पोखरा : कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयमा पाँचौ डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्देस्यले खेलकुद प्रतियोगिता संचालन गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताउनु भएको छ । कक्षा नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व का विद्यार्थीहरुबिच बिभिन्न विधामा खेलकुद गरिदै आएको र यस वर्ष पनि सोहि कार्यलाई जारी राख्यको विद्यालयका खेलकुद शिक्षक विनोद थापाले जानकारी दिनुभएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्ग, वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुबेदी, विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोका, व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने लगायतले खेलाडी विद्यार्थीलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिनुभएको थियो । खेलकुदको पहिलो दिन सिनियर तर्फ भलिबल तथा क्रिकेटका पहिलो चरणका खेल सम्पन्न भएका छन् । छात्र तर्फ भएको खेलमा व्यवस्थापन १२ ले होटल मेनेज्मेन्ट ११ लाई र पूर्व व्यवस्थापनले कक्षा १० लाई २–० को सोझो सेटमा हराएर दोस्रो चरणमा प्रवेश गर्न सफल भएका छन् । छात्रा तर्फ भएको खेलमा कक्षा १० ले कक्षा ९ लाई र कक्षा १२ ले कक्षा ७ लाई २–० को सोझो सेटमा हराएर फाईनल चरणमा प्रवेश गर्न सफल भएका छन् । त्यस्तै क्रिकेट तर्फ कक्षा १० लाई २० रनले हराउदै पूर्व विज्ञान समुह अर्को चरणमा प्रवेश गरेको छ । उक्त खेलमा पूर्व विज्ञान समुहका संञ्चन श्रेष्ठ म्यान अफ दि म्याच हुन सफल भएका छन् । अर्काे खेलमा कक्षा ९ लाई व्यवस्थापन १२ ले ९ विकेट ले हराउदा सुसिल सुबेदी म्यान अफ दि म्याच हुन सफल भएका छन् । खेलकुदको पहिलो दिन कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरु विच बिभिन्न विधामा खेलकुद शुरु गरिएको छ । बेलुन फुटाउने, चम्चा दौड, खुल्ला दौड प्रतियोगिता लगाएका खेल भएको विद्यालयका संयोजक बिकाश लामिछानेले जानकारी दिनुभएको छ । खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबलटेनिस लगायतका खेल खेलाईने विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङ्गले जानकारी दिनुभएको छ । खेलकुद प्रतियोगिता यहि कार्तिक ४ गतेसम्म संचालन हुने बताईएको छ ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्ती मगर फाइनलमा प्रतिष्पर्धा गर्नेछन् । पहिलो सेमिफाइनलमा पुलिसका नगेन्द्रले गण्डकीका कृष्ण भण्डारीलाई ७–३ सेटमा हराए । यस्तै, दोस्रो सेमिफाइनलमा गण्डकीका दुर्गा घर्ती मगरले बाग्मतीका फारमसेन शेरचनलाई ६–४ को सेटमा पराजित गरेका हुन् । महिला एकलतर्फ प्रदेश १ की योगिता कामवाङले नेपाल आर्मीकी खड्गकुमारी थापा मगर विरुद्ध ७–३ को सेटमा जीत दर्ता गरेकी हुन् । यस्तै, अर्को सेमिफाइनलमा एपीएफकी सोनुजया राईले नेपाल आर्मीकी शारदा विकलाई ६–४ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन् । शनिबार वरियता निर्धारणका क्रममा पुरुषतर्फ पहिलो स्थानका दुर्गा घर्ती मगर र दोस्रो स्थानका नगेन्द्र आचार्य दुवै फाइनल पुगे भने महिलातर्फ पहिलो अनुश्का शेरचन र दोस्रो भएकी शारदा विक अन्तिम दुईको यात्रा