पोखरा : नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने खेलकुदको कुम्भमेलाका लागि व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा आयोजित विशेष समारोहमा उक्त प्रतियोगिता उद्घाटन गर्नुहुनेछ । प्रतियोगिता आगामी शुक्रबार उद्घाटन हुने भएता पनि पुरुष क्रिकेट प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेको छ । यस्तै महिला क्रिकेट, ह्यान्डबल फेन्सिङलगायतका केही खेल पनि सुरु भइसकेका छन् । प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । खेलकुदप्रति चासो राख्ने सबैको ध्यान अहिले पोखरा र त्यस वरपरका जिल्लामा सञ्चालन हुने प्रतियोगितामा केन्द्रित भएको छ । गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङबाहेकका जिल्लामा सञ्चालन हुने प्रतियोगितामा ३६ खेल विधा समेटिएको छन् । प्रतियोगिता सञ्चालन र व्यवस्थापनका लागि पोखरामै सचिवालय खडा भइसकेको सचिव गौतमले जानकारी दिनुभयो । विसं २०४० मा दोस्रो राष्ट्रिय खेलकुद गरेको पोखराले चार दशकपछि पुनः प्रतियोगिता सञ्चालन गर्न लागेको हो । नेपालको खेलकुदको कुम्भमेलाका रूपमा रहिआएको यस प्रतियोगितामा करिब आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षक सहभागी हुनेछन् । प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने यो प्रतियोगिता कोरोना सङ्क्रमणले केही समय ढिला भएको हो । प्रतियोगितामा केही खेलविधा तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा सञ्चालन हुनेछन् । आजसम्म सबै खेलाडी तोकिएको खेलस्थल पुग्ने कार्यक्रम छ । प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) टिमले स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय पदकाका लागि प्रतिस्पर्धा गर्नेछन् । खेलकुद समाजका सबै जातजाति र समुदायलाई एकीकृत र समावेशी प्रतिनिधित्व गराउने सशक्त विधा हो । प्रतियोगितामा एथलेटिक्स, क्रिकेट, ब्याडमिन्टन, फुटबल, टेनिस, बक्सिङ, भलिबल, जिमन्यास्टिक, ह्याण्डबल, सफ्टटेनिस, सेपाताक्रो, स्क्वास, उसु, जुडो, ‘फुलकन्ट्याक्ट’ कराते, पौडी, हक्की, भारत्तोलन, गल्फ, साइक्लिङ, ट्रायथलन प्याराग्लाइडिङ, आर्चरी, फेन्सिङ, कबड्डी, आइटिएफ तेक्वान्दोे, बास्केटबल, कराते, बुद्धिचाल र कुस्तीलगायत केही प्रदर्शनी खेलविधा समेटिएको छ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता आयोजक समितिका सदस्यसचिव फणिन्द्र पौडेलका अनुसार प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला खेलाडीको समेत सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडी प्रशिक्षण र तयारीका लागि केन्द्रीय सरकारले प्रत्येक प्रदेशलाई रु ४९ लाख रकम उपलब्ध गराएको थियो । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा यसपटक रु १० लाखको लागतमा ‘रनिङ ट्रफी’ तयार गरिएको छ । प्रतियोगिता गर्न सङ्घीय सरकारले रु ६० करोड बजेट निकासा गरेको थियो । प्रदेश सरकारबाट पनि प्राथमिकताकासाथ रकम विनियोजन गरिएको छ । प्रतियोगिता ऐतिहासिक र भव्यरूपमा सम्पन्न गर्र्न १३ विभिन्न विषयगत समिति गठन गरी सहभागिता, समन्वय र सहजीकरणको काम भइरहेको छ । विगतमा सङ्घीय संरचनाको ढाँचामा हुँदै आएको प्रतियोगिता पहिलोपटक यसपटक प्रादेशिक संरचनामा हुन लागेको हो । प्रतियोगिताबाट नयाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान र छनोट हुने अपेक्षा गरिएको छ ।
