काठमाडौंः विश्व कप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए । गएराति भएको अन्तिम–१६ को खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा एकरएक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा क्रोएसिया ३–१ ले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो ।
पोखराः क्रोएसियाले टाइब्रेकरमा जापानलाई ३-१ ले हराउँदै क्वाटरफाइलनमा प्रवेश गरेको छ । गोलरक्षक डोमिनिक लिभाकोभिचले टाइब्रेकरमा तीन पेनाल्टी विफल पारेपछि क्रोएसिया फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो । सोमबार अल जनौब रंगशालामा निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । त्यसपछि अतिरिक्त ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । जापानका लागि ताकुमी मिनामिनोको पहिलो प्रहार नै गोलरक्षक लिभाकोभिचले रोकिदिए । त्यसपछि निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई अघि राखे । काअरु मितोमाको प्रहार पनि विफल पार्दै लिभाकोभिचले क्रोएसियालाई बलियो स्थितिमा पुर्याए । मार्सेलो ब्रोजोभिचले गोल गरेपछि ताकुमा असानोले पनि जापानका लागि गोल गरे । क्रोएसियाको लागि मार्को लिभाजाको प्रहार पोस्टमा लाग्दा जापानका माया योशिदाको पेनाल्टी लिभाकोभिचले विफल पारे । मारियो पासालिचले क्रोएसियाको चौथो प्रहारमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे । हाम्रो खेलकुद
पोखराः प्याब्सन कास्कीको आयोजनामा भोलिदेखि ‘स्वस्थ मस्तिष्कका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने १७ औं प्याब्सन स्पोर्ट्स मिटको सम्पूर्ण तयारी पूरा भएको छ । मंसिर २० गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको (निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल) प्याब्सन कास्कीले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्याब्सन कास्कीले आयोजना गरेको स्पोर्ट्स मिटमा कक्षा १ देखि १० सम्मका छात्र, छात्रा सिनियर, जुनियर फुटबल, भलिबल, टेबल टेनिस, एथेलेटिक्स आयोजना गरेको १७ औं प्याब्सन स्पोर्ट्स मिटका संयोजक उमा लामिछानेले बताए । उनका अनुसार कक्षा ११ र १२ का छात्र, छात्राबिच भलिबल, बास्केटबल र एथेलेटिक्समा प्रतिस्पर्धा हुनेछ । १७ औं स्पोर्ट्स मिटमा फुटबलमा बर्चस्व प्याब्सन कास्कीले आयोजना गरेको विविध प्रतियोगिता मध्ये सिनियर देखि जुनियरसम्म फुटबलमा सबैभन्दा बढी विद्यालयमा सहभागिता जनाएका छन् । कक्षा १ देखि १० सम्मे सिनियर फुटबलमा ६९ विद्यालय, जुनियर तर्फ ५६ विद्यालयले सहभागिता रहेको छ । यस्तै भलिबल तर्फ छात्र तर्फ १८ विद्यालय र छात्रा तर्फ १९ विद्यालयले सहभागिता हुनेछन् । टेबलटेनिसतर्फ तर्फ सिंगलतर्फ छात्र ४१, छात्रा १९ र डवलतर्फ छात्र ३९, छात्रा १६ विद्यालयले प्रतिस्पर्धा गर्नेछन् । एथेलेटिक्स तर्फ छात्र ६५ र छात्रा तर्फ ५३ विद्यालयले सहभागिता रहेको छ । यस्तै कक्षा ११ र १२ को भलिबल छात्र तर्फ १६ र छात्रा तर्फ ८ विद्यालय र बास्केटबल तर्फ छात्रतर्फ १७ र छात्रा तर्फ ६ विद्यालयको सहभागिता रहेको छ । १७ औं प्याब्सन स्पोर्टस मिट सफल बनाउन सबै संग आग्रह गर्दै प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले प्रतियोगितामा करिव ५० लाख खर्च हुने अनुमान रहेको जानकारी दिए । प्रतियोगिताको औपचारिक उद्घाटन पुष २५ देखि सुरु हुने भएपनि सिनियर तथा जुनियर तर्फको फुटबल प्रतियोगिताहरु हेमजास्थित गौरीशंकर खेल मैदान, शान्तिदिप वोर्डिङ स्कुलको खेल मैदान, नेपाल आदर्श स्कूलको खेल मैदान र लेखनाथस्थित आदर्श रंगशालामा सञ्चालन हुनेछ । १७ औं प्याब्सन स्पोर्ट्स मिटमा ९० बढी निजि विद्यालयका ७ हजार बढी विद्यार्थीहरुले विभिन्न विधाका प्रतियोगिताहरुमा प्रतिपस्र्धा गर्नेछन् भने ११ हजार बढी अभिभावक तथा दर्शकले प्रतियोगिता अवलोकन गर्ने प्याब्सनले जनाएको छ । प्याब्सनले २ वर्ष कोरोना भाइरसका कारण प्रतियोगिता सञ्चालन गर्न नसकेको जनाएको छ ।
