काठमाडौं: यस पटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २२औं संस्करणमा हुनेछ । यसअघिका संस्करणभन्दा यसपल्टको कार्यक्रम ठ्याक्कै एउटा कारणले छुटिन्छ । यो हो, आयोजक सहर रूपमा पोखरा । अहिलेसम्म जति पनि कार्यक्रम भए, ती काठमाडौंमै भए । अब भने कार्यक्रम केन्द्रीय राजधानीभन्दा बाहिर पुग्ने भएको छ । यस्तोमा प्रश्न हुन्छ, पोखरा नै किन त ? पोखरामा अवार्ड कार्यक्रम हुनुको अर्थ के हो त ? सम्भवतः यसको उत्तर भने सजिलो छ । घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो, राष्ट्रिय खेलकुद । यसको सुरुआत भएको थियो, २०३८ सालमा । त्यसयताको दोस्रो संस्करण २०४० मा पोखरामै भएको थियो । अहिले पनि राष्ट्रिय खेलकुदको इतिहास कोट्याउनुपर्छ, चार दशकभन्दा बढी समय अगाडि पोखरामा भएको त्यो प्रतियोगिता खुसी र गर्वले सम्झनेहरू धेरै छन् । पोखरा नै २०७९ पनि फेरि एकपल्ट नवौं राष्ट्रिय खेलकुद आयोजना भयोे । त्यसो त यो राष्ट्रिय प्रतियोगिताको मूल आयोजक राष्टिय खेलकुद परिषद थियो, तर पोखरा त्यसको मुख्य आधारस्थल थियो । त्यस अर्थमा पोखरा नेपाली खेलकुदको केन्द्र हो, खेलको भाषामा भन्दा ‘स्पोर्टस हब’ । पोखरासँग विशाल भौतिक संरचनाहरू रहेको छ । यत्तिको संरचना अन्यत्र पाइन्न भन्दा नै हुन्छ । अझ केही खेल पोखरामै मात्र हुन सक्ने स्थिति समेत छ । जस्तो केही साहसिक खेलहरू । त्यसमा सबैभन्दा अगाडि आउने नाम त ट्रायथलन र प्याराग्लाइडिङ नै भए । पोखराले केही असाध्यै नाम चलेका खेलाडी पनि जन्माएका छन् । तिनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । यस्ता खेलाडीको उत्पादनमा सहयोग पुराइरहेको छ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र यस्तै खालका स्पोर्टस अवार्ड कार्यक्रमले । विगतदेखि स्पोर्टस अवार्ड गर्दै आएको संस्था नेपाल खेलकुद पत्रकार मञ्च पनि हो । छोटकरीमा एनएसजेएफ । नेपाली खेलकुद पत्रकारको छाता संगठन मञ्चको नेपाली खेलकुदको सबैभन्दा ठूलो जिम्मेवारी भन्नु नै यो अवार्ड कार्यक्रमको आयोजना गर्नु हो । मञ्चको के मान्यता रहेको छ, यो अवार्ड कार्यक्रम अब काठमाडौंमै मात्र सीमित हुन्न । कार्यक्रम मोफसलमा हुने हो भने यो अवार्डको महत्व अझ बढ्नेछ । मञ्चको खास उद्देश्य त क्रमशः यो अवार्ड कार्यक्रमलाई सातै प्रदेशमा गर्ने रहेको छ, यसकै पहिलो खुड्किलो हो, पोखरा । मञ्चको के पनि तर्क रहेको छ, यो अवार्ड कार्यक्रम मोफसलमा पुगेपछि यसले एकातर्फ नेपाली खेलकुदको महत्व नजानिँदो तरीकाले बढ्ने छ नै, अर्कोतर्फ आम खेलाडीलाई स्टार हुनुको महत्व पनि थाहा हुनेछ । अहिलेसम्म जतिले यो अवार्ड जितेका छन्, त्यसमध्ये सबैको भनाइमा एउटा समानता पाइन्छ र यो हो, स्टार हुनुको अनुभव । मोफसलमा अवार्ड कार्यक्रम हुँदा त्यस क्षेत्रका खेलाडीले स्टारडम महसुस गर्नेछन् र यसैकै लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित हुनेछन् । