पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा एपीएफ क्लबले आर्मीलाई सडनडेथमा हराउँदै एपीएफले स्वर्णपदक जितेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि अतिरिक्त समय थप गरिएको थियो । उक्त समयमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । एपीएफको जीतमा गोरक्षक राजु नगरकोटी नायक बने । उनले २ पेनाल्टि प्रहारलाई बचाउँ गर्दै टोलीलाई स्वर्ण दिलाएका हुन् । एपीएफका लागि नविन लामा, आवास लामिछाने, सुदिल सिर्खाकार, गोलरक्षक राजु नगरकोटी, रितेश धिमाल र विश्वास उदासले गोल गरे । सनिस श्रेष्ठको प्रहार बाहिरियो । आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सिमान्त थापा, विवक बस्नेत र विकास खवासले गोल गर्दा सुमन अर्याल र सेसेहाङ आङदेम्बेको प्रहार एपीएफका राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे । आर्मीको सेसेहाङ आङदाम्बेको प्रहार राजुले बचाउ गरेपनि अघि बढेको भन्दै पुनः प्रहारको अवसर प्राप्त गरेको थियो । दोस्रो प्रहारलाई समेत उनले बचाउ गरे । आर्मीले रजतमै चित्त बुझायो । त्रिभुवन आर्मी क्लबले पहिलो हाफमा एपिएफलाई केही दबाबमा राखेपनि गोल गर्नबाट चुक्यो । खेलको नवौं मिनेटमा दिनेश हेनजनको क्रसलाई नवयुगको प्रहार पोष्टनजिकै बाट बाहिरियो । १४ औं मिनेटमा नवयुगले उत्कृष्ट ओभरहेड किक प्रहार गरेपनि दोस्रोबार नजिकैबाट बाहिरियो । ३३ औं मिनेटमा एपिएफका मनि लामाले गरेको उत्कृष्ट प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे । उनले डाइभ गर्दै बचाउ गर्दा रिवाउन्ड भएको बललाई नविन लामाले प्रहार गर्न खोज्दा असिस्टेन्ट रेफ्रीले अफसाइडको संकेत गरे । ३५ औं मिनेटमा आर्मीका सुमन अर्यालले डिएरिया क्षेत्रमा गल्ति गर्दा एपीएफका प्रदिप लामा गोल गर्नबाट चुके । उनको प्रहार बाहिरियो । ४० औं मिनेटमा मणि लामाको सेन्टरलाइन नजिकैको फ्रिकीक प्रहार सोझैँ गोलरक्षक विकेश कुथुको हातमा पुग्यो । ४९ औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा विकास तामाङको हेडर एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउ गरे । ५८ औं मिनेटमा एपीएफका मनि लामाले निकालिदिएको उत्कृष्ट पासमा आर्मीका गोलरक्षक विकेश अघि बढ्दै बचाउ गर्न खोजेपनि एपीएफका विकु तामाङले नविनलाई पास दिएपनि गोलगर्नबाट चुक्यो । नविनले नियन्त्रणमा लिदैँ प्रहार गरेको बल आर्मीका सुमन अर्यालले हेड गर्दै टोलीको संकट टारे । ६१ औं मिनेटमा हरि कार्कीको प्रहार विकेशले उत्कृष्ट बचाउ गरे । ६६ औं मिनेटमा प्रिन्स कार्कीको कर्नरमा स्वेहाङ आङ्गदेम्बेको होभरहेड किक प्रहारमा सुदिल राईको हेड बाहिरियो । ७० औं मिनेटमा नवयुगको पासमा प्रिन्सको प्रहार पहिलो बार नजिकैबाट बाहिरियो । ७२ औं मिनेट आवास लामिछानेको पासमा प्रदिप लामाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । खेलको ७८ औं मिनेटमा दुवै टोलीका खेलाडीबीच केहि विवाद भएपछि आर्मीका परिवर्तित खेलाडी पदम तामाङ र एपिएफका प्रदिप लामाले रातो कार्ड पाए । त्यसपछि दुवैटिम १०÷१० खेलाडीमा सिमित हुन पुगे । ८४ औं मिनेटमा आर्मीका प्रिन्स कार्की र सुदिल राई खाली भएको अवस्थामा एपीएफका गोलरक्षक राजु निकै अघि बढि किल्यर गर्दै गोल हुनबाट जोगाए । ८५ औं मिनेटमा सिमान्त थापाले सुदिललाई उत्कृष्ट पास दिएपनि बल नियन्त्रणमा लिन नसक्दा गोल गर्ने सुवर्ण अवसर खेर गयो । निर्धारित ९० मिनेटको समाप्तिपछि थप गरिएको ४ मिनेटमा एपिएफका सनिस श्रेष्ठले सुदिललाई लडाएपछि डिएरिया नजिकै फ्रिकिको अवसर प्राप्त ग¥यो । प्रिन्स कार्कीले उत्कृष्ट फ्रिकिक प्रहार गरेपनि गोलरक्षक नगरकोटीले बचाए । आर्मीले यसअघि गण्डकी प्रदेशलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो भने एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । पुरुष फुटबलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० को गोल अन्तरले हराउँदै कास्य जितेको छ ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खोखो प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । लुम्बिनी प्रदेशलाई १०–१४ को अंकले हराउँदै विभागीय टिमले स्वर्ण पदक हात पारेको हो । महिलातर्फ लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ । विभागीय टिम नेपाल आर्मीलाई १८–१६ ले पराजित गर्दै लुम्बिनी प्रदेशले स्वर्ण पदक पाएको हो । राउन्ड रोबिन लिग आधारमा भएको खोखो प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम र पुरुषतर्फ बागमती प्रदेशले रजत पदक हात पारेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा तेस्रो स्थानका लागि भएको स्पर्धामा महिलातर्फ प्रदेश १ लाई पराजित गर्दै काँस्य पदक जितेको हो । पुरुषतर्फ बागमती प्रदेश १ लाई नै हराउँदै बागमती प्रदेशले काँस्य पदक जितेको छ । बागमतीले २८–७ अंकले प्रदेश १ लाई पराजित गरेको हो । असोज ३० देखि सुरु भएको प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए ।
पोखरा : पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा सम्पन्न स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेशले च्याम्पियन बनेको छ । आज (बिहिबार) भएको फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिम्हलाई ११–८, ११–६ र ११– ८ सहित ३–० को सोझो सेटमा पराजित गरे भने टिम इभेन्टमै गण्डकीकै दिपक थापाले बागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११– ३ सहित ३–० सो सेटमा हराउदै आफ्नो प्रदेशलाई स्वर्ण पदक दिलाए । त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ र प्रदेश नम्बर १ लाई हराउँदै लुम्बिनी प्रदेश सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरे । त्यसैगरि महिलातर्फ बागमतीकी विपना ब्लोन च्याम्पियन बनिन् । उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हाराउँदै ब्लोनले स्वर्ण पदक जितिन् भने बागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगर सँयुक्त तेस्रो बन्दै कास्य पदक प्राप्त गरिन् । पदक विजेताहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पुरस्कार वितरण गरेका थिए । यसअघि पुरुषतर्फ व्यक्तिगत विधामा गण्डकीकै अमृत थापामगरले स्वर्ण बागमतीका अरहान्त सिम्ह रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दिपक थापा सँयुक्त तेस्रो बन्दै कास्य पदक हात पारेका थिए । सो प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको थियो ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लबले दोहोरो स्वर्ण जितेको छ । बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लबलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो । । पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लबले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाएका छन् । प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक विजेता बने । प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका मिराप थापा मगर र महिलातर्फ त्रिभूवन आर्मी क्लबकी अनुजा कुलिङ्ग राई उत्कष्ट खेलाडी घोषित जनही ५/५ हजार रुपैयाँसहित मेडल र पमाणपत्र प्राप्त गरे । आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहको स्वर्ण विजेता हो । यही असोज ३० गतेदेखि शुरु भएको प्रतियोगितामा महिला तथा पुरुषमा गरि सात प्रदेश र ३ विभागिय गरि १०/१० टिमको सहभागिता रहेको थियो ।