काठमाडौं: आजको खेलमा ब्राजिलले एसियाली ‘बाघ’ दक्षिण कोरियासँग खेल्दैछ । यो खेल राति १२:४५ बजेपछि हुनेछ । दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा पुग्न चाहान्छ । सर्वियासँगको पहिलो खेलमै स्टार फरवार्ड नेयमारलाई गुमाएको ब्राजिलले लगातार अन्य तीन खेलाडी र खेलको अन्त्यसँगै अन्य दुई खेलाडीलाई गुमाइसकेको छ । छैटौंपटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिललाई आफ्नो खेलाडीको चोट महँगो पर्न सक्नेछ । तर, यस खेलका लागि नेयमार फर्कने ब्राजिलका मुख्य प्रशिक्षक टिटेले जनाएका छन् । यता, दक्षिण कोरिया पनि अर्को स्तब्धपूर्ण नतिजा निकालेर क्वाटरफाइनलमा पुग्न चहान्छ । हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् । यसैगरी यो भन्दा अगाडी जापान र क्रोएसिया भिड्दैँछन् । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजेपछि हुनेछ ।
पोखराः प्रदेश खेलकुद परिषद गण्डकीले (आइतबार) पोखरामा एक कार्यक्रमकाबीच खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरु नगद सहित सम्मान गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेताहरुलाई एक भव्य कार्यक्रमका विच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक सातै प्रदेश मध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो भने समग्रमा विभागिय टिम पश्चात चौथो स्थान प्राप्त गरेको थियो । प्रदेश खेलकुदले स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना खेलाडीलाई सम्मान गरेको छ । त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित भएका छन् । असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदकका साथ सातै प्रदेश मध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो । परिषदले एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरेको छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ हजार र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरेको छ । त्यर्सै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश जनही नगद रु १० हजार, ८ हजार र ६ हजार, व्यवस्थापकलाई जनही नगद रु ८ हजार, ६ हजार र ४ हजार प्रदान गरेको छ भने खेल संघहरुलाई स्वर्ण पदक विजेतालाई नगद रु ४० हजार, रजत पदक विजेतालाई नगद रु ३० हजार र कास्य पदक विजेता संघलाई नगद रु २० हजार प्रदान गरेको छ । त्यसै गरी नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरेको छ । कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, मन्त्रालयका सचिव वद्रिनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेल, नेपाली सेनाका पश्चिम पृतनापति दिपक बानियाँ, प्रदेश खेलकुदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङ लगायतले नगद, सम्मानपत्र खादा लगाएर विजेताहरुलाई सम्मान गरेका थिए । सो अवसरमा प्रदेश खेलकुदको सफल नेतृत्व सम्हालेका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो भने नवौं राष्ट्रिय खेलकुदमा स्वयसेवी भूमिकामा रहेर महत्वपूर्ण योगदान दिने विष्णु बहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।
