पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

साफ यू-२० च्याम्पियनसिप फुटबलमा आज नेपालले  तेस्रो खेल घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वर स्थित कालिंगा रङ्गशालामा जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ ।   भारतलाई हराएमा नेपालले फाइनल यात्रा तय गर्नेछ । नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो प्रदर्शन गरिरहेकोले जित निस्कनेमा विश्वास ब्यक्त गर्नुभएको छ । ‘‘भारत घरेलु टोली हो । तर, हाम्रो खेलाडीको मनोबल उच्च छ । हामी सबै खेल जित्दै अगाडि बढ्न चाहन्छौं,’’ केसीले भन्नुभयो । नेपाल र भारतबीचको खेल साँझ ७ः१५ बजे सुरु हुनेछ ।    उपाधि चुम्ने लक्ष्यका साथ भारत गएको नेपालले अघिल्ला दुई खेलमा लगातार जित निकालेको छ । नेपालले यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलङ्कालाई ३-० गोलले पराजित गरेको थियो । पाँच टोली सहभागि प्रतियोगितामा नेपाल तालिकाको दोस्रो स्थानमा छ । नेपालले दुई खेलबाट ६ अङ्क बनाएको छ । तीन खेलमा अपराजित रहेको बङ्गलादेश ९ अङ्कसहित शीर्षस्थानमा छ ।   यता अघिल्ला दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको भारतका लागि नेपालसँगको खेल महत्वपूर्ण छ । भारत पनि नेपाललाई रोकेर अगाडिको यात्रा कायम राख्ने दाउमा छ । दुई खेलबाट तीन अङ्क बनाएको भारत तेस्रो स्थानमा छ ।   माल्दिभ्स र श्रीलङ्काले भने अङ्कको खाता खोल्न सकेका छैनन् । नेपालले लिग चरणको अन्तिम खेल मङ्गलबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच शुक्रबार फाइनल प्रतिस्पर्धा हुनेछ । 

  पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय  घाटा लागेको छ ।   प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकामा खर्च रु ६९ लाख ८९ हजार भएको क्लबले जनाएको छ ।    कोभिड-१९ को सङ्क्रमणका कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएको प्रतियोगितामा रु १२ लाख ६२ हजार आठ सय २६ नोक्सान भए पनि विषम् परिस्थितिलाई मध्यनजर गरी सहारा हङकङबाट रु पाँच लाख एक हजार, सहारा युकेबाट रु तीन लाख र सहारा अष्ट्रेलियाबाट रु एक लाख थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको अर्थ सङ्कलन उपसमिति संयोजक सुनिल गुरुङले बताउनुभयो ।   प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्स्बाट रु १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषद्बाट रु पाँच लाख, राष्ट्रिय खेलकुद परिषद्बाट रु चार लाख ९२ हजारसहित विभिन्न सङ्घ संस्थाबाट सहयोग प्राप्त भएको थियो ।   यसैगरी खेलाडी दैनिक भ्रमण खर्चमा रु २७ लाख ४८ हजार एक सय ५०, टिम प्रोत्साहन खर्च रु १७ लाख ९३ हजार नौ सय ५०, रेफ्री खर्च रु चार लाख २६ हजार आठ सय ८५, प्रचारप्रसार, आयोजक टिम तयारीलगायत शीर्षकमा खर्च भएको क्लबले जनाएको छ । गत माघ ६ देखी १५ गतेसम्म २० औँ संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो ।    प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ फुटबल क्लबले जित्दा मनाङ मस्र्याङ्दी फुटबल क्लब उपविजेता बनेको थियो । सहाराले फुटबल प्रतियोगिता आयोजनाबाट सङ्कलित रकमबाट सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ ।

