नवलपरासी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पूर्वी नवलपरासीको कावासोती–१६ डन्डामा मङ्गलबार सम्पन्न कुस्ती प्रतियोगितामामा १४ पदकसहित विभागीय त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । त्रिभुवन आर्मी क्लब कुस्तीको महिला तर्फ विभिन्न १० तौल समूहमा पाँच स्वर्ण र पुरुष तर्फ एक स्वर्ण गरी ६ स्वर्ण, तीन रजत र पाँच कास्य पदकसहित १४ पदक जितेर कुस्ती तर्फ टिम च्याम्पियन बनेको हो । विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन । त्यसैगरी नौ पदकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमले विभिन्न तौल समूहमा पाँच स्वर्ण, एक रजत र तीन कास्य पदक जितेर कुस्तीमा दोस्रो बन्न सफल भएको हो । सुदूरपश्चिमले पाँच स्वर्ण महिला कुस्ती तर्फको विभिन्न तौल समूहमा जितेको हो । सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा सङ्गीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जितेका हुन । कुस्तीमा अर्को विभागीय टोली एपीएफ ४ स्वर्ण, २ रजत र ४ कास्य गरेर १० पदकसहित कुस्तीको पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । विभागीय टिम एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जितेका छन् । कुस्तीको पदक तालिकामा मधेस प्रदेश ३ स्वर्ण, २ रजत र ६ कास्यसहित ११ पदकका साथ चौथो स्थानमा रहेको छ । मधेश प्रदेशका लागि ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण जितेका छ्न । अर्को विभागीय टिम नेपाल प्रहरीले १ स्वर्ण, सात रजत, ६ कास्यसहित १४ पदक, लुम्बिनी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्यसहित पाँच पदक, प्रदेश नं १ ले तीन रजत र चार कास्यसहित सात पदक र गण्डकी प्रदेशले एक रजत र पाँच कास्यसहित ६ पदक हात पारे भने बागमती र कर्णाली प्रदेश पदकविहीन बनेका छ्न् । कुस्तीमा महिला र पुरुषतर्फ गरी विभिन्न तौल समूहमा २० स्वर्ण पदकका लागि खेल भएका थिए । असोज २९ गते देखि कावासोती–१६ मा रहेको थारु राष्ट्रिय सङ्ग्रहालयको हलमा जारी मङ्गलबार सम्पन्न भएको हो । प्रतियोगितामा ५९ महिला र पुरुष ९१ गरी एक सय ५० खेलाडी सहभागी भएका थिए । तीन विभागीय टिम सशस्त्र, आर्मी, पुलिस साथै सात प्रदेश गरी १० टिमको प्रतियोगितामा सहभागिता रहेको थियो ।
पोखरा: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाली सेनाको त्रिभूवन आर्मीले स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे । त्यसअघि खेलको नवौं मिनेटमा नेपाल आर्र्मी सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल थपिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा पुगेको हो । यस्तै महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले कास्य पदक जितेको छ । बुधबार विहान भएको पहिलो खेलमा सुदुरपश्चिमले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो । सुदुरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन् । प्रतियोगितामा सात टिम सहभागी थिए ।
