काठमाठौं । रोहित चन्दले पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी गर्ने भएका छन् । नेपालले कात्तिक ३० गते घरेलु मैदान दशरथ रंगशालमा पाकिस्तानसँग खेल्दैछ । यसअघि बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा कप्तानी गरेका किरणकुमार लिम्बुको व्यस्त तालिकाका कारण उपलब्ध नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले रोहितलाई कप्तानको जिम्मेबारी दिएको हो । छनोट समितिले रोहितको नाम प्रस्ताव गरेको र त्यसलाई एन्फाले अनुमोदन गरेको एन्फा प्रवक्ता सुरेश साहले बताए । गोलकिपर किरण हाल आई लिगका लागि भारतमा छन् । उनी राउण्ड ग्लास पञ्जावबाट नयाँ सिजनको आई लिग खेल्दैछन् । किरणले पाकिस्तानसँगको खेल खेल्न चाहे पनि व्यस्त तालिका मिलाउन कठिन हुने भएकोले टिममा राख्न नसकिएको प्रशिक्षक प्रवेश कटुवालले बताए । किरण सम्मिलित पञ्जावको पहिलो खेल कात्तिक ८ गते छ । ‘उनी आउन चाहेका थिए । तर, क्लबले पहिलो खेल खेलेर जानु भनेपछि एक दिन अघि आएर यहाँ खेलेर जान कठिन हुने भयो,’ प्रशिक्षक प्रवेशले भने । यसअघि एसियन कप छनोटमा नेपालका लागि कप्तानी गरिसकेका नवयुग श्रेष्ठ र पुजन उपरकोटीले टिममा पुनरागमन भने गरेका छन् । गत असोजमा बंगलादेशविरुद्धको खेलमा भने दुवै खेलाडी थिएनन् । रोहितले सन् २००९ मा प्यालेस्टाइन विरुद्ध १६ वर्षको उमेरमै नेपालका लागि डेब्यू गर्दै नेपालका लागि खेल्ने कान्छो खेलाडीको कीर्तिमान बनाएका थिए । पछि विमल घर्ती मगरले उक्त कीर्तिमान तोडे । रोहितले नेपालका लागि ७५ खेल खेलेका छन् । उनी सर्वाधिक खेल खेल्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । नियमित कप्तान किरणले नेपालका लागि सर्वाधिक ८३ खेल खेलेका छन् । सुर्खेतका ३० वर्षीय रोहित हाल इन्डोनेसियन क्लब पर्सिक केडिरीबाट त्यहाँको लिग खेल्छन् । उनले सन् २००९ मा मछिन्द्र क्लबबाट घरेलु फुटबल करिअर सुरु गरेका थिए । त्यसपछि उनी भारतको आईलिग हुँदै इन्डोनेसियाको व्यवसायिक लिग खेल्न पुगेका हुन् । रोहितले हल एसीबाट आई लिग खेलेका थिए । त्यसपछि उनले इन्डोनेसियाको पीएसपीएस पेबनबरु, पर्सिजा जाकार्ताबाट खेलिसकेका छन् । रोहित मलेसियन क्लब टी टिमबाट पनि खेलेका थिए ।
पोखराः पोखरामा वाईवाई यु-१९ गण्डकी छनौंट क्रिकेट शुरु भएको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन खेलमा नवलपुरले कास्कीमाथि २ रनको रोमाञ्चक जित निकालेको छ । टस जितेर व्याटिङ रोजेको नवलपुरले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो । नवलपुरको तर्फबाट म्यान अफ द म्याच दिपक डुम्रेले ५१ रन बनाए । त्यस्तै,गोविन्द विकले ३९ तथा सगुन सापकोटाले २८ रनको पारी खेले । कास्कीका बलरहरु सुदिप अर्याल, सिरिस भुषाल, अपराजित पौडेल र सगुन सापकोटाले समान २ विकेट लिए । जितका लागि १ सय ८८ रनको लक्ष्य पछ्याएको कास्की जितको नजिकै पुगेपनि जित निकाल्न सकेन । कास्कीले पुरा ५० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ८५ रन मात्रै बनाउन सक्यो । कास्कीका अर्जुन कुमालले ८८ रनको महत्वपूर्ण पारी खेले । शोहिल कुँवरले २९ रन बनाएका थिए । नवलपुरका बलरहरु रोहित चन्दले ३ तथा नितेश गिरी र मनिष गैह्रेले समान २ विकेट लिए । यसअघि प्रादेशिक खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले ब्याटिङ तथा प्याप्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले बलिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि गुरुङ्गले यो प्रतियोगिताबाट गण्डकी प्रदेशको उत्कृष्ट क्रिकेट टिम बन्ने विश्वास व्यक्त गरे । साथै टिमले काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकीको शान उँचो पार्न पनि उनले शुभ–कामना प्रदान गरे । प्याप्सन अध्यक्ष पौडेलले विद्यालय खेलकुद विकासको जग भएको बताउँदै विद्यायलहरुले पनि खेलकुदका कार्यक्रममा ध्यान दिन आवश्यक रहेको औल्याए । आयोजक संघका अध्यक्ष देवेन्सन प्रजुले राष्ट्रिय टिममा आफ्नों स्थान बनाउने खुड्किलो यहि प्रतियोगिता भएकाले खेलाडीहरुले अनुशासित पूर्वक आफ्नाें खेल कौशल देखाउन आग्रह गरे । राष्ट्रिय क्रिकेट एम्पायर भोजराज बरालले सञ्चालन गरेको उद्घाटन समारोहमा प्रदेश क्रिकेट संघका सदस्य अर्जुन थापा, कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुन लगायतको उपस्थिती रहेको थियो ।
पोखरा: सहारा क्लब पोखराको आयोजनामा बर्सेनि हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस १२ देखि २३ सम्मका लागि मिति दिएको हो । एन्फाले मिति दिएसँगै आयोजकले ‘आहा ! रारा गोल्डकप-२०७९ फुटबल प्रतियोगिताको (क्याराभाना गोल्डकपसहित) २२ औं संस्करण’ तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । पोखरा रंगशालामा हुने राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित सो प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमले भाग लिने छन् । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हुनेछ । साथै पोखरा महानगरपालिकाको संयोजन रहनेछ । पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । अफिसियल बैंक लुम्बिनी विकास बैंक, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के, सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ । यस्तै, राष्ट्रिय खेलकुद परिषद्, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्ट्रेलियाको विशेष सहयोग रहनेछ । विगतमा झैं सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्नेछ । गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब हो । गत वर्ष २० औं आहारारा गोल्डकपको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपिएफले पहिलो पल्ट उपाधि चुमेको थियो ।
पोखरा : बगर भाइखलकको आयोजनामा १२ संस्करणको एट– ए साइड अन्र्तराष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता माघ ३ देखि ८ गतेसम्म सञ्चालन हुने भएको छ । पोखराको पुरानो टुँडीखेल मैदानमा हुने प्रतियोगितामा आगामी माघ ३ देखि ८ गतेसम्म आयोजना हुने बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । ४० देखि ६५ वर्ष सम्मको उमेर समुहका खेलाडीहरुले सहभागिता जनाउन पाउने उक्त प्रतियोगिताको मुख्य प्रायोजन चौधरी ग्रुपको उत्पादन