मुस्ताङ:  पोखरा आफ्नो क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्ने सपना प्राय सबै नेताको हुन्छ ।    गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले आफ्नो क्षेत्रमा विकास निर्माणका कार्य मात्रै गरेनन् । उनले उपल्लो मुस्ताङको लोवान्थाङमा गल्फ कोर्स निर्माण गर्नका लागि निकै कसरतमा लागिपरेका थिए ।    फलस्वरुप परिक्षण पनि सफल भैसकोको छ । उनी यतिबेला गल्फमै व्यस्त देखिएका छन् । गल्फ कोर्समै रमाइरहेका छन् ।   उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको लोवाथाङमा अवस्थित गल्फकोर्स नेपालकै सबैभन्दा उच्च स्थानको कोर्स हो । प्रदेश सांसद विष्टका अनुसार उक्त गल्फ कोर्स समुन्द्री सतहदेखि ४ हजार ६ सय ४५ मिटर उचाइमा रहेको छ । यो नेपालको हाई अल्टिच्युडमा भएको पहिलो कोर्स हो ।   पोखरा, चितवन र धरानमा १÷१ वटा, काठमाडौँमा ३ र अहिलेको उपल्लो मुस्ताङमा थपिएको १ गरि कुल नेपालमा ७ वटा गल्फ कोर्स रहेका छन् । नेपालको सबैभन्दा उचाइमा रहेको उपल्लो मुस्ताङको गल्फ कोर्समा यतिबेला   गल्फरहरु तथा प्रदेश सांसद इन्द्रधारा विष्ट रमाइरहेका छन् ।  १५ तस्बिरमा हेरौं, सांसद विष्ष्टको गल्फ मोह ।   तस्बिर: राकेश थापामगर                            

काठमाडौँ  :   साफ यू(२० च्याम्पियनसिप अन्तर्गत बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक पनि पुगेको छ ।   भारतको भुवनेश्वर स्थित कालिंगा रंगशालामा नेपाललाई लगातार दोस्रो जित दिलाउने क्रममा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले १–१ गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि नेपालले दोस्रो हाफमा आक्रमण रणनीति बुन्दै जित पक्का गरेको हो । लगातार दोस्रो जित दर्ता गरेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।   खेलको २३ औं मिनेटमा मुहमेधु मुन्सिफले श्रीलंकालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । उनले अफसाइड ट्रयाप बिट गर्दै अघि बढाएको बल वन भर्सेस वनको स्थितिमा प्रहार गर्दा पोस्टमा लागेर बाहिरिएको थियो ।   खेलको २९ औं मिनेटमा नेपालले गोल गरेपनि रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । कर्नरबाट आएको रिबाउन्डमा अजय चौधरीको शक्तिशाली प्रहार श्रीलंकाको डिफेन्डरलाई लाग्दै गोल भएको थियो । तर रेफ्रीले त्यसअघि नै रिबाउन्डमा जुध्ने क्रममा आशिष राईबाट फल भएको निर्णय दिए ।   ४४ औं मिनेटमा कप्तान आयुष घलानको लामो फ्रिकिकमा सुगम सुवालको हेडर पोस्टभन्दा थोरै बाहिर गयो । खेल दौरान कालिंगा रंगशालामा पटक पटक फ्लड लाइट बन्द हुँदा खेल रोकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि नेपालले मनग्य नकर्मीलाई दोस्रो हाफमा मैदान प्रवेश गराएको थियो ।   ५२ औं मिनेटमा मोहमद साहिलको हेडर पोस्टमा लागेर फर्कंदा नेपाल पछि पर्नबाट जोगियो । कप्तान थेसान थुस्मिकाको लामो थ्रो इनलाई साहिलले ६ यार्ड बक्सनजिकबाट फ्लिक हेडर गर्दा गोलरक्षक इश्वर गुरुङ बिट भएका थिए ।   खेलको ५९ औं मिनेटमा कप्तान आयुषले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । अभिषेक वाइबाको क्रसलाई गोलरक्षकले पन्च गरेपछि आएको बललाई आयुषले गोलमा परिणत गरेका थिए । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको पहिलो टचकै प्रहार गोल भएको थियो ।   अग्रता लिएको केही मिनेटमा नै नेपालले कृतिशको गोलमा अग्रता दोब्बर पार्यो आयुषकै पासमा कृतिशले दोस्रो गोल गरे । आयुषले पेनाल्टी क्षेत्र भित्रबाट दिएको लेअपलाई कृतिशले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट पहिलो टचमै टप कर्नरमा गोल गरेका थिए ।   खेलको ८४ औं मिनेटमा नेपालले ३-० को अग्रता लियो । सुगम सुवालको पासमा मनग्यले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गर्दै जित सुनिश्चित गरे । खेलको इन्ज्युरी समयमा गोलरक्षक इश्वर गुरुङले मुन्सिफको प्रहारलाई विफल पार्दै आफ्नो लगातार दोस्रो क्लिन सिट राखे ।

