बागलुङ । बागलुङमा जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी सात स्वर्ण पदकसहित अग्रस्थानमा छ । अहिलेसम्मका खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ । एकल प्याटर्नमा ६ र टिम प्याटर्नमा एक स्वर्ण जित्दै आर्मीले जारी प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो । आइतबार भएको पुरुष टिम प्याट्रनमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेश र महिलातर्फ नेपाल आर्मीले रजत पदकमा चित्त बुझायो । महिलातर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीकी रिना धिमालले गण्डकी प्रदेशकी सुश्मिता थापालाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् । गण्डकीकी थापा रजत पदकमा सीमित बनिन् । ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा बागमतीकी रुबिका खड्काले स्वर्ण र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन् । ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा बागमती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक हाँसिल गरेकी हुन् । पुरुषतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक हासिल गरे । गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदकमा चित्त बुझाए । ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा नेपाल आर्मीका सुमन मस्राङ्गी मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा मगरले रजत पदक जितेका छन् । प्रतियोगिताको पहिलो दिन शनिबार भएका खेलमा आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको थियो । ‘ब्ल्यू बेल्ट’तर्फ पुरुष एकल प्याटर्नमा आर्मीका धनसिंह परियारले स्वर्ण र लुम्बिनीका सफल परियारले रजत पदक हात पारे । ‘रेड बेल्ट’मा गण्डकी प्रदेशका भीम गाहाले स्वर्ण पदक जित्दा र लुम्बिनीका सन्देश सुनार रजत पदकमा सीमित बने । ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण र गण्डकीका प्रविण बुढाले रजत पदक हात पारे । ‘ब्ल्यू बेल्ट’ महिलातर्फ गण्डकीकी मोनिका कुँवरलाई पराजित गर्दै आर्मीकी सुस्मिता श्रेष्ठले स्वर्ण पदक हाँसिल गरिन् । कुँवरले रजत जितिन् । अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याटर्नमा एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । बागमतीले भने एकलमा दुई र टिम प्याटर्नमा दुर्ई स्वर्ण हात पारेको छ । स्पाइरिङतर्फको पहिलो खेल आइतबार नै सुरु भए पनि समय नपुगेका कारण फाइनल खेलाउन नसकिएको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । आज हुने फाइनल खेलमा गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच प्रतिस्पर्धा हुने नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । शनिबारदेखि सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याटर्न र टिम प्याटर्नका खेल भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरू प्रतिस्पर्धामा छन् । स्थानीय बाङ्गेचौर खेल मैदानमा प्रतियोगिता चलिरहेको छ ।
