पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा :  मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ ।   बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक्षणसहितको तयारीस्तरलाई हेर्दा ‘च्याम्पियन’को इतिहास आफनो टोलीले सहजरुपमै दोहो¥याउने नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले दाबी गर्नुभयो । यसअघि सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताका सातौँ र आठौँ संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ बन्न सफल भएको थियो ।    उहाँले भन्नुभयो, “तालिमको स्तर हेर्दा अघिल्लोभन्दा यसपाली प्रदर्शन राम्रो हुन्छ, नतिजा पनि राम्रो हुने अपेक्षा छ । राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र खेलको सबैभन्दा ठूलो समारोह हो । अन्य टोलीका तुलनामा पूर्वाधार र व्यवस्थापन चुस्त छ, खेलाडी अब्बल छन्, च्याम्पियनको इतिहासको वर्चश्व कायम राख्न कोसिस गर्छौं ।”   सङ्घीय संरचनाका आधारमा हुँदैआएको राष्ट्रिय खेलकुद प्रतियोगिता यस पटक भने प्रादेशिक संरचनामा हुन लागेकाले विभागीय टोलीलाई प्रादेशिक टोलीको कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ । सेनाले प्रतिस्पर्धामा पदक आफ्नो पक्षमा पार्न सामूहिकभन्दा  व्यक्तिगत खेल विधातर्फ बढी ध्यान केन्द्रित गरेको छ । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै खेलकुदप्रतिको  सर्वत्र चासो र रुचि बढेको हुँदा प्रतिस्पर्धा र गुणस्तरी खेलाडी उत्पादनमा निकै प्रभावकारी नतिजा हासिल हुने विश्वास गरिएको छ ।   पछिल्लो समय खेलकुदको विकासका लागि प्रादेशिक र स्थानीय तहमा समेत विभिन्न संरचना र कार्यक्रम विकास तथा विस्तार हँुदैगएको छ ।  सेनाले टोलीलाई जिताउन मात्र केन्द्रित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान र उत्पादनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।   सेनाले गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा जारी उक्त प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षक, अफिसियल र प्रतिनिधि गरी सात सय २८ जनशक्ति पठाएको छ । प्रतियोगिताअन्तर्गत सेनाले फुटबल, एथलेक्टिस, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, भलिबल, टेवल टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केट बल, बुद्धिचाल, आइटिएफ  तेक्वान्दो, ह्याण्ड बल र स्क्वासमा प्रतिस्पर्धा गर्ने छ ।   त्रिभुवन आर्मी क्लबका खेलाडी हक्की, सुटिङ, जिम्न्याष्टिक, लन–टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी,  सेपाताक्रो, खोखो, फेन्सिङ, ट्रायथलन, पौडी, शारीरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ, सफट टेनिस र रग्बीमा अन्य टोलीका खेलाडीसँग सशक्तरुपमा भिड्ने छन् ।   प्रतियोगीताका लागि तय भएका स्वर्ण तीन सय ९३, रजत तीन सय ९३  र कास्य छ सय पदकमध्ये कम्तीमा पनि एक सय ४० स्वर्ण, ८२ रजत र ७५ कास्य जित्ने सेनाले दाबी गरेको छ । सेनाले यस पटक जिम्न्यास्टिक, पौडी, कराते, तेक्वान्दो, दौड, टेनिसलगायतका खेल विधामा बढी पदकको अपेक्षा गरेको छ ।   यसअघि आठौँ प्रतियोगितामा सेनाका खेलाडीले एक सय ४८ स्वर्ण, ८७ रजत र ७२ काँस्य पदक हात पारेको थियो । यस प्रतियोगिताका लागि क्लबले दुई सय ७५ महिला खेलाडीसमेत पठाएको छ । तेह्रौँ साफ खेलकुदमा नेपालले प्राप्त गरेका दुई सय सात पदकमध्ये सेनाका खेलाडीले मात्रै एक सय तीन पदक जितेका थिए ।   साफमा नेपालको प्रतिनिधित्व गरी पदक प्राप्त गर्ने  अधिकांश खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी रहेकाले पनि सेनाले विगतको रेकर्ड सुरक्षित राख्ने दाबी गरेको हो । अन्य टोलीका तुलनामा नियमित अभ्यास र प्रशिक्षण गर्दै आएका सेनाका खेलाडीका लागि प्रत्येक युनिटका साथै लगनखेल र सैनिक मुख्यालय परिसरमा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र र खेलमैदान समेत छ ।  