पोखरा ः   पोखरा महानगरपालिका २७ तालचोकस्थित काइट फुटसलमा सम्पन्न पहिलो संस्करणको ‘बिबिआर फाइभ ए साइड फुटसल प्रतियोगिता’ मा सन्देश मेमोरियल च्याम्पियन बनेको  छ ।    ‘स्वास्थ्य र भाइचाराका लागि खेलकुद’ भन्ने नारासहित विश्वास, भिषण एण्ड राहुल युनाइटेडले आयोजना गरेको फुटसल प्रतियोगितामा सन्देश मेमोरियलले ‘ट्वान्टी फाइभ के’ रत्नचोकलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेको सन्देश मेमोरियलले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार र उपविजेता बनेको ‘ट्वान्टी फाइभ के’ रत्नचोकले शिल्ड मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार प्राप्त गरे ।   प्रतियोगिताबाट प्रनिल रानाभाट सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका रुपमा सैनिक एफसीका सुजन भण्डारी र उत्कृष्ट गोलरक्षक  सन्देश मेमोरियलका विजय गुुरुङ घोषित हुदैं क्रमशः २५ सय , २ हजार र २ हजारसहित ट्रफी प्रमाणपत्र हात पारे ।    कुल २६ समुहको सहभागिता रहेको फुटसल प्रतियोगितामा ‘ए’ डिभिजन खेलाडी टिममा समावेश गर्नपाउने व्यवस्था रहेको थियो ।   सोही अनुरुप हिमालयन शेर्पा क्लबका खेलाडी भिषण गुुरुङ र व्रिगेड व्यााइज क्लबका रन्दिप पौडेल र राष्ट्रिय फुटसल टिमका  किशोर गुुरुङ, रोशन छन्त्याल र विजय श्रेष्ठले विभिन्न टिमबाट सहभागिता जनाएका थिए ।    ७ जना राष्ट्रिय खेलाडीलाई सम्मान   फुटसल प्रतियोगिताको अवसरमा ७ जना राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ ।    राष्ट्रिय फुटबल टोलीका  सुमित श्रेष्ठ (हाल साफ च्यापियनसीप खेल्दै भारतमा), फुटसल टिमका गोल रक्षक विश्वास क्षेत्री र फुटबल तर्फका हिमालय शेर्पा क्लबका मान बहादुुर तामाङ, र त्रिदेव गुुरुङ, मनाङ मस्र्याङ्दी क्लबका विमल राना, राष्ट्रिय फुटबल टोलीका गोलरक्षक दिप कार्की र अजित भण्डारीलाई सम्मान गरेको हो ।    यसैबीच कार्यक्रममा आदर्श क्लबका ७ जना जुनियर ७ जना खेलाडीहरुलाई जर्सी र बुट सहयोग गरिएको थियो ।    प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई गण्डकी फुटसलका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका सचिवालय सदस्य राजन गुुरुङ, भुतपूर्व आदर्श क्लबका क्या. बासुदेव गुुरुङ, चन्द्रधोज गुरुङ परिवार लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा:     ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनमा व्यस्त देखिएको छ ।     खेलस्थल व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोली तनहुँको शुक्लागण्डकी नगरपालिका–८, गणपतिस्थित खेलमैदानको अवलोकन गर्न पुगेको हो ।   शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थितिमा मैदानको निरिक्षण गरेका हुन् । गणपति खेलमैदानलाई क्रिकेट लागि उपयुक्त हुन सक्ने प्रदेश खेलकुद परिषदका सदस्य गुुरुङले बताए ।    संयोजक गुरुङले उक्त मैदानलाई निर्माण गर्नुपर्ने बताउदै फास्ट ट्रयाकमा काम गर्न आग्रह गरे । उनले मैदान निर्माणका लागि थोरै समय रहेको उल्लेख गर्दै यथाशिघ्र काम सुरु गर्नुपर्नेमा जोड दिए ।  उनले लआगामी १५ गते राष्ट्रिय खेलकुद परिषद बैठक बस्ने बताउदै त्यसपछि थप टुङ्गो लाग्ने बताए । ‘बोर्डको मिटिङ १५  गते छ । त्यसमा हामीले निरिक्षण गरेका मैदानहरुको स्थितिको बारेमा रिपोर्टिङ गर्छाैं ।  त्यसपछि कहाँ के खेलाउने भन्ने निर्णय हुन्छ । क्रिकेट प्रतियोगिताको लागि यो मैदानमा सम्भावना छ ।’ गुरुङले भने ।   रङ्गशाला बनाउने लक्ष्य छ: मेयर पण्डित शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले गणपति खेलमैदानलाई रङ्गशालाको रुपमा विकास गर्ने बताए ।   बुधबार स्थलगत अवलोकनमा पुगको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितको खेलस्थल व्यवस्थापन उपसमितिको टोलीसँग बोल्दै नगरप्रमुख पण्डितले तत्काललाई क्रिकेटको लागि मैदान निर्माण गर्ने प्रतिवद्धता जनाए ।   उनले उक्त मैदानलाई रङ्गशालाको रुपमा विकास गर्नका लागि नगरपालिकाबाट ५० र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख बजेट विनियोजन भएको बताए । ‘अहिले १ करोडको बजेट छ । यो मैदानलाई तत्काल क्रिकेटको लागि निर्माण गर्छाै त्यसपछि क्रमश  फुटबल र भलिबलको मैदानलाई पनि पूर्णता दिन्छौं, उनले भने, ‘ यदि मैदानहरु बन्यो भने जिल्लाको खेलकुद विकासमा सहयोग पुुग्छ ।’   