पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनामा पोखरामा आयोजित दुईदिने प्रदेश स्तरीय खेलकुद पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ । तालिमको समापन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बजेट अभाव हुन नदिने पुनः दोहोर्याए । लामो समयपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको प्रतियोगितालाई सफल पार्ने दायित्व सबै गण्डकी प्रदेशबासीको हुने उनको भनाई थियो । नेपाल खेलकुद पत्रकार मञ्चले प्रतियोगितालाई लक्षित गरेर पत्रकारिता तालिम आयोजना गरेकोमा उनले खुशी व्यक्त गरे । मञ्चले गर्ने विभिन्न कार्यक्रममा प्रदेश सरकारको सहयोग रहदै आएको तथा आगामी दिनमा समेत निरन्तर सहयोग रहने उनले बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल खेलकुद पत्रकार मञ्चका सचिव अञ्जन खड्का, प्रशिक्षार्थीहरु कमल पौडेल अथक, प्रतिक्षा काफ्ले र हरि खरेल, मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ तथा महासचिव राजाराम पौडेलले बोलेका थिए । गण्डकी प्रदेशका खेल क्षेत्रमा रुचि राख्ने पत्रकारको लागि आयोजना गरिएको तलिममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यरत ८० भन्दा बढी पत्रकारको सहभागीता रहेको महासचिव राजाराम पौडेलले जनाए । तालिमको दोस्रो दिनमा दुर्गानाथ सुवेदी देवेन्द्र, सुवास खड्का, कृष्ण तिमिल्सिना, मेजर लक्ष्मीप्रसाद गुरुङ, राजन सुब्बा, राजेन्द्र तामाङ, राजन नेपाली, जगत धौली, रामबहादुर क्षेत्री, आनन्द कुँवर, भीम पराजुली, चित्रबहादुर थापा, गज बहादुर गुरुङ, चिन बहादुर थापा, जगन वि.क., आकाशचन्द्र घर्ती मगर, शिव पुन लगायतका प्रशिक्षकले प्रशिक्षण दिए । यसअघि तालिमको पहिलो दिनमा कुल १३ जना प्रशिक्षकले प्रशिक्षण दिएका थिए । यसरी प्रशिक्षण प्रदान गर्नेमा योगेन्द्र शेरचन, पुनम गुरुङ, बिशाल कुँवर, सन्दिप बराल, मोहन गुरुङ, गोपाल श्रेष्ठ, रिजन प्रजु, राजन बडगामी, रामकृष्ण ज्ञवाली, राम गुरुङ, निरज थापा, प्रियंका बर्मा र योगेश भट्टराई थिए । दुवै दिनको प्रशिक्षण प्रश्चात खेल क्षेत्रमा कलम चलाउन नयाँ जोश थपेको सहभागीको प्रतिक्रिया थियो । तालिममा सिकेका कुरालाई व्यवहारमा परिणत गर्ने प्रतिवद्धता उनीहरुले गरें । राष्ट्रिख खेलकुद परिषदको आयोजना भएको तालिमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको थियो । यसैगरी कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, मादि गाउँपालिका, रुपा गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रेगाउँपालिका, केटिएम सिटी, वरपिपल रिर्सोट लगायतको सहयोग तालिममा रहेको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ । ३९ वर्षपछि गण्डकी प्रदेशमा हुन लागेको सोही प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरुको समाचार लेखनमा सहज पु¥याउने उद्धेश्यले तालिम आयोजना भएको तालिम संयोजक समेत रहेका नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए । मञ्चले आगामी दिनमा पनि पत्रकारको दक्षता अभिवृद्धि गर्नको लागि तालिम आयोजना गर्ने बरालले जनाए ।