पोखरा : गण्डकी प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आज सम्पन्न दुई खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र सुदुर पश्चिम प्रदेश बिजयी भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धाको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । यसैगरी दोस्रो खेलमा सुदुरपश्चिमले घरेलु टोली गण्डकी प्रदेश माथि छ विकेटको जित निकालेको खेलमा बागमतीले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा ८९ रन जोडेको थियो । जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर जितको लक्ष्य भेट्टायो । एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाउनुभयो । बागमतीको तर्फबाट अस्मिना कर्माचार्यको अविजित १९ तथा सुमन खतिवडाको १९ रनको पारी खेल्नुभयो । एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक ÷एक विकेट लिनुभयो । बागमतीका बलरहरू सोनी पाख्रिन र सुमन खतिवडाले समान दुईरदुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिनुभयो । यसैगरी घरेलु टोली गण्डकी प्रदेशलाई छ विकेटले सुदुरपश्चिमले पराजित ग¥यो । पहिला व्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको क्षतिमा ५९ रन बनायो । गण्डकीको तर्फबाट श्रृष्टि जैशीले २८, ज्योत्स्निका मरासिनीले सात, सिमाना केसीले छ, सिला क्षेत्रीले अविजित छ रन बनाउनुभयो । सुुदुर पश्चिमको बलिङतर्फ रितु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एकरएक विकेट लिनुभयो । जितका लागि ६० रनको लक्ष्य सहित मैदान उत्रिएको सुदुर पश्चिमले १० दशमलव दुई ओभरमा चार विकेट गुमाउँदा विजयी लक्ष्य प्राप्त ग¥यो । सुदुर पश्चिमको व्याटिङमा रितु कनौजियाले २० बलको सामना गर्दै तीन चौकाको मद्धतमा २२ रन बनाउनुभयो । यसैगरी स्नेहा महराले २७ बलमा चार चौका सहित २१ रन जोड्नुभयो ।
गण्डकी : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ । प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल र फेन्सिङ सोमबारबाट सुरु भएको छ । प्रतियोगिताका लागि आएका खेलाडीको चहलपहलले यतिखेर पर्यटकीय नगरी पोखरा खेलमय बनेको छ । कूल ३६ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुदमा क्यानोनिङ र छेलोको प्रदर्शनी खेल समेत हुने जनाइएको छ । प्रतियोगिता हुने खेलमध्ये अधिकांश पोखरामा नै हुनेछन् भने अन्य गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा हुनेछन् । विसं २०३८ देखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकद सम्पन्न गरेको पोखराले चार दशक पछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको हो । आठ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षकसमेत गरी करिब १० हजार व्यक्ति सहभागी हुने प्रतियोगिता आगामी असोज २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । कात्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवम् राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिनुभयो । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधार लगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यस पटक कुनैपनि प्रतियोगिता हुनेछैनन् । सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली संघ(एनआरएन) गरी कुल ११ टिमबीच प्रतिष्पर्धा हुनेछ । स्वर्ण ३९३, रजतः ३९३ र कास्य ६०० पदकाका लागि प्रतिष्पर्धा हुनेछ । खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिमन्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रङ्गशालमा हुनेछ । यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ । । आर्चरी, फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ । रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ । पोखरा र बाहिरका खेलमैदान राष्ट्रिय खेलकुदका लागि तयारी अवस्थामा रहेको संयोजक गुरुङले जानकारी दिनुभयो । राससका वरिष्ठ सहायक समाचारदाता रामबहादुर थापाका अनुसार बाग्लुङमा आइटिएफ तेक्वान्दोे प्रतियोगिता हुनेछ । सदरमुकामस्थित बागलुङ तेक्कान्दो