पोखरा :  पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पुरुष ‘टिम फोयल’मा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्णपदक जितेको हो । बागमतीको यो फेन्सिङमा तेस्रो स्वर्णपदक हो ।   पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश नं १ ले कास्यपदक प्राप्त गरेको छ । यसैगरी महिला ‘इपी टिम इभेन्ट’को स्वर्ण नेपाली सेनाले जितेको छ । सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जिते । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूरपश्चिमले कास्य पदक जिते ।   महिला ‘सेबर टिम इभेन्ट’ प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश नं १ ले कास्यपदक जिते । फेन्सिङको अङ्क तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहन सफल भयो । बागमतीले हालसम्म चार स्वर्ण र एक रजतपदकसहित पाँच पदक जितेको छ ।    यसैगरी आर्मीले तीन स्वर्ण, पाँच रजत र छ कास्यसहित १४ पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, तीन रजत र छ कास्यसहित १० पदकका साथ तृतीय स्थानमा छ ।  सुदूरपश्चिम प्रदेश एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेको छ ।   यसैगरी प्रदेश नं १ ले हालसम्म तीन कास्यसहित पाँचौँ स्थानमा रहँदा आयोजक गण्डकी प्रदेश एक कास्यसहित फेन्सिङको पदक तालिकामा पुछारमा छ । पोखरामा यही असोज २४ गतेदेखि फेन्सिङ खेल जारी छ । 

पोखरा:   पोखरामा आगामी कार्तिक १७ देखि १९ गते सम्म वडास्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल उद्योग व्यवसायी महासंघ पोखरा महानगर कमिटीले आयोजना गर्ने सो प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।   उद्योगी व्यवसायीबीचको आपसी सम्बन्ध सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक तुलबहादुर थापाले बताए ।    उनका अनुसार उक्त प्रतियोगिताको विजेता टोलीले १ लाख शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।   सो प्रतियोगितामा एउटा टिममा ३ जना मात्रै राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संस्थाका महासचिव हेमराज भण्डारीले बताए । ‘हाम्रो सस्ंथाहरु धेरै वडामा सक्रिय छन्, जुन वडा समितिबाट पनि खेलाडीले सहभागिता जनाउन पाउँनेछन्, उनले भने, ‘एउटा टिममा ३ जना मात्र राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधान बनाएका छौ ।’   सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाल उद्योग व्यवसायी महासंघको कुनै एक वडाको सिफारिस गर्नैपर्ने बताए ।   उनले उक्त प्रतियोगिता फिफाको नियमानुसार सञ्चालन गरिने भण्डारीले बताउदै देशभरबाट करि ७० टिम बढीको सहभागिता रहने बताए ।    पोखरा रंगशालाको कभर्डहलमा ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन् गर्न करिब ७ लाख खर्च हुने आयोजकले जनाएको छ ।  

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बुधबार नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेश विजयी भएका छन् ।   जितसंगै पुलिस क्लव समुहको शिर्षस्थानमा पुगेको छ । समुहमा सम्पन्न दुई खेलमध्य पुलिसले दुवैमा जित हाँसिल गर्दै ४ अंक जोडेको छ । बुधबारको खेलमा पुलिसले प्रदेश १ माथि १ सय १८ रनको फराकिलो जित निकाल्यो ।    पहिला व्याटिङ गरेको पुलिसले २० ओभरमा १ सय ५८ रनको योगफल तयार पार्दा प्लेयर अफ द म्यान समेत चुनिएकी सम्झना खड्काले प्रतियोगिताकै पहिलो अर्धशतक हानिन् । ४३ बलको सामना गरेकी सम्झनाले १० चौका प्रहार गर्दै ६० रन जोडेकी हुन् । पुलिसको तर्फबाट कविता कुँवरले ३७, अप्सरी बेगमले २१ कप्तान रुविना क्षेत्रीले १६ रन बनाए ।   प्रदेश १ को वलिङमा निशा शाहले १ विकेट लिइन भने पुलिसका दुई खेलाडी रनआउट भएका थिए । जितका लागि १ सय ५९ रन पछ्याउने क्रममा पुरै २० ओभर खेलेको प्रदेश १ ले ८ विकेटको क्षतिमा ४० रन मात्रै बनाउन सक्यो । जसमा क्याप्टेन सनु राजबंशिले ११ रनको पारी खेलिन् । पुलिसको बलिङतर्फ हिरनामयी रोयले ३, सबनम राई, कविता कँुवर र कविता जोशिले समान एक एक विकेट लिए ।    