हिमालयन ब्रुअरीले गर्ने भएको छ । ‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकका लागि नौलो आयाम’ भन्ने उद्धेश्यका साथ आयोजना हुँदै आएको एट ए साइड फुटबल प्रतियोगितामा विभिन्न क्लवहरुबाट पूर्व राष्ट्रिय खेलाडीहरुको सहभागिताले पनि थप आकर्षण बढ्दै गएको अध्यक्ष गुरुङले बताए । उनले भने–“यो प्रतियोगिताका लागि प्रतियोगिता मात्रै होइन पूर्व खेलाडीहरुमा रहेको प्रतिभालाई यूवा पिढींका खेलाडीमा हस्तान्तरण गर्नु पनि हो ।” सातौं सस्करण देखि पूर्व राष्ट्रिय खेलाडी स्व.रञ्जित गुरुङका परिवारले मुख्य प्रायोजन गर्दै आएको उक्त प्रतियोगितामा आगामी पाँच वर्षका लागि राष्ट्रिय उद्योगको रुपमा स्थापित हिमालयन ब्रुअरी जोडिएकोले पनि यसको गरिमा अझै बढ्दै गएको बताउँदै अध्यक्ष गुरुङले यो प्रतियोगिताले समाजको हरेक अङ्गमा छुट्टै सञ्चार प्रवाहित गर्न सफल रहेको दावी गरे । “यो प्रतियोगिताका लागि मात्रै आयोजना गरिएको होइन यसका छुट्टै आयामहरु छन् । स्वदेश देखि विदेश सम्म समेत यसको आकर्षण बढ्दै गएको छ ।” प्रतियोगितामा सह आयोजकको रुपमा बगर भाई खलक युके समेत रहँदै आएको छ । बगर भाइखलक एट–ए साइडको ११ औं संस्करणको डिफेन्डिङ च्याम्पियन ललितपुरको टि वर्गर रहेको थियो । संस्थाले हरेक वर्ष एकजना पूर्व राष्ट्रिय खेलाडीलाई सम्मान समेत गर्दै आएको छ ।
पोखरा : पोखरा रंगशालामा आयोजना हुने तेस्रो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल’ प्रतियोगिता आगामी माघमा हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजना हुने तेश्रो संस्करणको उक्त प्रतियोगिता माघ ८ देखि १४ गते सम्म सञ्चालन हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली भलिबल संघहरुको छाता संस्था नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिए । माघ ८ देखि १४ गतेसम्म सञ्चालन हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागिय महिला तथा पुरुष टोलीसहित विभिन्न क्लबहरुको सहभागिता रहने छ । प्रतियोगिता फिव, काभा र एनभिएको नियमनुसार सञ्चालन गर्ने गरी स्वीकृती प्रदान गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जनाएका छन् । पहिलो संस्करणमा पुरषतर्फ गण्डकी प्रदेश र महिला तर्फ नेपाल पुलिस क्लबले उपाधि जितेका थिए भने दोस्रो संस्करणमा पुरष तर्फ त्रिभुवन आर्मी क्लब र महिला तर्फ सशस्त्र प्रहरी बलको नेपाल एफिएफ क्लबले उपाधि जितेका थिए ।
पोखरा: फुटबलर अञ्जन देवकोटालाई बगर भाइखलकले उपचारका लागि १ लाख आर्थिक सहयोग गरेको छ । पोखरेली फुटबलर देवकोटाको बायाँ घुँडाको अप्रेशनका लागि १ लाख सहयोग प्रदान गरिएको पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका भाइखलकका सदस्य इश्वर (चन्द्र) गुरुङले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका १ निवासी फुटबलर देवकोटालाई स्पोर्टस् क्यासलमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको हो । ‘उनको सामान्य उपचारले मात्रै नहुने भएपछि अप्रेशन नै गर्नुपर्ने भनिएपछि हामीले केही आर्थिक सहयोग गरेका हौं, गुरुङले भने, ‘यो सहयोग रकम यथेष्ट नभएपनि केही सघाउ पुग्नेछ ।’ फुटबलर देवकोटा दमौलीमा भएको खेलमा घाइते भएका थिए । सहयोग ग्रहणपश्चात बोल्दै देवकोटाले बगर भाइखलकप्रति आभार प्रकट गरे । ‘मेरो खुट्टाको उपचारका लागि भाइखलकका मामाहरुले सहयोग जुटाइदिनु भयो । त्यसको लागि बगर भाइखलकका मामाहरुप्रति एकदमै आभारी छु ।’ उनले भने । उनले बगर भाइखलकसँगै अन्य विभिन्न व्यक्तित्वहरुले समेत सहयोग प्रदान गरिरहेको जानकारी दिदैं सफल अप्रेशनपछि फेरि खेलमा फर्किने बताए । ‘मेरो अप्रेशन सफल भइसकेपछि डाक्टरको सल्लाह सुझाव अनुसार म केही महिनाको बेडरेष्टमा हुनेछु, ‘पूर्ण रुपमा ठिक भएपछि फेरि मैदानमा फर्किनेछु ।’ फुटबलर देवकोटा विभिन्न प्रतिष्ठित क्लबहरुबाट फुटबल प्रतियोगिता खेल्दै आएका थिए । सोही कार्यक्रमकै अवसरमा पोर्चुगल जान लागेका क्लबका खगेन्द्र गुरुङ (कान्छा) लाई खलकका पदाधिकारीहरुले खादा लगाएर विदाई गरिएको थियो ।
पोखरा । आसन्न ‘प्रधानमन्त्री कप एक दिवसीय’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घले यही कात्तिक २ देखि ८ गतेसम्म प्रादेशिक छनोट प्रतियोगिता गरी १४ नियमित र चार वैकल्पिक गरी १८ जना खेलाडी प्रधानमन्त्री कपका लागि छनोट गरेको हो । गण्डकीको टोलीको कप्तानमा विपिन खत्री छन् । यसैगरी चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पङ्गेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार टोलीमा रहेको गण्डकी प्रादेशिक क्रिकेट सङ्घले जनाएको छ । यसैगरी वैकल्पिक चार खेलाडीमा दिनेश बुढामगर, प्रदीप अर्याल, सौजन्य रेग्मी र सन्दीप पराजुली छन् । गण्डकीको प्रशिक्षकमा रिजन प्रजु र ब्यवस्थापकमा चन्द्रकुमार गुरुङ छन् । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यही कात्तिक १३ देखि २६ गतेसम्म राजधानी काठमाडौँमा हुँदैछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने नेपाल क्रिकेट सङ्घले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा गण्डकी प्रदेश, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश र सुदूरपश्चिम तथा समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ छन् ।
पर्वत । कुनै समय सदरमुकाम कुश्मा बजारमा फराकिलो खेलमैदान थियो । हरेक हप्ता विभिन्न खेलकुद प्रतियोगिता भइरहन्थे । सदरमुकाम कुश्माका युवा साँझबिहान खेल मैदानमा भेटिन्थे । उनीहरुको खेलकुदमा बेग्लै उत्साह र लगाव पनि थियो । तर माओवादी द्वन्द्वकालमा कुश्माको बडगाउँ खेलकुद मैदानको जिम्मा सशस्त्र प्रहरीले लियो । खेलमा भविष्य खोज्दै गरेका युवा खेल खेल्नबाट बञ्चित भए । खेलमैदान नहुँदा लामो समयसम्म यस क्षेत्रमा खेलकुदका गतिविधि ठप्प रहे । आज पनि सदरमुकाम कुश्मामा राम्रो खेल मैदान बन्न सकेको छैन । विसं २०५८ मा बडगाउँ खेलमैदानमा सशस्त्र प्रहरी बसेपछि पर्वतको खेलले गति लिन छाडेको खेलप्रेमीहरुको गुनासो छ । “मापदण्ड अनुसारको खेलमैदान नहुँदा एन्फाले दिने सेवा तथा सुविधाबाट फुटबल खेल र खेलाडी बञ्चित भएका छन्”, पूर्व फुटबल खेलाडी राजन गुरुङले भन्नुभयो, “पहिले हप्तैपिच्छे प्रतियोगिता भइरहन्थ्यो । तर अहिले