संघको कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि खेलस्थल सुधार, साजसज्जादेखि खेलाडीका लागि होटल व्यवस्थापनसम्मको काम भइरहेको छ । शनिबार विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिने आइटिएफका केन्द्रीय सचिव एवम् बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । “प्रतियोगिता कात्तिक २ गतेसम्म चल्छ, मौसमले साथ दियो भने कभर्डहल बाहिर पनि खेल सञ्चालन गर्ने गरी तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “सात प्रदेश र तीन विभागीय टिमका गरी झण्डै तीन सय खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन् ।” नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा गठित ५१ सदस्यीय प्रतियोगिता व्यवस्थापन समितिले व्यवस्थापकीय तयारीका कामलाई अघि बढाएको हो । गण्डकी प्रदेशका आइटिएफ प्रशिक्षक आकाशचन्द्र घर्तीमगरले प्रतियोगितामा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा प्रतिस्पर्धा हुने बताउनुभयो । विभिन्न उमेर र तौल समूहका खेलाडीले प्रतियोगितामा भाग लिनेछन् । “गण्डकी प्रदेशबाट १४ पुरुष र ११ महिला खेलाडी भाग लिँदैछन्, खेलाडी अहिले बन्द प्रशिक्षणमा छन्”, प्रशिक्षक घर्तीले भन्नुभयो, “आठौँ राष्ट्रिय खेलकुदमा भन्दा यसपालि गण्डकीले नतिजा सुधार्ने अपेक्षा छ ।” नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा गण्डकीले एक स्वर्ण र सात रजत पदक हात पारेको थियो । नवौँमा आइटिएफ तेक्वान्दोतर्फ २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा भएपनि जिल्ला तहमासमेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन् । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष लोकेन्द्र केसीले प्रतियोगिताले खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताउनुभयो । खेलाडीलाई नजिकका पर्यटकीय गन्तव्यस्थल घुमाउन समितिले सहजीकरण गर्ने उहाँको भनाइ छ । “राष्ट्रिय खेलकुदअन्तर्गतको प्रतियोगिता बागलुङमा आयोजना हुनु हाम्रा लागि महत्वको विषय हो, व्यवस्थापन र आतिथ्यतामा जिल्लाले कुशलता देखाउने मौका आएको छ”, उपाध्यक्ष केसीले भन्नुभयो, “देशभरबाट खेलाडी आउँदा जिल्लाको चिनारी बढ्छ, आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ ।” प्रदेशका अरु जिल्लालाई पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको अपनत्व दिलाउन राष्ट्रिय खलेकुद परिषद्ले पोखरा बाहिरसमेत खेलस्थल छनोट गरेको हो । राससका दमौली समाचारदाता कृष्ण न्यौपानेका अनुसार जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगिता हुँदैछ । व्यास नगरपालिका वडा नं १ निर्मल माध्यमिक विद्यालय प्राङ्गणमा रहेको बास्केटबल कोर्टमा सञ्चालन हुने खेलको आवश्यक तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति तनहुँले जनाएको छ । खेल सञ्चालनका लागि खेलमैदान तयार भइसकेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार खेलमैदानमा रङ्गरोगन, सरसफाई गरिएको छ भने मैदान सम्याउनका लागि ढलान गर्ने कार्य गरिएको छ । यहाँ रहेको दुईवटा मैदानमा खेल सञ्चालन हुनेछ । “खेलमैदान तयार भइसकेको छ, खेलाडी राख्नका लागि होटलको व्यवस्थापन सकिएको छ,” पाण्डेले भन्नुभयो, “स्थानीय सरकार, टोलवासी, दमौलीवासी खेललाई भव्य रुपमा सम्पन्न गराउन आतुर छन् ।” खेलमैदान नजिक चेन्जिङ रुम, शौचालय तयार गरिएको छ । खेलका लागि खेलाडी, अफिसियल सहित एक सय ५६ जना दमौली आउनेछन् । खेलाडी र अफिसियलका लागि होटल व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्ले गरिसकेको छ । “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एउटा खेल तनहुँमा हुनु तनहुँवासीको गौरवको विषय हो”, पाण्डेले भन्नुभयो । खेलकुदलाई सुरक्षितरुपमा सम्पन्न गराउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग बैठक सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । शान्ति सुरक्षालाई चुस्त बनाउन जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको उहाँले बताउनुभयो । खेलको उद्घाटनको दिन दमौली बजारमा हरेक घर अगाडी घडा राख्ने, व्यानर राख्ने निर्णय गरिएको छ । प्रतियोगिता सम्पन्न गराउनका लागि व्यास नगरपालिका, विभिन्न टोल विकास संस्था, बजारवासीले प्रतिबद्धता जनाएका छन् । परिषद्का सदस्य एवं खेलस्थल उपसमितिका संयोजक राजेश गुरुङ सहितको टोलीले गत असोज ४ गते खेलमैदानको निरीक्षण गर्दै तनहुँमा महिला बास्केटबल खेल सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो । राससका वालिङ समाचारदाता तोलाकान्त बगालेका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्याङ्जा जिल्लाको वालिङमा महिला फुटबल प्रतियोगिता हुनेछ । वालिङ नगरपालिका वडा नं ८ स्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरीबहादुर ९मोहन० गुरुङले जानकारी दिनुभयो । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुदका कार्यक्रम हुने भएपनि महिला फुटबल भने एकदिनअघि असोज २७ गतेबाट सञ्चालन हुने भएको हो । असोज २७ गते बिहीबारबाट प्रतियोगिता शुरु हुने भएपछि भोलिसम्ममा सबै खेलाडीहरु वालिङ आईसक्ने उहाँले जानकारी दिनुभयो । वालिङ आउने अफिसियल, प्रशिक्षक, खेलाडी सबैलाई होटल व्यवसायीहरूसँगको समन्वयमा आवाशको व्यवस्थापन मिलाईएको छ । वालिङमा रहेको खेलमैदानलाई जिल्ला समन्वय समितिको पहलमा विशेष गरी वालिङ नगरपालिकासहित जिल्लाका एघार वटै पालिकाहरूको सहयोगमा दुबो लगाइएको छ । प्रतियोगिताका लागि अहिले खेल मैदान ब्यवस्थित गर्ने, तारबार गर्ने, झण्डाहरू राख्ने लगायतका काम भइरहेको उहाँले जानकारी दिनुभयो । राससका पर्वत समाचारदाता लक्ष्मीप्रसाद सापकोटाका अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पर्वत जिल्लामा सञ्चालन हुने कराँतेको तयारी पूरा भएको छ । खेल सञ्चालन हुने भवनको भौतिक पूर्वाधारको काम सम्पन्न हुने चरणमा रहेको पुगेको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले जानकारी दिनुभयो । त्यसैगरी खेलाडीहरूका लागि होटल बुकिङ्गको काम भैसकेको छ । प्रतियोगिताको अफिसियल टिम पर्वत आइपुगेर आवश्यक तयारीमा लागिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता कुश्मा बजारको बगाउँस्थित जिल्ला खेलकुद विकास समितिको हलमा सञ्चालन हुने र अधिकांश तयारी पूरा भएको राम श्रेष्ठले जानकारी दिनुभयो । करातेतर्फ चार प्रदेश तथा आर्मी, प्रहरी, सशस्त्र प्रहरी तथा एनआरएनए सहित ११ वटा टिमले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगितामा ११ वटै टिमबाट ३२ जनाका दरमा करिब चार सय खेलाडी, हरेक टिमका दुई÷दुई जना कोच, राष्ट्रिय र अन्तर्राष्ट्रिय कोचसमेत गरी एक सय ३० जना अफिसियलको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा सहभागि हुने खेलाडीहरू भने असोज २८ गते कुश्मा आइपुग्ने र उनीहरूका लागि विभिन्न होटलहरूमा खान बस्नको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । त्यसैगरी खेलाडीलाई नेपालकै अग्ला र लामा पुलहरु, विश्वकै अग्लो बञ्जी, विश्वकै लामो सुपरम्यान शैलीको जीपलाईलगायतका पर्यटकीय स्थलहरूको दृश्यावलोकनको व्यवस्था पनि मिलाईएको छ । पर्वत जिल्लामा हालसम्म राष्ट्रियस्तरका प्रतिष्पर्धा भएका छैनन । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको कराँते खेल पर्वतमा आयोजना हुँदा पर्वतको खेलकुद तथा पर्यटन क्षेत्रको बिकासमा ठूलो सहयोग पुग्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले बताउनुभयो । म्याग्दी समाचारदाता सन्तोष गौतमका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गरे पनि बजेट र खेल सामग्री नआएको जनाएको छ । समितिका अध्यक्ष दिनेश केसीले राष्ट्रिय खेलकुद परिषद्ले बिनियोजन र पदाधीकारीले घोषणा गरेको बजेट समयमा जिल्लामा नपठाउँदा तयारीका साथै व्यवस्थापन गर्न समस्या भएको जानकारी दिनुभयो । भलिबल सञ्चालन हुने बेनीको खुल्ला मञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र प्याराफिट रङ्गरोगन गरिएको छ । बेनी नगरपालिकाले बनाएको खुल्लामञ्चको प्याराफिटमा रेलिङ हालेर रङ्ग लगाइएको छ । राखेपले पहिलो चरणमा तयारीका लागि रु। पाँच लाख बजेट पठाउने घोषणा गरेपनि नपठाएको अध्यक्ष केसीले बताउनुभयो । बेनी नगरपालिका लगायत जिल्लाका स्थानीय तह र समितिको आन्तरिक स्रोतबाट अहिलेसम्म तयारी गरेपनि राखेपबाट बजेट नआउँदा थप तयारी गर्न समस्या भएको छ । महिला भलिबलमा सहभागि हुने गण्डकी, बाग्मती प्रदेश, नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेका जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो । तेक्वान्दोका खेलाडीहरू २६ गतेसम्म बेनी आइपुग्ने समितिले जनाएको छ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना म्याग्दीमा आउदैछन् । होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन भएको छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाई, झाँकी प्रदर्शनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन् । गोरखा समाचारदाता दीपक श्रेष्ठका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा हुन लागेको बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यहीँ असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म गोरखा सदरमुकाम स्थित गोरखा क्याम्पसको हाताभित्र भित्र हुन लागेको प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण लगायतका व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्न्यात जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने खेलाडी, अफिसियल तथा व्यवस्थापकका लागि होटल व्यवस्थापन, प्रतियोगिता हुने स्थानमा आबश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो । कूल ११ टिमको सहभागिता हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, तीन विभागीय टिम तथा एक गैर आवासीय सङ्घको टिमले भाग लिनेछन् । हरेक टिमबाट तीन महिला र तीन पुरुष गरी कूल ६६ जना तथा नेपालका नेशनल च्याम्पियन पुरुषतर्फका खेलाडी, महिलातर्फका राष्ट्रिय च्याम्पियन खेलाडी तथा उच्च वरियताका पुरुष खेलाडीको पनि प्रतियोगितामा सहभागिता रहने अध्यक्ष बस्न्यातले जानकारी दिनुभयो । त्यसबाहेक अफिसियल र व्यवस्थापकहरुको प्रतियोगितामा सहभागिता रहने उहाँले बताउनुभयो । प्रतियोगिताको खेल तालिका भने प्राप्त हुन बाँकी रहेको उहाँको भनाइ छ । कावासोती समाचारदाता राजु चापागाईका अनुसार पूर्वी नवलपरासीमा नवौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लामा कुस्ती र सेपाताक्रोको प्रतियोगिता हुने र त्यसको तयारी तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको कुस्तीतर्फ एक सय ५८ र सेपाताक्रो तर्फ ८४ जना गरी दुई सय ४२ जना खेलाडीले भाग लिने उहाँले बताउनुभयो । प्रतियोगिताको कुस्ती थारु राष्ट्रिय सङ्ग्रहालय डन्डा र सेपाताक्रो कावासोतिस्थित योङ्ग स्टार क्लबको कभर्डहलमा हुनेछ । असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म खेल हुने जनाइएको छ ।
