पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

पोखरा : गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।      हालसम्म ९ सय १६ पदकको छिनोफानो हुँदा आर्मीले  ११४ स्वर्ण, ७६ रजत र ५८ कास्य पदक सहित कुल २४८ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ कास्यपदक सहित १३५ पदक जितेको छ ।   अर्को विभागीय टिम एपीएफले ३७ स्वर्ण, ४३ रजत र ६६ काँस्य पदक सहित कुल १४६ पदक हात परेको छ ।   यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ कास्य पदक सहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ कास्य सहित कुल ९५ पदक आफ्नो पोल्टामा पारेको छ । यता एनआरएनएले १० स्वर्ण, ७ रजत ६ कास्य सहित २३ पदक, सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २४ कास्य सहित ३६ पदक, प्रदेश १ ले ५ स्वर्ण २० रजत र ३४ कास्य सहित ५९ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र २० कास्य पदक सहित ३२ पदक जितेका छन् ।   त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १५ रजत र २६ कास्य सहित ४४  र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ९ कास्य पदक सहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् ।   भारत्तोलन नेपाल पुलिस १२ स्वर्णसहित च्याम्पियन   विभागीय नेपाल पुलिस क्लब १२ स्वर्ण जित्दै भारत्तोलन प्रतियोगितामा च्याम्पियन बनेको छ ।    नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा पुलिस सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै च्याम्पियन बनेको हो ।    दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो ।    सुदूरपश्चिमले ३ स्वर्ण र ३ कास्य जित्दा एपिएफले १ स्वर्ण, ६ रजत र २ कास्य भित्र्यायो । मधेश प्रदेशले १ रजत र ७ कास्य जित्यो ।   घरेलु टोली गण्डकी प्रदेश १ रजत र १ कास्यमा सीमित बन्यो ।  बागमती प्रदेशले १ रजत र लुम्बिनी प्रदेशले २ कास्य पदकमात्र जित्न सके ।    पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा विभागीय ३ र ७ वटा प्रदेश गरी १० टिमले भाग लिएका थिए ।    जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका थिए । तीमध्ये महिला तथा पुरुषतर्फ १०/१० इभेन्टमा खेल भएको हो । भारत्तोलन नेपालका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक दिलाउने सम्भावित खेलभित्र पर्दछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवधिभर विभिन्न कीर्तिमानी समेत बने ।    बुधबार साँझ समापनमा विजेतालाई राखेप उपाध्यक्ष शिव कोइराला, नेपाल भारत्तोलन संघ अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस), पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापति लगायतले पुरस्कार वितरण गरेका थिए ।    यसैबीच, अन्तिम दिन बुधबार ६ स्वर्णका लागि भएको प्रतियोगितामा पुलिसले थप ४ स्वर्ण जितेको हो । एपिएफले १ र सुदूरपश्चिमले १ स्वर्ण जिते ।    पहिलो खेल महिला ८७ केजी तौल समूहमा एपिएफकी नीशा बलालले स्वर्ण जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् ।    नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् ।   महिला ८७ केजी माथि नेपाल पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गरिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए । यस्तै, एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरेकी हुन् भने गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाएकी हुन् । घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो ।   पुरुष ९६ केजी तौल समूहमा नेपाल पुलिसका विशालसिंह बिष्टले क्लीन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण जिते । उनले स्न्याचमा १२० र क्लीन एण्ड जर्कमा १६१ गरी कुल २८१ तौल भार उठाउँदै स्वर्ण जितेका हुन् । एपिएफका तिलकबहादुर थापाले रजत जित्दा मधेश प्रदेशका संजय यादवले कास्य जिते ।    