बुधबारको अर्को खेलमा लुम्बिनीले कर्णालीलाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिला व्याटिङ गरेको लुम्बिनीले पुरा २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय २७ रन बनायो । लुम्बिनीको व्याटिङमा लक्ष्मी चौधरीले ३ चौकाको मद्धतमा ३१, सरस्वती घर्ती मगरले ३० तथा सुस्मिता बजगाईले १२, मधु डिसीले १२ रन जोडिन् । कर्णालीको बलिङमा अन्जु गुरुङले २ र अन्जिला क्षेत्रीले १ विकेट लिइन् ।   जितका लागि १ सय  २८ रन पछ्याएको कर्णाली मात्रै २३ रनमा समेटियो । कर्णालीले ८.३ ओभरमै सबै विकेट गुमाउँदा किरण कुँवरको ५ रन सर्वाधिक बन्न पुग्यो । लम्बिनीको बलिङमा प्लेयर अफ द म्याच मधु डिसीले आफ्नों स्पेलमा ११ रन खर्चिएर ४ विकेट लिइन् । त्यस्तै, कृतिका मरासिनीले २ र सुस्मिता भुषालले १ विकेट लिइन् । जितसंगै लुम्बिनी ३ अंकका साथ दोश्रो स्थानमा रहेको छ ।    प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल एपीएफ क्लव र गण्डकी प्रदेशविच पहिलो तथा मधेश प्रदेश र सुदुर पश्चिम प्रदेशविच दोश्रो खेल हुनेछ ।   

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूलाई बुधवार एक कार्यक्रमका बिच सम्मान सहित जितको शुभकामना व्यक्त गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ, कार्यपालिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती, महानगरका खेल पदाधिकारी, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज बहादुर गुरुङ लगायतको उपस्थितिमा १५० बढी खेलाडीहरूलाई सम्मान सहित शुभकामना व्यक्त गरिएको हो ।   महानगर खेलकुद विकास समितिले आयोजनामा गरेको उक्त कार्यक्रममा खेलाडीहरूलाई शुभकामना दिँदै प्रमुख आचार्यले प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी १५ हजार नगद सहित सम्मान गरिने जानकारी दिनुभयो ।    “यस प्रतियोगितामा सहभागी हुने खेलाडी साथीहरूलाई जितको अग्रिम शुभकामना छ, ‘उच्च मनोबलका साथ आफ्नो खेल कौशल अनुशासन पूर्वक प्रस्तुत गर्नुहोला, उहाँले भन्नुभयो, तपाँईहरुले कुनै पनि खेल वा विद्यामा पदक प्राप्त गर्ने बित्तिकै महानगरपालिकाको तर्फबाट विशेष पुरस्कार प्रदान गर्ने व्यवस्था समेत हामीले गरेका छौँ ।” पोखरा महानगरपालिका खेलाडीहरूको साथमा रहेको उहाँले बताउनुभयो ।    पोखरा महानगरवासी खेलाडीहरूको नेतृत्वमा गण्डकी प्रदेशले प्रतियोगिताको ऐतिहासिक ट्रफी माथि आफ्नो नामको इतिहास कोर्ने विश्वास समेत प्रमुख आचार्यले व्यक्त गर्नुभयो । “नेपाली खेलकुदको इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद्ले १० किलो चाँदी र २ टोला सुनको सुन्दर ट्रफी निर्माण गरेको छ, हाल त्यो नेपाल प्रहरीको सुरक्षामा प्रदेश प्रहरी कार्यालयमा राखिएको छ, उहाँले भन्नुभयो, ‘प्रतियोगिताको समापनमा प्रधानमन्त्रीको हातबाट यो ट्रफी विजेता प्रदेशलाई प्रदान गरिने छ, त्यो प्रदेश गण्डकी बनोस्, मेरो शुभकामना छ ।” गण्डकी प्रदेशको तर्फबाट प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाका खेलाडीहरूले सबैभन्दा धेरै पदकहरू हत पार्नेमा आफू विश्वस्त रहेको प्रमुख आचार्यले बताउनुभयो ।    ३९ वर्ष पछि पोखरामा हुन गइरहेको यस प्रतियोगितामा पोखरा महानगरपालिकाका २ सय बढी खेलाडीहरूको सहभागिता रहने महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती खेलाडीहरूले २६ बढी खेलहरूमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेश (तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्र) मा भएको थियो ।  