गलकोट : गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो खेल बागलुङमा हुँदै छ । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताअन्तर्गत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लामा आयोजना गरिएको सो प्रतियोगिताअन्तर्गत आइटिएफ खेलको प्रतिस्पर्धा बागलुङमा गर्न थालिएको छ । यही असोज २८ र २९ गते बागलुङ बजारको बाङ्गेचौर खेलमैदानस्थित कर्भडहलमा आयोजना गर्न थालिएको नवौँ राष्ट्रिय आइटिएफ खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता बनाइएको आइटिएफका केन्द्रीय सचिव तथा बागलुङ नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । “राष्ट्रिय खेलकुद प्रतियोगिता बागलुङमा पहिलोपटक हुँदैछ, त्यसमध्ये बागलुङे खेलाडीको रोजाइ रहेको आइटिएफ खेल जिल्लामा हुँदैछ, हामीले प्रतियोगिताको तयारी तीव्र बनाएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय पालिका बागलुङ नगरपालिकाले स्थानीय व्यवस्थापनमा आइटिएफ तेक्वान्दो प्रतियोगिता गर्दैछौँ, प्रतियोगिताका लागि ५१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।” उहाँका अनुसार बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिले प्रतियोगितामा आएको खेलाडीको व्यवस्थापन गर्ने र उद्घाटनसत्रलाई भव्य बनाउने तयारी गरेको छ । आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका दुई सय ५० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता २१ स्वर्ण, २१ रजत र ५६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा ४५ रेफ्री सहभागी हुनेछन् । खेलको खर्च नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले व्यहोर्ने छ भने स्थानीय व्यवस्थापनको खर्च बागलुङ नगरपालिकाले गर्ने बागलुङ नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । बागलुङका लागि राष्ट्रिय प्रतियोगिता गर्ने सौभाग्य प्राप्त भएको जनाउँदै तयारीमा जुटेको उहाँले बताउनुभयो । खेलको मुख्य समारोह यही असोज २९ गते बागलुङको कला, संस्कृति झल्काउने झाँकी, बाजागाजा र कला संस्कृतिसहितको हुनेछ । प्रतियोगिताका लागि बागलुङस्थित बाङ्गेचौर खेलमैदानसहित रहेको कर्भडहल मर्मत गरिएको र बाहिरको प्राङ्गणलाई सुधार गरिएकोे जिल्ला खेलकुद विकास समितिका अध्यक्षकुमार खड्काले बताउनुभयो । जिल्लामा आइटिएफमा सर्वाधिक बढी खेलाडी हुनु र राष्ट्रिय प्रतियोगितासमेत बागलुङमा आयोजना हुने भएकाले खेलाडी वर्गमा उत्साह छाएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भएको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा बागलुङले ८५ पदक प्राप्त गरेको थियो । यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालनमा आउने सो प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा बागलुङले ४४ स्वर्ण, २२ रजत र १९ कास्य पदक प्राप्त गर्न सफल भएको हो । जिल्लाले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा आइटिएफ तेक्वान्दोमा सबैभन्दा बढी पदक प्राप्त गरेको छ । सो प्रतियोगितामा १७ स्वर्ण, दुई रजत र दुई कास्य पदक प्राप्त गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
पोखरा : प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदको पूर्व सन्ध्यमा अवकाश पाएका छन् । ६० वर्षे उमेर हदबन्दीका कारण सदस्य सचिव गुरुङले अनिवार्य अवकाश पाएका हुन् । खुला प्रतिष्पर्धा मार्फत १९ महिना अघि प्रदेश खेलकुद परिषद गण्डकीको स्थापना संगै चार वर्षका लागि गण्डकी प्रदेश सरकारबाट नियुक्ती पाएका थिए । गण्डकी प्रदेशमा ३९ वर्ष पछि आयोजना हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदको तयारी र प्रतियोगिता चलिरहँदा गुरुङको अवकाश संगै प्रदेश खेलकुद परिषद भने नेतृत्व विहिन हुन पुगेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको कार्यकारी तहबाट अवकाश पाउनु अघि एक पत्रकार सम्मेलनको आयोजना गरी सदस्य सचिव गुरुङले भने यसलाई