पोखरा: महिला रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दुरी पुरा गरिन्। गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरीपुरा गर्दै रजत पदक जित्यो । बागमतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दुरीपुरा गर्दै कास्य पदक जितेका छन् । यसैगरि पुरुष ४ सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । त्यसैगरी आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितेको छ । त्यसै गरी लुम्विनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेका छन् ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगितामा महिलातर्फ बागमतीकी विपना ब्लोन र सोही प्रदेशकै स्वस्थानी श्रेष्ठ फाइनल प्रवेश गरेकी छिन् । आज (बुधबार) भएको पहिलो सेमिफाइनलमा बागमतीकी भावना सुनुवारलाई ११–८, ११– ४ र ११–५ सहित ३–० को सोझो सेटमा पराजित गर्दै विपना फाइनलमा प्रवेश गरेकी हुन् । यसैगरि अर्काे सेमिफाइनल खेलमा गण्डकीकी कृष्णा थापामगरलाई बागमतीकी स्वस्थानी श्रेष्ठले १३–११, ११–७, ६–११ र ११–७ सहित ३–१ को सेटमा हराइन् । अब स्वस्थानीले स्वर्ण पदकका लागि बिहिबार बागमतीकी विपना ब्लोनसँग प्रतिस्पर्ध गर्नेछिन् । भने आठौ संस्करणको राष्ट्रिय खेकुदको स्क्वास च्याम्पियनसमेत रहेकी गण्डकीकी कृष्णा थापामगर र बागमतीकी भावना सुनुवार तेस्रो स्थान हाँसिल गरिन् । स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीका अनुसार पुरुषतर्फको टिम इभेन्टमा बागमती प्रदेश र गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ । लुम्बिनी प्रदेशलाई हराउँदै बागमती प्रदेश फाइनल प्रवेश गर्याे । भने सशत्र प्रहरी बलको टोलीलाई पराजित गर्दै गण्डकी प्रदेशले फाइनलमा स्थान बनाएको हो । टिम इभेन्ट तर्फ लुम्बिनी प्रदेश र सशत्र प्रहरी बलको टोलीले तेस्रो स्थान हाँसिल गरेको भण्डारीले बताए । भण्डारीका अनुसार गण्डकीका अृमत थापामगरले व्यक्तिगत विधातर्फ स्वर्ण जितिसकेका छन् । उक्त प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।
तनहुँ । जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४६–२४ अंकको अन्तरमा काँस्य पदक हात पारेको हो । प्रतियोगिताको पहिलो चरणमा गण्डकी प्रदेशले १६–९ को अन्तर कायम गरेको थियो । यसै गरी गण्डकी प्रदेशले दोस्रो, तेस्रो र चौथो चरणमा क्रमशः १०–४, १२–७ र ८–४ को अन्तर बनाउँदै जित हासिल गरेको हो । गण्डकी प्रदेशलाई काँस्य पदक दिलाउन गण्डकीकी सीमा गर्बुजाले १९ अंक जोडेकी थिइन् । मंगलबार भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेश त्रिभुवन आर्मीसँग पराजित भएको थियो भने सुदूरपश्चिम प्रदेश बागमती प्रदेशसँग पराजित भएको थियो । प्रतियोगिता अन्र्तगत यसअघि महिला पुरुष सिंगल्सतर्फका खेल सम्पन्न भइसकेका छन् ।
पोखरा । एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आमीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निधारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । आर्र्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै काँस्य पदक जितिन् । पुरुषतर्फ निर्धारित दुरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जिते । पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले काँस्य पदक जिते । निर्धारित दुरी कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड र सुनारले १ मिनेट ५५.५२ सेकेन्ड पूरा गरे ।
पोखरा: नवौं राष्ट्रिय खेलुकद अन्तर्गत नेपाल प्रहरी टिम च्याम्पियन भएको छ । पोखरामा बुधबार सम्पन्न प्रतियोगितामा ६ स्वर्णसहित नेपाल प्रहरी टिम च्याम्पियन बनेको हो । प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ काँस्य पदक हात पार्न सफल भयो भने बलियो प्रतिष्पर्धीका रुपमा रहेको शसस्त्र प्रहरीले १ स्वर्ण, ४ रजत र १ काँस्य पदक पाउँदै दोस्रो स्थानमा बन्न सफल रह्यो । त्यस्तै बागमती प्रदेशले १ रजत र २ काँस्य सहित तेस्रो भयो । प्रतियोगितामा आर्मीले २ काँस्य, एनआरएनएले २ काँस्य, प्रदेश १ ले २ काँस्य र गण्डकी प्रदेशले १ काँस्य पदक हात पारेका छन् । बुधबार आजै सम्पन्न महिला सिंगल्सको स्वर्ण पदक नवीता श्रेष्ठले हात पारेकी छिन् । पदक बिजेता श्रेष्ठले ११–८, ११–६, १२–१४, ११–८, ९–११, ६–११, १३–१५ को ३–४ सेटले एलिना महर्जनलाई पराजित गरेकी हुन् । प्रतिष्पर्धी खेलाडी दुवै नेपाल पुलिसका खेलाडी हुन् । बिजेता श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भइन् भने एलिनाले रजत पदक जितिन् । एपीएफकी सिक्का सुवाल र आर्मीकी रविना महर्जनले काँस्य पदक पाउन सफल भइन् । यसैगरी पुरुष सिंगल्सतर्फ स्यान्टु श्रेष्ठले स्वर्ण पदक पाउन सफल भए । नेपाल प्रहरीका स्यान्टु श्रेष्ठले एपीएफका रुविन महर्जनलाई ११–८, ११–७, ११–९, ६–११, ११–६ को ४–१ सेटले पराजित गरेका थिए । श्रेष्ठले पदकसहित नगद पुरस्कार २५ हजार रुपैयाँ पाउन सफल भए भने रुविनले रजतमा चित्त बुझाए । यसै गरी नेपाल प्रहरीका प्रदीप रोका र एपीएफका संयोग कपालीले काँस्य पदक हात पारे । प्रतियोगितामा सहभागी मधेश प्रदेश, लुम्बिनी, कर्णाली र सुुदूरपश्चिम प्रदेशले भने पदक जित्न सकेनन् । समापन कार्यक्रममा राष्ट्रिय खेलुकद परिषद्का सदस्य राजेश गुरुङ, अखिल नेपाल टेबल टेनिस संघ तथा नेपाल ओलम्पकि कमिटिका उपाध्यक्ष चतुरानन्दराज वैद्य, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्य र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले पदक तथा पुरस्कार वितरण गरेका थिए ।
पोखरा । पोखरामा जारी नवौ खेलकुद प्रतियोगिता अन्तरगत पुरुष तर्फको कबड्डी खेल अवरुद्व भएको छ । आइतबारबाट पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा भएकोे पुरुष तर्फको कबड्डी खेलमा रेफ्रीको निर्णयमा असमती जनाउदै गण्डकीका खेलाडीले मैदान छोड्न नमाने पछि खेल अवरुद्व भएको हो । गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच भएको खेलमा गण्डकीका खेलाडीले असमती जनाउँदै मैदान छोड्न मानेका छैनन् । निर्धारित समय भन्दा अगाडि नै खेल समापन भएपछी रेफ्रीको निर्णयमा असमती जनाएको गण्डकी खेलाडिले बताए । जसका कारण पुरुष तर्फको खेल सन्चालन हुन सकेको छैन, भने महिला तर्फको खेल जारी छ ।
पोखरा : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ । आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ । यसैगरी सशस्त्र प्रहरीबलको (एपीएफ)ले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक जितेको छ । उसले हालसम्म कूल १२० पदक जितेको छ । आयोजक गण्डकी प्रदेशले पदक तालिकामा पछिल्लो पटक बागमतीलाई पछि पारेको छ । यसअघि प्रदेशमा निरन्तर अग्रता बनाएको बागमती अहिले पछि परेको छ । गण्डकीले १६ स्वर्ण, १५ रजत र ३० कास्यसहित ६१ प्दक जितेको छ । बागमतीले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २० कास्यसहित ३२ पदक जित्दा एनआरएनले सात स्वर्ण, सात रजत र चार कास्य गरी १८ पदक ल्याएको छ । मधेस प्रदेशले पाँच स्वर्ण सात रजत र १९ कास्यसहित ३१ पदक, प्रदेश नं १ ले तीन स्वर्ण १६ रजत र ३२ कास्यसहित ५१ पदक ल्याएका छन् । यसैगरी लुम्बिनी प्रदेशले तीन स्वर्ण, १२ रजत र २२ कास्यसहित ३७ पदक जित्दा कर्णाली प्रदेश पदक तालिकाको पुछारमा छ । कर्णालीले हालसम्म एक स्वर्ण, दुई रजत र सात कास्य गरी १० पदक ल्याएको छ । यही असोज २८ देखि औपचारिक सुरु भएको नवौँ राष्ट्रिय खेलकुद कात्तिक ३ गते औपचारिक समापन हुँदैछ । प्रतियोगितामा ३६ खेल सञ्चालन भएका छन् ।