कास्की । राष्ट्रिय युवा संघ नेपाल मादी गाउँपालिकाको २ नं. वडा कमिटीद्वारा असोज १ गतेदेखि आयोजना गरेको खुला बास्केटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । ’न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराको साथ पोखरा बाझापाटन स्थित सत्य युवा क्लबको खेलमैदानम आयोजना भएको थियो । प्रतियोगितामा पुरुषतर्फ कास्की बास्केटबल एसोसिएसन विजयी भएको छ । मंगलबार कास्की बास्केटबल एसोसिएसन र ताङतिङ ए बीच भएको भएको फाइनल खेलमा कास्की बास्केटबल एसोसिएसन विजयी भएको हो । विजयी टिमले उपाधिसंगै उसले ८० हजार नगद ट्रफि र मेडल प्राप्त गरेको छ । दोस्रो भएको ताङतिङ ए ले ५० हजार ट्रफि र मेडल प्राप्त गरेको कार्यक्रम राष्ट्रीय युवा संघ मादि –२ कमिटी कास्कीका अध्यक्ष तथा खेल संयोजक क्षेत्रबहादुर गुरुङले जानकारी दिए । महिलातर्फ भएको खेलमा भने मर्दिखोला ए पहिलो हुँदै उसले नगद १५ हजार ट्रफि र मेडल प्राप्त ग¥यो । दोस्रो भएको मर्दिखोला बि ले १० हजार ट्रफि र मेडल प्राप्त गरेको गुरुङले जनाए । त्यस्तै पुरुष तर्फ निकेश मगर र महिला तर्फ छिरिङ छोके शेर्पा सर्वोउत्कृष्ट खेलाडी बन्दै क्रमश ३ हजार र २५ सय नगद र ट्रफि प्राप्त गरे। प्रतियोगितामा पुरुष तर्फ २३ टिम र महिला तर्फ ४ टिम सहभागी भएका थिए । कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुद्वारा केहि साँस्कृतिक प्रस्तुतिहरु पनि पस्केका थिए। त्यस्तै आयोजकलाई आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। शनिबार भएको उद्घाटन एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य वेद बहादुर श्यामले गरेका थिए । गुरुङले उद्घाटन सत्रमा बोल्दै यस्ता खेलकुद प्रतियोगिताहरु आयोजना गर्नले खेलकुदको विकासमा सहायता मिल्ने कुरा बताएका थिए । समापन कार्यक्रममा भने युवा नेता दर्शन लामाले खेलको महत्वको बारेमा बोलेका थिए ।
काठमाडौं: नेपाल महिला साफमा पाँचौ पटक फाइनल पुगेको छ । बंगलादेश भने दोस्रो पटक फाइनल पुगेको हो । दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो महिला फुटबल प्रतियोगिता महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन टोली पाउने भएको छ । नेपालमा जारी छैटौं संस्करणको उपाधि विजेता टोली महिला साफको नयाँ च्याम्पियन राष्ट्र बन्ने छन् । महिला साफको १२ वर्षे इतिहासमा पहिलो पटक नयाँ च्याम्पियन राष्ट्र थपिने छ । सन् २०१० बाट सुरु भएको महिला साफको पाँच संस्करणसम्म भारत एक्लो च्याम्पियन राष्ट्र हो । यस संस्करणमा भने भारतलाई नेपालले सेमिफाइनलमै १-० ले पराजित गरेको छ । भारतलाई हराउँदै फाइनल पुगेको नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेश जसले जितेपनि नयाँ च्याम्पियन बन्नेछ । १२ वर्षे इतिहासमा पहिलो पटक भारत फाइनल पुग्न नसकेको हो । यस अघि चार पटक नेपाललाई फाइनलमा हराएर भारतले उपाधि उचालेको थियो । यस्तै एक पटक भारतले बंगलादेशलाई हराएर उपाधि जितेको थियो । पाँच पटकको च्याम्पियन भारत महिला साफको इतिहासमा दोस्रो पटक पराजित भएको छ । यस अघि समूह चरणमा भारतलाई बंगलादेशले हराएको थियो ।
पोखरा : गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद आउन ठिक एक महिना बाँकी छँदा प्रतियोगिता अन्तर्गतका ३६ खेलका खेलस्थल सार्वजनिक गरिएको छ । प्रदेशको राजधानी सहर पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने टुङ्गो लगाइएको हो । खेलस्थल र खेलतालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ । खेल स्थल सार्वजनिक गर्न निर्धारित समयभन्दा केही ढिलाइ भएकामा आज राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा एक कार्यक्रम आयोजना गरी सबै खेलका खेलस्थल र खेल तालिका सार्वजनिक गरेको हो । आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताका लागि कास्कीसहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको छ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रङ्गशालमा हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताउनुभयो । बास्केटबल पुरुष पोखरा रङ्गशाला र