गुरुङ नेतृत्वको टोली गत ४ दिनदेखि सम्भावित खेलस्थल अवलोकनमा निकै व्यस्त हुदै आएको छ । आज तनहुँ पुगेको टोली भोली (बिहिबार) स्याङ्जाको वालिङ मैदानको निरिक्षणका लागि पुग्ने छ । भने शुक्रबार म्याग्दीको यात्रामा निस्कने कार्यक्रम तय गरेको छ ।    यसअघि सो टोलीले टोलीले यसअघि पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे« गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको छ ।    आजै  (बुधबार) पोखरा २७ भण्डारढिकस्थित फुटबल मैदान र माछापुच्छे« क्रिकेट क्लबको खेलमैदान लगायतको निरिक्षण गरेको थियो ।    आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल मध्ये २ खेल काठमाडौं, ३४ खेल पोखरामा सञ्चालन  हुने र २ वटा खेल प्रदर्शन गर्ने राखेपले जनाएको छ । 

 काठमाडौँ:    नेपालले साफ यू २० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।   भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सोमबार भएको उद्घाटन खेलमा माल्दिभ्सलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । माल्दिभ्सविरुद्ध नेपाललाई सहज जित दिलाउन दिपेश गुरुङ, सुगम सुवाल, कृतिस रन्त छुन्जु र मनग्य नकर्मीले  एक एक गोल गरे । माल्दिभ्सविरुद्ध एकतर्फी खेल पस्किएको नेपालले ४२ औं मिनेटमा दिपेशको गोलबाट सुरुआती अग्रता बनायो ।   कप्तान आयुष घलानको फ्रि,किक माल्दिभ्सका गोलकिपर सैहन अलीले पन्च गर्दै क्लियर गरेका थिए । त्यहिँ बल नियन्त्रणमा लिदै दिपेशले करिब ३४ यार्डबाट उत्कृष्ट गोल गरे । दोस्रो हाफमा नेपालले थप दुई गोल गर्यो ।   खेलको ५८ औं मिनेटमा सुगमले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए  ।  खेलको ६२ औं मिनेटमा कृतिसले पेनाल्टीमा गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए । माल्दिभ्सका डिफेन्डरले कप्तान आयुसलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा कृतिस चुकेनन् ।   त्यसपछि खेलको इन्जुरी समयमा मनग्यले गोल गर्दै नेपाललाई ४-० को फराकिलो जित दिलाए । त्यसबाहेक नेपालले अन्य थुप्रै गोलको अवसर गुमाएको थियो । माल्दिभ्सले पनि केहि अवसरलाई खेर फालेको थियो । जितसँगै नेपालले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ ।   च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ ।   शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् । 

पोखरा:   ३९ वर्षपछि पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापनको जिम्मेवारी पाएको उपसमितिको टोली स्थलगत अवलोकनका लागि गोष्टेघाट पुगेको छ ।   खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले पोखरा १९ स्थित गोष्टेघाट खेलमैदानको स्थलगत अवलोकन गरेको हो ।   पोखरा महानगरपालिका १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, गोष्टेघाट खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भण्डारी, स्थानीय क्लबका पदाधिकारीहरुको उपस्थितिमा मैदानको निरिक्षण गरे । सो अवसरमा बोल्दै खेलस्थल व्यवस्थापन समितिका संयोजक गुरुङले उक्त मैदान हक्की र महिला फुटबलको लागि उपयुक्त हुने प्रतिक्रिया दिए ।    संयोजक गुरुङले आगामी १५ गते राष्ट्रिय खेलकुद परिषद बैठक बस्ने बताउदै त्यसपछि थप टुङ्गो लाग्ने बताए । ‘यही १५ गते बोर्डको मिटिङ छ । त्यसमा धेरै कुराहरु प्रष्ट हुन्छ । अहिले हामीले प्रारम्भिक रुपमा खेलमैदानहरु हेरिरहेका छौं । त्यसपछि कहाँ के खेलाउने भन्ने निर्णय हुन्छ । यो मैदानमा हक्की वा महिना फुटबलको सम्भावना छ ।’ गुरुङले भने ।   