त्यो हुन छाडेको छ ।” गुरुङसँग क्षेत्रीय तथा राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भएका अनुभव छ । “२०५४ तिर बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भएको थियो, मैले गोल्डमेडल जितेको थिएँ”, ४५ वर्षे खेलाडी नरेश श्रेष्ठले भन्नुभयो, “अन्य जिल्लामा पनि पर्वतका खेलाडीको सम्मान थियो तर खेलमैदानको अभावमा खेलाडी उत्पादन हुन सकेका छैनन ।” विगतमा बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, ह्याण्डबल, टेबलटेनिस, तेक्वान्दो, कराते, हाइजम्प, लङजम्प, दौडलगायत खेल नियमित भइरहन्थे । तर लामो समयपछि पर्वतमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको राष्ट्रिय कराते खेल सञ्चालन भएको थियो । यसले यहाँका खेलाडी, दर्शक तथा खेलप्रेमीमा नयाँ उत्साह थपेको छ । “द्वन्द्वकालीन अवस्था र खेलमैदानको अभावले गर्दा पर्वत खेलकुदमा लामो समयसम्म पछाडि रह्यो, यसबीचमा पर्वतले राष्ट्रिय स्तरका खेलाडी जन्माउन सकेन”, कराते प्रशिक्षक तथा कराते महासङ्घ पर्वतका संयोजक राम श्रेष्ठले भन्नुभयो । तर नवौँ राष्ट्रिय खेलकुदबाट पर्वतले पनि राष्ट्रिय खेल सम्पन्न गर्न सक्दोरहेछ भन्ने प्रमाणित भएको उहाँको भनाइ छ । धेरै वर्षपछि खेलाडी, अभिभावक र खेलप्रेमीमा हौसला र उत्साह जागेको उहाँको भनाइ छ । “राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु सहज थिएन । आवश्यक पूर्वधार बिना पनि छोटो समयमा बन्दोबस्त गर्न सफल भयौं”, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले भन्नुभयो । पूर्वधार निर्माणका लागि भनेर राष्ट्रिय खेलकुदबाट कुनै पनि रकम उपलब्ध नभएको उहाँको भनाइ छ । उहाँका अनुसार रु पाँच लाखभन्दा बढी रकम जिल्ला खेलकुद विकास समिति आफैले ऋण खोजेर खर्च गरेको छ । कुश्मामा सम्पन्न राष्ट्रिय कराते खेलले समग्र पर्वतको पहिचानलाई देशभर चिनाउन भूमिका खेलेको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । “हामीले पूर्वाधार निर्माणका लागि रु दश लाख उपलब्ध गराएका थियौँ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि भोलिका दिनमा पनि सहयोग गर्न कुनै कन्जुस्याइ हुँदैन ।”
काठमाडौं : नेपाली सेनाले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न विधामा नयाँ रेकर्ड कायम गर्दै ‘च्याम्पियन’को उपाधिमासमेत ‘ह्याट्रिक’ कायम गर्न सफल भएको छ । मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ‘च्याम्पियन’को उपाधिमासमेत ह्याट्रिकको रेकर्ड बनाउन सफल भएको हो । यसअघि सातौँ र आठौँ संस्करणमा पनि सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ घोषित भएको थियो । प्रभावकारी तालिम, प्रशिक्षण, तयारी र व्यवसथापन गर्दै उच्च मनोबलसाथ प्रतिस्पर्धामा उत्रिएकाकारण खेलाडीले अनुमान गरेभन्दा राम्रो नतिजा दिलाउन सफल भएको नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले प्रतिक्रिया दिनुभयो । प्रतियोगितामा सेनाले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्य पदक जितेको हो । सर्वाधिक पदक जितेर सेनाले रु १० लाखको लागतमा प्रतियोगिताका लागि