महिलाको खेल पृथ्वीनारायण क्याम्पस, आर्चरी, फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ । यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने निर्णय परिषद्ले गरेको छ । यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । यसैगरी पूर्वाधार अभावमा सुटिङ भने काठमाडौँमा खेलाइने भएको छ । यसैगरी परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्ष्यगरी नेशनल स्पोर्टस् काउन्सिल एप सञ्चालनमा ल्याएको छ । सो एपबाट खेलको तयारी, नतिजालगायतका सबै विवरण जानकारी दिइने परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । उहाँका अनुसार खेलस्थल र खेल तालिका बनिसकेकाले तयारीका काम अघि बढाइएको छ । परिषद्ले पहिलो पटक खेलाडीको अनलाइन दर्ता सुरु गरिएको जनाएको छ । प्रत्येक टोलीले खेलाडीको अनलाइन फाराम भर्नुपर्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भए पनि परिषद्ले सोअघि नै खेल तालिका बनाएको छ । नवौँअन्तर्गतको पुरुष क्रिकेट हाल राजधानी काठमाडौँमा जारी छ । क्रिकेट महिला असोज २३ गतेदेखि पोखरामा सुरु हुनेछ । प्रतियोगिताको मूल ट्रफी भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट सार्वजनिक गरिने र सातै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा ट्रफी प्रदर्शनी र्याली आयोजना गरिने सदस्य सचिव घिसिङले बताउनुभयो । ट्रफी र्यालीका लागि ओलम्पियन दीपक विष्टको संयोजकत्वमा पाँच सदस्यसीय कार्यदल गठन भइसकेको र प्रदेशगत प्रदर्शनी असोज १ गतेदेखि सुदूरपश्चिमबाट सुरु गरी क्रमशःअन्य प्रदेश तथा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा लगिने परिषद्ले जनाएको छ । खेलस्थल सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय गौरवसँग जोडिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतियोगिताका लागि आर्थिक अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै सरकारी तथा निजी क्षेत्र मिलेर सफल पारिने प्रतिबद्धता जनाउनुभयो ।
पोखरा : कास्की जिल्ला फेन्सिङ सङ्घका अध्यक्ष विजय शाहीले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा माछापुच्छ्रे बैंकको क्युआरकोडको फोटो राखेर एउटा स्टाटस लेख्नुभयो । जसमा राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण गरिरहेका खेलाडीलाई खेल सामग्री किन्न अहिलेसम्म सरकारी निकायबाट पैसा नपाएकाले आर्थिक सहयोगका लागि याचना गरिएको थियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि फेन्सिङको खेलाडी छनोट गरेर प्रशिक्षण अहिले प्रशिक्षण सञ्चालन भइरहेको छ । शाहीले लेख्नुभएको छ, “नवौँ राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकी छैन, प्रदेश खेलकुद परिषद् र मन्त्रालयबाट खेल सामग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीलाई उतारौँला भनेर बस्ने हो भने हात लागे शून्य होलाजस्तो लागेर सामाजिक सञ्जालबाटै हात फैलाउन बाध्य भएँ ।” शाहीले सामाजिक सञ्जालमा यस्तो भनाइ राख्नु भएपछि त्यसमा तीव्र प्रतिक्रिया आइरहेको छ । धेरै खेलप्रेमीले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रको गौरवसँग जोडिएको प्रतियोगितामा खेलाडीलाई आवश्यक सामग्री उपलब्ध हुनुपर्ने आवाज छ । शाहीको जस्तै पीडा अन्य धेरै खेल सङ्घ र यसका पदाधिकारीको छ । प्रदेशस्तरीय छनोटबाट खेलाडी छनोट गरेर बसेका खेल सङ्घले खेलाडीलाई आधारभूत सुविधासमेत उपलब्ध गराउन सकेका छैनन् । गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिता आउन एक महिनाभन्दा कम समय बाँकी रहँदासमेत खेलाडीका लागि आधारभूत