पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

काठमाडौं:    नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियनसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन् ।  पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट भए । महिलातर्फ नेपाल वरीयता एककी नविता श्रेष्ठ मात्रै सफल भइन् । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरियतामा पर्न असफल भए ।   शुक्रबार भएको समूह चरणमा विजयीहुँदै संयोग, रुविन, बिनेश र नविता छनोट भइसकेका थिए । शनिबार भएको खेलमा पराजित भएपनि शिव र प्रदीप शीर्ष १६ वरियतामा स्थान बनाउँदै छनोट हुन सफल भएका छन् ।   अन्तिम खेलमा शिव पाकिस्तानका हसिव ख्वाजासँग सोझो सेटमा हार्न पुगे । आइतबार शिवले नवौं वरियताको लागि बंगलादेशका नाफिज इक्वालसँग प्रतिस्पर्धा गर्नेछन् । यसैगरी प्रदीप बंगलादेशका रामहिमलियान वानसँग ३–२ सेटमा पराजित भएपनि १६ औं वरियतामा रहन सफल भए ।   पुरुषतर्फ नेपालका पाँच खेलाडी छनोटहुँदा पाकिस्तानका चार, बंगलादेश, भारत र श्रीलंकाका दुई–दुई खेलाडी छनोट हुँदा माल्दिभ्सका एक खेलाडी छनोट भए ।  महिलातर्फ शीर्ष वरीयतामा भारत र श्रीलंकाका पाँच–पाँच खेलाडी छनोट हुँदा पाकिस्तान तीन र माल्दिभ्स, नेपाल र बंगलादेशका समान एक खेलाडी छनोट भएका छन् ।  एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ ।

 काठमाडौं: फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गर्यो । औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता दिलाए । इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले केहि सुन्दर बचाउ गरे । पहिलो हाफमा फ्रान्सले अग्रता जोगाउन सफल भयो । दोस्रो हाफको सुरुवातमै इंग्ल्यान्ड पेनाल्टीमा गोल गर्दै खेलमा फर्कियो । तर जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई पुनःअग्रतामा लगे । इंग्ल्यान्डले ६ मिनेट समय बाँकी रहँदा पुनः पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएको थियो । तर केनले त्यसको सदुपयोग गर्न नसक्दा टोली खेलमा फर्कन सकेन । खेलको १७ औं मिनेटमा चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो । चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा इंग्लिस डिफेन्स लाइन र गोलरक्षक जोर्डन पिकफर्ड बिट भएका थिए । फ्रान्सले अग्रता लिएको ५ मिनेटपछि इंग्ल्यान्डले बराबर गर्ने अवसर पायो । तर इंग्लिस कप्तान ह्यारी केनको प्रहारलाई विपक्षी कप्तान ह्युगो लोरिसले विफल पारे । केनले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डायोट उपामेकानो बिट गरेपछि वन भर्सेस वनको स्थितिमा लोरिसले अघि बढ्दै बचाउ गरे । २९ औं मिनेटमा लोरिस पुनः बाधक बने । केनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई लोरिसले डाइभ दिँदै बाहिर पठाए । केनविरुद्ध पेनाल्टी क्षेत्रको ठिक बाहिर उपामेकानोले फल गर्दा भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी दिएन । दोस्रो हाफको सुरुवातदेखि नै इंग्ल्यान्डले खेलमा पकड जमायो । ५४ औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्कियो पनि । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ७८ औं मिनेटमा फ्रान्सले पुनः अग्रता लियो । ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई अघि बढाए । उनले एन्टोइन ग्रिजमनको क्रसमा गरेको हेडर डिफेन्डर ह्यारी मगाएरलाई लाग्दै गोल भएको थियो । ८४ औं मिनेटमा इंग्ल्यान्डले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके । उनको प्रहार क्रसबारबाट माथि गएको थियो । फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले आजै भएको तेस्रो क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गरेको थियो । प्रतियोगिताको अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।

