कल्याण शेरचन स्मृति दिवसमा कुमार र राजनलाई सम्मान अर्पण

पाेखरा | माघ २५, २०८०

कल्याण शेरचन स्मृति दिवसमा कुमार र राजनलाई सम्मान अर्पण

पोखरा:     कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ । ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद सहित सम्मान अर्पण गरेको हो ।


प्रतिष्ठानले लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर बुधबार आयोजना गरेको कार्यक्रममा स्व.चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष रहेका राजन कार्कीलाई अर्पण ग¥यो । यो पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ नगद रहेको थियो ।


उनीहरुलाई वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङ, प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मो, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, प्रतिष्ठानका प्रमुख संरक्षक सर्मीला शेरचन, संरक्षक नरबहादुर शेरचन लगायतले नगदको साथमा फूलमाला, दोसल्ला र सम्मानपत्र सहित पुरस्कार तथा सम्मान अर्पण गरेका हुन् ।


सम्मान ग्रहण गरेपछि बोल्दै वरिष्ठ लोक गायक बस्नेतले पोखरासँगको आफ्नो साइनो पुरानो भएको सुनाए । पोखरालाई सम्झदा खिम बहादुर गन्धर्व, विर्खबहादुर गन्धर्व, झलकमान गन्धर्व, हरीदेवी कोइराला लगायतलाई सम्झने गरेको बताए । पोखरालाई सांस्कृतिक क्रेन्द्र बनाउनुपर्छ भनेर पहिलेदेखिनै आवाज उठाउदै आएको समेत उनले खुलाए ।  उनले कल्याण शेरचन, चेतन कार्की, मिन बहादुर गुरुङ, मिनकाजी गुरुङ लगायतसँग गरेको सहकार्यको समेत स्मरण गरे । डाँफे कलामन्दिरको प्रतिनिधित्व गरेर दार्जलिङ सिक्किममा गएर प्रस्तुती राख्दा पाएको तारिफ अझै ताजै रहेको उनको. भनाई थियो ।


नेपालमा लोकगीत र दोहोरी गीतको सुरुवात आफूले गरेको बताएका उनले अहिले समेत देश विदेशका कार्यक्रममा व्यस्त रहेको जनाए । तरुनी फकाउने गीत गाएर कुमार बस्नेत भएको भन्नेहरु समेत भएको भन्दै त्यस्तो भन्दा आफूलाई चित्त नदुख्ने बताए । हरेक देशको आ–आफ्नो संस्कृति भएकोले त्यसको संरक्षण गर्नुपर्नेमा उनको जोड छ ।


कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङले स्व.कल्याण शेरचनले  अम्मरसिँह मावि पढ्दाका दिनको स्मरण गरे । शेरचन बहुमुखी प्रतिभाको व्यक्ति भएको भन्दै नाँच्न, गाउनमा मात्र नभएर खेलमा समेत अब्बल रहेको सुनाए । कार्यक्रममा सम्मानित भएका कुमार बस्नेतको समेत उनले प्रशंसा गरे । त्यतिबेलाको माहोलको कारण धर्मराज थापाले रुवाउने गीत गाउने गरेको र  कुमार बस्नेतले हँसाउने गीत गाउने गरेको खुलाए । डा.गुरुङले गीत समेत गाउदै आफूतर्फ ध्यान खिँचे । ।


कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, प्रतिष्ठानका उपाध्यक्ष श्रीजंग गुरुङ, सचिव जीवन दाहाल लगायतले बोलेका थिए । कार्यक्रममा कलाकारले कल्याण शेरचनले सिर्जना गरेका गीतहरु समेत सुनाएका थिए । नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार प्राप्त गर्न सफल राजन कार्कीले आमा सम्बन्धि गीत सुनाए ।


स्रष्टा सम्मान, एवम् स्व. चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार छनोट समितिका संयोजक खेम गुरुङको संयोजकत्वमा गठन भएको समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।  छनोट समितिको सदस्यमा पदमराज ढकाल, मनकुमार श्रेष्ठ, ज्ञानबहादुर थापा र यामबहादुर गुरुङ रहेका थिए ।


नेपाली लोक गीत तथा संगीतमा चर्चित गीतहरु ‘सोह्र वर्षे उमेरैमा’, ‘आहा कलिलो तामालाई’, ‘राम्दी पुल’ जस्ता गीतका सर्जक लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको स्मृतिमा कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना भएको हो । स्मृति प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि सक्रियरुपमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।


स्रष्टा कल्याण शेरचनको देहावसान पश्चात हिमाली सांस्कृतिक परिवारले २०६८ सालमा पश्चिमाञ्चल स्तरीय कौराह (चुट्का) गीत प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगिताबाट संकलित रकमले अक्षयकोष स्थापना गरी २०६९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराई प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठान समाज कल्याण परिषदमा पनि दर्ता भएको छ । प्रतिष्ठानले हरेक वर्ष साउन १२ गते शेरचनको जन्म जयन्ती र माघ २४ गते स्मृति दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।


प्रतिष्ठानले स्रष्टा कल्याण शेरचनले अंगालेका विधाहरु लोक संस्कृति, शिक्षा र खेलकुद क्षेत्रमा योगदान पुयाउनु हुने व्यक्तित्वहरुलाई सम्मान अर्पण गर्ने गरेको हो । यस क्रममा वरिष्ठ नृत्य प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ फुटबल प्रशिक्षक स्व.डम्बरसिंह गुरुङ, शिक्षाविद् बलवीर सिंह नेगी, वरिष्ठ संगीतकार प्रकाश गुरुङ, शिक्षाविद् रुप बहादुर गुरुङ र वरिष्ठ खेलाडी एवम् प्रशिक्षक खड्गबहादुर रानाभाट, शिक्षाविद् स्व.योगेन्द्र बहादुर बस्नेत, वरिष्ठ लोक गायक नारायण रायमाझी, वरिष्ठ कलाकार बाबा राणालाई सम्मान तथा अभिनन्दन गरिसकेको थियो ।


यसैगरी सेभेन ए साईड फूटबल प्रतियोगिता, पश्चिमाञ्चल स्तरीय कौराह नृत्य साँस्कृतिक कार्यक्रम, भूकम्पपीडित विद्यालयको पुनर्निर्माण, राष्ट्रिय लोक बाजा मादल बादन प्रतियोगिता, राष्ट्रिय सारङ्गी बादन सम्मेलन, राष्ट्रिय एकल नृत्य प्रतियोगिता, राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता जस्ता महत्वपूर्ण कार्यक्रमहरु समेत प्रतिष्ठानले गर्दै आएको छ ।

काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...

थप पढ्नुहोस्

सुनसरी:  सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...

थप पढ्नुहोस्

काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...

थप पढ्नुहोस्