नियमित प्रक्रिया रहेको बताए । उनले भने–“१९ महिनाको अवधिमा प्रदेशको खेलकुदलाई चुनौतीपूर्ण घडिमा स्थापित गर्न हामीले जुन भूमिका खेल्यौं त्यो महत्वपूर्ण र उपलव्धिमुलक रहेको छ ।” आफूले अवकाश पाउनु भन्दा तिन महिना अघिनै प्रदेश सरकारलाई यस विषयमा जानकारी गराएको बताउँदै आफ्नो कार्यकालको अन्तिम समय सम्म सक्रिय रुपमा कार्य गरेको उनले बताए । अवकाश हुनु अघि सदस्य सचिव गुरुङले जारी गरेको प्रेस विज्ञप्तीमा भनेका छन्–“हाम्रो समाज र नेतृत्वले खेलकुद प्रतिको बुझाई धेरै सकारात्मक नभई सकेको अवस्थामा हाम्रा श्रोतमा धेरै सिमितता रहन्छ भन्ने कुरामा पूर्व अनुमान रहेकै विषय थियो ।” उनले भनेका छन्–“जुन हाम्रो निम्ति प्रमुख चुनौती थियो । तर त्यो चुनौतीलाई चिर्दै हामीले उपलव्धीमुलक रुपमा प्रदेशको खेलकुदलाई चलायमान बनाउन भूमिका मात्रै खेलेनौं निश्चित गन्तव्य र त्यहाँ पुग्नका लागि ठोस रणनितिक योजना तय ग¥यौं ।” खेलकुदका लागि पोखरा राम्रो आयोजक र व्यवस्थापक रहेको तर समग्र खेलकुदको नतिजाको दृष्टिकोणले नतिजामुखी बन्न नसकेको तितो यथार्थ रहेको बताउँदै सदस्य सचिव गुरुङले यसका लागि भिजन र मिसन समेत तयार गरी चार खम्वे रणनितिक योजनाहरुका साथ अघि बढेको बताए । प्रदेशको भिजन स्टेटमेन्ट–‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’लाई सर्वव्यापी बनाउन प्रयास गरिएको उनले उल्लेख गरे । सोही परिणाम अनुसार उत्कृष्ट खेलाडी उत्पादन र शुनिश्चित जिवन शैली, अनुशन्धनात्मक कार्य, सबैका लागि खेलकुद, क्षमता अभिवृद्धि र सुशासन, पूर्वाधार एवं श्रोत परिचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न गरी उपलव्धिमुलक रुपमा नतिजा प्राप्त गरिएको उनले दावी गरे । अवकाश पाउनु अघि सदस्य सचिव गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, निवर्तमान मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङ, यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ प्रति आभार प्रकट गरेका छन् । आफ्नो १९ महिने कार्यकालमा सहयोग गर्नेहरु प्रति समेत सदस्य सचिव गुरुङले धन्यबाद दिंदै नेपाली समाजलाई खेल क्षेत्रको माध्यमद्वारा रुपान्तरण गर्न सकिन्छ भन्ने दृढ विश्वास सहित खेल क्षेत्रमा अघि वढि रहने प्रतिवद्धता समेत व्यक्त गरे । सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ र सदस्य सचिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीले प्रकाशित गरेको ‘खेल्छ गण्डकी’ बुलेटिन संयूक्त रुपमा विमोचन गरेका थिए ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आयोजित फेन्सिङको पहिलो स्वर्ण बागमती प्रदेशकी शिक्षा नापितले जितेका छन् । उनले व्यक्तिगत सेबर तर्फको इभेण्टमा शसस्त्र प्रहरी बलकी उर्मिला लामालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । उनी पोखरामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी समेत बनेकी छन् । नेपाल आर्मीका रविना थापा र आर्मीकै मनिषा तेस्रो स्थान रहँदै कास्य पदकमा चित्त बुझाए । प्रतियोगिता ईपी, फोयल र सेबर इभेण्टमा व्यक्तिगत र टिम इभेण्टमा प्रतिस्पर्धामा गर्ने छन् । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् । नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो । ह्याण्डबल तथा फेन्सिङ प्रतियोगिताको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका थिए । उनले विश्वमा खेलकुद मात्रै स्वस्थ्य प्रतिस्पर्धा हुने जिकिर गरे । प्रतियोगितामा सहभागित खेलाडीहरुलाई विजयीको शुभकामना समेत व्यक्त गरे ।
