पोखरा: ‘छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८’ यहीं असार १८ गते पोखरा सभागृह हलमा हुने निश्चित भएपछि अवार्डको रौनक बढ्न थालेको छ । खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई अवार्ड प्रदान गरेर खेल क्षेत्रमा थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना हुने कार्यक्रमप्रति खेलप्रेमीको साथ रहने गरेको छ । अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधाको उत्कृष्ट तीन मनोनयनमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् । शाहिल लिम्बु: लाहुरे बन्ने हुटहुटीले बक्सर पोखरा १२ सितलादेवी स्कुलमा कक्षा १० पढ्ने शाहिल लिम्बुको सानैदेखि लाहुरे बन्ने हुटहुटी थियो । तर उनको शरिरको बनावट देखेर आकर्षित भएका घर छेउका अंकलहरुले लोक गुरुङको भूपू बक्सिङ सेन्टरमा लगेर भर्ना गरिदिए । विस्तारै उनी बक्सिङ प्रति आकर्षित हुन थाले । लोक गुरुङकै प्रशिक्षणमा उनी पोख्त हुँदै गए । उमेरले १५ लागेका उनी पढाईसँगै बक्सिङलाई अघि बढाइरहेका छन् । प्रशिक्षण सुरु गरेका उनले एक वर्षपछि नै प्रतियोगितामा खेल्ने अवसर जुर्यो । २०७७ मा पोखरा रंगशालामा भएको हिरोज कप इन्डोर नेपाल इन्भिटेशनल बक्सिङ टुर्नामेन्टमा उनले सहभागिता जनाए । त्यसमा उनी भारत कै खेलाडीसँग पराजित भए । त्यो हारले उनलाई आगामी खेलमा दरो भएर उत्रने प्रेरणा जगायो । उनी झनै प्रशिक्षण व्यस्त हुने थाले । २०७८ सालमा काठमाडौंमा स्कुल नेशनल बक्सिङ प्रतियोगिता भयो । त्यहाँ पनि उनको सहभागिता रह्यो । उनी त्यहाँ सहभागितामा मात्रै भएनन् नेपालभरबाट जम्मा भएका बक्सरहरुसँग खेल्दा उनी सफल भए । उनले गोल्ड मेडल नै हात पारे । अहिलेसम्मको बक्सिङ करियरमा उनको यो नै सबैभन्दा ठूलो सफलता हो । त्यसलगत्तै पोखरामा फेरी हिरोज कप इन्डोर नेपाल इन्भिटेशनल बक्सिङ टुर्नामेन्ट आयोजना भयो । पहिलो वर्ष व्यहोरेको हारको बदला लिनु थियो, उनलाई । उनी त्यसका लागि तयारी गर्न थाले । भर्खर मात्र गोल्ड मेडल जितेको खुसी र उत्साह त थियो तर भारतबाट खेलाडी आउने भएपछि तयारीलाई अझ निखारे र होमिए प्रतियोगितामा । उनले त्यसमा गोल्ड मेडल जितेर पहिलेको हारको बदला लिए । अहिले उनी नवौं खेलकुदको तयारीमा छन् । नवौंमा सहभागी भएर कास्की जिल्लासँगै गण्डकी प्रदेशकै नतिजामा सुधार ल्याउने उनको ध्याउन्न छ । उनको खेल जीवनमा बाबा रुकमान र आमा मञ्जु लिम्बुको राम्रो साथ छ । अहिलेलाई पढाईसँगै बक्सिङमा ध्यान दिने र पछि लाहुेर देखाउने पनि उनको धोको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । श्रृष्टि जैसी: अलराउण्डर क्रिकेटमा अलराउण्डर प्रदर्शन क्षमता कमै खेलाडीमा हुन्छ । व्याटिङ, बलिङ र फिल्डिङमा जम्ने कमै खेलाडी मध्ये एक हुन्, महिला क्रिकेट खेलाडी श्रृष्टि जैसी । उमेरले १९ लागेकी श्रृष्टि यू–१९ नेपाली महिला क्रिकेटमा नाम चलेकी खेलाडी हुन् । कक्षा ७ मा पढ्दा होस्टेलमा बस्ने दाइहरुले खेलेको देखेर क्रिकेटमा होमिएकी उनलाई सोही समयमा प्रतिभा देखाउने राम्रो मौका आयो । राष्ट्रिय खेलाडी करण केसीले पोखरा नदीपुरमा सञ्चालन गरेको राइजिङ क्रिकेट एकेडेमीमा प्रतियोगिता चलिरहेको समयमा टिम नपुगेपछि उनलाई होस्टेलबाट लगेर खेलाइएको थियो । उक्त प्रतियोगितामा उनले सबैको मन जितिन् । त्यसपछि उनलाई एकेडेमीकै सदस्यहरुले नियमित क्रिकेट अभ्यास गर्न सुझाए । त्यसका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा रहेका बाबा मितप्रसाद जैसी र आमा माया जैसीलाई उनीहरुले नै सम्झाइदिए । त्यसपछि उनको क्रिकेटको करियर सुरु भयो । नियमित प्रशिक्षणमा जान थालिन् उनको खेल निखारिदै गयो । ट्रेनिङकै दौरानमा उनको टिम धनगढी र महेन्द्रनगरमा पिएम कप खेल्न गइन् । त्यस लगत्तै उनी आठौं राष्ट्रिय प्रतियोगिता खेल्न दाङमा पुगिन् । ती प्रतियोगिताहरुमा उनी सहभागी मात्र भइन् । त्यो समयसम्म उनको खेलमा निखारता आईसकेको थियो । उनी ९ कक्षामा पढ्ने बेलामा देशकै प्रतिनिधित्व गर्दै यू–१९ खेल्न चिन गईन् । चिनमा उनको टिम तेस्रो स्थानमा पुग्यो । उनले आफ्नो जीवनमा अहिलेसम्म कै राम्रो एचिभ्मेण्ट त्यही प्रतियोगितालाई ठान्छिन् । त्यो समयमा उनले एकेडेमी पनि परिवर्तन गरिसकेकी थिईन् । करण केसीको एकेडेमी बन्द भएपनि उनी रिजन प्रजुको एकेडेमीमा जोडिएकी थिईन् । १० मा पढ्ने समयमा उनी टियू ग्राउण्मा भएको वमन च्याम्पियन लिग खेल्न पुगिन् । त्यस लगत्तै उनी मलेसियामा यू–१९ खेल्न पुगिन् । टिमले भनेजस्तो गर्न नसकेपनि उनले यू–१९ प्रतियोगितामा वमन अफ दी म्याच हुन सफल भएकी थिईन् । नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गरिरहेकी श्रृष्टिको लक्ष्य भनेको अब क्रिकेटमा सिनियर महिला टिमका लागि छनोट हुने रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् । दर्शिल श्रेष्ठ: बाबुको पछि लाग्दा खेलाडी बनेका उमेरले १३ मा टेकेका दर्शिल श्रेष्ठ सानैदेखि बाबुको पछि लागेर टेनिस कोर्टसम्म पुग्थे । बाबु नबिन श्रेष्ठ र आमा प्रिया श्रेष्ठको साथबाटै टेनिसमा होमिएका उनी पछिल्लो समय प्रतियोगिता खेल्दै नेपालका धेरै स्थानहरुमा पुगिरहेका हुन्छन् । ५/६ वर्षदेखि टेनिसको ¥याकेट समाउन सुर गरेका दर्शिलले ९ वर्षको हुँदा प्रतियोगिता खेलेको हुन् । पोखरामा भएको लिटिल एन्जल कपमा सहभागीता जनाएका उनले उपाधि जित्न त सकेनन् तर अनुभव भने राम्रै बटुले । सन् २०२१ मा फेब्रुअरी १४ देखि १८ सम्म ललितपुरमा धएको टिम टेनिस नेपाल इनरेगुलर जुनियर प्रिमियर टेनिस टुर्नामेण्टमा उनी च्याम्पियन बनेका थिए । त्यसपछि सन् २०२१ अप्रिलमा भएको जेटिआई ग्राण्ड जुनियर ओपन टेनिसमा विजेता बनेका थिए । २०७८ साल अर्थात २०२१ भने उनका लागि निकै फलदायी बन्यो । सबैभन्दा बढि उपाधी र उपलब्धी उनले २०७८ मा पाएका छन् । सोही वर्ष उनी टेनिसमा यू–१२ मा नेपाल नम्बर एक खेलाडी बने । यो नै उनको अहिलेसम्मको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धी हो । उनी आइटिएफ एसियन यू १२ मा तेस्रो बने । यस्तै मिडकोर्ट एसियन फेडेरेसन च्याम्पियनसिपमा छैटौं स्थानमा रहे । यस्तै एसियन टेनिस फेडेरेसनको २ सय ५१ र्याकिङमा परे । भुपु खेलाडी मञ्चले राईजिङ प्लेयरका रुपमा सम्मान गर्यो । विभिन्न प्रतियोगितामा आफूलाई अब्बल बनाउँदै एसियन टेनिस फेडेरेसनको २ सय ५१ ¥याकिङबाट ६५ औं स्थानमा पुगे । यस्तै बिर गणेशमान सिंह नेशनल टुर्नामेन्ट पुरुष तर्फ सिंगलमा विजयी र डबलमा उपविजेता बने । एसियन यू–१४ टेनिसमा सिंगलतर्फ तृतिय र डबलमा द्वितिय बने । आगामी दिनमा टेनिससँगै बढाईलाई अगाढि बढाउने सोंचमा छन्, उनी । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्चले वर्ष उत्कृष्ट उदियमान खेलाडी सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव राजाराम पौडेलले बताए । पोखरा सभागृह हलमा आयोजना हुने पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरीता गुरुङ, जापानबाट मोहन घले, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन् । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको अध्यक्ष दीननाथ बरालले बताए ।