तय गर्न सकेनन् । तेस्रो स्थानकी सोनु जया र चौथो स्थानकी योगिता फाइनल पुगेका हुन् । रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फ वरियता निर्धारण आइतबार रिकर्भ मेन र कम्पाउण्ड वुमनतर्फको ¥याङकिङ राउण्ड सकिएको छ । रिकर्भ (७० मिटर) पुरुषतर्फ गण्डकीका गंगा बहादुर कुँवर पहिलो वरियतामा रहेका छन् । ६५४ स्कोर ल्याएका कुँवरकोे १ स्कोर कम हुँदा रेकर्ड भेट्न सकेनन् । सन् २०१० मा बैंककको एशियन गेममा प्रेमप्रसाद पुनको नाममा रहेको नेपाली खेलाडीको उच्च रेकर्ड ६५५ स्कोर हो । यस्तै, पुलिसका तिलक पुन ६३५ स्कोर र गण्डकीका असिम शेरचन ६३० अंकका साथ तेस्रो स्थानमा रहन सफल भए । कम्पाउण्ड (५० मिटर) महिलातर्फको विधामा एपीएफी पार्षदा आचार्य ६६१ अंकका साथ वरियताको शीर्ष स्थानमा रहिन् । १३ औं सागमा इमायुङ राईले गरेको ६३४ स्कोरको उच्च रेकर्ड पार्षदाले तोडिन् । आर्मीकी इमायुङ भने अहिले ६२७ स्कोरका साथ दोस्रो वरियतामा रहिन् । यस्तै, ६११ स्कोरका साथ निर्मला राई कामवाङ तेस्रो स्थानमा रहिन् । सोमबार विहान रिकर्भ वुमनका वरियता निर्धारण, रिकर्भ मेनको इलिमिनेशन राउण्डका खेल हुनेछन् भने रिकर्भ मेन र कम्पाउण्ड वुमनका सेमिफाइनल खेल पनि हुनेछन् । यस्तै विभिन्न विधाका क्वार्टर तथा सेमिफाइनल खेल पनि सोमबार नै हुनेछन् । स्टान्डर्ड विधामा कास्य पदकका लागि पनि सोमबार नै खेल हुने नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले जानकारी दिए ।
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डी प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले महिला तथा पुरुष दूवै स्पर्धामा विजयी शुरुवात गरेको छ । आइतबारबाट पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा भएको उद्घाटन खेलमा महिलातर्फ त्रिभूवन आर्मी क्लवले मधेश प्रदेशलाई ७२–१५ पोइन्टले पराजित गर्दा पुरुषतर्फ आर्मीले कर्णाली प्रदेशलाई ४८–२३ पोइन्टले पराजित गरेको छ । प्रतियोगिता अन्र्तगत आजनै पुरुष र महिला दुबै स्पर्धामा ५–५ वटा प्रतिस्पर्धा भएका छन् । आज भएको पुरुषतर्फ दोस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई ५३– ५० पोइन्टले पराजित गर्दा तेस्रो खेलमा प्रदेश नम्वर १ नेपाल प्रहरीसँग ५१ – ३९ ले पराजित हुन पुग्यो । चौथो खेलमा सुदुर पश्चिमले मधेश प्रदेशलाई ४९ – ३६ र अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४० – ५० पोइन्टले पराजित ग¥यो । यस्तै महिलातर्फ प्रदेश नम्वर १ नेपाल प्रहरी क्लवसँग ६९– १७ पोइन्टले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल प्रहरी क्लवले प्रदेश नम्वर १ लाई ६९ – १७ पोइन्टले पराजित गर्दा तेस्रो खेलमा सशस्त्र प्रहरी बल बाग्मती प्रदेशसँग ६५ – १६ पोइन्टले विजयी भयो । चौथो खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ४९ – ३७ ले पराजित गर्दा अन्तिम खेलमा सुदुर पश्चिम प्रदेश विजयी भएको छ । सुदुर पश्चिमले मधेश प्रदेशलाई ६७–१६ पोइन्टले पराजित ग¥यो । प्रतियोगिता अन्र्तगत सोमबार (भोलि) महिला तथा पुरुष दुवैतर्फ ६–६ खेल सञ्चालन गरिने छ । जसअन्र्तगत महिलातर्फ प्रदेश नम्वर १ र लुम्बिनी, त्रिभूवन आर्मी क्लव र बाग्मती