पुरुष १०२ केजी तौल समूहमा नेपाल पुलिसका सन्देश गुरुङले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जिते । उनले स्न्याचमा ११३ केजी भार उठाएका हुन् । उनले क्लीन एण्ड जर्कमा १३९ सहित कुल २५२ केजी भार उठाए । एपिएफका रणबहादुर नगरकोटीले स्न्याचमा ११२ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकोमा लगत्तै सन्देशले १ केजी बढी भार बहन गर्दै भंग गरिदिएका हुन् । नगरकोटीले क्लीन एण्ड स्न्याचमा १३८ सहित कुल २५० केजी भार उठाउँदा कास्य जितेका मधेशका उज्ज्वलकुमार मिश्रले कुल १९४ भार उठाए । उनले स्न्याचमा ८४ र क्लीन एण्ड जर्कमा ११० केजी भार बहन गरेका हुन् ।    पुरुष १०९ केजी तौल समूहमा सुदूरपश्चिमका सुवास उपाध्यायले स्वर्ण जिते । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २५२ केजी भार बहन उठाउँदै स्वर्ण जितेका हुन् । नेपाल पुलिसका राजीव महर्जनले स्न्याचमा ११३ र क्लीन एण्ड जर्कमा १२५ गरी कुल २३८ केजी भार उठाउँदै रजत जिते । मधेशका एम.आशीक हुसेनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ११६ गरी कुल १९६ केजी भार बहन गरी कास्य जिते ।    यस्तै, पुरुष १०९ केजी माथि तौल समूहमा नेपाल पुलिसका सागर भण्डारीले स्वर्ण जिते । उनले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कम १३५ गरी कुल २५० केजी भार उठाए । आर्मीका पुकार गुरुङले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १२० गरी २३५ केजी भार उठाउँदै रजत जिते । कास्य जितेका मधेशका प्रतापकुमार चौधरीले कुल १८५ भार उठाए । उनले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ११० केजी उठाएका हुन् ।    सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसका सेमिफाइनल खेल सम्पन्न   नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधवार सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसका सेमिफाइनल खेलहरु सम्पन्न भएका छन् ।   पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्र्तगत प्रदेश नं. १ ले लुम्बीनी प्रदेशलाई २–० को सोझो सेटले पराजित गरी फाइनल पुगेको हो । त्यस्तै अर्को खेलमा नेपाल पुलिसले वाग्मती प्रदेशलाई  २–१ को सेटमा पराजित गरी फाइनलमा पुगेको छ ।   फाइनलमा पुगेका यि टोली बीच बिहीवार विहान ९ बजे स्वर्णका लागि प्रतिष्पर्धा हुने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए ।   जुडोः आर्मीले थप्यो ४ स्वर्ण, पुलिसले ३   नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको दोस्रो दिन नेपाल आर्मीले ४ स्वर्ण थपेको छ । ७ इभेन्टमा बुधबार नयाँ बजारको प्रदर्शनी केन्द्रमा खेल भएको थियो ।    दोस्रो दिनमा आर्मीले महिला पुरुषमा २/२ स्वर्ण जितेको हो । नेपाल पुलिस क्बलले ३ स्वर्ण जितेको छ । पुलिसका महिला खेलाडीले १  र पुरुष खेलाडीले २ स्वर्ण जितेका हुन् ।    ८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण जितेका छन् । नेपाल पुलिस क्बलका मधु रोका मगरले रजत प्राप्त गरे भने वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदकमा चित्त बुझाएका हुन् ।   ९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक जितेका छन् । नेपाल आर्मीका सुजन गुरुङले रजत पदक जित्दा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिमका सुरेश गिरीले काँस्यमा चित्त बुझाए ।  १०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण जितेका हुन् । उनीसँग फाइनलमा पराजित भएका मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत पाए । नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले काँस्य प्राप्त गर्न सफल भएका छन् ।    १०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जितेका छन् । आर्मीका रन्जेश गोलेले रजत पदक जिते भने वाग्मतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले काँस्यमा चित्त बुझाए ।   ७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेकी छन् । पुनमसँग पराजित वाग्मती प्रदेशकी रञ्जना खड्काले रजत पदकमा चित्त बुझाइन् । नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले काँस्य पदक प्राप्त गरेका छन् ।   ७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दिपा गुरुङले स्वर्ण जित्दा आर्मीकी निर्मला घर्ती मगरले रजतमा चित्त बुझाइन् । लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले काँस्य जितेका छन् ।     ७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक हात पार्दा नेपाल पुलिसकी पुजा राजवंशीले रजत पदक जितिन् । नेपाल पुलिसकी भावना घर्ती मगर र वाग्मतीकी अस्मिता गोलेले काँस्यमा चित्त बुझाए ।    मंगलबार ७ स्वर्णको छिनोफानो भएकोमा आर्मीले ४ स्वर्ण जितेको थियो ।  नेपाल पुलिस क्लबका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका थिए । कुल ८ स्वर्ण जितेको आर्मी च्याम्पियन हुने निश्चित छ । किनकी अब विहीबार मिक्स टिम इभेन्टको एक खेल हुनेछ ।    हालसम्म नेपाल आर्मीले ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ । पुलिसले ६ स्वर्ण, ३ रजत  र ८ कास्य प्राप्त गरेको छ । वाग्मती प्रदेशले २ रजत र ६ कास्य जित्यो । लुम्बिनीले १ रजत र ३ कास्य जितेको छ ।  मधेशले १ रजत र २ कास्य जितेको छ । एपिएफले १ रजत, प्रदेश नम्बर १ र सुदुरपश्चिमले २/२ कास्य जित्दा कर्णाली र एनआरएनएले १÷१ कास्यमा चित्त बुझायो । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकीले हालसम्म खाता खोल्न सकेको छैन् ।        

पोखरा : पोखरामा जारी नवौं खेलकुद अन्र्तगत पुरुष तर्फको खेलमा  त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल प्रवेश गरेको छ ।    बुधबार पोखरा रंगशालाको भलिबल कोर्टमा सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।    सेमिफाइनलमा आर्मीले पुलिसलाई २५-१८, २१-२५, २५-२३ र २५-१९ले पराजित गरेको थियो । खेलको दौरानमा पुलिसका झमनसिंह दर्जी घाइते भएका छन् ।    यस्तै दोस्रो सेमिफाइलन खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब फाइलन प्रवेश गरेको छ ।   घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको हो ।   एपिएफले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । एकपक्षीय खेलमा एपिएफले २५–२१, २७–२५ र २५–१५ को सोझो सेटमा जित निकाल्यो ।   पहिलो सेटमा एकसमय १६–१७ कोे स्थिति रहँदा एपिएफले अग्रता जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा गण्डकीले बलियो चुनौती पेश गरेपनि एपिएफलाई रहँदा सकेन । तेस्रो सेटमा गण्डकी झनै निरिह बन्दा पराजित हुन पुग्यो ।   अब एपिएफले उपाधिका लागि बिहीबार आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र गण्डकीबीच बिहीबारै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राइयथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले १÷१ वटा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राइयथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् ।   पुरुषतर्फ निर्धारित २० किमि साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमि दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक जितेका हुन् ।   महिलातर्फ भने निर्धारित दुरि १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन ।    प्रतियोगिताको पुरुषतर्फ निर्धारित दुरि १ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजत पदक जिते भने नेपाल प्रहरीका मौलिक महर्जनले निर्धारित दुरि १ घण्टा  १४ मिनेट ५६ सेकेन्डमा पार गर्दै काश्य पदकमा चित्त बुझाए ।   त्यस्तै, महिलातर्फ  नेपाल प्रहरीकी श्रीवी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै रजत पदक जित्दा आर्मीकी केशरी थापाले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पार गर्दै काश्य पदक जितिन् ।  