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आईरहेको अवस्थामा यसपल्ट केन्द्रले गर्ने अवार्ड कार्यक्रम पहिलो पटक राजधानी बाहिर पोखरामा ल्याउनुमा महत्वपूर्ण भूमिका खेल्नेमा पर्छन्, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य । उनी आफै नेपाली खेलकुदलाई मन पराउने व्यक्ति हुन् । उनकै शब्दमा भन्ने हो भने पोखरामा अहिलेसम्म धेरै खाले गतिविधि भए । खेलकुदका ठुल्ठूला प्रतियोगिता भए, त्यसमा १३ औं दक्षिण एसियाली खेलकुद पनि पर्छ । अनि उत्तिकै संख्यामा साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका हुँदै आइरहेको छ । साथै नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा निरन्तर हुने पोखरा स्पोर्टस् अवार्डको १० औं संस्करण पनि वैशाखमा हुदैंछ ।
पोखरा: पोखरामा जारी २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस महिलातर्फ शिवाली गुरुङ च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा शिवालीले नेपाल शिर्ष वरियता प्राप्त सुनिरा थापालाई ६–३, ६–२ को सेटमा पराजित गर्दै उपाधि आफ्नों नाम गराउँदा सुनिराले दोश्रो स्थानमै चित्त बुझाइन् । मेन्स सिंगल्सतर्फ पनि नेपाल नम्बर १ खेलाडी प्रदीप खड्काको यात्रा सेमिफाइनलमै सिमित बनेको छ । उनलाई आयुष्मान हजुर घलेले २–१ को सेटमा पाखा लगाउँदै आफुलाई अन्तिम दुईमा उभ्याए । पहिलो सेट २–६ ले आफ्नो पक्षमा पारेका प्रदिपले दोस्रो र तेस्रो सेट क्रमश ६–४, ६–२ ले गुमाए । अर्को सेमीफाइनलमा भारतबाट आएका नेपाली खेलाडी करन बहादुर थापाले राजविर प्रधानलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरे । यो संगै प्रतियोगिताको मुख्य इभेण्ट मेन्स सिंगलको उपाधीका लागि आयुषमान र करणको भेट पक्का भएको हो । ५५ वर्ष भन्दा माथीको पुरुष एकलतर्फ चन्द्र शाही प्रथम भएका छन् । जिवन घिमिरेलाई ६–०, ६–४ ले पराजित गर्दै शाहीले उपाधी रक्षा गरेका हुन् । ४५ वर्ष माथी पुरुष सिंगल्समा कमल भण्डारीले फाइनलमा देव क्षेत्रीलाई ६–२, ६–० को सोझो सेटमा हराउँदै उपाधि जिते । ३५ वर्ष माथी सिंगल्समा पूर्व नेपाल नं १ जितेन्द्र परियार र सन्तोष खत्री फाइनलमा भिड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनलमा जितेन्द्रले पेमा नोर्वुलाई ६–०, ६–२ ले तथा सन्तोषले भिष्म जङ्ग गुरूङलाई ६–४, ६–४ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण कार्यक्रम बुधबार हुने टुर्नामेन्ट सुपरभाइजर कुमार अधिकारीले जनाएका छन् ।
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४–२, ४–० को सेटमा पराजित गर्दै उपाधी जिते भने ६५ वर्ष माथि छ्याम्बा ढुन्डुपलाई जोडी बनाएका थापाले ध्रुव गुरुङ र बिदुर विष्टको जोडीलाई ४–१, ४–१ को सटेमा पराजित गर्दै दोहोरो उपाधि आफ्नों नाम गराए । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत मेन्स डबल्स उपाधि प्रदीप खड्का र आयुषमान हजुर घलेको जोडीले जितेको छ । सोमबार भएको फाइनल खेलमा प्रदीप जोडीले नेहाल जंगबहादुर थापा र राजविर प्रधानको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै सो उपाधीमा आफ्नों नाम लेखाएका हुन् । ३५ वर्ष माथिको मेन्स डबलमा जितेन्द्र परियार र कुमार अधिकारीको जोडीले उपाधि जिते । फाइनलमा सन्तोष खत्री र भीष्म जंग गुरुङको जोडीलाई ६–४, ६–२ को सेटमा पराजित गर्दै जितेन्द्र जोडीले सो उपाधि रक्षा गरेको हो । त्यसैगरी ४५ वर्षमाथिको मेन्स डबलतर्फ देव क्षेत्री र हिमाल शाहको जोडी प्रथम भयो । यो जोडीले फाइनल खेलमा रोहित सुनुवार