गोरखा : आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिनामा हुने भएको छ । सरोकारवालाहरुको सोमबार बसेको बैठकले असार १९, २० र २१ गते जिल्ला सदरमुकाममा प्रतियोगिता गर्ने निर्णय गरेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सान्तसिंह बस्नेतले जानकारी दिए । कोरोनाका कारण २ वर्ष यता हुन नसकेको प्रतियोगिता यस वर्ष भने वर्खामै भएपनि गर्ने निर्णय गरिएको उनले बताए । ‘कोरोनाले गर्दा यस अघि जिल्लामा खेल गतिविधि ठप्प भएका थिए,’ उनले भने,‘अहिले वर्खामै भएपनि प्रतियोगिता गर्नु पर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’ वर्खाले प्रतियोगिता गर्न केही कठिनाइँ भएपनि यसले जिल्लाको खेलकुद बिकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ । प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहमा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले भाग लिनेछन् । ‘वर्षाले समस्या गर्छ भनेर प्रतियोगिता छोट्याएर ३ दिनको बनाएका छौं,’ उनले भने,‘हजार मिटर र १५ सय मिटर दौड सडकमा गराउँछौं । अन्य दौड भने ट्याक बनाएर रङगशालामा गरिनेछ ।’ सहभागिताका लागि सबै स्थानीय तहहरुलाई टेलिफोन मार्फत जानकारी गराइसकिएको छ । प्रतियोगितामा कवड्डी, भलिबल, एथ्लेटिक्सका विभिन्न बिद्याहरु, मार्सल आट्र्स तर्फ कराते ताइकान्दु र टेबल टेनिस लगायतका विद्यामा प्रतियोगिता गराइने आयोजकले जनाएको छ । ‘अब स्थानीय तहहरुले १७ गते अघि पालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड सम्पन्न गरी १८ गते साँझ सम्म बिजेता खेलाडी पठाइसक्नु पर्नेछ,’ अध्यक्ष बस्नेतले भने,‘जिल्लाका बिजेताहरु २२ गते प्रदेश स्तरीय प्रतियोगितामा भाग लिनलाई पोखरा पुग्नेछन् ।’ प्रदेश स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता असार २३ र २४ गते पोखरामा हुने बताइएको छ । त्यहाँ बिजेताहरुलाई राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा भाग लिन जानेछन् । सातौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सिरानचोक गाउँपालिकाले जितेको थियो । प्रतियोगिताका लागि बजेट प्राप्त नभएपनि कार्यक्रम सकिएपछि माग गरिने उनले बताए । सदरमुकाममा आयोजना भएकाले उक्त प्रतियोगितामा गोरखा नगरपालिकाले र विभिन्न प्रायोजकहरुको पनि सहयोग उपलब्ध हुने आयोजकको अपेक्षा छ ।
पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । यहीं असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिने भएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन् । भट्टराई १९८९, १९९० र १९९१ मा लगातारा बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडल जिते । सोहि वर्ष सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए । राष्ट्रिय अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिएपनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले । १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टीम मेनेजर थिए । फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने । भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, जोय फाउन्डेशनका संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको ८ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्र बहादुर गुरुङ र आनन्द रञ्जितलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को तयारी अन्तिम चरणमा पुगिसकेको जनाएका छन् । पोखरा स्पोर्टस् अर्वाड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिनेछ । पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन् । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