सुविधा र खेल सामग्री प्राप्त नभएपछि सामाजिक सञ्जालबाटै पीडा व्यक्त गरेको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतियोगितामा भाग नलिउँ खेलाडीको वर्षौंको मिहिनेत खेर जाने, लिउँ न खेल सामग्री छ, न खेल पोसाक ।” प्रदेशका खेलाडीको हितको लागि जिल्ला अध्यक्षको नाताले आफूले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर सामाजिक सञ्जालबाट सहयोगको अपिल गरेको उहाँले बताउनुभयो । “खेलप्रेमी व्यक्ति वा संस्था जो कसैले कास्की जिल्ला फेन्सिङ सङ्घको खातामा सहयोग गर्न सक्नुहुनेछ । हिसाब पारदर्शी हुने वाचा गर्दछु, गण्डकी प्रदेशकै इज्जतको सवाल छ त्यसैले सबैमा विनम्र अनुरोध गरेँ ।” शाहीले भन्नुभयो । फेन्सिङको खेल सामग्री नेपालमा पाइँदैन । भारत वा चीनबाट ल्याउनुपर्ने हुन्छ तर अहिलेसम्म बजेटको उपलब्ध नभएको शाहीले गुनासो गर्नुभयो । सामाजिक सञ्जालमा अपिल गरेपछि सहयोग प्राप्त हुन थालेको छ । केही दिनमै शाही आफैँ खेल सामग्री नेपालरभारत सीमा रक्सौलसम्म जाने योजनामा हुनुहुन्छ । भारतीय कम्पनीसँग कुराकानी भइरहेको उहाँले जानकारी दिनुभयो । नवौैँमा खेल सामग्रीका लागि फेन्सिङ सङ्घले रु सात लाख बजेट माग गरेको छ । फेन्सिङका खेल सामग्री तरबार(सोड), इलेक्ट्रिक डिभाइस जडित ज्याकेट, पञ्जा, हेलमेट, चेस प्रोटेक्टरलगायतका सबै खेल सामग्री बाहिरबाट ल्याउनुपर्ने हुन्छ । एक जना खेलाडीका लागि रु ३० हजार बराबरको खेल सामग्री आवश्यक पर्दछ तर परिषद्बाट एकमुष्ट सबैलाई गरी रु ६० हजार मात्र उपलब्ध हुने जवाफ पाएपछि निरास बन्नुपरेको र सहयोगका हात फैलाउनुको विकल्प नभएको अध्यक्ष शाहीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अभ्यासका लागि हलबाहेक अहिले हामीले सुविधाका नाममा केही पनि पाएका छैनौँ । खेलाडी खेल्दै गर्दा घाइते हुँदासमेत रङ्गशालाभित्र प्राथमिक उपचार नपाउने अवस्था छ, खेलाडीको सुविधा के हो अहिलेसम्म यकिन छैन भने आधारभूत सामग्री पनि पाइएन ।” प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले केही खेलका खेल सामग्री स्वदेशमा नपाइने र बाहिरबाट खरिद गर्नुपर्ने भएकाले यसमा सम्बन्धित खेल सङ्घको पनि अग्रसरता आवश्यक हुने बताउनुहुन्छ । राष्ट्रिय खेलकुदजस्ता महत्वपूर्ण प्रतियोगिता आउँदै छ भनेपछि सङ्घले पनि यसमा विशेष चासो र जागरुकता देखाउनुपर्ने उहाँको भनाइ छ । फेन्सिङका खेल सामग्री नपाएको बारेमा आफूहरूलाई जानकारी भए पनि स्वदेशमा नपाउने भएपछि तत्कालै उपलब्ध गराउन सम्भव नभएको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय खेलको प्रकृति अलि जटिल हुन्छ, खेल सामग्री किन्न चाहे पनि नपाउने अवस्था छ । फेन्सिङमा पनि प्रदेशले लगानी गर्न नचाहेको होइन, दुईरतीन लाख बजेट दिन तयार छौँ तर तत्कालै खेल सामग्री पाउन सम्भव छैन, खरिद प्रक्रिया ऐनअनुसार जानुपर्दा ढिलाइ भएको हो ।” परिषद्ले सुरुआतमा जिल्ला छनोट, खेल सामग्री र छनोट प्रतियोगिताका लागि भनेर खेल सङ्घलाई रु एक करोड २० लाख बराबर बजेट उपलब्ध गराइएको सदस्य सचिवले बताउनुभयो ।
पोखरा : यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीलाई प्रदान गरिने भएको छ । मोफसलकै प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बर्षेनी प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो । पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ । काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका उनी करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका छन् । जनसम्मत डटकमका सम्पादक उनी एभरेष्ट मिडिया हाउसमा समेत