र जोली टार्गेनको जोडीमाथि ६–२, ३–६ र सुपरटाईमा १०–५ को रोचक जित निकालेको हो । ५५ वर्ष माथिको डबल्स उपाधि उत्तमकुमार लामा र जितेन्द्र प्रधानको जोडीले जितेको छ । प्रतिस्पर्धात्मक फाइनल खेलमा बिमलकुमार गुरुङ र हिमाल शाहको जोडीमाथि ४–६, ७–६ र ११–९ को नतिजा निकाल्दै उत्तम जोडीले सो उपाधि रक्षा गरेको हो । सिंगलतर्फ प्रदीप खड्काले प्रितम परियारलाई, आयुषमान हजुर घलेले नेहाल जंगबहादुर थापालाई, करणबहादुर थापाले दर्शिल श्रेष्ठलाई तथा राजबिर प्रधानले उगेन शेर्पालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनाए । ३५ वर्ष माथिको मेन्स सिंगलमा जितेन्द्र परियारले अनिल शाहीलाई, भिष्मजंग गुरुङले सोम रानालाई, प्रेम नोर्गुले विकास खड्कालाई तथा सन्तोष खत्रीले नविन श्रेष्ठलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले जानकारी दिए । प्रतियोगिताका अन्य खेलहरु जारी रहेको अधिकारीले बताए ।
लमजुङ: बेंसीशहरमा शनिबारदेखि सुरु भएको ३३ औँ संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बेंसीशहर नगरपालिका ८ सहजीस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा एपीएफले सुन्दरबजार फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । एपीएफको जीतमा समीर थोकरले खेलको २० औँ मिनेटमा पहिलो गोल गरे । यस्तै उनले ३० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। ३७ औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए । दोस्रो हाफको १८ औँ मिनेटमा मणि लामाले चौथो गोल गरे । २५ औँ मिनेटमा पुनः गोल गर्दै समीर थोकरले ह्याट्रिक पूरा गरे । ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका थोकर म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। साथै, पहिलो गोल गरेबापत भुजुङ घर भई हाल हङकङ बस्दै आएका रामकुमार गुरुङको तर्फबाट नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । दुई विदेशी खेलाडीसहित मैदानमा उत्रिएको सुन्दरबजार फुटबल क्लब गोलरहित रहँदा उसका समर्थक निराश बने । आइतबार बिहान ११ बजे एनआरटी काठमाडौं र भानु युनाइटेड (चक्रपथ, काठमाडौं) बीच पहिलो खेल हुनेछ । दिउँसो २ बजे सूर्यपुर चितवन र लमजुङ मस्र्याङ्दी युवा क्लब बेंसीशहरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो । द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ काश्य सहित कुल १५ पदक जितेको छ । तृतीय बनेको सैनिक आवासीय माविले ५ स्वर्ण, १ रजत र ८ काश्य गरेर कुल १४ पदक हात पारेको छ । समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए। प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको थियो । कबड्डीतर्फ छात्रामा रामेश्वरी माविलाई स्वर्ण, शहीद स्मृति आवासीय माविलाई रजत र प्रतिभा मावि तथा कालिका माविलाई काश्य पदक हात पर्यो । छात्रतर्फ कालिका माविलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गौरी शङ्कर मावि तथा भवानी कालिका माविलाई काश्य पदक प्राप्त भयो । कबड्डीमा प्रथम हुने टिमले ३० हजार, द्वितीय हुनेले २० हजार र तृतीय हुने दुवै टिमले १२ हजार–१२ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारे । भलिबल छात्रा तर्फ शान्ता माविलाई स्वर्ण, कालिका माविलाई रजत र टप्स बोडिङ स्कुललाई काश्य पदक प्राप्त भयो । छात्र तर्फ पोखरा युनाइटेड एकेडेमीलाई स्वर्ण, प्रतिभा माविलाई रजत र गुरुकुल विद्यासदनलाई काश्य पदक हात पर्यो । भलिबलमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र प्राप्त गरे । एथलेक्टिस छात्रतर्फ कालिका मावि प्रथम भयो, कास्की मोडर्नाइज्ड एकेडेमी द्वितीय र हार्वड एकेडेमी तृतीय भए । छात्रा तर्फ छोरेपाटन मावि प्रथम, सगरमाथा मावि द्वितीय र फिस्टेल एकेडेमी तृतीय भए । एथलेटिक्स तर्फ ८४ विद्यालयका ६ सय ६५ छात्र छात्रा सहभागी भएका थिए । कराते तर्फ ४१ विद्यालयका छात्र तर्फ ६० र छात्रा तर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेको उनले जनाए । यो विधा मार्फत १२ स्वर्ण, १२ रजत र २४ काश्य गरेर कुल ४८ पदक वितरण गरिएको उनले खुलाए । मार्चपास तर्फ रत्न ज्योति मावि प्रथम भयो । कान्तिपुर एकेडेमी द्वितीय, हार्वड स्कुल तृतीय र युनिभर्स बोडिङ स्कुल सान्त्वना भए । मार्च पासमा ४० विद्यालयले सहभागिता जनाएका थिए । मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रकाशकीय अधिकृत मुक्तिराम अर्याल, पोखरा महानगर पालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदार, शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्य, शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् । बिहीबार भएका खेल अन्तरगत एथलेटिक्सतर्फ ८ सय मिटर छात्रामा फिस्टेलकी आराध्या चालिसेलाई स्वर्ण, प्रतिभाकी मेनुका अधिकारीलाई रजत र गण्डकीकी सादगी शर्मालाई काश्य पदक प्राप्त भएको प्राविधिक उपसमितिका सह–संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । ज्याब्लिन थ्रो छात्र तर्फ हार्वडका निसान केसीलाई स्वर्ण, शहीद स्मृतिका विजय तामाङलाई रजत, जनप्रियका आलोक आचार्यलाई काश्य पदक तथा छात्रा तर्फ कालिकाकी सुनिता गोलेलाई स्वर्ण, विष्णुपादुकाकी पुष्पा विकलाई रजत र शहीद स्मृतिकी सन्जु विकलाई काश्य पदक हात पर्यो । ४१०० मिटर रिले दौडको छात्रा तर्फ फिस्टेल एकेडेमीलाई स्वर्ण, कास्की मोर्डनाइज्ड एकेडेमीलाई रजत र छोरेपाटन माविलाई काश्य पदक हात पर्यो । यसैगरी छात्रतर्फ कास्की मोडनाइज्डलाई स्वर्ण, हार्वड एकेडेमीलाई रजत र सैनिक आवासीयलाई रजत पदक प्राप्त भयो । लङ्गजम्प छात्रातर्फ सगरमाथाकी अनुष्का अधिकारीलाई स्वर्ण, त्रिवेणी पब्लिककी एन्जल अधिकारीलाई रजत र लिटल फ्लावरकी सुजाता कुमाललाई कास्यपदक हात पर्यो भने छात्र तर्फ कालिकाका अमन दुरालाई स्वर्ण, पोखरा युनाइटेडका कृष्ण बहादुरलाई रजत र अन्नपूर्ण माविका विशाल विकलाई काश्य पदक हात पर्यो । एथलेटिक्स तर्फ कुल ७८ पदकका लागि प्रतिष्पर्धा हुनेछ । एथलेटिक्स तर्फका बाँकी खेल शुक्रबार हुनेछन् । एथलेटिक्स उपसमिति संयोजक गोप बहादुर अधिकारीका अनुसार एथलेटिक्स तर्फ ८४ विद्यालयका ६ सय ६५ छात्र छात्रा सहभागी भएका छन् । पोखरा रङ्गशाला र कालिका माविको भलिबल कोर्टमा सञ्चालन गरिएको भलिबल प्रतियोगिता अन्तरगत अब दुईवटा क्वाटर फाइनलका खेल बाँकी रहेका छन् । बाँकी रहेका क्वाटर फाइनल र सेमी फाइनल अनि फाइनल खेल शुक्रबार हुने भलिबल उपसमितिका संयोजक राम बहादुर