काठमाडौंः टाइब्रेकरमा ब्राजिललाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेकोहो । एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरी गरेपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको थियो । टाइब्रेकरमा क्रोएसियाका निकोलस भ्लासिचले गोल गर्दै अग्रता दिलाए । जवाफमा ब्राजिलका रोड्रीगोको प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए । त्यसपछि क्रोएसियाका लोभ्रो माएरले गोल गर्दा क्यासेमिरोले पनि कुनै गल्ती गरेनन् । क्रोएसियाका लागि लुका मोड्रीचले तेस्रो प्रहारमा गोल गरेपछि ब्राजिलका पेड्रोले पनि गोलरक्षकलाई गलत दिशामा पठाए । चौथो प्रहारमा क्रोएसियाका मिस्लाभ ओर्सिचले गोलरक्षक एलिसनलाई बिट गर्दै अग्रता कायम राखे । ब्राजिलको चौथो प्रहारमा मार्किन्हसले पोस्टमा प्रहार गरेपछि क्रोएसिया सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । अघिल्लो खेलमा जापानलाई टाइब्रेकरमा पराजित गरेको क्रोएसिया लगातार दोस्रो खेलमा जित हासिल गर्न सफल भयो । अतिरिक्त समयको पहिलो हाफ सकिनै लाग्दा नेयमारले सुन्दर गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । तर क्रोएसियाका लागि बेन्चबाट मैदान छिरेका ब्रुनो पेत्कोभिचले ५ मिनेट समय बाँकी रहँदा गोल गर्दै खेल पुनस् बराबरीमा ल्याए । अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिर आफैं सुरु गरेको मुभलाई ६ यार्ड बक्सभित्र गोलरक्षकलाई समेत छलाउँदै गोल गरेका थिए । नेयमारले पेनाल्टी क्षेत्र बाहिरबाट लुकास पाक्वेटालाई पास दिएर आफू भित्र पसे । त्यसपछि डिफेन्डरको चुनौती चिर्दै उनले गोलरक्षकलाई बिट गर्दै सुन्दर गोल पूरा गरे । दोस्रो हाफको ४ मिनेट समय बाँकी रहँदा क्रोएसियाले बराबरी गोल फर्कायो । पेत्कोभिचले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । बायाँ विंगबाट मिस्लाभ ओर्सिचले दिएको पासमा पेक्तोभिचले गरेको प्रहार डिफेन्डरलाई लाग्दा गोलरक्षक एलिसनले बचाउने अवसर नै पाएनन् । आज हुने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स खेल्नेछन् । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ ।
पोखरा: ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले पोखरामा जारी आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता अन्तर्गत मेन्स डबल्समा प्रथम स्थान हाँसिल गरेका छन् । शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ताइपेइका के हाउ हङ र काई एन याङको जोडीलाई ६–४, १–६ र सुपरटाईमा १०–५ ले पराजित गर्दै पटेल जोडी विजयी भएका हुन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी प्रतियोगिता अन्तर्गत महिला डबल्सतर्फ भारतका दुर्गान्सी कुमार र काइरा सिद्धार्थ चेत्नानीको जोडीले प्रथम स्थान हाँसिल गरे । फाइनल खेलमा नेपालकी रायना शाह र भारतका स्निग्दा कान्तको जोडीलाई ६–२ र ६–० को सहज सेटमा जित निकाल्दै दुर्गान्सी जोडी विजयी भएको हो । पुरुष एकलतर्फ भारतका बंश नन्दललाई ६–२, ६–३ ले पराजित गर्दै ताइवानका के हाउ हङले फाइनलमा स्थान बनाएका छन् । अमेरिकाका हानु पटेलले ताइपेइका केइ यन याङलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगे । प्रतियोगिताको सिंगल्स फाइनल तथा समापन शनिबार विहान हुने आयोजक संघका अध्यक्ष लोक गुरुङ्गले जानकारी दिए ।