प्रदेश, नेपाल प्रहरी क्लव र कर्णाली प्रदेश, सशस्त्र प्रहरी वल र सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र मधेश प्रदेश र बाग्मती प्रदेश आम्ने साम्ने गर्ने छन् । यस्तै पुरुषतर्फ बाग्मती प्रदेश र सशस्त्र प्रहरी वल, त्रिभून आर्मी क्लव र नेपाली प्रहरी क्लव, लुम्बिनी प्रदेश र मधेश प्रदेश, प्रदेश नम्वर १ र गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी वल र कर्णाली प्रदेश र नेपाल प्रहरी क्लवविच लिग चरणका खेलहरु सञ्चालन गरिने अखिल नेपाली कबड्डी संघका महासचिव विनोद प्रजापतीले जानकारी दिए । यसअघि प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताका समुह ‘क’ मा त्रिभूवन आर्मी क्लव , कर्णाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’ मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् । महिलातर्फ समुह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’ मा नेपाल प्रहरी, प्रदेश नम्वर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् । प्रतियोगिताका लागि महिला तथा पुरुष गरि १० वटा समुहका १२० जना खेलाडी सहित १४० जना अफिसियल पोखरामा छन् ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा जारी प्रतियोगितामा गण्डकीका अमृत थापामगर र बागमतीका अह्रान्त सिम्हा भिड्ने भएका छन् । ओपन इभेन्टतर्फ आज (आइतबार) भएको पहिलो समिफाइनल खेलमा गण्डकीका अमृत थापामगरले सोही प्रदेशकै दिपक थापालाई ११–९, ११–५, ८–११ र ११–५ अंकसहित ४-१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरे । त्यसैगरि अर्काे सेमिफाइनल खेलमा बागमतीका अह्रान्त सिम्हाले सोही प्रदेशकै अमिर ब्लोनलाई ११–८, ११–४, र ११–३ अंकसहित ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए । बागमतीका अह्रान्त सिम्हाले स्वर्ण पदकका लागि गण्डकीका अमृत थापामगरसँग सोमबार भिड्ने छन् । भने कास्य पदकका लागि गण्डकीका दिपक थापा र बागमतीका अमिर ब्लोन प्रतिस्पर्धा गर्नेछन् । स्क्वास प्रतियोगिता संयोजक लोकेन्द्रमान सिं भण्डारीका अनुसार फाइनल प्रवेश गरेका अमृत थापामगर यसअघि सम्पन्न आठौं संस्करणको राष्ट्रिय खेलकुदमा पुरुषतर्फको स्वास च्याम्पियन हुन् । संयोजक भण्डारीले महिलातर्फ ओपन इभेन्टमा लिग चरणका खेलहरु जारी रहेको बताए । भण्डारीका अनुसार आज भएको खेलमा गण्डकीका कृष्णा थापामगरले सोही प्रदेशकै सृष्टिका उदासलाई ३–० को सोझो सेटमा पराजित गरिन् । अर्काे खेलमा बागमतीकी स्वस्तानी श्रेष्ठले गण्डकीकी करिस्मा ओलीलाई ३–० को सोझो सेटमा हराइन् । त्यसैगरि बागमतीकी विपना ब्लोनले आर्मीकी अस्मिता नगरकोटीमाथी ३–० को सेटमा जीत निकालिन् । अर्काे खेलमा बागमतीकी भावना सुनुवारले गण्डकीकी सृष्टीका उदासलाई ३–० को सेटमा सहजै हराइन् । बागमतीकी स्वस्तानी श्रेष्ठले आर्मीकी अस्मिता नगरकोटीलाई ३–० को सोझो सेटमा पराजित गरिन् । यसैगरि अर्काे खेलमा बागमतीकी विपना ब्लोनले गण्डकीकी करिस्मा ओलीमाथी ३–० को सोझो सेटमा जीत निकालिन् । स्क्वास व्यवस्थान समितिका अनुसार सो प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको छ ।
