काठमाडौं: काठमाडौं नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले हराएपछि काठमाडौंं प्लेअफमा पुगेको हो । काठमार्डौं तालिकाको चौथो स्थानमा रह्यो । हारसँगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । फार वेस्ट यसअघिनै बाहिरि सकेको थियो । फार वेस्टले दिएको एक सय ८८ रनको विजय लक्ष्य पछ्याएको पोखराले १८.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४६ रन मात्र बनाउन सक्यो । पोखराका लागि कप्तान उपुल थरंगाले ३६ रन बनाउनुभयो । प्रतिश जिशीले ३४, सिद्धान्त लोहनीले २८ र सुमित महर्जनले १४ बनाउनुभयो । बलिङमा फार वेस्टका लागि दुर्गेश गुप्ता र कप्तान हशमतुल्लाह शाहिदीले दुई दुई विकेट लिनुभयो । करण केसी र प्रकाश जैशीले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८८ रन बनाएको थियो । फार वेस्टका कप्तान शाहिदीले ६७ रन बनाउनुभयो । विनोद भण्डारीले ५९, राशिद खानले १४ र करण केसीले अविजित ११ रन बनाउनुभयो । बलिङ पोखराका लागि अभिमन्यु मिथुनले दुई तथा प्रतिश जिशीले एक विकेट लिनुभयो । यससँगै लिगको प्लेअफ समिकरण पूरा भएको छ । लुम्बिनी अल स्टार, जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सले यसअघिनै प्लेअफमा स्थान बनाईसकेका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
पोखराः सहारा क्लब पोखराको आयोजनामा जारी २२ औं आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र अमेरिकाको भुटानिज युथ स्पोर्टसबीच प्रतिस्पर्धा हुदैं छ । । उपाधिका लागि आज (शनिबार) पोखरा रंगशालामा १ः३० बजे प्रतिस्पर्धा हुनेछ । संकटाले विभागिय क्लब त्रिभुवन आर्मी र साविक विजेता एपिएफ क्लबलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो । यी दुई खेलमा संकटाले कुल ७ गोल गर्दा २ खोल खाएको छ । भुटानिजले भने सर्वाधिक आहा गोल्डकप विजेता मनाङ मर्स्याङ्दी र पहिलो पटक आहा रारामा डेब्यु गरेको चर्च ब्वाइजलाई हराउँदै फाइनलको यात्रा गरेको हो । दुवै टिमलाई समान १–० को अन्तरमा हराएको हो । भुटानिजले दुई गोल गर्दा कुनैपनि गोल खाएको छैन । हिमश्री फुड्स प्रा. लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् । प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के.सी स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।
काठमाडौं: नेपाल टीः २० लिगमा लुम्बिनी अल स्टार्स र जनकपुरले क्वालिफायर–१ मा प्रतिस्पर्धा गर्ने भएका छ्न्। शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा जनकपुरले लुम्बिनीमाथि २३ रनको जित निकाल्यो। समूह चरणको खेल सकिदा लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहदा जनकपुर दोस्रो भयो। समूह चरणका सबै खेल खेल्दा लुम्बिनीले १० खेलबाट १६ अंक जोड्दा जनकपुरले १४ अंक बटुल्यो। शुक्रबार त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेटको क्षतिमा १५९ रन जोड्यो। उसका लागि ट्रेभन ग्रिफिप्तले ११ बलमा नटआउट ४७ रन जोडे। उनले ३ चौका र ५ छक्का हिर्काए। त्यसअघि शराफुद्दिन असरफले ३४ रन र खडक बोहाराले २२ रन जोडे। बलिङमा लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए। १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन जोड्यो। उसका लगि अनिल साहले ३५ रन, लाहिरू मिलन्थाले ३२ र सुनील धमलाले २७ रन जोडे। बलिङमा जनकपुरका ट्रेभनले ३ विकेट लिए भने शमिउल्लाह शिनवारीले २ विकेट लिए।
पोखराः आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा संकटा क्लब र भुटनिज युथ एससी अमेरिका उपाधीका लागि भिड्ने भएका छन् । पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा भुटनिज युथ एससी अमेरिकाले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोलले पराजित गर्दै फाइनलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो । संकटाले साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । दश खेलाडीमा सिमित चर्च ब्वाइजविरुद्ध भुटनिज युथले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको छ । रोजित प्रजापतिले भुटनिज टोलीका लागि गोल गरेका थिए । आशिष चौधरीले रातो कार्ड पाउँदै मैदान छाडेपछि चर्च ब्वाइज १० खेलाडीमा सिमित भएको थियो । पहिलो खेलमा भुटनिज युथले मनाङ मस्याङ्दी क्लबलाई हराएको थियो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