पोखरा: प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको अभिमुखीकरण तालिम सहभागीहरुले नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको सहभागिहरुले बताएका छन् । प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीहरुलाई लक्षित गरी एक दिने अभिमुखीकरण तालिममा जिल्ला जिल्लामा खेलकुदको सक्रियता र चलायमान बनाउने संगै नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको सहभागिहरुले बताएका हुन् । सो अवसरमा बोल्दै प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्ने कुरामा जोड दिए । खेलकुदमा सुशासन पहिलो दायित्व रहने बताउँदै सदस्य सचिव पौडेलले जिल्ला खेलकुदको भूमिका लाई अझै प्रभावकारी बनाउन परिषदल आर्थिक वर्ष २०७९÷०८०मा बजेट समेत विनियोजन गरिएको बताए । जिल्ला खेलकुदहरुको कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीहरुको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमा मात्र खेलकुदको जग बलियो बन्न सहज वातावरण बन्ने उनको भनाई थियो । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदमा प्रदेश खेलकुद गण्डकीले प्राप्त गरेको सफलताले गौरवको अनुभुती भएको बताउँदै प्रदेशका सबै जिल्लाहरुले प्राप्त बजेटहरुको समुचित प्रयोग र व्यवस्थापन आवश्यक्ता रहेको बताए । सो अवसरमा परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जिन्सी र लेखा प्रणालीलाई व्यवस्थित बनाउने बारे प्रशिक्षण प्रदान गरेका थिए । यसै विच प्रदेश खेलकुद परिषद गण्डकीले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेताहरुलाई आइतबार पोखरा रंगशालामा एक कार्यक्रमका विच नगद सहित सम्मान गर्ने भएको कार्यालय प्रमुख टोपलाल भुसालले जानकारी दिएका छन् । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङको प्रमुख आतिथ्यतामा पोखरा रंगशालामा आयोजना हुने उक्त कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई नगद सहित सम्मान गर्न लागिएको हो । गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदकका साथ सातै प्रदेश मध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो । कार्यकारी सदस्य गुरुङका अनुसार एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिने छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरिने छ । त्यर्सै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश १०, ८ र ६ हजार व्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिने छ भने खेल संघहरुलाई ४०, ३० र २० हजार प्रदान गरिने छ । गण्डकी प्रदेशबाट पदक विजेता मध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना सम्मानित हुन लागेका हुन् । त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित हुनेछन् । नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरिने छ ।
पोखराः लेखनाथ क्योकुशिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण हात पार्दा साजन नेपाली र शुभम थापाले कास्यमा चित्त बुझाए । पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे । पुरुष ४० के. जी तर्फ बसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले कास्यमा चित्त बुझाए । ३५के.जी तौल समुह पुरुष तर्फ अमर थापाले प्रतिक घलेलाई पराजित गर्दै स्वर्ण जिते भने मनोज राना र सञ्जन गुरुङले कास्यमा चित्त बुझाए । ३० केजी तौल समूहमा पुरुष तर्फ शिषिर थापा पहिलो,अगम भुजेल दोस्रो भए भने रिजस गुरुङ्ग र अनमोल गुरुङले तेस्रोमा चित्त बुझाए । २५ केजी तौल समूहमा एन्स रोका पहिलो रायन नेपाली दोस्रो भने सुलभ बिक र कमल तामाङ तेस्रो भए । प्रतियोगितामा महिला तर्फको ३० के.