गलकोट : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङको प्रतिष्ठासँग जोडिएको बताउनुभयो ।  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा हुने आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीको आज  बाङ्गेचौरस्थित कभर्डहलको स्थलगत अवलोकन गर्दै उहाँले तेक्वान्दो प्रतियोगिताको तयारीलाई चुस्त पार्न निर्देशन दिनुभयो ।    उहाँले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङमा गर्नु र बागलुङका खेलाडीले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा धेरै पदक प्राप्त गर्नुले जिल्लाको प्रतिष्ठासँग उक्त खेल जोडिएको बताउनुभयो । “पहिलोपटक बागलुङमा राष्ट्रिय खेलकुदअन्तर्गतको आइटिएफ प्रतियोगिता हुन गइरहेको छ, यो बागलुङको प्रतिष्ठासँग जोडिएको विषय हो”, उहाँले भन्नुभयो, “ जिल्लामा आएका देशभरका खेलाडीले बागलुङ चिन्ने मौका दिनुपर्दछ ।”   मन्त्री पौडेलले खेलकुद प्रतियोगिताको तयारी, खेलाडी व्यवस्थापनलगायत विषयमा स्थलगत अवलोकन गर्नुभएको आइटिएफ नेपालका केन्द्रीय सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।  यही असोज २९ गतेदेखि यहाँ सञ्चालन हुने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय गरी १० टोलीका दुई सय ५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसिएल तथा म्यानेजर सहभागी हुनेछन् ।   प्रतियोगिताको तयारीका लागि बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । जिल्लामा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीले ४५ स्वर्ण,  ४५ रजत र ३० कास्य गरी कूल एक सय २० पदकका लागि प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति बागलुङले जनाएको छ ।   

पोखरा :  नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ ।   युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उक्त प्रतियोगिता उद्घाटन गर्नुहुनेछ । प्रतियोगिता आगामी शुक्रबार उद्घाटन हुने भएता पनि पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेको छ । यस्तै महिला क्रिकेट, ह्यान्डबल फेन्सिङलगायतका केही खेल पनि सुरु भइसकेका छन् । प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।   खेलकुदप्रति चासो राख्ने सबैको ध्यान अहिले पोखरा र त्यस वरपरका जिल्लामा सञ्चालन हुने प्रतियोगितामा केन्द्रित भएको छ । गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङबाहेकका जिल्लामा सञ्चालन हुने प्रतियोगितामा ३६ खेल विधा समेटिएको छन् । प्रतियोगिता सञ्चालन र व्यवस्थापनका लागि पोखरामै सचिवालय खडा भइसकेको सचिव गौतमले जानकारी दिनुभयो । विसं २०४० मा दोस्रो राष्ट्रिय खेलकुद गरेको पोखराले चार दशकपछि पुनः प्रतियोगिता सञ्चालन गर्न लागेको हो । नेपालको खेलकुदको कुम्भमेलाका रूपमा रहिआएको यस प्रतियोगितामा करिब आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षक सहभागी हुनेछन् । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना सङ्क्रमणले केही समय ढिला भएको हो ।   प्रतियोगितामा केही खेलविधा तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा सञ्चालन हुनेछन् । आजसम्म सबै खेलाडी तोकिएको खेलस्थल पुग्ने कार्यक्रम छ । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) टिमले स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय पदकाका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलकुद समाजका सबै जातजाति र समुदायलाई एकीकृत र समावेशी प्रतिनिधित्व गराउने सशक्त विधा हो ।   प्रतियोगितामा एथलेटिक्स, क्रिकेट, ब्याडमिन्टन, फुटबल, टेनिस, बक्सिङ, भलिबल, जिमन्यास्टिक, ह्याण्डबल, सफ्टटेनिस, सेपाताक्रो, स्क्वास, उसु, जुडो, ‘फुलकन्ट्याक्ट’ कराते, पौडी, हक्की, भारत्तोलन, गल्फ, साइक्लिङ, ट्रायथलन प्याराग्लाइडिङ, आर्चरी, फेन्सिङ, कबड्डी, आइटिएफ तेक्वान्दोे, बास्केटबल, कराते, बुद्धिचाल र कुस्तीलगायत केही प्रदर्शनी खेलविधा समेटिएको छ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।    प्रतियोगिता आयोजक समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला खेलाडीको समेत सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी प्रशिक्षण र तयारीका लागि केन्द्रीय सरकारले प्रत्येक प्रदेशलाई रु ४९ लाख रकम उपलब्ध गराएको थियो । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा यसपटक रु १० लाखको लागतमा ‘रनिङ ट्रफी’ तयार गरिएको छ । प्रतियोगिता गर्न सङ्घीय सरकारले रु ६० करोड बजेट निकासा गरेको थियो । प्रदेश सरकारबाट पनि प्राथमिकताकासाथ रकम विनियोजन गरिएको छ ।   प्रतियोगिता ऐतिहासिक र भव्यरूपमा सम्पन्न गर्र्न १३ विभिन्न विषयगत समिति गठन गरी सहभागिता, समन्वय र सहजीकरणको काम भइरहेको छ । विगतमा सङ्घीय संरचनाको ढाँचामा हुँदै आएको प्रतियोगिता पहिलोपटक यसपटक प्रादेशिक संरचनामा हुन लागेको हो । प्रतियोगिताबाट नयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान र छनोट हुने अपेक्षा गरिएको छ ।

पोखरा :  गण्डकी प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आज सम्पन्न दुई खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र सुदुर पश्चिम प्रदेश बिजयी भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धाको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो ।   यसैगरी दोस्रो खेलमा सुदुरपश्चिमले घरेलु टोली गण्डकी प्रदेश माथि छ विकेटको जित निकालेको खेलमा बागमतीले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा ८९ रन जोडेको थियो । जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर जितको लक्ष्य भेट्टायो । एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाउनुभयो ।   बागमतीको तर्फबाट अस्मिना कर्माचार्यको अविजित १९ तथा सुमन खतिवडाको १९ रनको पारी खेल्नुभयो । एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक ÷एक विकेट लिनुभयो ।  बागमतीका बलरहरू सोनी पाख्रिन र सुमन खतिवडाले समान दुईरदुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिनुभयो ।   यसैगरी घरेलु टोली गण्डकी प्रदेशलाई छ विकेटले सुदुरपश्चिमले पराजित ग¥यो । पहिला व्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको क्षतिमा ५९ रन बनायो । गण्डकीको तर्फबाट श्रृष्टि जैशीले २८, ज्योत्स्निका मरासिनीले सात, सिमाना केसीले छ, सिला क्षेत्रीले अविजित छ रन बनाउनुभयो । सुुदुर पश्चिमको बलिङतर्फ रितु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एकरएक विकेट लिनुभयो ।   जितका लागि ६० रनको लक्ष्य सहित मैदान उत्रिएको सुदुर पश्चिमले १० दशमलव दुई ओभरमा चार विकेट गुमाउँदा विजयी लक्ष्य प्राप्त ग¥यो । सुदुर पश्चिमको व्याटिङमा रितु कनौजियाले २० बलको सामना गर्दै तीन चौकाको मद्धतमा २२ रन बनाउनुभयो । यसैगरी स्नेहा महराले २७ बलमा चार चौका सहित २१ रन जोड्नुभयो ।

गण्डकी  :  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ । प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल र फेन्सिङ सोमबारबाट सुरु भएको छ ।   प्रतियोगिताका लागि आएका खेलाडीको चहलपहलले यतिखेर पर्यटकीय नगरी पोखरा खेलमय बनेको छ । कूल ३६ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुदमा क्यानोनिङ र छेलोको प्रदर्शनी खेल समेत हुने जनाइएको छ । प्रतियोगिता हुने खेलमध्ये अधिकांश पोखरामा नै हुनेछन् भने अन्य गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा हुनेछन् ।    विसं २०३८ देखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकद सम्पन्न गरेको पोखराले चार दशक पछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको हो ।   आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षकसमेत गरी करिब १० हजार व्यक्ति सहभागी हुने प्रतियोगिता आगामी असोज २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिनुभयो ।   गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधार लगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यस पटक कुनैपनि प्रतियोगिता हुनेछैनन् ।   सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली संघ(एनआरएन) गरी कुल ११ टिमबीच प्रतिष्पर्धा हुनेछ । स्वर्ण ३९३, रजतः ३९३  र कास्य ६०० पदकाका लागि प्रतिष्पर्धा हुनेछ ।   खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन  पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिमन्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रङ्गशालमा हुनेछ ।    यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । । आर्चरी, फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ । रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ । पोखरा र बाहिरका खेलमैदान राष्ट्रिय खेलकुदका लागि तयारी अवस्थामा रहेको संयोजक गुरुङले जानकारी दिनुभयो ।       राससका वरिष्ठ सहायक समाचारदाता रामबहादुर थापाका अनुसार बाग्लुङमा आइटिएफ तेक्वान्दोे प्रतियोगिता हुनेछ । सदरमुकामस्थित  बागलुङ तेक्कान्दो संघको कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि खेलस्थल सुधार, साजसज्जादेखि खेलाडीका लागि होटल व्यवस्थापनसम्मको काम भइरहेको छ ।    शनिबार विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिने आइटिएफका केन्द्रीय सचिव एवम् बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।    “प्रतियोगिता कात्तिक २ गतेसम्म चल्छ, मौसमले साथ दियो भने कभर्डहल बाहिर पनि खेल सञ्चालन गर्ने गरी तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “सात प्रदेश र तीन विभागीय टिमका गरी झण्डै तीन सय खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन् ।”    नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा गठित ५१ सदस्यीय प्रतियोगिता व्यवस्थापन समितिले व्यवस्थापकीय तयारीका कामलाई अघि बढाएको हो ।      गण्डकी प्रदेशका आइटिएफ प्रशिक्षक आकाशचन्द्र घर्तीमगरले प्रतियोगितामा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा प्रतिस्पर्धा हुने बताउनुभयो । विभिन्न उमेर र तौल समूहका खेलाडीले प्रतियोगितामा भाग लिनेछन् ।   “गण्डकी प्रदेशबाट १४ पुरुष र ११ महिला खेलाडी भाग लिँदैछन्, खेलाडी अहिले बन्द प्रशिक्षणमा छन्”, प्रशिक्षक घर्तीले भन्नुभयो, “आठौँ राष्ट्रिय खेलकुदमा भन्दा यसपालि गण्डकीले नतिजा सुधार्ने अपेक्षा छ ।”   नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा गण्डकीले एक स्वर्ण र सात रजत पदक हात पारेको थियो । नवौँमा आइटिएफ तेक्वान्दोतर्फ २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।   प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा भएपनि जिल्ला तहमासमेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन् । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष लोकेन्द्र केसीले प्रतियोगिताले खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताउनुभयो । खेलाडीलाई नजिकका पर्यटकीय गन्तव्यस्थल घुमाउन समितिले सहजीकरण गर्ने उहाँको भनाइ छ ।   “राष्ट्रिय खेलकुदअन्तर्गतको प्रतियोगिता बागलुङमा आयोजना हुनु हाम्रा लागि महत्वको विषय हो, व्यवस्थापन र आतिथ्यतामा जिल्लाले कुशलता देखाउने मौका आएको छ”, उपाध्यक्ष केसीले भन्नुभयो, “देशभरबाट खेलाडी आउँदा जिल्लाको चिनारी बढ्छ, आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ ।”    प्रदेशका अरु जिल्लालाई पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको अपनत्व दिलाउन राष्ट्रिय खलेकुद परिषद्ले पोखरा बाहिरसमेत खेलस्थल छनोट गरेको हो ।    राससका दमौली समाचारदाता कृष्ण न्यौपानेका अनुसार जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगिता हुँदैछ ।    व्यास नगरपालिका वडा नं १ निर्मल माध्यमिक विद्यालय प्राङ्गणमा रहेको बास्केटबल कोर्टमा सञ्चालन हुने खेलको आवश्यक तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति तनहुँले जनाएको छ ।      खेल सञ्चालनका लागि खेलमैदान तयार भइसकेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार खेलमैदानमा रङ्गरोगन, सरसफाई गरिएको छ भने मैदान सम्याउनका लागि ढलान गर्ने कार्य गरिएको छ । यहाँ रहेको दुईवटा मैदानमा खेल सञ्चालन हुनेछ ।   “खेलमैदान तयार भइसकेको छ, खेलाडी राख्नका लागि होटलको व्यवस्थापन सकिएको छ,” पाण्डेले भन्नुभयो, “स्थानीय सरकार, टोलवासी, दमौलीवासी खेललाई भव्य रुपमा सम्पन्न गराउन आतुर छन् ।” खेलमैदान नजिक चेन्जिङ रुम, शौचालय तयार गरिएको छ । खेलका लागि खेलाडी, अफिसियल सहित एक सय ५६ जना दमौली आउनेछन् ।        खेलाडी र अफिसियलका लागि होटल व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्ले गरिसकेको छ । “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एउटा खेल तनहुँमा हुनु तनहुँवासीको गौरवको विषय हो”, पाण्डेले भन्नुभयो ।    खेलकुदलाई सुरक्षितरुपमा सम्पन्न गराउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग बैठक सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । शान्ति सुरक्षालाई चुस्त बनाउन जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको उहाँले बताउनुभयो ।   खेलको उद्घाटनको दिन दमौली बजारमा हरेक घर अगाडी घडा राख्ने, व्यानर राख्ने निर्णय गरिएको छ । प्रतियोगिता सम्पन्न गराउनका लागि व्यास नगरपालिका, विभिन्न टोल विकास संस्था, बजारवासीले प्रतिबद्धता जनाएका छन् ।    परिषद्का सदस्य एवं खेलस्थल उपसमितिका संयोजक राजेश गुरुङ सहितको टोलीले गत असोज ४ गते खेलमैदानको निरीक्षण गर्दै तनहुँमा महिला बास्केटबल खेल सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो ।    राससका वालिङ समाचारदाता तोलाकान्त बगालेका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्याङ्जा जिल्लाको वालिङमा महिला फुटबल प्रतियोगिता हुनेछ । वालिङ नगरपालिका वडा नं ८ स्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरीबहादुर ९मोहन० गुरुङले जानकारी दिनुभयो । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुदका कार्यक्रम हुने भएपनि महिला फुटबल भने एकदिनअघि असोज २७ गतेबाट सञ्चालन हुने भएको हो ।   असोज २७ गते बिहीबारबाट प्रतियोगिता शुरु हुने भएपछि भोलिसम्ममा सबै खेलाडीहरु वालिङ आईसक्ने उहाँले जानकारी दिनुभयो ।   वालिङ आउने अफिसियल, प्रशिक्षक, खेलाडी सबैलाई होटल व्यवसायीहरूसँगको समन्वयमा आवाशको व्यवस्थापन मिलाईएको छ ।   वालिङमा रहेको खेलमैदानलाई जिल्ला समन्वय समितिको पहलमा विशेष गरी वालिङ नगरपालिकासहित जिल्लाका एघार वटै पालिकाहरूको सहयोगमा दुबो लगाइएको छ । प्रतियोगिताका लागि अहिले खेल मैदान ब्यवस्थित गर्ने, तारबार गर्ने, झण्डाहरू राख्ने लगायतका काम भइरहेको उहाँले जानकारी दिनुभयो ।   राससका पर्वत समाचारदाता लक्ष्मीप्रसाद सापकोटाका अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पर्वत जिल्लामा सञ्चालन हुने कराँतेको तयारी पूरा भएको छ ।     खेल सञ्चालन हुने भवनको भौतिक पूर्वाधारको काम सम्पन्न हुने चरणमा रहेको पुगेको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले जानकारी दिनुभयो ।    त्यसैगरी खेलाडीहरूका लागि होटल बुकिङ्गको काम भैसकेको छ । प्रतियोगिताको अफिसियल टिम पर्वत आइपुगेर आवश्यक तयारीमा लागिरहेको उहाँले जानकारी दिनुभयो ।   उहाँका अनुसार प्रतियोगिता कुश्मा बजारको बगाउँस्थित जिल्ला खेलकुद विकास समितिको हलमा सञ्चालन हुने र अधिकांश तयारी पूरा भएको राम श्रेष्ठले जानकारी दिनुभयो ।   करातेतर्फ चार प्रदेश तथा आर्मी, प्रहरी, सशस्त्र प्रहरी तथा एनआरएनए सहित ११ वटा टिमले प्रतिष्पर्धा गर्ने छन्  । प्रतियोगितामा ११ वटै टिमबाट ३२ जनाका दरमा करिब चार सय खेलाडी, हरेक टिमका दुई÷दुई जना कोच, राष्ट्रिय र अन्तर्राष्ट्रिय कोचसमेत गरी एक सय ३० जना अफिसियलको सहभागिता रहने जनाइएको छ ।   प्रतियोगितामा सहभागि हुने खेलाडीहरू भने असोज २८ गते कुश्मा आइपुग्ने र उनीहरूका लागि विभिन्न होटलहरूमा खान बस्नको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । त्यसैगरी खेलाडीलाई नेपालकै अग्ला र लामा पुलहरु, विश्वकै अग्लो बञ्जी, विश्वकै लामो सुपरम्यान शैलीको जीपलाईलगायतका पर्यटकीय स्थलहरूको दृश्यावलोकनको व्यवस्था पनि मिलाईएको छ ।    