पोखराः नवौं खेलकुद पछि विभिन्न प्रतियोगिता सम्पन्न भएको पोखरामा पुनः १७ औं सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनको तयारी तिव्र पारिएको छ । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते हुने १७ औं सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनको प्रतियोगिताको तयारी तिव्र बनाएको आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । सफल पोखरा अन्तरराष्ट्रिय म्याराथनमा ८ वटा इभेन्टमा एकै पटक प्रतियोगिता सञ्चालन हुने नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए । ‘पोखरालाई खेलकुद पर्यटन प्रवद्र्धनको रुपमा विकास गर्न, वर्षको एक दिन पोखरा अन्तरराष्ट्रिय म्याराथनलाई सहरकै उत्सवको रुपमा विकास गर्न चाहान्छौं, पराजुलीले भने, ‘८ वटा इभेन्ट एकै दिन सञ्चालन गर्नेछौं, प्रतियोगिता आउन ४५ दिन बाँकी छ तयारी तिव्र बनाएका छौं ।’ १७ औं सफल पोखरा म्याराथनमा ८ इभेन्टमा खुल्ला म्याराथन ४२.१९५ किमि, २१.०९७ हाफ म्याराथन महिला, १० किमि महिला/पुरुष, विद्यालय स्तरीय छात्र/छात्रा ५ किमि दौड, महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौडसँगै वर्षको एक दिन दौडिन पर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुने अध्यक्ष पराजुलीले बताए । खुल्ला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको समेत व्यवस्था गरिएको मञ्चका महासचिव कृष्ण तिमल्सिनाले जानकारी दिए । म्याराथनमा नेपालसहित केन्या, युगोेस्लाभिया लगायतका देशका खेलाडीहरुले सहभागिता जनाउने छन् । पत्रकार सम्मेलनमा बोल्दै मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरुङले पछिल्लो म्याराथनका दिन ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएकाले हरेक घर र टोलले सहजीकरण गरेमा सहजता हुने बताए । उनले पोखरा म्याराथनले (एम्स) को मान्यता प्राप्त गर्नु गर्वको विषय भएको सुनाए । यस वर्षदेखि पोखरा म्याराथनले म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स) को मान्यता प्राप्त गरेको छ । प्रतियोगितालाई सुजल डेरी प्रा.लि.ले २०७२ देखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । म्याराथनको पुरस्कार राशी १० हजारदेखि ५ लाख खुल्ला ४२.१९५ किमि म्याराथनको विजेता धावकले ५ लाख, उपविजेता धावकले २ लाख, तेस्रो हुने धावकले २ लाख र ३ लाख, सान्त्वना हुने धावकले ३० हजार पुरस्कार पाउनेछन् । खुल्ला म्याराथनतर्फ गण्डकी प्रदेशका विजेता धावकले ५० हजार, उपविजेता धावकले ३० हजार र तेस्रो हुने धावकले २० हजार पुरस्कार पाउने छन् । २१.०९७ हाफ म्याराथन तर्फ विजेता धावक महिलाले १ लाख ५० हजार, उपविजेता धावकले १ लाख र तेस्रो हुने धावकले ७५ हजार र सान्त्वना हुने धावकले १५ हजार पुरस्कार पाउने छन् । १० किमि महिला/पुरुष तर्फ विजेता धावकले समान ३० हजार, उपविजेता धावकले २० हजार, तेस्रो धावकले २०, , विद्यालय स्तरीय छात्र/छात्रा ५ किमि दौड तर्फ विजेता, उपविजेता, तेस्रो हुने धावकले समान १५ हजार, १० हजार र ७ हजार पुरस्कार पाउनेछन् भने, , महिला/पुरुष ह्विल चियर तथा दृष्टिविहिन विजेता धावक, उपविजेता, तेस्रो हुने धावकले समान १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाउने महासचिव तिमल्सिनाले बताए ।