कास्की : हेम्जा युनाइटेडको आयोजनामा समपन्न छैटौं नेपाल आइस अन्र्तराष्ट्रिय हेमजा गोल्डकपमा पाहुना टोली क्यामरुनको एभिनियर क्लब च्याम्पियन बनेको छ । पोखरा २५ स्थित गौरीशंकर खेलमैदानमा आइतबार भएको फाइनल खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै एभिनियर च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै उक्त क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६ लाख रुपैयाँ प्राप्त गर्याे । एभिनियरको जीतमा आनिसेले खेलको छैटौं मिनेटमा साङले ९८ औं मिनेटमा र अतिरिक्त समयको १०६ औं मिनेटमा विल्लेले समान १/१ गोलको योगदान दिए । भने हेमजाको तर्फबाट ३५ औं मिनेटमा शुशिल राईले सान्त्वना गोल फर्काएका थिए । उपविजेता बनेको हेमजाले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३ लाख रुपैयाँ प्राप्त ग¥यो । उक्त प्रतियोगिताबाट हेम्जा युनाइटेडका गोलरक्षक दिप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद ५० हजार रुपैयाँको साथमा ट्रफिबाट पुरस्कृत भए । यसैगरि हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए भने सुशिल राई उत्कृष्ट फरवार्डका रुपमा पुरस्कृत भए । एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक, सोही क्लबकै नेल्सन उत्कृष्ट मिडफिल्डर र आसिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित हुदैं पुरस्कृत भए । भने प्रतियोगिताको उदीयमान खेलाडीका रुपमा हेम्जाका मनिश थापा घोषित भए । उनीहरु सबैले जनही २०/२० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै २५ हजार प्राप्त ग¥यो । घोषित हुँदा सर्वाधिक गोलकर्ता भने एभिनियरका विल्ले र हेम्जाका कमल थापा मगर रहे उनीहरुले समान ३÷३ गोल गरे । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको पुरस्कार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । गत असार ४ गतेदेखि संचालनमा रहेको प्रतियोगितामा विभागीय क्लब एपिएफ, चर्च व्याइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड गरि कुल ८ टिमले प्रतिस्पर्धा गरेको थियो ।
पोखरा : कास्की जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगितामा एकलतर्फ क्षितिज खनाल र दिलाशा राना च्याम्पियन बनेकी छिन् । पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुषतर्फको एकल विधामा विधान अधिकारीलाई हराउँदै खनाल च्याम्पियन बनेका हुन् । १–१ सेट जितेको अवस्थामा अन्तिम अर्थात तेस्रो सेट चलिरहँदा विधानले बिचमै खेल छाडेपछि खनाल च्याम्पियन बने । विधानले पहिलो सेट २१–१९ र खनालले दोस्रो सेट २१–१५ ले आफनो पक्षमा पारेका थिए । उनले २० हजार रुपैयाँ प्राप्त गरे भने विधानले १० हजार रुपैयाँ प्राप्त गरे । कास्कीका विशाल खड्का र लमजुङका सुजन थापाले तेस्रो हुँदै १०/१० हजार रुपैयाँ प्राप्त गरे । यसैगरि महिलातर्फ दिलाशाले कास्कीकै अनु रानालाई सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । उनले २१–१५,२१–११ को सेटमा रानालाई हराउँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् । अनुले १० हजार रुपैयाँ प्राप्त गरिन् । आकृति केसी र आयुस्मा नेपालले तेस्रो हुँदै १० हजार प्राप्त गरिन् । महिला डबल्सतर्फको प्रतिस्पर्धामा कास्कीका यामकुमारी गुरुङ र दिलाशा रानाको जोडीले कास्कीकी माया पुन र तनहुँकी रुबी श्रेष्ठको जोडीलाई निर्णायक सेटमा पराजित गर्दै उपाधि उचाले । उनीहरुले २१–१५, २४–२६ र २१–१५को सेटमा हराउँदै उपाधि जिते । मेनुका गुरुङ र आयुष्मा नेपाल तथा कास्कीकै आकृति केसी र अनु रानाको जोडी तेस्रो स्थानमा रहे । पुरुष तर्फको डबल्सको उपाधि कास्कीका विधान अधिकारी र पर्वतका विधान गुरुङको जोडीले उचाल्यो । उक्त जोडीले लमजुङका सुजन थापा र स्याङजाका दीपक रानाको जोडीलाई २१–१४, १८–२१ र २१–१८ को सेटमा हराए । कास्कीका विशाल बस्नेत र बिशाल गुरुङको जोडी तथा विशाल खड्का र कृष्ण बस्नेतको जोडी तेस्रो भए । पुरुष डबल्सतर्फको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश नगद ४०, २५ र २० हजार रुपैयाँ प्राप्त गरे । महिला डबल्स तर्फको विजेताले नगद ३० हजार,२० हजार र १० हजार रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका संयोजक अमृत पोखरेलले जानकारी दिए । प्रतियोगितामा विजेताहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठ लगायतले नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले शनिबार चार विधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो । खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । पछिल्लो एक वर्षका अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो । सार्वजनिक गरिएको मनोनयनअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल हुनुभएको छ । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमाल उत्कृष्ट तीनमा पर्नुभएको छ । उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू उत्कृष्ट तीनमा छानिनुभयो । उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका नीरज थापा उत्कृष्ट तीनमा पर्न सफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयो । पोखरा स्पोर्टस् अवार्डमा प्रतिभा छनोट गर्न मञ्चले प्रतिभा छनोट उपसमिति गठन गरेको थियो । मञ्चका पूर्वअध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा सन्देश श्रेष्ठ र सदस्यमा विजय नेपाल रहनुभएको थियो । समितिले छनोट गरेकामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको हो । कूल सात विधामा अवार्ड वितरण गरिनेमा लाइफ टाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट खेलसङ्घ र उत्कृष्ट पत्रकारिता विधाको अवार्डको घोषणा पछि सार्वजनिक गर्ने महासचिव पौडेलले बताउनुभयो । पोखरा स्पोर्टस् अर्वाडअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद सङ्घ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु ३५ हजारको साथमा ट्रफी प्रदान गरिने मञ्चले जनाएको छ । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमितिमार्फत कामलाई तीव्रता दिइएको मञ्चले जनाएको छ । मञ्चले विसं २०७२ देखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