पोखराः   पोर्चुगललाई पराजित गर्दै अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १(० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो।  विश्वकपमा मोरक्को र अफ्रिकन महादेशको यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो।  यसअघि अफ्रिकन टिमको विश्वकपमा उत्कृष्ट नतिजा क्वार्टरफाइनलमा मात्र पुग्नु थियो। यसअघि क्यामरुन, घाना र सेनेगलले अन्तिम आठमा पुगे पनि सेमिफाइनलमा पुगेर इतिहास बनाउन भने चुकेका थिए। शनिबार खेलको ४२ मिनेटमा मोरक्कोले खेलमा अग्रता लियो। युसेफ इन नेस्स्रीले हेडमार्फत गोल गर्दै मोरक्कोलाई १(० गोलले अघि बढाएका थिए। उनलाई गोल गर्न अतियत अल्लाहले पास उपलब्ध गराएका थिए।  खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पहिलो हाफमा बेन्चमा राखिएको थियो। उनी खेलको ५१ मिनेटमा नेभेसको स्थानमा मैदान प्रवेश गरेका थिए। तर पनि उनको प्रभाव दोस्रो हाफमा पोर्चुगलको टिममा देख्न सकिएन।  मैदान छिरेको १८ मिनेटसम्म उनले सात पटक मात्र बल छोएका थिए। मोरक्कोविरुद्ध खेलेसँगै रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरे। कुवेतका बडेर अल मुटवाको नाममा रहेको १९६ अन्तर्राष्ट्रिय खेलको कीर्तिमान रोनाल्डोले शनिबार बराबरी गरेका हुन्। खेलको अन्त्यतिर मोरक्को १० खेलाडीमा सीमित बनेको थियो। मोरक्कोका चेडिरा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए। मोरक्कोले अब फाइनल प्रवेशका लागि फ्रान्स वा इंग्ल्यान्डमध्ये एक टिमसँग भिड्नेछ। फ्रान्स  र इंग्ल्यान्ड अन्तिम क्वार्टरफाइनलको खेलमा भिड्दैछन्। 

पोखराः  ‘१७ औं प्याब्सन स्पोर्टस मिट २०७९’ अन्तर्गत पोखरामा सिनियर र जुनियर छात्रतर्फ फुटबल प्रतियोगिता जारी रहेको छ भने प्लस–टु (कक्षा ११–१२)तर्फ छात्रा भलिबल र छात्र बास्केटबल प्रतियोगिताहरु सुरु भएका छन्  ।  निजि विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिट अन्तर्गत शनिबार चौथो दिन पनि सिनियर र जुनियर फुटबलतर्फका २० खेल सम्पन्न भएका हुन् ।  पोखराका तिन छुट्टा–छुट्टै खेल मैदानमा सञ्चालन सिनियरतर्फ र जुनियरतर्फ प्रि–क्वाटरका खेलहरु सञ्चालन भइरहेको प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद र्पौडेलले जानकारी दिएका छन् ।  सम्पन्न प्रतियोगिता अन्तर्गत सिनियर फुटबलतर्फ गौरीशंकर खेल मैदानमा सम्पन्न भएको खेलमा हिल पोइन्ट, ग्लोबल, शान्ती दिप, पोखरा पब्लिक र मेट्रोपोलिटियन विजयी भएका छन् । खेलमा हिल पोइन्टले हिमाञ्चललाई ४–० गोलले पराजित गर्दा ग्लोबलले भ्यू पोइन्टलाई १–० र पोखरा पब्लिकले तारा कुञ्जलाई ७–१ को भारी गोल अन्तरले पराजित गरेको छ । एक अर्को खेलमा शान्ती दिपले टप्सलाई टाइव्रेकरमा ४–२ ले पाखा लगाएको छ । निर्धारित समयमा दुबै टिमले गोल गर्न सकेका थिएनन् । अर्को एक खेलमा मेट्रोपोलिटियनले स्टेप बाई स्टेपलाई २–० ले पराजित गरेको फुटबल संयोजक जगत थापाले जनाए  ।  