काठमाडौं: विराटनगर सुपर किङ्ग्सलाई ३४ रनले पराजित गर्दै काठमाडौं नाईट्सले प्रतियोगितामा चौथो जित हात पारेको छ । खेलाडीको पारिश्रमिक विवादका कारण ढिलो गरी खेल सुरू भएकाले ९ ओभरमा घटाइएको खेलमा काठमाडौंले विराटनगरलाई ९३ रनको लक्ष्य दिएको थियो । तर विराटनगर खेल सकिन १ बल बाँकी छँदै ५८ रनमा अलआउट भयो । विराटनगरका लागि गौरान्सु शर्माले सर्वाधिक २२ रन बनाए । विवेक कुमार यादवले १२ र नन्दन यादवले ११ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमाडौंका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । उनले अन्तिम ओभरमा लगातार २ विकेट लिनुका साथै सूर्य तामाङलाई रन आउट गराए । काठमाडौंका अनिल खरेल र सुनम गौतमले समान २–२ विकेट लिए । वसिर अहमद र अभिनाश बोहोराले समान १–१ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित ९ ओभरमा ५ विकेट गुमाएर ९२ बनाएको थियो । काठमाडौंका सन्दीप रजालीले २२ बलमा २ चौका र २ छक्कासहित अविजित ३२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल ११ बलमा १ चौका प्रहार गर्दै १४ रनमा आउट हुँदा कमलसिंह ऐरी ५ बलमा २ छक्कासहित १४ रनमा अविजित रहे । एलेक्स ब्लेकले १३ रनको योगदान गरे । विराटनगरका नन्दन यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै ८ रन राख्दै सर्वाधिक तीन विकेट लिए । हुसेन तलत र केयोन जोसेफले समान एक विकेट लिए । जितपछि काठमाडौंको ७ खेलबाट ८ अंक छ र उ तेस्रो स्थानमा छ । पराजित विराटनगर भने ७ खेलबाट ४ अंकमात्र बटुलेर तालिकाको पाँचौ स्थानमा छ ।
पोखराः पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सहारा क्लब पोखराले आयोजना गरेको २२ औं आहा ! रारा पोखरा गोल्डकपमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै संकटा क्लब सेमिफाइनल प्रवेश गरेको हो । आज (सोमबार) पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो । संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन आर्मीका तर्फबाट नवयुग श्रेष्ठले गोल गरे । अब संकटाले फाइनल प्रवेशका लागि एपीएफसँग खेल्नेछ । १५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि आर्मीले जागाउन सकेन । १४ औं मिनेटमा बल अगाडि बढाउन प्रयासरत दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्स क्षेत्रमा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् । त्यसपछि ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले कप्तान सुनिल बलको असिस्टमा गोल गरेका हुन् । खेलको ७३ औं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । संकटाका मेसुकेले विपक्षी पोस्टमा प्रहार गरेको बल बारमा लागेर फर्किँदा सुरजले सुन्दर फिनिसिङ दिए । खेलको अन्तिम समयमा स्टेफन बिनोङले गोल थप्दै संकटाको जित निश्चित गरे । मेसुकेले दिएको पासलाई ‘वन एन वन’मा बिनोङले गोल गरे । पोस्ट नजिक पुगेर आर्मीका टंक बस्नेतले बचाउन प्रयास गरे पनि सफल भएनन् ।
पोखराः पोखरामा आगामी माघ ८ देखि १४ गतेसम्म ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी तिव्र पारिएको जानकारी दिएको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजना माघ ८ देखि १४ गते सम्म पोखरामा रंगशालामा हुने प्रतियोगितामा दुई बिदेशी क्लबसहित महिला र पुरुषतर्फ ५–५ टिम गरी १० टिमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका बताए । ‘पोखरामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल पहिलो र दोस्रो संस्करण सफलता पूर्वक सम्पन्न गरेका छौं, शर्माले भने, ‘नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि पोखरामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीको बीचमा तेस्रो संस्करण माघ ८ देखि १४ गतेसम्म सञ्चालन गदैं छौं ।’ शर्माका राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबको सहभागिता रहने छ । यस्तै पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंका, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीबलको एपिएफ क्लब र गण्डकी प्रदेशको सहभागिता रहने छ । तेस्रो संस्करणमा महिला तर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत र पुरुष तर्फ एसटी जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकाले पहिलो पटक सहभागिता जनाउन लागेका हुन् । गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लब र पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधी जितेका थियो । आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएको जानकारी दिएको छ । महिला/पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक देवेन्द्र केसीले जानकारी दिए । त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई थप आकर्षण बनाउनका र दर्शकलाई सहज ढंगले खेल हेर्ने अवसर प्रदान गर्ने गरी यो पटक विशेष प्रकारको प्यारापिट निर्माण गर्ने तयारी समेत रहेको संस्थाका कोषाध्यक्ष हरिकुमार श्रेष्ठले बताए । प्रतियोगितामा वृद्ध–वृद्धाहरुलाई खेल हेर्न छुट्टै व्यवस्थाका साथै प्रतियोगिता स्थलमा एलइडि स्क्रिन, डिजिटल स्कोर बोर्डको व्यवस्था गरी प्रविधिलाई पनि अन्तर्राष्ट्रियस्तर कै बनाउने प्रयास गरेको आयोजकले जनाएको छ ।
काठमाडौं: महान् फुटबल खेलाडी पेलेको निधन भएको शोक मनाउन देशभर सञ्चालन हुने औपचारिक फुटबल प्रतियोगिताका खेल सुरु हुनुअघि एक मिनेट मौन धारण गरिने भएको छ। फिफाले शुक्रबार यस सम्बन्धमा सबै सदस्य संघलाई परिपत्र पठाएको छ। फिफा महासचिव फातिमा समौराले लेखेको पत्रमा यस्तो सम्मान गरिने उल्लेख छ। फिफाको पत्रपछि अखिल नेपाल फुटबल संघले एक सातासम्म फुटबल खेल सुरु हुनुअघि एक मिनेट मौनधारण गर्न सबै आयोजकलाई अनुरोध गरेको छ। एन्फाले सदस्य संघ, जिल्ला फुटबल संघ, क्लब र फुटबल संचालन निकायससम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्रमा फिफाको निर्देशन कार्यान्वयन गर्न अनुरोध गरेको छ। ब्राजिलका महान् फुटबल खेलाडी पेलेको गत बिहीबार निधन भएको थियो।
काठमाडौं: पोखरा एभेन्जर्स नेपाल टी–२० क्रिकेट लिगको लयमा फर्किएको छ । सुरुवाती खेलमा हार खेपेको पोखराले पछिल्लो तीन खेलमा लगातार जित निकाल्दै अघिल्लो चरणमा पुग्ने सम्भावना कायम राखेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा पोखराले काठमाडौं नाईट्सलाई पाँच विकेटले हरायो । काठमाडौंले दिएको एक सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १९.४ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पोखराको जितमा सुमित महर्जन र उपुल थरंगाले उत्कृष्ट प्रदर्शन गर्नुभयो । महर्जनले ७६ र थरंगाले ५८ रन बनाउनुभयो । कुशल मल्लले अविजित १४ रन बनाउनुभयो । बलिङमा काठमाडौंका कमल सिंह ऐरीले तीन विकेट लिनुभयो । अविनाश बोहोरा र अनिल खरेलले एक एक विकेट झार्नुभयो । यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले सर्वाधिक ६४ रन बनाउनुभयो । सुनाम गौतमले ४५ र विरनदिप सिंहले ३२ रन बनाउनुभयो । बलिङमा पोखराका तुलबहादुर थापाले दुई तथा प्रतिस जिसी र कुशल मल्लले एक एक विकेट लिनुभयो । लिगमा आठ खेल सकेको पोखरा ६ अङ्कसहित चौथो स्थानमा छ । ६ खेलबाट ६ नै अङ्क बनाएको काठमाडौं तेस्रो स्थानमा छ । पुस २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले डबल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।
पोखराः सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा भाग लिन प्रदेश खेलकुद परिषद् गण्डकीले पुरुष भलिबल तर्फ १२ सदस्यीय टोलि घोषणा गरेको छ । खोमप्रसाद पाण्डे (हरि)कोे कप्तानीमा प्रदेश खेलकदु परिषद्ले आज (आइतबार) १२ सदस्यीय टोली घोषणा गरेको हो । कप्तान खोमप्रसाद पाण्डे (हरि)स्याङ्जा, रवि केसी (बाग्लुङ), किरण गुरौं (नवलपुर), घनश्याम चौधरी (नवलपुर), सन्तोष थापा मगर (स्याङ्जा), सन्जय परियार (पर्वत), दीपक मल्ल ठकुरी (बाग्लुङ), हिमाल सुनारी (नवलपुर), इन्द्रबहादुर वि.