा लगेर भर्ना गरिदिए । विस्तारै उनी बक्सिङ प्रति आकर्षित हुन थाले । लोक गुरुङकै प्रशिक्षणमा उनी पोख्त हुँदै गए ।    उमेरले १५ लागेका उनी पढाईसँगै बक्सिङलाई अघि बढाइरहेका छन् । प्रशिक्षण सुरु गरेका उनले एक वर्षपछि नै प्रतियोगितामा खेल्ने अवसर जुर्‍यो । २०७७ मा पोखरा रंगशालामा भएको हिरोज कप इन्डोर नेपाल इन्भिटेशनल बक्सिङ टुर्नामेन्टमा उनले सहभागिता जनाए । त्यसमा उनी भारत कै खेलाडीसँग पराजित भए । त्यो हारले उनलाई आगामी खेलमा दरो भएर उत्रने प्रेरणा जगायो । उनी झनै प्रशिक्षण व्यस्त हुने थाले ।    २०७८ सालमा काठमाडौंमा स्कुल नेशनल बक्सिङ प्रतियोगिता भयो । त्यहाँ पनि उनको सहभागिता रह्यो । उनी त्यहाँ सहभागितामा मात्रै भएनन् नेपालभरबाट जम्मा भएका बक्सरहरुसँग खेल्दा उनी सफल भए । उनले गोल्ड मेडल नै हात पारे । अहिलेसम्मको बक्सिङ करियरमा उनको यो नै सबैभन्दा ठूलो सफलता हो ।   त्यसलगत्तै पोखरामा फेरी हिरोज कप इन्डोर नेपाल इन्भिटेशनल बक्सिङ टुर्नामेन्ट आयोजना भयो । पहिलो वर्ष व्यहोरेको हारको बदला लिनु थियो, उनलाई । उनी त्यसका लागि तयारी गर्न थाले । भर्खर मात्र गोल्ड मेडल जितेको खुसी र उत्साह त थियो तर भारतबाट खेलाडी आउने भएपछि तयारीलाई अझ निखारे र होमिए प्रतियोगितामा । उनले त्यसमा गोल्ड मेडल जितेर पहिलेको हारको बदला लिए ।    अहिले उनी नवौं खेलकुदको तयारीमा छन् । नवौंमा सहभागी भएर कास्की जिल्लासँगै गण्डकी प्रदेशकै नतिजामा सुधार ल्याउने उनको ध्याउन्न छ । उनको खेल जीवनमा बाबा रुकमान र आमा मञ्जु लिम्बुको राम्रो साथ छ । अहिलेलाई पढाईसँगै बक्सिङमा ध्यान दिने र पछि लाहुेर देखाउने पनि उनको धोको छ ।    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए ।      श्रृष्टि जैसी: अलराउण्डर  क्रिकेटमा अलराउण्डर प्रदर्शन क्षमता कमै खेलाडीमा हुन्छ । व्याटिङ, बलिङ र फिल्डिङमा जम्ने कमै खेलाडी मध्ये एक हुन्, महिला क्रिकेट खेलाडी श्रृष्टि जैसी । उमेरले १९ लागेकी श्रृष्टि यू–१९ नेपाली महिला क्रिकेटमा नाम चलेकी खेलाडी हुन् ।   कक्षा ७ मा पढ्दा होस्टेलमा बस्ने दाइहरुले खेलेको देखेर क्रिकेटमा होमिएकी उनलाई सोही समयमा प्रतिभा देखाउने राम्रो मौका आयो । राष्ट्रिय खेलाडी करण केसीले पोखरा नदीपुरमा सञ्चालन गरेको राइजिङ क्रिकेट एकेडेमीमा प्रतियोगिता चलिरहेको समयमा टिम नपुगेपछि उनलाई होस्टेलबाट लगेर खेलाइएको थियो ।   उक्त प्रतियोगितामा उनले सबैको मन जितिन् । त्यसपछि उनलाई एकेडेमीकै सदस्यहरुले नियमित क्रिकेट अभ्यास गर्न सुझाए । त्यसका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा रहेका बाबा मितप्रसाद जैसी र आमा माया जैसीलाई उनीहरुले नै सम्झाइदिए ।    त्यसपछि उनको क्रिकेटको करियर सुरु भयो । नियमित प्रशिक्षणमा जान थालिन् उनको खेल निखारिदै गयो । ट्रेनिङकै दौरानमा उनको टिम धनगढी र महेन्द्रनगरमा पिएम कप खेल्न गइन् । त्यस लगत्तै उनी आठौं राष्ट्रिय प्रतियोगिता खेल्न दाङमा पुगिन् । ती प्रतियोगिताहरुमा उनी सहभागी मात्र भइन् । त्यो समयसम्म उनको खेलमा निखारता आईसकेको थियो ।   