लामिछानेले जानकारी दिएका छन् । भलिबल प्रतियोगितामा छात्रतर्फ ४५ र छात्रा तर्फ २३ टिम गरी कुल ६८ टिमले सहभागिता जनाएको जानकारी दिएका छन् । सेमी फाइनल र फाइनलका खेल पोखरा रङ्गशालाको भलिबल कोर्टमा हुनेछ । प्रतियोगिता अन्तरगत कराते अन्तर्गत सबै खेल सम्पन्न भएको कराते खेल उपसमिति संयोजक धन लामाले जानकारी दिए । कराते तर्फ ४१ विद्यालयका छात्र तर्फ ६० र छात्रा तर्फ ७१ खेलाडीले प्रतिष्पर्धा गरेको उनले जनाए । यो विधा मार्फत १२ स्वर्ण, १२ रजत र २४ काश्य गरेर कुल ४८ पदक वितरण गरिएको उनले खुलाए । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितामा कुल ४ सय ४ पदकका सामुदायिक तथा संस्थागत विद्यालयका ३ हजार भन्दा बढि विद्यार्थीले प्रतिष्पर्धा गरिरहेको जानकारी दिए । प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधा समावेश गरिएको र बाँकी रहेका सबै खेल शुक्रबार हुने उनको भनाइ छ । भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए। एथ्लेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वितीयले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वितीयले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्नेछन् । मार्चपासमा प्रथम टिमले २० हजार, द्वितीयले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । समापन शुक्रबार ३ बजे गरिने सदस्य सचिव अधिकारीको भनाइ छ ।
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा भारत, भुटानसहित एक सय बढी खेलाडी सहभागी हुनेछन् । ओपन मेन्स तथा वुमेन्स सिंगल्स, डबल्स, ३५ंं,४५ं,५५ं,६५ वर्ष माथि गरी १२ इभेन्टमा प्रतिष्पर्धा हुने टुर्नामेन्ट डाइरेक्टर नविन चालिसेले जानकारी दिए । मेन्स, वुमेन्स दुवैको सिंगलतर्फ विजेता हुनेले ८० हजार, उपविजेताले ४० हजार र सेमिफाइनललिष्टले २० हजार पुरस्कार पाउनेछन् । डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ र सेमिफाइनललिष्टले १० हजार पाउने आयोजकले जनाएको छ । ३५ वर्ष माथि इभेन्टमा सिंगल्सको विजेतालाई ६० हजार, उपविजेतालाई ३० हजार र सेमिफाइनललिष्टलाई १५ हजार प्रदान गरिनेछ । सोही इभेन्ट डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनललिष्टले १० हजार पाउनेछन् । ४५ वर्षमाथिको इभेन्टको सिंगल्सतर्फ विजेताले ४० हजार, उपविजेताले २० हजार र सेमिफाइनललिष्टले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । सोही इभेन्टको डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनललिष्ट १० हजार पाउनेछन् । ५५ वर्षमाथिको इभेन्टमा सिंगल्सतर्फ विजेता, उपविजेता र सेमिफाइनललिष्टलाई क्रमशः ३०, १५ र १० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सोही इभेन्टको डबल्समा विजेताले २० हजार, उपविजेता र सेमिफाइनललिष्टले समान १० हजार पानेछन् । ६५ वर्षमाथिको सिंगल्सतर्फ विजेतालाई १५ हजार, उपविजेतालाई ७ हजार ५ सय र सेमिफाइनललिष्टलाई २५ सय दिइने आयोजकले जनाएको छ । डबल्सतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता पुस १५ गतेसम्म चल्ने टुर्नामेन्ट डाइरेक्टर चालिसेले जानकारी दिए ।