कुश्मा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत करातेमा विभागीय टोली नेपाल पुलिस क्लब अब्बल निस्केको छ । पुलिस क्लबले हालसम्म छिनोफानो भएका आठमध्ये चार स्वर्ण आफ्नो पोल्टामा पारेको छ । पुलिसले दुई रजत र दुई कास्य पदकसमेत प्राप्त गरेको छ । आइतबारसम्मको नतिजाअनुसार अन्य दुई विभागीय क्लब सशस्त्रप्रहरी बल ९एपिएफ० र त्रिभुवन आर्मी क्लब पनि करातेमाा बलिया देखिएका छन् । त्रिभुवन आर्मी क्लब दुई स्वर्ण र दुई रजत प्राप्त गर्दै दोस्रो स्थानमा तथा एफिएफ क्लब दुई स्वर्ण र तीन कास्यका साथ दोस्रो स्थानमा रहेको छ । योबाहेक सात प्रदेशको प्रदर्शन भने फितलो रहेको छ । प्रदेश नं १ ले दुई रजत र तीन कास्य, बागमतीले एक रजत र दुई कास्य, गण्डकीले एक रजत र एक कास्य, लुम्बिनीले तीन कास्य तथा कर्णाली र सुदूरपश्चिम प्रदेशले एक एक कास्य पदक प्राप्त गरेका छन् । महिला ५५ किलो तौल समूहमा नेपाल पुलिस क्लबकी सोनी राईले स्वर्ण जितिन् । सो स्पर्धामा प्रदेश नं १ की विद्याकला राईले रजत तथा गण्डकीकी अनु गुरुङ र एपिएफकी मनिषा चौधरीले कास्य प्राप्त गरेका छन् । यस्तै पुरुष ७५ किलो कुमुतेतर्फ पुलिस क्लबकै गङ्गाराम कुशवारले स्वर्ण हात पारे । गण्डकी प्रदेशका प्रतिक घर्तीमगरले रजत तथा बागमतीका रोशन बलामी र प्रदेश १ का रुरिहाङ राईले कास्य प्राप्त गरे । यसैगरी महिला ६१ किलो तौल समूहमा पुलिस क्लबकी अनु अधिकारीले स्वर्ण जितिन् । सो स्पर्धामा पुलिसकै अर्मिला डिसीले रजत प्राप्त गरिन् भने एपिएफकी अस्तर राई र लुम्बिनीकी रविना घर्तिमगरले कास्य प्राप्त गरे । यस्तै पुरुष ८४ किलोमाथिको तौल समूहमा पुलिस क्लबकै विप्लव श्रेष्ठले स्वर्ण जित्दा आर्मी क्लबका विपिनराजसिंह धामीले रजत तथा एपिएफका दिगम्बरप्रसाद पन्त र नारायणबहादुर गुरुङले कस्यमा चित्त बुझाए । यस्तै पुरुष टिम कातातर्फको स्वर्ण पदक विभागीय टोली एपिएफ क्लबले जित्यो । सो स्पर्धामा पुलिस क्लब दोस्रो तथा प्रदेश १ र बागमतीले कास्य पदक प्राप्त गरे । यसअघि पुलिस क्लबले महिला व्यक्तिगत कातातर्फ स्वर्ण जितेको थियो । पुलिसकी चञ्चला दनुवार पहिलो भइन् । सो स्पर्धामा आर्मीकी सङ्गीता मगरले रजत तथा कर्णालीकी एलिसा रस्कोटी र सुदूरपश्चिमकी वर्षा साउदले कास्य पदक प्राप्त गरिन् । यसैगरी महिला टिम कातातर्फ आर्मीका सुनिता मगर, रिना श्रेष्ठ र निशा घर्तीले स्वर्ण जिते । प्रदेश नं १ का रोश्मा राई, समिता राई र विद्याकला राईले रजत जिते । बागमतीका सञ्जु देशार, नानु शाक्य र सिर्जना महतरा तथा पुलिस क्लबकी चञ्चला दनुवार, सरु कार्की र तप्पी थापाले कास्य पदक प्राप्त गरे । पुरुष व्यक्तिगत कातातर्फ एपिएफका सोनिम मानन्धरले स्वर्ण, बागमतीका रेहान जावेदले रजत तथा प्रदेश १ का आशिष मगर र पुलिस क्लबका महसुस तामाङले कास्य जिते । करातेका मुख्य प्रशिक्षक तुलसी महर्जन अनुसार केहीबेरमा करातेका थप खेल सुरु हुँदैछन् । आज पुरुष ६० किलो, महिला ६८ किलो माथि, पुरुष ६७ किलो, महिला ६८ किलोमुनि र पुरुष ८४ किलोमुनि तौल समुहको फाइनल खेल हुँदैछन् ।
पोखरा : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११-७, ५-११, ८-११, ११-५ र ९-११ को २-३ को सेटमा पराजित गरेको हो । यसैगरी महिला डबल्सतर्फ एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै स्वर्ण पदक पाउन सफल भएको छ । नेपाल पुलिस क्लबलाई ११-९, ८-११, ११-९, ९-११ र ७-११ को २-३ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण पदक जित्यो । मिक्स डबल इभेन्टतर्फ त्रिभुवन आर्मी क्लबले रजत पदक प्राप्त गरे भने एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् । यसैगरी महिला डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लबले