उनले ३७ खेल मध्ये २ खेल काठमाडौं हुने बताउदै ३५ खेल गण्डकी प्रदेशमै आयोजना गरिने जानकारी दिए । उनका अनुसार पूर्वाधारका कारणले सुटिङ र स्विमिङ काठमाडौंमा सञ्चालन गरिनेछ ।    गुरुङले सम्भवभएसम्म गण्डकी प्रदेशको ११ वटै जिल्लामा प्रतियोगिता आयोजना गरिने बताए । ‘पूर्वाधारहरु के कस्तो छ । त्यो हेरेर हामीले खेल खेलाउने हो । भन्न त सम्भव भएसम्म सबै जिल्लामा खेलाउने भनेका छौं तर यातायात र अन्य कारणले गर्दा केही चुनौती छ, उनले भने, ‘त्यसैले प्राय खेलहरु पोखरा र आसपासमै हुन्छ । हामीले यो भन्दा पहिले सहारा एकेडेमी र हेम्जाको गौरीशंकर खेलमैदान हेरिसकेका छौं । कहाँ के उचित हुन्छ । त्यही गर्ने हो ।’   फुटबल प्रतियोगिता गराउने स्थानीयको चाहना   गोष्टेघाट खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले सो मैदान फुटबल प्रतियोगिताको लागि उपयुक्त हुने बताए ।   उनले सरकारी तथा नीजिस्तरबाट करिब ६ करोड लागतमा सो मैदान निर्माण गरिएको बताउदै ७ हजार दर्शक क्षमतासहितको भिआइपी प्यारापिट रहेको बताए । ‘हाम्रो यो ग्राउण्डमा फुटबल प्रतियोगिता गर्न एकदमै उचित छ, उनले भने, ‘त्यसको लागि हामी तपाइहरुसँग समन्वय गर्न तयार छौं ।’ यसैगरि एन्फा कास्कीका सचिवसमेत रहेका गोष्टेघाट खेल मैदान व्यवस्थापन समितिका सचिव बुद्धि खत्रीले उक्त मैदान निर्माणको काम अन्तिम चरणमा रहेको बताए ।    उनका अुनसार भिआइपी प्यारापिट तथा चेन्जिङ भवनको संरचना खडा गरिएको छ । ‘संरचनाहरु सबै बनिसकेको छ । मैदान पनि अन्र्तराष्ट्रिय मापडण्ड अनुसार नै बनाएका छौ र यसमा ७ हजार दर्शकको क्ष्मता रहेको छ, उनले भने, ‘अब फिनिसिङको काम मात्रै बाँकी छ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको फुटबल यहाँ खेलाउने हो भने हामी समन्वय गर्न तयार नै छौं ।’   उनले फुटबल खेल आयोजना गर्ने उद्देश्यसहित निर्माण गरिएको मैदानमा फुटबल नै आयोजना गर्ने स्थानीको इच्छा रहेको बताए । ‘यो मैदान फुटबल खेलाउनकै लागि भनेर बनाइएको हो, उनले भने, ‘त्यसैले स्थानीयको पनि यहाँ नवौं राष्ट्रिय प्रतियोगिताको फुटबल नै होस् भन्ने चाहना छ ।’   खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेश कुमार गुरुङ नेतृत्वको टोलीले यसअघि पोखरा महानगरपालिका १७ दोविल्लास्थित सहारा एकेडेमीको खेलमैदान, पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान तथा माछापुच्छे्र गाउँपालिका ४ स्थित महेन्द्र माविको खेलमैदानको स्थलगत अवलोकन गरिसकेको छ ।   यद्यपी सम्भाव्यता अध्ययन गरेपनि कुन मैदानमा कुन खेल आयोजना गर्ने भन्ने आधिकारिक निर्णय भने आगामी १५ गते हुने बैठकपश्चात हुने बताइएको छ ।   आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३७ खेल मध्ये २ काठमाडौं र बाँकी ३५ खेल पोखरामा सञ्चालन गर्ने लक्ष्यसहित विभिन्न उपसमिति तयारीमा लागिरहेको छ ।

काठमाडौं:  नेपाल र माल्दिभ्सबीचको खेल आज हुदै छ । नेपाली युवा टोलीले आज साफ यू–२० च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको हो ।   नेपाल र माल्दिभ्सबीचको खेल भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ । नेपालले पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । पछिल्लो संस्करणको उपाधि भारतले जितेको थियो ।   प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउन्ड रोबिन लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुने बताइएको छ ।   टोलीमा को को छन् ? गोलकिपर – ईश्वर गुरुङ्ग, उनेश चौधरी, जियारथ शेख । डिफेन्डर – अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा । मिडफिल्डर – दिपेश गुरुङ्ग, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ्ग, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान । फरवार्ड – दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी ।