पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गरे । सो अवसरमा बोल्दै एसपी कार्कीले फुटबलको क्षेत्रमा बिटी क्लबको योगदान अतुलनीय रहेको धारणा राखे । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिटी ह्वाइटले मेरो नेपाल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै आयोजक दोस्रो चरणमा प्रवेश गर्याे । बिटी ह्वाइट र मेरो नेपाल क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । यस्तै दोस्रो खेलमा पाटन एफसीलाई भाइब्रेन्ट एफसीले २–० को गोलले पराजित गर्याे । भाइब्रेन्टको जीतमा अजय गुरुङ र एलिया गुरुङले समान १/१ गोलको योगदान दिए । प्रतियोगिताको पहिलो चरणका बाँकी खेलहरु शुक्रबार बिहान ८ बजेबाट सञ्चालन हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ४६ टिमले प्रतिस्पर्धा गर्दैछन् । उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८/८ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग प्रतियोगिता शुरु भएको हो । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको प्रतियोगिताको पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन आयोजक प्रतिभा मावि र बाल मन्दिर माविले बिजयी शुरुवात गरेका छन् । प्रतिभाले वाराही र बाल मन्दिरले ग्लोबल कलेजियटलाई पराजित गर्दै बिजयी सुखद शुरुवात गरेका हुन् । प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आयोजक प्रतिभा माविले वाराही माविलाई ३ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ रोजेको वाराहीले निर्धारित १७.१ ओभरमा सबै विकेट गुमाएर १२६ रन बनाएको थियो । वाराहीका लागि अभिषेक अधिकारीले ३७ बलमा ४२ रन, ब्रिजेश भट्टराईले २५ बलमा २० रन र कुशल पौडेलले ८ बलमा १५ रन बनाए । १२७ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको प्रतिभाले १८.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रतिभाको जितमा सहबुदिन अन्सारीले ४० बलमा ४३ रन, मिसन विकले २८ बलमा १४ रन र साहिल खानले १३ बलमा १२ रनको योगदान दिए । प्रतिभालाई दवाबमा राख्ने क्रममा वाराहीका ब्रिजेश भट्टराईले ४ ओभरमा १८ रन खर्चे भने समीर विकले ४ ओभरमा २० रन खर्चेर २ विकेट हत्याए । सो खेलमा बिजयी प्रतिभाका खेलाडी सबुदिन अन्सारी प्लेयर अफ दी म्याच बने । आईतबार नै भएको दोस्रो खेलमा बाल मन्दिर माविले ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको ग्लोबल कलेजियटले कमजोर प्रदर्शन गर्दै १५.१ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्रै बनाउन सक्यो । ग्लोबलका लागि विमोचन सापकोटाले ३४ बलमा ४० रन र अपिल पौडेलले १७ बलमा १८ रन बनाउनुबाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । ग्लोबललाई सस्तैमा समेट्न बाल मन्दिरका सुमन अधिकारीले ३.१ ओभरमा ९ विकेट दिएर ह्याट्रिक विकेटसहित ५ विकेट लिए । सुवास पठायतले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट हत्याए । ७२ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको बाल मन्दिरले केवल १२.१ ऋोभरमा ४ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । बाल मन्दिरका लागि सुरज अधिकारीले २६ बलमा १९, श्रीनिवास कठायतले २६ बलमा १७ रन र सुवास कठायतले १५ बलमा १६ रनको योगदान दिए । बाल मन्दिरलाई दवाबमा राख्न ग्लोबल कलेजियटका सौगात आचार्यले १ ओभरमा ४ रन खर्चेर २ विकेट तथा आयुष्मान गौतमले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए पनि जितका लागि पर्याप्त भएन । सो खेलमा बिजयी बाल मन्दिरका ह्याट्रिक विकेटसहित ५ विकेट लिएका सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिता क्रिकेटको विकास, खेलाडीको प्रतिभा उजागर गर्न तथा क्रिकेटको जग बलियो बनाउने उद्देश्यले गरिएको विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । त्यस्तै, विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले शैक्षिक सान बनेको प्रतिभा माविले शिक्षासँगै खेलकुद र पर्यटनको विकासमा योगदान गर्न प्रतियोगिता आयोजना गरेको बताए । प्रमुख अतिथि पोखरा–३ का वडाध्यक्ष प्रकाशमान उदासले प्रतिभाले प्रतियोगितामार्फत खेलकुदको क्षेत्रमा योगदान गरेको भन्दै धन्यवाद दिए । प्रतियोगिताको बिजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिए ।
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पोखरा पर्यटन वर्ष २०२५–२६ लाई प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक पोखरा रंगशालामा अस्थायी फ्लडलाइट जडान गरी खेल सञ्चालन गरिने क्लबका अध्यक्ष केशव बहादुर थापाले बताए । उनका अनुसार पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म चल्नेछ । सो प्रतियोगितामा आहा रारा गोल्डकपका सहभागी टोली नेपाल पुलिस क्लब, चर्च ब्वाइ युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, नेपाल एपिएफ कलब, प्लानिङ ब्वाइज युनाइटेड, जाउलाखेल युथ क्लब, थन्डरवोल्ड नर्थ युनाईटड, सिक्किम (भारत), मछिन्द्र फुटबल क्लब, गोर्खा इन्टरनेसनल फुटबल क्लब, हङकङ, आभा फुटबल क्लब, उज्वेकिस्तान, सहारा क्लब पोखरा, भारतीय अर्को क्लब (नाम तय हुन बाँकी)गरी कुल १२ टोलीको सहभागिता रहने छ । सो प्रतियोगिताको उपाधि राशी नगद रु १४ लाख १ हजार निर्धारण गरिएको क्लबका सदस्य सचिव गंगाराज पौडेलले जानकारी दिए । उनका अनुसार उपविजेता टोलीले नगद रु ७ लाख १ हजारप्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ। पोखरा महानगरपालिका संरक्षक रहेको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, गण्डकी प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अस्ट्रेलियाको विशेष सहयोग रहेको आयोजकले जनाएको छ ।
पोखरा: प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ । कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै सांग्रिलाले उपाधि चुमेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थि क्रिकेट मैदानमा भएको खेलमा १६९ रनको विजयी लक्ष्य पाएको कास्की ३४.३ ओभरमा १२० रन बनाउँदै अलआउट हुन पुग्यो । कास्कीका लागि रोहित चन्दले ४१ रनको योगदान दिए । यस्तै विश्वास पराजुलीले २३ रन जोडे । सांग्रिलाका लागि सिव्रिन श्रेष्ठले ३ विकेट लिए । विपिन खत्री र राज परियारले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सांग्रिला ४३ ओभरमा १६८ रनमा अलआउट हुन पुग्यो । सांग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक ६४ रनको योगदान दिए । यस्तै कुशल नेपालले २० तथा राजु खनालले १८ रनको योगदान दिए । कास्कीका लागि अदित्य थापा र विश्वास पराजुलीले समान ३–३ विकेट लिए भने अनुप पौडेलले २ विकेट लिए । माघ २ देखी सुरु प्रतियोगितामा कुल १० क्लबको सहभागिता थियो । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् । समूह ए बाट सांग्रिला र समूह बि बाट कास्की विजेता बन्दै फाइनलमा प्रवेश गरेको थियो ।
पोखरा: गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हा । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि रक्षा गरेको हो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । उपाधीसँगै गण्डकीले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो । फाइनलमा पराजित भएको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको पर्वत जिल्ला भलिबल संघले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । गण्डकीका मुस्ताफा खान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरे । सर्भर अद्नान खान, लिविरो भीमबहादुर गाहा, सेटर बलराम गुरुङ, ब्लकर फहद राज, स्पाइकर फकर वाट्टु, प्रशिक्षक रमेश केसी विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार १११ रुपैयाँ हात पारे । महिलातर्फको उपाधि भने न्यू डायमण्ड स्पोट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्याण्ड क्विन्स तेस्रो बने । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।
पोखरा: पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा क्लबले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो । क्लबका अध्यक्ष सन्तोष गुरुङले माघ २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा ५० बढी टिमको सहभागिता हुने अपेक्षा गरिएको बताए । ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता यही माघ २२ गतेदेखि सञ्चालन गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘अहिले हामी प्रतियोगिताको तयारीलाई तिब्र पारेका छौ ।’ उनले प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्ने बताए । उनका अनुसार प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई स्पोर्टस् साइकल प्रदान गरिनेछ । यस्तै उत्कृष्ट गोलरक्षक, डिफेण्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही नगद ८÷८ हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा अनुशासित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव रेशम सापकोटाले जानकारी दिए । उनले प्रतियोगितामा सहभागिता जनाउनका लागि प्रतिटिम १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको सापकोटाले बताए । बिटी क्लब खेलकुद प्रतियोगितासँगै फुटबल एकेडेमी सञ्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ । बिटी क्लब सामाजिक क्षेत्रमासमेत क्रियाशिल रहदैं आएको छ ।