पहिलो पटक तयार गरिएको ‘राष्ट्रिय ट्रफ्री’ चुम्ने अवसर प्राप्त ग¥यो । राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र खेलको सबैभन्दा ठूलो समारोह हो । यसअघि आठौँ प्रतियोगितामा सेनाका खेलाडीले एक सय ४८ स्वर्ण, ८७ रजत र ७२ कास्य पदक हात पारेको थियो । बाह्रैमहिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन, सुविधा र प्रशिक्षणसहितको तयारीकाकारण एथ्लेक्टिस, पौडीसहितका विधामा नयाँ–नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै सेनाले पूर्वानुमानभन्दा बढी पदक जित्न सफल भएको छ । प्रतियोगिता चलिरहँदा सेनाका विभिन्न विधाका १५ जना खेलाडीमा डेंङ्गु सङ्क्रमण भएका कारण सेनाले आँकलन गरेका केही पदक भने गुमाउन परेको थियो । तथापी सेनाले सबै टिमलाई पछि पार्दै आफनो पुरानो च्याम्पियनको छवि र वर्चश्व कायम राख्न सफल भएको छ । महासेनानी बस्नेत भन्नुहुन्छ, “प्रतिस्पर्धा र रेकर्ड राम्रो भयो, सबै विधाका खेलाडीको तयारी र व्यवस्थापन राम्रो थियो, एथ्लेक्टिस र पौडीमा धेरै रेकर्ड ब्रेक भएको छ । सोचेको भन्दा निकै राम्रो नतिजा प्राप्त गरियो, खेलाडीको उच्च मनोबल र चुस्त व्यवस्थापनले यो परिणाम हात परेको हो ।” सेनाले प्रतिस्पर्धामा पदक आफ्नो पक्षमा बढाउन सामूहिकभन्दा व्यक्तिगत खेल विधालाई बढी ध्यान केन्द्रित गर्ने रणनीति बनाएको देखिन्थ्यो । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै खेलकुदप्रतिको सर्वत्र चासो र रुचि बढेको हुँदा प्रतिस्पर्धा र गुणस्तरीय खेलाडी उत्पादनमा प्रभावकारी सावित भयो । पछिल्लो समय खेलकुदका विकासका लागि प्रादेशिक र स्थानीय तहमासमेत विभिन्न संरचना र कार्यक्रम विकास र विस्तार हँुदै गएको छ । सेनाले टिमलाई जिताउन मात्र केन्द्रित नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान र तयार गर्नसमेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतियोगितामा सेनाले फुटबल, एथ्लेक्टिस, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, भलिबल, टेवलटेनिस, कबडडी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केट बल, बुद्धिचाल, आइटिएफ तेक्वान्दो, ह्याण्डबल र स्क्वासमा प्रतिस्पर्धा ग¥यो । नियमित अभ्यास र प्रशिक्षण गर्न प्रत्येक युनिटका साथै लगनखेल र सैनिक मुख्यालय परिसरमा सेनाको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र र खेलमैदान समेत छ । यस पटकको प्रतियोगितामा एपीएफ दुई सय १९, नेपाल प्रहरी एक सय ८५, आयोजक गण्डकी प्रदेश एक सय २०, बागमती प्रदेश एक सय ४५, प्रदेश नम्बर १ ले ८३, सुदूरपश्चिम प्रदेश ६३, एनआएएनए २६, लुम्बिनी प्रदेश ६८, मधेश प्रदेश ३९ र कर्णाली प्रदेशले १८ पदक जित्न सफल भएको छ । त्रिभुवन आर्मी क्लबका खेलाडीले हक्की, सुटिङ, जिम्न्याष्टिक, लन–टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, सेपाताक्रो, खोखो, फेन्सिङ, ट्रायथलन, पौडी, शारीरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ, सफटटेनिस र रग्बीमा अन्य टिमका खेलाडीसँग प्रतिस्पर्धा गरी नतिजा आफनो पोल्टामा राख्न सफल भएका हुन् ।