पर्वत जिल्लामा हालसम्म राष्ट्रियस्तरका प्रतिष्पर्धा भएका छैनन । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको कराँते खेल पर्वतमा आयोजना हुँदा पर्वतको खेलकुद तथा पर्यटन क्षेत्रको बिकासमा ठूलो सहयोग पुग्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले बताउनुभयो ।      म्याग्दी समाचारदाता सन्तोष गौतमका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गरे पनि बजेट र खेल सामग्री नआएको जनाएको छ ।    समितिका अध्यक्ष दिनेश केसीले राष्ट्रिय खेलकुद परिषद्ले बिनियोजन र पदाधीकारीले घोषणा गरेको बजेट समयमा जिल्लामा नपठाउँदा तयारीका साथै व्यवस्थापन गर्न समस्या भएको जानकारी दिनुभयो ।   भलिबल सञ्चालन हुने बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र प्याराफिट रङ्गरोगन गरिएको छ । बेनी नगरपालिकाले बनाएको खुल्लामञ्चको प्याराफिटमा रेलिङ हालेर रङ्ग लगाइएको छ ।   राखेपले पहिलो चरणमा तयारीका लागि रु। पाँच लाख बजेट पठाउने घोषणा गरेपनि नपठाएको अध्यक्ष केसीले बताउनुभयो ।    बेनी नगरपालिका लगायत जिल्लाका स्थानीय तह र समितिको आन्तरिक स्रोतबाट अहिलेसम्म तयारी गरेपनि राखेपबाट बजेट नआउँदा थप तयारी गर्न समस्या भएको छ ।    महिला भलिबलमा सहभागि हुने गण्डकी, बाग्मती प्रदेश, नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेका जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो । तेक्वान्दोका खेलाडीहरू २६ गतेसम्म बेनी आइपुग्ने समितिले जनाएको छ ।   प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना म्याग्दीमा आउदैछन् । होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाई, झाँकी प्रदर्शनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन् ।    गोरखा समाचारदाता दीपक श्रेष्ठका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा हुन लागेको बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यहीँ असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म गोरखा सदरमुकाम स्थित गोरखा क्याम्पसको हाताभित्र भित्र हुन लागेको प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण लगायतका व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्न्यात जानकारी दिनुभयो ।   प्रतियोगितामा सहभागी हुने खेलाडी, अफिसियल तथा व्यवस्थापकका लागि होटल व्यवस्थापन, प्रतियोगिता हुने स्थानमा आबश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।   कूल ११ टिमको सहभागिता हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, तीन विभागीय टिम तथा एक गैर आवासीय सङ्घको टिमले भाग लिनेछन् । हरेक टिमबाट तीन महिला र तीन पुरुष गरी कूल ६६ जना तथा नेपालका नेशनल च्याम्पियन पुरुषतर्फका खेलाडी, महिलातर्फका राष्ट्रिय च्याम्पियन खेलाडी तथा उच्च वरियताका पुरुष खेलाडीको पनि प्रतियोगितामा सहभागिता रहने अध्यक्ष बस्न्यातले जानकारी दिनुभयो । त्यसबाहेक अफिसियल र व्यवस्थापकहरुको प्रतियोगितामा सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगिताको खेल तालिका भने प्राप्त हुन बाँकी रहेको उहाँको भनाइ छ ।   कावासोती समाचारदाता राजु चापागाईका अनुसार पूर्वी नवलपरासीमा नवौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा कुस्ती र सेपाताक्रोको प्रतियोगिता हुने र त्यसको तयारी तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको कुस्तीतर्फ एक सय ५८ र सेपाताक्रो तर्फ ८४ जना गरी दुई सय ४२ जना खेलाडीले भाग लिने उहाँले बताउनुभयो ।   प्रतियोगिताको कुस्ती थारु राष्ट्रिय सङ्ग्रहालय डन्डा र सेपाताक्रो कावासोतिस्थित योङ्ग स्टार क्लबको कभर्डहलमा हुनेछ । असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म खेल हुने जनाइएको छ ।