सिनियर फुटबलतर्फनै बालविद्याले पोखरा युनाइटेडलाई २–० ले, विद्या निकेतनले सरस्वतीलाई २–१ ले, पोखरा एकेडेमीले गोल्डन नेचरलाई ४–० ले बालोदयले बाल प्रभातलाई २–१ ले, शान्तीकुञ्जले हिमालयनलाई १–० ले पराजित गरेको छ । एक अर्को खेलमा शिसु कल्याणले एक्स आर्मीलाई टाइ व्रेकरमा ४–२ ले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले ३–३ गोल गर्दै बराबरी खेलेका थिए ।  यता शान्ती दिप खेल मैदानमा जुनियरतर्फको खेलमा पारामाउण्टले सोसियल पव्लिकलाई १–० ले, गुरुकुलले प्रगतीलाई ३–२ ले, गुरुकुलले पिएलएलाई ५–० ले, सगरमाथाले भाष्करलाई १–० ले र स्नो भ्यूले ग्लोबललाई २–१ ले पराजित गरेको छ ।  बास्केटबल प्लस–टु तर्फ छात्रको खेल सुरु  प्याब्सन स्पोर्टस मिट अन्तर्गत बास्केटबल छात्रतर्फको खेल शनिबारबाट सुरु भएको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा सञ्चालन भएको बास्केटबलमा ६ खेल सम्पन्न भएको  प्लस् टु बास्केटबल संयोजक खिम गुरुङले जनाएका छन् ।  बास्केटबलको उद्घाटन खेलमा गोल्डेन नेचरले प्रतिष्पर्धात्मक खेलमा टप्स मावीलाई ३६–३३ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा बाल कल्याणले भाष्करलाई ५२–३० ले, मेरी गोल्डले धौलागिरीलाई ५२–२७ ले, माउन्ट अन्नपूर्ण माविले प्रगतीलाई ५६–११ ले, सोसियल पब्लिकले बेथानीलाई प्रतिष्पर्धात्मक खेलमा २९–२५ ले पराजित गर्दा अन्तिम खेलमा पश्चिमाञ्चलले केफलाई २०–१८ ले पराजित गरेको छ ।  यस अघि बास्केटबल खेलको उद्घाटन प्याब्सनका पूर्व केन्द्रिय उपाध्यक्ष शेर बहादुर गुरुङले गरेका थिए ।  छात्रा भलिबल सुरु     प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस–टु (कक्षा ११–१२) र मावि तह कक्षा १–१० तर्फ छात्रा भलिबल खेल शनिबारबाट पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सुरु भएको छ ।  प्लस टु छात्रातर्फ भलिबलमा कूल ८ टिम मावितर्फ २४ टिमको सहभागिता रहेको भलिबल प्रतियोगिता संयोजक नविन बरालले जानकारी दिएका छन् । प्लस टु छात्रातर्फको खेलमा प्रतिभाले माउन्ट अन्नपूर्णलाई २५–७, २५–९ ले, करुणानिधीले मदर ल्याण्डलाई २५–१३, २५–१२ ले, पश्चिमाञ्चलले भाष्करलाई २५–१८, २५–१८ ले र गुरुकुलले टप्सलाई २५–१९, २५–२० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेका छन् ।  त्यस्तै मावि कक्षा ११–१२ तर्फ सम्पन्न खेलमा रेन्वो एकेडेमी, टप्स मावि, नेपाल आदर्श आज नै सम्पन्न आ–आफ्नो २–२ खेल जित्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । त्यस्तै एक खेलमा जित एक खेलमा पराजित हुँदै न्यू मोडल बाहिरिएको छ भने डायमण्ड, स्टेप बाई स्टेप र तारा कुञ्ज, धौलागिरी र नेशनल इन्भेन्टिभले एक–एक खेल जित्दै दोश्रो चरणको यात्रा सुरक्षित गरेका छन् ।  उक्त भलिबल खेलको प्याव्सनका केन्द्रिय सदस्य प्रेम प्रसाद शर्मा र पूर्व केन्द्रिय उपाध्यक्ष रत्नमान गुरुङले एकै समयमा दुई वटा कोर्टमा सुरु भएको दुई छुट्टा–छुट्टै खेलको उद्घाटन गरेका थिए । यस अघि १७ औं प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछानेले बल प्रतियोगिताका संयोजकलाई हस्तान्तरण गरेकी थिइन् ।  १७ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उद्घाटन यहि मंसिर २५ गते पोखरा रंगशालामा संघिय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिएका छन् । उद्घाटन कार्यक्रम अपरान्ह ११ बजे सुरु हुनेछ । प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा बास्केटबल, छात्र तथा छात्रा एथलेटिक्स जस्ता इभेन्टहरूमा ७७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।  