क (बागलुङ), सुजन चोखाल (म्याग्दी), मीन सुनार (बागलुङ) र राजन दर्लामी मगर स्याङ्जा रहेका छन् । खेलाडी छनोटलाई मध्यनजर गर्दै गण्डकी प्रदेश भलिबल संघको आयोजना र प्रदेश खेलकुद परिषद गण्डकीको सम्वन्यमा पोखरा रंगशाला भलिबल कोर्टमा पुष ६ देखि १० गतेसम्म गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको थियो । सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता पक्का भइसकेको संघले जनाएको छ । पुस १९ गतेसम्म टिम दर्ताको समयसीमा रहेकाले टिम बढ्न सक्ने संघले जनाएको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बागलुङ, मणिमुकुन्द भलिबल क्लब बुटबल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, सैलुङ बाघढुंगा स्पोट्र्स क्लब रामेछाप र सुदूर पश्चिम प्रदेश गरि १५ टोलीको सहभागिता पक्का भइसकेको छ । त्यस्तै महिलातर्फ एपिएफ क्लब, पुलिस, आर्मी, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल गरी ८ टिमहरुको सहभागीता रहने छ । यस च्याम्पियसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी एनभिए लिगमा प्रवेश पाउनेछ । लिगकम नकआउटको आधारमा हुने च्याम्पियनसिपको सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुनेछ ।
पोखराः पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड क्लबले लगातार दोस्रो जित निकालेको छ । सहारा क्लबले पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपमा ए डिभिजन लिगको साविक विजेता मछिन्द्र एफसीलाई आज (आइतबार) ३–० ले हराउँदै चर्च ब्वाइज दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो । फाइनल प्रवेशका लागि अब चर्च ब्वाइजले मनाङ मर्स्याङ्दी क्लब वा भुटनिज युथ एससी अमेरिकाबीच प्रतिस्पर्धा गर्नेछ । पोखरा रंगशालामा चर्च ब्वाइजलाई जित दिलाउन फरवार्ड आशिष चापागाईले २ तथा आशिष चौधरीले १ गोल गरेका थिए । आशिष चापागाईले दुवै गोल पहिलो हाफमा गरेका थिए । पहिलो गोल २३ औं र दोस्रो गोल पहिलो हाफको इन्जुरी समय तेस्रो मिनेट सम्भव भएको थियो । लामो पासमा अफ साइड ट्रयाप बिट गर्दै अन्जन विष्टले गरेको प्रहारलाई मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले विफल पारेका थिए । तर उनले बल नियन्त्रणमा राख्न नसकेपछि रिबाउन्डमा आशिष चापागाईले पहिलो गोल गरेका थिए । इन्जुरी समयमा थ्रु बलमा अफ साइड ट्रयाप बिट गर्दै आशिष चापागाईले दोस्रो गोल गरेका थिए । आशिष चौधरीले ६४ औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरेका थिए । पेनाल्टी बक्स भित्र प्राप्त बलमा आशिष चौधरीले फस्ट बारमा गोल गर्दा मछिन्द्रका गोलकिपर विशालको बचाउने प्रयास सफल हुन सकेन । मछिन्द्रका सौरभले ८९ औं मिनेटमा गोल फर्काएका थिए । पहिलो खेलमा अन्जन विष्ट र अनन्त तामाङको गोलमा नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा पुगेको थियो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सोमबार त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेतालो उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
काठमाडौं: काठमाडौं नाइट्सले नेपाल टी–२० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । लिगमा काठमाडौंको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौंसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो । काठमाडौंका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । र्यान बर्लले ६१ रनको अविजित पारी खेले । एलेक्स ब्लेकले १२ बलमा २० रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले ४ ओभर बलिङ गर्दै ३८ रन खर्चेर ३ विकेट लिए । सराफुदिन असरफ र त्रिभोन ग्रिफ्दले समान १–१ विकेट लिए । काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रन बनाउँदै अल आउट भयो । जनकपुरका लागि सराफुदिन असरफले सर्वाधिक ३७ रन बनाए । सोमपाल कामीले २१ रन बनाए । काठमाडौंका लागि अभिनाश बोहोराले सर्वाधिक ४ विकेट लिए । अजमतुल्लाह ओमाजारईले २ विकेट लिए । कमल सिंह ऐरी, अनिल खरेल र वसिर अहमदले समान १–१ विकेट लिए ।