जी तौल समुहमा साङ्छु तामाङ लाई पराजित गर्दै प्रिन्स्मा नेपालीले स्वर्ण जित्दा ज्योत्स्ना थापा र क्रिस्टिना गुरुङले कास्यमा चित्त बुझाए । महिला ४० के.जी तर्फ सुहाना श्रेष्ठले दिलमाँया बुढा मगर लाई हराउँदै स्वर्ण पदक हात पार्दा सुवाली श्रेष्ठ र आयुषा पन्थी तेस्रो भए । महिला ५० के.जी तर्फ पल्लबी नेपाली प्रथम हुँदा मन्दिपा के.सी दोस्रो भईन साथै दिप्ती थापा र खुस्बु पुन तेस्रो भए । उक्त कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी महिला ५५ केजी तौल समूहकी धनि रानामगर र ४० केजी तौल समूहका अभिषेक तामाङलाई स्वर्ण पदक विजेता बिजेता भएकोमा सम्मान गरिएको थियो । त्यस्तै ६० केजी तौल समूहका मोसेस कुमाल र ४५ केजी तौल समूहका भाग लिएका नारायण विकले कास्य पदक र प्रतियोगिताका सहभागी भएका सरगम कुमाललाई पनि सम्मान गरिएको थियो । स्वर्ण पदकलाई २ हजार, कास्य लाई १ हजार पाँच सय र सहभागिलाई १ हजार नगद, खादा र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । प्रतियोगितामा विनोद नेगी, मदन केसी, मुना पुन, सम्राज सेन, मसोसे कुमाल, सरगम कुमाल, राजन विक, अषिम गोर्खाली निर्णयकको भुमिकामा थिए । प्रतियोगितामा ६० जना खेलाडी सहभागी रहेका थिए ।
पोखरा: आगामी २२ गतेदेखि पोखरा महानगरपालिका ३ स्थित छन्त्याल समाजको भलिबल कोर्टमा आयोजना हुने भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । युनाइटेड पोखरा क्लबको आयोजनामा हुने ‘युनाइटेड पोखरा भलिबल कप’ को तयारी तिब्रपारिएको क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी दिए । उनका अनुसार सो प्रतियोगिताको पुरुष तर्फको विजेताले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरि उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन् । उनले महिला तर्फको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ४४ हजार ४ सय ४४ तथा उपविजेताले ३० हजार ३० रुपैयाँ प्रदान गर्ने बताए । भलिबल खेलको विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताबाट संकलित रकममध्ये केही अनाथ बालबालिका, वृद्धाश्रममा सहयोग गरिने आयोजकले जनाएको छ । टिम दर्ता आगामी मसिंर २१ गते साझँसम्म टिम दर्ता गर्न सकिने बताइएको छ ।
पोखराः एसियन राष्ट्र जापानले कतारमा जारी विश्वकप फुटबलमा कोस्टारिकासँग हारेर पनि विश्वको ध्यानाकर्षित गरेको छ । लिग चरणको दोस्रो खेलमा कोस्टारिकासँग हारेर स्तब्ध बनेको जापानी समर्थकहरुले खेलपछि पनि स्टेडियम छाडेनन् । स्टेडियम रित्तिदै गएपछि उनीहरु सरसफाईमा केन्द्रित भए । कोस्टारिका समर्थिन फ्यानहरु स्टेडियम बाहिर निस्केपछि हारको पीडालाई बिर्सेर उनीहरुले पुरै प्यारापिटमा रहेका फोहोर संकलन गरी निर्धारित स्थानमा जम्मा गरिदिएका थिए । जापानी समर्थकको कार्यलाई विश्वभरबाट प्रशंसा गरिएको छ । यूरोस्पोर्टले उनीहरुको तस्बिर सार्वजनिक गरेपछि जापानी समर्थकलाई विश्वभरका फुटबलप्रेमीले प्रशंसाको शब्द खर्चेका छन् । उनीहरुको कार्यप्रति नतमस्तक भएका डिलन व्ह्टिटेकर लेख्छन्, ‘गज्जबको संस्कार, विश्वले जापानीहरुबाट सिक्नैपर्छ ।’ त्यस्तै, सिल्भिया फेमीले लेखेकी छिन्, ‘भलै जापान फुटबलमा हार्ला तर मानवीय गुण, संस्कार र आदरमा कहिल्यै हार्दैनन् । समूह ‘इ’ मा रहेको जापान कोस्टारिकासँग हारेपनि पहिलो खेलमा जर्मनीमाथि २–१ को जीत हात पारेको छ । अब जापानले समूह चरणमा स्पेनसँग शुक्रबार खेल्नेछ ।