पोखरा: ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिताहरु जारी रहेका छन् । निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत बिहिबार दोश्रो दिन फुटबलका प्रतिष्पर्धाहरु जारी रहेका हुन् । बिहिबार प्रतियोगिता अन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेलहरु सम्पन्न भएको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका छन् । सम्पन्न प्रतियोगिता अन्तर्गत सिनियरतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा रेन्वो एकेडेमीले कन्चनजंगालाई ३–० ले पाखा लगाउँदा शान्ती दिपले कुमुदिनी होम्सलाई ४–१ गोलले पराजित गरेको छ । त्यसै गरी टप्सले हावर्डलाई ५–१ ले, तारा कुञ्जले सनफ्लावरलाई ३–० ले, पोखरा पव्लिकले डिजनी ल्याण्डलाई २–१ ले पराजित गरेको छ । सिनियरतर्फनै आदर्श क्लव खेल मैदान लेखनाथमा सम्पन्न खेलमा पोखरा एकेडेमीले धौलागिरीलाई ४–० गोलले, बाल प्रभातले सबलाइमलाई ४–० ले, शान्ती निकुञ्जले गुरुकुललाई ७–० को भारी गोल अन्तरले पराजित गरेको छ । त्यस्तै सृजना र फिसटेल एकेडेमीको खेल भने टाइ व्रेकरमा सकिएको छ । निर्धारित समयमा १–१ गोल भए पछि टाइव्रेकरमा सृजना बोर्डिङले ५–४ ले आफ्नो खेल जितेको छ । त्यसै गरी जुनियर तर्फ शान्तीदिप खेल मैदानमा सम्पन्न खेलमा पारामाउण्टले तारा कुञ्जलाई २–१ ले, गुरुकुलले बाल कल्याणलाई ७–० ले, रेन्वोले सवलाइमलाई ५–० ले, सगरमाथाले स्टेप वाई स्टेपलाई ४–० ले पराजित गरेको प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् । यता जुनियरतर्फको एक अर्को खेलमा पोखरा स्पाइरलले पोखरा लनर्सलाई ५–० ले पराजित गरे पनि पोखरा लनर्सले खेलाडीको विषयलाई लिएर प्रोटेष्ट हालेको थियो । छानविन पश्चात स्पाइरललाई आयोजकले २० हजार नगद सहित एक वर्षका लागि प्याव्सनको कुनै पनि गतिविधीमा सहभागि हुन नपाउने गरी निलम्वन गरिएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् । त्यस्तै नेपाल आदर्श खेल मैदानमा जुनियरतर्फको खेलमा हिल पोइन्टले अल्फालाई ३–० ले, केफले डायमण्डलाई २–१ ले, कुमुदिनीले फिसटेललाई ३–१ ले, शान्तीदिपले बेथानीलाई ३–१ ले र हाभर्डले लेखनाथ विभुतीलाई ४–० ले पाखा लगाउँदै दोश्रो चरणमा प्रवेश गरेको १७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिएका । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।
काठमाडौं: रत्ननगरमा शनिबारदेखि प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा जिल्लाका सात पालिकाको सहभागितामा नगरपालिकास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको हो । कार्यक्रमका संयोजक कृष्ण चौधरीका अनुसार यही मङ्सिर २४ देखि आगामी पुस २ गतेसम्म प्रतियोगिता हुनेछ । नेपाल माविको खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु एक लाख ११ हजार एक सय ११ र द्वितीय हुनेलाई रु ५५ हजार पाँच सय ५५ नगदसहित शिल्ड र मेडल प्रदान गरिनेछ । चौधरीले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई रु दुई हजार पाँच सय र सम्पूर्ण खेल मध्ये म्यान अफ दि सिरिज हुने खेलाडीलाई रु १२ हजार पाँच सय प्रदान गरिने जानकारी दिए । प्रतियोगिताका लागि नगरपालिकाले रु सात लाख ९८ हजार छ सय ६६ बजेट विनियोजन गरेको उनले जानकारी दिए । नगरपालिकास्तरीय मेयर कप भइरहने भए पनि जिल्लास्तरीय अन्तर नगरपालिका फुटबल भने पहिलो भएको चौधरीले जानकारी दिए । जिल्लाका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकाका खेलाडीको सहभागिता रहने छ ।