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् । पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो । पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेशले रजत र महिलातर्फ आर्मीले रजत पदक जितेको छ । यसअघि एकल प्याट्रनमा आर्मीले तीन र बागमतीले दुई स्वर्ण हाँसिल गरेको थियो । प्रतियोगितको पहिलो दिन शनिबार भएका प्रतिस्पर्धामा पनि आर्मीले तीन स्वर्णसहित बर्चश्व कायम गरेको थियो । अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याट्रनबाट एउटा मात्र स्वर्ण जित्न सफल भएको छ । स्पाइरिङतर्फ (४५–५०) उमेर समूहको पहिलो खेल समय नपुगेका कारण सेमिफाइनलमा पुगेर रोकिएको छ । सोमबार बिहान गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच फाइनल प्रतिस्पर्धा हुने नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् । शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेल भइरहेका छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरु प्रतिस्पर्धामा छन् ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले विजय हासिल गरेको छ । आइतबार तनहुँ दमौलीको निर्मल मावि स्कुलको बास्केटबल कोर्टमा भएको खेलमा मधेश प्रदेशलाई ४५–२१ अन्तरमा सुदुरपश्चिम विजयी भएको हो । प्रतियोगिताको पहिलो चरणमा सुदुरपश्चिमले १२–३ को अन्तर बनाएको हो । दोस्रो प्रतियोगितामा ११–७ को अन्तर बनाएको थियो । तेस्रो चरणमा भने निकै प्रतिस्पर्धात्मक खेल प्रर्दशन गर्दे दुबै टिमले ६–६ अकं जोडेको थियो । अन्तिम चरणमा भने सुदुपश्चिमले उत्कृष्ट प्रर्दशन गरि १६–५ को अकं जोडदै मधेस प्रदेशलाई पराजित गरको हो । यसअघि सुदुरपश्चिम प्रदेश र मधेस प्रदेश आर्मी संग पराजित भएको थियो ।
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश हाबी भएको छ । राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै लुम्बिनीले ३०–२ को फराकिलो अन्तरको जित निकाल्यो । चार इनिङ्समा हुने खोखो खेलमा प्रत्येक इनिङ्समा ९ मिनेटको समय छुट्याइएको हुन्छ । जसमा निर्धारित समयभित्र बढी अंक प्राप्त गर्ने टिम विजेता घोषित गरिन्छ । तर, पहिलो इनिङ्समा अंकभार फराकिलो पर्न गए बढी अंक ल्याउनेले सोझै जित्ने नियम हुन्छ । आइतबार भएका अधिकांश खेलमध्ये सिंगल इनिङ्समै सकिएको खोखो संघका प्रचार विभाग प्रमुख सुशिलमान व्यञ्जनकारले जानकारी दिए । आइतबार विहान मधेश प्रदेश र नेपाल आर्मीबीच भएको खेलमा पनि विभागीय टिम नेपाल आर्मीले सिंगल इनिङ्समै जित निकालेको थियो । जसमा नेपाल आर्मीले पहिलो इनिङमा १७ अंक ल्याउँदा मधेस प्रदेश ३ अंकमा समेटिएको थियो । त्यस्तै आइतबार दिउँसो भएको नेपाल आर्मी र प्रदेश नं १ बीच भएको महिला खोखोमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले फराकिलो अंकसहित सिंगल जित दर्ज ग¥यो । प्रदेश १ केवल १ अंकमा समेटिँदा आर्मीको टिमले ३३ अंक ल्याएको थियो । लुम्बिनी प्रदेशकी खेलाडी घाइते खेलका क्रममा लुम्बिनी प्रदेशकी एक खेलाडी घाइते भएकी छन् । कर्णाली प्रदेशसँग खेलका क्रममा लुम्बिनीकी दीपा विक लडेर घाइते भएको प्रचार विभाग प्रमुख व्यञ्जनकारले जानकारी दिए । ‘विकको लडेर हातमा चोट लागेको छ । गम्भीर चोट लागेको आशंकाले प्राथमिक उपचारपछि एक्सरेका लागि अस्पताल पठाएका छौैं,’ व्यञ्जनकारले भने, ‘अरु जानकारी आउन बाँकी छ ।’