पोखरा :  गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको साइक्लिङ प्रतियोगिताको सबै विधा आज (बुधबार) सम्पन्न भएको छ । साइक्लिङका ४ विधामा पुरुष र महिला गरि ८ स्वर्ण पदकका लागि  प्रतिस्पर्धा भएको थियो ।   प्रतियोगितामा विभागिय खेलाडीले वर्चस्व राखेका छन् । जसअन्तरगत नेपाल आर्मीले ४ स्वर्ण, एपिएफले २ स्वर्ण, बागमती र गण्डकीले १–१ स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रजत पदकतर्फ आर्मीले ४, एपिएफले ३ र बागमतीले १ पदक जितेको छ । कास्य पदक तर्फभने एपिएफले ४, आर्मीले ३ र गण्डकीले १ पदक जित्न सफल भएको छ ।   विधागततर्फ हेर्ने हो भने पुरुष महिला गरि नेपाल आर्मीले डाउन हिलमा २, इन्डिभिज्युअल टाइम ट्रायलमा १ र रोड रेस मास स्टार्टमा १ गरि ४ स्वर्ण पदक जितेको छ । त्यस्तै एपिएफले क्रस कन्ट्रीमा १ र इन्डिभिज्युअल टाइम ट्रायलमा १ गरि २ स्वर्ण पदक जितेको छ । त्यस्तै बागमती प्रदेशले क्रस कन्ट्री विधा र गण्डकीले रोड रेस मास स्टार्ट विधामा एक–एक स्वर्ण जितेका छन्  ।   साइक्लिङको रोड रेस मास स्टार्टमा पुरुषतर्फ गण्डकी र महिलातर्फ आर्मीलाई एक–एक स्वर्ण   आज (बुधबार) पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको फाइनल खेलमा ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ०१५ मिलिसेकेण्डमा पुरा गर्दै गण्डकी प्रदेशका हिक्मत बिकले स्वर्ण पदक जित्न सफल भएका छन् ।    त्यस्तै उक्त दुरी १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ४१४ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले रजत पदक जितेकका छन् । त्यसैगरि १ घण्टा ५५ मिनेट २१ सेकेण्ड ८६१ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल भएका छन् ।   आजै भएको महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दुरी १ घण्टा २३ मिनेट १८ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छन् ।  त्यस्तै एपिएफकी हुमी बुढामगरले उक्त दुरी १ घण्टा २५ मिनेट ४६ सेकेण्डमा पुरा गर्दै रजत पदक जितिन् । त्यसैगरि १ घण्टा २९ मिनेट ३८ सेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकी मञ्जु कुमारी खड्काले कास्य पदक जितेकी छन् ।  

  पोखरा । महिला ४ सय मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितको छ ।   आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दुरी परा गरे ।   गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दुरीपुरा गर्दै रजत पदक जित्यो । बागमतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दुरीपुरा गर्दै कास्य पदक जितेका छन् ।

  पोखरा । पुरुष ४ सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ ।  एपिएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् ।  त्यसै गरी आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेण्डमा दुरी पुरा गर्दै रजत पदक जितेको छ । त्यसै गरी लुम्विनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितेका छन् । 

  लेखनाथ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लव र महिलातर्फ नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् ।  पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ को स्कोरले हराउँदै स्वर्ण पदक जितेको हो भने महिलातर्फ आर्मीले मधेश प्रदेशलाई १०–० को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो ।   पुरुषतर्फ गण्डकी प्रदेशले काश्य पदक जितेको छ । काश्य पदकका लागि बुधबार नै भएको खेलमा गण्डकीले त्रिभुवन आर्मीलाई १०–५ को स्कोरमा पछि पार्दै बिजयी भएको हो ।   महिलातर्फको कास्य पदक भने सुदूरपश्चिमको पोल्टामा परेको छ । सुदूरपश्चिमले मधेश प्रदेशलाई ५–० ले पराजित गर्दै कास्य पदक जितेको हो ।

  पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाली सेनाको त्रिभूवन आर्मीले स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाईब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे ।   त्यसअघि खेलको नवौं मिनेटमा नेपाल आर्र्मी सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले एक गोल थपिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा पुगेको हो ।   यस्तै महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदुरपश्चिमले कास्य पदक जितेको छ । बुधबार विहान भएको पहिलो खेलमा सुदुरपश्चिमले प्रदेश १ लाई २–० गोल अन्तरले हराएको हो ।   सुदुरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन् । प्रतियोगितामा सात टिम सहभागी थिए ।

    पोखरा ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पीयन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पीयन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो । अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ क्लव तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो ।   नेपाल पुलिस क्लव १ स्वर्ण, २ रजत र १ काश्यसहित कुल ४ पदक जितेर चौथो बन्दा, प्रदेश १ ले २ रजत जितेर पाँचौ, सुदुर पश्चिमले १ रजत र २ काँस्यसहित ३ पदक तथा वागमती प्रदेशले १ कास्य मात्र जितेर छैटौं बन्यो । लुम्बिनी र एनआरएनए पदकविहीन रह्यो । यद्यपी, सबै टीमले सबै विधामा सहभागिता भने जनाएको थिएन ।   बिजयी टीम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यवाहक सदस्य सचिव घनश्याम पौडैल, नेपाल आर्चरी संघका केन्द्रीय अध्यक्ष दीपकराज गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे ।   बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजत पदक जित्दा एपीएफका विराट थापा तेस्रो हुँदै काश्यमा सिमित भए । गंगा र तिलक वरियतामा पनि पहिलो र दोस्रो स्थानमै छन् । विराट पाँचौ वरियतामा छन् ।   रिकर्भ वुमेन व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगरले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराउँदै स्वर्ण जितिन् । बजगाईंले रजत पदक जित्दा आर्मीकै ज्ञानु अवाले तेस्रो हुँदै काश्य पदक जितिन् । वरियतामा भने रोजिना दोस्रोमा रहँदा मञ्जु पहिलो स्थानमा छन् । ज्ञानु तेस्रो वरियतामै छन् ।   कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा भिडे । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदुरपश्चिमका सुरेश गुरुङ तेस्रो हुँदै काश्य पदकमा सिमित भए । वरियतामा जागृत पहिलो नम्बरमै र खेम दोस्रो नम्बरमै छन् । सुरेश चौथो वरियतामा छन् ।   कम्पाउण्ड वुमेन व्यक्तिगततर्फ पहिलो वरियताकी पार्षदा आचार्य (एपीएफ) पछि परिन् । दोस्रो वरियताकी आर्मीकी इमायुङ राईले १३६–१३० ले हराउँदै स्वर्ण जित्दा वरियतामा अघि रहेकी आचार्य रजत पदकमा सिमित बनिन् । तेस्रो वरियताकी एपीएफकी निर्मला कानवाङ राईले तेस्रो हुँदै काश्य जितिन् ।   स्टान्डर्ड मेन व्यक्तिगततर्फ दोस्रो वरियताका नगेन्द्र आचार्य (नेपाल पुलिस) ले स्वर्ण जिते । ¥याङकिङ राउण्डमा पहिलो नम्बरका गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पछि पर्दै रजत पदकमा सिमित भए । वागमतीका फर्माचन शेरचनले तेस्रो हुँदै काश्य जिते । शेरचन पाँचौ वरियतामा थिए ।   स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपीएफकी सोनु जया राईले प्रदेश १ की योगिता कानवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । पराजित योगिताले रजत पदक जित्दा आर्मीकी शारदा बिक तेस्रो हुँदै काश्य पदकमा सिमित् भए । वरियता निर्धारणमा शारदा दोस्रो स्थानमा छन् भने सोनु तेस्रो र योगिता चौथो स्थानमा छन् ।   कूल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार छ स्वर्णको छिनोफानो भएको हो । आर्चरीमा मधेश र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टीम र मिक्समा प्रतिष्पर्धा गराइएको थियो ।