काठमाडौं: पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकाल्दै जनकपुर रोयल्स नेपाल टी–२० लिगको प्लेअफमा पुगेको छ । यो जितसँगै जनकपुरको ९ खेलमा ६ जितका साथ १२ भएको छ । जनकपुर प्लेअफ पुग्ने दोस्रो टिम हो । उत्कृष्ट प्रदर्शन गर्दै ९ मध्ये ८ खेल जितेर लुम्बिनी अल स्टार्सले शीर्ष दुईमा रहेर क्वालिफायर खेल्ने निश्चित भइसकेको छ । । विहीबार त्रिवि मैदानमा पोखराले दिएको ६९ रनको लक्ष्य जनकपुरले ९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । जनकपुरका ओपनर सराफउद्धिन अशरफले सर्वाधिक ३७ रन बनाए । उनले २७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर तथा कप्तान त्रेभोन ग्रिफिथले १७ रन जोडे । पवन सर्राफ ४ र राजेश पुलामी क्रमशः ४ र १ रनमा अविजित रहे । बलिङमा पोखराका कुशल मल्लले ३ विकेट लिए । असिथा फर्नान्डोजले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पोखरा १२ ओभरमा ६८ रनमै समेटियो । पोखरालाई सस्तैमा समेट्ने क्रममा सोमपाल कामीले ३ तथा सइफउद्धिन र ललित राजवंशीले २÷२ विकेट लिए । पोखराको लागि मध्यक्रमका सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए । उनले १० बलमा २ चौका प्रहार गरे । आसिफ शेख र कुशल मल्लले समान १६ रन जोडे । अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । सोमपालले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए । ललितले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । एक ओभरमा ४ रन खर्चेर सइफउद्धिनले २ विकेट लिए । जितेन्द्र मुखिया, ट्रेभोन र पवन सर्राफले १–१ विकेट लिए । यो हारले पोखराको प्लेअपफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । ९ खेलबाट ६ अंक जोडेको पोखराले लिगमा एक खेल खेल्न बाँकी छ । प्लेअफमा पुग्न उसले आफ्नो खेल जितेरमात्र पुग्दैन अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने छ ।
पोखराः सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै संकटा दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । संकटाको जितमा क्यामरुनी फरवार्डद्वय स्टेफन बिनोङ र मेसुके ओलोमोउले२–२ गोल गरे । एपिएफका हरि कार्कीले गरेको गोल सान्त्वना सावित भयो । खेलमा संकटाका गोलरक्षक टिकेन्द्र थापाले पनि केहि उत्कृष्ट बचाउ गरे । यसअघि संकटाले २०७७ सालमा भएको २० औं संस्करणमा उपाधि जितेको थियो । गत संस्करणको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको एपिएफ यसपटक भने सेमिफाइनलमा पराजित भएको हो । खेलको पाँचौ मिनेटमा बिनोङले एपीएफको डिफेन्समा भएको समन्वयको कमजोरीको फाइदा उठाउँदै गोल गरे । डिफेन्डर दीपेश धिमाल र गोलरक्षक राजु नगरकोटीबीच राम्रो समन्वय हुन नसक्दा बिनोङले गोल गरे । गोलरक्षक राजु निकै अघि बढेको अवस्थामा बिनोङले बल खोस्न गरेको प्रयास नै खाली पोस्टमा गोल भएको थियो । ४३ औं मिनेटमा मेसुकेले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ६१ औं मिनेटमा बिनोङले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा एपिएफका वैकल्पिक फरवार्ड हरि कार्कीले ७३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । तर मेसुकेले ८५ औं मिनेटमा सुन्दर गोल गर्दै संकटाको जित पक्का गरे । संकटाले अब शनिबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । विहीबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र भुटानी युथ स्पोर्ट्स क्लबले खेल्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