रजत पदक हात पारको छ भने बागमती प्रदेश र नेपाल पुलिस क्लबले कास्य पदकमा चित्त बुझाए । पुरुष डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लब र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । प्रदेश नं १ लाई ११-५, ११-६, ११-७ को ३-० ले पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलको बाटो तय गरेको हो भने एपीएफले त्रिभुवन आर्मी क्लबलाई ११-७, १३-११, १०-१२, ९-११ र ११-१७ को ३-२ सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
पोखरा : नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठनमा आयोजक गण्डकी प्रदेशले दुई स्वर्ण जितेको छ । पोखरा सभागृहमा भएको खेलमा आर्मीले पनि दुई स्वर्ण जित्न सफल भएको छ भने नेपाल पुलिस क्लबले एक स्वर्ण जितेको हो । गण्डकीले ५५ र ६५ किलो समूहमा स्वर्ण जित्दा आर्मीले ७० र ७५ किलो समूहमा स्वर्ण हात पारेको हो भने, पुलिसले ६० किलो तौल समूहमा स्वर्ण जितेको हो । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जित्नुभएको हो । यस्तै बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बोले कास्य पदकमा जित्नुभयो । स्वर्णका लागि प्रि–जर्ज राउण्डबाट छनोट भएका पाँच जनाबाट हमाल विजेता बन्नुभएको हो । यस्तै ६० किलो तौल समूहमा नेपाल पुलिसका डेबिड बलामीले स्वर्ण, एपीएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलले कास्य पदक जित्नुभयो । उहाँहरुसँगै यो विधामा प्रदेश १ का सन्देश राई र नेपाल आर्मीका जलबहादुर चौधरी उत्कृष्ट पाँचमा पर्नुभएको थियो । ६५ किलो तौल समूहमा गण्डकी प्रदेशका अशिम गुरुङले स्वर्ण जित्नु हुँदा लुम्बिनी प्रदेशका नवराज डुम्रेले रजत र सुदूरपश्चिम प्रदेशका सुनिल चन्दले कास्य पदक ल्याउनुभयो । सो विधामा एपीएफका सेमान्त कडारा र आर्मीका निशान शाही उत्कृष्ट पाँचमा हुनुहुन्थ्यो । ७० किलो तौल समूहमा नेपाल आर्मीले स्वर्ण जितेको हो । सो तौल समूहमा आर्मीका प्रज्वलमान शाक्य, मधेस प्रदेशका किरण यादव, लुम्बिनी प्रदेशका वृजेन्द्रमान श्रेष्ठ र गण्डकी प्रदेशका निश्चल केसी उत्कृष्टमा पाँचमा थिए । सो तौल समूहमा आर्मीका शाक्यले स्वर्ण जित्दा मधेस प्रदेशले रजत र लुम्बिनी प्रदेशले कास्य पदक जितेको हो । आइतबार भएको ७५ किलो तौल समूहमा नेपाल आर्मीले स्वर्ण जित्नुभएको छ । उहाँले मधेस प्रदेशका शनि अजाम, बागमती प्रदेशका योगशराज शाही, सुदूरपश्चिम प्रदेशका लक्ष्मीदत्त पन्त र लुम्बिनी प्रदेशका आकाश रानालाई पछि पार्नुभएको हो । ७५ किलो तौल समूहमा मधेस प्रदेशले रजत र बागमती प्रदेशले कास्य पदक जितेको हो । प्रत्येक तौल समूहका खेलाडीबीच प्रि–जर्ज गरी उत्कृष्ट पाँचबाट फाइनल खेलाएको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिनुभयो । शारीरिक सुगठनतर्फ ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स एक सय ७० सेमी र एक सय ७० सेमीमाथिको विधामा प्रतिस्पर्धा हुनेछ । भने महिलाहरुले खुला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा पनि सोमबार हुने संयोजक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रदेश एक, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लबका ९४ खेलाडीले सहभागिता जनाउनुभएको छ । शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।