काठमाडौं: कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आजको पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ । नेपालमा टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका दर्शकले शुक्रबारदेखि फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबलको आनन्द लिन पाउनेछन् । काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्सले मिडिया हबसँग फुटबल देखाउने सहमति गरेका छन् । जसअनुसार वान सिनेमाज् मल्टिप्लेक्सले नयाँ बानेश्वरस्थित आइप्लेक्स मल र कालिमाटीस्थित हलमा फुटबल देखाउँदैछ । राति साढे ८ बजे वान सिनेमाजले दुवै हलमा ब्राजिल र क्रोएसियाको खेल देखाउनेछ । हलले बुधबार बेलुका नै एड्भान्स बुकिङ खुला गर्दै शुक्रबार बेलुका साढे ८ बजे फुटबलको लाइभ देखाउने जनाएको थियो । कमलपोखरीस्थित बिग मुभिजले सेमिफाइनल र फाइनल खेल देखाउने म्यानेजर दीपेश शर्माले जानकारी दिए । अर्को ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगुबस्थित ल्होत्से मल, पोखरा र चितवनस्थित सिनेप्लेक्सका हलबाट फुटबल देखाउने जनाएको छ । यी हलहरुले टिकट प्रतिशत सेयरिङ सहमतिमा फुटबल देखाउन लागेका हुन् । क्यूएफएक्स मल्टिप्लेक्सले पनि हलमा फाइनल खेल देखाउने तयारी गरिरहेको छ ।
काठमाडौं: कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदैँछ । आज (शुक्रबार) क्वाटरफाइनलका दुई खेलमा प्रतिस्पर्धा हुनेछ । पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलको सामना गर्नेछ । यो खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । सन् २००२ को च्याम्पियन ब्राजिल २०१४ मा बाहेक क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको छैन । क्रोएसियासँग भिड्दै गर्दा ब्राजिल कीर्तिमानी छैटौं पटक पनि विश्व च्याम्पियन बन्ने आफ्नो आशा जीवितनै राखेको छ । अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ ले हराएर अघि बढेको ब्राजिल सोही जितको लयलाई निरन्तरता दिन चाहान्छ । यता, लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक क्वाटरफाइनलमा पुगेको क्रोएसिया पनि ब्राजिललाई स्तब्ध पार्दै लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्ने दाँउमा रहेको छ। अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा मुस्किलले हराएर क्रोएसियाले ब्राजिलसँगको भेट पक्का गरेको हो । यस्तै अर्को खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिना र नेदरल्यान्ड्सबीच राति १२ः४५ बजे हुनेछ । यो खेल लुसेल आइकोनिक रंगशालामा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । नेदरल्यान्ड्सले अमेरिकालाई ३–१ ले तथा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएर अन्तिम आठमा भेट पक्का गरेको हो । नेदरल्यान्ड्स आफ्नो पछिल्लो पाँच विश्वकपमध्ये चारपटक अन्तिम आठमा पुगेको थियो । २००६ मा अन्तिम १६ बाट बाहिरिएको नेदरल्यान्ड्स २०१० र १०१४ मा सेमिफाइनलमा पुगेका थिए । २०१० को उपविजेता नेदरल्यान्ड्स पछिल्लो १९ खेलमा अपराजित छ । २०१४ को उपविजेता अर्जेन्टिनाले सन् १९९८, २००६ र २०१० मा क्वाटरफाइनलका खेल गुमाएका थिए । त्यो हार एकपटक नेदरल्यान्ड्स र दुईपटक जर्मनीसँग थियो । यसपटक अर्जेन्टिना त्यो भन्दा अघि बढ्न दाउमा रहेको छ ।
पोखराः ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबलतर्फ २० खेल सम्पन्न भएको छ । निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत आज (बिहिबार) दोश्रो दिन फुटबल तर्फ २० खेल सम्पन्न भएको हो । बिहिबार प्रतियोगिता अन्तर्गत सिनियर र जुनियरतर्फ गरी २० खेलहरु सम्पन्न भएको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले जानकारी दिएका हुन् । सम्पन्न प्रतियोगिता अन्तर्गत सिनियरतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा रेन्वो एकेडेमीले कन्चनजंगालाई ३–० ले पाखा लगाउँदा शान्ती दिपले कुमुदिनी होम्सलाई ४–१ गोलले पराजित गरेको छ । त्यसै गरी टप्सले हावर्डलाई ५–१ ले, तारा कुञ्जले