प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । त्यसै गरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता हुने प्रतियोगिताकी संयोजक तथा प्याब्सन कास्कीकी वरिष्ठ उपाध्यक्ष उमा लामिछानेले जानकारी दिएकी छन् ।  कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालयको सहभागिता रहेको छ । कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता हुनेछ । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने अनुमान रहेको कास्की प्याब्सनले जनाएको छ । प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको सचिव पुष्पराज पराजुलीले बताए । 

पोखराः    प्याब्सन कास्की र पोखराका पत्रकारबीच भएको मैत्रिपूर्ण फुटबल बराबरीमा सकिएको छ ।  शनिबार पोखरा रंगशालामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन) कास्की र पोखराका पत्रकारबिच भएको खेल ६/६ को बराबरी सकिएको हो ।  प्याब्सनका लागि अन्जन अधिकारीले ह्याट्रिक गर्दा रोशन लिम्बु र रविन कार्कीले १/१ गोल गरे । पत्रकार टिमबाट निकोलस गुरुङले ह्याट्रिक गर्दा सुरज श्रेष्ठ, बसन्त शेर्पा र प्रविन मगरले १/१ गोल गरे ।   

 पोखराः   १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सवमा कास्की मोड्नाइज एकेडेमी च्याम्पियन भएको छ ।  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा पोखरामा शुक्रबार सम्पन्न भएको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत १ सय ६६ अंक सहित कास्की मोड्नाइज एकेडेमी च्याम्पियन भएको हो ।  कास्की मोड्नाइज एकेडेमीले सिनियर बास्केटवल छात्र तर्फ उपाधि, व्याडमिन्टन सिनियर छात्र तथा छात्रा तर्फ दोहोरो उपाधि, फुटवल सिनियर तथा जुनियर सेभेन ए साइड फुटवल प्रतियोगितामा र टेवल टेनिस सिनियर छात्र तर्फ उपाधि जित्यो । त्यसै गरी कास्की मोड्नाइज एकेडेमीले एथ्लेटिक्स तर्फ ७ वटा इभेण्टमा प्रथम हुदै स्वर्ण पदक हात पार्न सफल भयो । कास्की मोड्नाइज एकेडेमीले एकल तथा सामुहिक खेलमा १३ वटा खेलमा जित हासिल गरेको हो । नेश्नल क्रियसन स्कुलले ४५ अंक ल्याउदै कास्की मोड्नाइज एकेडेमीलाई पछ्याएको थियो ।  यस्तै, एथलेटिक्सतर्फ हेम्जा बोर्डिङ स्कुलले ५० अंक सहित पहिलो, कास्की मोड्नाइज ४५ अंकसहित द्वितिय र चिल्ड्रेन एकेडेमी तृतिय भयो ।  त्यस्तै बास्केटबतर्फ कास्की मोड्नाइज प्रथम, न्यू ग्यालेक्सी बोर्डिङ स्कुल द्वितिय, त्रिवेणी बोर्डिङ स्कूल र लिटिल फ्लावर बोर्डिङ स्कुल तृतिय भए ।  मंसिर २० गते देखि पोखरामा संचालन भएकोे उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि भएको एन प्याब्सन कास्कीका सचिव मानकाजी गुरुङले बताए ।  उक्त कार्यक्रममा वोल्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का केन्द्रिय अध्यक्ष पाण्डब हमालले विद्यार्थी चौतर्फी विकासको मुलधार भएको भन्दै उनले शिक्षासँगै खेलकुदलाई सँगै जोडेर हेर्नपर्ने बताए । खेलमा उत्कृष्टतासँगै सहभागिता पनि त्यसको विजेता रहेको उनको भनाई थियो । एन–प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा खेलकुद महोत्सव सम्पन्न भएको छ ।  