पोखरा : कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा पाँचौ डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्देस्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताउनु भएको छ । कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व का विद्यार्थीहरुबिच बिभिन्न विधामा खेलकुद गरिदै आएको र यस वर्ष पनि सोहि कार्यलाई जारी राख्यको विद्यालयका खेलकुद शिक्षक विनोद थापाले जानकारी दिनुभएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्ग, वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदी, विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोका, व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने लगायतले खेलाडी विद्यार्थीलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिनुभएको थियो । खेलकुदको पहिलो दिन सिनियर तर्फ भलिबल तथा क्रिकेटका पहिलो चरणका खेल सम्पन्न भएका छन् । छात्र तर्फ भएको खेलमा व्यवस्थापन १२ ले होटल मेनेज्मेन्ट ११ लाई र पूर्व व्यवस्थापनले कक्षा १० लाई २–० को सोझो सेटमा हराएर दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । छात्रा तर्फ भएको खेलमा कक्षा १० ले कक्षा ९ लाई र कक्षा १२ ले कक्षा ७ लाई २–० को सोझो सेटमा हराएर फाईनल चरणमा प्रवेश गर्न सफल भएका छन् । त्यस्तै क्रिकेट तर्फ कक्षा १० लाई २० रनले हराउदै पूर्व विज्ञान समुह अर्को चरणमा प्रवेश गरेको छ । उक्त खेलमा पूर्व विज्ञान समुहका संञ्चन श्रेष्ठ म्यान अफ दि म्याच हुन सफल भएका छन् । अर्काे खेलमा कक्षा ९ लाई व्यवस्थापन १२ ले ९ विकेट ले हराउदा सुसिल सुबेदी म्यान अफ दि म्याच हुन सफल भएका छन् । खेलकुदको पहिलो दिन कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरु विच बिभिन्न विधामा खेलकुद शुरु गरिएको छ । बेलुन फुटाउने, चम्चा दौड, खुल्ला दौड प्रतियोगिता लगाएका खेल भएको विद्यालयका संयोजक बिकाश लामिछानेले जानकारी दिनुभएको छ । खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबलटेनिस लगायतका खेल खेलाईने विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङ्गले जानकारी दिनुभएको छ । खेलकुद प्रतियोगिता यहि कार्तिक ४ गतेसम्म संचालन हुने बताईएको छ ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्ती मगर फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७–३ सेटमा हराए । यस्तै, दोस्रो सेमिफाइनलमा गण्डकीका दुर्गा घर्ती मगरले बाग्मतीका फारमसेन शेरचनलाई ६–४ को सेटमा पराजित गरेका हुन् । महिला एकलतर्फ प्रदेश १ की योगिता कामवाङले नेपाल आर्मीकी खड्गकुमारी थापा मगर विरुद्ध ७–३ को सेटमा जीत दर्ता गरेकी हुन् । यस्तै, अर्को सेमिफाइनलमा एपीएफकी सोनुजया राईले नेपाल आर्मीकी शारदा विकलाई ६–४ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन् । शनिबार वरियता निर्धारणका क्रममा पुरुषतर्फ पहिलो स्थानका दुर्गा घर्ती मगर र दोस्रो स्थानका नगेन्द्र आचार्य दुवै फाइनल पुगे भने महिलातर्फ पहिलो अनुश्का शेरचन र दोस्रो भएकी शारदा विक अन्तिम दुईको यात्रा तय गर्न सकेनन् । तेस्रो स्थानकी सोनु जया र चौथो स्थानकी योगिता फाइनल पुगेका हुन् । रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फ वरियता निर्धारण आइतबार रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फको ¥याङकिङ राउण्ड सकिएको छ । रिकर्भ (७० मिटर) पुरुषतर्फ गण्डकीका गंगा बहादुर कुँवर पहिलो वरियतामा रहेका छन् । ६५४ स्कोर ल्याएका कुँवरकोे १ स्कोर कम हुँदा रेकर्ड भेट्न सकेनन् । सन् २०१० मा बैंककको एशियन गेममा प्रेमप्रसाद पुनको नाममा रहेको नेपाली खेलाडीको उच्च रेकर्ड ६५५ स्कोर हो । यस्तै, पुलिसका तिलक पुन ६३५ स्कोर र गण्डकीका असिम शेरचन ६३० अंकका साथ तेस्रो स्थानमा रहन सफल भए । कम्पाउण्ड (५० मिटर) महिलातर्फको विधामा एपीएफी पार्षदा आचार्य ६६१ अंकका साथ वरियताको शीर्ष स्थानमा रहिन् । १३ औं सागमा इमायुङ राईले गरेको ६३४ स्कोरको उच्च रेकर्ड पार्षदाले तोडिन् । आर्मीकी इमायुङ भने अहिले ६२७ स्कोरका साथ दोस्रो वरियतामा रहिन् । यस्तै, ६११ स्कोरका साथ निर्मला राई कामवाङ तेस्रो स्थानमा रहिन् । सोमबार विहान रिकर्भ वुमनका वरियता निर्धारण, रिकर्भ मेनको इलिमिनेशन राउण्डका खेल हुनेछन् भने रिकर्भ मेन र कम्पाउण्ड वुमनका सेमिफाइनल खेल पनि हुनेछन् । यस्तै विभिन्न विधाका क्वार्टर तथा सेमिफाइनल खेल पनि सोमबार नै हुनेछन् । स्टान्डर्ड विधामा कास्य पदकका लागि पनि सोमबार नै खेल हुने नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए ।
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डी प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले महिला तथा पुरुष दूवै स्पर्धामा विजयी शुरुवात गरेको छ । आइतबारबाट पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा भएको उद्घाटन खेलमा महिलातर्फ त्रिभूवन आर्मी क्लवले मधेश प्रदेशलाई ७२–१५ पोइन्टले पराजित गर्दा पुरुषतर्फ आर्मीले कर्णाली प्रदेशलाई ४८–२३ पोइन्टले पराजित गरेको छ । प्रतियोगिता अन्र्तगत आजनै पुरुष र महिला दुबै स्पर्धामा ५–५ वटा प्रतिस्पर्धा भएका छन् । आज भएको पुरुषतर्फ दोस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई ५३– ५० पोइन्टले पराजित गर्दा तेस्रो खेलमा प्रदेश नम्वर १ नेपाल प्रहरीसँग ५१ – ३९ ले पराजित हुन पुग्यो । चौथो खेलमा सुदुर पश्चिमले मधेश प्रदेशलाई ४९ – ३६ र अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४० – ५० पोइन्टले पराजित ग¥यो । यस्तै महिलातर्फ प्रदेश नम्वर १ नेपाल प्रहरी क्लवसँग ६९– १७ पोइन्टले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल प्रहरी क्लवले प्रदेश नम्वर १ लाई ६९ – १७ पोइन्टले पराजित गर्दा तेस्रो खेलमा सशस्त्र प्रहरी बल बाग्मती प्रदेशसँग ६५ – १६ पोइन्टले विजयी भयो । चौथो खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ४९ – ३७ ले पराजित गर्दा अन्तिम खेलमा सुदुर पश्चिम प्रदेश विजयी भएको छ । सुदुर पश्चिमले मधेश प्रदेशलाई ६७–१६ पोइन्टले पराजित ग¥यो । प्रतियोगिता अन्र्तगत सोमबार (भोलि) महिला तथा पुरुष दुवैतर्फ ६–६ खेल सञ्चालन गरिने छ । जसअन्र्तगत महिलातर्फ प्रदेश नम्वर १ र लुम्बिनी, त्रिभूवन आर्मी क्लव र बाग्मती प्रदेश, नेपाल प्रहरी क्लव र कर्णाली प्रदेश, सशस्त्र प्रहरी वल र सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र मधेश प्रदेश र बाग्मती प्रदेश आम्ने साम्ने गर्ने छन् । यस्तै पुरुषतर्फ बाग्मती प्रदेश र सशस्त्र प्रहरी वल, त्रिभून आर्मी क्लव र नेपाली प्रहरी क्लव, लुम्बिनी प्रदेश र मधेश प्रदेश, प्रदेश नम्वर १ र गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी वल र कर्णाली प्रदेश र नेपाल प्रहरी