सनफ्लावरलाई ३–० ले, पोखरा पव्लिकले डिजनी ल्याण्डलाई २–१ ले पराजित गरेको छ । सिनियरतर्फनै आदर्श क्लव खेल मैदान लेखनाथमा सम्पन्न खेलमा पोखरा एकेडेमीले धौलागिरीलाई ४–० गोलले, बाल प्रभातले सबलाइमलाई ४–० ले, शान्ती निकुञ्जले गुरुकुललाई ७–० को भारी गोल अन्तरले पराजित गरेको छ । त्यस्तै सृजना र फिसटेल एकेडेमीको खेल भने टाइ व्रेकरमा सकिएको छ । निर्धारित समयमा १–१ गोल भए पछि टाइव्रेकरमा सृजना बोर्डिङले ५–४ ले आफ्नो खेल जितेको छ । त्यसै गरी जुनियर तर्फ शान्तीदिप खेल मैदानमा सम्पन्न खेलमा पारामाउण्टले तारा कुञ्जलाई २–१ ले, गुरुकुलले बाल कल्याणलाई ७–० ले, पोखरा स्पाइरलले पोखरा लनर्सलाई ५–०, रेन्वोले सवलाइमलाई ५–० ले, सगरमाथाले स्टेप वाई स्टेपालाई ४–० ले पराजित गरेको प्रचार समितिका संयोजक डिल्लिराम अर्यालले जानकारी दिएका छन् । त्यस्तै नेपाल आदर्श खेल मैदानमा जुनियरतर्फको खेलमा हिल पोइन्टले अल्फालाई ३–० ले, केफले डायमण्डलाई २–१ ले, कुमुदिनीले फिसटेललाई ३–१ ले, शान्तीदिपले बेथानीलाई ३–१ ले र हाभर्डले लेखनाथ विभुतीलाई ४–० ले पाखा लगाउँदै दोश्रो चरणमा प्रवेश गरेको छ । १७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिएका । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ । प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९ छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् । कक्षा ११–१२ अन्तर्गत नै एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता हुनेछ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए ।
गुल्मी: गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषदमार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम रु दुई करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौँका इञ्जिनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए । बुल्मचौरलाई एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइले रङ्गशालाको रूप दिएको छ । दोस्रो चरणमा रु एक करोड ५० लाख लागतमा भवन, प्यारापिट निर्माण, रङ्गशाला वरपर नाली बनाउने र कार्यालयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इञ्जिनियर शाहीले बताए । पहिलो चरणमा गरिएका काम भत्कँदै जाने र दोस्रो चरणको काम समयमै सुरु नहुने कारणले गर्दा रङ्गशाला निर्माण हुने स्थानका स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् । रङ्गशाला बन्ने आशा हराउँदै गएकाले आफूहरूको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय ओमबहादुर कुमालले तीन वर्षदेखि रङ्गशाला अलपत्र पर्दा पनि कसैको ध्यान नपुगेको बताए । “राम्रै चौर थियो गाईभैँसी चराउन भएकै थियो, दशैँमा रातो माटो बेचेर वर्षभरको घर खर्च चल्थ्यो”, ६६ वर्षीय ओमबहादुर भन्छन्, “रङ्गशाला बन्दा खुसी भए पनि अहिले काम अघि नबढ्दा दुःखी छौँ”, उनले भने । सोही स्थानका बेदुमाया कुमाल पनि रङ्गशाला नबन्ने पिरलोमा छिन् । रङ्गशाला बनेमा घर–घडेरी बिक्री भएर आर्थिक आम्दानी हुने आशा विस्तारै निराशामा परिणत भएको उनले बताइन् । सोही स्थानका कृष्णबहादुर कुमाल पनि विकास हुनु सबैका लागि राम्रो भए पनि हुँदा हुँदैको चौरलाई रङ्गशालाको नाममा त्यसै छोड्न नहुने बताउँछिन् । राज्यको लगानी बालुवामा पानीसरह भएको बुल्मचौरका अर्का स्थानीय रुद्रबहादुर कुमालले बताए । “सरकारले लगानी गरेपछि त रेखदेख गर्ने व्यक्ति हुनुपर्ने हो”, उनी भन्छन्, “बेवारिसे अवस्थामा रङ्गशाला हुँदा भएको संरचना पनि भत्किन थाले”, उनले भने । रङ्गशाला निर्माण सम्पन्न भइसक्दा रु एक अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको थियो । पन्ध्र हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने गरी चरण–चरणमा काम सुरु भएको हो । रङ्गशाला बनेमा प्रत्यक्ष लाभ लिने बुल्मचौरका तीन सय २५ घरपरिवार यतिबेला निराश अवस्थामा रहेको इस्मा–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरले बताए । यस क्षेत्रमा कुमाल समुदायको बाहुल्यता छ । जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले राष्ट्रिय खेलकुद परिषदमार्फत सिधै ठेक्का भई काम अगाडि बढेकाले आफूहरूले केही गर्न नमिल्ने बताए । आफ्नो मातहतमा नभए पनि समय–समयमा रङ्गशालाको रेखदेख गर्ने गरेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद्ले गाउँपालिकासँग समन्वय नगरीकन रङ्गशालाको काम अगाडि बढाएकाले अहिलेसम्म आफ्नो मातहतमा काम गर्न नमिल्ने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । आफू निर्वाचित भएर आएपछि बुझ्दा अब रङ्गशालामा बजेट नआउने भएकाले रङ्गशाला गाउँपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायमा माग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिए ।
पोखरा: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सवअन्र्तगत बुधबारबाट छात्र तथा छात्रा एकलतर्फको ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुधबारबाट शुरु भएको प्रतियोगितामा छात्र छात्रा एकलतर्फको पहिलो र दोश्रो चरणका खेलहरु सम्पन्न भएको प्रतियोगिता संयोजक व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए । छात्रतर्फ एलपी देवकोटा मेमोरियल विद्यालयका आशिष थापालाई पराजित गर्दै साईनिङ स्टारका अर्पन राई, हेम्जा बोर्डिङ स्कुलका आशिष थापालाई पराजित गर्दै गोरखा इङ्लीसका लिलिन नेपाली, अक्सफोर्ड स्कुलका प्रिन्स लम्साललाई पराजित गर्दै यूनिभर्स बोर्डिङ स्कुलका सिरिस बास्तोला, पुष्पसदन बोर्डिङ स्कुलका मोनिक थापालाई पराजित गर्दै चिल्ड्रेन्स एकेडेमीका अमृत गुरुङ विजयी भए । यस्तै, बड्स एकेडेमीका आयूस पहारीले रिलायन्स स्कुलका समिर जिसीलाई, ज्ञानज्योतिका सोमबहादुर गुरुङले सिद्धार्थ लभडेल बोर्डिङ स्कुलका बिशाल गुरुङलाई, सिद्धि विनायक बोर्डिङ स्कुलका सन्दिप खड्काले कान्तिपुर एकेडेमीका दिपिन सुनार र कास्की मोड्नाइज एकेडेमीका दिप रानाले गण्डकी एकेडेमीका सागर थापालाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् । यसैगरि छात्रा एकलतर्फ त्रिवेणीकी परिसा गुरुङले इम्यानुअल स्कुलकी प्राप्ती गुरुङलाई, पुष्पसदन एकेडेमीकी भेलेन्सिया गुरुङले हिलसाइड इङ्लिस स्कुलकी सहारा खड्कालाई , कास्की कास्की मोड्नाइज एकेडेमीकी सोनिका थापाले , बड्स एकेडेमीकी दिपलक्षा सुनारलाई पराजित गरिन् । यस्तै कान्तिपुर एकेडेमीकी दिया गुरुङले साइनिङ स्टार स्कुलकी बिना घिमिरेलाई , ज्ञानज्योति बोर्डिङ स्कुलकी अन्सु गुरुङले अल्फा एकेडेमीकी निकिता न्यौपानेलाई र अञ्जुली बोर्डिङ स्कुलकी मेनुका पुनले हेम्जा बोर्डिङ स्कुलकी एञ्जिला बुढाथोकीलाई पराजित गर्दै । क्वाटर फाइनल प्रवेश गरेका छन् भने सिद्धिविनायक बोर्डिङ स्कुलकी एनी गर्बुजा लिटिल फ्लावर स्कुलले वाक ओभर दिएपछि सोझै क्वाटरफाइनलको यात्रा तय गरेकी छन् । लिग कम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा छात्रतर्फ ३२ विद्यालय र छात्रातर्फ ३० विद्यालयको सहभागिता रहेको व्याडमिन्टन प्रतियोगिता संयोजक अर्जुन अधिकारीले जानकारी दिए । यसअघि आज नै छात्र तथा छात्रा एकलतर्फको पहिलो खेलबाट दोश्रो चरणमा प्रवेश गरेका थिए । बिहीबार क्वाटरफाइनल , सेमीफाइनल चरणका खेलहरु सञ्चालन गरिने आयोजकले जनाएको छ ।