छात्रा भलिबलको फाइनलको उपाधि नेश्नल क्रियसनलाई  एन प्याव्सन खेलकुद महोत्सव अन्तर्गत छात्रा भलिबलको उपाधि नेशनल कृयशन माविले जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएकोे फइनलमा ज्ञानज्योती विद्याकुञ्ज माविलाई नेशनल कृयशनले २–० सोझो सेटमा पन्छ्याउँदै उपाधि हात पारेको हो । सम्पन्न फाइनल खेलमा नेशनल कृयशनले पहिलो सेट २५–१४ ले जित्दै ज्ञान ज्योतीलाई दबाबमा राख्यो । त्यस्तै दोश्रो सेटमा समेत २५–८ ले जित्दै कृयशनले पहिलो स्थान मात्रै प्राप्त गरेन उपाधि समेत हात पार्न सफल भयो । त्यस्तै प्रतियोगितामा बड्स एकेडेमी र कास्की मोर्डनाइज्डले संयूक्त रुपमा तेश्रो स्थान हासिल गर्न सफल भएका छन् । आयोजकले सेमिफाइनालमा पुग्न सफल दुई टिमलाई तेश्रो स्थान हुने गरी नतिजा प्रकाशित गरेको हो । छात्रा भलिबलतर्फ एन प्याब्सन आवद्ध २४ विद्यालयहरुको सहभागिता रहेको भलिबल खेलका संयोजक प्रकाशराज वाग्लेले जानकारी दिए । मंसिर २० गतेदेखि शुरु भएको खेलकुद महोत्सवमा ४२ विद्यालयले सहभागिता जनाएका छन् । फुटवल तथा सेभेन ए साइड फुटवलमा कास्की मोड्नाइजको दोहोरो उपाधि  १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत पुरुष सिनियर फुटबल प्रतियोगिता तथा जुनियर तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा कास्की मोड्नाइजले दोहोरो उपाधि जितेको छ ।  पोखरा रंगशालामा शुक्रबार सम्पन्न भएको फुटवल फाइनल खेलमा लिटिल फ्लावर एकेडमीलाई कास्की मोड्नाइजले ट्राईब्रेकरमा ४–२ गोल अन्तर पराजित गरेको फुटवल खेल संयोजक राजु केसीले बताए । दुबै टीमले निर्धारित समयमा ३–३ गोलको बराबरी खेले पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।  पहिलो हाफको ६ औ मिनेटमा लिटिल फ्लावर एकेडमीका कुश पोर्खेलले गोल गर्दे टीमलाई अग्रता दिएका थियो । निकै रोमाञ्चक फाइनल खेलको २१ औ र २८ औ मिनेटमा कास्की मोड्नाइजका टीम क्यापटेन एसान्त पुनले दुई गोल गर्दे टीमलाई अग्रता दिलाए । त्यस्तै पुर्ण बहादुर गुरुङ खेलको २४ एक गोल थपेका थिए । लिटिल फ्लावर एकेडमीका विनय शाहीले २४ औ र लभ पोर्खेलले खेलको ३७ औ मिनेटमा समान एक एक गोल गरेका थिए ।  ट्राईबे्रकरमा कास्की मोड्नाइज एकेडमीका खेलाडी एसान्त पुन,प्रशान्त गुरुङ,कैलाश गुरुङ र प्रमोद थापाले गोल गर्दा लिटिल फ्लावर एकेडेमीको तर्फबाट भने दिपेश लामा र बिजन सुनारले मात्र गोल गर्न सफल भए ।  कास्की मोड्नाइज एकेडमीका तर्फ खेलाडीहरु पुर्ण बहादुर गुरुङ,एसान्त पुन,कुशल गिरी,सावन गुरुङ,प्रशान्त गुरुङ,सागर बिक,आविस्कार गुरुङ, आकाश हरमेल,कैलाश गुरुङ,प्रमोद थापा,मिसल मगर संजिप श्रेष्ठ,आरोन गुरुङ,सुसान्त गुरुङ,सन्दिप कुवँर र प्रनित कार्की रहेका थिए ।    त्यस्तै लिटिल फ्लावर एकेडमीको तर्फबाट खेलाडीहरु राम भुजेल,शिव गुरुङ,कृतिम गुरुङ,अकाश भुजेल,निसान केसी,सफल सुनार,आवास पुन,सर्मपण परियार,बिजन सुनार लभ पोर्खेल,टप बहादुर आले,सुसान्त गुरुङ,उत्सव शाही,कुश पोर्खेल,दिपेश लामा र सोनल तेलिजा पुन रहेको थिए ।  यसैबिच, जुनियर सेभेन ए साइड फुटवल प्रतियोगितामा पनि कास्की मोड्नाइज  विजयी भएको छ । माछा पोखरी खेल मैदानमा आयोजना भएको प्रतियोगितामा गोर्खा एकेडमीलाई २–१ गोलले पाखा लगाउदै कास्की मोड्नाईज एकेडमी विजयी भएको हो । कास्की मोड्नाईजको तर्फबाट बिजय सुनार र न्युयोङ गुरुङले गोल गरेका भने गोर्खा एकेडमीको तर्फबाट दिपेन घर्तीले एक गोल फर्काएका थिए । त्यस्तै सेमिफाइनलमा पराजित भएका न्यू क्रियशन एकेडमी र युनिभर्सल एकेडमी तेर्सो घोषित भयो ।    एथ्लेटिक्समा हेम्जा बोर्डिङ प्रथम  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) कास्कीको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न भएकोे १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अन्र्तगत एथ्लेटिक्स तर्फ हेथ्लेटिक्स तर्फ हेमजा बोर्डिङ प्रथम भएको छ । ५० अंकका साथ हेमजा प्रथम भएको हो । कास्की मोड्नाइज ४५ अंकका साथ दोश्रो र ३९ अंकका साथ चिल्ड्रेन एकेडेमी तेश्रो भयो ।    