पोखरा : नेपाल एपीएफ क्लबले नवौं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफ क्लबले स्वर्ण पदक जितेको हो । नेपाल एपीएफ क्लबले आर्मीलाई २५–२१, २७–२५ र २६–२४ ले अङ्कले जितेको हो । यस्तै पुरुष तर्फको कास्य पदक नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार नै सम्पन्न भएको खेलमा गण्डकी प्रदेशललाई सोझो सेटमा पराजित गर्दै पुलिसले कास्य पदक जितेको हो । महिलाको तर्फको स्वर्ण एपिएफको पक्षमा महिला भलिबलको स्वर्ण पदक सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नै जितेको छ । बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइलन खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै उपाधि चुमेको हो । एपीएफले पहिलो सेट २५–१९ र दोस्रो सेट ३०–२८ अङ्कले जितेको थियो । पुलिसले तेस्रो सेटमा एपीएफलाई २६–२४ अङ्कले पराजित गरेको थियो । चौथो सेट भने एपिएफले २५–१९ अङ्कले जित्यो । एपीएफ टोलीको कप्तानी विनिता बुढाथोकीले तथा पुलिस टोलीको कप्तानी कमला पुनले गरेकी थिइन् । गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती प्रदेश प्रतियोगितामा तेस्रो भयो । बागमतीले गण्डकीलाई २०–२५, २५–१२, २५–२१ र २५–१७ अङ्कले पराजित गरेको थियो ।
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसमा विभागीय नेपाली सेना चार स्वर्ण सहित दस पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते । नेपाल प्रहरीले एक रजत र तीन कास्य पदक जित्दा एनआरएनले एक रजतमा चित्त बुझायो । यसैगरी आज सम्पन्न टेनिसको पुरुष एकलतर्फको प्रतिस्पर्धामा गण्डकीका प्रदीप खड्का र महिलातर्फ नेपाली सेनाका अभिलाषा विष्टले स्वर्ण पदक जित्नुभयो । पोखरा रङ्गशालाको टेनिस कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा पुरुष एकलमा गण्डकीका खड्काले एनआरएनएका आरभ सम्राट हाडालाई ७–६,६–३ सेटमा जित निकाल्दै स्वर्ण पदक जित्नुभयो । नेपालको पहिलो वरियताका खड्काले स्वर्ण जित्दा हाडाले कास्यमा चित्त बुझाउनुभयो । यसैगरी महिला एकलतर्फको प्रतिस्पर्धामा सेनाका अभिलाषाले सेनाकै इरा रावतलाई ६–१,६–६ सेटमा पराजित गर्दै स्वर्ण जित्नुभयो । पुरुष एकलतर्फ गण्डकीले स्वर्ण र एनआरएनले रजत पदक जित्दा सशस्त्र प्रहरीका सन्तोष खत्री र सेनाका प्रणव खनालले कास्य जित्नुभयो । महिला एकलतर्फ सेनाले स्वर्ण र रजत पदक जित्दा बागमतीका रायना शाह र प्रकृति श्रेष्ठले कास्य पदक जित्नुभयो । पुरुष युगलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र अनिल साइको जोडीले स्वर्ण पदक जित्दा सेनाका प्रणव र अकि जुवेन रावतको जोडी रजत पदक जितेको छ । गण्डकीका आशिष खड्का र सौगात विकको जोडी र बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीले कास्य जिते । महिला युगलविधामा नेपाली सेनाका अभिलाषा र आइरा महर्निषा रावतको जोडीले स्वर्ण जित्दा बागमतीका प्रकृति श्रेष्ठ र रायना शाको जोडीले रजत पदक जित्नुभएको छ । सेनाका इशाश्री शाह र सुभाङ्गी लक्ष्मी शाहको जोडी र सशस्त्रका सुनिरा थापा र सर्भानी श्रेष्ठको जोडीले कास्य जित्नुभयो । टेनिसको मिश्रित युगलको विधामा सेनाका प्रणव र अभिलाषाको जोडीले स्वर्ण पदक जित्दा नेपाल प्रहरीका आर्यन गिरी र आइसा डोल्कर गुरुङको जोडीले रजत पदक जित्नुभयो । सेनाका अनिल साई र प्रीति बरालको जोडी र सशस्त्रका गोविन्द नेपाली र इशाश्री शाहको जोडीले कास्य पदक जित्नुभयो । टेनिसको टिम इभेन्ट विधामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा च्याम्पियन टोली तथा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थ लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
पोखरा : सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण पदक प्रदेश १ ले जितेको छ । बिहीवार बिहान भएको फाइनल खेलमा प्रदेश १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो । प्रतियोगिता अन्र्तगत पहिलो सेट पुलिसले डबल्स्मा प्रदेश १ लाई ५–१, दोस्रो सिंगल्स प्रदेश १ ले नेपाल प्रहरीलाई ४–० तथा निर्णायक अर्थात अन्तिम प्रदेश १ ले डबल्समा ५–१ को सेट ले नेपाल प्रहरी पराजित भएको हो । स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा प्रदेश १ का युकेश योञ्जन, अशिष वोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् । त्यस्तैपुलिसका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लङगेली, हरीबहादुर बस्नेत र भीमबहादुर थापामगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सका ५ इभेन्टमा त्रिभुवन आर्मीकी जयरानी थारुले ५ स्वर्ण पदक जितेकी छन् । उनले टिम इभेन्टमा २ र सिंगलमा ३ स्वर्ण जितेकी हुन् । ४ सय मिटर महिला हडल्स, १ सय मिटर महिला हडल्स, महिला लङजम्पतर्फ सिंगल र ४ सय मिटर रिले दौड र १६ सय मिटर रिले दौडमा जयरानीसहितको टिम विजयी भयो । ४ सय मिटर हडल्स, १ सय मिटर हडल्स र लङजम्पमा जयरानीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।
पोखरा : पोखरा रंगशालाभित्र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उभिइरहेको कस्तुरी मृगको मस्कट । प्रतियोगिताको अन्तिम दिन प्याराग्लाइडिङको पदक वितरण गरिएको छ । । नवौँ राष्ट्रिय खेलकुदमा खेलाडी गुमाउने खेल पनि यही बन्न पुग्यो । घटना नघटेको भए रंगशाला उल्लासले भरिन्थ्यो । तर, राष्ट्रिय प्रतियोगिताले एक होनहार राष्ट्रिय खेलाडी गुमाउन पुगेको छ । उनै प्याराग्लाइडिङका होनहार खेलाडी निसिम थापालाई सम्झिँदै प्याराग्लाइडिङका इभेन्ट सकिएका छन् । नेपाल आर्मीमा अनुबन्धित खेलाडी थापाले टिम क्रसकन्ट्रीमा रजत जिते । खेलाडी गुमाउनुको पीडालाई राज्यले थप सम्मान दिने निर्णय ग¥यो । प्याराग्लाइडिङका खेलाडी थापालाई सरकारले सम्मानस्वरुप गोल्ड मेडल दियो र २५ हजार नगद पनि दियो । उनको नाममा पोखरा रंगशालामा अर्धकदको शालिक बन्नेछ । बिमाको रकम बाहेक मन्त्रिपरिषद्बाट थप सहायताको लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लैजाने मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए । निसिम थापा छैनन् । तर, खेलाडी, खेल र खेलप्रेमीले उनलाई बिर्सने छैनन् । उनै २९ वर्षीय थापा पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका दिवंगत गोल्ड मेडलिष्ट बन्न पुगेका छन् । पुरस्कार थाप्न थापा थिएनन । उनका काका भेनिस थापाले निसिमको पदक लिए । नेपाल आर्मीको समूहले ब्यानरमा उनको रंगीन तस्वीरसहित लेख्यो, “उई विल मिस यु ....।” मन्त्रीसहित राखेपका पदाधिकारीको समूह उनका परिवारलाई भेट्न गएको छ । पुरुषमा गण्डकी, महिलामा आर्मी विजयी नवौं राष्ट्रिय खेलकुदका दौरान दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ प्रतियोगिताको पदक छिनोफानो भएको छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको प्राक्टिस म्याचको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार वितरण गरिएको हो । क्रसकन्ट्री, टिम क्रसकन्ट्री र अक्युरेसी विधामा भएका खेलमा टिम र एकलतर्फ गण्डकी र विभागीय टिम नेपाली आर्मीले समान ३, ३ स्वर्ण जितेका छन् । जसअनुसार क्रमकन्ट्रीमा गण्डकीको टिमले स्वर्ण पदक जितेको छ । खेलाडी विजय गौतम, सुशिल गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कुल २७५० अंकसहित स्वर्ण पदक हात पारेको छ । विभागीय टिम आर्मीले क्रस कन्ट्रीमा रजत पदक जितेको छ । कुल २५५५.९ अंसहित आर्मीले रजत पदक जितेको हो । टिममा सुरज थापा, विजय दाहाल, निसिम थापा र विशाल जलारी सहभागी थिए । सोही टिमका निसिम थापाको दुर्घटनाकै कारण असोज ३० गते मृत्यु भएको थियो । त्यस्तै, बागमती प्रदेश क्रसकन्ट्रीमा काँस्य पदक हात पारेको छ । काँस्य जितेको बागमती प्रदेशको टिममा कृष्णबहादुर सुनुवार, मोहनकुमार सुनुवार, विशाल लामा र भवन आचार्य सहभागी थिए । उनीहरुले कुल २१४८.३ अंक प्राप्त गरेको संघले जनाएको छ । व्यक्तिगत पुरुषतर्फ आर्मीलाई स्वर्ण क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । आर्मीका सुरुज थापाले कुल १ सय अंकसहित स्वर्ण पदक हात पारेका हुन् । सोही स्पर्धामा गण्डकी प्रदेशका विजय गौतमले रजत पदक हात पारेका छन् । उनले कुल ९४८.६ अंक हात पारेका थिए । त्यस्तै, बागमतीका कृष्णबहादुर सुनुवारले कांस्य पदक जितेका छन् । उनले कुल ९२५.६ अंक प्राप्त गरेको नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए । प्याराग्लाइडिङ एक्युरेसी पुरुषतर्फ गण्डकीलाई स्वर्ण प्याराग्लाइडिङकै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण पदक हात पारेको छ । गण्डकीका प्याराग्लाइडिङ खेलाडी सुमन थापा, सागर नेपाली, रिखी पोडे र नुरन थापाको टिमले कुल २३ अंकसहित स्वर्णपदक हात पारेका हुन् । त्यस्तै, विभागीय टिम एपीएफले रजत पदक अक्युरेसी टिम पुरुषतर्फ रजत पदक हात पारेको छ । संघका अनुसार पूर्वतयारी खेलमा अञ्जन कुँवर, रवीन्द्र ढकाल, विष्णु कार्की र अमन थापाको समूहले कुल ४० अंक प्राप्त गरेका थिए । सोही स्पर्धामा प्रदेश १ ले काँस्य पदक जितेको छ । प्रदेश नं. १ का रोशन बस्नेत, युवराज सुनुवार, दिलकुमार सुनुवार र विश्वास गुरुङको समूहले सामूहिक ४९ अंक प्राप्त गर्दै कांस्य पदक जितेका हुन् । प्याराग्लाइडिङ एक्युरेसी पुरुष व्यक्तिगततर्फ गण्डकी पहिलो अक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकीले नै स्वर्ण पदक हात पारेको छ । गण्डकीका खेलाडी सुमन थापाले स्वर्ण, एपीएफका अञ्जन कुँवर रजत र नेपाल आर्मीका विष्णु तिमिल्सिना काँस्य पदक जितेका हुन् । व्यक्तिगत अक्युरेसीमा गण्डकीका थापा र विभागीय टिम नेपाल आर्मीका कुँवरले समान ३, ३ अंक ल्याएका थिए । दुवैको अंक बराबर भएपछि गोलाप्रथाबाट सुमनले स्वर्ण जितेको संघले जनाएको छ । प्याराग्लाडिङ टिम एक्युरेसी महिलामा आर्मी च्याम्पियन महिला टिम अक्युरेसीतर्फ विभागीय टिम नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । नेपाल आर्मीका मुनामाया जिटी, दुर्गामाया गुरुङ र स्वस्तिका गुरुङको समूहले ४० अंकसहित राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हात पारेका छन् । रजत पदक हात पारेको गण्डकीको महिला एक्युरेसी टिमले कुल ११३ अंक ल्याएको थियो । गण्डकीको टिममा ऋतु श्रेष्ठ, कृष्णु पौडेल र शर्मिला शर्मा सहभागी थिए । त्यस्तै, सोही स्पर्धामा रजत पदक प्रदेश नं. १ ले हात पारेको छ । प्रदेश १ का देवकी सुनुवार, अनुष्का सुनुवार, इश्का राई ले ८९० अंक प्राप्त गरेको संघले जनाएको छ । महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले एकछत्र राज महिला एक्युरेसी व्यक्तिगत महिलातर्फ आर्मीले एकछत्र राज गरेको छ । आर्मीका मुनामाया जिटी २० अंकसहित स्वर्ण पदक, दुर्गामाया गुरुङ २१ अंकसहित रजत, स्वस्तिका गुरुङ कांस्य ५४ अंक प्राप्त गरेका थिए । क्रसकन्ट्री अन्तर्गत प्रतिस्पर्धा भइरहेको बेला प्याराग्लाइडिङ टेकअफका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । उडानका क्रममा दुर्घटनापश्चात दुर्घटना भएपछि नेपाल हवाइ खेलकुद संस्थानले देशैभरिको प्याराग्लाइडिङ उडान स्थगित गरेको छ । ‘इन्टरनेस्नल प्राक्टिस नै के हुन्छ भने दुर्घटना वा मौसमका कारण गेम भएन भने प्राक्टिस वा जुन गेम भएको हुन्छ त्यहीअनुसार नै नतिजा दिनुपर्ने हुन्छ,’ महासचिव रावतले भने, ‘हाम्रो प्राक्टिस २८ गते भएकाले एक्युरेसीको त्यही नतिजा घोषणा भएको हो । क्रसकन्ट्रीमा भने एक चरणको गेम भएको थियो, त्यसैलाई आधिकारिक मान्यौं ।’ पुरस्कार वितरण नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा रंगशालामा गरिने भएको छ ।