काठमाडौं: लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा सातौं जित निकालेको छ । प्लेअफमा स्थान बनाई सकेको लुम्बिनीले मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई पाँच रनले हरायो । जितका लागि लुम्बिनीले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७३ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि चाडबिक वाल्टनले अविजित ५९ रन बनाउनुभयो । कप्तान ट्राभोन ग्रिफिथ, शरफुदिन असरफ र सन्दिप जोराले समान २६र२६ रन बनाउनुभयो । समिउल्लाह शिनवारीले १८ रन जोड्नुभयो । बलिङमा लुम्बिनीका लागि ह्यारी टेक्टर र विपुल शर्माले दुई दुई विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओधभरमा ६ विकेटको क्षतिमा एक सय ७८ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ७३ रन बनाउनुभयो । लाहिरु मिलान्थाले ३३, ह्यारी टेक्टरले अविजित १८, कुशल भुर्तेलले १७ र कप्तान दीपेन्द्र सिंह ऐरीले १४ रन बनाउनुभयो । बलिङमा जनकपुरका सरफुदिन असरफले तीन विकेट लिनुभयो । जितेन्द्र मुखिया, समिउल्लाह शिनवारी र ललित नारायण राजवंशीले एक एक विकेट लिनुभयो । जितसँगै शीर्षस्थानमा रहेको लुम्बिनीले आठ खेलबाट १४ अंक बनाएको छ । पराजित जनकपुर समान खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ । पुस २७ गतेसम्म चल्ने लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।
पोखरा: पाल्पाको बगनासकाली गाउँपालिकाले स्क्वासका राष्ट्रिय खेलाडी अर्जुन गाहामगर (सुशान्त) लाई सम्मान गरेको छ । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट कास्य पदक विजेता बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाका गाहामगरलाई १३ औं गाउँसभाको अवसरमा सोमबार सम्मान गरेको हो । गाहामगरलाई गाउँपालिकाका प्रमुख सरस्वती दर्लामी चिदीमगर, उपप्रमुख हरिप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत विष्णु धर्तीले ढाकाको टोली, दोसल्ला, नगद राशी तथा सम्मानपत्र अर्पण गरे । सो अवसरमा बोल्दै गाउँपालिका प्रमुख सरस्वती चिदीले आगामी दिनमा थप सफलताका लागि शुभकामना व्यक्त गरिन् । उनले प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण इतिहास रहेको बताउदै अन्य खेलाडीहरुलाई प्रेरणा मिल्ने बताइन् । ‘हाम्रो गाउँपालिकाको खेलाडी जो लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरेर राष्ट्रिय प्रतियोगितामा पदक जित्नु गौरवपूर्ण कुरा हो, उनले भनिन्, यहाँहरु जस्तो खेलाडीकै कारण उदीयमान खेलाडीहरुलाई थप प्रोत्सहान मिल्छ । आगामी दिनमा अझ उत्तरोत्तर प्रगतीको कामनासमेत व्यक्त गर्दछु ।’ प्रमुख चिदीमगरले स्वस्थ्य शरिरका लागि खेलकुद अपरिहार्य रहेको बताउदै अनुशासनको मर्यादामा रहनसमेत मद्दत पुर्याउने धारणा व्यक्त गरेकी थिइन् । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा टिम इभेन्ट तर्फ सम्मानित गाहामगरले लुम्बिनी प्रदेशको तर्फबाट प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिम इभेन्टतर्फ लुम्बिनीलाई कास्य पदक दिलाएका थिए । गाहामगर खेलसँगै पत्रकारितामासमेत सक्रिय छन् । उनी पोखराबाट सञ्चालित सुनगाभा न्यूज डटकममा समाचार प्रमुखका रुपमा कार्यरत छन् भने एबिसी न्यूज टेलिभिजनका पोखरा संवाददातासमेत हुन् ।
पोखराः सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आज (मंगबार) पोखरा रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्याङ्दी क्लबलाई पराजित गर्दै अमेरिकी टिम भुटनिज युथ स्पोट्स क्लब बीवार्ईएससी जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । ६ पटकको आहा ! रारा पोखरा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङलाई आमन्त्रित अमेरिकी क्लब बीवाईएससीले १–० ले पराजित गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ । बीवाईएससीले पहिलो हाफको सुरुवातमै अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले हेक्टर ओर्टेगाले ब्याकमा फालिदिएको बल डिबक्सबाट रिसिभ गर्दै अवसरलाई गोलमा परिणत गरिदिएका थिए । दोस्रो हाफमा केहीसुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।