शुक्रबार पोखरा रंगशालामा भएको ४०० मिटर दौड सिनियर पुरुषतर्फको फाइनल खेलमा कास्की मोडनाइजका सन्दिप कुँवरले स्वर्ण पदक जित्न सफल भएभने लिटल फ्लावरका कुश पोखरेलले रजत र हेम्जा बोर्डिङका आयुष बिकले कास्य पदक जित्न सफल भए । त्यस्तै ४०० मिटरकै सिनियर महिलातर्फको फाइनल खेलमा कास्की मोडनाइजकी सितल भण्डारीले स्वर्ण, ज्ञानज्योती विद्याकुञ्जकी पल्लभी नेपालीले रजत र चिल्ड्रेन एकेडेमीकी रिता बसेलले कास्य जित्न सफल भइन् ।   त्यसैगरि शुक्रबार नै भएको ४०० मिटर दौड जुनियर महिलातर्फको फाइनल खेलमा हेम्जा बोर्डिङककी आस्ता मगरले स्वर्ण, लिटल फ्लावरकी सुजाता कुमालले रजत र ज्ञानज्योती विद्याकुञ्जकी स्वइच्छा गुरुङले कास्य पदक प्राप्त गरिन् ।   त्यस्तै २०० मिटर दौड सिनियर पुरुषतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका अन्जल कुँवर, न्यु लेखनाथ पब्लिकका अनुप क्षेत्री, कास्की मोडनाइजका आयुष क्षेत्रीले क्रमशः स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्न सफल भए । यता २०० मिटर महिला सिनियरतर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीकी कृष्नी क्षेत्रीले स्वर्ण, त्रिभेनी पब्लिककी सुप्रिया अधिकारीले रजत र ज्ञानज्योती विद्याकुञ्जकी एन्जिला बुढाथोकीले कास्य पदक प्राप्त गरिन् ।   २०० मिटर दौड जुनियर पुरुषतर्फको फाइनल खेलमा हेम्जा बोर्डिङका समिर कुँवरले स्वर्ण, कास्की मोडनाइजका श्रवण गुरुङले रजत र त्रिभेनी पब्लिकका सौगात रसाइलीले कास्य पदक प्राप्त गरेभने जुनियर महिलातर्फको फाइनल खेलमा त्रिभेनी पब्लिककी अन्जिल अधिकारीले स्वर्ण, चिल्ड्रेन एकेडेमीकी समिक्षा थापाले रजत तथा हेम्जा बोर्डिङकी गुन्जन परियारले कास्य पदक प्राप्त गर्न सफल भइन् ।   त्यसैगरि ४०० मिटरको पुरुष सिनियर रिलेतर्फको फाइनल खेलमा कास्की मोडनाइजले स्वर्ण, हेम्जा बोर्डिङले रजत र लिटल फ्लावरले कास्य पदक जित्न सफल भयोभने सोही रिले सिनियर महिलातर्फको फाइनल खेलमा ज्ञानज्योती विद्याकुञ्जले स्वर्ण, कास्की मोर्डनाइजले रजत र लिटल फ्लावरले कास्य पदक जित्न सफल भयो । त्यस्तै ४०० मिटरकै रिले जुनियर पुरुषतर्फको खेलमा कास्की मोडनाइज, हेम्जा बोर्डिङ र सागर मेमोरियलले क्रमशः स्वर्ण, रजत र कास्य पदक जित्न सफल भए । सोही खेलको जुनियर महिलातर्फको खेलमा लिटल फ्लावरले स्वर्ण, कास्की मोडनाइजले रजत र चिल्ड्रेन एकेडेमीले कास्य पदक जित्न सफल भयो ।   टेबलटेनिस  छात्रतर्फ कास्की मोड्नाईज एकेडेमीका मञ्जित थापा प्रथम, गोर्खा बोर्डिङ स्कुलका विजय विक द्वितिय, त्रिवेणी एकेडेमीका प्रवेश विक र पुष्प सदन एकेडेमीका अनमोल थापा तितृय हुँदा सोही विधाको छात्रातर्फ यूनिभर्स इङ्लिस बोर्डिङ स्कुलकी करुणा शर्मा प्रथम, साइनिङ स्टारकी सजिना राई द्वितिय हुँदा नेश्नल क्रियशनकी आस्था परियार र अल्फा एकेडेमीकी कृति गुरुङले तृतिय स्थान प्राप्त गरेका थिए ।  यसैगरि, ब्याडमिन्टनको छात्र एकलतर्फ कास्की मोड्नाईज एकेडेमीका दीप राना प्रथम, गोर्खा बोर्डिङ स्कुलका लेलिन नेपाली द्वितिय, यूनिभर्स बोर्डिङ स्कुलका सिरिष बास्तोला र बड्स एकेडेमीका आयूष पहारी तृतिय भए । छात्रातर्फ कास्की मोड्नाइजकी सोनिका थापा अञ्जुली सेकेण्डरी बोर्डिङ स्कुलकी मेनुका पुन द्वितिय, त्रिवेणी पब्लिक स्कुलकी परिसा गुरुङ र ज्ञानज्योती विद्याकुञ्ज माविकी अन्सु गुरुङ तृतिय भएकी छन् । 