काठमाण्डौँ : वर्षा बाधक बनेपछि नेपाल ‘एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप’बाट बाहिरिएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीच भइरहेको पहिलो सेमिफाइनल खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगिताको नियमअनुसार युएइ भने समूह ए को विजेताका रुपमा फाइनलमा पुग्दै एशिया कपमा समेत छनोट भएको छ । यसअघि युएइ समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । टस जितेर पहिले बलिङ गर्न निर्णय गरेको नेपालले युएइलाई ८१ रनमा अलआउट गरेको थियो । जीतका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपाल वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन पुग्यो । खेलमा युएइले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटिएको थियो । युएइका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् भने इशा रोहितले १५ तथा कप्तान छाया मुघलले १४ रन जोडिन् । त्यस्तै खुसी शर्मा १२ रनमा आउट भइन् । उत्कृष्ट बलिङ गरेको नेपालका लागि अश्मिना कर्माचार्य एक्लैले ५ विकेट लिइन् भने इन्दु बर्माले ३ तथा सीता रानाले २ विकेट हात पारिन् । समूह ‘बी’ मा रहेको नेपालले समूह चरणको खेलमा भूटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङ्कङसँग पराजित भएको थियो ।
कञ्चनपुर : जिल्ला भलिबल सङ्घ कञ्चनपुरको अध्यक्षमा श्यामसिंह मौनीलाई सर्वसम्मत चयन गरिएको छ । सङ्घको बुधबार सम्पन्न साधारणसभाबाट मौनीको अध्यक्षतामा नयाँ कार्यसमितिको टुङ्गो लगाइएको हो । समितिको उपाध्यक्षमा उद्धवबहादुर चन्द, महासचिवमा उत्तमसिंह विष्ट, कोषाध्यक्षमा भरतबहादुर ऐर तथा सदस्यहरुमा नवराज भट्ट, गङ्गादत्त अवस्थी, मानसिंह रावत, तेजबहादुर चन्द, प्रकाशदत्त जोशी र रमेश केसीलाई चयन गरिएको छ । साधारणसभामा सङ्घका केन्द्रीय उपाध्यक्ष हरकसिंह धामी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, पूर्व जिल्ला अध्यक्ष मोहन थापालगायतले भलिबल खेलको वृद्धिविकासबारे सल्लाह सुझाव दिएका थिए ।
पोखरा: पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई पराजित गर्दैं आयोजक हेम्जा युनाइटेडउपाधि नजिक पुगेकाे छ । पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदानमा आज (बुधबार) भएको सेमिफाइनल खेलमा खुमलटारलाई २–० गोलको अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो । हेम्जाको जीतमा गोल कमल थापा मगरले २ गोलको योगदान दिदैं म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनले खेलको ५३ औं मिनेटमा आफ्नो टिमका लागि थापामगरले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसैगरि उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । जुन गोल निर्णायक बन्दै आयोजकलाई उपाधि नजिक पुर्यायो । हेमजाका प्रशिक्षक शौरभजंग कार्कीले आफुहरु योजना अनुरुप खेल्दा जित हासिल गर्न सफल भएको प्रतिक्रिया दिए । उनले खुमलटारको कम्जोरीको फाइदा उठाउँदा जित हासिल गर्न सफल भएको बताए । यता खुमलटारका म्यानेजर अञ्जन रानाले आफुहरुले रक्षात्मक तरिकाको खेल खेल खेल्दा स्ट्राइक लाइनमा निकै समयस्या आएको धारणा राखे । उनले स्ट्राइक लाइनमा कम्जोरी हुदाँ गोल गर्न नसकेको प्रतिक्रिया दिएका थिए । प्रतियोगिता अन्तरगत बिहिबार अफ्रिकी क्लब एभिनियर र चर्च व्याइजबीच फाइनल प्रवेशका लागि अन्तिम सेमिफाइनल खेल ९ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा एपिएफ क्लब, चर्च व्याइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक हेम्जा युनाइटेडगरि कुल ८ टिमको सहभागिता रहेको छ ।