पोखरा ः नवौँ राष्ट्रिय खेलकुुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो । १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो । वर्षातका कारण बाँकि खेल सम्भव नभएपछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो । खेल रोकिनु अघि कर्णाली प्रदेशले ७ विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दिक्षा पुरीले सर्वाधिक ७ रन बनाएकी थिइन् । दिव्या रानाले ३, करिश्मा राइले १ रन जोड्दा कर्णालीका ५ जना शुन्य रनमै आउट भए । पुलिस क्लबकी सवनम राई, संगीता राई, कविता जोशी, इश्वरी विष्ट र हिरनमाय रोयले समान १ विकेट लिए। । टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित १६ ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला शुरु भएको खेलमा ४ ओभर घटाइएको थियो । पुलिसका लागि सम्झना खड्काले २१ बलमा २ चौकाको मद्धतमा २५ रन बनाइन् । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कविता र काजल दुवैले समाज १६ रन बनाएका थिए । रेवती धामिले १४ रन बनाइन् । कर्णाली प्रदेशका लागि अन्जु गुरुङले ३ तथा बिना थापा र एञ्जिला क्षत्रीले समान १ विकेट लिए । खेलमा पुलिसका सम्झना खड्का प्लेयर अफ द म्याच भइन् ।
पोखरा : पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ । प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरे । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन् । विभागीय टोली नेपाली आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् । तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । ईपी, फोयल र सेबर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा भईरहेको छ । राउण्ड रोविनमा सवार्धिक अंक ल्याउने खेलाडी अर्को चरणमा प्रबेश गर्ने कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए ।
कास्की : गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेलहरू आजदेखि सुरु भएको छ । प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सुरु भएको क्रिकेटको उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेशलाई पराजित गर्दै मधेस प्रदेशले विजयी सुरुआत गरेको छ । मधेसले आयोजक गण्डकी प्रदेशमाथि ४० रनको फराकिलो अन्तरको जित दर्ता गर्न सफल भयो । मधेसले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमात्र जोड्न सफल भयो । खेलमा टस जितेर गण्डकीले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो । गण्डकीका शिला क्षेत्रीले सर्वाधिक दश रन जोड्नुभयो । ओपनर सिर्जना पौडेलले ३६ बलको सामना गर्दै सात रन बनाउनुभयो । मधेसका अनुराधा चौधरीले चार विकेट लिनुभयो । कविता गौतम र शान्ति चौधरीले समान दुई–दुई विकेट लिँदा सन्तोषी चौधरीले एक विकेट लिन सफल हुनुभयो । मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिनुभयो । मधेस प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृति तिवारी एक्लैले तीन विकेट लिनुभयो । कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षेत्रीले समान एक–एक विकेट लिनुभयो । खेलमा मधेसका अनुराधा चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । महिला क्रिकेटमा नौ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् । यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र राष्टिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बलिङ व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सदस्यसचिव घिसिङले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुद सफल पार्न सबै प्रदशेवासीमा आग्रह गर्नुभयो । नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिकरूपमा गण्डकीका आठ जिल्लामा हुँदैछ । समय अभावका कारण केही खेल प्रतियोगिता औपचारिक सुरु हुनुअगावै सञ्चालन गरिएको हो । राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् ।