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागिता हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा, नेपालले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान २÷२ विदेशी क्लबको सहभागिता हुने जानकारी दिएको हो । टाइगर ग्रुप अफ पोखरा, नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगिताको तयारी तिव्र पारिएको जानकारी दिदै प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ७÷७ टिमको सहभागिता हुने बताए । ‘छैटौं टाइगर कप भलिबलको तयारीलाई हामीले तिव्र बनाएका छौं, माघ ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान २÷२ विदेशी क्लबको सहभागिता हुने पक्का भएको छ, अध्यक्ष शर्माले भने, ‘प्रतियोगितामा महिलातर्फ युनाईडेट प्यासन भलिबल क्लब थाईल्याण्ड, थाईल्याण्ड क्वीन्स र पुरुषतर्फ माल्दिभ्स र भारतीय टिमको सहभागिता हुँदै छ ।’ उनका अनुसार पुरुषतर्फ तीन विभागीय क्लब नेपाल एपिएफ, नेपाल पुलिस , त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ पोखरा, पर्वत जिल्ला भलिबल संघ, माल्दिभ्स भलिबल एशोशियनसन र गुजरात क्लब भारतको सहभागिता हुनेछ । गत संस्करणको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेश भलिबल संघलाई पराजित गर्दै उपाधि जितेको थियो । यस्तै महिलातर्फ युनाईडेट प्यासन भलिबल क्लब थाईल्याण्ड, थाईल्याण्ड क्वीन्स, तीन विभागीय क्लब नेपाल एपिएफ, नेपाल पुलिस , त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र बुटवलको एभरेष्ट क्लबको सहमभागिता हुनेछ । गतवर्ष महिलातर्फको विजेता टाइगर ग्रप पोखरा नेपालले प्रतियोगितामा आफ्नो टिम नखेल्ने जनाएको छ । गत संस्करणमा नेपाल महिला भलिबल टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । प्रतियोगिताको दुवैतर्फको विजेताले समान ६ लाख ६६ हजार ६सय ६६ र उपविजेततातर्फ समान ३ लाख ६६ हजार ६सय ६६, तेस्रो हुने समूहले समान १ लाख, ६६ हजार ६सय ६६ रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको महिला तथा पुरुष तर्फको सर्वोत्कृष्ट खेलाडीले समान २६ हजार ६सय ६६ रुपैयाँसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ विजेता खेलाडीहरुलाई समान ११ हजार ६सय ६६ र मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा पहिलो पटक भारत र माल्दिभ्सबाट अन्र्तराष्ट्रिय भलिबल रेफ्रीहरुको समेत सहभागिता हुने अध्यक्ष शर्माले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न १ करोड ८० लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । टाइगर ग्रुप अफ पोखराले प्रतियोगिताबाट बचत भएको रकम स्वास्थ्य, शिक्षा, खेलकुद एवम् समाजिक क्षेत्रमा लगानी गर्दै आएको छ । प्रतियोगिता अवलोकनका लागि जेष्ठ नागरिक तथा फरक क्षमता भएका दर्शकहरुलाई निशुल्क प्रवेश गरेको छ भने, सिजनल टिकटको लागि ३ हजार ५ सय रुपैयाँ तोकेको छ । यस्तै पत्रकार सम्मेलनको अवसरमा टाइगर ग्रप अफ पोखरा नेपालले पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, मकाउ भलिबल संघका अध्यक्ष नरेश गुरुङ, नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठक र टाइगर कप भलिबलका सहयोगी कोरिया निवासी खोम गुरुङलाई सम्मान गरेको थियो ।
पोखरा: पोखरामा पौष ९ गतेदेखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि दुई महिनादेखि तयारी गरिएको बताए । यस प्रतियोगितासँग सम्बन्धित संस्थागत तथा सामुदायिक विद्यालयसँग धेरै पटक छलफल गरिएको उनको भनाइ छ । अघिल्ला संस्करणहरूमा जन्ममितिका कारण बढी मात्रामा विवाद आउने गरेकोले यसपालि विद्यालय भर्ना हुँदा प्रत्येक विद्यार्थीलाई दिइने ‘इमिस कोड नम्बर’को आधारमा कडाइ गरिएको उनले खुलाए । पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत सोमनाथ भण्डारीले पोखरा महानगरपालिकामा रहेका झण्डै २ सय ६० विद्यालय मध्ये १ सय ८० भन्दा बढी विद्यालयको विभिन्न खेलमा सहभागिता रहने उल्लेख गरे । ७० प्रतिशत भन्दा बढी विद्यालय सहभागी बन्ने निश्चित भएको भन्दै अर्को वर्ष सत प्रतिशत पुर्याउने लक्ष्यका साथ कार्य गर्ने समेत प्रतिवद्धता जनाए । पोखरा महानगरपालिकाको भूगोलको कारण समेत सबै विद्यालय सहभागी हुन समस्या भएको उनले औँल्याए । पौष ११ गतेसम्म चल्ने प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुने पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुरज अधिकारीले जानकारी दिए । जस अनुसार भलिबलमा छात्र तर्फ ४५ विद्यालयका ४ सय ५० जना र छात्रातर्फ २३ विद्यालयका २ सय ३० जना खेलाडी सहभागी हुनेछन् । कबड्डी छात्रतर्फ २० विद्यालयका २ सय जना र छात्रातर्फ ११ विद्यालयका १ सय १० जना खेलाडी सहभागी बन्ने निश्चित भएको छ । एथलेटिक्समा कुल ८४ विद्यालयका छात्रतर्फ ३ सय ७० जना र छात्रातर्फ २ सय ६५ जनाले प्रतिष्पर्धा गर्नेछन् । कराँतेमा ४१ विद्यालयका ६४ छात्र र ७० छात्राले प्रतिष्पर्धा गर्नेछन् । तेक्वान्दोतर्फ २६ विद्यालयका ४८ छात्र र ५० छात्राले सहभागिता जनाउनेछन् । उसुतर्फ २१ विद्यालयका ४० छात्र र ६५ छात्राले प्रतिष्पर्धा गर्नेछन् । मार्चपासमा ४५ विद्यालयका १ हजार ३ सय ५० विद्यार्थी सहभागी बन्ने सदस्य सचिव अधिकारीले खुलाए । एकजना खेलाडीले प्रतियोगितामा समावेश खेलका विधा मध्ये एउटा मात्र विधामा सहभागिता जनाउन पाउनेछ । परिवर्तित नियम लगायतको विषयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकालाई पालना गर्न पोखरा महानगरपालिका खेलकुद विकास समितिले आग्रह गरेको छ । भलिबल र कबड्डीमा प्रथमले ३० हजार, द्वीतियले २० हजार र तृतीयले १२ हजार रुपैयाँ सहित पदक र प्रमाणपत्र पाउनेछन् । एथ्लेटिक्स एकल तर्फका प्रथमले ४ हजार, द्वीतियले २ हजार ५ सय र तृतीयले १ हजार ५ सय तथा रिले खेलमा विजेता टिमले ६ हजार, द्वीतियले ४ हजार र तृतीयले २ हजार प्राप्त गर्ने अध्यक्ष गोदारले जानकारी दिए । यसैगरी मार्चपासमा प्रथम टिमले २० हजार, द्वीतियले १५ हजार तृतीयले १० हजार र सान्त्वना टिमले ५ हजार रुपैयाँ पाउनेछन् । अन्य विधाका खेलाडीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको उनले जनाए । प्रतियोगिताको उद्घाटन पोखरा रङ्गशालामा बुधबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्नेछन् । उद्घाटन समारोहमा मार्च पास, साँस्कृतिक कार्यक्रम र तेक्वान्दो डेमोस्ट्रेसन समेत हुनेछ । प्रतियोगितालाई भव्य बनाउन अध्यक्ष दीपक बहादुर गोदारको संयोजकत्वमा व्यवस्थापन तथा निर्देशन समिति र १० वटा विभिन्न उपसमिति निर्माण गरिएको आयोजकको भनाइ छ ।