कार्यरत् छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी कार्यसमिति सदस्य पत्रकार शाहीको स्थायी घर तनहुँको भानु नगरपालिका वडा-५ हो । अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । सदस्यमा रामप्रसाद तिमिल्सिना, खेमबहादुर गुरुङ, दीपेन्द्र श्रेष्ठ, तोरणबहादुर बानियाँ, दीननाथ बराल, केशवबहादुर थापा, पदेन सदस्यमा क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) र महासचिव रामजीप्रसाद अधिकारी थिए । सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १६ जना सम्मानित भइसकेका छन् । सम्मानित हुनेमा कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरि, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबि आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेल र दीपक परियार हुन् । कास्की जिल्लालाई कार्यक्षेत्र बनाई खेलकुद बिटलाई प्राथमिकता दिई कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुपर्ने लगायत पुरस्कारको मापदण्ड कायम गरिएको छ । यसैबीच, क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७८ बाट सिद्धार्थ थापालाई पुरस्कृत गर्ने क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबको वार्षिकोत्सव अवसरमा यही भदौ ३० गते पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमा पुरस्कार वितरण गरिनेछ ।
पोखरा: पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न छैटौं संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाइनल खेलमा मामा भान्जा क्लब काठमाडौंलाई २५–२०, २५–२२, २५–१९ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । त्यसैगरि महिलातर्फ अर्चलबोट भलिबल क्लबलाई फाइनल खेलमा २५–१२, २०–२५, २५–१५ र २५–२० को अंकसहित ३–१ सेटमा पराजित गर्दै एसियन सुज टिमले उपाधि जित्यो । पुरुषतर्फ उपाधि जितेको एपिएफले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख प्राप्त गर्याे । यसैगरि उपविजेता बनेको मामा भान्जा क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्रदान गरेको क्लबा सचिव नवीन छन्त्यालले जानकारी दिए । उनका अनुसार महिलातर्फको विजेता एसियन सुजले नगद ४० हजार शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्याे । भने द्धित्तिय भएको अर्चलबोट भलिबल क्लबले २५ हजार शिल्ड मेडल प्रमाणपत्र हात पार्याे । पुरुषतर्फ विजय र महिलातर्फ सरु सर्वाेत्कृष्ट गत २२ गतेदेखि पोखरा ३ नदीपुरस्थित छन्त्याल समाजको खेलमैदानमा भएको उक्त प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार उक्त प्र्रतियोगिताबाट पुरुषतर्फ एपिएफका विजय थापा सर्वाेत्कृष्ट खेलाडीका रुपमा घोषित भए । यसैगरि उत्कृष्ट स्पाइकरका रुपमा मामा भान्जा क्लबका सञ्जु विक्रम शाह, उत्कृष्ट डिफेण्डरका रुपमा सोही टिमकै इश्वर गुरुङ र उत्कृष्ट सर्भरका रुपमा सोही टोलीकै राजेश कुँवर घोषित भए । उत्कृष्ट सेटरका रुपमा एफिएफका मिलन राना, उत्कृष्ट ब्लकरमा सोही टिमकै सुनिल सुनार र उदीयमान खेलाडीका रुपमा एपिएफकै उमेश सेन्चुरी पुरस्कृत भए । त्यसैगरि महिलातर्फ सर्वाेत्कृष्ट खेलाडीका रुपमा एसियन सुज लामाचौरकी सरु नेपाली घोषित भइन् । उत्कृष्ट सेटरकी रुपमा सोही टिमकै निरु पुन, उत्कृष्ट डिफेण्डरकी रुपमा सोही क्लबकै लक्ष्मी राना र उदीयमान खेलाडीका रुपमा सस्मीता पुन घोषित भइन् । यसैगरी अर्चलबोटकी मनिषा तिलिजा उत्कृष्ट स्पाइकर र सोही टिमकै डिमा पुन उत्कृष्ट सर्भरकी रुपमा घोषित भइन् । विधागत तर्फ उपाधि जितेका पुरुष तथा महिला खेलाडीहरुलाई आकर्षक ट्रफीद्वारा पुरस्कृत गरिएको क्लबका अध्यक्ष कुल प्रसाद (कुशल) छन्त्यालले बताए । उनका अनुसार विजेता तथा उपविजेता टोलीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक तथा राष्ट्रिय रेफ्री राम पुन, लामा अमृत फाउण्डेशन घान्दु्रकका संस्थापक तथा युवा व्यवसायी अमृत लामा गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका सदस्य पदम श्रेष्ठ तथा सहयोगीदाताहरुले पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगिताबाट संकलित रकममध्ये केही रकम ब्लड क्यान्सरबाट ग्रसित बिरामीलाई सहयोग गर्ने बताइएको छ । यसअघि सम्पन्न गरको पाँचौ संस्करणको प्रतियोगिताबाट संकलित रकममध्ये २ लाख रुपैया मृगौला पीडित सुरज गुरुङलाई सहयोग गरिएको थियो ।
पोखरा : पोखराको नदीपुरमा जारी क्लबस्तरीय पुुरुष भलिबलको प्रतियोगिताको फाइनलमा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटन र मामा भान्जा क्लबबीच हुने भएको छ । मामा भान्जाले गलकोटलाई २६–२४, २५–२३ र २५–२०को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । आइतबार बिहान सम्पन्न मामा भान्जा क्लब र बागलुङको गलकोट क्लबबीच भएको खेलमा गलकोटलाई सोझो सेटमा पराजित गर्दै मामा भान्जाले फाइलनमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । पुरुष तर्फको पहिलो सेमिफाइनलमा खेलमा सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनले जिएम समाज कावासोतीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै क्लबस्तरीय महिला भलिबलको फाइनल खेलमा अहिले अर्चलबोट क्लब र एसियन सुज फाइनल भइरहेको क्लबका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए । महिलाको भलिबलको फाइनल खेल पछि पुरुष तर्फको फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा: सशत्र प्रहरी बल (४ नम्बर बाहिनी) मालेपाटनको टोली पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा पोखरा महानगरपालिका ३ नदीपुरमा जारी क्लबस्तरीय पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । छन्त्याल समाजको खेल मैदानमा आज (शनिबार) भएको सेमिफाइन खेलमा जिएम समाज कावासोतीलाई २५–२३, १९–२५, २५–२३, २३–२५ र १७–१५ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । अब एपिएफले उपाधिका लागि मामा भान्जा क्लब र गलकोट क्लबबीचको विजेता टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने क्लबका सचिव नवीन छन्त्यालले बताए । उनका अनुसार बाँकी रहेको मामा भान्जा क्लब र गलकोट क्लबबीचको सेमिफाइनल खेल आइतबार बिहान ८ बजे सञ्चालन हुनेछ । यसैगरि महिलातर्फ अर्चलबोट क्लब र एसियन सुज फाइनल प्रवेश गरेको क्लबका अध्यक्ष कुल प्रसाद छन्त्याल (कुशल) ले जानकारी दिए । उनका अनुसार अर्चलबोटले लामाचौर समाजलाई १८–२५, २५–१८, २५–१७ र २५–२१ को सोटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । त्यसैगरि एसियन सुजले हैदागा तनहुँलाई २५–१६, २५–१० र २५–१९ को सोझो सेटमा हराउँदै फाइनलमा अर्चलबोटसँगको भेट पक्का गर्याे । आइतबार बिहान ११ बजे महिला तर्फको फाइनल खेल सञ्चालन गरिने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए । उनका अनुसार पुरुष तर्फको फाइनल खेल दिउँसो १ बजे हुनेछ । प्रतियोगिताको विजेता टिमलाई १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यसैगरि महिलातर्फ प्रथम र द्धितिय हुुने समुहले क्रमशः ४० हजार, २५ हजार र शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, उदीयमान खेलाडी, डिफेन्डर, सेटर र सर्भर घोषित हुने खेलाडीलाईसमेत नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।