पोखरा:   नेपालकै जेठो म्याराथन–‘पोखरा अन्तरराष्ट्रिय  म्याराथन’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्वभरका दौडहरु ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)को सदस्यता प्राप्ती संगै यसले अन्तरराष्ट्रिय  मान्यता पाएको हो । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तरराष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ भने आगामी फागुन ६ गते १७ औं सस्करणको तयारीमा जुटिसेको छ । हालै मात्रै पोखरा अन्तरराष्ट्रिय म्याराथनको दौड रुटले मान्यता पाएको थियो भने लगतै एम्सको समेत सदस्य प्राप्त गर्न सफल भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताएका छन् । “यो हाम्रो लागि निकै गर्वको विषय हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीहरुको लागि गौरवको विषय हो ।” अध्यक्ष पराजुलीले पोखरा म्याराथनलाई यहाँ सम्म ल्याइ पु¥याउन सहयोग गर्न देश तथा विदेशमा रहेका मञ्चका २४० भन्दा वढि आजिवन सदस्यहरु, कार्यसमितिका सदस्य, पदाधिकारी र सल्लाहाकारहरु संगै सहयोगी मनहरु प्रति आभार व्यक्त गरेका छन् । उनले भने–“यो सदस्यता प्राप्त गर्नुमा सबैको उत्तिकै सहयोग र साथ छ ।  गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र आम पोखरेलीहरु संग यो खुसीलाई सामुहिक रुपमा हामी बाँड्न चाहन्छौं ।” सदस्यता प्राप्त गरे संगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिंदै म्याराथनको अन्तरराष्ट्रिय यात्रामा संग–संगै हिड्न पाउँदा खुसी लागेको बताएका छन् । 

  पोखराः    कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शनिबार) क्वाटरफाइनलका अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । आज हुने क्वाटरफाइनलको खेलमा मोरक्कोले पोर्चुगलसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि अल थुमामा स्टेडियममा हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपल्ट क्वाटरफाइनलमा पुगेको मोरक्को अन्तिम आठमा पनि पोर्चुगललाई स्तब्ध पार्दै पहिलोपटक सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । यता, युवा र प्रतिभावान् र स्टार खेलाडीले भरिएको पोर्चुगल पनि अफ्रिकी टोली मोरक्कोलाई हराएर सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को विश्वकपको पछिल्लो पाँचै खेलमा अपराजित छ । सन् २०१८ को विश्वकपको समूह चरणमै पोर्चुगलसँग १-० ले पराजित भएयता मोरक्को विश्वकपमा अपराजित छ । जसमा ३ (पेनाल्टीमा स्पेनमाथि) को जित पनि समावेश रहँदा २ खेलमा बराबरीमा नतिजा छ । युरोपको बलिया राष्ट्र क्रोएसियालाई बराबरी र बेल्जियमलाई पराजित गरिसकेको मोरक्को पोर्चुगलसँग खेल्दा त्यही उच्च मनोवलका साथै मैदान उत्रनेछ । अन्तिम १६ मा स्वीट्जरल्यान्डविरुद्ध खेल्दा ६-१ को रवाफिलो जित निकाल्दै क्वाटरफाइनलमा पुगेको पोर्चुगल सोही जितको लयलाई मोरक्कोविरुद्धको खेलमा पनि दिन चहान्छ । अर्को खेलमा राति १२ः४५ बजे अल बायट स्टेडियममा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको नतिजासँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा हुनेछ ।   एजेन्सी