पोखरा । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनमा पहिलो स्वर्ण जितेको छ । पोखरा उद्योग वाणिज्य संघमा आइतबारदेखि सुरु प्रतियोगिताको महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पुलिसलाई पहिलो स्वर्ण दिलाएकी हुन् । उनले स्न्याचतर्फ ५० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११५ केजी भार उठाउँदै स्वर्ण जितेकी हुन् । त्यस्तै, एपिएफकी लीला राईले रजत र मधेश प्रदेशकी अम्बिकाकुमारी यादवले कास्य जितिन् । एपिएफकी लीलाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी र अम्बिकाले न्याचतर्फ ३५ र क्लीन एण्ड जर्कमा ४० गरी कुल ७५ केजी भार बहन गरेका थिए । सो तौल समूहमा ७ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी १०/१० इभेन्टमा खेल हुनेछ । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि खेल हुने छन् । पहिलो दिन पुरुष ५५, महिला ४९ र पुरुष ६१ केजी तौल समूहका खेल हुने जनाइएको छ । त्यसअघि प्रतियोगिता उद्घाटन गर्दै राखेप सदस्य सचिव टंकमान घिसिङले भारोत्तोलन अन्तर्राष्ट्रिय पदक दिलाउने खेल भएकोले खेलाडीलाई सोही अनुरुप मेहनत गर्न आग्रह गरे । उनले यहाँ उत्कृष्ट नतिजा दिने खेलाडी सन् २०२३ मा चीनमा हुने १९ औं एशियाली खेलकुदको लागि राष्ट्रिय टिममा अनुबन्ध हुने बताए । कार्यक्रममा स्वागत नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ र संचालन सुशन श्रेष्ठले गरेका थिए । शनिबार नै सुरु हुने भनिएको खेल प्राविधिक कमजोरीका कारण एक दिन पछि सरेको हो ।
पोखरा । टेनिसको ‘टिम इभेन्ट’तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा नेपालको शीर्ष वरियताका खेलाडी प्रदीप खड्काको टोली गण्डकीले समग्रमा आर्मी माथि २–१ खेल जित्दै च्याम्पियन बनेको हो । टिम इभेन्टको पुरुष एकलको पहिलो खेलमा सेनाका अकि जुवेन रावतले गण्डकीका अनिल शाहीलाई ६–३ र ६–३ सेटमा पराजित गरे । एकलको दोस्रो खेलमा गण्डकीका प्रदीप खड्काले सेनाका प्रनव खनाल माथि ६–३ र ७–५ सेटमा जित निकाले । पुरुष डबल्सतर्फको प्रतिस्पर्धामा प्रदीप र अनिलको जोडीले प्रनव र अकिको जोडीलाई २–६, ६–३ र १०–७ को सेटमा पराजित गरेपछि गण्डकी च्याम्पियन बनेको हो । पुरुषतर्फ गण्डकीले स्वर्ण पदक जित्दा सेनाले रजत पदकमा चित्त बुझायो । महिलातर्फ एकलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीलाई हराएको हो । सेनाका अभिलाषा विष्टले सशस्त्रका सर्भानी श्रेष्ठलाई ७–५,१–६ र ६–१ को सेटमा पराजित गरे । अर्को खेलमा सेनाका आइरा एम रावतले सशस्त्रका सुनिरा थापालाई ६–१, १–६ र ७–५ सेटमा पराजित गरेपछि सेना च्याम्पियन बन्दै स्वर्ण पदक जित्न सफल भने सशस्त्रले कास्य पदक पायो । महिला टिम इभेन्टमा वागमती प्रदेश र नेपाल प्रहरीले कास्य पदक जित्दा पुरुषतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीले कास्य पदक जिते । प्रतियोगितामा विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का कार्यवाहक सदस्य सचिव घनश्याम पौडेलले ट्रफी तथा मेडल प्रदान गरेका थिए ।