उनी ९ कक्षामा पढ्ने बेलामा देशकै प्रतिनिधित्व गर्दै यू–१९ खेल्न चिन गईन् । चिनमा उनको टिम तेस्रो स्थानमा पुग्यो । उनले आफ्नो जीवनमा अहिलेसम्म कै राम्रो एचिभ्मेण्ट त्यही प्रतियोगितालाई ठान्छिन् । त्यो समयमा उनले एकेडेमी पनि परिवर्तन गरिसकेकी थिईन् ।   करण केसीको एकेडेमी बन्द भएपनि उनी रिजन प्रजुको एकेडेमीमा जोडिएकी थिईन् । १० मा पढ्ने समयमा उनी टियू ग्राउण्मा भएको वमन च्याम्पियन लिग खेल्न पुगिन् । त्यस लगत्तै उनी मलेसियामा यू–१९ खेल्न पुगिन् । टिमले भनेजस्तो गर्न नसकेपनि उनले यू–१९ प्रतियोगितामा वमन अफ दी म्याच हुन सफल भएकी थिईन् ।    नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गरिरहेकी श्रृष्टिको लक्ष्य भनेको अब क्रिकेटमा सिनियर महिला टिमका लागि छनोट हुने रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।      दर्शिल श्रेष्ठ: बाबुको पछि लाग्दा खेलाडी बनेका  उमेरले १३ मा टेकेका दर्शिल श्रेष्ठ सानैदेखि बाबुको पछि लागेर टेनिस कोर्टसम्म पुग्थे । बाबु नबिन श्रेष्ठ र आमा प्रिया श्रेष्ठको साथबाटै टेनिसमा होमिएका उनी पछिल्लो समय प्रतियोगिता खेल्दै नेपालका धेरै स्थानहरुमा पुगिरहेका हुन्छन् ।    ५/६ वर्षदेखि टेनिसको ¥याकेट समाउन सुर गरेका दर्शिलले ९ वर्षको हुँदा प्रतियोगिता खेलेको हुन् । पोखरामा भएको लिटिल एन्जल कपमा सहभागीता जनाएका उनले उपाधि जित्न त सकेनन् तर अनुभव भने राम्रै बटुले ।   सन् २०२१ मा फेब्रुअरी १४ देखि १८ सम्म ललितपुरमा धएको टिम टेनिस नेपाल इनरेगुलर जुनियर प्रिमियर टेनिस टुर्नामेण्टमा उनी च्याम्पियन बनेका थिए । त्यसपछि सन् २०२१ अप्रिलमा भएको जेटिआई ग्राण्ड जुनियर ओपन टेनिसमा विजेता बनेका थिए ।    २०७८ साल अर्थात २०२१ भने उनका लागि निकै फलदायी बन्यो । सबैभन्दा बढि उपाधी र उपलब्धी उनले २०७८ मा पाएका छन् । सोही वर्ष उनी टेनिसमा यू–१२ मा नेपाल नम्बर एक खेलाडी बने । यो नै उनको अहिलेसम्मको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धी हो । उनी आइटिएफ एसियन यू १२ मा तेस्रो बने । यस्तै मिडकोर्ट एसियन फेडेरेसन च्याम्पियनसिपमा छैटौं स्थानमा रहे । यस्तै एसियन टेनिस फेडेरेसनको २ सय ५१ र्‍याकिङमा परे । भुपु खेलाडी मञ्चले राईजिङ प्लेयरका रुपमा सम्मान गर्‍यो ।   विभिन्न प्रतियोगितामा आफूलाई अब्बल बनाउँदै एसियन टेनिस फेडेरेसनको २ सय ५१ ¥याकिङबाट ६५ औं स्थानमा पुगे । यस्तै बिर गणेशमान सिंह नेशनल टुर्नामेन्ट पुरुष तर्फ सिंगलमा विजयी र डबलमा उपविजेता बने । एसियन यू–१४ टेनिसमा सिंगलतर्फ तृतिय र डबलमा द्वितिय बने । आगामी दिनमा टेनिससँगै बढाईलाई अगाढि बढाउने सोंचमा छन्, उनी ।    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए ।   विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्चले वर्ष उत्कृष्ट उदियमान खेलाडी सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।   पोखरा सभागृह हलमा आयोजना हुने पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका,  एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरीता गुरुङ, जापानबाट मोहन घले, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन्  ।    अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको अध्यक्ष दीननाथ बरालले बताए ।   

  गोरखा :      आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिनामा हुने भएको छ । सरोकारवालाहरुको सोमबार बसेको बैठकले असार १९, २० र २१ गते जिल्ला सदरमुकाममा प्रतियोगिता गर्ने निर्णय गरेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सान्तसिंह बस्नेतले जानकारी दिए ।   कोरोनाका कारण २ वर्ष यता हुन नसकेको प्रतियोगिता यस वर्ष भने वर्खामै भएपनि गर्ने निर्णय गरिएको उनले बताए । ‘कोरोनाले गर्दा यस अघि जिल्लामा खेल गतिविधि ठप्प भएका थिए,’ उनले भने,‘अहिले वर्खामै भएपनि प्रतियोगिता गर्नु पर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’ वर्खाले प्रतियोगिता गर्न केही कठिनाइँ भएपनि यसले जिल्लाको खेलकुद बिकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ । प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहमा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले भाग लिनेछन् । ‘वर्षाले समस्या गर्छ भनेर प्रतियोगिता छोट्याएर ३ दिनको बनाएका छौं,’ उनले भने,‘हजार मिटर र १५ सय मिटर दौड सडकमा गराउँछौं । अन्य दौड भने ट्याक बनाएर रङगशालामा गरिनेछ ।’   सहभागिताका लागि सबै स्थानीय तहहरुलाई टेलिफोन मार्फत जानकारी गराइसकिएको छ ।  प्रतियोगितामा कवड्डी, भलिबल, एथ्लेटिक्सका विभिन्न बिद्याहरु, मार्सल आट्र्स तर्फ कराते ताइकान्दु र टेबल टेनिस लगायतका विद्यामा प्रतियोगिता गराइने आयोजकले जनाएको छ । ‘अब स्थानीय तहहरुले १७ गते अघि पालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड सम्पन्न गरी १८ गते साँझ सम्म बिजेता खेलाडी पठाइसक्नु पर्नेछ,’ अध्यक्ष बस्नेतले भने,‘जिल्लाका बिजेताहरु २२ गते प्रदेश स्तरीय प्रतियोगितामा भाग लिनलाई पोखरा पुग्नेछन् ।’ प्रदेश स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता असार २३ र २४ गते पोखरामा हुने बताइएको छ । त्यहाँ बिजेताहरुलाई राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा भाग लिन जानेछन् । सातौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सिरानचोक गाउँपालिकाले जितेको थियो ।  प्रतियोगिताका लागि बजेट प्राप्त नभएपनि कार्यक्रम सकिएपछि माग गरिने उनले बताए । सदरमुकाममा आयोजना भएकाले उक्त प्रतियोगितामा गोरखा नगरपालिकाले र विभिन्न प्रायोजकहरुको पनि सहयोग उपलब्ध हुने आयोजकको अपेक्षा छ ।