काठमाडौंः   नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४-३ को जितका साथ दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना उपाधिनजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा लम्बिएको थियो । एक समय २-० को आरामदायी अग्रतामा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले नाटकीय पुनरागमन गरेको थियो । इन्ज्युरी समयको दशौं मिनेटमा गोल गर्दै खेल बराबरी गरेको डच टोली टाइब्रेकरमा भने सफल हुन सकेन । टाइब्रेकरमा नेदरल्यान्ड्सका लागि कप्तान भर्जील भान डाइकले पहिलो प्रहारमा गोल गर्न सकेनन् । अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले आफ्नो दायाँतर्फ उत्कृष्ट डाइभ दिँदै गोल बचाए । लगत्तै अर्जेन्टिनी कप्तान मेस्सीले सहजै गोल गरेर दक्षिण अमेरिकी टोलीलाई अघि राखे । मार्टिनेजले डच टोलीका लागि स्टिभन बर्घिअसले गरेको दोस्रो प्रहार पनि विफल पारे । यसपटक आफ्नो बायाँतर्फ डाइभ दिँदै उनले नेदरल्यान्ड्सलाई गोल गर्न दिएनन् । अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले दोस्रो प्रहारमा पनि गोल गर्दै २-० ले अघि बढाए । त्यसपछि डच टोलीका लागि तिउन कुपमेनर्स, अर्जेन्टिनाका गोन्जालो मोन्टिएल र नेदरल्यान्ड्सका वुट वेघर्स्टले गोल गरे । अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजको प्रहार बाहिर गएपछि नेदरल्यान्ड्सले खेलमा फर्कने अवसर पाएको थियो । लुक डे जोङले आफ्नो पाँचौ प्रहारमा गोल गर्दै खेललाई टाइब्रेकरको अन्तिम पेनाल्टीसम्म पुर्याए । तर लौटारो मार्टिनेजले अन्तिम पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पारेपछि नेदरल्यान्ड्सले आक्रामक परिवर्तन गरेको थियो । वेघर्स्टलाई मैदान पठाएको ५ मिनेटमा गोल फर्काएको डच टोलीले इन्ज्युरी समयको दशौं मिनेटमा फ्रिकिकमा चलाखीपूर्ण गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेल्यो । अतिरिक्त समयमा पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनले कप्तान लिओनेल मेस्सीको अविश्वसनीय पासलाई वन भर्सेस वनको स्थितिमा फिनिस गरेका थिए । मेस्सीले बल लिएर पेनाल्टी क्षेत्रको बायाँतर्फ बढ्न लागेको अवस्थामा नेदरल्यान्ड्सको पूरै डिफेन्स लाइन चिर्नेगरी अगाडि पास खेलेका थिए । मेस्सीले अगाडि नहेरी दिएको पास मोलिनाकै पथमा पुगेपछि उनले गोल गरे । ७३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो । पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए । मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई २-० ले अघि बढाए । उनले गोलरक्षकलाई विपरित दिशातर्फ पठाउँदै गोल गरेका थिए । ८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । स्टिभन बर्घाउसको क्रसमा वुट वेघर्स्टले गोल गर्दै खेलमा अर्जेन्टिनाको अग्रता १ गोलमा घटाए । उनले क्रसमा गरेको हेडर गोलरक्षक एमिलियानो मार्टिनेजको हात मुनिबाट गोलमा परिणत भएको थियो । त्यसपछि इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले गोलमा परिणत गरे । पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई बर्घिअसले सिधा छोटो पास खेलेका थिए । वेघर्स्टले त्यसलाई नियन्त्रणमा लिँदै गोल गरेपछि खेल बराबर भएको थियो । अतिरिक्त समयको दोस्रो हाफको इन्ज्युरी समयमा अर्जेन्टिनाको जितसामु पोस्ट बाधक बन्यो । एन्जो फर्नान्डेजको प्रहार पोस्टमा लागेर बाहिरिंदा अर्जेन्टिना अग्रता लिनबाट चुकेको थियो । अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । क्रोएसियाले आज सम्पन्न पहिलो क्वाटरफाइनलमा ब्राजिललाई टाइब्रेकरमा ४-२ ले पराजित गरेको थियो । निर्धारित समय गोलरहित र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।