क्लवविच लिग चरणका खेलहरु सञ्चालन गरिने अखिल नेपाली कबड्डी संघका महासचिव विनोद प्रजापतीले जानकारी दिए । यसअघि प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताका समुह ‘क’ मा त्रिभूवन आर्मी क्लव , कर्णाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’ मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् । महिलातर्फ समुह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’ मा नेपाल प्रहरी, प्रदेश नम्वर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् । प्रतियोगिताका लागि महिला तथा पुरुष गरि १० वटा समुहका १२० जना खेलाडी सहित १४० जना अफिसियल पोखरामा छन् ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगितामा गण्डकीका अमृत थापामगर र बागमतीका अह्रान्त सिम्हा भिड्ने भएका छन् । ओपन इभेन्टतर्फ आज (आइतबार) भएको पहिलो समिफाइनल खेलमा गण्डकीका अमृत थापामगरले सोही प्रदेशकै दिपक थापालाई ११–९, ११–५, ८–११ र ११–५ अंकसहित ४-१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे । त्यसैगरि अर्काे सेमिफाइनल खेलमा बागमतीका अह्रान्त सिम्हाले सोही प्रदेशकै अमिर ब्लोनलाई ११–८, ११–४, र ११–३ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए । बागमतीका अह्रान्त सिम्हाले स्वर्ण पदकका लागि गण्डकीका अमृत थापामगरसँग सोमबार भिड्ने छन् । भने कास्य पदकका लागि गण्डकीका दिपक थापा र बागमतीका अमिर ब्लोन प्रतिस्पर्धा गर्नेछन् । स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीका अनुसार फाइनल प्रवेश गरेका अमृत थापामगर यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फको स्वास च्याम्पियन हुन् । संयोजक भण्डारीले महिलातर्फ ओपन इभेन्टमा लिग चरणका खेलहरु जारी रहेको बताए । भण्डारीका अनुसार आज भएको खेलमा गण्डकीका कृष्णा थापामगरले सोही प्रदेशकै सृष्टिका उदासलाई ३–० को सोझो सेटमा पराजित गरिन् । अर्काे खेलमा बागमतीकी स्वस्तानी श्रेष्ठले गण्डकीकी करिस्मा ओलीलाई ३–० को सोझो सेटमा हराइन् । त्यसैगरि बागमतीकी विपना ब्लोनले आर्मीकी अस्मिता नगरकोटीमाथी ३–० को सेटमा जीत निकालिन् । अर्काे खेलमा बागमतीकी भावना सुनुवारले गण्डकीकी सृष्टीका उदासलाई ३–० को सेटमा सहजै हराइन् । बागमतीकी स्वस्तानी श्रेष्ठले आर्मीकी अस्मिता नगरकोटीलाई ३–० को सोझो सेटमा पराजित गरिन् । यसैगरि अर्काे खेलमा बागमतीकी विपना ब्लोनले गण्डकीकी करिस्मा ओलीमाथी ३–० को सोझो सेटमा जीत निकालिन् । स्क्वास व्यवस्थान समितिका अनुसार सो प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् । पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले तीन र बागमतीले दुई स्वर्ण हाँसिल गरेको थियो । प्रतियोगितको पहिलो दिन शनिबार भएका प्रतिस्पर्धामा पनि आर्मीले तीन स्वर्णसहित बर्चश्व कायम गरेको थियो । अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याट्रनबाट एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । स्पाइरिङतर्फ (४५–५०) उमेर समूहको पहिलो खेल समय नपुगेका कारण सेमिफाइनलमा पुगेर रोकिएको छ । सोमबार बिहान गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच फाइनल प्रतिस्पर्धा हुने नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेल भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धामा छन् ।