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र लेखनाथमा खेलाइएको छ । प्रतिकुल मौसमका कारण पोखरा क्रिकेट मैदानमा २५ ओभरको खेलमा पोखरा क्रिकेट लेखनाथ युथ क्रिकेट क्लबले माछापुच्छ्रे क्रिकेट क्लबलाई लागि ४५ रनले हराएको हो । माछापुच्छ्रे १६.१ ओभरमा ७० रन बनाउँदै अलआउट हुन पुग्यो । माछापुच्छ्रेका लागि अनिश जिसीले सर्वाधिक २१ रन लिए । रितेश बरालले ११ रन बनाए भने कविन सापकोटा र प्रमोद बास्तोलाले समान ५÷५ रन बाहेक अन्य व्याटर चल्न सकेनन् । लेखनाथका लागि शाहिल पौडेलले ४, सज्जन क्षेत्रीले ३, सुशिल सुवेदीले २ तथा सुवाष बास्तोलाले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको लेखनाथले २० ओभरमा ८ विकेट गुमाउँदै कुल १०७ रन बनायो । लेखनाथका लागि देव यादवले २८, प्रताप थापाले २५, राजकुमार छन्त्यालले १९ रन बनाए । माछापुच्छे्रका लागि रितेश बरालले सर्वाधिक ५ विकेट लिए ।
पोखरा: त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा पुरुषतर्फ आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–१९ ले जितेको आर्मीले दोस्रो सेट २२–२५ र तेस्रो सेट २१–२५ ले एपीएफलाई सम्पियो । चौथो सेटमा आर्मीले पुनः २५–१७ को जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा १८–१६ ले जित निकाल्दै आर्मीले खेल आफ्नो पक्षमा पारेको हो । आर्मी र एपीएफले समान ७ अंक जोडेका छन् । सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिष्पर्धा गर्न पाउनेछ । यसअघि भएको पुरुषतर्फ खेलमा नेपाल पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसियसनलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यो जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ । यस्तै आजै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बल एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो बनेको थियो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । च्याम्पियनसिपअन्तर्गत भोलि शुक्रबार दुई खेल हुनेछन् । पहिलो खेल महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फको खेल हुनेछ । पुरुषतर्फ समूह चरणको अन्तिम खेल पर्वत जिल्ला भलिबल संघ र गण्डकी प्रदेशबिचको खेल दिउँसो एक बजेबाट सुरु हुने तालिका छ । उक्त खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । ५ खेलबाट पुलिसले १० अंक जोडेको छ । समान ४ खेल खेलका गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघको समान ९ अंक छन् । गण्डकी र पर्वतले शुक्रबार एकआपसमा भिड्नेछन् । कुनै एक टोलीले सिंगो ३ अंक प्राप्त गर्ने गरी जित निकालेको अवस्थामा जित्ने टोली र पुलिस फाइनलमा पुग्नेछन् । उक्त खेल पाँचौं सेटमा पुगेको अवस्थामा भने सेटमा आधारमा फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२ ले जित निकालेको आर्मीले चौथो सेटमा पुनः १३–२५ ले पर्वतलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलियो । निकै प्रतिष्पर्धात्मक भएको पाँचौं सेटमा आर्मीले २०–१८ जित निकाल्दै खेल आफ्नो पक्षमा पा¥यो । जितसँगै आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ । पराजित भएको पर्वतले ४ खेलबाट ९ अंक बनाएको छ । समान ४ खेल खेलेको गण्डकीको ९ अंक छ । ४ खेल खेलेको पुलिसको ७, एपीएफको ६ अंक हुँदा माल्दिभ्स अंकविहिन छ । यसअघि आजै भएको महिलातर्फका खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लबले जित निकालेका थिए । न्यू डायमण्डले थाइल्याण्ड क्विन्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यस्तै पुलिसले एपीएफविरुद्ध ३–० को सोझो सेटको जित निकालेको थियो । महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र पुलिसले प्रतिष्पर्धा गर्नेछन् । पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । च्याम्पियनसिपअन्तर्गत भोलि बिहीबार ३ खेल हुनेछन् । पहिलो खेल महिलातर्फ तेस्रो स्थानका लागि एपीएफ र थाइल्याण्ड क्विन्स भिड्नेछन् । उक्त खेल बिहान १० बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फ पुलिस र माल्दिभ्स खेल्नेछन् । पुरुषतर्फको दोस्रो तथा अन्तिम खेल आर्मी र एपीएफबिच हुने तालिका छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

